चैते झरी जस्तै मेरो मन पनि धरधरी बर्सिँदै थियो । बिहानैदेखि भारी मन बोकेर घरको कोठाकोठामा छटपटाउँदै एक्लै यताउता गर्दा पनि के भयो आज तिमीलाई भनेर सोध्ने मसँग कोही थिएन । बाबा बिहानैदेखि कता हराउनु भएको थियो । मेरो मामु आफ्नै घरधन्दामा व्यस्त हुनुहुन्थ्यो । सानो परिवार हुनुको पनि विडम्बना बेग्लै हुँदो रहेछ । दिदीबहिनी नहुनुको पीडा ! भइदिएको भए आफ्नो बह खोलेर रुन त हुन्थ्यो ! दाजुभाइ हुनुको छुट्टै आडभरोसा ! हुन्थ्यो होला शायद ।

पढाइले पनि उत्ति सारो साथीसँगी बन्न दिएन । बनेको भए दिल खोलेर कुरा गर्न हुन्थ्यो कि ?

लागेको थियो मलाई – उसलाई आफ्नो ब्लक लिस्टबाट हटाइदिऊँ ! हत्त न पत्त उसको नम्बर डायल गरौँ र ऊसँग फेरि कुरा गरौँ ! या फेरि एउटा अन्तिम पटक भनेर उसलाई भेट्न बोलाऊँ !

उसको अपरिपक्वतासँग मैले यसरी निर्मम भएर बदला लिन हुँदैन थियो कि ?

‍० ० ०

अघिको त्यो विचार एकछिनपछि मेरो दिमागबाट हरायो । हिजोअस्ति पनि यसरी नै मेरो हृदयमा गढेर बसेको ठोस कारणहरूले यस्तै विचारहरूमाथि दमन गरेको थियो ।

प्रेम जिम्मेवारी हो भनेर बुझ्न नसक्नेलाई प्रेमको जिम्मा कसरी लगाऊँ ?

‘अनुजा एकदम इखालु छे । यसले ठानेपछि गरेरै छोड्छे ।’  मेरी हजुरमुमा भन्ने गर्नु हुन्थ्यो ।

मैले हजुरमुमालाई सम्झिएँ ।

सुवास पनि त भन्ने गर्दथ्यो, ‘तिमी एउटा कर्मठ र आत्मनिर्भर केटी हौ अनुजा । मलाई यस्तै केटीहरू मन पर्छ । जो अरूको बोझ बन्दैनन् ।’

मैले सुवासलाई सम्झिएँ ।

सेतो उज्यालो अनुहार बोकेर ऊ मेरो अगाडि उभिन्थ्यो । ठट्टा गरिरहन्थ्यो । मेरो सामु सदा विनम्र भएर प्रस्तुत हुन्थ्यो । मेरो हृदयले उसलाई सदैव स्वागत गरिरहन्थ्यो । उसले हाँस्दा मैले हाँस्न सिकेको थिएँ । मेरो अन्तरमुखी आवाज उसकै सङ्गतमै वाचाल भएको थियो । उसले मलाई जिन्दगी यसरी जिउनु पर्छ भनेर सिकाएको थियो । उसको कुरा सुन्दा लाग्थ्यो मेरो विगत राम्रोसँग जिउनै नजानेर सकिएको थियो । हामी बीच त्यस्तो औपचारिक प्रेम थिएन । त्यस्तो औपचारिक प्रेम जसले आई लभ यू ! र आई लभ यू टु ! डिमान्ड गर्थ्यो । रहर नै रहरमा हाम्रो सम्बन्धले वर्षदिन पार गरिसकेको थियो । हाम्रो सम्बन्धमा अनुरागको लालित्य व्याप्त थियो ।

‘अनुजा ! हामी विवाह गरौँ न हुन्न ?’

ऊ मलाई अक्सर भन्ने गर्थ्यो ।  म हाँसेर उसको कुरालाई टार्थेँ । कहिलेकाहीँ म उसलाई झर्केर जवाफ फर्काउँथे ।

‘अनुजा ! हामी बिहे कहिले गर्ने ?’

‘गरौँला नि बिस्तारै !’

‘अनुजा ! यसै पाली मङ्सिरमा बिहे गरौँ न हुन्न ?’

‘मङ्‌सिरमा नगर्ने ! वैशाखमा गर्ने !’

मेरो र सुवासको संवाद यस्तै यस्तै नै हुन्थ्यो ।

कहिलेकाहीँ सुवास खिन्न भए जस्तो मलाई लाग्थ्यो । तर उसको अनुहारमा त्यो खिन्नताको कुनै धर्सो थिएन । त्यो खिन्नता कहीँकतै उसको मौनतामा अड्केको हो भन्ने मलाई आभास हुन्थ्यो । तर त्यो मौनता पनि कतै अडिरहँदैन थियो । ऊ फेरि कुनै सेन्स अफ ह्यूमरको कुरा जोडेर प्रसन्न हुन्थ्यो । प्रसन्न बनाउँथ्यो ।

उसको आवाज सुन्ने मलाई पनि त बानी परेको थियो । रात्रि निद्राको लागि उसको आवाज कुनै अचुक औषधी भन्दा कम थिएन ।

‘सुवास ! मलाई निद्रा आएन । तिमी मलाई निदाइदेऊ न ल ?’ सुवास मेरो निम्ति गीत गाउँथ्यो । मेरो लागि प्रेमका पङ्क्तिहरू वाचन गर्थ्यो । उसले कहिल्यै झर्को मानेन । म निदाए पछि ऊ निदाउँथ्यो । मैले खाएपछि उसले खान्थ्यो ।

‘अनु ! तिमी सुत्यौ भने मेरो निद्रा पुरा हुन्छ । तिमीले खाएपछि मेरो पेट भरिन्छ ।’

सुवासको मुखबाट मैले प्रत्येक रात दर्जनौं पटक यो सुनेको थिएँ । उसले यस्ता चिज भनिरहँदा मेरो पनि त आनन्दले मन भरिन्थ्यो ।

० ० ०

सनपाटको डाँठ जस्तै उसको कद पातलो र अग्लो थियो ।

‘तिमी त बाँस जस्तो छौ सुवास । सनपाटको डाँठ जस्तो छौ ।’ म उसलाई जिस्काउँथे  ।

‘तिमी पनि त मसरुम जस्ती छौ ।’ सुवास मलाई उडाउँथ्यो ।

सुवास एकदम एक्सिडेन्ट प्रोन छ । ऊ कहिले बाइकबाट लडेर आउँथ्यो त कहिले हिँड्दा हिँड्दै खुट्टा मर्काएर म कहाँ आउँथ्यो । म उसलाई हस्पिटलसम्म पुर्‍याउँथे । कहिले ऊ म हस्पिटलमा ड्युटी बसेकै बेला आफ्नो दरारिएको पाखुरा देखाउँदै उभिन्थ्यो । म उसलाई सुम्सुमाउँथे । ऊ प्रेमपूर्वक मलाई हेर्थ्यो ।

‘तिम्रो र मेरो प्रेम धर्ती र चन्द्रमाको जस्तो हो । बुझ्यौ ? तिमी मलाई हेर्छौ । अनि म तिमीलाई हेर्छु ।’ सुवास मलाई भन्ने गर्थ्यो ।

कसरी कोही मान्छेले कसैलाई यति बिघ्न प्रेम गर्न सक्छ ? मेरो सानो भन्दा सानो आवश्यकता बुझ्न कसरी उसलाई सम्भव छ ? मेरो हृदयमा चलेको ज्वारभाटा कसरी उसको हृदयले महसुस गर्न सक्छ ?

सुवासले मेरो मनमस्तिष्कमा उठेको कुरा सजिलै बुझेको देखेर मलाई अचम्म लाग्थ्यो । मैले बोल्नु पर्दैन थियो । उसले बुझिसक्थ्यो । मैले भन्नु पर्दैन थियो । ऊ पुर्‍याएर देखाउँथ्यो ।

हेर्दाखेरि पातलै भए पनि दह्रो जस्तो देखिन्थ्यो सुवास । रेसादार छाला र मांसपेशीले भरिभराउ थियो उसको शरीर । शरीरमा अतिरिक्त बोसो र मसल्स रहित ! सिनित्त रेशम जस्तो उसको जुल्फी केसहरू कम्ता शोभायमान थिएन उसको व्यक्तित्वमा ! उसको पर्सनालिटी मलाई हायलकायल बनाउन काफी थियो ।

हामीले हाम्रो प्रेमको सार्वजनिक गरिसकेका थिएनौँ ।

‘सुवास तिमी हल्ला नगर है ?’ मैले उसलाई भनेको थिएँ ।

तर पनि कुनै दिन मलाई छाती ठोकेर भन्न मन लागेको थियो – “मेरो सुवास यस्तो छ ।”

‘अनु ! म तिमीले जस्तो खोजेकी छौ त्यस्तै बन्न सक्छु । बुझ्यौ ?’ सुवास मलाई भन्थ्यो ।

यस्तो थियो हामी बीचको सम्बन्ध । सुवासको मेरो निम्ति प्रेम कुनै सुनको औँठीमा टुपुक्क अडिएर बसेको हिराको डल्लो जस्तो थियो । मजबुत र टिकाउ ! शोभायमान र सुसज्जित !

‘अनु ! के छ ?’ अक्सर सुवासले फोन गर्दा भन्ने गर्दथ्यो ।

‘अनु ! के छ ?’ सुवासले फेरी दोहोर्‍याउँथ्यो ।

‘ठीक छ ।’ म जवाफ फर्काउँथे । हाम्रो प्रत्येक संवादको सुरुवातको लाइन ।

‘तिम्रो र मेरो जोडी कस्तो सुहाउँछ है ?’

‘अँ !’ म थप केही बोल्दिनँ थिएँ ।

‘तिमी डाक्टर र म इन्जिनियर ! पर्फेक्ट म्याच ! हैन त ?’ सुवास उत्साहित भएर बोल्थ्यो ।

‘तिमीलाई त्यस्तो लाग्छ ? मलाई त त्यस्तो लाग्दैन त !’ जवाफ फर्काउने मेरो आफ्नै पारा थियो ।

ड्युटी सकाएर सुवास मलाई लिन र घर पुर्‍याउन आउँथ्यो । हामी कतै अडिएर चिया गफमा गफिन्थ्यौँ । म उसको कुराहरू सुन्थे ।

‘बोल्नु पर्‍यो भने तिमी कति घण्टा बोल्न सक्छौ सुवास ?’ एकोहोरो र एकतमासले बोलिरहेको सुवासलाई म रोक्थे । मेरो प्रश्नले सुवास अलमलमा पर्थ्यो ।

उसको प्रसङ्गको लय कता छुट्थ्यो । फेरि फिस्स हाँस्दै सुवास मलाई भन्थ्यो । ‘घण्टामा हैन, दिनमा हिसाब हुन्छ ।’

० ० ०

हाम्रो अन्तिम संवाद भन्दा केही दिन अघि मेरो र सुवासको फोनमा कुरा भएको मलाई स्मरण भयो ।

‘भोलि मेरो इन्ट्रान्स एक्जाम छ । के तिमी मलाई भोलि घर अगाडि लिन आउन सक्छौ ?’ मैले सुवासलाई फोनमा भनेँ ।

‘कति बजे हो नि तिम्रो एक्जाम ?’ सुवासले उताबाट बोल्यो ।

‘मलाई त्यहाँ नौ बजे पुग्नु छ । तिमी आठ बजेतिर आऊ न । हुन्छ ?’

सुवासले कुनै नाइँनास्ती गरेन ।

कति आज्ञाकारी छ मेरो सुवास । मैले जे भनेको पनि मान्छ । उसले हुन्न भनेको मलाई अहिलेसम्म स्मरण छैन । म सुवासको स्मरणमा मग्न हुन चाहन्थे । उसको आवाजमा निदाउन चाहन्थे । तर भोलि छिट्टै उठ्नु थियो । मलाई त्यस दिन सुवासको जरुरत परेन । भोलि सुवास मेरो घर अगाडि देखा पर्दै थियो । काठमाडौंबाट जाडो गइसकेको थिएन । सुवास पातलो विन्डचिटरमा मेरो अगाडि देखा पर्‍यो ।

‘तिमीलाई जाडो भाको छैन ? खाना खायौ ?’ सुवासलाई सोध्न चाहन्थेँ । तर खोइ किन हो मेरो मुखबाट सुवासको निम्ति त्यति कुराहरू निस्किएन ।

‘ढिला हुन्छ अब । छिटो छिटो जाऊ । यहाँबाट अलि टाढा छ एक्जाम सेन्टर । जाम त हुन्न नि ?’मैले सुवासलाई सोधेँ । अनि हतारिएर उसको स्कुटर पछाडि बसेँ ।

‘बिस मिनेटमा पुर्‍याइदिन्छु,’ सुवासले भन्यो ।

जब सुवास र म एक्जाम सेन्टरमा पुग्यौँ ।

‘सुवास तिमी मेरो ब्याग र मोबाइल समाएर बस्छौ । मलाई कुर्छौ भने कुर । हैन भने जाँदा पनि हुन्छ ।’ सुवासलाई भनें ।

‘हुन्छ । म कुरेर बस्छु ।’ उसले भन्यो ।

‘त्यसो भए यो समात् ।’

मेरो ब्याग र हातमा बोकेको मोबाइल मैले सुवासलाई दिएँ । उसले पनि सहर्ष स्वीकार गर्‍यो । मानौं त्यो कुनै अमूल्य खजाना थियो । उसको बलियो हातले त्यसलाई च्याप्प समात्यो । मैले कुनै सन्देह  गरे कि भनेर उसले मतिर पुलुक्क हेर्‍यो । सायद उसले मेरो आँखामा कुनै सन्देहको लहर भेटेन । सुवास ढुक्क थियो । गद्गद थियो । म एक्जाम सेन्टरको गेटभित्र छिरेँ । सुवासले मलाई हेरिरह्यो । अनि फनक्क फर्कियो । मैले उसलाई देखिनँ । तर मलाई त्यस क्षण त्यस्तै अनुभूति भयो । मेरो ध्यान सुवास भन्दा मेरो आजको परीक्षामा केन्द्रित थियो ।

० ० ०

‘कस्तो भयो तिम्रो एक्जाम ?’ सुवासले एक सासमा सोध्यो ।

म एक्जाम सेन्टरको गेटबाट बाहिर आउन पनि पाएकै थिइनँ ।

‘खै कस्तो भन्ने ? बिग्रियो ! नाम निस्कँदैन !’  खिन्न थिएँ । सुवाससँग बोल्न पनि मन लागिरहेको थिएन । निराश र हताश भएर म परीक्षा हल बाहिर निस्केको थिएँ ।

सुवासको स्कुटरको पछाडि बसेर म फर्किएँ । सुवासले बाटोको छेउमा कफीसप अगाडि आफ्नो स्कुटर रोक्यो । त्यहाँ पनि सुवासले मलाई भन्न छोडेन ।

‘अनु ! हामी बिहे गरौँ न !’

‘तिमी जहिले एउटै कुरा मात्र गर्छौ सुवास । मलाई वाक्क लागिसक्यो । अब बन्द गर ! यस्तो चिज !’ झर्केर सुवासलाई भनेँ, ‘मलाई घर पुर्‍याइदेऊ ।’

सुवासले खुरुखुरु मेरो कुरा मान्यो । बाटाभरि हामी केही बोलेनौँ । घरको गेट छेउमा पुगेर सुवासले आफ्नो स्कुटर रोक्यो ।

‘म गको है । भोलि कुरा गरौंला !’ मैले सुवासलाई यति भन्न सकेँ । अनि फटाफट गेटभित्र छिरेँ । सुवास एकछिन त्यही टक्क अडियो ।

आधा रातसम्म मोबाइलमा सुवासको मेसेज आइरह्यो । मैले कुनै रिप्लाई गरिनँ । दिक्क मानेर सुवास सुत्यो होला सायद ! त्यसपछि कुनै मेसेज र फोन कल आएन । भोलिपल्ट मैले सुवासलाई कल गरेँ ।

‘तिमी मलाई अहिले भेट्न सक्छौ सुवास ?’

‘अहिले ?’

‘हो । अहिले ।’

‘हुन्छ ।’

‘म तिमीलाई त्यहाँ आएपछि कल गर्छु । तिमी हस्पिटलमा नै हो नि ?’

‘अँ !’

‘हुन्छ ।’

त्यसपछि मैले फोन राखिदिएँ ।

सुवासलाई मैले नजिकैको एउटा क्याफेमा लिएर गएँ ।

म अरू केही सम्झन सक्दिनँ । मैले सुवासलाई भनेको चिज मात्र सम्झन्छु ।

‘सुवास ! म तिमीलाई एउटा कुरा भन्छु । त्यो गोप्य कुरा हो । तिमी सुन्न सक्छौ ?’ सुवासतिर हेर्दै भनेँ । मेरो आँखाले उसको वचनको माग गरिरहेको थियो ।

‘अँ ! हुन्छ । भन न !’ वचन दिए जस्तै गरी भन्यो ।

‘मलाई एउटा मेडिकल इस्यु छ । त्यसका लागि मैले ६ महिनादेखि रेगुलर औषधी खाइराखेकी छु । सायद मेरो बच्चा नहुन पनि सक्छ । के तिमी मलाई त्यस्तो अवस्थामा पनि स्वीकार गर्न सक्छौ ?’

सुवास केही बोलेन ।

सुवास धेरै बेर नबोलेको देखेर मैले भनेँ, ‘तिमीले मभन्दा धेरै राम्रो केटी पाउँछौ सुवास ! म तिम्रो लायक छैन ।’

सुवास केही बोलेन । मात्र मेरो कुरा सुन्दै थियो ।

‘तिमीलाई बाहिर जाने केटी चाहिएको छ । म मेरो बाबामामूलाई छोडेर अहिले बाहिर जान पनि त सक्दिनँ । मेरो त्यस्तो सोच नै छैन । तिमी मेरो पछि समय बरबाद नगर ! तिमीलाई मबाट कुनै खुसी मिल्दैन ।’

सुवास केही बोलेन । मैले सुवासको आँखामा एक टक्क हेरिरहेँ । सुवासले अप्ठ्यारो माने जस्तो गर्‍यो ।

‘तिमीले मलाई पहिले किन नभनेको ? तिम्रो मेडिकल इस्यु के हो ?’ सुवासले बसिरहेको कुर्सीतिर पछाडि आङ तन्काउँदै सोध्यो ।

‘त्यो म भन्दिन । त्यो जान्नु पर्ने चिज होइन ।’ उसलाई भनें ।

उसले जिद्दी गरिरह्यो । ‘त्यो युटेरसको एउटा समस्या हो । तिमी बुझ्दैनौ । त्यसको मेडिकल टर्म छ । अहिलेलाई यति बुझ !’

सुवासलाई मेरो कुराले चित्त बुझेको थिएन । उसको आँखा र अनुहारले यस्तै भनिरहेको थियो । उसको बोली कुन्नि के भन्न फुट्न लाग्दै थियो । मैले उसलाई आत्तिएर सोधेँ, ‘तिमी मलाई अहिले पनि स्विकार्न सक्छौ ?’

सुवास केही बोलेन ।

‘त्यसो भए निस्किऔँ यहाँबाट । मेरो ब्रेक टाइम सकिन लाग्यो ।’

म जुरुक्क आफू बसेको कुर्सीबाट उठेँ ।

‘मलाई सोच्ने समय चाहिन्छ ।’ धेरै बेरपछि सुवासले मुख खोल्यो ।

‘हुन्छ ।’ मैले स्वीकृति दिएँ ।

म मुसुक्क हाँसे । सुवास मैले जसरी मुस्कुराएन ।

हामी त्यहाँबाट छुटियौँ ।

त्यसपछि सुवासको मलाई कहिल्यै फोन आएन । मेरो फोन पनि सुवासले उठाएन । मैले नै हो उसलाई त्यसपछि ब्लक गरिदिएको । म विक्षिप्त जस्ती भएकी थिएँ । सुवासलाई मेरो कुनै प्रवाह थिएन । मलाई त्यस्तै लाग्यो ।

सुवाससँग सम्बन्ध विच्छेद गर्नुभन्दा अघि सम्ममा पनि मैले सुवासलाई धम्कीपूर्ण याचना गरेकै थिएँ ।

“मेरो आग्रहहरू कुनै विग्रहमा परिवर्तन हुनु भन्दा पहिले तिमी परिवर्तन हुनु पर्दछ । तिमी त्यस्तो कसरी बन्न सक्छौ ? केही ढुक्क होऊ ! तत्कालका लागि त्यस्तो सम्भावना टरेको छ । म विच्छेद चाहँदिनँ ! तर यसरी धेरै दिन चल्दैन । के मेरो आग्रहले तिमीलाई केही अर्थ राख्दैन ?”

सुवासले मलाई कुनै पनि जवाफ दिएन ।

मेरो घरको कौसीमा दर्किरहेको झरी हेर्दा हेर्दै ! अहिले आएर मलाई लाग्यो !

सकियो ! सकियो ! सकियो !

हामी बीच प्रेम थियो की के थियो ? अब मलाई थाहा छैन ।

वर्षदिन पनि भाकै थियो । के को ?

मेरो प्रेम सनपाटको डाँठ जस्तै भाँचिएको थियो ।