अन्धकार केही कोमल भएर तान्याको आङभरि टाँसिन आइपुगेको थियो जाडोको रातको चिसो सिरेटोझैँ । रात तान्याका आँखामा विलाप बनी तन्किँदो थियो ।

बाहिर दलिनमा झुन्डिएका सुनाखरीका पातहरूको छाया तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो समय । तान्याको यौवनजस्तै रन्थनिएको ब्रह्मपुत्र केही पर बालुवामा मुख गाडी केही ताल ओर्ली भित्रभित्रै उर्लिंदै बगिरहेको देखिन्थ्यो ।

तान्याका कुइरा, नीला दहझैँ आँखाहरूमा राजहाँस उडिरहेझैँ लाग्ने मेरो आफ्नै झीनो छायाँको सलबल्याइँ अङ्कित थियो ।

“ तान्या ! कस्तो लाग्यो त हाम्रो सहर ? ”

“मेरो आफ्नै सहरजस्तै । के फरक छ र ? त्यहाँ पनि मान्छे ओइरिन्थे, यहाँ पनि जिन्दगीको त्यही अटुटता रहेछ । केवल संस्कृतिको फरकले त मान्छेको कथामा फरक पर्ने होइन, विवशता मर्ने होइन, दुःखले कोल्टे फेर्ने होइन ।”

“ तान्या ! के तिम्रो सहरमा पनि नदी सुसाउँथ्यो ?”

“म जन्मेको सहरमै म हुर्कें, ठूली भएँ । नदीको खोजीमा थिएँ । त्यहाँ छेउ लागेर बगेको नदी त के, खोलासम्म भेट्न सकिनँ ।”

“अनि…!”

“अँ, हाम्रो सहरबाट तीस-बत्तीस किलोमिटर पर हरियो, शान्त क्रोजर पर्वत छ ।

त्यसैको फेदमा घुमाउरो गरी बगेको एउटा बालुवे खोलो भने सम्झन्छु- ढुङ्गैढुङ्गाको बगर भएको वाल्ज खोलो । त्यहाँ गर्मीका दिनहरूमा वनभोज मनाउन हामी टोलीका टोली हानिन्थ्यौँ ।”

“खुपै रमाइला हुँदा हुन् ती दिनहरू ?”

“जर्जियाली लोकगीतहरू ती घमाइला दिनहरू निकै घतलाग्दा थिए । हामी पाखाका वनहरूमा जङ्गली फूलहरू बटुली हिँड्थ्यौं । ठिटाहरू बल्छी थापी माछा मार्नमा तल्लीन हुन्थे । म भने त्यो हिंसादेखि टाढा थरी-थरी रङ्गीबिरङ्गी पुतलीहरूको खेदो गर्दै पछि-पछि दगुरिहिँड्थें । त्यो त्यस्तै उमेर थियो जित, जो बितेर गयो ।”

तान्या किर्सानोभाका कुइरा, नीला तालजस्ता आँखा उदास हुन थालेका थिए । उसभित्र विषाद टुसाउन थाल्दा माउथ आर्गनको सिम्फोनीझैँ उसका कातर ओठ थरथराएर काँप्न थाल्दथे । पारदर्शी सिसामा थुप्रै छायाँहरू खनिएर जथाभाबी खप्टिएझैं उसका आँखामा थुप्रै थुप्रै के-के जाति मडारिन थाल्दछन् । नीला आँखा भएकी भिनसजस्तै ऊ आफ्नो अस्तित्वभन्दा कैयौं गुना बढी विलास र तिर्खा ओगटेर कुनै उदास लयको साम्राज्यमा भित्रिन थाल्दा रात उसभित्र पसेर कहालिन्छ ।

घरबाहिर झ्यालनेरको भित्तामा अडेसिन आइपुगेको इन्द्रकमलको बोट छ । त्यहाँ इन्द्रकमल फूलको श्वेत कोमलतालाई नछोई बोटको पाते झ्याङमा अन्धकार आई गुजुल्टिएको छ । त्यस्तै तान्याको मुहारको दिव्यतालाई छुँदै नछोई उसको वरिपरि मेरो सम्मोहन फिंजिएको छ- बतासजस्तै, रातजस्तै, ब्रह्मपुत्रको सुसाइजस्तै ।

बालुवामा डोबहरू बनाउँदै हामीहरू ब्रह्मपुत्रको बगरमा पर-परसम्म हिँडिरह्यौं । आज घाम लागेको छ, चहकिलो घाम जाडोका कक्रयाउने यी दिनहरूलाई तताउँदै । केही परको पहाड, जसको फेदीलाई छुँदै ब्रह्मपुत्र तन्किएको छ, ओझेल परेकाले अँधेरी पाखा बनेर म्लान थियो ।

तान्यामा आज उत्साह ज्यादै उर्लंदो छ नदीको भेल भएर, तरङ्गको गुनगुन्याइँ ओसारेर, पानीको अविरल चञ्चलता बनेर ।

हामी दुवै नाङ्गा खुट्टाले पैतालाको डोब बालुवामा कप्दै हिंडिरह्यौं । बालुवाझैँ शुष्क थियो वरिपरिको वातावरण । बालुवाझैं मुठी नपर्ने फुक्का फुक्का थियो त्यस बेला हाम्रो मन ।

मास्कभिच्का फेसन डिजाइनरले तयारी पारेको हलुका मेहरुन रङ्गको सिङ्गलब्रेस्ट ओभरकोट, त्यही रङ्गको पातलो कम्मरमा बाँधिएको पेटी र त्यसै रङ्गको गोलाकार लेडिज क्याप (महिला टोप) मा तान्याको सौन्दर्यले अनिन्द्यतालाई आमन्त्रित गरिरहेथ्यो ।

हामी हिँड्दै पहाडको फेदीमुन्तिर पुगेथ्यौं । त्यहाँ पहाडको निकै बाक्लो र फराकिलो  छायाँको ओझेल बालुवामा आएर फ्याँकिएको थियो लम्पसार परेर । त्यसैले त्यहाँ केही जाडो-जाडो लागिरहेथ्यो । वातावरणमा एकनास निःशब्दताको आवाज बत्ताइरहेथ्यो । तान्याका केशहरू बतासमा घरी-घरी फरर्र उडेर फेरि काँधमा बिसाउन भर्दथे । त्यस बेला तान्या र म ब्रह्मपुत्रको बगरमा उभिएका थियौं, तर तान्याका गहिरा नीला दहजस्ता आँखाहरूमा दोन, निपार वा दुनाई नदीको अदेख्य भेल उर्लिंदो थियो ।

००००

अनौठो व्यक्तित्व छ तान्याको ।

एक साता पुरानो हो हाम्रो सम्बन्ध । सात दिनअघि भएको हो हाम्रो परिचय । अडिटोरियममा दर्शकहरूको भरिभराउ ।

रसियाली ब्याले नृत्यदलको सद्भाव यात्रा हाम्रो महानगरीमा पनि । उनीहरूको सातदिने कार्यक्रमको पहिलो रात्रि ।

ब्यालेको माझ-माझ अन्तरालमा हाम्रो स्थानीय सङ्गीतज्ञ-दलद्वारा प्रस्तुत गरिनु थियो अरकेस्ट्रा । म आफ्नो ‘नोटेसन पिस’ र ‘स्ट्यान्ड’ बोकी नेपथ्यको एउटा अँध्यारो कुनामा पुगेथें । म तन्मय भई भायोलिनमा आफ्नो ‘नोटेसन पिस’ बजाइरहेथें ।

“हलो !”

“मेरो नाम अजित शाक्य ।”

“मिस्टर शाक्य, तपाईंलाई भेटेर खुसी लाग्यो । तपाईंको एकान्त रियाजमा बाधा पुऱ्याएँ, क्षमा चाहन्छु । अनि मेरो नाम जान्ने उत्सुकता छैन कि ?”

“……”

“ठीकै छ, म नै भनिदिऊँ । मेरो नाम हो तान्या किर्सानोभा । तपाईं मलाई ‘तानेच्का’ भनेर बोलाउन सक्नुहुन्छ । म यस ब्याले नृत्यदलकी एउटी सदस्या हुँ ।”

अनि खिस्स हाँसी तान्या अँध्यारोतिरै हिँडेर बिलाइसकेकी थिई । म अलमल्ल परेको थिएँ । एउटा नीलो सागरको लहरको बाक्लो तह किनारालाई छोएर फेरि माझतिरै फर्केर बिपत्ता भइसकेको थियो ।

बेबिलोनेली देवी इस्तर एक्कासि मलाई दर्शन दिएर अन्तर्ध्यान भइसकेकी थिइन् । म जिल्ल परिरहेकै बेला कोही आएर मलाई मञ्चमा डाकिएको सूचना दिएर गएथ्यो ।

हाम्रो दोस्रो पल्ट देखादेखी र परिचय फेरि मञ्चमा भएथ्यो । दुवैतिरका टोलीका नाइकेहरूले आआफ्नो पक्षका सदस्यहरूको चिनारी गराइरहेथे । रसियाली ब्याले दलका नाइके सर्गेई पेनाकोभ निकै शिष्ट र मिष्टभाषी मानिस हुन् । तान्यातिर औंल्याउँदै पेनाकोभ भन्छन्- “यिनी हाम्रो टोलीकी गौरव, मिस तान्या किर्सानोभा, ब्याले नृत्यकी निकै सेन्सिटिभ र गहिरो रुचिले विविधता यस कलामा भित्र्याउने कलाकार । तान्याको चाख प्रत्येक मौलिक विषयमा अत्यधिक छ । नृत्यबाहेक फोटोग्राफी, यात्रा, अध्ययन र मित्रता तान्याका अन्य रुचिहरू हुन् ।”

हाम्रो टोलीका नाइके रथिन बेजबरुवा मेरो छेउमा आएर उभिएका थिए । मञ्चको पर्दापारिपट्टिबाट दर्शकहरूको जिज्ञासु उत्सुकता थरी-थरीका आवाजहरूमा यतापट्टि कति-कति बेला सुनिन्थ्यो । माइकेलेन्जेलोको अन्यतम जीवित कृतिजस्ती तान्या मतिर उत्सुकताले हेरिरहेकी थिई । हामीमाझको अन्तरालमा कसैले पछिपट्टि बजाइरहेको पियानोको हलुका सङ्गीत भरिंदै जाँदो थियो, मानौं एउटा नीलो आकाशको एक्लो विस्तारमा म र तान्या मात्र छौं, मेघैमेघको थुप्रोमाझ ।

“भायोलिनको व्याकुल छातीमा अझ व्यथा भरिदिन सक्ने खप्पिस औंलाहरू र मौलिकता उमार्न सक्ने संवेदनशील मस्तिष्कको मानिस हुनुहुन्छ हाम्रा मित्र अजित शाक्य । उहाँ अति मौनप्रिय व्यक्ति हुनुहुन्छ तापनि अरूलाई सहने र स्वीकार गर्ने उहाँमा गतिलो क्षमता पनि छ ।” रथिनको यस हलुकासित उछिट्टयाइएको विनोदले सबै मतिर हेरी मुस्काइरहेथे ।

तान्या चुप लागी मतिर हेरिरहेकी थिई, पियानोका मूर्च्छनाहरूका अन्तरालमा ।

त्यस रात तान्या साँच्चै नै जिउँदो विस्मय बनेकी थिई मेरा निम्ति । भन्ज्याङेभन्ज्याङको दुर्गमतालाई छिचोल्दै कुदिरहेको बाटो निर्जनता र अभेद्यता दुवैको बराबर बोध गराउने तान्याको सुकुमारी देहगन्ध थियो । मञ्चमा बिजुलीझैं गतिमय थियो तान्याको देहसञ्चालन । ब्याले नृत्यका निम्ति उपयोगी सुगठित शरीर-सौष्ठव थियो तान्याको । चेखभको नाटक ‘सिगल’ लाई त्यस रातको ब्यालेका मुद्राहरूमा ब्यक्त्याइँदै थियो । ‘सिगल’ मा सबै पात्रले प्रेम गर्दछन्, तर कसैको प्रेम सफलतासम्म पुग्दैन ।

यही विषय थियो त्यस रात । तान्या मञ्चमा जानुअघि मलाई भन्दै थिई, “ब्याले नृत्य सबै भावनालाई अभिव्यक्ति दिन सक्षम छ ।”

त्यस रात तान्याको प्रदर्शन अभूतपूर्व थियो । लाग्दथ्यो- सङ्गीतको समुद्रमा आवेग र मूर्च्छनाका सग्ला-सग्ला लहरहरू आफ्नो विकराल सौम्यतासाथ त्यहाँ वर्तमान छन्, जसमा परेर तान्याको देह सानो डुङ्गाझैँ हुत्तिँदै जान्थ्यो यता र उता । कहिले फेरि सङ्गीतको त्यसै भुमरीमा तान्याको देह डुङ्गाझैँ फनफनी रिङ्दथ्यो । दर्शक स्तब्ध थिए । वाद्ययन्त्रमा औंलाहरू अति सक्रिय देखिन्थे ।

तान्याको सहनर्तक स्तारुखिन नाच्दा नाच्दा पसिनामा लुछुप्प भिजेको थियो । मञ्चको वातावरण रङ्गीविरङ्गी झ्यासमिसे अन्धकारमा सरोबर थियो जसमा नृत्यरत देह घरी-घरी अल्पिन्थे ।

त्यस रातकी तान्या भायोलिनको करुण लयझैँ ममा सधैंभरिका लागि स्थापित भइसकेकी थिई ।

त्यसै गरी साताभरि आत्मीयताको नौलो क्षितिजमा हिँडेरै होला हामीलाई अपनत्वको  अकास निकै नजिक भएको भ्रम भइरह्यो ।

त्यसपछिका रातहरूमा ‘एफ्रोडाइट’ शीर्षकको ब्याले अति लोकप्रिय भएथ्यो । ‘एफ्रोडाइट’ को भङ्गिमालाई जब आफ्नो देहसञ्चालनद्वारा तान्याले फुस्काउँथी, उसको धपक्क बलेको रूपशिखामा आफ्नो अस्तित्व होमिदिऊँ-होमिदिऊँ लागेर आउँथ्यो । लागिरहेथ्यो- साँच्चैकी एफ्रोडाइटले आफू स्वयम् आएर आफ्नै अभिनयलाई साकार पारिरहेकी छे ।

त्यस राति तान्या निकै भावुक र मर्माहत देखिन्थी । ऊ नाच सिद्धिएपछि मेरो छेउमा आएर बसेकी थिई निकै बेरसम्म चुपचाप । म भायोलिन रेट्ने उपक्रम गरिरहेथें ।

अनि त्यसपछिका रात्रिहरूमा सेक्सपियरका नाटकहरूको ब्याले रूपान्तर- म्याकबेथ, रोमियो जुलियट, ह्याम्लेट, ओथेलो देखाइएका थिए ।

तर तान्याको शरीरमा भने अथक दिव्यता थियो नृत्यका निम्ति खाँदिएको । ऊ सायद त्यसरी नै युगयुगान्तरसम्म, अनन्त-अनन्तसम्म नाचिरहन सक्थी ।

अन्तिम रात्रि फेरि ‘एफ्रोडाइट’ को प्रदर्शन । अनि विराम ।

सुस्ताएर बिताएका ती दिनहरू तान्या र ममाझ घनिष्ठता उमार्ने घडीहरू थिए । कार्यक्रमअनुसार अझ छ-सातेक दिन उनीहरू हाम्रो सहर र छिमेकका अञ्चलहरूमा भ्रमणका निम्ति रोकिने भएका थिए ।

हिजो राति तान्या र म डुल्दै निकै पर निस्केका थियौं । तान्यालाई आफ्नो घरसम्म पनि लगेको थिएँ । तान्यामा एउटा लयको क्रमबद्ध तारतम्य महसुस गरिरहेथें जो कहिल्यै टुट्दैनथ्यो । कहालिन्थें– एकलासको नदीझैँ रात्रिको चकमन्नतामा एक्लै ब्युँझँदा । एक्लै हुनुको बोधमा रन्थनिन्थें पिचर – प्लान्टमा थुनिन पुगेको कीरो ।

मेरा बुबा-मुमा र बैनी देवयानीसित तान्या एकैछिनमा मिसिएर पुरानो परिचितझैँ बनिसकेकी थिई । विशेष मुमाले तान्याको मुक्त आचरण मन पराउनुभएथ्यो । हाम्रो परिवारको उन्मुक्त-खुलस्त व्यवहार तान्यालाई सारै चित्तबुझ्दो लागेको कुरो उसले बारम्बार उल्लेख गरेकी थिई ।

त्यसपछि ऊ पहिलो पटक मेरो निजी कोठामा भित्रिएकी थिई- आफ्ना सम्पूर्ण मादकताहरूसहित । मेरो कोठाको बाहिरी दैलो पोर्टिकोसित जोरिएजोरिएझैँ छ । त्यहींबाट थालिएको छ हरियो दूबोको छप्टाइएको मखमली लन । मेरो कोठाको बाहिरी भित्तामा केही अडेसिएको छ इन्द्रकमलको बोट । केही फूलहरू थिए त्यहाँ ।

तान्याको देहको अनौठो सुवासमा इन्द्रकमलको मगमगाउँदो बास्ना मिसिन पुगेको थियो ।

तान्याले आफ्ना स-साना रुचिहरूबारे पनि विस्तारपूर्वक मलाई भनेकी थिई, आफ्नो परिवारबारे जनाएकी थिई । साँच्चै ऊ अनजान शिशुझैं निरीह लागिरहेकी थिई त्यस बेला ।

००००

निकै पर आइपुगेर हामी दुवै ढुङ्गे छपनीमा अडेस लागेर बिसाउन पुगेका थियौँ । जाडोका दिनहरूको ब्रह्मपुत्र घटेर निकै कृशकाय बनेको थियो- ठीक सुकेनासले थलिएर खिइएकी कुनै ठिटी ।

“यो नदी सधैँ यस्तै हो त जित ?”

“होइन, हिउँदभरिलाई मात्र हो यसको यो मरन्च्याँसे काया । वर्षा ऋतुमा त यसका भेलहरूलाई तँछाड र मछाड गरेरै उछार मिल्दैन । अहिले जहाँ हामी उभिएका छौं तान्या । यो ठाउँ बाढी आएको बेला नदीको माझथलोमा पर्छ ।”

तान्या एकोहोरिएर पर-परसम्म लम्पसारिएको ब्रह्मपुत्रको विस्तारलाई हेरिरहेकी थिई धेरै बेरसम्म । म पनि आफूभित्रको अर्कै संसारको विशालतामा कता-कता पुगिरहेको थिएँ ।

सूर्य डुब्दै थियो- शराइघाटको साँघुपारिपट्टि । पहेंलै भएको थियो ब्रह्मपुत्रको पानी । अनौठो रहस्यमय बन्दै गइरहेथ्यो परिवेश । यो सहर अर्कै कुनै काल्पनिक सहरमा फेरिएझैँ भएथ्यो ।

साँझ- नदीभरि खनिएर सहरतिर पस्दै छ ।

“जित ! यहाँ आएर मलाई आफ्नै सहर बेहोरिरहेझैँ नै लागेको छ । तिमीले हिजो ‘फरक के छ ?’ भनी सोधेका थियौ नि । खै, म केही फरक अनुभव गर्नै सक्दिनँ ।”

“मानिसको मनस्थिति ठूलो कुरा रहेछ तान्या ! कहिले कतै कुनै-कुनै स्थितिमा मस्तिष्कको व्यवहारले विभिन्नतालाई पनि एकरूप पारिदिन सक्छ ।”

“विचित्र लाग्छ, सबै देश, सबै समय, सबै स्थिति कहिले कतै चेतनालाई एकैनास लाग्ने । मेरा निम्ति जुन व्यवहार मेरो देशको सत्य हो, त्यो यहाँको पनि त्यसरी नै त्यति नै यथार्थ होइन भन्न सक्दिनँ ।”

“दुवै देशको जीवनमूल्यमा भिन्नता केही अनुभव गर्यौ तान्या ?”

“पेजोरा, लेना, तुगुस्का र अङ्गारामा पनि पानी नै बग्छ जित ! तिम्रा ब्रह्मपुत्र, गङ्गा र काबेरीमा । यस्तै लयबद्ध हुन्छन् त्यहाँका साँझहरू पनि । यस्तै लठ्याउने । यस्तै आत्मविस्मृतितिर धकेल्ने । हाम्रो देशका खेतबारीहरूमा पनि अन्न नै उब्जन्छ । त्यहाँ कुनै ईश्वरत्वको चमत्कारले अरू केही विशेष फल्ने फुल्ने कुरा मलाई थाहा छैन । तैपनि…।”

“उत्पादनको फरक छ तान्या । तिम्रो देशमा सम्पूर्ण मानवीय शक्तिको उपयोग आधुनिक प्रविधिका उपलब्धिहरूसित मिसाएर गरिंदै छ । उत्पादनसितै समृद्धि गाँसिएर आउँछ । दुवै देशको जीवनमूल्यमा भिन्नता शायद यही थलोबाट थालिन्छ ।”

“अझ एउटा कुरो जित ! सामूहिकताबोधलाई एकदमै सखाप पारेर व्यक्तिवादितातिर लम्किरहेछ तिम्रो सम्पूर्ण देशको मनस्थिति । त्यसैले सुख, दुःख, सम्पन्नता, विपन्नताजस्ता साँघुरा शब्दहरूको चेपबाट जिन्दगीलाई हेर्ने बानी लागेको छ मानिसहरूलाई । यसको साटो हाम्रो मुलुकमा सामूहिकताको अतियथार्थ छ । यो स्थिति पनि मलाई कहिल्यै मन परेन । के हामीले सामूहिकताको नाउँमा व्यक्तिगत स्वच्छन्दता, प्रतिभा र वेदनाको स्थितिलाई स्वीकारै नगर्नु ? मेरो भनाइ त्रुटिपूर्ण पनि हुन सक्छ, तर जित । मैले कहिले कतै सोचेकी छु- के सामूहिकताबोध र व्यक्तिसङ्गतताको सन्तुलित समन्वयले कुनै नयाँ दिशा उघार्न नसकिएला र जीवनमूल्यको ?”

तान्याका जटिल कुराहरू साँझको निविडताले ब्रह्मपुत्रलाई छोपिसकेको थियो । हाम्रो वरिपरि अँध्याराको अभेद्यता बुनिन थालिसकेको थियो ।

मेरो छेउमै उभिएकी छे तान्या- मायाकोभ्स्कीको कविताझैँ तन्मय, शिष्ट र उदार । “तानेच्का !” म पहिलो बाजि उसलाई यसरी सम्बोधित गरिरहेको हुन्छ जब उसले भने मेरी मुमालाई भेटेदेखि नै मलाई घरको नामले बोलाउन थालेकी थिई ।

“भन जित !” ऊ मबाट शायद ‘तानेच्का’ सम्बोधन सुनेर आत्मविस्मृत भएकी थिई । उसले सुस्तरी आफ्ना दाहिने र देब्रे हात मेरा दुवै हत्केलामा राखिदिएकी थिई । तिनमा रुसका वसन्त, ग्रीष्म र शरद्को समशीतोष्णता एकसाथै खप्टिएको थियो ।

पुस्किनको काव्यमर्म तान्याको देहसुवासमार्फत ममा भित्रिरहेथ्यो ।

“तिम्रो आगमन पनि त यही साँझको रङ्गजस्तै क्षणिक छ तानेच्का !” मेरो आवाजको विषादलाई बुझेरै उसमा प्रतिक्रिया भएको हुनुपर्छ- उसका आँखा कातर भएका थिए । ओठ आवेशमा काँपेका थिए- जुरेली उडिसकेपछिको बकाइनोको डालो । सयपत्रीको थुंगालाई झैं उसका दुई गालालाई हत्केलाले छोएथें । हजारौं वर्गमिल परको माटो, पानी, बतासले बनेको त्यो शरीर मेरो अझै केही नजिक आएको थियो ।

पर, ब्रह्मपुत्र सुसाइरहेको अब स्पष्ट सुन्न सकिन्थ्यो । हाम्रा वरिपरि जूनकीरीहरूको मेला लागेको थियो ।

म बोलेथें- “तिम्रा देशका खोला, नदी, खेत, शस्यहरूको सुगन्ध बोकेको छ तिम्रो देहले तानेच्का ! तिम्रो आङमा तिम्रो देशका लिली, फ्रिजिया र ट्युलिप बास्ना आउँछ । तुङगुस्का र भोल्गाझैँ यो सुसाउँछ । साँच्चै तानेच्का ! तिमी कति राम्री, कति सुन्दर- तिम्रो देशजस्तै आकर्षक र उदार, साइबेरियाको हिउँजस्तै उज्ज्वल र त्यसै हिउँको विस्तारमा दगुर्ने ‘स्लेज’ झैं गतिमय, कर्मठ ।”

तान्याका कुइरा, नीला दहजस्ता आँखा र मेरा आँखाहरूमाझ अब धेरै अन्तर रहेको थिएन । ती एकअर्कालाई अब अझ स्पष्ट पढ्न सक्थे ।

“हुन्छ जित ! तिमी ममा मेरो देश खोज । म तिमीमा आफ्नो हराएको अतीत कोट्याउँछु…।” मैले देखिरहेथें ती उदास आँखाहरूमा आँसु सलबलाइरहेको थियो । आवेश र नोस्टलजिया दुवै खप्टेर अनुहारभरि करुणा बिस्तारिएको थियो ।

“तिमीलाई थाहा छ जित । यी केही दिनहरूभित्रै म तिमीसित यति धेरै घनिष्ठ कसरी भएँ ? तिमीप्रति यति धेरै, यतिबिघ्न अपनत्व मभित्र कहाँबाट पलाएर आउँछ ? थाहा छ जित ? किनभने- म तिमीमा मेरो भिक्तरलाई खोजिरहेकी छु । तिम्रो बानीबेहोरा व्यक्तित्वमा मात्र होइन, तिम्रो जीउडाल र रुचिहरूसम्ममा भिक्तर नै लुकेको छ । जब तिमी भयोलिनमा एकाग्रिन्छौ मलाई तिमी भिक्तरकै अनुवाद लाग्छौ जित ।”

उसका आँखामा आँसुका ढिका छचल्किएका थिए ।

मभित्रको अन्तरिक्ष अब एक चोक्टा नीलो आकाशको क्लोजअपमा फेरिएर स्थिर थियो ।

त्यहाँ पीडाको नील नक्षत्र प्रोज्ज्वलित थियो समयको अनन्ततामा एक्लै ब्युँझेर । “मेरो आवेशका निम्ति मलाई क्षमा गरे जित, तर यही सत्य हो । कटु वास्तविकता ।” भिनसका आँखामा आँसुका थोपा थिए । झन् मायालाग्दी देखिँदै थिई तान्या । “तिमीले मलाई ‘तानेच्का’ सम्बोधित गर्दा मलाई मेरै भिक्तरले मृत्युको संसारपारिबाट फर्किआएर बोलाएझैँ लागेथ्यो ।”

००००

त्यसपछि टुक्रा-टुक्रा वाक्यमा नोस्टलजियाका मायावी प्रकरणहरू मेरो अघि छरिँदै गए, छरपस्टिंदै गए…

भिक्तर मिखाइलोभ बाल्सोई थिएटरको कर्मठ सदस्य थियो ।

भायोलिनप्रति अति आसक्त थियो ऊ ।

आठ वर्षअघि तान्यासित, भन्नै भन्नै परीकथाको नायक इभानजस्तै लाग्ने भिक्तरको परिचय भएको थियो ।

परिचय गहिरो आत्मीयता र पछि चालै नपाई प्रेममा फेरिएको थियो ।

थिएटर टोलीको विभिन्न राज्यहरू र देश-विदेश भ्रमणमाझ भिक्तर र तान्याको प्रेम हुर्किन्छ, विकसित हुँदै जान्छ ।

चार वर्षअघि भिक्तरलाई घाँटीमा क्यान्सर भएको कुरा स्वास्थ्यपरीक्षणमा थाहा भएथ्यो ।

एक वर्षको क्यान्सरग्रस्ततापछि, तीन वर्षअघि वसन्तको याममा भिक्तरको मृत्यु हुन्छ ।

विज्ञानको खोज र प्रविधिको विकासले अकाश छोएको देशमा पनि भिक्तरले जिन्दगी फिर्ता पाउन सकेन । तान्याको सुषुप्त मनमा यो कुरो परोक्ष रूपमा गहिरिएर कतै विद्रोह बनी बसेको छ ।

क्यान्सरग्रस्त भिक्तरसितको तान्याको अन्तिम वर्ष निकै करुण थियो । मृत्युतिर बग्दै गइरहेको भिक्तरलाई बचाउने अथक प्रयास मिखाइलोभ परिवार र तान्याद्वारा भइरह्यो, तर प्रत्येक प्रयत्न विफल भयो ।

अन्तिम दिनहरूमा भिक्तरको प्रेम अझ बढेर गएको थियो तान्याप्रति । उसलाई थाहा थियो अब केही दिनमै उसको कथाको अन्तिम परिच्छेदको शेष पातो उघ्रनेछ । हुन सक्छ उसले चिताएझैं त्यो दिन घमाइलो नहोला । झरीले लुछुप्प रुझाएको पनि हुन सक्छ उसको जन्मबाट मृत्युसम्म तन्केको यो नगरीलाई । सेनिटोरियमका काँचहरूको पारदर्शी आचरण शायद जन्म-जन्मान्तरसम्म फेरिनेछैन ।

क्यान्सर सेनिटोरियमबाहिर त्यस दिन घाम लागेको थियो ।

तान्याले डायरीमा लेखेकी थिई ।

भिक्तरको मृत्युले घस्री-घस्री तन्केर वसन्तको यामलाई छुन सफल भएको थियो । त्यस बेला हिमपात थामिने याम थियो । अचेल छानाहरूमा सेतै ओछिएको हिउँ पग्लिसकेकाले देखिँदैनथ्यो । आरुबखडाका रूखहरूमा सेतै फूल फुलेका थिए ।

‘मर्निङ ग्लोरी’ त्यो दिन बिहानबाटै अकर्मण्य देखिन्थे बोटहरूमा ।

यस्तैमा भिक्तरको कथा सकिएको थियो ।

फूलहरू उदास थिए । सेनिटोरियमका पारदर्शी काँचहरूमा घामको अस्पष्ट इन्द्रेनी रङ्ग चलमलाइरहेथ्यो । त्यसरी नै अरकेस्ट्राको कुनै अदृश्य भन्ज्याङमा भायोलिनको स्वप्नदर्शी एकाग्रता एकाएक थरथराएर खण्डित भइसकेको थियो ।

त्यहाँ कुनै विरह थिएन । अप्राप्तिको दुःख र प्राप्तिको कामना थिएन ।

शायद यही स्थिति मृत्यु हो ।

दुई करोड वर्षबाट धरतीमा रहिआएको साइबेरियाको ताल बाइकालझैं उसका आँखा, नील स्फटिक जलले भरिएका । बाइकाल तालमा तीन सयभन्दा बढी नदीहरू खनिन्छन् र त्यहाँबाट निस्कन्छ एउटै नदी- अङ्गारा । त्यस्तै शायद उसको मानसिक अन्तर्द्वन्द्व, आघात, अतीतविरह, पीर, दुःख, व्याकुलताका अनेकौं नदी आई उसका आँखाको नीलो तालमा भित्रभित्रै अप्रत्यक्ष खनिँदा हुन्, तर प्रत्यक्षमा एउटै नदी थालिन्छ- आँसुको नदी ।

आँखाको प्राचीन बाइकाल तालबाट थालिने आँसुको नदी- अङ्गारा ।

तान्यासित अब केवल अतीत थियो ।

००००

हामी फर्कंदा रात छिप्पिन थालिसकेको थियो । झ्याउँकिरीको लयबद्ध गीत गुञ्जायमान् थियो त्यहाँको एकान्त र पर-परसम्मन् अनकन्टारमा ।

तान्याभित्र ब्युँझेको थियो अतीत- मध्यरातमा टाढा कतै संसारभित्रकै कुनै एक महानगर ब्युँझेझैँ निद्रालाई हेपेर ।

उसले मेरो देब्रे काँधमा हलुकोसित आफ्नो शिर ल्याएर ढल्क्याइदिएकी थिई ।

सको कम्मरमा मेरो हात अनायास बेरिन पुगेथ्यो । त्यही मुद्रामा हामी दुवै खप्टिएका दुई भिन्नाभिन्नै विचार वरसम्म हिँड्दै आएथ्यौं । सहरको जटिल शब्दलाई नियोनहरू उच्चरित गर्नपट्टि लागेका थिए ।

तान्याको स्थिति त्यस बेला लेनिनग्राद सहरजस्तै थियो होला आफूभित्र । एक सय एक द्वीपहरू सागरमाझ ।

स्मृतिका एक सय एक द्वीपहरू अतीत सागरमाझ । थुप्रै-थुप्रै विचारका साँघुहरूले जोरिराखेको ।

लेनिनग्राद सहरजस्तै तान्या ।

विचारका साँघुहरू हटाइदिनु हो भने द्वीपहरू जोरिएर बनेको सहरको त्यो खण्ड-खण्ड व्यवस्था छिन्नभिन्न हुनेथ्यो होला । त्यस बेला त्यस्तै मनोदशा थियो शायद तान्याको- ठीक लेनिनग्राद सहरजस्तै एक सय एक द्वीपलाई साँघुहरूले गाँसेर सागरमाझ… ।

बाहिर ऊ मसित तन्मय भई बाँधिएकी थिई ।

अँध्यारोमा हामी दुवैका छायाँ शायद हामीसितै कतै खप्टिएका थिए ।

तान्याको कौमार्यको उन्माद रुसभरिका थरी-थरी फूलहरूको सुवासमा फेरिएर मभित्र पस्दै गइरहेथ्यो । फिजिंदै गइरहेथ्यो- भित्र-भित्रसम्मन् ।

बाल्खस र उनेगा तालको सङ्लो, नीलो पानीको सङ्गीत- तान्याको रसियाली बैंस । सुस्तर तान्या फुसफुसाएकी थिई- “वसन्तलाई म घृणा गर्छु । मेरो जीवनमा कुनै वसन्त छैन जित, कतै वसन्त छैन ।”

००००

मेरो कोठामा आइपुगेर तान्या झन् सारो विचलित भएकी छे । म धेरै बेरसम्म भायोलिनमा ‘मेलोडी’ पिस बजाइरहन्छु । आजको मेलोडीलाई पनि विषादले कता-कता छोएर गएको छ । तान्या त्यसपछि कसैगरी खुसी हुन सकिन- भरीमा सूर्य गुमाएको दिनझैँ ।

रेलिङमा पहेंलै फुलेको सुनाखरीको मादक सुगन्धको विह्वलता कोठाभरि बत्ताएर प्रफुल्लित थियो ।

बाहिर रात थियो ।

इन्द्रकमलको झ्याङमा आएर खनिएको अन्धकारमा कुनै कोलाहल थिएन । बोटमा फूलहरू थिए इन्द्रकमलका- कुनै रातझैं रहस्यमय, कुनै तान्याको सौन्दर्य पीडाझैँ गहन र लावण्यमय ।

००००

राति तान्यालाई गेस्टहाउससम्म पुऱ्याउन, बुबाको गाडी लिएर देवयानी र म गएका थियौं । जाडो झन्-झन् बढ्दै गइरहेथ्यो । चिसो सिरेटोले हत्केला र कान कठ्याङ्ग्रिरहेथ्यो । तान्या माझमा मेरो अनुभूतिसित छोइएर बसेकी थिई । उसको आकृतिमा विषाद अझ पनि जस्ताको तस्तै थियो ।

“स्पकोइना नोछी, तानेच्का ।” (शुभरात्रि तान्या ।)

मैले तान्याबाट सिकेका शब्दहरू अड्की-अड्की उच्चारण गरेथें । सबै दु:खहरूमाझ पनि ‘भाषा मर्म’ ले होला तान्या मुस्काएकी थिई ।

“स्पकोइना नोछी !” उसले देवयानी र मलाई एकैसाथ भनेकी थिई ।

००००

तान्या स्वदेश फर्केको आज अठार दिन भइसकेछ । उनीहरूको टोली दुई दिनजति अझै दिल्लीमा रोकिएर सीधै कजाख जानु थियो ।

त्यस दिन एकाबिहानै तान्या हाम्रो घर आएकी थिई । त्यस बेला ऊ प्यारी-प्यारी र निरीह लागिरहेकी थिई ‘सिन्ड्रेला’ ।

श्रीमान् सर्गेई पेनकोभ, तान्याकी अन्तरङ्ग बान्धवी जारुबिना तागियेना र इरा नेभिरोभा पनि आएका थिए केही बेरपछि ।

त्यस दिन मेरो मन निकै गहुँगो थियो बिहानैदेखि । आँखामा निद्रा पटक्कै परेको थिएन । कोल्टेफेराइमै रात कसरी बित्यो थाहै भएन । तान्याका आँखा पनि राता-राता भई डम्म सुन्निएका थिए ।

“एईऽऽ… जित ! थाहा छ आज हामी फर्किरहेछौं ? के भो तिमीलाई हँ ? निकै उदास देखिँदै छौ ।” तान्याले मुहारभरि उज्यालो ओसार्ने प्रयास गर्दै बोलेकी थिई- “तिमी एअरपोर्टसम्म सि-अफ गर्न जानुपर्नेछ है ।” उसले बोलीमा उमङ्ग उमार्ने भरिसक्य कोशिश गरेकी थिई ।

आधा दिनसम्म हामीहरू त्यसरी नै कुरा गर्नमा मग्न थियौं । बोलीमा विषाद ओर्लन खोज्दथ्यो घरी घरी । तैपनि एकअर्कालाई हामी ढाँटिरहेका, छलिरहेका थियौं ।

विमान छुट्नु केही छिनअघि आकाश बादलिएकाले घाम ओझेल परेको थियो । दिन केही अँधेरिएको थियो । रसियाली टोलीका छयालीस जना सदस्य हामीहरूसित बिदा भई एअरपोर्ट लाउन्जभित्रबाट हुँदै रनवेतिर बढिरहेका थिए ।

तान्या मलाई कुरिरहेकी थिई एअरपोर्ट पेभेलियन पुछारको एक कुनामा उभिएर। कातरताका मेघहरू गुजुल्टिएका थिए नीलो दहझैं उसका कुइरा आँखाभरि ।

म छेउमा पुगेको थिएँ । ऊ सुस्तरी फुसफुसाएकी थिई- “जित ! आफ्नी तानेच्कालाई नबिर्से है !”

अनि तान्याका काव्यिक ओठहरू काँपेका थिए बतासमा निगालोका पातहरू फरफराएझैँ ।

अन्तमा मेरो भित्री अर्न्तद्वन्द्व दुईओटा शेष शब्दमा आई थामिएका थिए समुद्री तुफान थामिए- “दास्भिदानिया तानेच्का !”

तान्या रोइदिएकी थिई हिक्का काढ्दै । उसका दुवै हत्केला सुस्तरी आफ्नो हातमा लिएथें । एफ्रोडाइटका कुइरा, नीला दहजस्ता आँखाहरूमा आँसुका ढिका छचल्किएका थिए । “दास्भिदानिया जित !” अनि ऊ फनक्क फर्केर लाउन्जमाझबाट हुँदै रनवेतिर हानिँदै गएकी थिई आँसु पुछ्दै ।

अब हामी दुवैमाझको अन्तराल बढ्दै गइरहेथ्यो तान्याको प्रत्येक पाइलोचालाइमा । अन्तरालमा भास्सिँदै थियो बिदाइ – ब्याले नृत्यका मुद्राहरू, उन्माद र विस्मयहरू । नेपथ्यमा अप्रत्यक्ष उडिरहेका भायोलिनका मूर्च्छनाहरूका अमूर्त गौंथलीहरू । माथि बादलिएको आकाशको क्षणभङ्गुरता ।

रसियाली टोलीले विमानमा चढेर बिदाइमा हात हल्लाइरहेथ्यो । केही छिनमा विमान अकासिएर बिपत्ता भइसकेको थियो ।

शेष थियो एउटै शब्द- ‘दास्भिदानिया !’

००००

दलिनमा झुन्ड्याइएका गमलाहरूमा सुनाखरी पहेंलै फुलेर मगमगाइरहेछ । रात त्यसरी नै इन्द्रकमलको झ्याङभरि खनिएर छरपस्टिएको छ । छचल्किएको छ फूलहरूको उच्चारण सुगन्धमा ।

अन्धकार त्यहाँ आएर गुजुल्टिएको छ । इन्द्रकमल निस्तब्ध छ, तर आज तान्या छैन ।

केही पर ब्रह्मपुत्र त्यसरी नै सुसाइरहेछ एकनास- शायद त्यहाँ एनेसी र भोल्गाको पीडा पनि आएर थपिएको छ ।

तान्या छैन आज ।

एउटा शब्द शेष छ भित्तामा ओगटिएको सुनाखरीका पातहरूको छायाझैँ, इन्द्रकमल फूलको सुवासमा रन्थनिएको ‘दास्भिदानिया !’

(अविनाश श्रेष्ठको कथासंग्रह ‘तान्या इन्द्रकमल र अन्धकार’बाट)