“यति सबेरै के कति कामले पाल्नु भो जजमान ? मलाई नै बोलाको भे नि हुन्थ्यो ।”, गुरुबाले दुई हात जोड्दै आफ्नै लयमा सोधे ।
“छोरो हिजो अमेरिकाबाट फर्कियो । त्यसको गोदान गराऊँ भनेर गुरुबा । पानी चलाउनु पर्यो नि त,” मैले आउनुको कारण बताए ।
“ठिक हो बाबु, आफ्ना धर्म काँ छोड्नु हुन्छ र । बिदेशाँ के के खान्छन्, अनि के के गर्छन् । आफ्ना घराँ आयेसि त चोखिनु परो नि । बाउ बाजे देखि चल्दै आको चलन, चलाउनै परो नि । गोदान गरेसि ढुक्क बाबु ।” उनले गोदान गरेपछि पवित्र हुने कुरालाई महत्त्व दिँदै आफ्नो राय व्यक्त गरे ।
“जजमान आका छन् तेति टाढा, एउटो चिया लेर आउन,” उनले त्यहीबाट गुरुआमालाई अह्राए । हस्याङफस्याङ गर्दै गुरुआमा आइन् मलाई भेट्न । मैले दर्शन टक्र्याएँ ।
उनले भनिन्, “हाम्रा घराँ आउन साइत रैछ आज । बाबु सन्चै हुनुहुन्छ नि हैन ?”
उनको प्रश्नमा मैले सन्चै छु भन्दै टाउको हल्लाएँ । उनले कारण सोधिनन् मेरो आगमनको । शायद उनलाई त्यतातिर ध्यान नै गएन वा हुनसक्छ जजमानी गर्ने अवसर उपलब्ध भएकोमा उनलाई अरू कुरा सोधपुछ गर्ने आवश्यकता महसुस भएन । चिया लिएर आउँछु भन्दै उनी घर भित्र छिरिन् । हामी दुई चाहिँ त्यही मझेरीमा बात मार्न थाल्यौ चिया पर्खंदै ।
केही बेरको मौनतालाई भङ्ग गर्दै बोले गुरुबा, “यो कर्मकाण्ड भन्या पनि गजबको चिज हो के बाबु । कसैलाई गर्दै नगरे नि भा छ, कसैलाई चाइ जति गरे पनि चित्त बुझाउन गाह्रो ।”
मैले टाउको हल्लाउँदै सही थापेँ ।
उनी बोले फेरि, “अब हेर्नुस् न, ती तपैकै छोरा पढ्न बस्या ठाममा कसले गराउँछ गोदान, खै त चलिराछ सबथोक । हामी भन्दा विकसित छन् भन्ने सुन्छु । याँ चाइ जति राम्रो सित गराउँदा पनि यो भएन त्यो भएन भन्ने सुन्नु पर्छ । दिनभरि कर्म गर्यो, दक्षिणा माग्दा एक मानो चामल दिन्छन् कसैले त कोही धर्मको काममा पनि लोभ गर्नु हुन्छ भन्दै टार्छन् । यस्तो रितले त हामी पण्डित पेश लिएर बसेकाहरू भोक भोकै मर्छौ ।”
टाउको हल्लाउँदै सही थाप्ने बाहेक मसँग अरू केही विकल्प थिएन । आफ्ना गुरुबा, सानैदेखि जे पर्दा पनि उनकै हातबाट गर्ने गराउने देख्दै आएको, त्यसैले होला मलाई उनी प्रति साह्रै श्रद्धा अनि विश्वास लाग्छ । विचरा धेरै सोझा र इमानदार छन् हाम्रा गुरुबा ।
“बाहुनको मुख नै चोखो भन्छन् गुरुबा । हजुरले यसलाई यसरी गर्नुपर्छ भने पछि त सकिहाल्यो नि हैन र । फेरि वादविवाद गर्ने, यो भएन र त्यो भएन भन्नेहरूको कुरा किन सुन्नु ।” मैले मेरो राय सुनाएँ ।
त्यति नै बेला गुरुआमा आइपुगिन् चिया लिएर । “हिजो भर्खर तल्लाघराँ नारानको पूजा लाको । सिधामा पठाका, मिठो छ । चियासँग खानुस् बाबु,” उनले मेरो हातमा दुइटा सेलको टुक्रा दिंदै बेलिबिस्तार लगाइन् । मैले हात जोड्दै स्वीकार गरेँ । सेलका टुक्रासँग चियाको गिलासलाई ।
“सिधामा हाल्न बनाएको रहेछ सेल,” एक टुक्रा टोकेपछि अनायास प्रतिक्रिया फुत्क्यो मुखबाट । गुरुबा केही बोलेनन् । सोचे, शायद उनका सन्ध्याकालीन चियाका समयहरू यस्तै सेलका टुक्राहरूमा बित्दा होलान् ।
धेरैपछि गुरुबासँग धर्मकर्मका कुरा भएको, निकै बेर बिताइएछ त्यही मझेरीमा । साथमा थियो त केवल चियाको गिलास अनि सिधा दानमा आएका सेलका टुक्राहरू ।
बिहान छिप्पिँदै थियो, मैले बिदा मागेँ, “लौ गुरुबा समय मिलाएर घर आइदिनु पर्यो छोरोको गोदान गर्नलाई, अहिलेलाई चाहिँ म जान्छु । अफिस पनि नगई भएन ।” गुरुबाले नमस्ते गर्दै दुई दिन पछिको साइत उचित भन्दै मलाई बिदा दिए ।
– – – –
घर फर्किंदा बाटोमा पर्ने गणेश मन्दिरमा पुगेर मेरो कदम रोकियो । मंगलबारको दिन, भिड हेर्न लायककै थियो । लाइनमा दर्शनार्थ उभिएका केही महिलाहरूको शृङ्गार देख्दा मन्दिरमा आएका हुन् या कतै पार्टीमा आएका हुन् छुट्टयाउन गाह्रो हुने अवस्था थियो मेरो लागि । यति बिघ्न शृङ्गार त मेरी श्रीमतीले गर्न पनि जानेकी छैनन् होली, कठै ! त्यही शृङ्गार र आकर्षक पहिरनको परिणाम होला, केटाहरूको लाइनमा पनि उत्तिकै आधुनिक अन्दाजमा आजकलका केटाहरू भेटिन्थे हात जोडी भक्ति टक्र्याइरहेका गणेश बाबालाई ।
मन्दिरको प्राङ्गणमा जताततै छरिएका ब्राह्मणहरू आ-आफ्ना अगाडी पहेँलो कपडा ओछ्याएर ग्राहक खोज्दै थिए । कोही हात हेरेर भविष्य बताउने दाबी गर्दै थिए त कोही गोदान गरेर सम्पूर्ण पाप नाश हुन सक्ने प्रावधान रहेको ग्रन्थमा भन्ने विद्वत्ता व्यक्त गर्दै थिए । एउटा गोदान गराउन बसेको पण्डितको अगाडी पुगेर उभिएँ म । उसले ग्राहक चिनिहाल्यो र साह्रै शिष्ट भएर बोल्यो, “जजमान राज होश आशनिमा, म हजुरको गोदान गराइदिन्छु । आज गणेश भगवान्को शुभदिन कुनै साइत हेर्नु पर्दैन । उसै पनि गोदानलाई साइत चाहिँदैन ।”
उसको वाक्य टुङ्गे पछि मैले दक्षिणा सोधेँ, “हैन पण्डितजी ! तपाईंले गोदान गरेको कति पारिश्रमिक लिनुहुन्छ ? सित्तैमा त गर्नु हुन्न होला पक्कै पनि ।”
मेरो प्रश्न सुनेर ऊ अलि हडबडाउँदै बोल्यो, “जजमान, दक्षिणा भनेको आफ्नो मर्जीले दिने हो हामीले माग्ने होइन । तर गोदानको रेट चाहिँ ‘सानो, मझौला र ठुलो’ गरेर तिन प्रकारको छ मसँग । कार्य र प्रकृति हेरेर गोदान गर्ने हो हजुर ।”
छक्क परेँ उसको कुरा सुनेर । मनमा उठेका जिज्ञासा समाधान हेतु फेरि सोधेँ उनलाई, “गोदान पनि प्रकार प्रकारका हुन्छन् र पण्डितजी ? यसरी गरे पनि उसरी गरे पनि गोदान गोदानै हो, हैन र ?”
मेरो कुराबाट ऊ अलि असन्तुष्ट हुँदै बोल्यो, “गोदान भनेको गाई दान हो हजुर । अहिले गाई सबैतिर पाइँदैन, त्यसैले गाइको सट्टा पैसालाई नै गाईको बदला दान गर्ने चलन छ । तर गाईको मूल्य जति त हुनु पर्यो नि पैसा पनि हैन र ?”
उसको प्रतिप्रश्नले म झस्केँ । किन यी पण्डितसँग वादविवादमा अल्झिन पुगेँ । हेक्का नै भएन । म उठे र घरतिरको बाटो लागेँ ।
मन्दिरको प्राङ्गणमा भेटिएको पण्डित र आफ्नो गुरुबालाई अनायासै दाँज्न थालेँ मनमनै । एउटा व्यापारी झैँ लाग्यो त अर्को सामाजिक मर्यादा कायम राख्न खोज्दा खोज्दै पिल्सिएको निरीह ब्राह्मण जस्तो । उनीहरू दुईमा जमिन आकाशको फरक थियो । एउटा संस्कृति बचाउनु पर्ने कुरा गर्थे त अर्को स्वयम् बच्ने कुरा गर्थ्यो । “आफू रहे संस्कृति रहन्छ, आफू नै नरहे के को संस्कृति ?”, यसो भन्दै गोदानको दर अनि त्यसका प्रकारहरू बयान गरेको थियो उसले मलाई । साधारण गोदान गर्न पनि हजारौँ रुपैयाँ खर्च हुन सक्ने यथार्थसँग अवगत भएको थिए म ।
– – – –
“नमस्कार हजुर, के कुरामा मग्न हो ?”, नजिकै छिमेकी भाइ दुई हात जोडेर उभिरहेका थिए । मेरो सोचाइको क्रम टुङ्गियो । नमस्ते फर्काएपछि मन्दिरमा भेटिएको ब्राह्मणले दिएको गोदानको परिभाषा सुनाएँ । छिमेकी भाइको अनुहारमा अनौठो परिवर्तन भयो । मैले सोधेँ, “के भयो भाइ, किन यस्तो अनुहार बनाएको ?”
मेरो उत्तरमा उसले भन्यो, “दाइ त्यो मन्दिरमा बस्ने ब्राह्मण हैन, ती त अर्कै जातका हुन् । अलि अलि देखेको सुनेको भरमा कर्मकाण्ड गर्छु भन्दै जथाभाबी गर्दै सबैलाई ठग्दै बसेका छन् । उजुरी पनि गरेको हो एक दुई चोटि ।
“ओ हो ! मान्छेहरूले ठग्नलाई केही पनि बाँकी छोडेनन्,” निस्क्यो मेरो मुखबाट ।
मेरो कुरामा सही थाप्दै उनले भने, “हो दाइ, सबै ठग भए । देश चलाउनेदेखि लिएर मन्दिरमा बस्ने पुजारीसम्म, अनि मान्छेलाई भ्रमित गर्दै पूजा लगाइदिन्छु भन्ने ती कृत्रिम ब्राह्मणहरू । हामी ठगहरूको बस्तीमा ठगिएर बाँचिरहेका छौं ।”
म मुन्टो हल्लाउँदै घरतिर लागेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।