पानी परेको तीन दिन भइसक्यो रुकिने नाम नै छैन ।
आफ्नी छोरीको बुखार नउत्रेको र पानी पर्न नरोकिएको दुवै चिन्ताले साधुरामको मनमा सुर्ता परिरहेको थियो । घरको बाहिर मलिन अनुहारमा सुल्पा तान्दै सुर्ताउँदै थियो ।
“टै बिरुवा खा,” साधुराम ज्वरोले थलिएकी छोरीलाई ट्याब्लेट र गिलासमा पानी दिंदै भन्यो ।
“नै खईम टिट हुई,” छोरीले मनै देखि मुख बिगारेर औषधी सँगको घृणा व्यक्त गरी ।
“बिरुवा का मिट रहट् ई घोंगी हो ?” छोरीलाई झपार्दै ट्याब्लेट हातमै राखिदियो । पानी भुइँमा छोरी मन नलागी नलागी ट्याब्लेट मुखमा हाली र गिलासको पानी तुरुन्तै स्वाठ्ठै पारी । नमज्जासँग मुख बिगारी । बाउलाई ज्वरोले थलिएको नजरले रिस देखाउँदै हेरी ।
साधुराम किञ्चित खुसी भयो छोरीले औषधी खाइदिएकोमा ।
“थोरचुन झ्वार भात खईबे ?”
“नै खईम,” छोरीको मुखमा र बोलीमा अझै औषधीको तितोपन थियो । साधुराम छोरीलाई कर लगाउँदै चुल्होतिर अघि बढ्दै भन्यो, “थोरचुन खा ।”
“मु से टिट जाईट तब खईम, ” छोरीको बोलीमा अहिले आग्रह मिसिएको थियो । साधुराम थालमा थोरै भात र झोल राखेर छोरीलाई दियो । छोरी एकदमै गार्हो मानिमानी भात मुखमा धकेलिरहेकी थिई । छोरीको त्यो स्थिति देखेर साधुराम दुखी मनले हेरिरहेको थियो ।
रातभरि साधुरामलाई चिन्ताले छाडेको थिएन । मनमा भोली त छोरीको बुखार र आकाश सफा होस् भनेर कामना गरिरह्यो । बिमार छोरीलाई घरमा छाडेर काममा जान पनि सकेको थिएन फेरि झरीले पनि काममा बाधा पुराएको थियो ।
बिहान झरी र ज्वरो दुवै शान्त भए । बिहानको घाम र छोरीको मुहार दुवै मुस्काएका थिए ।
“आज छाई हसटि वा,” धेरै दिन पछि ज्वरो मुक्त भएकी छोरीलाई हेर्दै मुस्कुराउँदै साधुराम बोले ।
सधैं चिन्ता र सुर्तामा डुबेको बाबुको मुहारमा हाँसो देख्दा छोरीको मनमा खुसीको अनुभव भयो । उक्त खुसीले छोरीको मुहारमा मुस्कानको मात्रा अझ बढाइदियो । बढेको मुस्कानले साधुरामको मनमा छुट्टै राहत दियो ।
“जुरि त छुटल ग्वारा भर बठैती बा,” दुखेको घुँडा समातेर छोरी साधुरामलाई हेर्दै थिई ।
“चिन्ता नाल्या यी फेन ठिक हो जाई,” साधुराम छोरीलाई सम्झाउँदै बोल्यो ।
“बाबा आज अप्न काम म जाई मई घरह बैठम,” छोरीलाई आफ्नो बाबा काममा नगई उसलाई स्याहार गरेर बसेको चित्त परिरहेको थिएन ।
पाँच दिनपछि आज साधुराम आफ्नो मिलको काममा जाँदै थियो । मिलको साहुजीले दिनदिनै फोन गरेर कहिले आउने सोधिरहेको थियो । आज काममा फर्किन पाउँदा साधुराम खुसी थियो ।
-0-
मिलको साहुजी पहाडको बिष्ट थिए । पढेलेखेका छोराछोरी पढाउनु पर्छ भन्थे । साधुरामले मिलमा काम गरेको पनि बर्षौं भइसकेको थियो । साधुरामको बल र मिहेनतको मिलमा आउने सबैले तारिफ गर्थे ।
“दुईसय किलोको पट्टा आउँदैन नत्र साधुरामले त्यो पनि एक झट्कामा उचाल्थ्यो होला ।” साधुरामको बलको बखानमा मान्छेहरू भन्ने गर्थे ।
मान्छेहरूको तारिफ सुने पनि नसुने पनि उसलाई खासै फरक पर्थेन । छोरीको दीर्घ रोगले उसको मन खाइरहेको हुन्थ्यो । दिनभर मिलको काम गर्दैगर्दा पनि आफ्नी छाईको रोगी मुहार याद गरिरहन्थ्यो । जिल्ला अस्पतालले रोग निको हुँदैन भनिसकेको थियो । उपचार गराउन अन्त ठुलो अस्पताल लैजाने हैसियत पनि थिएन ।
बिष्ट साहुले भनेका थिए, “साधुराम पैसा चाहिन्छ भने एक सालको तनखा एकैचोटि दिन्छु । उपचार हुन्छ भने छोरीको उपचार गराऊ ।”
“छोरीको उपचार हुँदैन, बेलाबेलामा बल्झिरहन्छ । जोर आउँछ, घुँडा दुख्न सक्छ, छती दुख्न सक्छ, घाउहरू आउन सक्छ कहिलेकाहीँ बेहोस पनि हुनसक्छ ।” डाक्टरले साधुरामलाई बताएका थिए ।
अक्षर मात्रै पहिल्याउन सक्ने साधुरामले बिरामी नै भए पनि छोरीलाई सात कक्षा सम्म त पढाएकै थियो । पढाइमा पनि छोरी राम्रै थिई । सात बाट आठमा जाने अन्तिम परीक्षाको बेलामा छोरीलाई रोगले फेरि च्यापेको थियो । हेडसरलाई साधुरामले निको भएपछि पुनः छोरीको मात्रै परीक्षा लिइदिन बिन्ती बिसाएका थिए । हेडसरले मानेनन् । यस्तो नियम नै छैन मिल्दै मिल्दैन भनिदिए । छोरीले पनि भनेकी थिई, “म परीक्षा पास गर्न सक्छु, सन्चो भएपछि जाँच दिन पाए भने ।”
तर हेडसरले पछि परीक्षा दिन नमिल्ने निर्णय गरे । र साधुरामका बाउछोरीले नपढ्ने निर्णय गरे । निर्णय लिएको दिनमा स्कुलबाट बाउछोरी फर्किंदै गर्दा साधुरामले छोरीलाई भनेका थिए, “थारु मास्टर स्कुलम नै होक तै नै पर्ह पैल्या ।”
त्यही दिन नै साधुरामले आफ्नो छोरीलाई मास्टरनी बनाउने सपना त्यागेका थिए । नत्र उसको सपना उसको आँत भन्दा बलियो थियो । जसले एक्लै आमा गुमाएकी निको नहुने बल्झिरहने रोग बोकेकी छोरीलाई पढाउने अठोट गरेको थियो ।
-0-
आठ महिनापछि फेरि छोरीको आँखा पहेँलो हुँदै आयो । सहनै नसकिने गरी छाती दुख्ने । पेट पनि दुख्थ्यो बेलाबेलामा । साधुरामले मिलमा बिदा मागे । छोरीलाई जिल्ला अस्पताल पुर्याए । डाक्टरले रगतको जाँच र भिडियो एक्सरे लेखिदिए । रिपोर्ट हेरेर औषधी लेखिदिन्छु भन्दै निस्किए ।
रिपोर्ट दिउँसो साढे दुई बजे आयो । डाक्टरले रिपोर्ट हेरे । “जन्डिस एकदमै बढेको छ । फियो पनि सुन्निएको छ । सिक्कल सेलको बिरामीमा यो समस्या बेलाबेलामा देखिरहन्छ । आत्तिनु पर्दैन म केही दिनको लागि औषधी राख्दिन्छु, खानू । दुखाई र पहेँलो घट्दै गयो भने ठिक छ नत्र भर्ना गरेर रगत चढाउनु पर्छ ।”
साधुरामले आँखा नझिम्काई डाक्टरको कुरा सुन्यो र सबै बुझ्यो । तीन वर्ष अघि पनि यस्तै भएर भर्ना गरेर सात दिन हस्पिटल राखेको थियो । त्यो बेला रगत चढाउनु परेको थिएन । सिक्कल सँगको लडाइँमा आफ्नी पत्नी गुमाउँदा पनि यो प्रक्रियाबाट पटकपटक गुज्रिएको थियो ।
फार्मेसिमा औषधी किनेर बाबुछोरी घर फर्किए । घर पुगेपछि छोरीले बाउलाई भनी, “बाबा अप्न मिलम जाई । मई घरह अकेलि बैठजिम ।”
छोरीको आत्मबल र आफ्नो काम प्रतिको समर्पण देखेर साधुरामको मनमा खुसी महसुस भयो । मायाले छोरीको टाउको मुसारे, मुसुक्क मुस्काए । छोरीको बोलीले बाउको मनमा आनन्द दिएको थियो र बाबाको मुस्कानले छोरीको आत्मबल अझ बढेको थियो ।
साढे चार बजे साधुराम मिल पुगे । बिष्ट साहु खुसी भए ।
“म त आज आउँदिनस् कि झैँ मानेको थिएँ, कुटानीका लागि भोली बोलाएको थिए मान्छेहरूलाई । आइहालिस् आजै सकिदे काम ।” खुसीसँगै कामको जिम्मा पनि लगाइहाले साहुले ।
साधुराम पनि तुरुन्तै काममा लागिहाल्यो ।
“अनि छोरीलाई के भन्यो डाक्टरले ?” छोरीको बारेमा पनि सोध्न भ्याए अन्तिममा भए पनि ।
उसले डाक्टरले भनेका कुरा साहुलाई बताएर काममा लागिहाल्यो । कुटानी पिसानी सब्बै सक्दा साँझको सात नै बज्यो । काम सकाएर धुलो टकटकाएर घर फर्किन लाग्दै गर्दा बिष्ट साहुले उसलाई बोलाएर हातमा पाँच सयको नोट थमाउँदै भने, “छोरीलाई फलफूल किनेर खुवाउनू ।”
हातमा स्याउ र अनारको झोला झुण्डाएर घर पुग्दा छोरी चुल्हामा भात पकाउँदै थिई ।
“मजा लागटा ?” छोरीलाई सोध्यो ।
“आव छाती नई बठाई थो,” छोरीले जवाफ दिई । साधुरामले छोरीलाई आराम गर्न लगायो र बल्दै गरेको चुल्हा सम्हाल्यो । आधा पाकिसकेको खाना पाक्न समय लागेन । खाना पस्कियो । पहिले छोरीलाई दियो । छोरीले केही अनकन नगरी खाना खाई । अघि ल्याएको अनार छोडायो । दुई वटा स्याउ पनि पखालेर काट्यो छोरीलाई दियो । छोरीले एक टुक्रा स्याउ आफ्नो दाँतको बिचमा टोकी र अर्को टुक्रा आफ्नो बाउलाई दिंदै भनी, “अपन फेन खाई ।” साधुरामले छोरीलाई मायालु नजरले हेर्यो र स्याउको टुक्रा समात्यो ।
“मै नइ बचम कि का ?” छोरीले मसिनो स्वरमा बोली । अचानक म बाच्दिन होला भनेको सुनेर साधुराम झसङ्ग भयो । केही बोल्न खोज्दै थियो तर वाक्य गलामै अड्किए जस्तै भइरह्यो ।
“मै तोहि ह जैसिक फे बचाईम,” ऊ एकछिनको वाक्य संघर्ष पछि छोरीलाई हेर्दै भन्यो ।
छोरीले आफ्नी आमालाई सम्झिई । आमालाई रोगले लैजाँदाको क्षण सम्झिई । आमाको धमिलो रोगले गलाएको मुहार आँखै अघि आयो ।
“मोर दाइक लागल रोग महि ह मुहाधारी ।”
अब बढी नसोच्, सुत भनेर छोरीलाई गाली गर्यो । र त्यहाँबाट उठेर गयो । राती साधुरामलाई निद्रा नै परेन । सिक्कल सेलले बितेकी आफ्नी पत्नीको मुहार रातभरि आँखै अघि आइरह्यो । आफ्नी पत्नी बचाउन गरेको संघर्ष सबै सम्झ्यो । अनि मनमा अजङको अठोट बनायो । मेरी छोरीको सिक्कल सेल सँगको लडाइँमा म पहाड बनेर उभिने छु । म साधुराम पो दुईसय किलोको पट्टा त के हजार किलोकै पट्टा उठाउन सक्छु ।
-0-
“थोरचे झ्वार भात खैबि ।”
” नै खईम ।” साधुरामले टाउको हल्लायो खान्नको भावमा ।
खानु छिटो नत्र म खाइदिन्छु । साधुराम फिस्स हाँस्यो । नातिलाई काखमा बोलायो । नाति दौडिंदै साधुरामको काखमा आइपुग्यो । फेरि बोल्यो खानु के हजुरबा ।
हातमा बोकेको स्याउको टुक्रा साधुरामको मुखभित्रै कोचिदियो । नातिले मायाले दिएको स्याउको टुक्रा नटोकी बस्नै सकेन ।
थोरै ज्वरो त आएको हो, निको भै हाल्छ नि । उताबाट ज्वाइँ बोले ।
ज्वरोले गालेको भए पनि साधुरामको मुहारमा मुस्कानको कमी थिएन ।
“बिरुवा ल्याइदिम् ?” छोरीले साधुरामलाई सोधी ।
“के को बिरुवा बा ?” नातिले साधुरामलाई सोध्यो । नाति बाहेक तिनै जना गलल्ल हाँसे । साधुरामको हाँसोमा धेरै खुसी, सन्तुष्टि, गौरव र अन्तिममा थोरै खोकी पनि मिसिएको थियो ।
“थारु भाषामा औषधीलाई बिरुवा भन्छ ।” नातिलाई उस्की आमाले हाँस्दै सम्झाई ।
उस्को नाति नाम सिमन्त थापा ।
पछिल्लो समय छोरीलाई रोगले कम सताउन थालेको थियो । आफैले बुझेर सिलाइ-कटाइको तालिम लिएकी थिई । गाउँमा नै टेलर खोलेर बसेकी थिइन् । साधुरामले नै टेलरको मेसिन किनिदिएका थिए । दिनभर छोरी सिलाइमा व्यस्त हुन्थिन् । कमाई पनि एकदमै राम्रो थियो । बाउछोरी मिलेर घरको छानो फेरेका थिए । बलियो पर्खाल बनाएका थिए ।
साधुरामलाई आजकल खासै भान्सा छिर्न पर्दैन थ्यो सामान्य दुखाइ त छोरीले साधुरामलाई भन्दा पनि भन्थिन । साधुरामलाई थाहा नै नदिई बेलाबेलामा एक्लै अस्पताल पुगेर रगतको जाँच भिडियो एक्स रे गर्थिन् । आफ्नो ख्याल आफ्नो बाबाको ख्याल आफ्नो व्यापारको ख्याल सब्बै राख्न सक्ने भएकी थिइन् ।
कपडाको थान थान ल्याएर राख्न थालेकी थिइन् । कपडा र सिलाई ज्याला दुबैबाट राम्रो नाफा आउँथ्यो । कपडाको होलसेलमा उनको सिमन्तको बाबासँग भेट भएको । पहिलो नजरमै माया बस्यो । मनमुटु साटिन समय लागेन । मायामा दुवै डुब्दै गए । होलसेल कपडा किन्न जाने बहानामा उनले पटकपटक सिमन्तको बाबालाई भेट्न जान्थिन् आफ्नो बाउलाई ढाँटेर ।
रातभरि फेसबुकमा च्याट गर्थे । उसले पनि धेरै माया गर्थ्यो । उनले आफ्नो रोगको बारेमा सिमन्तको बाबालाई पहिले नै बताइसकेकी थिइन् ।
साधुराम डाक्टरलाई भेट्न एक्लै पुग्थे सबै पुराना रिपोर्ट बोकेर । डाक्टरले भन्थे, “अहिले धेरै सुधार छ । राम्रो भएको छ ।”
डाक्टरले फेरि भन्थे, “सिक्कल सेल भनेको जेनेटिक रोग हो । यो उस्की आमाबाट, जिनबाट नै आएको रोग हो । जीवनभर दुःख दिन सक्छ । पछि उस्का बालबच्चामा पनि सर्ने सम्भावना हुन्छ ।”
“डाक्टर साब बिहे गर्दिन मिल्छ कि नाइँ ?”
“मिल्छ । यदि मान्नु हुन्छ र सिक्केल सेलसँगको आफ्नो परिवारको लडाइँ अन्त्य गर्न चाहनुहुन्छ भने छोरीको बिहे अरू कुनै जातमा गरिदिनुस्, थारु बाहेक ।” डाक्टरको सल्लाहले साधुराम विस्मयमा पर्थे । कहिलेकाहीँ आफ्नो भावी पिँढी सिक्केलको फन्दाबाट बाहिरिएको स्मरण गर्दा नै विश्वविजेता जस्तो महसुस गर्दथे ।
आफ्नी छोरीको इच्छा बमोजिम साधुरामले बिहे गरिदिए धूमधाम । छोरीको बिदाइ गर्दा एक थोपा आँसु पनि झरेन । साधुराम छोरीसँगै आफ्नो परिवारबाट सिक्केल सेल पनि बिदाइ गर्दै थिए सधैंका लागि ।
“मै तुहिन माया कर्थु ।” सिमन्तले साधुरामको कानमै आएर भन्यो । साधुराम मुस्कायो । सिमन्तका बाउआमा जसले सिमन्तलाई यो भन्न सिकाएका थिए नाति हजुरबालाई हेरेर हाँसिरहेका थिए ।
साधुरामले सिमन्तको गाला मुसारे । नातिको गालामा मीठो चुम्बन गरेर मीठो जितको मुस्कान सहित भने ।
“आई लभ यु टु ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।