‘पैसा त राम्रै कमाइ हुन्छ । तर यो ट्युसन स्युसन पढाउने काम सारै झ्याउ..’

मोटरसाइकलमा अनामनगरदेखि बानेश्वरतर्फ  हुइँकिँदै बीरेन्द्र सरले आफैलाई सम्झाउँदै थिए, ‘अब बिस्तारै यो ट्युसन लिने काम पनि कम गर्दै जानु पर्ला ।’

आज निक्कै अबेर भैसकेको थियो ।  रातको बाह्र बजिसकेको थियो । बीरेन्द्र सर आफ्ना पुराना कलेजका साथीहरूको ‘रि युनियन’ पार्टी सकेर भक्तपुरतिर गुड्दै थिए । भक्तपुरमा उनको घर, एउटी छोरी र श्रीमती उनको प्रतीक्षामा अनिदा बसेका होलान् । हुन सक्छ छोरी निदाइसकी । प्रतीक्षारत नै होलान्, उनको परिश्रमले बनेको एक तले चिटिक्कको घर र उनकी श्रीमती चाहिँ ।

सडकमा  पातलो चहलपहल थियो  । उनी बानेश्वर कटेर कोटेश्वरतिर लाग्दै थिए । चिसो बतास चलेको थियो । राति हुँदी डुल्ने खासै बानी नभएकोले बीरेन्द्र सरलाई हल्का एक किसिमको डर डर जस्तो पनि लागी नै रहेको थियो । डर लागेको मनलाई  अर्कोतिर सार्न उनले भर्खरै ‘रि युनियन’ पार्टीका साथीभाइहरूलाई सम्झे – अहिलेसम्म विवाह नगरी बसेको विनोद कस्तो जवान ! जस्ताको त्यस्तै ! उस्तै गुडलुकिङ, उस्तै चार्मिङ..तर सुमन खम्बू भने म भन्दा मोटो नि भएछ बूढो देखिएछ…त्यस्ती मोटी ऋतु कसरी यत्रो चेन्ज भैछे ! अझ योगा इन्स्ट्रक्टर पो रे ! ..त्यो म्याडीले रियल स्टेटबाट खुबै पैसा कमाएछ,  नत्र कसरी चढ्थ्यो त्यत्रो महँगो मोटर ?…’

बीरेन्द्र सरको मगजभरि यस्तै यस्तै अगडम बगडम चलिरह्यो । मोटरसाइकलको चक्का कोटेश्वरतिर गुड्दै गयो ।

केही बेरमा मोटरसाइकल कोटेश्वर पुग्यो र कोटेश्वरलाई छोटो  दर्शन भेट दिएर जडीबुटीतर्फ हानियो । जडीबुटी चोक अगाडि जडीबुटी  र लोकन्थली जोड्ने एउटा पुल छ, मनोहरा पुल । मोटरसाइकल त्यही पुलनेर पुग्यो । त्यहाँ पुग्ना साथ एउटा कालो ठूलो ह्वार्लाङ्गको प्लास्टिकको झोलाले निकै नै अस्वाभाविक ढङ्गले बीरेन्द्र सरको मोटरसाइकललाई पछ्याउन थाल्यो मानौं त्यो पोलिथिन ब्याग कुनै जनावरको डरलाग्दो वर्गाकार कालो टाउको थियो ।

बीरेन्द्र सर नराम्ररी तर्सिए । उनको टाउको फुल्लियो । आङ जिरिङ्ग भो । उनको हातले स्वचालित रूपले  मोटरसाइकलको गति बढाउन पुग्यो । उनले पछाडि फर्केर हेरे ।  प्लास्टिक ब्याग पनि झन् छिटोछिटो उड्दै पछ्याउँदै आइरहेको थियो । हेर्दाहेर्दै एकै छिनमा त्यो प्लास्टिकको झोला उनको मोटरसाइकलको साइलेन्सरमा अडेस लिन आइपुग्यो र केहीबेर त्यहीँ टाँसिएर बस्यो ।

फेरि एकै छिनमा त्यो मोटरसाइकलको ऐनामा झुल्कियो । बीरेन्द्र सरले मिलिक्कै त्यसमा बिरालोका झैँ पहेँला आँखा टल्किरहेका पनि देखे । फेरि आँखाको झिमिकमै त्यो उडेर उनको बाटो छेक्न आइपुग्यो र उनको हेल्मेट वरिपरि भुसुना भन्के झैँ याताउता यताउता घुम्न थाल्यो ।

बीरेन्द्र सरको होस उड्नु अगाडि नै त्यो हेलमेटमा आएर बेरियो र उनको टाउकोमा आफै बेस्सरी  कस्सियो । उकुसमुकुस भई आँखा पुरै छोपिएकोले बीरेन्द्र सरको नियन्त्रण गुम्यो र मोटरसाइकल लोकन्थली चोकको भित्तामा पुगेर बजारियो ।

भूतीया प्लास्टिकले साउती मारेर बीरेन्द्र सरको कानमा केही भन्दै गयो तर खालि ‘बीरेन सर,..ओ बीरेन सर..’ मात्रै बुझियो ।

त्यसपछि बीरेन्द्र सरको होस् पातलिँदै गयो । जताततै अन्धकारले ढाक्यो र उनी पुरै ‘ब्ल्याकआउट’  भए ।

बीरेन्द्र सर ब्युँझँदा  आफूलाई अस्पतालको बिछ्यौनामा पाए । उनले वरपर आँखा डुलाए । छोरी उमा र श्रीमती शारदा छेउमै देखे । दुवैका अनुहारमा सुकिसकेका आँसुका टाटा देखिए । तीनै जनाले एक अर्कालाई हेराहेर गर्दै मौन मुस्कान साटे । उनको जिउ कक्रेर हलचल गर्न मिल्दैन थ्यो । देब्रे गोडा ठीकै भएपनि दाहिने गोडा फ्राक्चर भएको रहेछ । भूतीया पोलिथिन ब्यागको आक्रमणले उनी अझै अचम्मित त्रसित र आतङ्कित थिए । थरथरी काँप्दै नै थिए । उनको मनभरि प्रश्न खेलिरहेको थियो  कि भूतले आखिर के बोलेको थियो ?

पूरै दुई हप्ता आराम गरेपछि बल्ल बीरेन्द्र सर सामान्य हिँडडुल गर्न सक्षम भए । उनले अस्पतालमा आफूलाई भेट्न आउने इष्टमित्र साथीभाइ, डाक्टर र ट्राफिक प्रहरीलाई समेत आफूलाई भूतीया पोलिथिन ब्यागले आक्रमण गरेको बताएका थिए ।

बुबालाई जिस्काउँदै छोरी उमाले भनेकी थिई, ‘ड्याड, कतै तपाईंलाई पनि भाइरल हुन त मन लागेको होइन नि ? नत्र म युट्युभरहरू बोलाइदिऊँ ?’

श्रीमतीले चाहिँ हकारेकी थिई, ‘दिमाग खुस्कियो कि क्या हो ? आफै मास्टर भएर…’

उनको दिमागभरि भने चौबीसै घण्टा त्यही घटना चलिरहेको थियो – ‘आखिर त्यो भूतले के भनेको थियो ?’

अन्तमा डाक्टरहरूले बीरेन्द्र सरको मानसिक स्थितिको पनि  जाँच गर्नु पर्ने सिफारिस गरे । सोही बमोजिम मनो चिकित्सकसँग परामर्श लिइयो । र, आखिरमा उनी मानसिक हिसाबले सामान्य नै रहेको निष्कर्ष निक्ल्यो र उनी अस्पतालबाट पूर्ण रूपले डिस्चार्ज भई घर जान पाए ।

घर फर्केपछि पनि बीरेन्द्र सरले धेरै दिनसम्म भूतको कुरा सम्झन दिमागमा जोड लगाइरहे । तर खाली उही ‘बीरेन सर..ओ बीरेन सर…’ सम्म मात्र याद आउँथ्यो । अब त उनी पूर्ण रूपले ठीक भैसकेका थिए । काममा जान्थे, फर्कन्थे ।

तर काठमाडौँ जाँदा-आउँदा  उनी अर्कै पुल प्रयोग गर्न थालेका थिए । किनकिन उनलाई अझैसम्म दिउँसै भए पनि त्यो दुर्घटना भएको पुल हेर्न हिम्मत भएको थिएन । के थाहा अर्को भूतीया पोलिथिन ब्याग पनि पर्खिबसेको पो छ कि ?

‍००००

महिनौं बितिसकेको थियो । एक रातको कुरा हो ।  सबै निद्रामा मस्त थिए । बीरेन्द्र सरलाई भने पटक्कै निद्रा आएको थिएन । बरु बाथरुम लागेको थियो । उनी बाथरुम छिरेर हल्का भई बाहिर निस्कँदै थिए अचानक उनको पैताला साबुनको एउटा टुक्रामा  टेक्न पुग्यो । जसले गर्दा उनी चिप्लिएर पछारिए । उनको टाउको भित्तामा ठोकिन पुग्यो । उनले हत्तपत्त आफ्नो टाउको छामे, जिउ छामे, खुट्टा तन्काए ।

धन्न सबै ठिकठाक रहेछ । ढुक्क भए । टाउको ठोकिएर भनन रिँगटा लागेको अवस्थाबिच अचानक उनलाई केही कुरा छ्याङ्गै भयो । जस्तै दिमाग खुलेको, कुनै अवरोध हटेको जस्तो महसुस भयो ।  तब भूतले के भनेको थियो भनेर सरासर याद आउन थाल्यो । उनको कानमा भूतीया प्लास्टिकको त्यो संवाद छर्लङ्ग ठोकिन आइपुग्यो । साउतीमा बोलिएको भएपनि शब्दहरू प्रस्ट सुनिए –

‘बीरेन सर ! ओ बीरेन सर ! हामी प्लास्टिकहरू यो धरतीको माटोलाई ध्वस्त पारिदिने छौँ । एक गेडा अन्न पनि नउब्जिने रुखो बनाइदिने छौं । हिमाल र समुद्रलाई मैलो पारिदिनेछौं । पूरै पृथ्वीलाई कालै कालो, एकदमै घिनलाग्दो र थोत्रो बनाइदिने छौँ । हामी लरतरो प्रेत हैनौं, रूप फेरिरहने अमर प्रेत शक्ति हौँ । के मानिस, के पशुपक्षी कस्सैलाई छाड्ने छैनौं । हामी यो पृथ्वीको बोट, जल, वायु, माटो र जीवन सबैलाई रोगी पारिदिने छौँ । बीरेन सर ! ओ बीरेन सर !  मानव जातिले सक्छ भने हामीलाई  छेकेर देखाओस्, रोकेर देखाओस्, जितेर देखाओस्, यो हाम्रो चुनौती हो । ओ बीरेन सर ! पृथ्वीको जल वायु र माटोमा हाम्रो कब्जा निश्चित छ । यो प्रेत सन्देश सबैलाई सुनाइदिनू ।’

सम्पूर्ण कुराहरू सरासर याद आएपछि बीरेन्द्र सरलाई अनौठो प्रकारको शान्ति मिल्यो । मन र दिमाग दुवै हलुका भएर आए ।  उनले प्लास्टिकले यसो भनेको थियो भनेर कसैलाई नसुनाउने निधो गरे । बेकारमा सुनाएर पनि के नै पो हुन्थ्यो र ! बरु एउटा प्लास्टिकको झोला कसरी बोल्न सक्यो भनेर रातभरि अचम्ममा परिरहे । यो रहस्यमय कुराको पनि कुनै समाधान थिएन । त्यसैले अब उप्रान्त यो पनि नसोच्ने सङ्कल्प गरे । बरु उनले आफ्नो चित्त बुझाउन आफै एउटा तार्किक उत्तर बनाए – ‘यो कुनै प्लास्टिक ब्याग-स्यागको बोली थिएन । यो त आफूभित्रै कतै दबिएर रहेको वातावरणीय चेतनाको बोली फुटेको थियो ।’

मन बुझाउनलाई त यो तर्क ठीक थियो, तर कानले मज्जाले प्रस्ट  सुनेर मगजमा गई रेकर्ड भएको त्यो आवाज ?

उत्तर थियो – यो धरतीमा समाधान नभएको रहस्य कति छन् कति ।  छन् रहस्य यहाँ अनगिन्ती ।

भोलिपल्ट बीरेन्द्र सर निकै अबेर गरेर ब्युँझिए । बिहानीको नित्यकर्म सबै सकेर श्रीमती र छोरीलाई  बैठक कोठामा डाके र गहिरो भावका साथ बडो सिरियस मुद्रामा उर्दी जारी गरे, ‘आजदेखि हाम्रो घरमा पोलेथिनको झोला बन्द । एकदमै बन्द । बुझ्यौ नि ? प्लास्टिकका चिजबिजहरू सबै निषेध  ।’

श्रीमती र छोरीले मुन्टो हल्लाएर सहमति जनाए । श्रीमतीले मनमनै सोची – ‘भूतले बिचरा मेरो बूढोलाई सारै तर्साएछ ।’

छोरीले पनि त्यस्तै सोची, ‘बिचरा ड्याडीको सातो उडाएछ भूतले ।’

आमाछोरीले एक अर्कासँग सुटुक्क नजर साटे र बीरेन्द्रले थाहा नपाउने गरी दुवै खितखित हाँसे ।

००००

भूतीया पोलिथिनको कथा भने यस्तो थियो –

साँझ पर्दै थियो । जडीबुटीको सडकछेउ एउटा मासु पसलमा निक्कै भिडभाड थियो मासु किन्नेहरूको । आधा केजी खसीको मासु  हावामा उचाल्दै रमाकान्त मासु पसलेसँग जिस्कियो ‘हैन साहुजी, यो झोला अलि सानो भएन र ?’ साहुजीले हाँस्दै जवाफ फर्कायो, ‘सानो झोला सकिएछ दाइ । यही मात्र रैछ । यो पटक यस्तै भो माइन नगर्नुस् है !’

रमाकान्त आधा केजी मासु ह्वार्लाङ्गको कालो पोलिथिन ब्यागमा झुन्ड्याउँदै आफ्नो कोठातर्फ लम्कियो ।

जडीबुटी र पेप्सीकोलाको बीचतिर कतै पर्थ्यो उसको साँगुरो कोठा । कोठा पुगेपछि उसले मासुलाई थालमा खन्यायो र छोरालाई ‘ला यो प्लास्टिक फ्याँकेर आइज’ भनी अराएर ऊ मासु पकाउन तयारी गर्न थाल्यो । दस बाह्र वर्षको उसको छोराले उक्त ह्वार्लाङ्गको कालो पोलिथिन लगेर सडकमा यत्तिकै फुत्त फ्याँकिदियो । त्यो हावासँग उड्दै उड्दै सडक पार भयो ।  फेरि सडक पारिबाट उड्दै पेप्सीकोलाको खुल्ला मैदानसम्म पुग्यो ।  केही घण्टासम्म त्यही मैदानमा बरालियो । र अन्तमा मैदानबाट पनि उडेर मनोहरा खोलाको किनारै किनार पुलतिर लाग्यो । ठीक त्यति नै बेला हावा अलिक बेस्सरी चलिदियो र हावाको तीव्रताले गर्दा त्यसले उचाइ लियो अनि मध्य रात हुँदा  पुलमाथि आइपुग्यो ।

ठीक त्यति नै बेला कोटेश्वरबाट जडीबुटी हुँदै बीरेन्द्र सर पनि पुलतिर हुइँकिदै थिए । यसरी एउटा मासु पसलबाट डुल्दै डुल्दै आइपुगेको सामान्य पोलेथिन ब्याग अब डरलाग्दो भूत बन्न तयार थियो ।