एक दिन ठुलो हावाहुरी सहित पानी पर्‍यो । सुकेको चम्पाको फूलको थुँगा जमिनमा खस्यो । भमरा उत्तानो पारेर भुइँमा लड्यो । उठ्न कोसिस नगरेको होइन तर सकेन ।

शिशिर ऋतुको उत्तरार्द्धतिर  सूर्यको किरणले जब जमिनमा तापक्रमको वाण प्रहार गर्न थाल्छ ।  तब  तापक्रमको प्रकम्पनले माटोमुनिको न्यानो जमिनमा (घर)  गोलो बनाएर बसेका भमराहरूलाई पनि प्राकृतिक प्रभाव पार्छ ।

भमराका लार्भाबाट प्राण भर्दै । छोरामा विकास हुँदै गरेका भमराहरूले पनि यसै बढ्दो तापक्रमसँग पखेटा छोड्दै जान्छन् । यद्यपि जब सम्म तिनीहरू आत्मनिर्भर भएर उडान भर्न तयार हुँदैनन् । तब सम्म रानी भमराले उनीहरूको रेखदेख गर्दै उनीहरूलाई भमरा हुनुको कर्म सिकाउँछिन् ।

आफ्नो कर्म र जीवनको धर्म सिकिसकेपछि  फागुनको तात्तातो र उराठिलो दिनहरूसँग भमरा बाहिर उड्न थाल्छन् ।  कहिले कसो आफ्नै घरमा फर्किन्छन् । त कहिले बाहिर बाहिरै बसेर पनि निर्भा गर्दछन् ।

फागुन शुक्ल पक्षपछि अथवा वसन्त ऋतुको आगमनसँगै छोरा भमराको तुलनामा अलिकति  ढिलो समयमा छोरी भमरा पनि हुर्किन्छन् । त्यो सिजन वा त्यो  वर्षका लागि गोलोको कुल संख्याबाट दुई तीन वटा जति मात्र छोरी (रानी भमरा) हरू पनि हुर्किन्छन् वा उड्नलाई तयार हुन्छन् । छोरी भमरा घर छोडेर उडेपछि उनी नयाँ घरको  रानी बन्छिन् ।

फेरि छोरी हुन त्यही घरमा फर्केर कहिल्यै आउँदिनन् । छोरी भमरामा एउटा अचम्मको ईर्ष्या हुन्छ । एकले अर्को छोरी भमरालाई भेटे भने झम्टिहाल्छन् अर्थात् मार्दछन् । त्यसैले आमा वा मूलरानी भमराले बिचारपूर्वक केही  दिनको अन्तरमा एउटी एउटीलाई आलो पालो गरेर छोडिदिन्छिन् । छुटेपछि धेरैबेर मूलघरमा बस्न रुचाउँदैनन् । बाहिर उडिहाल्छ ।

त्यो बेला यिनीहरू भाग्यमा विश्वास गर्छन् । त्यस बखतमा गोलोको द्वार आसपासमा रहेका सबै छोराहरू आफ्नो भाग्यमा यही रानी लेखेको रहेछ भन्ने ठान्छन् । र उनैलाई पछ्याई लावालस्कर लागेर उडिजान्छन् । अस्थायी रूपमा रुखको टोड्का वा अन्य वोत् लाग्ने ठाउँमा रानीलाई ढाकछोप गरी गुझुप्प भएर सामूहिक रूपमा  बस्दछन् । र पछि जमिन मुनि प्वाल पारेर दरबार बनाई रानीलाई भित्र्याउँछन् । र बिस्तार बिस्तार आवश्यकता अनुसार घर ठुलो बनाउने र फूलको रस बटुली मह बनाउँछन् । रानी भमराले अण्डा पर्नुभन्दा केही समय पहिले छोराभमरासँग शारीरिक सम्बन्ध कायम गर्दछ । रानी भमरासँग शारीरिक सम्बन्ध राखेको छोरा भमरा चाहिँ केही बेरमा मर्छ । र यसलाई सबै मिलेर खान्छन् । त्यसैले यिनीहरू माम्शार पनि हुन्छन् ।

एउटी रानीको समूहमा रहेको कुनै एउटा भमरा अलि उन्मत्त र चञ्चले थियो । फूलहरूमा पनि धेरै चहार्दै हिँड्थ्यो । यस्तै सिलसिलामा एक दिन ऊ समूहबाट हरायो । बेसिको तोरी फूलबाट हराएको भमरा हिमाल तिरको लालीगुराँस फूलमा ठोकिन पुग्यो । झन् रसले भरिएर उछुल्पाउ भएका उन्मत्त कसैले हामीलाई चुमोस् । चुसोस्, खाली गरोस्, स्खलित गरोस् ।

भरेर ओस्राएका, हामीमा भएको यो प्रकृति खेर नजाओस् भनेर निशान्त भएका ती फूलसँग रमेको उन्मत्त त्यो भमरालाई अकस्मात् एक दिन बिहान सूर्य उदयसँग शनिदेव प्रकट भएर भन्छन्, “मलाई थाह छ तिमी यहाँ जवानीको उमङ्गले ओतप्रोत भएका रङ्ग रसले भरिएर टिलपिल टिलपिल गर्दै बैँसले डब्किएका आकर्षित र मोहित यी लालीगुराँस विहार गरिरहेका छौ । यस अवस्थामा तिमीलाई परिशान गर्ने मेरो कुनै हेतु होइन । तर जब प्राणीले आफ्नो धर्म र कर्म बिर्सिन्छ । परमेश्वरले मलाई त्यस ठाउँमा र त्यस प्राणीमा प्रवेश गरी उसलाई दुःख दिऊ भनेर साङ्केतिक आग्रह गर्नुहुन्छ । मलाई पनि मेरो कर्तव्यको पालना गर्नुपर्छ । त्यसैले म भोलि शनिवार बिहान सूर्योदयदेखि लगातार सात वटा शनिवारको सूर्यास्तसम्म तिमीमा प्रवेश गर्दै छु । तिमीलाई लाग्दै छ ठूलो शरीर भएको शनिदेव कसरी म सानो भमरामा प्रवेश गर्न सक्छ होला ?”

शनिदेवले थप भन्दै जान्छन्, “म ग्रह रुपी हावाको स्पर्शबाट प्राणीहरूको आत्मामा प्रवेश हुन्छु । यी गुराँसहरूको प्रार्थनाले म साक्षात् यहाँ तिम्रो अगाडि उपस्थित भएँ । यो संयोगवश भएको हो । अन्यथा यस्तो हुँदैन । कुनै पनि बस्तु यो प्राकृतिक र ग्रहको बहसमा हुर्केको हुन्छ । ती सबैलाई एउटा सीमित उमेरमा पुग्दै गर्दा आफूमा उत्पन्न एक किसिमको श्वासप्रश्वास खरास् पैदा हुन्छ । त्यो कसैलाई दिन प्रबल इच्छा हुन्छ । तिमीले यी गुराँसहरूको त्यो चाहना र इच्छा पूरा गरी सृष्टिको हित काम गरेका छौ । त्यसैले म तिमीलाई सबै कुरा बेलिबिस्तार बताउँदै छु । तिमीले ग्रह शान्ति गरेर यसको बोझलाई घटाउन सक्छौ । अन्यथा यसलाई झेल्नुको कुनै विकल्प हुँदैन । शनिको प्रभाव यस्तो हुन्छ ।  उटपट्याङ र अनौठो काम गर्न मन लाग्छ । शरीरमा असहज महसुस हुन्छ र चोटपटक लाग्न सक्छ । खानपिनको अभाव खड्किन सक्छ । शिथिलताले शरीर जीण हुनसक्छ । मरौँ मरौँ लाग्न सक्छ । सूर्यको प्रकाश पनि अँध्यारो लाग्नुका साथै आफ्नै मूत्र बिष्टी समेत सेवन गर्ने परिस्थितिलाई झेल्नु पर्ने हुनसक्छ ।”

यति भनी शनिदेव हावाको रूपमा परिवर्तन भई शनि साडेसत ग्रह बनी भमराको शरीरभित्र प्रवेश गर्दछन् । भमराले यो सबै कुरालाई विश्वास गर्दैन र पुनः लालीगुराँसमै रमाउन थाल्छ । जब रात पर्छ ऊ रुखको एउटा डालीमा बास बस्छ । तर ऊ सुत्न सक्दैन । उसलाई छटपटी हुन्छ । अनि ऊ रातको अन्धाधुन्धमै उडिरहन्छ । बस्न डर लाग्छ । शनिबाट आफूलाई सुरक्षित स्थानमा लुकाउन खोज्छ ।

यसरी धेरै टाढा उड्दै जाँदा अलि उज्यालो पनि हुन थाल्छ । ऊ पहाडको जङ्गलमा हरिया पातको बिचमा सेतो फूल बनै चम्कने गरी वासनाको कस्तूरीले चौतर्फी हरहर पार्दै फुलेको चम्पाको फूलसँग नौलो भेट हुन पुग्छ । त्यसमै अवतरण हुन्छ । आराम विश्राम नगरी फटाफट एउटा चम्पा फूलको थुँगा काटेर माथिबाट घुप्लुक्क अर्को फूलको थुँगामा घोप्टाउँछ । अनि सूर्योदय हुनु अगाडी नै शनिग्रहसँग लुक्ने हेतुले त्यसैको कोपिलाभित्र घुसुक्क पसेर बस्दछ । अनि भन्छ, “लौ खा शनि !  अब भेटेर त देखा !” यसरी चम्पा फूलको गुफाभित्र लुकेर बस्दछ ।

चम्पा फूलको रसले मात लाग्छ । घामको किरणले तातो पनि हुन्छ । भमरा भुतुक्क निदाउँछ खै कति बेरपछि अजिङ्गरको शनिग्रह आफूमा प्रवेश गरेको ऐंठन परेको सपना देख्छ । झस्किन्छ । यताउति हेर्छ…र फुसफुसाउँछ, “चारैतिर बन्द फूलको दरबारमा कहाँबाट आउँथ्यो र त्यो शनिग्रह, सपना पो रहेछ । म सुरक्षित छु ।”

तर माथिबाट बगेको फूलको रसले उसको शरीर, पखेटा, खुट्टाहरू सबै लत्त्याएको छ, चल्न-सर्न सक्दैन । फेरि त्यही फूलको रस चुस्छ लट्ठिन्छ । सारै लामो खडेरी पर्छ । फूल सुकेर झनै दह्रोसँग समात्छ । ठाउँ साँघुरो हुँदै जान्छ । बस्न कठिनाइ महसुस गर्छ । निस्किने पनि कुनै उपाय हुँदैन । पखेटाहरू भाँचिन्छन्, खुट्टाहरू बटारिन्छन् । त्यही रस खायो, सुत्यो, लट्ठियो, बस्यो, दिनहरू कट्यो ।

पछि पछि त फूल पनि दुवै तिरबाट सुकिसके । खानपिनको अभाव खड्किन थाल्यो । मरिन्छ मरिन्छ जस्तो महसुस हुन्छ उसलाई । परिस्थितिलाई झेल्न गाह्रो भयो । मलमूत्रसित कट्कट्टिएको फूलको रस कोपर्नुको कुनै विकल्प थिएन । यस्तै कष्टकर दिनहरू बित्दै जाँदा सात हप्ता बितेछ ।

एक दिन ठुलो हावाहुरी सहित पानी पर्‍यो । सुकेको चम्पाको फूलको थुँगा जमिनमा खस्यो । भमरा उत्तानो पारेर भुइँमा लड्यो । उठ्न कोसिस नगरेको होइन तर सकेन ।

एक दिन एउटा छेपारोले मुसोको देखासिकी गर्दै जमिनमा प्वाल खोल्ने कोसिस गर्दै खोस्रिन थाल्छ । र त्यो भमरालाई उछिट्याएर पर फाल्छ । यत्तिकैमा भमरा सुल्टो पर्छ । पखेटा र खुट्टाहरूलाई ठीक पार्दै उड्न थाल्छ । अनि छेपारोलाई धन्यवाद ज्ञापन गर्ने उद्देश्यले हेर्छ त त्यही पहिलाको अजिङ्गरको (शनिग्रह) शनिदेव छेपारोको नजिकमा उभिएको देख्छ । हस्याङफस्याङ गर्दै भाग्न थाल्छ ।

शनिले मुसुक्क हाँस्दै भन्छन्, “नडराऊ, अगाडि पछाडिका सबै दिन र हप्ता जोडेर साढे सात हप्ता म तिमीभित्र बसिसकेँ, तिमी फूलमा लुकेको होइन मैले लुकाएको हो । तिमीलाई यी सबै दुःख कष्ट मैले दिएको हो । तिमीले भोगेका ती सबै दुःख कष्टसँग म परिचित छु । अब यो छेपारोमा प्रवेश हुन्छु । यसले आफ्नो कर्म छोडेर जमिनमा खाल्टो खन्दै छ । तिमीले मात्र त्यो सौभाग्य प्राप्त गरेका थियौ । मलाई सदृश्य देख्यौ । बाँकी सबैमा म अदृश्य हुन्छु । यस्तै कर्म पूरा नगर्ने सबैमा म प्रवेश गर्छु । एकै चोटिमा म धेरैमा पनि प्रवेश गर्छु । त्यसैले म अदृश्य हुन्छु ।”

यति भनी हावाको सानो कण बनेर छेपारोमा प्रवेश हुन्छन् । त्यसैदिन देखि भमराले जहिले पनि भुनभुन भुनभुन गरी शनिको मन्त्र जप गर्छ । चम्पाको फूलमा बस्दैन र छेपारोलाई कहिल्यै टोक्दैन ।