हिसाब गर्दा तीन दिन मात्र बाँकी रहेछ । जेलबाट छुट्ने दिन सम्झँदै ऊ झसङ्ग भई । एकैछिनमा रिङ्गटा लागेझैं भयो । उभिएको जमिन सुइयँ तल झरेझैँ र वरिपरिको ठूलो पर्खाल पानीघट्टको चक्का फननन्न घुमेझैँ भएर उसलाई कहाली लाग्न थाल्यो । केही समयअघिसम्म दिनको एक-दुई पटक मात्र गरिने त्यो छुटकारा हुने दिनको हिसाब अब छिनैपिच्छे हुन लाग्यो । जतिबेर पनि त्यही छुट्ने दिनको सम्झनाले दिमाग कचल्टिएर एकोहोरो भइरहने गरेको दुई-चार दिन भइसकेको थियो । यता साथीहरू उसलाई बधाई र शुभकामना दिइरहेका थिए भने उता आउँदो समयका क्रूर थप्पड र बरबादीका कोराहरूले पक्षघातको धड्कन बन्दै उसको मस्तिष्कमा धक्का दिएर हलचल मच्चाइरहेको थियो ।

पहिले जेल पर्दा कहिले छुटकारा पाइएला भनेर दिन गन्ने गरेकी थिई उसले । तर केही दिनपछि बस्ताबस्तै बानी परेपछि त्यही संसार मन पर्न थाल्यो उसलाई । सुरुमा त अघाउँजी दुई छाकदेखि दालभात खान पाउनु नै उसका लागि ठूलो कुरा थियो । त्यही भर्नका लागि उसले सानै उमेरदेखि कतिपय गर्नु हुने-नहुने काम गर्दै आएकी थिई । कति साँझबिहान र छिप्पिएका रातहरूमा सहरका गल्ली, पार्क र देवल, मन्दिर कुरेर बल्लबल्ल एकाध ग्राहक फेला पार्ने गरेकी थिई उसले । अत्यन्त अविकसित र कमजोर लाग्ने उसको शरीर त्यस पेसाको लागि भरपर्दो थिएन ।

कलिलो उमेर र अविकसित अङ्गप्रत्यङ्गहरूको दृश्यले ग्राहकहरू उसलाई नपत्याएर पाएसम्म अर्कै मानिसको खोजीमा लाग्दथे । कसैले पत्याएर यतै कतै लागिहाले पनि उसको यौन शोषण मात्र हुन्थ्यो र कसिकसाउ गरेर भाउताउ गर्न नसकेकाले नाम मात्रको खर्च दिएर जोसुकैले पनि टार्ने गर्दथ्यो । एक-दुई पटक अलिक अधबैँसे र प्रौढ व्यक्तिहरूको घरसम्म पुगेर महिला नोकरको रूपमा दुई-चार दिन बिताएपछि उसको पुनर्जीवन सुरु भएको थियो ।

फेरि लगत्तै कुन्नि कताबाट पोल खुलेर पुन: सडकको आवारा जीवनमा नै फर्कनुपरेको थियो । त्यसपछि हन्डर-सास्तीमा जीवन गुज्रिंदै गएर हुरीको पतकर पाटीसडक र सडकपाटीको परिधिमा आवृत्त भइरहेको थियो ।

” तर बन्दी जीवन सुरु भएयता उसले पुनर्जीवन पाएकी थिई । आहारको कमीले ख्याउँटिएको कृशकाया झ्यालखानाको दालभातले सुइँठाएर मांसल सुगठित बन्दै थियो । नुहाइधुवाइ कोरीबाटी गरेर सफा लगाउन, सुग्घर बन्न र टीका, रिबन, नङपालिस र गाजल लगाएर चिरिच्याँ पर्नसमेत सिकिसकेकी थिई उसले । जेलभित्र रहेका सम्पन्न महिला दिदीहरूबाट मनको सहानुभूति र सिँगारपटारका साधनहरूको भौतिक सहयोगसमेत पाएकीले ऊ, कुण्ठाविहीन थिई र सारै सानो संसारभित्र हुने सम्पन्नताको अनुभव गरिरहेकी थिई ।

जेलभित्र महिलाहरूको नाना थरी समूह, वर्ग र समुदाय रहेछ । तर ऊ सबैको साझा थिई र निकै दिनसम्म त उसलाई यस कुराको पत्तो पनि भएन । गर्भपतन केसमा परेका अमला, मीना, राजकुमारीहरूको छुट्टै समूह थियो । तिनीहरूको भान्छा चुलाचौका र बसउठ छुट्टै थियो ।

सार्वजनिक केसमा परेका लैला, डोल्मा, याङजी, कुन्ती, सुन्तलीहरूको अर्कै समूह थियो र उनीहरूको पनि खानपिन, बसउठ र जुम्रा मार्ने, घाम ताप्ने कार्यसमेत आफ्नै समूहभित्र बसेर सम्पन्न हुन्थ्यो ।

एड्स रोगले भेटेका युवतीहरूको समूह भएकाले यसदेखि अरू महिला निकै सतर्क रहन्थे । सार्वजनिक केसमै परे पनि उसको रगत जँचाउँदा एड्स भेटिएन र ऊ आफैँ पनि छक्क परेकी थिई । भेटेजति चुलाचौका ओछ्यान चहारेर तिहुन चाख्नेदेखि क्रिमपाउडर लुटपाट गर्नेसम्म उसलाई खुला छुट दिएका थिए सबैले । जि.मा.बे. केरामा बीसौं वर्षको लागिपरेका विदेशी दिदीहरू देख्ता उसलाई पनि त्यहीँ बसिरहन पाए हुन्थ्यो जस्तो लाग्न थालेको थियो ।

छट्ने कुराको यादले मन त्यसै उडिरहेको थियो । आँखा परपर तानिए । बाहिरी संसार नदेखेको धेरै भएछ । उसका लागि त्यही अजङ्गको पर्खाल अनि त्यसैको टुप्पोबाट देखिने परको साँघुरो क्षितिज र सीधा माथि देखिने सानो आकाश मात्रै दृष्टि गोचर बन्ने गरेको छ । यति सानो संसारभित्र खुम्चिएर रहनुपर्दा उसलाई सुरुसुरुमा नियास्रो लागे पनि अब त्यो सबै हराइसकेको छ । स्वतन्त्र, स्वच्छन्द भनिने बाहिरी जीवनका अकिञ्चनता, एक्लोपन, अभाव र शारीरिक पीडाहरूले उसको मन अघाइसकेछ । ऊ निरीह काँतर र अस्थिर मन लिएर धेरैबेरसम्म टोलाइरही ।

जेल परेको दिन सम्झिई । अध्यारो साँझ । सिमसिमे वर्षा र कुहिरोले सहर ढाकेको । चौराहाको देवलमा बलैसँग टाँसिएर ओत लागेकी थिई ऊ । अनि ग्राहकको पर्खाइमा एक-एक क्षण गनिरहेकी थिई । वरपर घरहरूमा बलेको बत्तीको प्रकाशले उसलाई लाज लगाइदिएको थियो । एकसरो फ्रकले शरीर ढाकेकी र थोत्रा चप्पल गोडामा भिरेर तौलियाको घुम्टोमा कान छोपेर ग्राहकको अधीर प्रतीक्षा गर्दागर्दै प्रहरीको टोली ग्वारग्वार अगाडि आएर उसको हात टपक्क समातेको थियो ।

“मान्छे यति सानी भए पनि यस अखडाकी नामी भालु हो यो ।” उसलाई पक्रने पुलिसले घोषणा गरेथ्यो । अनि त्यसैमा सही थाप्दै सबै प्रहरी जमात गललल्ल हाँसेथ्यो । दसैंमा किनेको खसीजस्तै डोऱ्याएर उसलाई प्रहरीको भ्यानभित्र राखियो । निरीह अकिञ्चन त्यो केटी जाडो र डरले थरथरी काम्दै गाडीभित्र पसेर अँध्यारो कुनापट्टिको सिटमा टुसुक्क बसेकी थिई ।

बाटोभरि उसको आसपास बस्ने ठिटाहरूले कति गिजोलगाजोल पारे, कति अँठ्याए, कति निचोरे, कति खस्रा हात र अरू अवयवहरूले उसको कृषकाया क्षतविक्षत बनेथ्यो । त्यसको हिसाबै भएन । पक्राउ परेको रात उसलाई नगर प्रहरीको थुनुवा कोठामा राखिएको थियो । ऊभन्दा उमेर र शरीरले अलिक जेठा लाग्ने थुप्रै महिलाहरू त्यस कोठामा थुनिएका रहेछन् । तिनीहरूको माझ बस्दा निकै सहारा पाएजस्तो भएथ्यो । तिनै थुनुवा दिदीहरूले चिउरा तरकारी खान दिए । सुत्नलाई बिस्तराको छेउ अनि ओड्ने कम्बलको सहारा पाएकीले ऊ आनन्दसँग निदाएकी थिई ।

“यति सानी केटीलाई पनि पक्रने कस्ता अत्याचारी मोराहरू ।”

बिहान बिउँझँदा उसले अरू आइमाईहरूको गुनगुन आवाज सुनेकी थिई । धेरै दिनपछि महिला दिदीहरूको माझ भयरहित अवस्थामा गोडा तानेर सुत्न पाएकोमा उसलाई वात्सल्यको न्यानो महसुस भइरहेको थियो । कोल्टे फर्किएर कुनै प्रतिक्रिया नजनाई ढिलोसम्म सुतिरही ।

नौ-दस बजेतिर अरू थुनुवासरह उसले पनि तातो दालभात खान पाई। बिनाकमाइ र आफन्तबेगर नै पेटभरि खान पाएकोमा उसलाई पक्राउ परेको पछुतो मेटियो। दिउँसो प्रहरी प्रमुखको कार्यालयमा लगेर बयान लिने कार्य भयो । उसले आफ्नो जो भएको बेहोरा खुलस्त बताई । सानैमा आमा मरेकीले बाबुले अर्की श्रीमती ल्याएको अनि सानी आमाले सधैं कुटपिट गर्ने र खान नदिने घटनाले उसका मावली बाजेले काठमाडौँका कुनै घरानियाँ परिवारमा नानी हेर्ने काममा राखिदिएको चार-पाँच वर्ष त्यहाँ काम गरेपछि उसलाई अज्ञात महिलाले पैसासमेत दिएर बसपार्कको होटेललजमा पुऱ्याएर वेश्यावृत्तिमा लगाएको अनि एक दिन उसले काम गरेको लज प्रहरी छापामा परेर बन्द भएपछि ऊचाहिँ भागेर सडकका पाटीदेवलहरूमा ज्ञातअज्ञात ग्राहकहरूसँग बिकेर जीवनयात्रा चलाउँदै गरेको आदिइत्यादि कुरा नै उसको बयानका खास अंशहरू थिए ।

प्रहरी कार्यालयको बयानपछि उसलाई जिल्ला प्रशासन कार्यालयमा लगियो । त्यहाँ पनि उसले उही पुरानै बयान दोहोऱ्याई । शब्द, अक्षर र लवजहरू फरक भए पनि मुख्य मजबुन एउटै थियो अर्थात् उसले बजार, सडक, पाटी र लजहोटेलहरूमा आफूखुसी वेश्यावृत्ति गरेको कुरा खुलस्त स्वीकार गरेकी थिई । फलस्वरूप जिल्ला प्रशासनको इजलासबाट उसलाई नौ हजार रुपियाँ हदैसम्मको जरिवाना भयो । जरिवानाबापतको रकम तिर्न नसकेपछि उही प्रहरी भ्यानमा राखेर महिलाजेलको बन्दीगृहभित्र पुर्याइएकी थिई ।

महिलाजेलको मुख्यद्वारको सिक्रीभित्र छिरेर ढोकाभित्र पस्दानपस्दै एक हूल महिला बन्दीहरूले फूलको थुङ्गा दिएर उसको स्वागत गरेका थिए । अनि चिच्च्याएर ताली बजाउँदै होहो गर्दै खुसीको भाव प्रकट गर्दै उसलाई समातेर एउटा कोठाभित्र लगेका थिए । चौकीदार दिदीले बस्ने सुकुल र ओड्ने खास्टो दिएकी र बेलुकी भान्छामा लगेर पेटभरि दालभात र रायोको साग खान दिएकी थिइन् । भोलिपर्सि हुँदै दिन बितेछन् ।

पहिले केही दिन सडकको स्वच्छन्द आवारा घुमन्ते जीवन सम्झँदा जेलमा बस्न गाह्रो परेको थियो । पछि हुँदै जाँदा बानी पर्दै गएछ । साथीदौँतरी त्यहीभित्र बढे । उसकै छिमलका भन्न सुहाउने पट्ठीहरूको जमातै खडा भएको थियो । मन लागे स्कुल पढ्न जाने, मन नलागे टिभी हेर्ने या डोरी खेल्ने गरेर उसको दिनचर्या बित्न थालेको थियो । गैरसरकारी संस्थाबाट दिदीहरू आएर उसको एकसरो कपडामाथि केही लत्ताकपडा थपिदिए । दिउँसो बदाम, पिँडालु र यस्तै खिस्रमिस्री खाजा खान उसलाई सरकारले दिएको सिधाबाट बाँचेको रकम केही काम लाग्थ्यो ।

हुन त जेलभित्र कैयौं दिदीहरूका आफन्तहरू भेट्न आउने, खाजा फलफूल ल्याइदिने, सन्चोबिसन्चो बुझ्ने, साबुन टुथपेस्ट र चप्पलतौलिया आदि ल्याइदिने गरेको देख्ता उसको मन कुँडिने गर्दथ्यो र कोही आफन्त नहुनुको पीडाले डामिएर भतभती पोल्ने गर्दथ्यो । पर्खालबाहिरको संसारमा पनि खास उसको आफन्त कोही थिएन । टाढा पुगेकी आमाको अनुहार बेलाबखत झलझली आँखाआडि आएपछि ऊ आकाशतिर आँखा लगाएर आँसु बर्साउने गर्दथी । अनि साथीभाइले थाहा पाएपछि त्यसैलाई मन बहलाउने क्षण बनाएर साधारण ख्यालठट्टा गर्न लाग्दथी ।

उसलाई लागेको हदैसम्मको सजायबापत नौ महिना जेलमा बस्नुपर्ने रहेछ । उसले केही समयअघि मात्र थाहा पाएकी थिई । आज सम्झँदा नौ महिनाका समय बित्नै लागिसकेछ । केही दिनको वर्षाबादल, चिसो सिरेटो, मुटु कमाउने जाडो र मधुरो पाहार, झरी-कुहिरो आदि दृश्यमा रङ्गिँदै जेलको पर्खालभित्रको जीवन बितेथ्यो । सिनेमाका एकसाथ देखिँदै हराउने चित्रजस्तै उसको भोगाइका रङ्गीचङ्गी नानाभाँति चित्रहरू कसरी आउँदैबिलाउँदै गरेर उसलाई एकलासमा छाडिदिए । सम्झँदै उसको मन निरीह र खिन्न बनिरहन्छ ।

उसले सामान्य बन्दाबन्दै पनि मनको पीर बाहिर देखा पर्न थालेछ । बिहानबेलुकी झोक्राइरहने नुहाइधुवाइमा ध्यान नदिने, साथीभाइसँग बेलाबखत फर्किने अनि एकान्तमा बस्नेजस्ता क्रियाकलाप देखाएर साथीहरूलाई पनि चिन्ता गराउन थालेकी थिई । हुन त नौ महिनाभित्र उसका सहकर्मी कैयौं त्यस्ता साथीहरू जेलभित्र आए । कति जरिवाना तिरेर तुरुन्तै बाहिर निस्किए । कति कैद कट्टी गरेर गए । कति थपिए अनि केही दिनपछि फेरि घटे । फेरि थपिए । अनि फेरि घटे । थपिनु र घट्नुको क्रम जेलभित्र साधारण भए पनि उसका लागि भने असाधारण लागिरहेछ ।

अब दुई-तीन दिनभित्र बडो पर्खालभित्रको सुरक्षित जीवनको सट्टा पर्खालबाहिरको सीमाहीन संसारमा ऊ भौंतारिनेछ । अटव्य जङ्गलमा उसले आत्मरक्षाको छहारी खोज्नुपर्नेछ त्यहाँ उसलाई चिथोर्न भनेर हजारौं स्याल र भालुहरू दुम्किरहेका छन् । उसको कोमल शरीरलाई डस्न भनेर हजारौं गोमन र अजिङ्गरहरू फणा फैलाएर बाटो ढुकिरहेका छन् । उसको किशोर कायालाई चपाउन भनेर हजारौँ भोका सिंह र बाघहरू तछाडमछाड गर्दै ढोका कुरिरहेका छन् । उसलाई पर्खालबाहिरको भयङ्कर संसारले घुमीघुमी मनमा आक्रमण गर्न थाल्यो । बाहिर बजार, सडक, गल्ली, पार्टी, लज, रेस्टुराँहरू सबै जङ्गलको बिहड झाडी, ओडार र गुफा प्रतीत भयो । मान्छेका बोलीहरू गीतसङ्गीत र सारा रसरङ्गहरू भयङ्कर जनावरहरूका चीत्कार र गर्जनको रूपमा सुनिन थाले । मस्तिष्कका कोषिका अनि विचारका तन्तुहरू तिनै भयानक चीत्कारबाट प्रताडित हुँदै तिरोहित हुन थाले । बस्ताबस्तै सम्झनाशक्ति नै विशृङ्खल भएर अन्यमनस्क बन्न थाली र बिस्तरामा मुन्टो राखेर घुँक्कघुँक्क रुन थाली ।

आखिर बस्नुपर्ने सबै दिन बितेछन् । अब उसले जेलभित्र बस्न पाउने कुनै सिङ्गो दिन पनि बाँकी रहेन । बिहानै चौकीदार दिदीले आएर उसलाई छुटकाराको जानकारी दिइन् । अनि औपचारिक पुर्जीसमेत हातमा राखिदिइन् । रातभरि रुँदारुँदै उसको निद्रा कचल्टिएर आँखा राता थिए । अनुहार निस्तेज र मन उद्विग्न थियो । हातमा परेको पुर्जी उसले सिरानमाथि राखी अनि कोठाबाहिर निस्किएर भित्री पर्खालको वरिपरि घुम्न थाली ।

“लुगाफाटा बाँधेर ठीक पार्नु, खाना खाएर जाने हो तँ ।” चौकीदार दिदीको आदेश थियो । उसले दिदीतिर दयार्द्र अनुहार देखाएर केही नबोली स्वीकृति जनाई ।

“दिदी म अब कहाँ जाने ?” भनौँभनौं लागेथ्यो । तर उसले केही भनिन । पर्खालबाहिरको आफन्तविहीन संसारमा एक्लै पाइला राख्न डर लागेर आयो ।

बन्दीगृहका भञ्ज्याङ, करेसा, शौचालय कतै लुकेर बस्न पाइन्छ कि भन्ने उडुवा कल्पना उसको मनमा आयो । अनि तत्काल प्रहरी र बन्दी नाइकेहरूले उसको खोजतलास गरेर ढाड सेक्ने डरले मन फर्कियो । ठूलो पर्खालको सुरक्षाकवच बनेको बिजुलीको नाङ्गो तारतिर आँखा परे । पर्खालबाहिर सर्वत्र असुरक्षाको बाढी आएको सम्झिएर मन त्रस्त भयो । रुचिनरुची दुई-चार गाँस भात खाएर उसले हातमुख धोई । अनि लुगाफाटाको सानो कुटुरो बोकेर ऊ महिला प्रहरीको साथमा मूलढोकाबाट पर्खालबाहिर निस्किई ।

“अस्तिजस्तै सार्वजनिक अपराधमा फेरि यहीं आउन त कसो नपाइएलान् !” मनमनै अलि दरिएर ऊ फेरि पुरुषग्राहकको तलासी गर्ने योजना बनाउँदै थिई ।

अलिबेरपछि प्रहरीले मूल सडकसम्म ल्याएर ल जाऊ भन्दै छाडिदियो । ठूलो तलाउमा छाडिएको एक्लो माछाको भुरा सहरको भीडमा ऊ बेपत्ता भई ।

(नरेन्द्रराज पौडेलको कथासंग्रह ‘पर्खालबाहिर’बाट)