तीन टिकटका यात्रुहरू यात्राको तीन घन्टा अथवा करिब सत्तरी किलोमिटरसम्म भोकै थिए । उनीहरूले बिहान आठ बजे यात्रा शुरु गरेका । एउटा अनौठो र रोचक यात्रा, आँखा चिम्लिएर थालिएको यात्रा, जसको उद्देश्य-मनोरञ्जन, फगत मनोरञ्जन, जुन निकृष्ट प्रकारको हुनसक्छ, बौद्धिक प्रकारको पनि हुनसक्छ । बेटुङ्गे र विकल्प यात्रामा कतैबाट पनि हुरी चल्न सक्छ र हुरीले दुर्गन्ध ल्याउन सक्छ, सुगन्ध ल्याउन पनि सक्छ । मनोरञ्जन न हो क्षणिक हुनसक्छ, चिरस्थायी हुन पनि सक्छ । भीड बसको यात्रा कसैलाई रमाइलो लाग्न सक्छ भने कसैलाई ठूलो सजायजस्तै लाग्न पनि सक्छ । अन्तरलिङ्गीय स्पर्शमा सुखानुभूति गर्ने मान्छेको कहाँ कमी छ र !
बस सिन्धुपाल्चोक जिल्लाको बलेफी बजारमा केही क्षणका लागि रोकियो । ती तीन यात्रुहरू कुन्नि के एउटा सल्लाहमा सहमतिको बिन्दुमा पुगेर त्यहीँ ओर्लिए । केही मिनेट पैदल हिँडेपछि उनीहरू भोटेकोशी नदीको छेउमा पुगेर अडिए, अनि फेरि सल्लाह गर्दै तुइन चढेर नदीको पारितिर लागे । मान्छेहरू भन्ने गर्छन्, ‘तीन टिकट महा विकट’, तर यहाँ अहिलेसम्म कुनै विकट आइपरेको छैन । एकदमै ठूलो मेलमिलाप र सहमति छ यो तीन टिकटमा । यद्यपि यी तीन जनाको विचार, मनस्थिति भने एउटै अवश्य छैन, निकै पृथक् सोचाइ लिएर बाँच्ने गर्छ मान्छे सामान्यतामा र यिनीहरू पनि त्यस खाले सोचाइबाट विमुख पक्कै छैनन् ।
नदी पार गरेर उनीहरू फेरि केही बेर पैदल हिँड्छन् । अलिक पर एउटा सानो छाप्रो देखिन्छ, जहाँ मुश्किलले पढ्न सकिने एउटा ‘साइन बोर्ड’ झुन्डयाइएको थियो ‘माछापसल’, जसलाई देखेर ती तीनै जना अति प्रफुल्ल हुन्छन् मानौं उनीहरूको वर्षौंदेखिको चाहना पूर्ण हुनेवाला छ । यस्तो लाग्छ उनीहरूको जीवनकै अन्तिम इच्छा पूरा हुँदैछ, त्यति उमङ्ग र उल्लास उनीहरूमा छाएको सजिलै देख्न सकिन्छ ।
पसलभित्र दुई जना छन्, लोग्ने-स्वास्नी । उनीहरूको उमेरमा खासै त्यति अन्तर देखिँदैन, त्यस्तै अठ्ठाईस-तीसका होलान् । भित्र ग्राहकलाई बस्नका लागि गुन्द्री ओछ्याइएको छ, भित्तामा टाँसेर भाँडाकुँडा राख्ने बाँसको एउटा दराज बनाइएको छ जसमा चार-पाँच वटा थाल, स्टिलका गिलास र केही कचौराहरू छन् । कुनामा एउटा चुलो छ, अहिलेलाई शान्त चुलो । र, त्यस कोठाको देब्रेपट्टि पातलो पर्दा लगाइएको अर्को एउटा कोठा छ, नाम मात्रको कोठा । ती तीन युवक त्यही बाहिरी कोठामा पस्छन् र आ-आफ्नो अनुशासनले बस्छन् ।
यी तीन जनाको अहिलेसम्मको क्रियाकलापबाट के बुझिन्छ भने पहिलो युवक हट्टाकट्टा छ र बडो रमाइलो गर्नुपर्ने खालको पनि छ । ऊ आफूलाई जागेको चाहना र इच्छाको पूर्ति अरूलाई नोक्सान पुऱ्याएर भए पनि गरी छोड्छ । अर्काको चाहना-इच्छा बुझ्ने उसको चेष्टा रहने गर्दैन । जे होस्, जसरी होस्, पर्न सक्ने दुर्घटनाका आकार- प्रकार जस्तासुकै हुन् तिनले कुनै सरोकार राख्तैनन् तत्कालका लागि ऊसँग ।
दोस्रो युवकलाई मध्यम स्तरको भनिदिँदा अन्याय हुँदैन । उसको शारीरिक बनोट पनि मध्यम स्तरकै छ । र, विचार भने चाहिनेभन्दा बढी ‘सुरक्षित’ छ । पर्न सक्ने खतराबाट ऊ सधैं सशंकित रहने गर्छ । कुनै पनि काम सबतिरबाट बचेर गर्ने गर्छ । सम्पूर्णतिरबाट सुरक्षित र विवादशून्य काममा मात्र ऊ हात हाल्छ । फेरि एउटा कुरो चाहिँ के भने अरूले आरम्भ गरिदियो भने ऊ त्यस आरम्भकर्तालाई उछिन्न पछि पनि हट्दैन । कति मात्र हो भने कार्यारम्भ गर्नुपर्दा ऊ नालीबेली सोचहरू मनमा हुँडल्न थाल्छ र ढिला निष्कर्ष निकाल्छ, अनि आफूलाई फाइदा र विवादरहित हुने देखिएमा कार्यारम्भ गर्दछ ।
तेस्रो युवक अन्य दुईभन्दा निकै पृथक सोच राख्दछ । कुनै पनि काम गर्दा ऊ आफूलाई भन्दा त्योसँग सीधा सरोकारवाला पक्षलाई पर्न सक्ने नाफा घाटालाई तुलना गरेर गर्ने गर्छ । ऊ आफ्नो हितभन्दा परहितमा केन्द्रित रहन्छ । कतिसम्म भने ऊ आफू कुनै पनि क्रियाकलापबाट सन्तुष्ट भएमा तुरुन्तै आफ्नो सन्तुष्टिमा सम्मिलित पक्षलाई आफूले पाएको प्रतिफलभन्दा धेरै गुणा बढी फाइदा कसरी दिन सकिन्छ भनेर उपायको खोजी गर्न थाल्दछ । आममान्छेहरूको सामान्य सोचभन्दा पृथक सोच मान्नै पर्छ यसलाई । सामान्यताबाट अलिकति मात्रै माथि उठेको सोचसमेत प्रायः अप्राप्य भइसकेको छ हिजोआज । यो अति पृथक सोच हो, जहाँ अन्य पक्षलाई समेत सोचको विषय बनाइएको छ ।
आफ्नो पसलमा यति चाँडै ग्राहकहरू आएको देखेर ती दुई लोग्ने-स्वास्नी आश्चर्यचकित हुन्छन् र एकआपसमा हेराहेर गर्न थाल्छन् । केहीबेरमै स्वास्नीचाहिँ बसेको ठाउँबाट उठेर पर्दा पन्छाउँदै अर्को कोठातिर लाग्छे ।
लोग्नेचाहिँ आफ्ना ग्राहकहरूलाई सत्कार गर्दै बस्नको निम्ति अनुरोधका साथ भन्छ, ‘काजीसाबहरूलाई के टक्रयाऊँ ?
‘माछापसलमा आएपछि माछा खाने नि ।’ पहिलो युवक मुख खोलिहाल्छ ।
‘स्याखिनी कुखुरा खानुपर्छ ।’ दोस्रो युवक आफ्नो इच्छा जाहेर गर्छ ।
‘तपाईंलाई जे ख्वाउँदा सजिलो पर्छ त्यही ख्वाउनुस् ।’ तेस्रो युवक बिस्तारै बोल्छ ।
‘स्याखिनी कुखुरा त हिजो शहरबाट पाल्नुभएका काजीसाबहरूले सिध्याइबक्स्यो । अहिले यहाँ वरिपरि गाउँमा पनि एउटै कुखुरा छैन । बरु माछाचाहिँ बन्दोबस्त गर्न सकिएला कि ।’ सबै जना सहमति जनाउँदै भन्छन्, ‘ठीक, आज माछा नै खानुपर्छ । कुखुरापसल भए पो कुखुरा खाने त !’
‘अनि रसचाहिँ के खाने नि । बजारिया रस त उतै शहरतिर लगाइराखिएकै हो नि ।’ पहिलो युवक आफ्नो मजबुत तर्क पोख्छ ।
यतिखेरसम्म तेस्रो युवक चुपचापजस्तै छ अरू दुई मित्रहरूको गफ सुन्दै ऊ बाहिर निस्किएर त्यहाँको प्रकृतिको मजा लिन थाल्छ । अगाडि उत्तरतर्फ नजिकै निकै रफ्तारमा दौडिरहेको भोटेकोशी अनि त्यही दिशामा निकै टाढा देखिने हिमाल र अन्यतर्फका घनघोर जङ्गल … फाट्टफुट्ट कहीं-कहीँ देखिने सेता घरहरू ऊ अप्राप्य मनोरञ्जनको प्राप्ति गरिरहेछ । यो कृत्रिमताप्रधान वर्तमानमा ऊ आफूलाई प्राकृतिकताभित्र लुकाइरहेछ- लुकामारी खेलाइरहेछ, रुखहरूको टुप्पामा, हाँगामा, फेदमा, नदीको रफ्तारमा-किनारमा- माझमा, हिमाल चढ्दै गरेको तेञ्जिङमा, आङरितामा, पासाङल्हामुमा… ।
* * *
पसलेकी स्वास्नी हातमा माछा मार्ने सामानहरू बोकेर तल नदीतिर झर्छे । तेस्रो युवक पनि आफूलाई सामान्यतामा फर्काएर भित्र आफ्ना मित्रहरू भएतर्फ लाग्छ । भित्रपट्टि उसका साथीहरू चुस्की लिन थालिसकेका थिए । ऊ पनि त्यहीँ थ्याच्च बसेर एउटा गिलास समाउँदै भन्छ- ‘माछा ल्याउन कतिबेर लाग्ला ?’
‘आधा घन्टा जतिमा सब तयार हुन्छ ।’ पसले नम्र जवाफ दिन्छ ।
‘अनि माछा मार्न तपाईं आफू नगएर किन श्रीमतीलाई पठाउनुभएको त ?’ तेस्रो युवक प्रश्न थप्छ ।
‘आ ! यो पनि ! जोसुकै जाउन्, जसरीसुकै ल्याउन् तँलाई केको चिन्ता ? माछा आउँछ । तँ भरपेट खालास्, भएन ?’ पहिलो युवक जङ्गिन्छ ।
‘त्यही त भन्या, हेर न यसलाई किन यी अनावश्यक कुराहरूको बढी चासो रहने गर्छ । आइमाईको जस्तो स्वभाव ।’ दोस्रो युवक सही मिलाउँछ पहिलो युवकसँग ।
* * *
अघिपछिको भन्दा केही बढी समय लगाएर पनि रित्तो हात फर्कन्छे पसलेकी श्रीमती । जो देखेर पसले अघिल्लो दिनलाई सम्झेर झसङ्ग हुन्छ र आफ्नो मुन्टोलाई घुँडामा लुकाउँछ । यी सब क्रियाकलाप देख्दा ती तीन जना युवक आश्चर्यचकित हुन्छन् ।
‘किन, माछा जालमा परेन साहुनी ?’ सान्त्वनाको भावले तेस्रो युवक बोल्छ । सहमतिमा ऊ टाउको हल्लाउँछे ।
पसले आफ्नो मुन्टोलाई घुँडाबाट छुटाउन सकिराखेको थिएन । मुन्टो घुँडामा घुसारिरहेकै स्थितिमा ऊ बोल्छ- ‘के हेरिराखेकी, अब जा भित्र कोठामा ।’
ऊ आज्ञाकारी बालकझैँ सरासर भित्री कोठामा जान्छे र एउटा पातलो तन्ना ओछ्याइएको गुन्द्रीमा पल्टन्छे ।
पसले पहिलेकै स्थितिमा बोल्छ, ‘हजूरहरू सबैजना पालैपालो भित्र कोठामा जानुभए हुन्छ ।’
पहिलो युवक त्यहाँबाट जुरुक्क उठेर भित्री कोठामा जान्छ र केहीबेरमा दोस्रो युवक । तेस्रो युवक कोठामा जान मान्दैन, पसलेतर्फ हेरेर बसिराख्छ जो अहिले आलु पकाउने सुरले आलु काटिरहेछ ।
तेस्रो युवकलाई यी अप्ठेरा क्रियाकलापहरूले निकै पोल्न थालेको छ । ऊ त्यस परिस्थितिलाई सहन गर्न सक्ने स्थितिमै छैन अहिले र पसलेको नजिक गएर बस्दै भन्छ, ‘यो कस्तो किसिमको बाध्यता हो । माछा जालमा पर्नु नपर्नु समयको खेल हो, यसमा तपाईंहरूको के दोष ?’ ऊ निकै कुरा भन्न चाहन्छ तर मानसिक पीडाको कारण उसको गला अवरुद्ध हुनपुग्छ ।
तत्काल पसले बोल्न थाल्छ, ‘यो हिजो पाल्नुभएका काजीसाबहरूले बनाउनुभएको नियम … हिजो भर्खर बनाइबक्सेको नियम आजै कसरी तोड्नु ! त्यसमाथि हामी गरिब दैनिक कारोबारबाट आएको पैसाले यो पसलको भाडा, माछा मार्ने सामानहरूको भाडा, आफ्नो बिहान-बेलुकाको खाना सब टार्नुपर्छ हजूर । यसमा मेरो आफ्नो व्यावहारिक स्वार्थ पनि त छ । यो बाँच्नुपर्ने बाध्यता बाँच्नलाई खानुपर्ने बाध्यता… । हिजो पनि आजको जस्तै माछा जालमा परेन । उहाँहरूलाई त जेनतेन कुखुरा ख्वाएर पठाउन पाएँ । हजूरहरूलाई … यी जाबो आलु बनाइदिँदैछु । हिजोका काजीसाबहरू यहाँको माछा र रक्सी खान निकै टाढादेखि पाल्नुभएको रहेछ, थुप्रो पैसा खर्च गरेर । मैले त आफूसँग जे छ त्यही दिने न हो …. ।’ ऊ अझै बोल्दै थियो दुई जना युवकहरू कोठाबाट बाहिर निस्किए ।
ऊ चूप लाग्यो र कुरा मोड्न थाल्यो, ‘अब हजूर भित्र जानुभए हुन्छ ।’ पसलेले तेस्रो युवकलाई इङ्गित गर्दै भन्यो ।
ऊ भित्र जाँदै गएन । उसका साथीहरूले निकै कर गरे तर ऊ मानेन । ऊ आफ्ना दिमागी तन्तुहरूमा मान्छेको विवशतामा बाँचेको वर्तमान बाध्यतालाई हुँडल्न थाल्यो । मान्छे र मान्छेबीचमा उठेको असमान सोचका पर्खालहरू दिनहुँ अग्लिँदै गएको महसुस उसले गयो । केन्द्रीकरण भएको उन्नतिको फल, विभाजित र अमानवीय मनस्थिति, त्यसभित्र पनि मान्छेहरूको विवशताबाट फाइदा उठाउने मान्छेहरूकै ठूलो भीड…।
पसले आलुको तरकारी उनीहरूको अगाडि राखिदिन्छ ।
‘यो आलु पनि कति मीठो हगि ?’ -पहिलो युवक सिन्काले आलु मुखमा राख्दै भन्छ ।
‘यस्तो फरासिलो र अर्काको मर्म बुझ्ने साहूजीले पकाएपछि …।’ दोस्रो युवक कुरा थप्छ ।
तेस्रो युवक किंकर्तव्यविमूढ पसलेलाई एकोहोरो हेर्दै आलु चपाइरहन्छ जुन त्यसरी चपाइरहनु आवश्यक छैन ।
केहीबेरमै उनीहरू फेरि छिट्टै आउने कुरा गर्दै फर्कने क्रममा लाग्छन् । हिँड्दै तल नदीको छेउमा पुगेर पहिलो युवकले तुइन बोलायो र तीनै जना त्यसमा बसेर नदीपारि पुगे ।
तेस्रो युवक यतिखेर आफूलाई निकै पीडा भएको महसुस गरिरहेछ । गहुँगो मन लिएर साथीहरूसित नचाही – नचाहीकन पनि हल्का पाराले बोलिरहेछ ।
बाटोमा ऊ अचानक टक्क अडिएर कुरा बनाउँदै भन्छ, ‘ओहो ! मेरो कोठाको साँचो त त्यही माछापसलमै छुटेछ, हातमा लिइराखेको थिएँ… खसेछ ।’
ऊ आफ्ना साथीहरूको कुनै प्रत्युत्तर नसुनी सरासर माछापसलतिर दौडन्छ ।
(राजेन्द्र पराजुलीको कथासंग्रह ‘जाडोमा भोक’बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।