मेरी स्वास्नी बिरामी थिइन् । यसैले डाक्टरहरूको रायअनुसार उनलाई मैले हावापानी फेर्न नजिकै सहरबाहिर गोकर्णमा लगिराखेको थिएँ । त्यहाँ आफ्नो सानोतिनो घर र जग्गाबारी पनि थियो। रोपाइँको बेला आफू पनि बराबर जाने-आउने गर्थे। त्यसैले त्यस वर्ष, आफ्नी स्वास्नी त्यहाँ भएकी हुनाले रोपाइँको समयमा एकाध दिन बिताउनसमेत पुगेको थिएँ । त्यस बेला रोपाइँ पनि चलिरहेको थियो । बर्साद पनि राम्रै भएको थियो । बाग्मती पनि बढेर खेतका आलीसाली बिगार्दै सानोतिनो कच्ची बाँधहरू बगाउँदै उर्लिरहेको थियो ।

म र मेरी जहान (स्वास्नी) ग्यालबाट ती दृश्यहरू हेर्दै थियौं । मूलबाटोमा एउटा-दुइटा मोटरहरू सुन्दरीजलतिर दौडिरहेका थिए । डाँडाका गोकर्णको बस्ती सिमसिमे पानीमा रुझिरहेको थियो। गोकर्णको जङ्गल र त्यहाँका रूखहरू धमिला देखिन्थे । पूर्वका पहाडहरू कहिले सफा देखिन्थे, कहिले अकस्मात् कालो बादलले ढाकिएर लुप्त हुन्थे । रोपाईंमा व्यस्त भएका आइमाईहरूका गलाबाट मधुरा गीतहरू छुटिरहेका थिए । कहिले उनीहरू एकलाममा, कहिले चन्द्राकारमा, कहिले फुट्टा- फुट्टी रूपले विभिन्न रङ्गीन पोसाकहरूमा, विभिन्न बान्कीमा देखिन्थे । रमाइलो समय थियो

त्यसै समयमा मेरी स्वास्नीले मतिर हेरेर सुस्तरी भनिन्- “हेर्नोस् मलाई तपाईंसित एउटा कुरा भन्नु छ ।”

मैले पनि हाँसेर जबाफ दिएँ- “एउटा कुरा किन दसओटा कुरा भन न ।”

अलि गम्भीर हुँदै उनले भनिन्- “हैन ठट्टामा नउडाउनोस् न। मलाई अनुभव भएको कुरा भन्न लागेकी । हेर्नोस् म एक्लै यहाँ रोगी भएर असरहेकी हुन्छु । मनमा किसिमकिसिमका कुराहरू खेल्न थाल्दछन्, त्यो पर सडकमा हेरिरहन्छु । कुनै मोटरको आवाज सुन्नेबित्तिकै तपाईं आइपुग्नुभयो कि भनेर मनमा उत्साह बढ्छ । तर तपाईं आउनुभएको हुन्न । मन खिन्न हुन्छ । अनि खान पनि रुच्दैन । फेरि भोलि बिहान हुन्छ । त्यस्तै ढङ्गले ज्यालमा बसेर हेरिरहन्छु । खेतीवालहरू आउँछन्, जान्छन्, खेतमा काम गर्छन् । कोदाली मच्चाउँछन्, खेत गोड्छन्, धानको बीउ छर्छन् । जाँड पिउँछन्, मस्त हुन्छन् । म भने तपाईंलाई पर्खिरहन्छु । बाटोमा आँखा बिछाइरहन्छु । हिजो तपाईं आइपुग्नुभयो, मन एकै चोटि यस्तो भयो कि रुन मात्रै सकिनँ । मजस्ती एउटी आइमाईको कथा लेखिदिनोस् न ।”

मैले पनि हाँसेर जबाफ दिएँ- “एउटा कुरा किन दसओटा कुरा भन

म उनको अन्तिम वाक्य सुनेर आश्चर्यचकित भएँ र सोधें पनि- “किन त्यस्तो कथा लेख्नुपर्यो भन त ? तिमी छँदैछ्‌यौ, म आइ नै रहन्छु क्यारे, भन्छ्यौ भने यहीं बसिदिन्छु ।”

उनले मानिनन्, जिद्दी गर्दै भन्न थालिन् – “हैन लेखिदिनोस् । मैले लेख्न जानेकी भए आफैँ लेख्थें तर लेख्न जान्दिनँ । तपाईं लेख्ने भएकोले भनेको । के यस्तो कथा राम्रो हुन्न र ?”

मैले उनलाई पिठ्यूँमा थपथपाउँदै, कपाल मुसार्दै बिस्तारै भनें- “राम्रो हुन्छ, किन राम्रो नहुनु । तर म कतिसम्मन् लेख्न सक्छु अब…।” तर जेसुकै होस् म कुनै दिन जरुरै लेख्छु । म उनको बिरामी शरीरलाई सुमसुम्याउँदै उनको अनुपस्थितिमा ममाथि घटेका सत्य घटनालाई सोच्न थालिरहेको थिएँ । के मैले सत्य घटनालाई यस सिलसिलामा उ‌द्घाटन गर्नु उचित होला ?

त्यहाँ एक-दुई दिन बढी बिताएर उनको कथा लेखिदिने आग्रहलाई

मनमा बोकेर म काठमाडौँ घर फर्के । उनको कथा लेखिदिने आग्रहभित्र अर्को कुरा पनि छिपेको थियो,

जसलाई उनले त्यस बेला स्पष्ट गर्न सकेकी थिइनन्, त्यस्तो मैले अनुभव गरें किनभने उनको कथाभित्र म स्वयं गाभिन पुगेको थिएँ। मैले आफ्नो आत्मकथा नलेखी सुख थिएन । तर आत्मकथा लेख्नु, त्योजस्तो कठिन र डरलाग्दो कार्य अरू कुनै पनि थिएन । घटेको सत्य उघारूँ, आफूलाई अपरेसन गरिहेरूँ र आफूसँग गाँसिने अरू विभिन्न व्यक्तिहरूलाई केलाऊँ, विश्लेषण गरूँ, प्रशंसा वा निन्दा गरूँ- यो अत्यन्त बोझिलो र उत्तरदायित्वपूर्ण कार्य थियो । म वास्तवमा अल्झिएँ। जति सोच्न थालें, उत्तिकै साँगुरिँदै गएँ ।

तर लेख्न कसिइसकेको थिएँ। पछाडि हट्नु आफूलाई ठग्नु जस्तो लागिसकेको थियो र आफ्नी स्वास्नीको आँखाबाट आफूसमेत गिर्नु थियो । यसैले कथा लेख्न प्रारम्भ गरें ।

कथा-वास्तविक, यथार्थ, व्यक्तिहरू केही समयपछि कथा बनिसक्दा रहेछन् । म स्वयं कथा बनिसकें, सुन्ने कथा, पढ्ने कथा, दन्त्यकथा ।

म यहाँ पहिले नै उल्लेख गरिदिऊँ म राणा एकतन्त्री जहानियाँ शासनको बेला एक राजनैतिक कार्यकर्ताको हैसियतले कैद परेको थिएँ । मेरी जहानलाई त्यस बेला निश्चय नै बहुत कष्ट झेल्नुपरेको होला । म मारिन्छु वा कुन्ड्याइन्छु आदि कुराहरू त्यस बेला फैलिएका थिए रे, कहिले ग्यालखानाभित्र नै छैन, कता लगेर उडाइसक्यो भन्ने हल्ला पनि मच्चिएको रहेछ । यी कुराहरूले गर्दा निःसन्देह बाहिर बसेर पोइको प्रतीक्षा गरिरहने कुनै आइमाईलाई कस्तो पीडा हुन गएको होला, कस्तो सङ्कट र मानसिक तनावमा तिनका दिनहरू गुज्रन गए होलान् अनुमान मात्र गर्न सकिन्छ ।

दिउँसै सिपाहीका हूल घर घेर्न आइपुग्छन्, तायदात लिन्छन्, अंश-सर्वस्वको घोषणा गर्छन् । एउटी सर्वसाधारण आइमाईको मनमा यसको के प्रभाव पर्न गएको होला, अन्दाज गर्न सकिन्छ । प्रतीक्षा हिँड्याटलाग्दो लामो प्रतीक्षा – सायद मेरी स्वास्नीले त्यही पूर्वप्रतीक्षालाई सम्ऊँदै बिरामी हुँदाको प्रतीक्षासँग तर्सेर कथा लेखिदिने इच्छा व्यक्त गरेकी होलिन् । चाहे जेसुकै हवस् वस्तुस्थिति यही थियो ।

म कारावासबाट तीन वर्षपछि मुक्त भएँ। उनी त्यसबीचमा नै बिरामी भएकी रहिछन् मानसिक, आर्थिक, सामाजिक कारणहरूका दबाबले । म पनि निस्कनेबित्तिकै राष्ट्रिय व्यापक उत्साहको वातावरणमा राजनैतिक सङ्गठनमा काम गर्न पुगें । महाराजाधिराज त्रिभुवन राजपरिवारसहित भारतबाट सकुशल काठमाडौं उपत्यकामा फर्किबक्सी प्रजातन्त्रको घोषणा भइसकेको थियो । विभिन्न राजनैतिक सङ्गठनहरू बन्दै हल्लाखल्ला मच्चाउँदै थिए । संयुक्त मन्त्रिमण्डल गठित भएको थियो । टीकाटिप्पणी, आलोचना- प्रत्यालोचना, भाषण आदिले गर्दा राजनैतिक कार्यकर्ताको जीवन व्यस्त हुनु अस्वाभाविक थिएन । म व्यस्त थिएँ । सङ्गठनको जबाफदेही पदमा रही काम गरिरहेको थिएँ ।

यसै बीच मेरी स्वास्नीको स्वास्थ्य नराम्ररी बिग्रदै गइरहेको थियो । एकातिर राजनैतिक व्यस्तता, अर्कोतिर स्वास्नीको बिग्रँदो स्वास्थ्य । तैपनि यन्त्रवत् चलिरहेको थिएँ, चलाइरहेको थिएँ ।

डाक्टरहरूका भनाइ र औषधीहरूका प्रेस्क्रिप्सनअनुसार तिनको रोग साधारण थिएन । दिल र छातीका दुवै रोगले आक्रमण गरेको छ । ट्युबरक्लोसिसका दागहरू एक्सरे फिल्ममा स्पष्ट देखिएको र दिल पनि चाहिनेभन्दा बढेकोले, रोगलाई हेलचेक्याइँ गर्न हुने अवस्था थिएन । तैपनि तिनलाई साधारण रोग भनी आश्वासन दिँदै उपचार गर्दै आइरहेको थिएँ । तर मेरो भित्री मनमा तिनी बाँच्तिनन् कि भन्ने आश‌ङ्काले घर गरिसकेको थियो ।

यसै बीच मेरो जीवनमा एउटा अध्याय थपिन्छ, अचानक जोडिनै आइपुग्छ भनूँ । यो अध्यायको निरर्थकता अहिले अति स्पष्ट छ त्यत्निखेर थिएन । अहिले त हास्यास्पद लाग्छ । तर त्यस बेला ।

म उपत्यकाञ्चल सङ्गठन कार्यालयमा काम गरिरहेको हुन्थें, अखबारको निमित्त लेख, खबरहरू सङ्कलन गर्नु, सम्पादकीय टिप्पणी लेख्नु मेरा विशेष कामहरू थिए । र कहिलेकाहीँ आपना स‌ङ्गठनका कार्यक्रमअनुसार विभिन्न स्थानहरूमा गई प्रचार कार्य, सङ्गठन कार्य गर्नु पनि हुन आउँथ्यो । मलाई सहायता गर्ने सहयोगी, सहकर्मीहरू पनि थुप्रै थिए । यसैले बेलाबेलामा फुर्सत लिई अस्पतालमा स्वास्नीलाई भेट्न, हेर्न जाने पनि गर्थे, आवश्यकताअनुसार तिनीलाई चाहिने सामान, औषधीहरू पुऱ्याएर फर्कन्थें । तिनको रुग्ण अवस्थाले गर्दा मेरो मानसिक दशा पनि स्वस्थ थिएन । कहिलेकाहीं निरुपायझै अनुभूत गर्थे र आफ्नो एकाकीपनले आफूलाई निरन्तर डसिरहेझै अनुभव हुन्थ्यो ।

यस्तो बेला साथीहरूको सहानुभूति र मद्दतको पनि बडो महत्त्व हुँदो रहेछ । धेरैजसोले धेरै प्रकारले सहयोग पुऱ्याए। कसैले डाक्टर बोलाउन गइदिएर, कसैले औषधीद्वारा नै, कसैले बिरामी कुरुवा बसिदिएर, आदि आदि । यी सानातिना मद्दतले पनि जीवनमा ठूलो भूमिका खेल्दो रहेछ ।

यसै बीचमा कार्यालयमा बराबर आवतजावत गर्ने महिलाहरू पनि थिए, जो महिला सङ्गठनमा बहुतै सक्रिय थिए । कुनै शिक्षित, कुनै अशिक्षित, (तर अशिक्षित भएमा पनि) कुनै राजनैतिक रूपले बहुतै कर्मठ, कुनै चहल- पहलमा रमाइलो गर्न आएका मात्र सुन्दरीहरू सब जना मेरी स्वास्नी बिरामी भएकोमा मप्रति सहानुभूति नै गर्थे र कुनैकुनै बेला अस्पतालमा गई मेरी स्वास्नीलाई हेरचाह गरी आश्वासनसमेत दिएर फर्कने गर्थे ।

यिनीहरूमध्ये, पछि मलाई थाहा भो, एक जना बडो चाख लिंदिरहिछन् । बराबर, कहिलेकाहीँ दिनको दुई-तीन पटक पनि अस्पताल जॉदिरहिछन्, मेरी स्वास्नीलाई भेटेर कुराकानी गरी मेरो विषयमा समेत धेरै कुरा प्रसङ्गैबाट बुझिसकेकी पनि रहिछन् । उनको नाम भुवनेश्वरी रहेछ, पछि मलाई थाहा भो उनी कलेजमा प‌न्दिरहिछन्, बडो चनाखो र कर्मठ । महिला सङ्गठनमा समेत बडो सक्रिय, लेखनकलामा सिपालु, टीकाटिप्पणीमा पछि नपर्ने – एक शब्दमा प्रगतिशील ।

मेरी स्वास्नीले उनको प्रशंसा गरेपछि, मेरो पनि तिनीप्रति केही चाख बढ्यो । कार्यालयमा तिनी आउँदाखेरि केही समय पनि दिन थालें र आफू व्यस्त भए पनि व्यस्त नभएको बहाना गरी, उनीसँग कुराकानी गर्न केही समय निकाल्न थालें । उनी मेरी स्वास्नीको रोगदेखिन् अत्यन्त विचलित भएकी रहिछन् भन्ने कुरा उनको अभिव्यक्तिबाट थाहा पाउन थालें । मेरो अवस्थालाई देखेर उनमा करुणा पनि पैदा भएको रहेछ, निक्कै सहानुभूति पनि प्रदर्शन गरिन् । मेरी स्वास्नीलाई बराबर हेर्न गएर डाक्टरहरूसँग

समेत छलफल गरी आइसकेकी रहिछन्, त्यो कुरा उनको मुखबाट सुनें। रोगको कडापनमा याने सिरियसनेसमा उनलाई विश्वास छ, तर कहिलेकाही अज्ञात वैचित्र्यले रोग निको हुने कुरामा पनि उनको आस्था भएको कुरा उनले प्रकट गरिन् । म पनि उनको कुराबाट अति नै प्रभावित भएकै देखाउन थालें ।

यसरी उनी बराबर कार्यालयमा आउने-जाने गर्न थालिन् । हाम्रो सम्पर्क दिनप्रतिदिन बढ्दै जान पनि थाल्यो । मेरो सम्पादकीय विचार, तर्क, शैली आदिमा पनि उनलाई घत लागेको कुरा, लेखहरूमा समेत रुचि भएको, विश्वसमस्यामा समेत दखल भएको, सङ्गठनका विविध नीतिहरूमा छलफल गर्ने आतुरता आदिआदि देखाउँथिन् । मचाहिँ बडो धैर्यपूर्वक उनको कुराहरू सुनी हाँसिदिन्थे र उनको हडबडी, उनको चतुऱ्याइँ, उनको मन्त्रीज्यूहरूसँग भेट्‌ने कार्यक्रम आदिमा पनि बहुतै अभिरुचि देखाइदिन्थें। जाँदा, उनी भनेर जान्थिन्- “म अस्पतालमा दिदीलाई भेटेर जान्छु, लौ त ।” यसरी उनीसँगको भेटघाट टुङ्गिन्थ्यो ।

मेरी एउटी छोरी थिई, बिचरीलाई मामाघरकी बज्यैले याने मेरी सासूले स्याहारसुसार गर्दै थिइन् । एक दिन यसै सम्बन्धमा तिनी भन्न आइन् – “छोरीलाई मामाघरमा पाल्न दिनुभा’ रहेछ बजैसँग अस्पताल आएकी थिइन्, कति राम्री काखमा लिइरहूँ जस्ती, नाम पनि अति मीठो ‘सन्ध्या’ । कस्तो काव्यात्मक नाम ! मसँग त एकै छिनमा यसरी रत्तिई कि आमाचाहिँलाई, त बिर्सि नै दिई, बज्यैसँग त जानै नमान्ने । हिँड, भन्दा मसँग जान तयार भएकी । लौ ! तपाईंले केही नभन्नुहुने भए त म आफ्नै घरमा लगेर हुर्काउँथें, पढाउँथे ।”

मैले कुराको गम्भीरतालाई हास्यमा परिणत गर्दै भनें- “लैजानोस् त, कन् मलाई सन्चो हुन्छ ।”

तिनी आश्चर्यचकित भएर भन्न थालिन् – “हुन्छ त, लैजाऊँ ?” मैले भनें- “त्यो सानी सन्ध्याले आफूलाई हुर्काइ-पढा‌न्दिने एउटी गुरुआमा पाउनेछिन्, होइन त ?”

गुरुआमा शब्द सुन्नेबित्तिकै तिनी मतिर एकोहोरो केही बेरसम्मन् हेर्न थालिन् । मैले त्यस शब्दको गहिराइलाई र व्यापकतालाई नबुझेजस्तो गरी अगाडिको फाइल पल्टाउन थालें। मलाई पनि अकस्मात् लाग्यो यो रमाइली पातपातमा उडिरहेकी आइमाईले मबाट के आशा गर्न थालेकी छ। मेरी स्वास्नी बिरामी छ, जो तिनलाई थाहा छ, बाँच्तिनन् भन्ने कुरा पनि तिनलाई थाहा छ। मेरो अवस्था पनि तिनलाई थाहा छ । कार्यालयमा र सङ्गठनमा भएको मेरो स्थितिसँग पनि तिनी अवगत छिन् । सायद आगामी मन्त्रिमण्डलको परिवर्तनमा चुनावमा मेरो स्थिति के हुन आउला भन्ने कुरालाई बढाईचढाई सुनेकी र सम्झेकी पनि होलिन् । एक किसिमले मलाई हाँसो पनि लाग्यो । अर्को किसिमले यिनी भुवनेश्वरीप्रति मलाई करुणा पनि जाग्यो, मानिस कस्तोकस्तो स्थितिमा केके इच्छाहरू गर्न थाल्छन् ।

एकातिर मेरी स्वास्नी मरणासन्न छिन्, तिनका आफ्नै इच्छाहरू र उम्मेदहरू छन्- शरीर दुब्लाउँदै पातलिँदै गए पनि तिनका ती इच्छाहरू दुब्लाएका छैनन् । अर्कोतिर यिनी भुवनेश्वरी छिन्, जसलाई मेरी स्वास्नी मर्छिन् भन्ने पक्का विश्वास भइसकेको छ, त्यो रिक्त स्थान पूर्ति गर्न आफूलाई उम्मेदवारजस्ती ठानेकी छन् र मसँग थाहा नपाइँदो किसिमले सम्बन्ध बढाउँदै गइरहेकी छिन् । तिनले मेरी स्वास्नीलाई ‘दिदी’ मात्र सम्बोधन गर्नु ‘भाउजू’ भन्ने शब्द प्रयोग गर्न नसक्ने यिनै कारणहरूले गर्दा होला । उसकी दिदी टाढाटाढा जान लागेकी छ, एउटी छोरी मात्र छोडेर । त्यो छोरीको अभिभारा बोक्न सक्छु भन्ने नजानिँदो किसिमले उनले आफ्नो इच्छा व्यक्त गरेकी हुन् । म मनमनै उदास भएँ, जीवनको निरर्थकतालाई स्पर्श गरेर मृत्युको विकरालतासामु उभ्याएर ।

अब भुवनश्वरी आउन थालेपछि दुई प्रकारको प्रतिक्रिया ममा हुन थाल्यो, त्यो मलाई स्पष्ट छ । एक त ऊ पस्नेबित्तिकै मेरो स्वास्नीको दयनीय हालत र मृत्युको सम्झना हुन्छ, मानो मृत्युको सन्देश लिएर ऊ पसेकी हो । आर्को उसको आशा र इच्छाहरूको जो रिक्त स्थान परिपूर्ति गर्न उकुसमुकुस छ, जो मेरी स्वास्नीको मृत्यु चाँडै भइसकोस् भन्ने उम्मेद लिइरहेकी छ ।

कुनै दिन म उनलाई जरुरी काम छ भन्ने भावनाले प्रेरित भएर उनीबाट मुक्त हुने कोसिस गर्छु। कनै दिन उनको मानसिक चेष्टाहरूको साङ्केतिक अर्थ बुऊने प्रयासमा घण्टौँ उनैसँग करा गर्न थाल्दछ । मलाई हुन नदिन गरेका कोसिसहरू ज्यादै उनका । उनी मेरी स्वास्नीले भोगिरहेको दुःखप्रति अत्यन्त पीडित भएको कारवारका र बौहत्याउन बाध्य भइरहेकी हुन्छिन् । र यसको साथै मैले पनि कुरा भएर दुःखी भइरहनुपरेकोमा घरलाई हेरचाह गरिदिने आइमाई नभएर एकलमा खान परिरहेको कुरामा सही थाप्दै अगाडि बढाइदिन्छु । यस्तो बेलामा उनी बढी से बढी प्रोत्साहित भएर मलाई मुग्ध पार्ने चेष्टा पनि अनायास गर्दै जान्छिन् । म पनि लाटोजस्तो उनको त्यस आङ्गिक सञ्चालनलाई हेर्दै जान्छु । उनको शरीरको पुष्टता र गठिलों वदनले कहिलेकाहीँ मलाई उत्तेजित पनि पार्दछन्, तर उनको अरू हाउभाउ र प्रदर्शन गर्न खोजेका अत्यन्त भद्दा सतही कुराहरूले ममा विपरीत प्रतिक्रिया पैदा गरिदिन्छ । तर

यस्तो प्रतिक्रिया प्रदर्शन नगरी म भुलेौँ गरी टोलाएर हेरिरहन्छु । एक दिन अतासिएर आएौँ गरी मलाई खोज्दै भुवनेश्वरी आइपुगिन् र भन्न थालिन् – “के दिदीलाई घाट लैजाने रे हो ? म त आत्तिएर दौडेर आएकी सुन्नेबित्तिकै ।”

त्यहाँ अरू साथीहरू पनि थिए। उनीहरू पनि एकदम चकित भए। सब जना सोध्न लागे- “के घाटै लैजानुपर्ने भयो ?”

म निःसन्देह उदास थिएँ। डाक्टरहरूले आशा मारिसकेका थिए। तर तैपनि मेरो निमित्त अस्पतालको चौर र घाटमा के फरक थियो र ? यसैले घाटसाट लैजाने कुराको पक्षमा म थिइनँ। अस्पतालमा नै रहोस्, यदि मृत्यु हुन्छ भने अस्पतालमा नै होस् भनी सासू-ससुराहरूलाई सुनाइदिएको थिएँ। मेरा सासू-ससुराहरू मसँग रिसाए पनि म मेरी स्वास्नीलाई घाट लगेर मृत्यु हुनुभन्दा अगाडि त्रसित गरेर मार्न चाहन्नथें । तर भुवनेश्वरीले अहिले देखाएको हडबडी, व्यक्त गरेको दुःखभित्र उनको कुन इच्छाले काम गरिरहेको छ त्यो मलाई थाहा छ । त्यस बेला उनको त्यो उद्‌गार सुन्नेबित्तिकै ममा उल्टो प्रतिक्रिया परिहाल्यो । यो स्वास्नीमान्छे के चाहन्छे ? मेरी स्वास्नी तुरुन्तै घाट गएर मरिहालोस् र भोलिपल्टै त्यसको रित्तो ठाउँ भर्न ऊ कुदै मकहाँ आओस् । म उसको शरीरलाई अङ्कमाल गरूँ। त्यस बेला उसको अनुहार देख्नेबित्तिकै, यो कुरा सुन्नेबित्तिकै, ममा धिनजस्तो पैदा भइहाल्यो । अकस्मात् उठेर उसको गालामा एक थप्पड लगाइदिऊँ जस्तो ममा भइहाल्यो ।

तर खूब संयमित भएर त्यस आवेशलाई दबाउन सकें र अन्त्यतः हाँसेर भुवनेश्वरीसँग प्रतिशोध लिने भावना ममा जागिहाल्यो । त्यसैले मैले बिस्तारै हँसिलो स्वरमा भनें “भुवनेश्वरी, आज ज्यादै खुसीको समाचार छ । सुन्छचौ ?”

मेरा साथीहरू सब जना अचम्म मानेर हेर्न थाले । भुवनेश्वरीसमेतको मुद्रा गम्भीर भयो । मलाई लाग्छ, उनीहरूलाई लाग्यो होला म भुवनेश्वरीलाई बिहेको प्रस्ताव गर्न जान लागिरहेछु । उनीहरू सब जना अचम्म मानेर हेर्न थाले ।

मैले हाँस्तै भनें- “आज भुवनेश्वरी यस खुसीयालीमा भोज खानुपर्छ । म यी सब साथीहरूलाई भोज खुवाउनेछु। सुन, मेरी स्वास्नी, मेरी श्रीमती डाक्टरहरूले भनेका अब मर्दिनन्, बाँच्छिन् । कसैले मरोस् भने पनि मर्दिनन् रे। दिल ठीक भइसक्यो, ट्युबरक्लोसिसको घाउ पुरिइसक्यो । अब बाँच्छिन् । खुसीयालीको खबर हैन त यो भुवनेश्वरी !”

भुवनेश्वरी विस्फारित नेत्रले मतिर हेर्न थालिन् । घाट लाने कुराको सम्बन्धमा मेरा सासूससुरासँग भएको मेरो कटु वादविवादको विषयमा भुवनेश्वरीले सब बुझेर आइसकेकी छिन् भन्ने मलाई थाहा थियो । उनी त्यसैले अचम्म मानेकी थिइन्। त्यसैले अझ मैले थपें- “भुवनेश्वरी, मेरी श्रीमती नमरेपछि तिम्री दिदी बाँच्ने भएपछि कुनै साली पनि बिहे गर्नुपर्ने भएन हैन त ?”

भुवनेश्वरीले कुरा बुझी होलिन् क्यारे। भोलिपल्टदेखिन् उनी आइनन् ।

आश्चर्य ! मेरी श्रीमती नभन्दै निको हुँदै गइन् । अहिले गोकर्णमा छिन् । तिनले कथा लेखिदेऊ भन्दाखेरि कसको कथा लेखें, मलाई थाहा छैन । के हामी दुवैको कथा हैन यो ?

(विजय मल्लको कथासंग्रह  ‘परेवा र कैदी’बाट)