रामनाथ भुतभुताइरहेका थिए । दिनले आँखा उघार्न जानेन । यो एकोहोरो झरी । मधेसमा सुखा परिरहेको होला, यहाँ नचाहिने ठाउँमा पानी परिरहन्छ । रामनाथले ईश्वरको विवेकमा शङ्का गरे ।

तर काममा नगै नहुने । कोट लाएर छाता टिपेर बाहिर ढोकासम्म आए । पानी जिस्क्याउनलाई वर्षेजस्तो झन् दर्कन थाल्यो । बलेंसीबाट पानीको धारा बगिरहेछ । आकाश कालोनिलो छ । रूखको पात र छानोको टिनमा पानीको थोपा खसेको अल्छीलाग्दो शब्द हुँदैछ । बाटो शून्य छ, मान्छेको नाउँमा कुनै मुसो देखिँदैन । वरपरका घर-वृक्षहरू पानीले चुटिएर टाउको निहुराइरहेछन् । चिसो बतास छिनछिनमा हुर्रिएर आउँछ, पानीको कण बातिन्छन् । रामनाथलाई यो दृश्यले न्यास्रो लाग्यो । उनलाई असाध्ये एक्लो भएको अनुभव भयो ।

तर उनलाई काममा नगै नहुने । आज उनलाई नोकरी लत्याएर हिँडूँ जस्तो लाग्यो । यस्तो दिनमा पनि सुख नपाउनु, दिनहुँ अफिसमा धाउनु छ । कस्तो समाजको व्यवस्था ? मैले चाहिने आँधीबेहरीको वास्ता नगरेर काममा घोटिनु, ती ठूलाठूला घर भएका सिरकमा गुटुमुटु परेर आँग दुखुन्जेलसम्म सुतिरहनु, संसारमा यही व्यवस्था छ । धनी धनमा लुटुपुटु गरिरहनु, गरिब आफ्नो हाड घोटून् ।

भन्छन्- रूसमा धनीगरिबको भेद छैन रे, कुन्नि साँचो हो कि झुटो हो । समाजको जति हानि धनीद्वारा हुन्छ, त्यति अरू कसैद्वारा हुँदैन । कहाँ पढेको जस्तो लाग्छ, बरू हात्ती सियोको प्वालमा छिर्छ, तर धनी स्वर्गको ढोकाभित्र पस्न सक्तैन । रामनाथ रिसको झोकमा धनीको प्रति घुणाको भाव मनमा खेलाइरहेका थिए ।

सडकमा पानीको भल बगिरहेको छ, हिलैहिलो छ । पानीले ढाडिएर र हिला टाँसिएर तिनको जुत्ता गह्रौं भैरहेछ । गोडा चल्दा पनि कष्ट हुन्छ । माथिको आकाशको धारा छातालाई छिचोली थोपाथोपा गरेर तिनको कोट र टोपीमा खसिरहेछ । धीरधाममुनि पुग्दा तिनको क्रोधको सीमा रहेन । म्युनिसिप्यालिटीले यति सानो बाटो बनाउन कति दिन लाएको ? म्युनिसिप्यालिटीका सब मान्छे अल्छी हुने, पैसा धुत्न मात्रै जान्दछन् । ट्याक्स त कति छिटोछिटो असुल गर्छन् र यो जाबो बाटो बनाउन झिँगा धपाएको जस्तो गरिरहेछन् ।

तीन दिन भैसक्यो, बाटो खनेर छेकेको छ, हिलैहिलो, कति यहाँ चिप्ले होलान् । बत्तीको राम्रो प्रबन्ध छैन, पानीको उचित प्रबन्ध छैन तर कहलाउँछ सहरलाई प्रबन्ध गर्ने संस्था ।

अफिसमा पुगेर तिनले बत्ती बाले, किनभने अफिसमा यथेष्ट प्रकाश थिएन । एउटा कुनामा छाता थुनेर ठड्याए । त्यहीँ छाताको टुप्पाबाट चुहेको पानीको दह जम्यो । कोटलाई झारेर काँटीमा टाँगे । कुर्सीमा बसेर कागत हेर्न थाले । काम त आज केही रहेनछ नि, तर सरकार भन्छ- काम नभए पनि पैसा खाएपछि तैले दुःख बेसाउनुपर्छ ।

जताततै तलदेखि माथिसम्म जुन काममा पनि, जुन व्यवस्थामा पनि बुद्धिहीनताको नै परिचय पाइन्छ । आज नआएको भए सिन्काको टुप्पो जति पनि कामको खती हुने थिएन । यो संसार छोडेर कतै जान पाए पनि हुन्थ्यो । यस्तो जाबो काम गर्नुभन्दा त मर्नु नै असल |

काम नपाएर बाहुला कुहुनासम्म सारेर दुवै हातमा हत्केलाले पारेको कचौरामा चिउँडो गाडेर रामनाथ चिन्तामा परे । रमाले ‘आउँछु आउँछु’ भनी लेखी पठाई तर अझ आइन । माइत गएपछि यी स्वास्नीहरूलाई घरको ध्यानै आउँदैन । जेठ-असार पनि सिद्धिन लाग्यो, घर आउने नाउँ लिन्न । पहिले त चाँडै नै फर्कन्छु भन्ने चिठी आउँथ्यो । अहिले त्यो पनि पट्ट बन्द छ । घरको माया भए पो । ए, यता चिठी नआएको धेरै भयो । सौ बार सौ बार आठ, मङ्गलबार नौ, बुधबार दस दिन भयो । चिठी बन्द छ । त्यो चिठी नलेख्ने त होइन । कहीं बिरामी त परिन । रामनाथ हात मिच्दै कुर्सीबाट उठेर कोठामा डुल्न थाले ।

बिरामी भएको भए ससुराहरूले चिठी लेख्नुपर्ने, खबर दिनुपर्ने । ती पहाडेहरूलाई यस्ता मौकामा चिठीपत्र लेख्नुपर्छ भन्ने पनि थाहा छैन क्यारे । एक त साह्रो नभै तिनीहरू कुनै बेथालाई बेथै मान्दैनन् । तिनीहरूको अज्ञानताले कति हाम्रा पहाडिया भाइ बाँच्ने आयु लिएर आएका भए पनि मर्छन् ।

रमाको स्वास्थ्य पनि यता राम्रो थिएन । अलिक चिसो लाग्यो भने रूघा लागिहाल्थ्यो । एकचोटि रूघा लाग्यो भने जरो, खोकी, छाती दुख्न थालिहाल्थ्यो । एक ठाउँमा बसेर त्यसको राम्ररी स्याहार गरेर असल डाक्टरको औषधि गराऊँ भनेको, यताउति गर्यो कामको लन्ठाले अझसम्म केही गर्न पाइएन ।

आफू पनि, ऊ मोरी उस्तै छ नि । यसो एकदुई चोटि औषधि ल्यायो भने खान्न । औषधि पनि कहीं मीठो हुन्छ । आफूले पनि त आफ्नो शरीरको विचार राख्नुपर्छ । अमिलो-पिरो नखा भनेको पट्ट टेर्नु छैन । मैले मात्र पीर मानेर के भयो ?

रामनाथ आएर फेरि विचार गर्न थाले- रामे नोकरलाई नखोसी भएन । काम भने राम्ररी गर्नु छैन, कुरा मात्र हाँक्छ । म एक्लै छु भने त त्यो दिनभरि कता अल्पिन्छ । काम पनि राम्रो जान्दैन । भाँडा माझेको तेलको चिल्लै रहन्छ । बाहुन भन्छन्, भान्छाको जुठो पनि चोख्याएको हुँदैन । आफू बाहुन पनि कुन सुग्घरी छन् र ? कतिचोटि भन्यो सफा बस बाजे । साबुन दियो लुगा धुन तर लागेको बानी कहिले छुट्थ्यो र ? मैलै रहन्छन् । रमा आएपछि यी सबलाई खोस्छु र नयाँ नोकरचाकर राख्छु ।

चार बज्नासाथ उनी कुर्सीबाट उठे, कोट लाए, छाता टिपेर अफिसबाट निस्के । पानी थामिएको थियो तर आकाश अझै मेघाच्छन्न थियो । दिनभरि ननिस्केका मानिसहरू पानी थामिनासाथ सडकमा निस्के । रामनाथ थाकेका थिए । घर पुग्नासाथ कहीं नगएर एकछिन ओड्ने ओढेर सुत्ने निश्चय गरेका थिए ।

उताबाट उनको एउटा साथी आइरहेको थियो । रामनाथले विचार गरे- अब त्यसले कतिबेर उभ्याइराख्ने हो । यी साथीहरूका पीरले… ।

त्यो साथीले नजिकै आएर तिनको काँधमा हात राखेर भन्यो- “कताबाट रामनाथ ? अफिसबाट ?”

रामनाथलाई रिस उठ्यो, यो बखतमा सबैलाई थाहा थियो, रामनाथ अफिसबाट फर्कन्छन् । तब यो कुरा सोध्ने के प्रयोजन ?

फेरि साथीले भन्यो- “आज त दिनभरि पानी परिरह्यो ।” यो वाक्यले रामनाथको कन्सिरी तात्यो । छेउ न पुच्छरको कुरा गर्न त्यसले रामनाथलाई किन सडकको माझमा उभ्याइराखेको । दिनभरि पानी पयो, यो उसले रामनाथलाई किन सम्झाउनुपर्यो । काम न काज, साथी भन्दैमा । रामनाथ चुप लागिरह्यो ।

बल्लबल्ल साथीसँग उम्केर उनी घर फर्के । ढोका उघार्न रामेले अबेला गर्यो । यहाँ उनको क्रोधको सीमा रहेन र उनले रामेलाई हान्न छाता उचालिसकेका थिए । रामेले टेबुलमाथि राखेको एउटा तारतिर आकर्षित गर्यो । हत्तपत्त उनले तारको खाम खोले, तार उनकी पत्नीको रहेछ । भोलि पुग्छु भन्ने समाचार थियो ।

रामेले थाहा पाइसकेको थियो, यो तार कहाँबाट आएको । उसले किच्च दाँत देखाएर सोध्यो- “बज्यै कहिले पाल्नुहुन्छ ?”

रामनाथको अनुहार प्रसन्न थियो । उनले भने- “भोलि । तर रामे, कोठाहरू राम्ररी सफा गर । उसले के भन्ली ? कुचो त ऊ गएदेखि तैले लाएको छैन क्यारे । टेबुलमा (औंला दलेर धुलो टाँसिएको औला रामेलाई देखाएर) कति धुलो जमेको छ, के भन्ली ?”

उनी आफ्नो कोठातिर लागे ।

एकछिनपछि उनले रामेलाई बोलाए । रामे ‘हजुर’ भन्दै पुग्यो । “देख्छस् तँ, भित्तासँग टाँसीकन राखेको आलमारी कोठाको माझमा उभिएको छ ।’ रामे पुग्नासाथ रामनाथले भने- “लौ यो आलमारीलाई त्यता राखूँ । त्यहाँ राखेको राम्रो देखिँदैन । टेबुल र कुर्सीचाहिँ पलङको सिरानैनेर राख्नुपर्छ । लौ उता समात् तँ, राम्ररी समातेस् ।”

भात खाने बखतमा बाहुनलाई भने- “भोलि मासु किनेर ल्याउनू । के एकैथरीको तरकारी किनेर ल्याउँछौ ? बजारमा यीबाहेक अरू तरकारी नै पाइँदैनन् कि ?”

‍० ० ० ० ०

भोलि बिहान उनको शरीरमा विचित्र फुर्ती थियो । जिउ हलुको जस्तो लाग्थ्यो । आकाशमा बादल थिएन र पगालेको सुनजस्तो सूर्यको किरण डाँडाकाँडामा छ्यापछ्याप्ती थियो । प्रसन्न भएर उनले बिछौनाबाट उठेर रामेलाई कराएर भने- “रामे, रेल आउने कुन टाइम, हँ ?”

रामेले भन्यो- “रेलबाट सवारी हुन्छ र ? मोटरबाट सवारी भए चाँडै आइपुगिन्छ ।”

रामनाथ परे द्विविधामा मोटरबाट आए नि ? कहाँ लिन जाने ? कहिले आइपुग्छिन् ? त्यति तार दिन जान्नेले यसको पनि सूचना दिनुपर्ने ।

एकछिन कपाल कन्याएर तिनले रामेलाई अह्राए- “तँ चाँडै गएर मोटर आउने सडकमा उभिरह । मोटरबाट  आएनन् भने, स्टेसनमा रेलमा लिन म जाउँला । रेल त १२ बजे आइपुग्छ, होइन ?”

“हजुर !” रामेले उत्तर दियो ।

रामे जानै लागेको थियो, रामनाथले फेरि भने- “फूलदानमा नयाँ फूलहरू राख्, तँलाई त्यति पनि सुद्धि छैन, सात दिनदेखि एउटै फूल कुहाइराखेको छस् ।”

भान्साघरमा पुगेर बाहुनलाई सोधे- “तरकारी के-के ल्यायौ, बाजे ? आज अबेरै पकाए हुन्छ । उनीहरू कहिले आइपुग्ने हुन् । झन् रेलबाट आए भने त १२ बजे पो आइपुग्छन् । अबेरै गरे हुन्छ, बाजे । खानेकुरा चिसो पार्ने के काम ?”

एकछिनपछि नुहाइसकेपछि उनी हातमा हात राखेर कोठाको माझमा ठिङ्ग उभिएर घोरिए- अब के गर्ने ?

एकछिनपछि कोट लगाएर मोटर आउने बाटोतिर आफैँ हेर्न गए । रामे सडकको छेउमा एउटा ढुङ्गोमा बसिरहेको थियो । मालिकलाई आएको देखेर उभियो ।

रामनाथले सोधे- “अझ आएनन् ?”

रामेले उत्तर दियो- “मोटर त धेरै आए, तर खोइ उहाँको सवारी भएन ।”

एकछिनसम्म त्यहाँ उभिएर अब मोटरमा आउँदैनन् भन्ने निश्चय गरेर रामनाथले रामेलाई घर फर्काए । “हेर, १२ बज्ने बखतमा छाता बर्सादी लिएर तँ स्टेसन आउनू । म अहिले यहीं डुलिरहन्छु ।”

रामनाथले आकाशतिर हेरे । फेरि आकाशमा बादल जम्मा हुन लागेको थियो । पानी पर्ने लक्षण थियो । उनी स्टेसनतिर लागे । स्टेसनमा कोही मान्छे थिएन । कर्मचारीहरू कोठाकोठामा आफ्ना काममा व्यस्त थिए । प्लेटफार्म रिक्त थियो । तिनी एकछिनसम्म बेन्चमा गएर बसे ।

फेरि एकछिनपछि प्लेटफार्ममा डुल्न लागे । एकएक गरेर भित्तामा टाँसेको विज्ञापन पढ्न लागे । स्टेट्सम्यान हिन्दुस्तानको सबै दैनिकपत्र भन्दा बढ्ता बिक्री हुने एउटा राष्ट्रिय पत्र हो । दुनियाँसँग सम्बन्ध राख्नु छ भने त्यसलाई पढ । हर्लिक्स दूध ताकत दिने पेय हो, साना केटाकेटीहरूलाई र रोगीलाई हर्लिक्स खुवाऊ । एउटा विज्ञापनमा केवल एउटा रातो गाला भएको खुब राम्रो स्वास्थ्य भएको वृद्धको हाँसिरहेको तस्बिर थियो । धेरै गौर गरेर हेर्दा रामनाथले वेक्स बियरको विज्ञापन रहेछ भनेर थाहा पाए ।

एकछिनपछि स्टेसनको घडीसँग आफ्नो आफ्नो घडीको समय मिलान गर्न स्टेसनको घडी टाँगेको कोठानिर गएर उभिए । पाँच मिनेट उनको घडी छिटो रहेछ । उनी फेरि प्लेटफार्ममा यताउति डुल्न थाले । एकछिनपछि फेरि गएर बेन्चमा बसे ।

बिस्तारबिस्तार मान्छेहरू आउन थाले । टिनटिनटिन सुनियो । गाडी आउने टायम हुन लाग्यो । उनी बेन्चबाट उठे र रामेले छाता र बर्सादी ल्यायो । रेल पनि कुइँय कराउँदै आइपुग्यो ।

रामनाथको सबभन्दा पहिलो दृष्टि झ्यालबाट बाहिर टाउको झिकेर हेरिरहेकी रमामाथि पर्यो । उनी उतै लम्के र रमा गाडीबाट ओर्लिन् । माल रामेको जिम्मा छोडेर उनीहरू स्टेसनबाट बाहिर आए । त्यसै बखतमा पानी दर्कन थाल्यो । बर्सादी रामनाथले ओढेर छाता उघारेर दुलहीलाई ओढाउँदै स्टेसनबाट बाहिर आए । “हेर, तिम्रो स्वागतमा यो वृष्टि भएको पानीको फूलको,” कवि हुने प्रयत्न गर्दै रामनाथले भने- “नत्र अहिलेसम्म पनि नपरेको, तिमी पनि पुग्नु, पानी पनि पर्नु ।” रामनाथले आफैँ यो तर्कमा गूढ सत्य देखे ।

“भिजौली, छातामुनि हिँड न । हतार नगर है, बाटो चिप्लो छ । यी हेर, म्युनिसिप्यालिटीले बाटो साँगुरो भयो भनेर माटो काटेर फराकिलो बाटो बनाउन लागेको छ । पहिले कति साँगुरो बाटो थियो, तीन हात जति बढ्ता चौडा बनाउने भएछन् । हेर न, त्यहाँसम्म माटो काटेको छ । यत्रो ठूलो बाटो एकदुई दिनमा बन्ने हो र ? अझै दसपन्ध्र दिन लाग्ला । रातदिन त मान्छे यसमा लागेका छन् .. भन्दै थिएँ नि चिप्ल्यौली ! लौ, मलाई समातीसमाती हिँड ।”

रामनाथ एकचोटि अट्टहास गरेर हाँसे किनभने उनकी पत्नी स्वाम्मै हिलोमा गाडिइन् । एकछिनपछि आफैँ चिप्लिए । उघ्रेको छाता हातबाट छुटेर दुईतीन चोटि पल्टनबाजी खाएर सडकको बारमा गएर अड्क्यो, आफू थचारिए । उनकी पत्नीले खित्का छोडेर हाँस्ने मौका पाइन् । “हीहीही… कत्रा माछा मारेको !” फेरि उत्तिखेरै उनले सोधिन्- “चोट त लागेन ?”

रामनाथले उठेर छाता लिन जाँदै भने- “अहँ, चोट त लागेन तर कसैले त देखेन ?”

उनकी पत्नीले पछि फर्केर हेरिन् । बाटो शून्य थियो । कोही थिएन । फेरि पत्नीको हातमा आफ्नो पाखुराको ताल्चा मारेर हाँस्दै तिनीहरू तल झरे ।

कोठामा पुगेपछि रमाले भरियाले ल्याएको मालको निरीक्षण गरिन् । रामे ढोकानेर किच्च दाँत देखाएर उभिरहेको थियो । रमाले सोधिन्- “रामले कस्तो काम गर्यो ?”

रामेले झन् बत्तीसवटै दाँत देखायो । रामनाथले हाँसेर भने- “सबै काम असल गर्यो । सब भियाउँथ्यो । राति मात्र कुन्नि कहाँ अल्पन्थ्यो ।”

एकपल्ट आँखा झिम्क्याएर तिनले पत्नीतिर हेरे ।

बाहिर पानी झमझम पर्दैछ । रामे भान्सातिर गयो ।

पत्नी नुहाउने तर्खर गर्न लागिन् । बाकस उघारेर धोतीचोलो झिकिन् । रामनाथ उनीनेरै उभिरहेका थिए । पत्नीले सोधिन्- “आज अफिस जानु पर्दैन ?”

“अँ आज… को जावस् ? पत्नीको टाउकोमा औलाले हारमोनियम बजाएको जस्तो गरेर रामनाथले भने ।

रमा नुहाउन गइन् । रामनाथ खाटमा आएर बसे । उनको मन प्रसन्न छ । छिनछिनमा नुहाउने कोठाबाट पानी खन्याएको शब्द आउँछ । पत्नी नजिकै छिन्, त्यहाँ नुहाउन गएकी छन् ।

संसारमा बाँच्नुभन्दा सुखद कुरो केही छैन ।

भान्सामा तरकारी ओइरेको झ्वाइँय शब्द भयो । बाहुन केही भुट्न थालेछन् । नुहाउने कोठाको ढोका उघ्र्यो । धोती बेरेर मात्रै उनकी पत्नी त्यो कोठाबाट निस्किन् र आफ्नो कोठामा आएर धोती राम्ररी लाउन थालिन् । टेबुलमाथि साजी फूल मुन्टो हल्लाइरहेछन् । रामनाथ पल्टेर सब कुराको निरीक्षण गरिरहेका छन् । पत्नीले धोती लाएपछि चोलो लाइन् । नबोली रामनाथ उनीतिर हेरिरहे । चोलो लाएर उनकी पत्नी दुलहानेर नै खाटमा आएर बसिन् । पत्नीको शरीरको स्पर्श हुँदा भित्रदेखि रामनाथले अनुभव गरे- बाँच्नमा नै संसारका सुखको सार छ ।

(विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ कथासंग्रहबाट)