सयौँ हटारुको लस्कर चुपचाप बगिरहेको छ नदी बगेजस्तै मन्द गतिमा । मानौँ त्यो कमिलाको ताँती हो, जो अनुशासित छ र गन्तव्य ताकेर हिँडिरहेको छ निरन्तर ।

प्रेमबहादुर खत्री त्यही ताँतीका एउटा हिस्सा हुन् । लामो धर्कोमध्येका एक विन्दु । हटारु टोलीमा उमेरले सबैभन्दा कान्छा ।

आकाशमा मान्छेका खुट्टा अडिने ठाउँ हुँदैन । धर्तीमा पनि एकै ठाउँमा अडिएर मनुष्यको जुनी चल्दैन । प्रेमबहादुरको जीवनमा पनि यही सत्य चलिरहेको छ ।

जीवनमै पहिलो पटक हाट हिँडेका छन् प्रेमबहादुर । उमेरले भर्खर १६ वर्षको हाँगो समाएका उनका लागि यो यात्रा बिलकुल अनौठो छ । आफ्नै बा र काकाहरूबाट हाट हिँड्नेहरूको अनेक किस्साहरू नसुनेका होइनन् र थाहा नपाएका होइनन् ।

हाट जान पाउँदाका अनेकन् उत्साह र उमङ्ग छन् गाउँलेहरूसँग । कष्टपूर्ण क्षणहरूको सम्झना पनि उस्तै ।

हाट पुर्याउने प्रेमबहादुरको भारी पिठ्यूँमा छ ।

दुई कन्टर घ्यू, दुई पाथी लटेसँगै प्रेमका लत्ताकपडा र बाटोको रासनले डोको भरिएको छ ।

सबैका घरघरमा डोकाहरू तयार छन् । तल घ्यूका टिन, माथि गेडागुडी, जडीबुटी र अरू अनेक सामग्रीहरू । सामान नखसोस् भनेर गजेवा (जाली) ले डोकोको मुख बाँधिएको छ र डोको नफुस्कियोस् भनेर कसन डोरीको सुर्के पारेर बाँधिएका छन् ।

हाट जाने साइत जैसीले हप्ता दिन अघि नै निकालेका थिए । प्रेमबहादुर अधैर्यतापूर्वक आजको दिन पर्खिइरहेका थिए ।

‘तँ सानै छस्, भारी बोकेर हाट पुगेर आउन सक्छस् त ?’ गाउँ चहार्दै आएका माझीले हिजो साँझ मात्रै सोधेका थिए ।

‘खै सक्छु भन्छ के रे ।’ प्रेमका बाले जवाफ फर्काएका थिए ।

‘किन नसक्ने ? सक्छु ।’ हाँस्दै भनेका थिए प्रेमले ।

‘बा बिरामी छन् । भाइहरू सक्दैनन्, सानै छन् । घरको जेठो छोरो म हाट नगए अरू को जान्छ त ?’ प्रेमका लागि रहर जति थियो, त्यो भन्दा बढी बाध्यता थियो हाट हिँड्नु ।

हिजै बेलुका चन्द्रबहादुर रोका टुप्लुक्क प्रेमको घर झुल्किएका थियो । चन्द्रबहादुर र प्रेमबहादुर दामली हुन् । पोहोर मात्रै हाट गएको थियो चन्द्रबहादुर ।

हाट जाने अघिल्लो दिन ऊ प्रेमलाई भेट्न आएको थियो ।

‘कस्सम ! तिल्केनीको लेकमा तँलाई गाह्रै पर्छ ।’ चन्द्रबहादुर रोकाले प्रेमलाई डराउन दिँदै भनेको थियो ।

सिङमा माटो घसेपछि के डर, के रहर ?

‘किन नसक्ने ? कत्रो छ र त्यो लेक ?’ प्रेम बहादुरको उत्सुकता पनि कम थिएन ।

‘हाम्रो गाउँको लेकभन्दा पनि अग्लो छ । बाटो झन् अप्ठेरो छ ।’ चन्द्रबहादुरले आफू भारीसहित उकालो उक्लिँदा घाँसका पाँजा समाउँदै उक्लिएको र ओरालो झर्दा एकदम सम्हालिएर झरेको बतायो ।

‘अलिकति खुट्टाको सन्तुलन बिग्रियो भने बाँचुला भन्ने नसोचे हुन्छ हेर । हाडखोर भेटिन पनि गाह्रै पर्छ बाबै ।’

उसका कुरा सुन्दा प्रेमबहादुरको जिउ सिरिङ्ग भयो ।

‘कति हटारु त डोकोसँगै भीरबाट गुल्टिन्थे रे ।’

हिँड्दा भोकले पेट कोक्याएको, थकाइ लागेर एक पाइला अगाडि सार्न नसकेको, राम्ररी सुत्न नपाएको, खुट्टाका नङमा ठेस लागेर रगत चुहाउँदै हिँडेको, खुट्टाका पिडौँला फर्किंदाका अनेकानेक अनुभूतिका कथा सुनायो चन्द्रेले ।

चन्द्रेका कुरा सुन्दा हाट हिँडेका हटारु घर फर्किन सक्छन् कि सक्दैनन् भन्ने अन्यौलता बढ्यो प्रेमको मनमा । उसले आफ्नै सामर्थ्यको लेखाजोखा गर्यो । हिसाब निकाल्यो ।

‘हाट यात्रा न हो । यात्रा सधैँ रमाइलो मात्रै हुँदैन । कहिलेकाहीँ नसोचेको पनि हुन्छ । बाँचे फर्किने हो मरे उतै मरिएला ।’ मनमनै चित्त बुझायो प्रेमले ।

प्रेमलाई हाट पुग्नु थियो । उसलाई पाका मान्छेहरूका मुखबाट सुनेको हाट नियालेर हेर्नु थियो ।

कठिन छ पहाडी जीवन । पहाडमा हिँड्नलाई गतिला बाटा छैनन् । खोला नदी तर्न पुलहरू बनेका छैनन् । जङ्गल, झाडीहरू छिचोल्दै बाटो पहिल्याउनु गाह्रो काम छ ।

वर्षदिनलाई पुग्ने नुन तेलका लागि हाट नझरी हुँदैन पहाडलाई । बाटामा बास राम्रो पाइँदैन । पिउने पानी भेटिँदैन । दिनभर लुखुरलुखुर हिँड्नुपर्छ । खुट्टा दुख्यो भन्न पाइँदैन । थकाइ लाग्यो भन्न पाइँदैन । भारीले अँचेट्छ, सक्दिन भन्न पनि मिल्दैन । भन्नु पनि कसलाई । गाह्रो कसलाई भएको हुँदैन र ? सबै हटारुका शरीर न हुन् । मालचरीलाई झैँ कि त उडान भर कि त भुइँमा झर भनेजस्तो हुन्थ्यो उनीहरूलाई ।

टोलीमा ६०–७० जना हटारु छन् । कतिका खुट्टामा चप्पलसम्म छैनन् । खाली खुट्टा आएका छन् उनीहरू । सबैले कम्मरमा धरो (धोती) बाँधेका छन् । शरीरमा तना बाँध्ने लामफेरी भोटो छ । टाउकोमा मार्किनको टोपी । डोकोमा घ्यू र गेडागुडी छन्, लत्ताकपडा, रासन र भाँडाकुटी यस्तै ।

‘ल है सबैजना जामुनघारी बासमा आउनू ।’ कटवालले हिजो बिहानै गाउँ घुमेर हाँक हालेका थिए ।

दुई चार जना पाका, दुई चार जना बलिया र एक दुई जना पहिले पनि हाट आएकाहरूको साथ लागेर घुमखहरेबाट एउटा हटारुको डफ्फा निक्लिएको छ ।

हाट आउने टोलीको प्रमुख छन् कालीभान रोकाय । टोलीको प्रमुखलाई  माझी भन्छन्, कसैले ठालु पनि भन्छन् । ठालुहरू दौरा सुरुवाल लाउँछन् । टाउकोमा पगडी गुत्थ्छन् । खुट्टामा जुत्ता हुन्छ । टोलीका ठालु छन् । अरू पनि पाका छन् । टोलीमा छन हर्कबहादुर डाँगी, कवे चलाउने, दलबहादुर खत्री पनि । उनीहरू पाका र बुझक्की छन् ।

कालीभान रोकायकै नेतृत्व र निर्देशनमा घुमखहरेबाट हटारुको टोली हाट हिँडेको छ ।

सबैलाई थाहा छ, यात्रा थालेपछि घर नफर्किँदासम्म हिँड्नु छ । जाँगर चलोस् या नचलोस् । हिँडिरहनुको विकल्प छैन । चाहे भोक लागोस्, चाहे टाउको दुखोस् । हिँड्नै पर्छ । पर्खिएर कोही बस्दैन बाटाहरूमा । मिलेका साथीसँग ओभानो बाटोमा मन फुकाउँदै हिँड्नुको रमाइलो र आनन्द भने बेग्लै छ ।

पहिलो बास शुभाघाट जामुनेघारी भयो । नजिकै भेरी नदी सुसाइरहेको छ ।

नदीमा जलभद्र देवता हुन्छन् । शुक्रवार नदी नाघ्न हुन्न भन्थे । नदी नाघ्दा देउता रिसाउँछन् र हाट जाँदा बाटोमा पानी पारिदिएर हटारुको बिचल्ली हुन्छ भनेर पाका हटारुहरूले सुनाउँथे । पानी पर्ने बित्तिकै हटारु बिरामी पर्थे ।

शुक्रवारको दिन प¥यो भने नदीवारि नै बास बस्ने चलन थियो । त्यसदिनको बास नदीवारि भयो ।

भेरीमा राजीहरूले डुङ्गा तार्थे । डुङ्गा साना थिए । एकपटकमा ५–७ जना बस्न मिल्ने हुन्थ्यो । पालैपालो सबैजना घाट तरे । ‘मैले तिमीलाई नाघेँ, मलाई दोष नलागोस्’ भन्दै सबैले नदीलाई ढोग गरे ।

हटारु शनिवार नछुट्टिनु, मङ्गलवार नमिसिनु अनिष्ट हुन्छ भन्थे । घर छोडेपछि माझीहरूले अनेक नियम लाउने रहेछन् ।

दोस्रो बास बन्यो, माथिल्लो बडाखोली । भारीसहित धेरै हिँड्न सकिएन । बढीमा दिनमा २५–३० किलोमिटर जति हिँडेपछि टोलीले बास बस्ने ठाउँ खोज्थ्यो ।

दिनभर डोकोको भारी बोकेर हिँड्नुछ । आज पनि त्यही बोक । भोलि पनि त्यही बोक । पालो दिने कोही छैन । सघाउने कोही छैन । बोकेको छ, हिँडेको छ । सके पनि नसके पनि हिँड्नै पर्छ ।

एक दुई दिनसम्म पो रहर बाँकी हुन्छ । जब भारी बोक्नु दैनिकी बन्छ त्यो कष्टमा बदलिन्छ ।

तेस्रो बास बबई गेरुवानीमा भयो । कोही दाउरा खोज्न लागे । कसैले पानीको जुगाड गर्न । बेलैमा खाना खाए ।

हटारुहरू रातभर हाँसठट्टा गर्छन् । अघिल्लो पटक हाट आउँदाको कुराहरू निकाल्छन् ।

कथा भन्छन्, श्लोक हाल्छन्, गीत गाउँछन् । एकैछिन सुते पनि निद पुग्छ ।

‘भोलि बबई तरेर देउरालीको उकालो चढेर हाम्रो बास खर्कबारमा हुन्छ है’, सुत्नेबेला टोली नाइकेले सबैलाई सूचित गर्छन्, ‘कसैका खुट्टा सुन्निएका भए नुन तताएर सेक्नू ।’ बूढापाकाले भनेजस्तै गरे प्रेमले पनि ।

डुङ्गामा तर्नुपर्थ्यो भेरी नदी । बबईमा भने गहिरो नभएको ठाउँबाट जँघार तरिन्थ्यो ।

उनीहरू बिहानै उठेर आ–आफ्ना डोको बोकेर यात्रामा निक्लिए । सबेरै उनीहरूले बबई तरे ।

‘बबई तरेपछि उकालो सुरु हुन्छ । यात्राको यो अन्तिम उकालो हो,’ माझीले भन्छन् ।

गाउँ छोडेपछि तीन उकालो तीन ओरालो पर्दा रै’छन् ।

मेहलकुनादेखि बडाखोलीको लेकसम्म एउटा उकालो छ । जुङखोलादेखि तिल्केनी लेकसम्मको अर्को उकालो । बबई खोलादेखि देउराली डाँडोसम्मको उकालो तेस्रो उकालो छ ।

गह्रौं भारी बोकेर उकालो चढ्नु निकै कठिन काम छ ।

उकालो चढाइ सकियो पनि ।

देउरालीमा सबैले फूलपाती चढाए, ‘जय देउराली माई ! तिमीलाई पाती हामीलाई जाती ।’

देउराली डाँडामा टोली सुस्ताएको छ ।

सुखको सास फेरेर हलुका भएपछि टोली ओरालो झर्न थाल्यो ।

देउरालीलाई नाच्ने लेक भन्थे । नयाँ मान्छे हाट आउँदा ननाची जान पाउँदैनथ्यो । पन्थेले सबैलाई सगुन बाँड्नुपर्थ्यो । पन्थेलाई पनि सबैले माया गर्ने चलन थियो ।

बाटोका ठाउँ–ठाउँमा भेटिन्छन् हटारुका बासहरू । बेलको रूखमुनिको बास बेलबास । आँपको रूखमुनिको बास अम्बास ।

कुनै बेला देउरालीको फेदी गरगरे खर्कवारमा चौथो बास हुन्थ्यो रे हटारुको । मूल पानी भएको ठाउँ हेरी दाउरा जम्मा गर्ने, सबेरै बास बसेर थरी सफाइ गर्ने, चुल्होचौको लगाउने, पकाउने खानेदेखि सुत्नेसम्मको बन्दोबस्ती मिलाउनुपर्थ्यो रे हटारुहरूले ।

यो बाटोमा दाउरा र पानीको जोहो गर्न सजिलो छ ।

देउराली झरेपछि चुरेको खोँचमा अवस्थित छ घारी गरगरे । घारी गरगरेदेखि उत्तरमा देउरालीको उकालो सुरु हुन्छ र दक्षिणमा समथर भूगोल आरम्भ हुन्छ । त्यसैले हटारु यहाँ बास बस्न मन पराउँथे ।

तर हिजोआज उनीहरू यहाँ बास बस्दैनन् । बास नबस्नुका पछाडि घुमखहरे कोटालेका दुई भाइ कुनै बेला हाट आउँदा यही बासमा मरेका थिए रे ! बास बस्दा राति उनीहरूको आत्माले तर्साउँछ भनेर हटारु यहाँ बासा बस्न डराउँदा रहेछन् । माझीले कोटाले दाजुभाइका कथा हाले । ‘हाम्रै गाउँको हटारु टोली हाटबाट फर्किँदा यसै ठाउँमा बास बसेको रहेछ । राति कोटालेका दुई भाइलाई पखाला लागेछ । उनीहरू तारन्तार पखाला गर्न झाडीमा जान थालेछन् । लहै कोटालेहरूलाई हैजाले समाते जस्तो छ । अब यहाँ हैजा फैलिन्छ है । तिनताका हैजाको महामारी फैलिरहन्थ्यो ।

हटारुको त्यत्रो बगाल केही नभनी कोटालेका दुई भाइलाई त्यहीँ छाडेर रातारात बाटो लागेछ । उनीहरू देउरालीको बुलबुलमा पुगेर बास बसेछन् । घारी गरगरेमा कोटालेका दुई भाइ मात्र रहे । उनीहरूको शरीरमा पानीको मात्रा कम भइसकेको थियो । कोटालेका दाइभाइ पानी खान नपाएर छटपटाए । र त्यहीँ मरे ।’

मुनामदनको कथामा मदनलाई हैजा लाग्दा भोटे भेटिएझैँ कोटालेका दाजुभाइलाई बचाउने कुनै मनकारी मानिस भेटिएन । उनीहरू मर्न लाग्दा न साथ पाए न उनीहरूको शवकै सद्गत भयो ।

आज पनि हटारु त्यहाँ बास बसेनन् । उनीहरू खर्कवार गाउँ पुगेर बास बसे ।

धेरैले घरबाटै बनाएका भुङ्ग्रे रोटी बोकेका छन् । ती रोटी चिनी हाली पानीले मुछेका पिठोबाट बनाइका छन् । दिउँसो भोक लाग्दा सबैले यिनै भुगुरे रोटी खान्छन् । बिहान बेलुकी भातै खान्छन् ।

चामल भुटेको खट्टे खुदोमा मोलेर ल्याएका छन् । सबैले आफूसँग ल्याएको खानेकुरा बाँड्छन् पनि ।

कसले के ल्याएको छ, एक एक वटा टुक्रा भए पनि बाँडेर खान्छन् ।

घरबाट हिँड्दा कसका परिवारले के पठाएका रै’छन भन्ने चासो हुन्छ । बुढापाकाहरू ‘छोरो परदेशमा चिनिन्छ, परिवार हाटमा चिनिन्छ’ भन्छन् । कसैका चामलमा बियाँ बढी रै’छन् भने ‘कस्तो अल्छी घरकाले पठाका रै’छन्’ भनिदिन्छन् । घरको इज्जत स–साना कुराले जान्छ । स–साना कुराले घरको इज्जत धान्छ पनि । तरकारीमा नुन अड्कल्न जान्ने पनि उपरसेठ हो भन्छन् बुढाहरू ।

केटाहरूले आफूभन्दा पाकाको बिस्तारा मिलाइदिन्छन् । भाँडा माझ्दिन्छन् । पाका हटारु भन्छन्, ‘फलानाको छोरा त कस्तो सुवासिलो रै’छ ।’

पहिलो पटक हाट आएको किशोरलाई उछिट्टे भनेर बोलाउँछन् । पन्थे पनि भन्ने चलन छ । पन्थेलाई नानाभाँती भनेर जिस्क्याउँछन् ।

प्रेमबहादुरलाई पनि हटारुको टोलीले जिस्क्याउँछ । अनेक भाउँतो लगाउँछ । रूखलाई चुम्मा गर्न लगाउँछ । हटारुको टोलीमा हाँसोको लहर चल्छ ।

चन्द्रवीर रोका अघिल्लो वर्ष हाट आएर पन्थे भैसकेको थियो । उसले पन्थेलाई यस्तो यस्तो गर्छन् भनेर प्रेमबहादुरलाई पहिल्यै सुनाइसकेको थियो । प्रेमबहादुर आफूलाई नजिस्क्याउन भनेर सचेत बनाएको छ ।

घर छोडेको चार दिन भइसकेको छ । अझै एक बास बाटोमा बसेपछि मात्रै नेपालगन्ज हाट पुगिने छ ।

आज पनि टोली बिहानै उठेर यात्रा सुरु गरेको छ ।

घनाजङ्गलका अँध्यारा गोरेटाहरू, मुटु काप्ने भीर र उर्लिंदै उँधो बग्दै गरेका निला नदीहरू छिचोल्दै हटारुको लस्कर हिँडिरहेको छ ।

पहाडको उकालो ओरालोमा भन्दा समथर मैदानमा हिँड्न गाह्रो हुने रहेछ । ‘दमारमा पछाडिबाट पुछारकालाई लुट्छन् है चनाखो रहनु भन्छन्’ माझीले, ‘अब हाट नपुग्दासम्मै चोरको डर हुन्छ नि !’

बाटामा चोर लाग्छ भनेरै मान्छे ठूलो बगाल बनाएर हिँड्ने त हो नि ।

प्रेमबहादुर र चन्द्रवीर बगालको बीचोबीचमा हिँड्दै छन् । बगाल ठूलै छ ।

घरीघरी माझीले ठूल्ठूलो स्वर निकालेर गीत गाउँथे–

गुर्भाकोट त भन्न मात्तै

भोटेचुली अल्को

जुन माया कर्मैमा छैन

उसकै लाग्न्या झल्को ।

 

चौँरेडारी ओरालीअ तल बबैसम्म

मर्नैको खबरी पाइनँ बलै पौरखम ।

 

उँधो जाने हटारु त उँभो आउने नुने ।

न फेरि जोवानै आउने, न मनैको हुने ।।

 

खाली खुट्टा हिँड्दा हिँड्दा हटारुका खुट्टाका पैताला गैँडाका छाला जस्तै बाक्ला भएका छन् । कतिका कुर्कुच्चा फुटेर रगत आएको छ ।

हटारुका थाप्लामा आउँदा पनि भारी, जाँदा पनि भारी ।

खर्कवार जङ्गलले घेरिएको सानो थारु गाउँ छ । जङ्गलको बीचमा खेतका गरा छन् । झाडीमा धुवाँ पुत्ताइरहेको छ ।

हटारु गीत गाउँदै हिँड्छन् –

छ महिना जलने रै’छ बेलासेको झाडी

गरे चाहिँ नगरे भलो आधा जिमिदारी ।।

गौँथलीले गुँड लायो घरको दल्यानैमा

मेरो चिठी नेपाल गैगो साइछौ सल्यानैमा ।

गाउँनजिकै काठको अग्लो चौकी छ । चौकीमा प्रहरी छन् । हटारुको डोकोमा सबैथोक छ । चौकीमा गजेवा खोलेर डोकोको सामान देखाउनुपर्छ । कसैले चरेस ल्याएको छ कि भनेर प्रहरीले चेक गर्छन् । चौकीमा नरोकी अघि हिँड्यो भने प्रहरीले अटेरीको डोकोमा भाला रोप्न सक्छन् । त्यसपछि त्यति लामो बाटो बोकेर ल्याएको सबै सामान भुइँ भरी ।

हटेरुलाई देखेर थारुहरू ट्वाल्ल परेर हेर्छन् । पहिलो पटक प्रेमबहादुर थारुहरूका घर देखेर छक्क छन् । उनीहरूका पहिरन, उनीहरूको भाषा सुनेर अचम्म मान्छन् । महिलाहरू हेल्का बोकेर माछा मार्न हिँडेका छन् । लोग्ने मान्छेले लडिया हाँकेका छन् । ‘यो निबुवा गाउँ हो, थारुको गाउँ ।’ माझीले सुनाउँछन् । हटारुको लस्कर चप्परगढीबाट डुडुवा तरेर नहरको बाटो हुँदै चटारको तल्लो बाटो पिपरी पुगेको छ ।

जङ्गलका बीचबीचमा साना साना थारु बस्तीहरू भेटिन्छन् । यत्रो मान्छेका बगाल कहाँबाट आउँछ भनेर थारुहरू सोच्छन् होला ? आउँदा डोको बोकेर आएका छन् । फर्किँदा पनि डोकै बोकेर फर्किएका छन् । सुरु सुरुमा त थारुले आफूहरूको कुवाको पानी पिउन दिँदैनथे रे ।

भारी बोकेर हिँडिरहेको प्रेमबहादुरको मनमा कुरा खेल्छ, हाटले पहाड र तराई जोडेको छ । हाटले फरक भूगोल, फरक स्वभाव र फरक संस्कृतिका मानिसलाई एकै ठाउँमा बोलाउँछ । नत्र कहाँ देख्न पाउनु थारु बस्ती र यहाँका मानिसहरू ।

हटारुलाई गहिरिएर नियाल्दा जहिल्यै हतार भएको प्राणी जस्तो लाग्छ ।

पाँचौँ बास भिखारीपुरको बगियामा हुने कुरा माझीले तय गरे । टोली भिखारीपुरको बगियामा बास बस्ने भयो ।

मान्छे धेरै भयो भने हल्ला धेरै हुन्छ । त्यहाँ पनि धेरै भए ।

‘लेखाल बस्ने, कोचलो बढी गर्छन्’ भन्दै पछि–पछि आएको अर्को सानो बगाल अझै अगाडि हिँड्यो । हिँडदा हिँड्दै उनीहरू अर्को बगियामा बास बसेछन् । बगियाको बसाइ पनि कहाँ सुरक्षित हुन्छ र ? सर्प बिच्छीको डर उस्तै । छानो नहुँदा शीत पर्ने डर हुन्थ्यो । हटारुहरू पाएसम्म मुढा खोज्थे र आगो बालेर सुत्थे ।

सानो बगियामा बास बसेका हटारु खाइपिई सकेर सुतेछन् ।

रात छिप्पिँदै जाँदा अँध्यारोमा एक दुई जना मान्छे आइपुगेछन् । उनीहरूका हातमा बन्दुक थियो रे ! कोही डोका चेक गर्न आएको होलान् ? भन्ने सोचे हटारुले । उनीहरूले त डोकाको गादो काट्दै घ्यूका कन्टर निकाल्दै लैजाँदै गरेछन् । हेर्दाहेर्दै चोरहरूले सबै घ्यू लगिदिए । त्यत्रो बाटो जोगाएर ल्याएको सबै घ्यू हाट पुग्ने पुग्ने बेलामा चोरले चोरिदिए ।

उनीहरूलाई रुनु न हाँस्नु भयो ।

गाउँघरतिर भन्ने गर्थे – धनी रुन्छ बाटामा, निर्धनी रुन्छ हाटमा ।

उनीहरूको हालत त्यस्तै भयो । घ्यू भएकाहरू बाटोमा रुनुपर्यो । एक कन्टर घ्यू बेचेको पैसाले एउटा घरको नुन, फलाम, मट्टितेल, एकसरो कपडादेखि घरलाई चाहिने मसला किन्न पुग्थ्यो ।

सर्वस्व लुटिएका जस्तै भए ती हटारुहरू ।

बूढा पाकाहरू ‘सय भाइका छोरा र एक भाइका छोरा मिलेर हिँड्नु’ भन्छन् । अलिकति सावधानी अपनाएको भए सायद यस्तो चोरी हुँदैनथ्यो ।

अब थकथकाएर बस्नुको कुनै अर्थ थिएन । सामान चोरी भयो भनेर फर्किने कुरा पनि भएन । सामान चोरिएका हटारु मन अमिलो बनाएर अघि बढे ।

बाटोमा कोही हाट जाँदै थिए, कोही हाटबाट फर्किँदै थिए । हाट आउने हटारुका बाटा फरक थिए ।

जुम्ला कालिकोटका हटारुहरू अप्ठेरो पहाडी बाटो छिचोल्दै दैलेख सुर्खेतका रातानाङ्ग्ला, रानीमत्ता, सिद्वपाइला, गडगडे, करेखोला, राङ्घाट, छिन्चु, हर्रे हुँदै बबई नदी तरेर देउराली, हात्तीसार भएर नौबस्ता पुग्थे ।

बाटोमा बास बस्नका लागि सुरक्षा, छहारी, पानीजस्ता कुराहरू सबैतिर सहज थिएनन् । मैटहवाको काली बगियासँगै थियो कुवा । बगियामै उपलब्ध हुन्थ्यो दाउरा पनि । एक झरी थेग्ने रूख थिए ।

बिहान नेपालगन्जबाट कस्सिएर हिँडेकाहरू काली बगियामा आएर सुस्ताउँथे र खाना खाएर फेरि हिँड्थे । उनीहरूका लागि काली बगिया एउटा अनिवार्य बाटो थियो ।

चल्तीको बाटो थियो काली बगियाको बाटो ।

आधा सल्यान, आधा दाङका ठुरियाबाट कम्दी निक्लिएर फुलटेक्रा हुँदै एकलैनी बजार पुग्थे । यो बाटो पनि व्यस्त बाटो रहेछ ।

नेपालगन्जको हाट देखेर प्रेमबहादुरको मन रमायो । बाटोका सम्पूर्ण कष्टहरू बिर्सिएको छ । पहिलो पटक यस्तो ठाउँ देख्दा छक्क परेको छ ।

गाडी चलेका छन् । ठूल्ठूला महाजन छन् । समथर भूगोल छ । एउटा घर बनाउन कति खर्च लाग्यो होला ? कति धेरै पसल हुन् ? हाम्रोतिर किन यस्तो भएन भनेर उसले सोच्छ । दुखेको खुट्टाको पीडा बिर्सिएको छ । भारीले थिचेको मुन्टो अझै घुमाउन मिलेको छैन । खुट्टा अझै सुन्निएका छन् । जिउ अझै अररिएको छ ।

घ्यू बास बसाले बनियाँले ठग्छन् भन्थे । ‘घ्यू बास बसाल्नु हुँदैन । घ्यू बास बसाले घ्यूवारेले रेट घटाउँछन् ।’ प्रेमबहादुरलाई पाकाहरूले भनेका थिए । जसरी पनि पुगेकै दिन घ्यू बेच्नुपर्छ । पहाडमा घ्यूको गन्ती गणनै हुँदैन । पहाडमा सबैले गाईभैँसी पाल्छन् । त्यही घ्यू बेचेर वर्षभरिलाई पुग्ने नुन तथा लत्ताकपडा खरिद गर्छन् ।

हाटको रमझम प्रेमबहादुरका आँखामा छ । उसका आँखाले हेरेर भ्याएको छैन । तर त्यो पनि पहिल्यै घ्यू जिम्मा लगाउनु थियो । उनीहरूले जिम्मा लगाए ।

घ्यू किन्ने घिउवारे रहेछन् भग्गु बनियाँ ।

ठूल्ठूला कराहीमा घ्यू तताउँदै थिए पसलकै छेउमा । ठूल्ठूला डाडुले घ्यू चलाउँदै थिए । घ्यूबाट निक्लिने फिँज, लेदो फालेको ठाउँबाट नमिठो दुर्गन्ध आइरहेको थियो ।

घ्यू खर्याएर तताएपछि त्यसलाई नयाँ कन्टरमा फेरि प्याक गरिँदो रै’छ । ‘बेचेको घ्यू बम्बै कलकत्ता पुग्छ रे !’ चन्द्रेले भनेको थियो ।

भग्गुले सबैको घ्यूको पैसा तिरे ।

अँध्यारो भइसकेको छ ।

हाटमा हटारु बस्ने दुई बंगला छन् । एउटा दैलेखी बंगला अर्को सल्यानी बंगला भन्छन् । प्रेमबहादुरको टोली दैलेखी बंगलामा पुगेको छ । टिनको टहरो छ लामो । त्यहीँ बस्ने, त्यहीँ पकाउने र खाने तय भैसकेको छ ।

अर्को दिन सबेरै उठेर बजार निक्लिए । ‘सबै जना सामान खरिद गर्न नजानु है, कोही सामान कुर्न पनि बस्नुपर्छ । सामान नरुङ्ने हो भने सामान चोर्छन् ।’ माझी भन्छन् ।

कोही सामान किन्न निक्लिए । कोही बंगलामै अडिए ।

‘सामान किन्दा बेच्दा बनियाँले नापोमा ठग्छन् है । ख्याल गर्नुपर्छ ।’ आफ्ना टोलीका हटारुहरू कोही पनि नठगिउन् भन्ने माझीको मन छ ।

बंगलाबाट निक्लिँदा टोलीमा सबैभन्दा लामो हात भएकालाई कपडा नाप्ने जिम्मेवारी तोकिएको छ ।

बजारमा खुब मोल मोलमोलाइ चल्थ्यो । यतिमा दिए किन्छु नत्र किन्दिनँ भनेपछि बोलाएर लैजा भन्थे व्यापारी । भरे बास बस्ने ठाउँमा पुगेर साथीहरूले कसले के कतिमा सामान किनेको रै’छ भनेर बुझ्दा बनियाँले दोब्र्याएको थाहा लाग्थ्यो । सामान किनेपछि फिर्ता हुन्थेन ।

‘नानपाराका गुण्डाले जेब काट्न सक्छन्, सतर्क रहनु है ।’ चन्द्रेले प्रेमबहादुरलाई भनेको थियो ।

पैसा लुटिइने डर सबैलाई छ । त्यसैले सबै चनाखा देखिन्छन् ।

बागेश्वरी मन्दिरदेखि बजार सुरु हुन्थ्यो ।

त्यति बेलाको प्रमुख बजार अहिलेको एकलैनी बजार थियो ।

‘महाजन यो पन्थे हो है ! यसलाई गुण दिनु ।’ माझीले प्रेमबहादुर तिर इसारा गर्दै बनियाँलाई भन्छन् । एउटा बनियाले त प्रेमबहादुरको टाउकोमा पगडी नै गुथिदिए । जति पसलमा गए, महाजनहरूले प्रेमबहादुरको हातमा गुण थमाइदिइरहे । ‘धेरै गुण नखानु, रुघा लाग्छ’ घरबाट निक्लिँदा उसलाई बाले भनेको सम्झियो ।

प्रेमबहादुरले हातको गुण जाँघेको खल्तीमा राख्यो ।

नेपालगन्ज जङ्गबहादुरले बसाएको सहर हो भनेर हटारुहरू कुरा गर्छन् । जान्ने बुझ्ने पाका हटारुहरू आपसमा कुरा गरेको प्रेमबहादुरले सुन्छ, अङ्ग्रेजको विरुद्धमा भड्किएको विद्रोह दबाउन जङ्गबहादुरले फौज पठाएका थिए रे ! अङ्ग्रेजले त्यही गुन फिर्ता गर्न नेपालसँग पहिले खोसेको जमिन फेरि फिर्ता गरेका रे । बेलायत र फ्रान्स जस्ता देश देखेका जङ्गबहादुरले नेपाल भारतको बीच पनि व्यापार गर्ने सहर बसाउने रहर भएछ । त्यसपछि नेपालगन्ज सहर बनाएका रे ।

उनले भारतबाट व्यापारी झिकाएछन् । चरा मार्ने चिडिमार, शौचालय सफा गर्ने भङ्गी, घाँस काट्ने घँसियार, कपडा धुने धोबी पनि झिकाएछन् । छालाको काम गर्ने चमार, जुत्ता बनाउने मोची ल्याएछन् । एउटा सहरका लागि चाहिने धेरै थोक झिकाएछन् । पाटी पौवा बनाउन लगाएछन् । ताल खनाउन लगाएछन् ।

त्यसपछि भन्सार खुले । व्यापारीले आफूसँगै मुन्सी ल्याए । कुल्ली ल्याए । नेपालगन्ज पश्चिमी पहाडी जिल्लाहरूका लागि किनमेल गर्ने मुख्य हाट बनेछ ।

बुढा पुरानामा हटारुहरूको कुरामा प्रेमबहादुरले मन लगाएको छ ।

त्रिभुवन चोक केन्द्र बनाएर दायाँबायाँ नेपालगन्ज फैलियो ।

नेपालगन्ज हाटको चर्चा पहाडसम्मै चल्छ । नेपालगन्जको शाखाको रूपमा पश्चिम बर्दियामा राजापुर बस्यो । कर्णालीपारि कटासे बजार जन्मियो । यी सबै बजारले पहाड र तराईलाई जोड्ने काम गरे ।

किनमेलपछि हटारुले बचेको पैसा फेरि बनियाँलाई नै राख्न दिँदा रै’छन् । प्रेमबहादुरले पनि त्यसै गर्यो । बनियाँले बहीखातामा नाम र राख्न दिएको पैसा लेखेर राख्दा रै’छन् । अर्को दिन माग्दा फिर्ता दिँदा रै’छन् । बनियाँहरू लेनदेनको मामलामा इमानदार भएको प्रेमबहादुरले अनुभूति ग¥यो ।

देउरालीबाट ओरालो झरेपछि खुब हर्ष हुन्थ्यो । अब त नेपालगन्ज हाट धेरै टाढा छैन भन्ने लाग्थ्यो ।

नेपालगन्ज छोड्ने दिन पनि हटारुको मन त्यसै पनि खुसी हुन्थ्यो । अब भोलि त घर फर्किने हो भन्ने हुन्थ्यो । अघिल्लै साँझ भारी बाँधबुँध गरिएको छ । नुनदेखि सुनसम्म, सियोदेखि खिपसम्मका सामान छन् । कोही बनियाँको दोकानमा केही छुट्यो कि ? कतै नुन छुट्यो कि ? कतै तेल छुट्यो कि ? सम्झीसम्झी सामान जुटाएका छन् । प्रेमबहादुरका लागि पहिलो हाट थियो यो । पहिलोपल्ट नै उसले धेरै अनुभव सँगाल्ने मौका पाएको छ ।

नेपालगन्जबाट बोकेर लगेका सामान गाउँमा चिज हुन्थे । गाउँमा को धनी छ भन्ने नाप्ने कुरा यिनै थिए । जसका धेरै भाइ हुन्थे उनीहरूकै घरमा बढी नुन हुन्थ्यो । प्रेमबहादुरलाई हाटका सबैथोक उठाऊँ जस्तो लागेको छ ।

पुस महिनाभरि गाउँमा घर गोठ छाउने चलन हुन्थ्यो । मान्छेका घरभित्र के छन् के छैनन् सबैलाई थाहा हुँदैनथ्यो । जब कसैका घर बाता फर्काउने, भाटा फर्काउने काम हुन्थ्यो । त्यति बेला धुरीखाँबो छेउमा महका गाग्रा, नुनका पोकाहरू, घ्यूका टिन, काँस तामाका गाग्री ताउला देखिन्थे । तामा काँसो अमूल्य धातु मानिन्थ्यो ।

चोया, गुन्द्री या काठका भकारीभरि धान देखिन्थ्यो । छोरी बुहारी जहानले नाक कानमा पाते सुनका गहना हल्लाउँदै काम गरेका देखिन्थे । ए यो त धनी पो रै’छ भन्ने त्यति बेला थाहा हुन्थ्यो ।

जब गाउँलेहरू हाट झर्थे । सारा गहनाहरू खाल्डो खनेर पुर्थे । घरघरका लोग्नेमान्छे हाट हिँड्दा आ–आफ्ना जहानलाई भित्रबाट रातिमा गजबार नखोल्नु है भन्थे । घरका सदस्य सिरानको तलामा सुत्थे । गाउँमा पुरुष नहुँदा चोर लाग्ने डर हुन्थ्यो ।

हाट छोडेर हिँड्नुअघि नै प्रेमबहादुरको मन गाउँमा पुगिसकेको छ ।

हटारु फर्किए भनेपछि गावैँ उज्यालो हुनेछ । हटारु आएको थाहा पाएपछि वरसम्म गाउँलेहरू लिन आउनेछन् । स्वास्नी मान्छेहरू आफ्ना लोग्नेका भारी बोकिदिनेछन् ।

हटारुले सबैलाई गुणका एक एक डल्ला चाख्न दिने चलन छ । प्रेमबहादुरले त्यसको पनि तयारी गरेको छ ।

गाउँमा महिनौँसम्म हटारुले हाट जाँदा आउँदाका किस्सा सुनाउँथे । उसले पनि त्यसरी नै किस्सा सुनाउने छ ।

हाटबाट सही सलामत गाउँ फर्किएपछि गाउँमै खसीबोका काटेर भोज भतेर गरेर उत्सवै मनाएको प्रेमबहादुरलाई सम्झना छ । हाट आउनु र हाटबाट सद्दे घर फर्किन पाउनु युद्ध जित जत्तिकै रहेछ भन्ने उसले बुझेको छ ।

प्रेमबहादुर घर फर्काउन तयार पारेको डोकोछेउमा बसेर सोच्दै छ, ‘मेरा हजुरबा हाट आए । हजुरबा हाट आउन नसकेपछि बा हाट आए । बा पनि नसक्ने भएपछि मैले हाट आउन सुरु गरेँ । हजुरबाहरू हाट आउँदा १०–२० दिन लगाउनुहुन्थ्यो रे । बाहरू आउँदा १५ दिन लगाउनुहुन्थ्यो । हामी १४ दिनमा आइपुग्थ्यौँ । पछि पछि मानिसहरू अलि छोटै दिनमा हाट आएर फर्किनेछन् ।’

प्रेमबहादुरको हाटको अन्तिम रात पनि सकियो । पूर्वमा घामले उज्यालो नफाल्दै हटारु उठे ।

समथर मैदानभन्दा निक्कै माथि पहाडको एक गाउँमा जीवन बाँच्न चाहिने केही सामग्रीहरूले भरिएको डोका बोकेर एउटा लस्कर फेरि हिँड्यो । यस्तो लाग्छ, यो लस्करको यात्रा संसारका सबैभन्दा दुःखले भरिएको यात्रा हो ।

थाप्लो गड्ने गरी भारी बोकेको प्रेमबहादुरले सोच्दै छ, नुनतेलका लागि किन हिँड्नुपरेको होला यसरी ? बर्सेनि हाटबाट नफर्किने हटारुहरू मध्ये कतै म एक जना थपिएँ भनेँ ?

उसको सोचभित्रको यो गम्भीर प्रश्न सायदै अरू हटारुको मस्तिष्कमा चलेको हुनुपर्छ ।

तर हटारुको लस्कर चलिरहेको छ ।

(हाट संस्कृति नेपालीले नुनतेलका लागि इतिहासमा दुखैदुखले बाँचेको जीवन हो । बजार विनिमयको प्रारम्भिक पद्धति हो । यो बजारीकरणको क्रमिक विकास शैली पनि हो । नेपालीहरू हिजो व्यापारी खोज्दै तराईका हाटहरू झर्थे । आज बजार आफै पहाड उक्लिएको छ । हिजोका हटारुहरू आज ग्राहक र उपभोक्ता बने ।)