‘छोरी दिँदा केटाको म्लेच्छ आचरण नहोस् । आफ्नो संस्कृति र परम्परालाई जोगाएर राख्नेचाहिँ होस् । सबैभन्दा ठुलो कुरा त्यही हो ।’ गाउँघरको एउटा आँगनमा कसैले भन्यो ।

‘छोरी मान्छे अर्काको भित्तो पोत्ने जात हो । उसले एउटा पिंजडाबाट अर्को पिँजडामा जानुपर्छ । त्यो शिवेले कान्छी छोरीचाहिँलाई के पढाइराख्या होला । हेरि गाउँले कसैको चित बुझ्या नि छैन । अब सोह्र पुगी सत्र लागिसकी, तरूनी भइसकी नि । बिहे नगरिदिएर के त्यसै राखिछाड्या होलान् । छोरीलाई पढाएर के लछारपाटो लाग्छ भनिठान्या होलान्’ गाउँघरकाहरूले यसो भने ।

‘आ… चाँडै बिहे गरिदिए मात्र के हुने हो र ?’ अर्को कसैले भन्यो ।

आजकाल पार्वतीको बिहेको चर्चा मध्यावधि निर्वाचन जतिकै छ । एक थरी भन्छन्- हुनुपर्छ, अर्का थरी भन्छन्- हुनुहुन्न । गाउँमा उसको शीलस्वभाव, रूप र काममा लगनशीलताको अत्यन्त प्रशंसा छ । पार्वतीलाई चिन्नेजान्ने मान्छेहरूले ऊ एउटा अनुशासनमा राखिएकी छोरी हो भन्छन् । सुसंस्कृत छे भन्छन् । नरम मिसाजकी छे भन्छन् । थोरै बोल्ने स्वभावकी छे भन्छन् । अह्राएको काम सबै गर्छे भन्छन् । काममा लागेकी छे । घरको काममा गोठदेखि लिएर भान्छा, घाँसदाउरा सबै छरितोसँग जिम्मेवारीपूर्वक सम्हाल्छे भन्छन् । बुद्धिमान् छे भन्छन् । स्कुलको पढाइमा अत्यन्त तेजिली छे भन्छन् ।

पार्वती शिव शर्माकी मन परेकी र कान्छी छोरी हो । त्यसैले नै उसले यो छोरीलाई पढाएको हो । अरू दुई छोरीलाई उसले एक माना मनग्य खान पुग्ने घरमा चौध वर्षको उमेर ननाघ्दै विवाह गरेर पठाइसकेको छ । उसले कसैको पनि लोकाचार खप्नुपरेको छैन । किनकि उसका छोरीहरूले गाल पारेर हिँड्ने उमेरअघि नै उसले उचित समयमा उचित तवरले बाटो लगाइदिइसकेको छ, डाँडा कटाइदिइसकेको छ ।

तर आज शिव शर्माको पारिवारिक जीवनमा अलिकति सोच र चिन्ता यो कान्छी छोरी पार्वतीले उब्जाइदिएकी छ । त्यस्तो अनिष्ट त खास केही भइहालेको होइन तर सत्र वर्षको उमेर भइसक्दा पनि उसलाई दुलाहाको घर पठाउन पाइएन भन्नेचाहिँ पक्का पनि शिव शर्माको ठूलै चिन्ता हो ।

‍===

सावित्रीदेवीलाई साहिँली भाउज्यूको नाममा गाउँमा सबैले चिन्छन् । ऊ निक्कै छक्कापञ्जा गर्न जान्ने एउटी अधबैँसे स्वास्नीमान्छे हो । उसको आफ्नो गृहस्थीचाहिँ सप्रेको भन्न नमिल्नेचाहिँ छ । ऊ विवाहिता छे, त्यसैले भाउजू भनेका हुन् । ऊ सन्तानहीन र पतिहीन छ । त्यही चालीस बर्से सावित्रीदेवी शिव शर्माको घरमा एक दिन उल्लासपूर्ण अनुहारमा टुप्लुक्क आइपुग्छे ।

ऊ कसैको घर पस्दा गाउँघरको कुनै न कुनै आश्चय वा नयाँ समाचारसहित पस्छे । शिव शर्माकी स्वास्नीलाई चिन्ता नै छोरीको बिहेको छ । हत न पत छोरीको बिहेको कुरा र भनेजस्तो उम्मेदवारको खोजीको सन्दर्भ साहिली भाउजुको अगाडि ऊ आउनासाथ राखिदिन्छे । उसले यो कुरा भन्नुअघि नै साहिली भाउजुको मुख सकसकाइसकेको हुन्छ, ‘आजकल त बिहे गर्ने चलन पनि अलि ढिलो नै छ, गोपालकी छोरी पनि त अठार यही गएको वैशाखमा नाघिसकी नि, अझै बिहे गऱ्या छैनन् । आ… उमेर पुगेर बिहे गरे त छोरीले घर खान सक्छन् नि ।’

‘साँच्ची त्यो कृष्णेको छोरोले त अम्रिकाँ धेरै पढेर अहिले काठमानडौँ सहरा बेस्कन पैसा कमाएर बस्या छ रे । बाउआमालाई पनि उतै झिका छ रे । कन्याचाहिँ ये हाम्रै गाउँकै गर्ने रे । सहराँ नि थुप्रै कन्या दिन आइरहन्छन् रे । पहिले पहिले गाउँका केटाले सहरका कन्या पाउँदैनथे । सहरियाहरू पाखेलाई छोरी दिँदैन भन्थे । आजकल त सहराँ छोरी धेरै भएछन् क्यार, थुप्रै दिन आइरहन्छन् रे । कृष्णाको छोरोचाहिँ आफैँ गाउँघरकै पढेलेखेकी राम्रो स्वभाव भएकी कन्या बिहे गर्छु भन्छे रे । हाम्री पार्वती कृष्णाको छोरालाई, मेरो विचारमा ठिक्क मिल्ने रैछ । म कुरो चलाऊँ ? कुरो पठाऊँ ?’

शिव शर्माकी स्वास्नी फरिया अलिकति माथि सार्दै सावित्रीको नजिकै टुक्रुक्क बस्न पुगी र भनी, ‘हुँदैन, हुँदैन, त्यस्तोलाई हाम्री छोरी । सितमा लिन खोज्दा हो । त्यस्तो आफ्नो धर्म-संस्कृति नै बिर्सेर बस्नेलाई नि कसैले छोरी दिन्छन् ? हुन्न है हन्न ‘सानी’ का बा । त्यस्लाई चाहिँ हाम्री छोरी के भनेर दिन हुन्थ्यो, कुनै हालतमा पनि हुँदैन । फेरि त्यो अलिदिनाँ अम्रिका नै फर्किन्छ रे । त्यल्लाई छोरी दियो भने त हाम्ले छोरीको अनुहार पनि देख्न पाउदैनौँ ।’

शिव शर्मा स्वास्नीको कुरा सुनेर एकफेर जङ्गियो र फेरि स्वास्नीको कुरा उसलाई मनमा बडो घत लाग्यो । नपढेको, नलेखेको भए पनि अरूले आफूलाई आधुनिक भनिदिएको रूचाउने शिव शर्माले स्वास्नीलाई सानो स्वरमा छाँस्यो, ‘के कुरा गर्छ यो ? आजकल धेरै पढ्न अम्रिका त जानपर्छ नि । केटो त निक्कै गतिलो जस्तो छ ।’

तर म्लेच्छ वातावरणमा दस वर्ष बिताएको ज्वाइँलाई कसरी ‘नारान्’ मानेर गोडामा ढोग्नू ? उसको मन दिग्मिगायो । शिव शर्माले आफ्नो जिन्दगीभरमा भोगेका धेरथोर द्वन्द्वमध्ये यो नै सबभन्दा ठूलो द्वन्द्व भयो । ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ भयो उसलाई ।

उनीहरूकी छोरी पार्वतीचाहिँ भरखर एस. एल. सी पास गरेर क्याम्पस जाने उत्साह, उल्लास र तरखरमा छे । आफ्नो पढाइको लागि क्याम्पस पढ्ने किताब पनि किनेर ल्याइसकेकी छे । उसका अरू पास भएका साथीहरू सीता, अम्बिका, इन्दिराको यसै साल बिहे हुने निश्चित भइसकेको छ । आफ्नो पनि बाउले बिहे गरिदिने हो कि, क्याम्पस पढ्न नपाइने हो कि भन्ने उसलाई ठूलो चिन्ता र डर छ । मिल्ने साथीहरूसँगको बिछोड अर्को दुःखको कुरा हुनेछ । क्याम्पस भर्ना हुँदा पनि परीक्षा लिइन्छ रे, त्यसैले ऊ अझ मिहिनेत गरेर पढ्दै छ । घरका कामहरू अब उसलाई बिस्तार-बिस्तार बोझ जस्तो लाग्न लागिरहेको छ । फुर्सत भयो कि किताब नै लिएर बसिहाल्छे ।

एक साँझ भान्छामा थालको भाग मुछ्दामुछ्दै टक्क अडेर स्वास्नीको अनुहार हेर्दै शिव शर्माले भन्यो, ‘छोरीलाई भनेजस्तो केटो नै पाइएन, बरू यसै राख्नुभन्दा त्यही कृष्णेको छोरोलाई दिने पो हो कि ? पढेलेखेकै छ, परिवार सम्पन्न र इज्जतदार छ, पैसा पनि धेरै नै कमाउँछ, रोगीको उपचार गर्ने डाक्टर भएको छ । छोरी त्यसैलाई दिनुपर्छ । पछि यहीँ सदरमुकाममै आएर बस्ला । छोरीले सदरमुकाममा सुख पाउँछे । हुँदैन ? अरू छोरीहरूसँग वर्षको एकचोटि भेट्न मुस्किल छ ।’

शिव शर्माको कुरा पूरा हुन नपाउँदै उसकी स्वास्नीले च्याँठिएर बोली, ‘केटोकी आमा कस्ती छ नि, थाहा छ ? फरिया घुँडासम्म स्यारेर गाउँ सप्पै चाहारिसक्छे । कत्रो ठूलो स्वरले बोल्छे । त्यसको त टाउको पनि बारीको सबभन्दा ठूलो फर्सीजत्रै छ, कपालचाहिँ रायोको गुन्द्रुक जस्तै छ । हुन्न, हुन्न, हुन्न, हाम्री छोरी त्यसलाई के भनेर हुन्थ्यो । कुरै नगर्नुस् । त्यसको छोरोसँग फेरि हाम्रो कामकुरै मिल्दैन, त्यसले त गाईको मासु पनि खान्छ जस्तो छ । हामी त गाईको पूजा गछौं ।’

‘कसले भन्यो ? नचाहिने कुरा गर्छे । बाहिर पढ्दैमा गाईको मासु खानै पर्छ र ?’ तर उसको एकान्त मनले उसलाई सुटुक्क भन्यो, ‘मलाई पनि त्यस्तै-त्यस्तै लाग्छ, हाम्रो कुरा र रहन-सहन त्यो सँग मिल्दैन ।’

कुराको अन्त्य उसले यसरी गर्यो, ‘भैगो अब तेरो त्यस्तै विचार छ भने त्यसलाई हाम्री छोरी नदिउँला, के बिग्रिहालेको छ र ?’

शिव शर्मा र उसकी स्वास्नीको जिन्दगीमा एउटै धोको बाँकी छ- गोप्राणी जस्ती आफ्नी छोरी एउटा शुद्ध ब्राहृमणपुत्रलाई लगनगाँठो बाँधेर सुम्पिदिने तर उनीहरूको जोडदार समस्या यही छ, आजकल गाईको शुद्ध दूध भेट्न मुस्किल भएजस्तै शुद्ध ब्राह्मण भेट्नै मुस्किल छ, आजकल मान्छे जनै लाउनै छाडिसके र गायत्री मन्त्र कसैले जपै गर्दैन ।

राति सुत्नुअघि आफ्नो पतिको गोडामा तेल घस्दै बोल्ने स्वाभाविक स्वरलाई पातलो र नरम पारेर शिव शर्मालाई उसकी स्वास्नीले भनी, ‘बरु त्यो परको माथिल्ला घरे गोविन्देको एउटै छोरो रामेलाई हाम्री छोरी दिने हो कि ? बाउले आफू जस्तै पाठपूजा सिकाउने रे, संस्कृत पनि पढाउँछन् रे । दुनियाँ भ्रष्ट भए पनि म त मेरो छोरोलाई भ्रष्ट हुन दिन्नँ भन्छिन् रे आमा पनि । छोरोलाई राम्ररी तह लगाउँदै छन् जस्तो छ । चुरोट त खाँदै खाँदैन रे । सुपारीसुद्ध टोक्दैन रे । कति राम्रो गाईखुरे टुपी पालिराख्या छ रे । फेरि छ डोरे जनै सधैँ कति राम्ररी लर्काएर लाउँछ रे ।

केटो हुनेको पहिरन पनि कस्तो, सादा अंगा सुरूवाल मात्र लगाउँदो रहेछ । घराँ सधैँ धोती लाउँदो र छ । रूदी, चण्डी, वेदका श्लोक त कण्ठै आउँछ रे । आजकलको जमानामा यस्तो चोखो मान्छे, फेरि यस्तो परकाण्ड मान्छे कहाँ पाउनु ? मलाई त यै केटो मन पर्यो । ‘सानी’ का बा हजुरको के विचार छ ?’

गोडा मिचेको आनन्दको साथसाथै स्वास्नीको चित्त बुझ्ने कुराले शिव शर्मा लोलाएको मुद्रामै पूर्ण प्रफुलित भयो । पूर्ण आदर्श, पूर्ण नैतिकता र पूर्ण अनुशासनको बलिया खम्बाहरूले बनेका उसको भावी ज्वाइँको मानवनिर्मित शरीर र सम्भावित व्यवहारले ऊ एकै छिन पुलकित भयो ।

स्वास्नीले बताएकी ज्वाइँ नारान्‌को तस्वीर उसको आँखाको सामुन्ने उभिन आइपुग्यो- स्वास्नीकै शब्दमा प्रष्ट चित्रित भए अनुसारको ।

‍===

मादले र जाँते गरी सबैभन्दा ठूला तीनवटा पाकेका फर्सी छानाबाट झिकेर शिव शर्माकी स्वास्नीले छोरीको विवाहको भनेर आँगनको कुनामा अलग्गै छुट्याइदिई । गाउँका स्वास्नीमानिसहरू जम्मा भएर पात गाँस्न थाले । बिहेचाहिँ गोविन्देको एउटै छोरो रामेसँगै हुने भयो ।

‘कन्या के भन्छिन् नि ?’ खुसुक्क एउटाले अर्काको कानका भन्यो ।

‘अब जग्गेमा ल्याउने बेला भइसक्यो के भन्ने नि ।’

‘कन्यालाई जग्गेमा ल्याउनुपर्यो,’ आधिकारिक स्वरमा कसैले भन्यो, ‘कन्या त घरमा कहीँ पनि भेटिइनन् ।’

‘दिसा-पिसाप गर्न त्यतै कतै घरको पछाडि वा बाहिरतिर होलिन्,’ एउटा जवाफ त्यतै कतैबाट आयो ।

‘कहीँ पनि छैनन्, हामीले सबै ठाउँमा खोजिसक्यौँ ।’ दुई जनाको सामूहिक बोली सुनियो ।

भिड अकमक्क पर्यो । शिव शर्माको पिँडौला फत्रक्क गल्यो, मुटु तर्स्यो । ऊ जङ्गिएर उठ्यो । छोरीसँग बिहेको सहमति लिन खोज्दा मन्टो हल्लाएर असहमति जनाएकी छोरीको अनुहार उसको सामुन्ने स्मरणमा देखा पर्यो ।

त्यतिकैमा तातो रगत र स्वभाव भएको एउटा युवकले निम्तालु र अरू गाउँटोलको भिडलाई जग्गेको सामुन्नेबाट नाटकीय पारामा सूचना वा जनाउ दियो ।

‘महिला हकहितको लागि युवा र महिलाको आज जुलुस छ । ऊ पर देख्नुहुन्छ ? जुलुस यतैतिर आउँदै छ ।’ बिहेमा जम्मा भएका निम्तालु र गाउँलेहरूको भिडको ध्यान त्यतैतिर आकर्षित हुन्छ । भीड त्यतैतिर बिस्तार अघि सर्छ । भीड अलि नजिकै आइपुगेपछि प्रष्ट हुन्छ ।

जुलुसको हुलभित्र अग्र भागमा शिव शर्माकी छोरी पार्वती पनि छे । उसको हातमा एउटा प्लेकार्ड छ । त्यसमा यी नाराहरू लेखिएका छन् :

‘उमेर नपुगी नारीको बिहे गर्न पाइँदैनन् ।

पैतृक सम्पतिको अधिकारबाट महिलालाई बञ्चित गर्न पाइँदैन । महिला अधिकार मानव-अधिकार ।

महिला युवा जिन्दावाद !’

कसैले शिव शर्माको नजिक आएर औँलाले देखाइदिएपछि शिव शर्माले जुलुसका भिडमा बल्ल छोरीलाई देख्यो । उसका छोरीको हातमा प्लेकार्डलाई देख्यो । त्यसमा लेखिएको अक्षर पनि देख्यो । भिडको बीचमा गलित भएर ऊ थपक्कै बस्यो । त्यसरी बस्न पुगेको पनि ऊ आफैँलाई पत्तो भएन । फोक्सोको सासजति सबै स्वातै खुइयको सुस्केरासँगै मानो शब्दसँग फुस्कयो, सिद्धियो नै, ‘छोरीलाई पढाउनु हुन्न भनेको साँच्चै नै रहेछशिक्षित होली भनिठानेको थिएँ नेता हुन पुगिछ ! हाय रे दैव….’