मध्यरातको चकमन्नता, पूरै गाउँलाई निद्राले छपक्कै छोपेको, पारी गाउँमा जोगीले पुइँइँइँ… पार्दै फेरी बजाउँदा घरीघरी सुनिने चर्को आवाज, अनि कुकुर भुकेको साथै घर मुनिको भुँडे गरामा मन्द बतासले मकैका जवान बोटहरू स्पर्श गरिरहेको धिमिल आवाज । माथिल्लो घरमा एक्कासि जोरले एकोहोरो कुकुर भुक्दा लाग्छ कि त्यसले अजङको मुर्कुटो वा चितुवालाई झम्टिंदैछ । यूमी र उनका छोरीहरू युनिका र युकिता मस्त निद्रामा छन् । भुक्दै–झम्टिंदै कुकुर यूमीको घर कराँसोसम्मै आउँछ ।
कराँसोदेखि आँगनमा केही डङ्ग्रङ्ङ पछारिएजस्तो ठुलो आवाज सुनिन्छ । मनभरि कुरा खेलाउँदै ओछ्यानमा पल्टिएकी यूमीको ध्यान सो आवाजले खिच्छ, डरले छाती ढक्क फुल्छ, अलिकता मुन्टो उठाउँदै चनाखिएर ढोकातिर ध्यान लगाउँछिन् । चारैतिर सन्नाटा छ । केही छिनपछि मसिनो आवाजमा गुनगुनाउँदै एक व्यक्ति आँगनदेखि ढोकातर्फ आएर बिस्तारै ढोका ढकढक्याउँछ । कच्ची ढोका अनि भाटाको बारमा बाँसको झुपडी र खुल्ला सिरेटिलो आकाशमा टहटह जूनको उज्यालोले ढोका ढकढक्याउने मान्छे नै हो भनेर सजिलै अन्दाज लगाउँछिन् यूमीले ।
ढोका निकैबेर ढकढक्याएपछि यूमी बिस्तारै उठेर ढोकातिर जान्छिन् । गलत मनसायले आएको रहेछ भने सिधै वारपार बनाइदिने हिम्मत लिंदै हातमा धारिलो हतियार बोक्छिन् । ढोकाको प्वालदेखि चियाउँदा त उनकै जँड्याहा पति दिलकुमार रैछन् । हातमा जुत्ता बोकेर हल्लिंदै उभिराछन् गीत गाउँदै, “घर त हिलै हो…चाहिँदैन सम्पत्ति दिलै मिले भो, घर त मेरै हो … ढोका खोल मेरी बुढी किन ढिलो भो ?”
कक्षा ९ मा पढ्दै गर्दा गहिरो मायामा परेका दिलकुमार र यूमीले कक्षा पार नगर्दै भागेर लगनगाँठो कसे । सानै उमेरमा घरजम गरेका उनीहरू विवाह पछिका केही वर्षहरू त ढुकुरको जोडी झैं थिए । खरखेताला, वनपाखा, पानीपँधेरो, हाटबजार एकैछिन् नछुटिने सुन्दर मायालु जोडी थियो । दुई प्यारी छोरीहरू जन्मिए पछि घरपरिवारदेखि अलग बस्दै आएका छन् । रक्सीजाँड पिउनु दिलकुमारको पहिले देखिकै बानी थियो ।
यूमीले सम्झाउँदा, “दिनभर काम गरेर थाकेको शरीर थोरै पिएपछि थकाइ मेटिने र निद्रा मजाले लाग्ने” भन्दै जिकिर गरेर बानी छोड्न सकेनन् । पछि सोही बानी नशामा बदलियो । जाँडरक्सीले मात्र नपुगेर गाँजा–भाङ समेतको लत बस्यो । जाँडरक्सी पिएर घर ढिलो आउने बानी परेका उनी आज पनि ढिलो आएका हुन् ।
बाहिर धेरै गनगन गर्न थालेपछि यूमीले घर्याक्क ढोका उघारिदिन्छिन् र सरासर ओछ्यानतिर गएर मनमनै भुतभुताउँदै खाटमा पल्टिन्छिन्, “यसरी कति दिन चल्छ ? जति सम्झाए नि नलाग्ने कस्तो जिद्दी मान्छे होला ? अबदेखि पिउँदिन भनेर जेठी छोरीलाई टिका लगाउँदै कसम खाएको ४ पल्ट भो अनि कान्छीलाई ३ पल्ट, मन्दिर धाको त कति भो कति ! कुकुरको पुच्छर जति वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै !” भित्तापट्टि फर्केर सिरकमा गुटमुटिन्छिन् ।
दिलकुमार आफ्नै सुरमा ढोकामा टाँगिएर जुत्ता फुकाल्न खोज्दै छन् । बेसुरा गीत अनि धमिला आवाज निकाल्दै छन्, यस्तो लाग्छ कि घर परतिर खोल्साको बाँसघारीमा बाँस जुधेर आएको कट्….कट् आवाजले उनको गीतमा संगीत भर्दै छन्, “घर पनि मेरै हो, यो जुत्ता पनि मेरै हो, बुढी पनि मेरै हो, छोरीहरू मेरै हुन् ।”
त्यतिखेरै कुकुर भुक्दै आँगनमा आइपुग्छ । दिलकुमार आफ्नै सुरमा छन् “यो कुकुर पनि मेरै हो … चोए पाङ्ग्रे चोए–चोए ।”
कुकुर टेरपुच्छर नलाई भुक्दै–भुक्दै मकैबारीतिर जान्छ ।
“घरकाले त हेपे–हेपे अन्तिममा यो पाङ्ग्रेले पनि नटेर्ने” भन्दै बल्लतल्ल फुकालेको एउटा जुत्ता बोकेर कुकुरलाई खेदाउन थाल्छन् । कुकुर बारीतिर पसेपछि उनी पनि पछ्याउँदै आँगनको डिलदेखि कुकुरलाई हान्ने सुरमा जुत्ता फ्याँक्छन् । मकैबारीमा सर्ल्याङ–सर्ल्याङ गर्दै कुकुर दौडिन्छ । उनी भने बर्खे लेउले ढाकिएको आँगनमा चिप्लिएर भुइँमा बजारिन्छन् । पीडाको आवाज आउँछ, “मरेँ नि आमा” ।
यूमी झल्याँस्स ब्युँझिन्छिन् । पल्लो खाटमा छोरीहरू छैनन्, जाँडरक्सीले माते पनि छेवैमा घुर्दै सुत्ने पति दिलकुमार पनि देख्दिनन् । पाङ्ग्रे कुकुर भुकेको आवाज पनि छैन । सबैको साटो मोबाइलमा एकोहोरो अलार्म बजिरहेको छ । यूमी उठ्छिन् । अनि हतार–हतार ढोकातिर दौडिन्छिन् र ढोका खोल्छिन् । रात भाग्दो अनि उज्यालो खस्दो छ । सूर्यको स्वागत हेतु परको क्षितिज लालीमय बन्दै छ । खैरो रङले पोतिएका ठुला–ठुला भवनहरू ठिङ्ग्रिङ्ग उभिएका छन्, आँगनभरी आँटीनआँटी गाडीहरू ठसमस बसे झैं लाग्छन् । अलि पर कतैबाट एउटा आवाज मधुर रूपमा आइरहेको छ, “अल्लाह हो अकबर” ।
यूमी भित्र पस्छिन् । पहिले अलार्म बन्द गर्छिन् । फिँजारिएको केश सँगाल्छिन् । निधार भरिको चिटचिट पसिना पस्छिन् । बोतलको पानी पिउँछिन् । अनि एक्लै बरबराउँछिन्, “कति नराम्रो सपना देखेँ, घरमा सन्चो भएन कि ?” हतार–हतार मोबाइल तानेर घरमा फोन गर्न नम्बर डायल गर्छिन् ।
जति सम्झाए पनि दिलकुमारले जाँडरक्सीको नशा नछोडे पछि घरमा छाक टार्ने मेसो बन्द हुन आँट्यो । छोरीहरूको विद्यालय खर्चदेखि लिएर घरखर्च सम्मको जोहो हुन सकेन र बाध्य भएर यूमीले आफ्नो पतिलाई विदेश पठाउने निधो गरिन् । सल्लाह गर्दा दिलकुमार बजेनन् । मर्नुभन्दा बौलाउन निको भने झैं अन्तिममा विवशताले गाँजेपछि मनभरिको रहरलाई बाध्यताको खास्टोले छोपिन् । पतिलाई थाहै नदिई पासपोर्टको पानाभरि सपनाहरू छापेर उडिन् सात समुद्र पारीको त्यो देश ।
दोहा–कतार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।