त्यसो होला भन्ने मलाई के थाहा थिएन, केही थाहा थिएन । सुत्केरी भएकी मेरी स्वास्नीले सुत्केरी-कोठाबाट मलाई बोलाएर भनी- “आज तपाईं भोज जान नहुने ?”

मैले भनें- “केके न भयो भन्ठानेको, त्यस्तरी बोलाउनुपर्थ्यो ? मैले बिर्सेको छैन ।”

बिहान उठेदेखिको मनमा एक किसिमको गहुँगो भइरहेको थियो । पसलमा चामलसामल बेच्दाबेच्दै केही कुराको हतारोपतारो भइरहेको थियो । सामलहरूको बीचमा एक्लै हुँदा पनि म धेरैबेरसम्म उठेर जान सकिनँ, स्वास्नीले बच्चालाई दूध चुसाउँदै भनी- “म जान सकिनँ,” उसले फेरि भनी- “तपाईं बरु सबेरै जानुस्, धेरै पर जानु छ । फेरि अबेर फर्कनु हुँदैन, आजकालको याम बाटोमा हिँड्न डरलाग्दो छ ।”

“हो हो,” मैले झर्केर भनें- “एउटा केही कुरा भयो कि कचकच गरिरहन्छेस्, मलाई पनि थाहा छ ।”

तर मलाई केही थाहा थिएन त्यस्तो हुन्छ भनेर । मलाई भोज खान जानु छ एउटा ठूलो मान्छेकहाँ । मेरी सालीको लोग्ने सेक्रेटरी, उनैकहाँ । सालाको बच्चाको पास्नीको भोज छ । हिजैदेखि नै कुन लुगा लगाएर जाने, कुन कोट लगाएर जाने चिन्ता परिरहेको थियो ।

दस वर्षअघि बिहामा सिलाएको एउटा कोट छ, दौरासुरुवाल पनि एक जोर राम्रै छ । सहरभन्दा निकै परको चामलपसले म । मैले कहाँ पाउनु अर्को लुगाफाटो ! फेरि लुगा सिलाएर मैले कहिले लाउने ? खालि पैसा मात्रै बरबाद गर्नु हो । भरियासरिया र टाढाबाट आएकाहरूलाई बास दिनु र मालसामान बेच्नुबाहेक मलाई अर्को किसिमको कुनै व्यवहार गर्न फुर्सद छैन । कहिलेकाहीँ केही किन्न सहर जानुपर्दा त्यही बिहेका बखतमा सिलाएको कोट लगाएर जान्छु । मेरो काम टर्दै पनि गएको छ ।

“तपाईं कहाँ जान लाग्नुभएको ?” सहर जान बाटोमा हिँडिरहेको बखतमा गाउँको एउटा खेतीवालले मलाई सोध्यो ।

“म सहरमा भोज जान लागेको, मेरो सालीकहाँ ।”

“ए” भनेर ऊ अघिल्तिर बढ्यो ।

तर मैले उसलाई बोलाएँ र भनें, “पख न, चुरोट त खाएर जाऊ ।”

अनि ऊ अलमलिएर उभियो । उसले मलाई सहरमा चामल बेचेर आएको, कपडा किनेर ल्याएको र सहरमा मालसामान महँगो भएको सबै भन्यो । तर मलाई भने उसलाई केही कुरा भन्ने मनमा उलुउलु भइरहेको थियो- पछि मैले च्वाट्ट भनें- “थाहा छ, मेरी सालीको पोइ अड्डामा सेक्रेटरी छ रे ।”

उसले भने सेक्रेटरीको अर्थको गहिराइ बुझ्न सकेन ।

मैले भनेँ- “सेक्रेटरी भनेको मन्त्रीभन्दा केही तल मात्रै । पहिलेपहिलेका सुब्बा-सरदारहरूले पनि उसले दिएको हुकुम मान्नुपर्छ रे ।” खेतीवाल ताजुप भयो । टोलाएर मलाई हेरिरह्यो । “त्यसो हो भने…” उसले भन्यो र बीचैमा रोकियो । फेरि भन्यो- “आफ्नोआफ्नो भाग्य ?”

“अँ,” मैले भनेँ । मेरो मनसुबा पुगेझैं मलाई लाग्यो ।

अब अहिले म हाँसूँ कि रोऊँ यसै भन्न सक्तिनँ ।

म सरासर बाटोमा हिँडिरहेँ । मेरो नाता पर्ने एक जना पनि छ । जो नेपालको एक ठूलो मान्छे हो । पहिले म उसकहाँ सालीको ब्याह हुँदा मुख हेर्न गएको थिएँ । त्यसपछि सालीको पोइ, मेरो साढुभाइ काङ्ग्रेसको पर्वमा झ्यालखान पर्यो ।

एक दिन साली दिदीकहाँ आउँदा रोएको देखेर मैले आफ्नी स्वास्नीको लहैलहैमा साढुभाइलाई नचाहिने काम गरेको भनेर गाली पनि नगरेको होइन । अब क्रान्ति भयो- प्रजातन्त्र भयो – मानिसहरूले कुरा गर्न डराउनु परेन । आफूले उन्नतिको कल्पना गरेको कसैलाई सुनाउँदा यताउति सतर्क भएर हेर्नु परेन ।

साढुभाइलाई मैले गाली गरेको कुरा सम्झेर रुन मन लाग्छ कि हाँस्न मन लाग्छ मलाई केही थाहा छैन ।

बाटोमा हिँड्ने एक जना मानिसले मलाई मेरो खुट्टामा हेरेजस्तो लाग्यो । मलाई लाज लाग्यो । मैले त्यस दिन मोजा पनि लाएको थिएँ । मोजा तल आएको रहेछ । मोजा नलगाएको धेरै दिन भैसकेको थियो । त्यस दिन पनि मोजा नलगाएको भए फरक पर्ने थियो थिएन भन्न सक्तिनँ । मोजा लगाएरै गएँ । सुरुवाल माथिमाथि सरेको हो कि मोजा तलतल सरेको हो कुन्नि म छेउ सडकको किनारामा गएर बसेर मिलाएँ ।

सुरुवाल टन्न भएर सुकेको रहेछ । मसँग अर्को लुगा पनि थिएन, सुकेको थाहा भए पनि के लगाउँथेँ । म बाटोमा हिँड्दै थिएँ । पाइन्ट कोट लगाएर एउटा पट्टो आयो । उसले मलाई हेय अथवा उसले मेरो लुगालाई हेय अथवा उसले मलाई हेरेको होइन खालि उसको आँखा त्यसै ममाथि परेको हो, मलाई जिरिङ्ग भएजस्तो लाग्यो । उसको पाइन्ट कोट कति राम्ररी मिलेको, इस्त्री लगाइराखेको, कति चटक्क !

मैले आफ्नो कोट हेरेँ, लगाएदेखि अहिलेसम्म इस्त्री लगाएको छैन र त्यो मैलो भएर त्यस पट्ठोको कोटको अघिल्तिर एकदम अँध्यारो भएको थियो । मैले ईर्ष्या गरेर के फाइदा, म पट्ठो होइन, म त गाउँको एउटा पसले । राम्ररी लगाएर यताउति चहारेर मेरो व्यापार चल्ने होइन । पट्ठोहरू राम्ररी लगाएर हिँड्छन्, तर पछि टाउकोमा भार बोक्नुपरेमा मजस्तै हुन्छन् ।

फेरि म अर्को मानिस पनि त होइन, म जुजुमान साहू नै त हुँ । लुगा भनेको आफूलाई छोप्ने एउटा कुरा हो । लुगा लगाए पनि म जुजुमान हुँ, नलगाए पनि म जुजुमान हुँ । मनमा गुन्दै म हिँड्दै थिएँ, अकस्मात् मेरो हात मेरो गालामा पर्न गयो । म झस्कें । म अर्कैअर्कै चिन्तामा परेकोले त्यस दिन दाढी काट्नै बिर्सेछु । पछि म आफैँ हाँसें, दाढी खौरे नि म जुजुमान हुँ नखौरे पनि म जुजुमान हुँ ।

सहर पुगेँ । सहर पुग्यो कि मलाई जहिले पनि सहर नयाँ जस्तै लाग्छ । कस्तो रमाइलो । त्यति ठूलोठूलो त्यत्तिका घर, त्यतिकै मानिस ! त्यतिका किसिम-किसिमका अनुहार भएका मानिसहरू, कहाँकहाँबाट मात्रै आएका मानिसहरू । यी सब मानिसका केके मात्रै काम होला, केके काम । किसिमकिसिमका छाँटका लुगाहरू, नयाँ ढाँचाकाँचाका कोट-पाइन्ट, स्वास्नीमानिसहरूमा नयाँनयाँ फेसन, पातलो खास्टो, नभएर पनि हुने, हावासँगसँगै बहने फरिया, पन्जाबी लुगा । स्वास्नीमानिसहरू पनि पढ्न गएका !

हुरुरु जिप दौड्यो- माइकद्वारा ठूलठूलो स्वरले कराउँदै । मानिसहरू जम्मा भए, मैले नबुझेर सोधें । भोलि जुलुस र सभा, सरकारले नागरिक अधिकार हनन गरेको विरुद्ध । ‘अखबार चार चार पैसा चार चार… ‘ म राम्ररी बुझिदनँ, नत्र पढ्थेँ ।

सहरमा विचार, बुद्धि र चेतनाको लहर आउँछ, त्यही लहर लहरिंदै धेरै टाढा हाम्रो गाउँमा घुस्छ अनि सारा नेपालमा व्याप्त हुन्छ । यताउति हेर्दै विचार गर्दै म सालीको टोलमा पुगेँ । तर मुख हेर्न आएको घर कुन पर्यो मैले भेट्टाउन सकिनँ । त्यहीँ बस्ने एक जना मानिससँग सोधें- उसले देखाइदियो ।

मलाई गजब लाग्यो- अहिले भर्खर यही घरको तल कति चोटि ओहरदोहरा गरिसकेको थिएँ । एक-दुई जना मानिस बाहिर आएको र भित्र गएको देखेँ । तैपनि घर त्यही हो र भन्ने ठम्याउन खोजें, हो त्यही घर हो । तर मेरो स्मृतिपटमा भएको घरभन्दा भित्र त्यो घर छ । पहिले त्यसमा सेतो लगाएको थिएन । झ्याल पनि फेरिएर नयाँ भएको रहेछ ।

म ढोकामा केहीबेर रोकिएँ, हो र यो घर… मान्दै भित्र पसें । भऱ्याङबाट एउटा मानिस ओर्ल्यो, उसले मलाई चिनेन । त्यो मानिसलाई चिन्या-चिन्या जस्तो लाग्यो- म मुस्स हाँसें । उसले हाँसेको जबाफ दिएन । मलाई एक चोटि हेरेर ऊ बाहिर गयो । पछि मैले वास्स सम्झेँ, त्यो त मेरो साढुभाइको भानिज, जसले मुख हेर्न आएको बखतमा चुरोट दिएको थियो ।

म बिस्तारै सङ्कोच मान्दै माथि गएँ । मटानमा पुगेको बखतमा अझ माथि जाने भर्याङबाट एउटा स्वास्नीमानिस खुरुरु ओर्ली । मटानमा भएका अरू चार- पाँच जना मानिस र म यन्त्रवत् हटिदिएँ । त्यो स्वास्नीमानिस यताउति कतै नहेरीकन जसरी भऱ्याङबाट ओर्लेकी थिई त्यसरी खुरुरु कोठाभित्र पसी । उसको अनुहार, उसको कपाल बाटेको, खास्टो नओढेर उसले लगाएको देख्दा तस्बिरमा भएको मिमजस्ती मलाई वास्स लाग्यो ।

त्यहाँ भएको एक जनाले अर्कोलाई भन्यो- “मन्त्रीकी छोरी, मन्त्रीकी छोरी ।”

मन्त्रीकी छोरी भोज आएको ठाउँमा म पनि । म आफैँ देखेर आश्चर्य भएँ । म कोठाभित्र जान अलमलिइरहेको बखतमा एक जनाले भन्यो- “बस्नोस् न यहाँ ।”

त्यहाँ भएकाहरूलाई मैले सरसरी हेरेँ । उनीहरू नोकर-चाकरजस्तो र भोजमा आएकाहरूका साथमा आएका जस्ता थिए । उनीहरूसँग कसरी बस्ने भनेर अलमलिइरहेको बखतमा मेरी साली भर्याङ ओर्ली । मैले सालीलाई जिल्ल परेर हेरिरहें । ऊ पनि तस्बिरमा भएको मिमझैँ थिई । पहिलेकी तपतप आँसु खसालेर बसेकी साली थिइन ऊ ।

उसले मलाई केहीबेरसम्म टोलाएर हेरिरही, पछि बिस्तारै खिसिक्क हाँसी । म केही हटें । उसले मलाई निहुरेर गर्ली भनेर म हच्केको थिएँ, लाजले मेरा मुख रातो भएको होला । तर सालीले भागी गरिन ।

उसले सुन्न गाह्रो स्वरले भनी – “भित्र कोठामा जानोस् न ।”

म तर्सीतर्सी बैठकको ढोका पार गर्न लाग्दा सालाको स्वर सुनियो, “मेरो सानुदिदीको पोइ ।”

म गजब भएँ, ‘भिनाजु, नभनीकन सानुदिदीको पोइ’ भनेकोले । बैठकभित्र पस्नासाथ म फेरि हच्कें, बस्न त हुन्छ यहाँ ? त्यसरी सिँगारिराखेको बैठक ! मेच र कौच यता र उता थिए । त्यही मीमजस्ती स्वास्नीमानिस एउटा कौचमा बसेर लोग्नेमान्छेहरूसँग निस्फिक्रीसित हाँसीहाँसी कुरा गरिरहेकी थिई । राणाजीहरूको पालादेखि मैले चिनेको सर्दार एक जना पनि त्यहाँ थिए । अरू त्यहाँ भएका ठूला जस्ता मानिसहरू मैले चिनेको छैन । कोटपाइन्ट लगाएका पट्टीहरू पनि त्यहाँ थिए । सबैले एक चोटि मलाई पुलुक्क हेरेर फेरि पूर्ववत् आ-आफ्नो कुरा गर्न लागे, चुरोटको धूवाँ गोलगोल पार्दै फ्याँक्दै ।

बढ्ता भएर मेचमा गएर कसरी बस्नु, म झ्यालको भैंमा नै बसें । फेरि एक फेरा मलाई आश्चर्य मानेझैं गरेर त्यहाँ भएकाहरूले हेरे । यताउति कतै नहेरी मैले आफैँलाई हेरिरहें । मैले विचार गरेँ- ‘म जुजुमान जुजुमान नै हुँ । मलाई जुजुमान होइन कसैले भन्न सक्तैन । सालीको इज्जतको लागि… ।’

बैठकमा मानिसहरू टेबिलमा राखेको चुरोट झिक्दै खाँदै गरिरहेका थिए । मलाई पनि चुरोट खान मन लाग्यो । तर कसरी झ्वाट्ट झिक्न जाने त्यहाँ राखिछोडेको चुरोट ! आफूसित भएको दुईपैसे फुलमार चुरोट कसरी झिकेर खाने, त्यो पनि सजिलो छ । पछि मैले विचार गरेँ- ‘फुलमार चुरोट झिकेर खाए पनि म जुजुमान नै हुँ नखाए पनि म जुजुमान नै हुँ ।’ चुरोट सल्काएँ र खाएँ ।

बैठकमा मानिसहरू बेसरी हाँसेको नै गुन्जियो – कुराकानी बढ्दै थियो । मैले कुनै बुने कुनै नबुझने कुराहरू बैठकमा भएको चुरोटको धूवाँसँगसँगै घुमिरहेको थियो । कहिले कुराहरूले कोठा भरी हुन्थ्यो- कहिले बिस्तारै सुक्तै जान्थ्यो ।

‘सरकार भनेको जनताको हो,’

‘होइन यो प्रजातन्त्र भएकोले कसैले कसैलाई मान्दैन,’

‘हाहाहाहा,’

‘जागिरदारहरूले राजनीतिमा भाग लिन हुँदैन,’

‘आज-भोलि राम्रो फिल्म कुनै आउँदैन,’

‘आजभोलि मोटर महँगो छ,’

‘सुरैयाले गरेको भन्दा नरगिसले गरेको राम्रो छ,’

‘आजभोलि पार्टीहरू साह्रै स्वार्थी भए,’

‘फुटबल राम्रो खेल्ने त रक्षादल नै हो,’

‘फिल्म त राजकपुरको राम्रो छ,’

‘म त स्वतन्त्र मानिस,’

‘देशभक्ति नभएको जागिर नै नखानू,’

‘जागिरदारलाई खोस्न सकिँदैन,’

‘हाहाहाहा,’

‘आर्थिक समानता हुनलाई त,’

‘लता मङ्गेसकरको आवाज ।’

‘तपाईं कहाँ जानुभैराखेको ? यहाँ कस्तो कुरा भयो ।’

‘ओहो ! माथि केही हेरिरहेको ।’

नयाँ आउने मानिसको स्वर सुन्नासाथ मैले पुलुक्क हेरेँ । मैले झट्ट नमस्ते गरेँ । त्यो मानिसले पनि तुरुन्त नमस्ते गर्यो । ऊ केही टोलाएझैं भयो र उसले भन्यो- “भर्खर आउनुभएको ?”

त्यो मानिस मेरो सालीको लोग्ने । बसेर विचार गर्दै म सरमाएँ, ऊ त मभन्दा कान्छो, मैले पहिले किन नमस्ते गरेँ ! होइन तर उसले पहिले नमस्ते गरेजस्तो छ । जे भए पनि ठूलो मानिस हो । कसरी म अलमलिएँ ।

‘भयो- उठ्नोस्’ सुन्नासाथ सबै उठे । मन्त्रीकी छोरी पनि उठी र भनी- “म जाऊँ, मोटर आयो ।”

मलाई उठूँ कि नउठूँ भइरहेको थयो । “तपाईं पनि आउनोस्” एक जना भर्खर कोठाभित्र पसेको मानिसले मलाई भन्यो । म पनि उठें । हूलको पछिपछि लागें । माथिको एउटा कोठामा मानिसहरू पसे । म पछि परेको थिएँ । त्यसै बखत दुई-तीन जना मानिस भर्याङ ओर्लेर त्यही कोठाभित्र पसे । मलाई पर्खनुपर्यो । मैले बाहिरबाट देखें कोठामा खानेकुराको भाग लगाएर राखिछाडेको थियो । काँचका रिकापीले घेरेर राखेका भाग, त्यतिका, खानेकुरो । असल रक्सी राखेको सिसी पनि देखें । ‘धेरै नखानु होला है’ स्वास्नीले भनेको सम्झेर म मनमनै हाँसें । मैले सोचें ‘नत्र भने त्यत्तिका असलअसल कुरा कसरी पचाउने ।’

“तपाईं उता कोठामा आउनोस् ।” उही साढुभाइको भानिजले मलाई आँगमा थपथपाएर भन्यो ।

“हस्” भनेर म घुमेँ । एउटा अर्कै किसिमको सन्तोष मलाई भयो । नचिनेका मानिसहरूसँगसँगै बसेर कसरी मैले खाने भनेर मलाई धक लागिरहेको थियो । म बताएको कोठातिर लागेँ ।

“यतातिर ?” मैले सोधें ।

“हो ।”

त्यो बताएको कोठाको ढोकामा पुग्नासाथ म एकदम टक्क रोकिएँ । होइन, मेरो आँखामा भ्रान्ति भयो कि भनेर मैले राम्ररी त्यहाँ हेरें । होइन, अर्को कोठामा भनेको हो कि भनेर मैले पछिल्तिर हेरेँ । त्यो भानिजचाहिनेले भन्यो- ‘हो आउनोस्, आउनोस्, त्यसै बखत भनी (पकाउने काम गर्ने मानिस) बाहिर निस्क्यो । म किंकर्तव्यविमूढ भएँ । त्यो कोठामा अघिदेखि मानिसहरू बसिराखेका थिए । उता अघिको कोठामा झैं त्यहाँ राम्राराम्रा रिकापीले घुमाएका परिकारहरू थिएनन् । पात एउटा र दुई दुना अचार, माटोको खौला, त्यति मात्रै । ढोकैमा ठिङ्ग उभिरहेँ। मलाई ती भोज खाइरहेका सबै घुमिरहेझैं लाग्यो र मैले सहारा खोजेझैं साली आउली कि भनेर यताउति हेरेँ । “भित्र आउनोस्, आउनोस् ।”

“आउँछु ।” मैले भनेँ । म त्यसै ठिङ्ग उभिरहेँ ।

“एहे । यहाँ ठाउँ बनाउनुपर्ने रहेछ ।” भित्र बस्ने एक जनाले भन्यो ।

मैले भनें- “म एक फेरा तल गएर आउँछु ।” म खुरुरु भर्याङ ओर्ले । मैले कसरी जुत्ता लगाएँ, कसरी एक जना मानिसले ‘कहाँ जान लाग्नुभएको’ सोधेको जबाफ ‘पिसाब गर्न जान्छु’ भनेर दिएँ । मलाई अहिले आश्चर्य लाग्छ । सडकमा पुगेपछि म झस्केँ, म त भोजै नखाईकन बाहिर निस्केँ ।

म आफ्नै लागि सरमाएँ कि साढुभाइ र सालीको निम्ति सरमाएँ, अथवा आफ्नी स्वास्नीको लागि सरमाएँ म यसै भन्न सक्तिनँ । अँध्यारोअँध्यारो भइसकेको थियो; म भागेर गएझैं घरतिर फर्किरहेको थिएँ । म आफू देखेर भागिरहेको थिएँ अथवा अरू देखेर भागिरहेको थिएँ । सुनसान ठाउँ आइपुग्यो र मलाई थकाइ लागेजस्तो भयो- एउटा पुल आइपुग्यो । पुलको पर्खालमा अडेस लगाएर आँखासम्मुख रहेको सन्ध्याकालले कालोकालो भएको पानीलाई हेरें । मैले भने- “मैले मनग्ये भोज खाइसकेँ ।”

एकदम अँध्यारो भयो- बाटो एकदम सुनसान भयो । म हिँडिरहेको थिएँ । मलाई कोही मानिस चाहिँदैन, आश्चर्य ! मलाई डर पनि लागेन । मेरो आँखाअघिल्तिर पहिले-पहिले कुरा स्पष्ट अस्पष्ट झिलमिल झिलमिल भएर आइरह्यो । क्रान्ति भएको थिएन त्यस बखत म बाटोमा केही चीजको पोका लिएर हिँडिरहेको थिएँ । बाटोमा जर्नेल सवारी भयो । अकस्मात् एउटा मानिसले गर्धन समातेर मलाई घोक्रचाई, गाली गन्यो- “जर्नेल सवारी भएको देखिनस् ?”

म केटाकेटी थिएँ । बाले भन्नुभयो- “पसलमा बस् ।” तर म उल्टो पैसा चोरेर बाह्रमासे खेल्न गएँ । बाले मलाई कान समातेर घिसार्दै घरमा फाल्न ल्याउनुभयो । म रोइरहेँ । बा आउनुभयो- सम्झाएर भन्नुभयो- “मैले यस्तो गरेको तेरै लागि ।”

झुत्रोझाम्रो लगाएर दाउरा बोकेर आएका भरियाहरू, फलफूल बेच्न आएका भरियाहरू एउटा भरियाले पैसा दिइसकेँ भनेर मसँग झगडा गर्न लाग्यो । मैले उसलाई भनें— “कुजात !” तर एकदम उसले मलाई कुट्यो । पछि त्यहाँ बस्ने अरू मानिसहरूले आएर, उसलाई बेसरी कुटे । मैले बुइँगलमा एकान्तमा बसेर विचार गरिरहेँ ‘मैले कुजात भन्न नहुने ।’

क्रान्ति, डरलाग्दो बखत, सहरमा जुलुस आएको देखेर त्रासको मनले म घरमा भागेर आएँ । पसल-ससल बन्द गरेर मैले विचार गरिरहें- ‘म पनि लड्न जान सके त !’

स्वास्नी, साली, साढुभाइ, फेरि म, स्वास्नी, साली, साढुभाइ, म, बा, आमा यी सबैलाई मैले देखिरहेको थिएँ ।

म झस्कें, घर पुगिसकेको थिएँ । स्वास्नी सुत्केरी भएको कोठाभित्र नगई म आफू सुत्ने कोठामा गएँ । स्वास्नीले त्यहीँ आएर भनी- “अहिलेसम्म फर्कनुभएको छैन भनेर म तर्सिरहेको ।”

मलाई सरम लाग्यो । मैले स्वास्नीको मुख हेर्दै नहेरी अर्कोतिर हेरिरहेँ ।

आधा रात भयो र एकदम सामसुम थियो । सबै सुतिसके । शिथिल भएर म सुत्न खोजें । मलाई निद्रा लागेन तर भोक लागेजस्तो भयो तर म आज खान्नँ, खाँदै खान्नँ । तर कोहीसँग पनि मेरो रिसराग छैन । कोहीसँग पनि रिसराग छैन, आफैँसँग पनि छैन ।

सपना देखेजस्तो थियो । होइन तर यो सपना थिएन । परलोक भएकी आमाको स्वर सुनेझैँ लाग्यो- ‘बाबू जुजुमान !’

मैले आँखा उघारेर यताउता हेरें । कोठाभरि व्यथा डम्म भरिएको थियो । मैले बिस्तारै जबाफ दिएँ- ‘आमा, म यहाँ छु ।’

मलाई कोहीसँग पनि रिसराग छैन । तर मलाई यस्तो होला भन्ने केही पनि थाहा थिएन, केही थाहा थिएन ।

(गोविन्दबहादुर मल्ल ‘गोठाले’को कवितासंग्रह ‘कथैकथा’बाट)