त्यस दिन खुइलेको शरीरले निदाउन नखोजेको होइन । आँखा बटारिइसकेका थिए । तर, मुटुमा ठुल्ठुला भ्वाङ पार्दै ज्वालामुखीहरू उम्लिरहे । ज्वालामुखीका कम्पनहरूले शरीरलाई थिलथिलो हुने गरी पटकपटक हल्लाइरहे ।

त्यो चिसो रात जसोतसो कटाउनु थियो । बिहानीको सूर्योदयले आशाका न्याना किरणहरू लिएर आउने पक्का थियो ।

उसले निदाउन अनेक प्रयत्न गर्‍यो ।  जबरजस्ती आँखा चिम्लिन खोज्थ्यो । तर, कुनै न कुनै बहानामा फेरि उघ्रिहाल्थे । जति गरे पनि आधा खुली नै रहे, उसैको कोठाको पसाङ्गिएको ढोकाजस्तो । टम्म बन्द हुनै सकेनन् आँखाका ढकनीहरू ।

ढोकाको सिधा माथि जस्ताको छानो खियाले प्वाल पारेको थियो । वर्षामा छानो चुहिएर गाह्रो हुँदै बगेको पानीले पूरै खापा भिजाउँथ्यो । इँटा पाको भए पनि जोडाइ माटोको थियो । पानीले गलाएर गाह्रो लडाउने हो कि भन्ने चिन्ता सधैँ रहन्थ्यो ।

त्यस्ता पानी चुहिने प्वाल अरू पनि थिए । तर, त्यो प्वालले उब्जाएका शङ्काका अघिल्तिर अन्य प्वाल ओझेल परेका थिए ।

एक वर्षात् त्रासमै बित्यो । अनि छोराले पोर्चुगलबाट पहिलो पटक कमाइ पठायो । छानो फेरियो । मुटुको एउटा पिलो खिलसमेत निचोरियो । सन्चो भयो । भिजेका गाह्रा र ढोका बिस्तारै सुके ।

तर, ढोका पसाङ्गिएर पूरा नलाग्ने भयो । दलिनमुनि मुसाहरू सजिलै ओहोरदोहोर गर्न सक्थे । थुन्न र छेक्नपर्ने अरू केही थिएनन् । ढोका चाहिँ बन्द गर्दा पनि सधैँ ‘आँ’ परेर बसिरहन्थ्यो । तर अन्य समस्याका अगाडि पसाङ्गिएको ढोका समस्या नै बनेन ।

खुइलेले मस्त निदाइरहेकी राममायातिर हेर्‍यो । गहिरो निद्रामा थिई । अलिअलि घुर्दै पनि थिई ।

“…क्या आनन्द छ । स्लिपिङ ट्याब्लेट खायो । मस्त सुत्यो । दायाँबायाँ केही मतलब छैन,” खुइले मुर्मुरियो ।

राममायाले त्यस दिन मात्रै स्लिपिङ ट्याब्लेट खाएकी भने होइन । यो उसको रहर पनि होइन । चार वर्षअघि डिप्रेसन भएदेखि राममायाको निद्रा दैवले खोसेको थियो । निद्रा फर्काउने दिव्यास्त्रको रूपमा स्लिपिङ ट्याब्लेट लेखिदिएको थियो डाक्टरले । रसायनशास्त्रले राममायालाई अनिदो भएरै मर्नबाट जोगाइरहेको थियो ।

उसले कम्प्युटरको पुरानो मनिटरबाट रूपान्तरित रङ्गीन टेलिभिजन खोल्यो । मन अझै बहलिएन । तैपनि हेरिरहेको थियो ।

तत्क्षण, घरबाहिर अर्को ज्वालामुखी फुट्यो । ‘छत्लङ्ग’ गरेको आवाज आयो । खुइलेको हंसले ठाउँ छोड्यो । राममायालाई घच्घच्यायो । एक पटक ‘हुँ’ गरी । उठ्ने छाँट भने देखाइन ।

टेलिभिजनको रिमोट खाटमा मिल्कायो । झ्याल खोलेर मुन्टो बाहिर निकाल्यो । सडक चकमन्न थियो । घडी हेर्‍यो । रातको एक बजेको रहेछ । झटपट हातमा टर्च बोकेर तल ओर्लियो ।

काठे भर्‍याङका प्रत्येक खुड्किलाहरू हल्लिएका थिए । तैपनि सुरक्षित नै झर्‍यो । दैलो उघार्नुअघि छाती ढक्क भयो । कुनै निशाचरले आक्रमण गर्ने हो कि भन्ने शङ्कैशङ्कामा डराउँदै बाहिर निस्कियो ।

टर्च बालेर छिमेकीले जग हाल्न खनेको खाल्डोमा उम्रिएको पानी हेर्‍यो । पानीको सतह दिउँसोभन्दा केही बढेको थियो । खाल्डोको केही भाग भत्किएर पानीमा खसेको रहेछ । खुइलेको घरतर्फ भने केही भएको थिएन । डराइडराई फर्किएर ढोका थुन्यो र माथि उक्लियो । आमाको कोठातर्फ हेर्‍यो । आमा खाटमा बसिरहेकी थिइन् ।

‘किन उठिछन् यी बुढी ?’ बत्ती बाल्यो । आमाको एउटा हातमा पानीको गिलास र अर्को हातको हत्केलामा औषधी थियो ।

त्यो पानी र औषधी गत रात नौ बजे नै आमालाई दिएको थियो उसले । दैवले अल्जाइमरको वाण हानेपछि आमाले धेरै कुरा बिर्सन थालेकी थिइन् । अल्जाइमर प्रतिरोधी बुटी खोज्न गएका हनुमानहरू गन्धमादन पर्वतमै बेपत्ता भएका थिए ।

सधैँ औषधी खुवाएर सुताइदिन्थ्यो । तर हिजो खुवाएर सुताउन बिर्सिएछ । आमाले औषधी खान र सुत्न बिर्सिइन् वा जानिनन् । हातैमा लिएर बसिरहिन् । गएर औषधी खुवाएर सुताइदियो ।

त्यसपछि खुइले आफ्नो कोठामा गयो । अघि खोलेको झ्याल खुल्लै थियो । झ्यालबाहिर सडकपारि काइँयोको रुखमा भएको कौवाको गुँडमा हेर्‍यो । सायद त्यस दिन कौवा पनि निदाउन सकेको थिएन । शोकाकुल थियो । उसले आफ्नो ठानेका दुई बचेरा आजै दिउँसो मात्र कोइलीका पछि लागेर बेपत्ता भएका थिए ।

त्यो र त्यस्तै अभागी कागहरू पटकपटक फुल पार्थे । चलाख कोइलीहरू फुल साटिदिन्थे । कागहरू मेहनतपूर्वक ओथारो बस्थे । बचेरा कोरल्थे । खाइनखाई हुर्काउँथे । बचेराहरूका पखेटा लागेपछि भुरुर्र उडेर बेपत्ता हुन्थे । कागहरू केवल कसैका लागि जनशक्ति उत्पादन गर्ने यन्त्र भएका थिए । आफ्नो सम्झिएर अरूका लागि सन्तान हुर्काउने यन्त्र ।

खुइलेले राममायालाई फेरि घच्घच्यायो । तर उही, हात लाग्यो सुन्ना । ‘यस्का स्लिपिङ ट्याब्लेट !’ रिसाउँदै भित्तेदराजमा पुग्यो । अन्तीबाटै ठाडो घाँटी लाएर खाँटी ऐला घुट्क्यायो । अनि मस्त सुतिदियो ।

०००

खुइलेको बाउ विभिन्न बहानामा धुलिखेलबाट काठमाडौँ ओहोरदोहोर गरिरहन्थ्यो । त्यही सिलसिलामा काठमाडौँको बौद्धमा जरो गाड्यो । पछि सपरिवार बसाइँ सर्‍यो । एक दाजु र एक दिदी उतै जन्मिएका थिए । यता आएपछि खुइले र एक बहिनी थपिए । खुइलेको बाउले पैँतीस-चालीस सालतिर दुई वटा एकनासका घर बनायो र छोराहरूलाई छुट्याइदियो ।

खुइलेले सिप सिक्यो । आफ्नो घरको छिँडीमा लामो समय साइकल मर्मत गर्ने व्यवसाय चलायो । सबैभन्दा धेरै, हावा फुस्किएका साइकलहरूको उपचार गर्‍यो । निष्प्राण भएका साइकलहरूमा प्राणवायु भर्‍यो । आफ्ना घरव्यवहारका आवश्यकताहरू धान्दै गयो । उमेरमै तालु खुइलिएको खुइलेलाई सबैले ‘खुइले दाइ’ भन्न थाले । उसले पनि त्यसैमा आत्मीयता देख्न थाल्यो । उसको वास्तविक नाम ओझेल पर्‍यो ।

उपभोक्ताको स्तर बढेर मोटरसाइकलमा पुग्यो । फलतः खुइलेको व्यापारको आवश्यकता पनि बिस्तारै खुइलिन थाल्यो । हुर्किएका छोराछोरीले बाउको पेसामा नाक खुम्च्याउँदै विदेशका सपना देख्न थाले । खुइलेमा आफ्नो व्यवसायको स्तरोन्नति गर्ने जाँगर र शक्ति बाँकी रहेन । बचेराहरूका दरिला पखेटा उड्न सक्ने भइसकेकाले व्यवसाय विस्तारको आवश्यकता पनि देखेन ।

खुइलेको बाउले बनाएका दुवै घर समयको जाँतोमा पिसिएर जीर्ण भए । दाजुका छोराहरू ठुलो ठाउँ खोज्दै घर बेचेर हिँडे । खुइलेले भने बाउले जोडेको घडेरी छोड्ने मन गरेन । खुइलेलाई धेरैले फकाउने प्रयास गरे । जतिसुकै आकर्षक प्रस्ताव देखाए पनि खुइलेले मन बदलेन ।

दाजुको घर किन्ने नयाँ छिमेकीले पनि आफ्नो घरसँगै जोडिएको खुइलेको जग्गामा आँखा गाडेको थियो । ऊ सोच्थ्यो, “आखिर यो खुइलेले पनि दाजु चैँ जस्तै कुनै न कुनै दिन विस्थापित त हुनै पर्छ । अहिले मेरो घर बनाउनुअगाडि नै बेचे भने त्यहीअनुसार आफ्नो तयारी गर्छु । नत्र लगनपछिको पोते त काम छैन । भो !”

त्यसैले नयाँ छिमेकीले खुइलेका अगाडि विभिन्न कोणहरूबाट लोभको अस्त्र फाल्यो । तर खुइले टसको मस भएन । नयाँ छिमेकीले घुर्क्याउन खोज्यो, “अब मैले घरको जग हालिसकेपछि त त्यो जग्गा सित्तैँ दिए नि काम छैन । ऐले नै भन्द्या छु है खुइले दाइ ।”

खुइले गल्दै गलेन । नयाँ छिमेकीका कुरामा मुन्टो बटार्‍यो ।

हार खाएको नयाँ छिमेकीले भएकै जग्गामा बेसमेन्ट सहितको व्यापारिक भवन ठड्याउने भयो ।

“ठिकै छ । बलियो घरको आड लाग्न पाउँदा मेरो घर पनि पनि सुरक्षित नै हुन्छ,” खुइलेले सकारात्मक मन बनायो ।

नवनिमार्णले खुइलेकहाँ नयाँ छिमेकीको ओहोरदोहोर निकै बढायो । छिट्टै नै नयाँ छिमेकी र खुइलेबिच आफ्नै दाजुभाइजस्तो घनिष्ठता त बढ्यो । तरपनि नयाँ छिमेकीको भित्री मनमा भने आफ्नो योजनामा खुइलेले गरेको अवरोध गढेर बसेको थियो । खुइलेले पनि नयाँ छिमेकीलाई घर साङ्लोलाई खान हिँडेको बन साङ्लो ठान्थ्यो ।

छिमेकीको घरको जग खन्न थालियो । खुइलेको घर जगको ढुङ्गाभन्दा निकै तलसम्म तासिएर जिङ्ग्रिङ्ग उभियो । खन्दाखन्दै खाल्डोमा पानी उम्रन थाल्यो । विपरीत दिशाबाट जोडले हावा चल्दासमेत पुर्लुक्क ढल्छ कि जस्तो देखियो । त्यस घरको जगभन्दा बढी खुइलेका दम्पतीको मन खनियो । छिमेकीकै पनि खनियो ।

“आत्तिनु पर्दैन खुइले दाइ, भोलि बिहानै ढलान पाटी आइहाल्छ ! अनि त तपाईंको घरले जगैदेखि बलियो टेवा पाउँछ । वज्र हुन्छ,” छिमेकीले खुइलेलाई सान्त्वना दिँदै भन्यो ।

तर खुइलेभन्दा बढी छिमेकी नै आत्तिएको प्रस्ट देखिन्थ्यो । उपत्यकाको तलैया माटो, दहीको कतारोजस्तो भूसतह, कतारोमा गाडेको चम्चाजस्तो खुइलेको घर । खाडल खनिनसक्दै भ्यात्भ्याती माटो खस्न थालिसकेको थियो । त्यही अवस्थामा धेरै बेर ठडिने साहस खुइलेको घरले गरेन ।

छिमेकीले ठेकदारसँग सल्लाह गर्‍यो । फलामका ठुल्ठुला पाता मगायो । खुइलेको जगमा आड लगाउँदै टेको दियो ।

“यत्ति गरेपछि त क्यै पनि हुन्न । इन्द्रेको बाउ चन्द्रे आए पनि लडाउन सक्दैन,” छिमेकीले खुइलेलाई भन्दा बढी आफैँलाई आश्वस्त पार्न खोज्यो ।

साँझ अबेर मात्र खुइले र नयाँ छिमेकी छुट्टिए । छुट्टिएको निकै पछिसम्म नयाँ छिमेकी सडकतिरै अल्मलिरहेको खुइलेले देखेको थियो ।

०००

खाँटी ऐला घुट्क्याएर सुतेको खुइले भोलिपल्ट बिहान अबेरसम्म सुत्यो । राममायाले पटकपटक उठाउन खोजी । तर खुइले उठ्न सकेन । शरीर बिउँझिए पनि मस्तिष्क नबिउँझिएजस्तो भयो । खोइ, कस्तोकस्तो भइरह्यो ।

खुइले बिउँझिएर चङ्गा हुँदा आठ बजिसकेको थियो । उठेर खाटमा बस्दै झ्यालको मैलो सिसा फुटेको अन्तरबाट छिमेकीको घरतिर हेर्‍यो । सडकपारि उभिएर नयाँ छिमेकी मोबाइलमा कुरा गर्दै थियो ।

राममायाले खुइलेलाई चिया दिई ।

“ढलान पाटी आयो ?” खुइलेले सोध्यो । छिमेकीको भनाइअनुसार बिहान आठ बजेसम्म काम सुरु हुनेवाला थियो ।

“खोइ, छैन त ! आउँदै होला कि !” राममायाले भनी । चुरोट सल्काउँदै खुइले बाहिर निस्कियो ।

“खोइ त पासा, अझै आएन ढलान पाटी ?” आफ्नो घरको सिमानामै खनिएको खाल्डोतिर हेर्दै खुइलेले सोध्यो । “आउँछ खुइले दाइ । बाटोमा आउँदा लफडा परेछ । त्यै भएर अलि ढिला भयो । तर आउँछ,” छिमेकीले खाल्डोको पानी बाहिर फाल्ने मेसिन चलाउँदै भन्यो ।

खाल्डोमा पानीको सतह घट्दै गयो । छिमेकीले ठेकदारलाई फोन गर्‍यो, “… अझै मिलेन तिनीहरूको कुरा ? कति बेला आउँछौ, खै ?”

“… म त्यहाँ पुग्न लागिहालेछु सर । अनि थाहा भैहाल्छ, के भएछ । जे भएको भए पनि म मिलाएर तिनीहरूलाई लिएर आइहाल्छु,” ठेकदारले छिमेकीलाई बतायो । सँगै उभिएको खुइलेले ठेकदारको आवाज मोबाइलबाहिर बाटै सुन्यो ।

“खासमा किन ढिला भाको रैछ ?” खुइलेले जिज्ञासा राख्यो । “खोइ दाइ, के हो के ? केही बुझ्नै सक्या छैन,” छिमेकीले लाचारी व्यक्त गर्‍यो ।

प्रायजसो ढलानपाटी बिहान सात-साढेसात सम्ममा कार्यस्थल पुगिसक्छन् । शरीरका मिल्ने जति भागमा प्लास्टिक बेरेर आठ बजेसम्म काम सुरु गरिसक्छन् । सामान्य अवस्थामा दुई बजेसम्म प्रायः ढलान सकिन्छ । त्यसपछि सुरु हुन्छ ढलान पाटीका सदस्यको व्यक्तिगत जीवन ।

तर, त्यो दिन दश बजिसकेको थियो । छिमेकीको मोबाइल फेरि बज्यो । “… उनीहरू चढेको गाडीले चक्रपथमा बच्चालाई ठक्कर दिइहालेछ । बच्चा अस्पतालमा छ । यिनीहरू यहाँबाट हिँड्न मानिहालेछैन । ढलान ठेकदारलाई मैले भेट्न पाइहालेछैन । ऊ चौकीभित्र छ ।”

“ठेकदार नभए पनि अरूलाई फकाएर ल्याउनु न । … तिनीहरूको के काम छ र त्याँ ? ढिला भैसक्यो याँ ।”

“… गाडी ढलान ठेकदारको छ । उसैले चलाएको । त्यै भैकन उनीहरू आउँदैन । मैले अर्कै पाटीसँग कुरा गर्दै छु ।”

“ल जे गर्ने हो छिटो गर्नुस् । अर्काको घर लड्न लागिसक्यो याँ,” छिमेकीले झोक्किंदै फोन काट्यो ।

निरीह खुइले केही बोल्न सकेन ।  घरी घरभित्र पस्यो, घरी निस्कियो । घरी चुरोट सल्कायो, घरी भर्खर सल्काएको चुरोट तान्नै बिर्सिएर मिल्कायो । समग्रमा उसको बेचैनीको पारो बढ्दै थियो ।

ठेकदारले फेरि फोन गर्‍यो, “झम्सिखेलमा एउटा ढलान सकिनै लागिहालेछ । ठेकदारसँग कुरा मिलाएछु । एक बजेसम्म सकिहाल्छ । म लिएर आउँछु ।”

खुइले र नयाँ छिमेकी दुवैको सास आयो । “उनीहरू आउने बेलासम्म यो काइँयोको रुख छिमलौँ है, खुइले दाइ । कागको गुँड पनि खसाइदिऊँ । किन पाल्नु यो यमराजलाई,” छिमेकीले प्रस्ताव राख्यो ।

खुइलेले सहमति जनायो । निर्माणको रेखदेखमा खटिएको मान्छे खुर्पा बोकेर रुख चढ्यो । उसले तलबाट धमाधम रुखको हाँगा छिमल्न थाल्यो । खुइलेको छानोमाथि बसेर कागले विलाप गर्न थाल्यो, ‘का… का..’ । एक्कै छिनमा थुप्रै कागहरू जम्मा भएर विरोध जनाउँदै नाराबाजी गर्न थाले, ‘का… का…काका …का…का…काकाकाका… ।’

जतिसुकै भिड बटुलेर कराए पनि तिनीहरूमा दमदार विरोध गर्न सक्ने क्षमता देखिएन । प्रायजसो खुइलेजस्तै खुइलिएका खुम्रे बुढा कागहरू थिए । पखेटा दह्रा भई नसकेका केही बच्चाहरू पनि थिए । एउटा बुढो काग लर्खराउँदै रुख काट्दै गरेको मान्छेलाई ठुङ्न गयो । प्रतिवादमा चलेको खुर्पामा चुच्चो ठोकिएर घाइते भई फर्कियो ।

निरीह कागहरू पेलिएको पेलियै भए । अन्ततः कागको गुँड भुइँमा खस्यो । कोइलीका हुन् वा कागका केही फुलहरू, भुइँमा बजारिएर प्याट्ट फुटे ।

ठेकदारले फेरि फोन गर्‍यो, “… झम्सिखेलवाला ठेकदारले त मानेकै हो । तर, अरू मानिहालेछैन । केई फिलिम हेर्न जाने भन्छ । केई कोठामा गएर सुत्ने भन्छ । के गर्ने होला ?”

“जसरी पनि लेरा । अर्कालाई अलपत्र पार्न पाउँछस् ? साला मर्स्या !” छिमेकी पड्कियो । छिमेकीको ठूलो स्वर सुनेर राममाया पनि घरबाहिर निस्किई । एक छिनको विवादपछि ठेकदारको मोबाइल अफ भयो ।

“अब कुनै हालतमा आज ढलान हुन सक्दैन, खुइले दाइ । तपाईंको घरको भर छैन । माथि ग्रिनहिल सिटीमा मेरो साथीको फ्ल्याट खाली छ । तपाईं अहिले त्यतै सर्नु । बरु तपाईंकोघर मर्मत पनि गरिदिन्छु । मेरो घर बनिसकेपछि फेरि यता आउनुहोला,” छिमेकीले प्रस्ताव राख्यो ।

खुइलेले राममायातिर हेर्‍यो । राममायाले नाक र निधार खुम्च्याई । प्रस्ताव अस्वीकृत भयो ।

छिमेकी भुन्भुनिंदै गाडी चढेर बत्तियो । खुइले घोप्ट्याइएको थुन्सेमाथि बसेर एकपछि अर्को चुरोट स्वाँई स्वाँई तान्न थाल्यो ।

तुरुन्तै फर्किएको छिमेकीले भन्यो, “यसो गरौँ, खुइले दाइ । जग खनेकोपट्टि भएका सामानहरू पल्लो छेउतिर सारौँ । आमाको खाट पनि पल्लोपट्टि भित्तामा सार्ने । अलि ठुल्ठुलो सामान सप्पै पल्लो छेउतिर सारौँ  ।”

खुइले केही बोलेन । आजित भएको छिमेकी झोक्कियो,“त्यो पनि हुन्न ?… यसो नि हुन्न, उसो नि हुन्न ! कस्तो घाँडो मान्छे रैछ ।”

खुइले जुरुक्क उठेर आफ्नो घरतिर गयो । पछि लागेको छिमेकीले फेरी सम्हालिँदै भन्यो,“ त्यति त गर्नै पर्छ खुइले दाइ । अनि घर क्यै भैहाले नि मान्छेलाई चैँ क्यै हुन्न । सामान पनि जोगिन्छ ।”

“त्यत्रो सामान सार्न भ्याउँछ त ?” बल्ल बोल्यो खुइले ।

“भ्याइहालिन्छ नि दाइ, मान्छे लगाउँला नि ।” छिमेकीमा सास आयो ।

तुरुन्तै रेखदेखमा खटिएकोलाई भन्यो, “दुईचार जना अलि बलिया भरिया खोजेर ल्या त, भाइ ।”

सानातिना सामान राममायाले सार्न थाली । खुइले र छिमेकी पनि सँगसँगै लागे । दर्बिला भरियाहरू आइपुगे । सबै सामानहरू सुरक्षित गरिए । आमाको खाट पनि सारियो । सबैमा प्राण भरियो । सन्तोषको सास फेरे ।

“मजैले थाकियो खुइले दाइ । जाऊँ, बाजेको सेकुवा खान । काम भएन त आज । यहाँ बस्यो भने झन् तनाव मात्रै बढ्छ ।” छिमेकीमा खुइलेलाई प्रस्ताव राख्यो ।

“जाऊँ भने जाऊँ ।” खुइले लुगा फेर्न गयो ।

“खान परेको छैन त्यस्ता छोट्टाको ।” राममायाले भनी । खुइले केही नबोली निस्कियो ।

छिमेकी र खुइले दुवै सँगै बसेर पिए । तर तिर्ने बेला खुइलेले आफ्नो पैसा अलग्गै तिर्‍यो । नयाँ छिमेकीले पनि कर गरेन । दुवैले साँझ फर्कन जतिसक्दो अबेर गरे । छिमेकी खुइलेलाई घर अगाडि छोडेर फर्कियो ।  टिल्ल परेको खुइले सम्हालिने प्रयास गर्दै घरभित्र पस्यो ।

खुइले भित्र पस्दा छोरो राममायालाई फकाउँदै थियो फोनमा । उसलाई पोर्चुगलको कार्ड बनाउन पाँच लाख रुपैयाँ चाहिएको थियो । खुइले आमाछोराको एकतर्फी संवाद सुन्दै, सम्हालिंदै भर्‍याङ उक्लँदै थियो । राममायाले भनी, “… खोइ, कता हो तेरो बाउ ! तेरै बाजेको सेकुवा खान गको रे … ।”

भर्खरसम्म टिल्ल भएको खुइलेको नशा एकै पटक उत्रियो ।

खाना खाइसकेपछि खुइलेले आमालाई औषधी खुवाएर सुताइदियो । राममायाले स्लिपिङ ट्याब्लेट खाई ।  खुइले ऐला थप्यो । दुवै मस्त सुतिदिए ।

बिहान खुइले बिउँझँदा पुरै उज्यालो भइसकेको थियो । राममाया अझै सुतिरहेकी थिई । खुइले उठेर आमाको कोठातर्फ गयो । एकनाले घरको पछिल्लो भागमा रहेको त्यस कोठामा झ्याल थिएन । सधैँ अँध्यारो रहन्थ्यो । छिमेकीले जग खनेको तर्फको गाह्रो लडेकोले आज आमाको कोठामा प्रशस्त उज्यालो थियो । केही थोत्रा कागजहरू मुठी कसेर आमा खाटमा बसिरहेकी थिइन् । खुइलेले आमाको मुठीमा रहेका कागजहरू खोलेर हेर्‍यो । बाउका पालामा मालपोत तिरेका केही रसिदहरू रहेछन् । आमा अझै एकोहोरो बाहिर ठिँगुर्‍याएको काइँयोको रुख हेर्दै थिइन् । जहाँ हिजोसम्म एउटा कागको गुँड थियो ।