खुपेन्द्रको बाजे, कनकबहादुरको बाउ हर्कमानले रोपेको झ्याम्म फराकिलो पिपलको रुखको सबसे आकर्षक डालीको झाडीभित्र हाम्रो सानो सुन्दर घर छ ।

कथाको सुरुवात क्या सरल र सुन्दर छ हगी ?

भर्खरै मेरी ओथारो बसेकी चरी, जसलाई म मायाले जुरेली भन्छु, का लागि आहारा लिएर फर्किएको थिएँ । यो बेला उनीलाई पौष्टिक आहारा प्रशस्त चाहिन्छ । गोल गोल दुई गोलाबाट चाँडै हाम्रो दुई सन्तान यो आकाशमा जन्मनेछन् । म दङ्ग छु, जुरेली दङ्ग छे ।

म जब दिउँसो घर आइपुगेँ, हाम्रो घरको ठिक तकरिवन १५ मिटर मुनिबाट पिपलको फेदमुनि हर्कमानको चौतारीमा २०/२५ जना मनुवाहरू गनगन गरिरहेको पाएँ । म चकित परेँ । हुन त गाँउ बीच उभिएको यो पिपलको रुखमा दिनहुँ सैयौँ मनुवा आतेजाते गरिरहन्छन्, कोही सियाँल ताप्छन्, गफसफ गर्छन्, कोही फुस्स निदाउँछन्, कोही घन्टौँ मुढाजस्तो अचल बसिरहन्छन्, कोही एक्लै बरबराउँछन् त कोही एक्लै धुरुधुरु रुन्छन् । तर यतिका मनुवा एकसाथ भेला भएर यसरी चर्काचर्की गरेको मैले पहिले कहिल्यै देखेको थिइनँ ।

“म यो पिपल ढाल्ने जोसुकै मुला होस्, मुला काटेजस्तो काटिदिन्छु…” कनकबहादुर आवेशमा चिच्याइरहेका थिए ।

“कल्याङकुलुङ, कल्याङकुलुङ….” – मतलब तत्पश्चात् सबै सबैको एकै पटकको चिच्याहट यस्तै सुनेँ मैले ।

“विकास विरोधी…” फलानो नम्बर १ उवाच ।

“याँ बाट रोट खन्दा तेरो बारी सबै घडेरी बन्छ के जाँठा विकास अवरोधी कनके !”- फलानो नम्बर २ !

“मेरो बाउले रोपेको यो चिनो हो मुलाङ हो । यसलाई डोजर लाउनु अगाडी मेरो छातीमा डोजर कुदाउनू” – कनकबहादुर वाणी !

“कल्याङकुलुङ, कल्याङकुलुङ….”

… तकरिवन एक घण्टापछि, …

“सब चुप लाग्नू ! सहमतिमा जाऊँ दाजुभाइहरू हो… रोड त जसरी नि बनाउनै पर्छ, यति छोटो दुरी, डिपिआर समेत भएको अनि सबै बस्तीलाई समान फाइदा पुग्ने किसिमले खनिने रोडको अर्को विकल्प नै हुन सक्दैन… के भन्छौ ऐ खुपेन्द्र ?…” – वडाध्यक्षको अन्तिम प्रवचन ।

“Something must be sacrificed to gain something daddy ! … हुन्दिनु न त सबैको भलाइको लागी । यो बुढो रुखको सट्टा अब विकासको नयाँ मार्गचित्र कोरौँ …,” स्नातकोत्तरधारी खुपेन्द्रको महान् वाणी ।

पररररररर ताली…

कनकबहादुर ट्वाँ….

ठाउँका ठाउँ माईन्यूट तयार, हस्ते संकलन र सहमति ।

अब कथाको अन्त्य यस्तो छ…

त्यस्पछि म उडेँ नयाँ उडानमा हामीलाई सुकुम्वासी बनाउने सहमतिको सिधै माथिबाट । यस पटकको मेरो उडान जुरेलीको आहाराको खोजीका लागि थिएन । यस पटकको मेरो उडान नयाँ घरको खोजीमा थियो, जहाँ मनुवाहरूको विकासका कारण मेरो घर नभत्कियोस् ।

उड्नु अगाडि मैले जुरेलीलाई भनेको थिएँ, “जुरेली, म नयाँ घर खोजेर आउँछु, हाम्रा अण्डाहरू यहीँ छाडेर उड्न तयार भएर बस्नू !”

हsss… कथा समाप्त !