लछिमनिया

गोलाकार वृत्त नभमा निशाको नग्न प्रतीक्षा गर्दछ, जस्तो रङका बिम्बहरू नयनमा नृत भावमा नमन छन् ।

कठोर कालको हृदयङ्गम हुँदा वसन्तको दुई झोँका पवनले लछिमनियाका केश नफरफराएका होइनन् । तर उसको हृदय कतै दूर क्षितिज भन्दा भिन्न स्थान र भिन्न युगमा स्तब्ध रहँदा उसलाई पवनले कुनै किसिमले पनि व्यग्र बनाउन सकेन । जस्तो  सन्ध्याका भँगेराहरू बाँस घारीहरूमा व्यग्र भावले रातको कल्पमा चलमलाउँछन्- कराउँछन् – लछिमनियामा कुनै भाव देखिएन ।

उसो त ऊ भाव शून्य छैने, बस् प्रभावभन्दा टाढा छे, कि छेवैको असारे फूल वैशाखमा हरित रङहरूले उज्ज्वल हुँदा, ऊ पर चुरेका फेदमुनि गुम्सिएको बाक्लो डढेलो छुन्छे काला नयनहरूले । तर पुरै काला होइनन् – काला आँखीभुइँ मुनि सुस्ताएर प्रलय कालमा नुगेका वृक्षका फल झैँ, लत्रिएका काला (तर दूरबाट खैरा लाग्ने) नानीले गगनका उच्च भाग हेर्ने दुस्साहस गर्छे । यस्तो दुश्चेष्टा, जस्तो आकाशले उसलाई थिचेको, हंसलाई पकडेर राखेका छन् । आकाशको खुलापन उसको विकल्प होइन । ऊ भँगेरा जसरी उड्न सक्दैने । डढेलो जसरी वनवन कुद्न सक्दैने । कुनै पनि ऊर्जाले उसलाई आत्मघात गर्न सक्दैन । असारे फूलले पनि हँसाउन सक्दैन । यस्तो प्रभाव शून्य हुन खोजेर ऊ आएकी पनि होइन, जस्तो बेलाबखतमा रम्भाले उसलाई सम्झाएकी थिई, तर कालहरू निर्दोष नहुनाले, कुनै बखतमा हिर्काएको समयको झोँकाले उसलाई ती प्रभावहरूबाट विमुख बनाएको थियो ।

आँगनमा फालिराखेको कुचो इँटाहरूको नरम स्पर्शमा उठ्न मानेको थिएन र जोडले आएका बतासका संवेगमा प्राण भरेर फरफराउँथ्यो । आफू अम्रिसो हुँदाका पल सम्झेर, विस्तीर्ण पहाडमा लहराएको पलले सिँचिएर, पुनः मुस्कुराउँथ्यो । आँगनमा इँटाहरू क्रमसँगै ओछ्याएर बाटोसम्म पुगिने गल्ली बनेको थियो । हिँड्दा माटोको स्पर्श नहोस् भनेर सायद, तर लछिमनिया इँटाक्क गल्लीलाई छोडेर असारेको बोट मुन्तिर थुपारेको माटोको थुप्रोमा ध्यानै नदिएर पर पर सम्म टोलाइरहेकी थिई । घरका कोठाहरूमा तमले राज गर्दा, उसमा दियो बाल्ने सम्मको होस रहेन ।

अतः निशाको नीरवताले घर श्मशान झैँ भयंकर आभाहीन देखियो । अलि पर फाँटहरूमा मौलाएका मकैका बोटहरू सुसाएको कर्कश सङ्गीतले कुनै प्राणहीन हवेलीको अथाह भारमा थिचिएका एक हुल प्रेतात्माको आर्तनादको विकृत बिम्ब अनुसरण गर्दथ्यो ।

केही महिना अघि काठमाडौं छिरेको (सायद काठमाडौं होला, उसलाई त्यस्तै लाग्दछ) शंकरमा छायाहरू यो अतिरञ्जित उल्लासहीन अवशेषमा बेलाबेला घिस्रिरहँदा भने लछिमनियामा कुनै संवेदनाको मिहिन आकलन गर्न सकिन्थ्यो । चार दिन अघि सँघार सफा राख्न निकालेको कुचो आँगनमै लत्रिरहँदा छेउछाउमा खेलिरहेका बालकहरू पनि उसलाई खिन्न भावले हेर्दथे र कसैले नसुन्ने गरी (तेस्रो पुरुषमा भएपनि)  उसलाई सम्बोधन गरेर बोल्दथे – “यसको पोइ त यसलाई छोडेर गयो अरे ।” यी नेपथ्यमा आएका स्वरहरू पनि ओइलाएको चकोरले धर्तीलाई हिर्काए जसरी उसलाई हिर्काएर खस्दथे ।

युगहरू यस्तै थिए – कठोर, विमूढ, तर पनि दूरको गोलो रातो वृत्तकार अस्तित्व प्रत्येक उषामा उसलाई अपनत्वको सम्भार गराएर, निशामा आफ्नो कालो रङ्ग पोख्न छोड्दैनथ्यो । लालाबालाका मलद्वारबाट निस्केका मलको थुप्रोमा आफ्नो विकट स्वरूप उचाल्दै उच्च वेगमा भयंकर नाद रच्दै, श्मशानको क्यानभासमा ओर्लिएका मकैका बोटहरू उसको आकाश ढाक्न लालायित थिए । युगहरू किन यस्तैयस्तै थिए, उसलाई जहिल्यै लाग्दथ्यो, एक लामो दूरको कल्पको स्मरण जस्तो – जो छोइएर आउँछ, तर कहिल्यै छोइएको हुँदैन । जो पश्चिमका घाटहरूमा अस्ताएको बिम्ब पोख्छ तर आत्मसात् हुँदैन, हदै सम्मको भावना र प्रीतले छोप्दछ तर पनि मानिसलाई दूर मिल्काएर एक सम्झनाको भग्नावशेष जसरी बसेको हुन्छ – तर यो के थियो, लछिमनियालाई थाहा थिएन ।

त्यसैले उसलाई लाग्यो “यो यस्तै युग हो – जो कल्पनालाई सम्भोग गरेर, वर्तमानलाई आत्मग्लानिमा धकेल्छ ।” यो यस्तै युग थियो, जहाँ चारकोसे झाडीको सुरम्य सौरम्य दिलैमा विनीत हुन्थ्यो, तर एक असारेको उजाडतामा सिङ्गो खण्डहरको असलियत बज्रिन्थ्यो ।

तर केही काल पूर्व उसलाई यो खण्डहर लाग्दैनथ्यो; एक सामान्य मदेसको बस्ती भन्दा भिन्न थिएन यो, एक बालापनको, हुर्काइ-बढाइको, किशोरावस्थाको र यौवनको एक मृगस्थली मात्र थियो । उन्माद थिएन, न घमण्डका प्रलयकालीन उपहास थिए, न क्रोधका आयातित बज्र थिए, न असन्तुलनका साम्राज्य, बस् एक पल थियो – पलभरको थियो ।

एकालापको मौनता अनुसरण गरिसकेपछि लछिमनिया पछाडि फर्केकी थिई । जहाँ उत्पात मच्चाउने शून्यताले उसको घरलाई छोप्दथ्यो । त्यहाँ आलाप थियो वा थिएन, एकालाप थियो वा मनोवेग, पर खेत र गल्लीलाई मैदान बनाएर माटोमा थिचिएका एक हुल बालकहरू आँकल काट्न सक्दैनथे, न त केही घर पर बस्ने रम्भा नै । पछाडि फर्केर घरलाई सम्मुख पार्दा लछिमनियामा घरभित्र छिर्ने आँट आएन, केही साहस बटुलेर सँघार पार गर्न खोजी तर सकिने, अन्ततः आँगनलाई छोडेर घर बाहिर निस्किई ।

“एइ ! भित्र आइजो” घर भित्रबाट आवाज नउठेको होइन, तर श्मशान जस्तो नीरवतामा स्वर भरिनु आफ्नै मानसपटलको उपज बुझेर ऊ अलि पर मकै झुलिरहेका ठाउँ सम्म आइपुगी । मकैमा बोटहरू कोलाहलमा रम्दा भए, तर उसमा रमाइलोको कुनै अंश भेटिएन । यो कोही कराउने बखत पनि थिएन, न त काल कसैलाई पुकार्ने विन्दुमै पुगेको थियो । स्नेहको पातला चर्खाहरूबाट निस्केको मिहिन धागोले सम्म कोलाहलमय संवेग कोर्न सक्दथ्यो त्यो बखतमा ।

लछिमनिया अगाडि हिँडी, जसरी पाउहरू जबरजस्ती डोर्‍याइन्छन् – गोरेटोहरूमा, खेत र खलियानहरूमा – देहातको उम्दो उष्ण कालको बीभत्सतामा । मकैको कोलाहलमा ढाकिएको देहात, केही युग पहिले मसुरोका पातला बोटहरूमा सजिएका थिए र आत्मसम्मानमा पर डाँडाको टुप्पोमा उदाएको निहारको संसर्गमा नाचिदिन्थे – लहराउँथे । त्यसै बखत हातमा मसुरोको बोट खेलाउँदै, रम्भाले आफ्ना दूर फर्किएका नजर लछिमनियामा गाडेर दुई पल्ट भनेकी थिई, “अभि शादी नगर यार ।”

तर लछिमनियामा यसको कुनै प्रभाव पर्ने लक्षण नदेखिंदा, उसले फेरि दोहोर्‍याएकी थिई, “मेरो काकाले भनेछ कि केटो ज्यादा चुलबुले छ, लगन नि ठिक छैनन्, हतारो नगर ।”

यस पटक भने उसले प्रतिक्रियामा कालो मुखमा आवेग भरेर प्रलय कालको मेघ जस्तै नजर प्रहार गरी, रम्भाले केही भन्न सकिने र तेहेर्‍याएर पनि भनिने । लछिमनिया ढुक्क थिई, दृढ थिई । शंकरका आधारहरू नै उसको आधार हुन्, शंकरको बाटो नै उसको गोरेटो, शंकर नै उसको प्रतिबिम्ब हो, छाप हो, अस्तित्व हो । जब कालो/खोटो भनेर कसैले आफ्नो अस्तित्वलाई मिल्काउँछ भने, त्यसले उसको हंसलाई मांसभित्र लुकाएर, दुई थान गोडा चलाएर सजीवतुल्य भएर हिँड्नु ढोङ हो, ऊ त्यसरी जिउन सक्दैने- उसलाई लाग्यो । उसलाई लाग्यो, रम्भा डाहा गर्छे, ईर्ष्या गर्छे । उसलाई लाग्यो, ऊ आत्मसात् गर्नेछे, आफ्नो अस्तित्वलाई, जसलाई रम्भा बारबार कालो भनिरहिछे । उसलाई लाग्यो – रम्भा ढोङ मच्चाउँछे, ऊ ढोँगी छे, “हिपोकृट” जाने सुनेको अंग्रेजी मिसाएर – उसले मनमनै भनी ।

केही काल पहिले जब वैशाखको फुस्रो हावा चल्नु पूर्व, जति बेला क्षितिजमा न्याना घामहरू अस्त भएर रातमा भयंकर शीतलहरको बज्रहरू खस्दथे, त्यस्तो युगमा, त्यस्तो पुसको कालमा, लछिमनियाले शंकरलाई केही भनेकी थिई । तर शंकरले केही प्रतिकुल प्रतिक्रिया जनाएन । उसले लछिमनियाको घोर नैराश्यको कारण बुझ्ने चेष्टा गर्‍यो, तर लछिमनियाले प्रयत्नलाई विफल पारेर सँघारको ढोका खोली आँगनमा आउँदा भित्रबाट आवाज आएको थियो । “एइ भित्र आइजो ।”

लछिमनियालाई लाग्यो – शंकर पनि बेलाबेला ढोङ गर्छ, लाग्यो ऊ पनि ढोँगी हो ।

‍‍‍====

शंकर 

केही साल पहिले जब शंकरले लछिमनियालाई घाटको चिया अड्डा नजिकै भेटेको थियो । चिया पिउन बसेका केही थान अधबैँसेहरूले उसलाई अकर्मण्यताको नजरले नहेरेका होइनन् । तर उसलाई के लाग्थ्यो भने देहातले आफ्नो सर्वाङ्ग वैभव उसलाई पस्किएको छ – लछिमनिया बेजोड छे, नाजवाफ छे । राप्ती तिरको (किनारको) उष्ण कालिन संवादमा सहयात्री बन्न आएकी रम्भा, पसिनाले शीतार्द्र भएर घर फर्किएकी थिई – लछिमनियाले पनि मानिन, रम्भा सँगै घर फर्किने जिद्दी गरी, “नाइँ ! माईले मार्नुहुन्छ ।”

तर माई भन्दा माथि आकर्षण थियो, माईको थप्पड भन्दा माथि यौवनको अलङ्कार बस्त्राभूषण गरेर बसेको एक जिजीविषा, माईको उँभो क्रोध भन्दा एक मादले भिजेको सेहेजादा । फिल्महरू, कहानीहरू र किताबहरूले मगजमा थुपारेको रोमान्सका ससाना पालुवाहरूले ‘माईको’ बन्देजलाई कतै पनि पालना गर्ने पारा देखाएनन् । अन्ततः शंकरले लछिमनियालाई केही क्षण सन्ध्यासम्म आफूसँग राख्ने दुस्साहस गर्‍यो ।

चिया अड्डाका अधबैँसे नजरहरूलाई दूर पन्छाउन शंकरलाई हतार भयो ।

उसले लछिमनियालाई भन्यो, “रुपैडिहा गएकी छेऊ ?” प्रश्नको प्रहारपछि उसले लछिमनियाको अनुहारमा डर र उमङ्गको विम्ब पढेको थियो, उसलाई लाग्यो – संसार नै यही अनुहार हो । आकाशमा फैलिएको मसिना धर्सा जस्ता बादल उसलाई शीतल लाग्यो । जुन प्रहरमा अधबैँसे पुरुषहरू प्राणवायूको खोजमा घरका जहानलाई नसुनेर, अटेर गरेर चिया अड्डामा आएर पसिनाको ओजले थिचिएका थिए ।

त्यही प्रहर शंकरलाई कामुक लाग्यो, सुन्दर लाग्यो, स्नेहको रक्तसञ्चार भयो, बीभत्स दुर्बलताको अनुराग भयो र जुन अनुहार देहातको फुस्रो धुलोले छापिएर मध्य धूपमा स्तब्ध थियो, त्यही अनुहारमा उसले स्फटिक देख्यो, सन्ध्याको आत्ममिलन र भञ्ज्याङको सुरम्य चाल भेट्यो ।

उसले कल्पना गर्‍यो – जुन अक्सर यौवनको उषामा किशोरहरू गर्दछन्, आफूलाई कुनै पराक्रमी वीर चक्रवती सम्झन्छन् र उद्धारमा लिन कर्तव्यनिष्ठ आदिपुरुष । उसले कल्पना गरी नै रह्यो – कलिका अघोर दिनहरू जहाँ दिउँसो नै प्रेतात्माहरू मरण र दरिद्रको हवाला दिन्छन्, त्यस्ता दिनहरू जहाँ ऊ मात्र हुनेछ र केही थान निरीह स्त्रीहरू जसलाई बारम्बार उद्धार गरिनु पर्छ रावणका बाटिकाबाट । ऊ लछिमनियामा त्यस्तै सीताको सरलता देख्यो र आफूलाई उद्धारकर्ता रोमान्सको परम हद सम्म देख्यो । अक्सर पुरुषहरू यस्तै निहत्था दिवास्वप्नमा आफूलाई समेटेर अस्तित्वबाट दुई कदम दूर बसेर कल्पनाको उर्लंदो लहरमा फिसिङ (fishing) गर्दछन्, शंकर कुनै फरक वृत्त थिएन ।

“नाइँ, गएकी छैन ।” लछिमनियाले भनेकी थिई । शंकरलाई लाग्यो – उसलाई जाने मन छ, माईको डर छ, तर त्यो भन्दा ज्यादा रहर छ ।

“जान्छ्यौ त मसँग ?” लछिमनियाले कुनै जवाफ फर्काइने ।

सिक्टा नहरको किनारै किनार केही हुल सालका रूख र जङ्गल पछ्याउँदै शमशेरगन्जबाट कोहलपुर पुग्दासम्म शंकरलाई लाग्यो “रुपैडिहा दूर छैन” । मोटरसाइकलको आवाज, नेपालगन्जको धूप र पछाडि बसेकी लछिमनियाको अँगालोले अरू बाहिरी दुनियाँको रङ्गबिरङ्गसँग उसलाई मतलब भएन । उसले रुपैडिहामा एउटा लेहेङ्गा किनिदियो, निलो रङ्गको, सगर जस्तै ।

“नाइँ ! माईँले थाहा पाउँछिन्”

“रम्भाको मागेको भन्नू ।”

धूपको अन्त्य भएपनि सन्ध्याको फेदमुनि भास्करको साम्राज्य अविच्छिन्न थियो – निभ्ने संकेत थिएन, झन् ‘लू’को कठोर लहरहरूले मोटरसाइकललाई बारम्बार धक्का दिइराख्थ्यो । शमशेरगन्ज हुँदै देहात छिर्ने बाटोमा उसले लछिमनियालाई अघिकै चिया अड्डामा छोड्दा अघिको हुल त्यहाँबाट आआफ्ना जहानकहाँ पलायन भैसकेका थिए । राप्तीको अनन्त वेग कहीँ साँघुरो भएर वर्षातको प्रतीक्षामा मौन थियो । त्यही मौनतामा लछिमनियाले भनेकी थिई, “मलाई रम्भाको घरमा छोडिदेऊ, त्यतैबाट जान्छु घर ।”

जाँदै गर्दा बाटोमा शंकरलाई राप्तीका घाटहरू कहीँ दूरबाट जाग्ने सुनौला सपना जस्ता लागे । पश्चिमका वायुहरूले विदीर्ण मन खोलेर पहिलेका युगहरूमा विमर्श गरिएका विचारहरूलाई ल्याइदिएझैँ लाग्यो । उसमा कहीँ कतै केही छ, कतै प्रेम र कल्पना भन्दा माथि कुनै तह छ र त्यसको चोटले बारम्बार उसलाई लछिमनियासम्म धकेल्छ । पार्श्वमै रहेकी लछिमनिया पनि कहीँ दूर समयको परम विन्दुमा अडेकी थिई जस्तो लाग्दथ्यो उसलाई, र जब ऊ दूर हुन्छे, फेरि लाग्दथ्यो लछिमनिया उसलाई डाकिरहन्थी । एक प्रकारको खोज, जहाँ खोज सामुन्ने हुँदा पनि विश्वास लाग्दैन र सोच त्यही स्तब्धतामा लिन हुन्छ, परम सत्यको नीरवतामा । उसले यस्तै केही केही सोच्यो । रम्भाको घर पुग्नु अगाडि लछिमनियालाई भन्यो, “बिहा गर्छ्यौ मसँग ?”

 . . .

बनारसका गल्लीहरूमा भौ‌ंतारिंदै गर्दा उसले केही ऋतु पहिलेको सम्झियो । आँगनमा क्रोधले सङ्कीर्ण भएर उभिएकी लछिमनियाको त्यो स्वरूप उसले कहिल्यै देखेको थिएन । कालहरू यस्ता भैसकेका थिए उसका बिन्तीहरू, उसको मीठो स्वर शंकरलाई कर्कश लाग्न थालेको थियो । अतिरञ्जनामा सिर्जित कहानीहरूको अनौपचारिक र अचम्मको झटारोले उसको प्रेममा परावर्तन भएको थियो । जस्तो अक्सर अधबैँसेहरू जहानलाई हातमा च्यापेर, अर्को हातले कतै फुल्न खोजेका  कुसुमहरूको बगैँचामा धाउँछन्, शंकरलाई लछिमनिया सँगका केही काल त्यस्तै लाग्न थाले । विरूप । आफ्नो पुरुषार्थको उँधो बिन्दुमा पुगेर त्यस साँझ उसले पहिलो पटक लछिमनियालाई हिर्काएको थियो, सायद सम्झाउनलाई (शंकरलाई यो कुराको याद छैन वा याद गर्न खोज्दैन) ।

बनारसका घाटहरूमा बलिएका दियो र चिताग्निहरूमा उसले क्रोध देख्यो, जस्तो उसले लछिमनियामा पनि देखेको थियो, पहिलो र अन्तिम पल्ट । उसले लछिमनियालाई बोलायो “आऊ भित्र, म अब केही गर्दिन/भन्दिन पनि ।” तर लछिमनियाले कुनै प्रतिक्रिया जनाइने, बस् एकनासले परपर सम्म हेरिरही, असारेको बोटमा आड लिएर । शंकरले सधैं झैं जिस्काएर भन्यो, “काठमाडौं जान्छ्यौ त?”

अहिले शंकरलाई कता कता ग्लानि महसुस हुँदै छ । भारतीय सहरहरूमा आफ्नोपनको कुनै अवस्था नदेखिँदा उसलाई केही चिजले खोदल्थ्यो, केही चिजले घोच्दथ्यो- जुन चिजले जसले चिया अड्डामा भेट्नु अगाडि पनि घोच्दथ्यो, त्यसैले उसलाई लछिमनियासँग टाढा र नजिक बनाएको थियो । त्यसैले उसलाई बनारसका गल्लीहरूमा पनि सन्तोष दिएन । पुरुषको अभिमानमा कहिलेकाहीँ आइलाग्ने यी बस्तुहरूले अपमानको बोधबाट उन्मुक्ति दिएर खुला विचारले सोच्न बाध्य बनाउँछन् । उसलाई अहिले अचानक देहातको याद आयो र लछिमनियाको खबर बुझ्न रम्भालाई फोन गर्‍यो, तर रम्भा कतै कुनै सहरमा पसिसकेकी थिई ।

छेवैको चिया पसलेले सोध्यो, “भाइ चाय पिओगे ?” शंकरले हुन्छ/हुँदैन केही बोलेन, तर निधो गर्‍यो मनमनै कि ऊ निशाको अन्त्यसम्म देहात पुग्नेछ ।

====

 रम्भा

सुनसान दोपहरको घाममा एक्लै बाँझो खेत र बारीहरू हुँदै रम्भा घर फर्किई । उत्साहमा विभोर हुने उसको मनमा हैरानी भरियो । खेतबारीमा अघिसम्म चरिरहेका लालाबालाहरू फाट्टफुट्ट हुर्किएका आँपको छहारीमुनि निदाइरहेका थिए – देहातको दिवास्वप्न भिन्न थियो, उसको भन्दा फरक । जब लछिमनिया शंकरसँग धेरै बेर गफमा भुली, उसमा एक अनौठो प्रकारको हैरानी प्रकट भयो । कहीँकतै अन्तर मनमा स्वर निस्कियो, कि यो दिनदहाडै खुल्ला ठाउँमा (झन् चिया अड्डा) केटा भेट्न जानु, उसले मानेकी थिइन, फोन थियो, इन्टरनेट थियो, अन्य ठाउँहरू थिए, तर लछिमनियाको जिद्दीका अगाडि उसको कुनै डिग चलेन । काकालाई एकैछिनमा आउँछु भनेर निस्किएकी ऊ एकैछिनमै फर्किई, उसलाई त्यहाँ ज्यादा बेर बस्न मन पनि भएन, त्यसैले ऊ चुरेका टुप्पोमाथि टल्किएको अजङको घामलाई पछ्याउँदै फर्किई ।

रम्भा केही फरक थिई सायद, भिन्न थिई, वा अभिन्न । कुनै समयमा शंकर उसको नजिक भएथ्यो । किशोरावस्थामा साथीभाइहरू कहिलेकाहीँ क्रूर बन्दथे, त्यस्तै क्रूरतामा एकदिन शंकरले उसलाई भन्यो, “शमशेरगन्ज जाऊ । अ …अ.. जिलेबी खुवाउँछु ।” रम्भा गइन, उसलाई शंकरप्रति कुनै आकर्षण आएन न त कुनै वैरभाव नै जाग्यो ।

पश्चिमी वायुहरू पूर्ण वेगमा चल्दथे र खेतखलियानका धुलो पर पर पूर्वका गाउँहरू सम्म पुग्दथ्यो- देहातका गर्मीका दिनहरू जहाँ अक्सर किशोरावस्थाका ठिटाठिटीहरू एकअर्काका आलिङ्गनमा अल्झिन पाउँथे, जहाँ केटाकेटीहरू दिनभरि लापता भएर वनजङ्गल धाउँथे, स्त्रीहरू रछ्यानभरिका कपडाका भारी बोकेर राप्तीका घाटहरूसम्म पुग्दथे । त्यस्तो मौसम जहाँ तल चुरेको फेदमा करौँती र चुथ्रोका अवशेष मात्र बच्दथे, जहाँ आँपका प्रत्येक हाँगाले झटारोको निर्मम प्यार बोकेको हुन्थ्यो ।

त्यस्तो बखतमा रम्भा चुरे र नदीको सिमाना भन्दा पर भाग्न खोज्दथी । उसलाई पूर्वपूर्व सम्म-बुटवल-चितवन सम्म हावासँगै उडेर जाने मन आउँदथ्यो । अनि त्यस्तो बखतमा, त्यस्तो मनसायमा जब शंकर आएर भन्दथ्यो, “हिँड कोइलाबास जाऊँ ।” , उसलाई शंकरदेखि भयानक दिक्दारी प्रकट हुन्थ्यो ।

जब शंकरको अठोटमा एकदिन परिवर्तन आयो, उसले रम्भालाई फोन गरेको थियो, “लछिमनियालाई लिएर घाटतिर आइजो !” झ्यालबाट पर गल्लीमा लछिमनिया सामान्य शृङ्गारमा छोपिएर रम्भाकै घर तिर आउँदै थिई, तर खेतबाट उडेर आएको वायु को एक झोंकाले उसको मुख धुलाम्मे भयो । घरसम्म आइपुग्दा लछिमनिया मुखमा अड्केको बालुवा थुक्दै थिई, रम्भा अचम्म मान्दै उसलाई हेरिरही ।

जब साँझमा  आफ्नो अस्तित्व लुकाएर भँगेराहरू माटोका घरका मोकेलाभित्र पस्दै थिए, रम्भा र लछिमनिया ठिक उल्टो घरबाट निस्केर मसुरोका खेततिर जाँदै थिए । दुई आत्माहरू, दुई सङ्गीहरू कुहिरोको मलिन आभामा मिसिएर नेपथ्यबाट गुन्जिएको शिशिरको बतासमा गम्भीर मुद्रामा थिए – यस्तो लाग्दैनथ्यो कि उनीहरू कुनै अनन्त कालखण्डको चोकमा थिए तर गल्लीको छेवैबाट देख्नेहरूले आँकल काट्न सक्थे – यी दुई बाल सखीहरू अघि पछिको जस्तो बात मार्दै थिएनन् ।

डुब्न लागेको घामका केही रश्मिहरू लछिमनियामा परावर्तन भएको देखेर रम्भामा फेरि हैरानी जाग्यो । उसले भनेकी थिई, “अहिले शादी नगर ।”

तर लछिमनिया सुन्ने पक्षमा थिइन, उसमा उग्रता प्रकट भएको थियो, उसलाई केही अग्रता हासिल गर्न थियो । कुनै उत्तर/ प्रतिउत्तर नपाएपछि रम्भाले फेरि सोधेकी थिई । “माई मान्छिन् त ? ऊ .. ऊ.. त्यो बेला काकाले झुट बोलेर मात्र, नत्र नत्र, गाउँ उचाल्ने थिइन ।”

त्यतिबेला सम्म मसान डुल्ने बखत भैसकेको थियो, नन्दी भृङ्गी भूत प्रेत निस्केको झैँ लाग्यो रम्भालाई, दुवै जना घर फर्किए ।

एकदिन महिनाहरू पछि जब रम्भा सहर छिर्ने निधो गरी, उसले लछिमनियालाई फोन गरी – उसलाई सुनाउनु थियो उसका केही थान धोका र रहरहरू, तर प्रहरले साथ दिएन । लछिमनियाको फोन उठेन । अनिदो सहरको प्रतीक्षा गर्दै जब ऊ उसकी सखीको घरतिरको गल्ली समाई, उसमा देहात प्रति भिन्न रङको मनोभाव उत्पन्न भयो । उसलाई लाग्यो – सहर जो गाउँ भन्दा भिन्न छ, सहर जहाँ हरबखत उल्लास हुन्छ, उत्साहका बाछिटा आकसबाट गिर्दछन्, के यो देहात प्रतिको खिस्सी भएन र, उसलाई हिँड्दा हिँड्दै हिँडिरहेको गल्ली पनि अजीव लाग्यो । जस्तो कि मानिस वियोगको सँघारमा नपुग्दासम्म सूक्ष्म रूपले कुनै कुरालाई हेर्न जान्दैन वा, वियोगका बखत सूक्ष्मता पनि भयानक भएर आउँछ । “तर त्यति भिन्न पनि होइन, त्यति भयानक पनि होइन” रम्भाले सोची ।

लछिमनियाको घर रित्तो थियो । दैलो खुल्ला, मानौँ कोही वरिपरि खेत बारिमामै कुटो कोदालो गरिरहेथ्यो । तर नाम डाक्दा पनि कोही नभेटेपछि रम्भाले छेवैमा खेलिरहेका बालकलाई सोधी । कसैले भन्यो, “दुई दिनदेखि कोही छैन, दैलो खुल्लै छ ।”

रम्भाले सँघारमा फालिएको कुचो देखी, ढोकामा भरिएको धुलो र असारेका फुल्न नमानेका कोपिलाहरू धुलोसम्म पुगेका थिए, रित्तो घरलाई अभिषेक गर्न । पर पर फाँटहरूमा मकै आकाश तिर दृढ भै फैलिए । सायद शंकर वापस आएछ, रम्भालाई त्यस्तै लाग्यो ।