
निर्देशकको आदेश बमोजिम ऊ मलाई अन्तै फर्काउँछ । म आज्ञाकारी भएर उसैले देखाएको रमिता हेरिदिन्छु । मेरो त कामै के हो र जता जता मलाई घुमाइन्छ त्यतै त्यतैको दृश्यलाई कैद गर्नु बाहेक ।
म्याडम चिच्याई-चिच्याई तालिमका सहभागीहरूलाई अर्थ्याउँदै छिन्, ‘हिंसाको चक्रमा महिला; हिंसाको चक्रमा महिला; हिंसाको चक्रमा महिला ।’ सदियौँ भयो यो ‘टेक’ मैले कैद गर्दै आएको । अचम्म लाग्छ आखिर कसले घुमाइरहेछ यो हिंसाको चक्रमा महिलालाई ।
अँध्यारो खोलभित्र छोपिएर बसेको मलाई थाहा छैन । म कतातिर लाग्दै छु तर मलाई यति चाहिँ अवश्य थाहा छ कि मलाई अगाडि लगिँदै छ ।
खोल उघारिन्छ र अगाडि उज्यालो अनि ठुलो दृश्य : ओहो ! म त विवाहको माहौलमा पो आएछु । आहा ! कति सुन्दर फूलहरूले सजाएको यो माहौल । म ती फूलहरूलाई समग्रमा हेर्न थाल्छु । ओहो ! कति महँगा होलान् नि यी फूलहरू । यो कति दिन टिक्छ होला ? कति खर्च गरियो होला यसको लागि ? हैट मलाई किन जान्नु छ र यी सब कुरा ।
पछाडिबाट ठूलो अट्टहास सुनिन्छ हाँसोको । म हत्त न पत्त त्यतातिर मोडिन्छु । गोलो टेबलमा एउटा फूलै फूलले सजिएको किस्तीमा एक जोर जुत्ता राखिएको छ । तिनै जुत्ताको लोकार्पण पछिको रहेछ त्यो गुन्जिएको हाँसो ।
दुलाहा दुलहीको टोली दुईतिर बसेर ठुलै बहस गर्दै छन् कि । अब दृश्यलाई एक एक कैद गर्दै जाने निर्देशन आएको छ मलाई ।
वर पक्षका एकातिर बसेर वधुपक्षसँग जुत्ता माग्दै छन् र उता एक सुन्दरी भन्दै छिन्, “म त विदेशबाट आएको , भिनाजुसँग डलरमा नै लिन्छु ।”
“साली त भिनाजु कै हो तर मेरो दिदीलाई खुसीसँग राख्नुहुन्छ भने जुत्ता दिन तयार छु ।”
म रमितालाई एकएक समेट्न तिर लाग्छु ।
दुलही बनेकी ‘दिदी’ अगाडि बसेर १६ शृङ्गारमा लजाइरहेकी छिन् । वरिपरि समाज छ जो गललल हाँसिरहेछ।
“इत्स फन” भन्दै छे अर्की साली ।
“मेरो कोहिनुरको हीरा जस्ती दिदीलाई लैजान भिनाजु कति सम्म दिन तयार हुनुहुन्छ ? सुरुवात ५ लाख बाट गरौं न त ।”
धेरै वर्ष अगाडि एउटा टेली शृङ्खलामा सायद मैले नै कैद गरेको थिएँ साहित्यकार पोषण पाण्डेको कथा ‘भिनाजुको स्वेटर’लाई ।
किन त्यो कालजयी भै रह्यो भनेको त साली र भिनाजुको खेल त आजसम्म जीवित नै रहेछ र पो । नहोस् पनि कसरी यस्ता पढेलेखेका साली भन्दै छिन् कि “मैले दिदी को मोल राखेको होइन यो त रिचुएल हो ।”
कथामा पनि त भिनाजुले दिदीलाई प्रत्यक्ष कुनै हिंसा नै गरेको त कहाँ थिए र तर दिदीलाई साली भेनाको हिमचिमले मध्यरातमा मुख प्याक प्याक नै पारेको छ । के त्यो कथामा आँखीझ्यालबाट चिहाउँदै गरेको एउटा दृश्य आज खुल्लम खुल्ला आँगनमा झुल्किएको हो त ?
विवाहमा सालीले भिनाजुको जुत्ता लुकाउने र पैसा दिएपछि छोडिदिने यो कहिलेबाट शुरु भो त्यो ठ्याकै थाहा नभएपनि अहिले चाहिँ ५ लाख बाट सुरु हुँदो रहेछ । के थ्यो होला यो शुरु गर्दा को कारण ।
हैट ! कहाँ म अलमलिएँ । तर एउटा दृश्यले भने साँच्चै म अलमलिएँ । मैले फोटो खिच्ने यो मेरो आँखामा मोती बिन्दु भएर हो कि साँच्चै नै हो त्यो ‘म्याडम’ त यहाँ पनि पो आइपुगेकी छिन् त र चिच्याई चिच्याइ भन्दै छिन् “हिंसाको चक्रमा महिला, हिंसाको चक्रमा महिला, हिंसाको चक्रमा महिला” ।
अरे वा ! हेर्दा हेर्दै त्यो घुम्टो भित्रकी दुलही त तिनै म्याडम नै पो भै सकिछन् त ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

