आज हामीले उनलाई बेलुकी खान निम्ताएका थियौँ । साँझमा उनलाई लिन जान मैले गाडी ग्यारेजबाट निकाल्दा मेरी श्रीमतीले मलाई व्यङ्ग्यको झटारो नहानेकी होइनन् । तर म आज संसारको सबै झटारो सहेर पनि पुलकित, रोमाञ्चित हुन सक्ने अवस्थामा पुगिसकेको छु । सायद चालिस वर्ष नाघेपछि मान्छे यस्तै उन्मुक्त अवस्थामा पुग्छ होला त्यसैले त हाम्रो गीतकारले रचेको गीत- “चालिस, बर्से जीवनलाई सलाम” – त्यस्तो औधि लोकप्रिय भएको होला ।
म गाडी लिएर उनको होटेलमा पुगेँ । पालेलाई उनको नाउँ भनेपछि उसले मलाई होटेलको बैठक कोठामा लगेर राख्यो र उनलाई बोलाउन गयो । तरुनो उमेरको पहिलो चोटिको प्रेमी जस्तो मेरो मुटु ढुकढुक गरिरहेको थियो । १५ वर्ष अघि दार्जिलिङमा उनलाई पहिलो पटक भेट्दा मेरो मुटु यसरी नै ढुकढुक गरेको थियो ।
जोगी रङ्गको सारीमा उनको सुकुमारी शरीर र स्याउ जस्ता गाला अत्यन्त खुलेको थियो । पहिलो भेटमा नै म उनी प्रति साहै आकर्षित भएको थिएँ तर उनले मेरो उति वास्ता गरिनन्, मैले भने उनलाई पछ्याउन छोडिनँ । एक महिनाको मेरो दार्जिलिङ प्रवासमा मैले उनलाई निकै पछ्याए पछि मात्र उनी मसँग केही खुलेर कुरा गर्ने भइन् । हाम्रो चर्चा सङ्गीतमा र साहित्यमा हुन्थे । मैले नेपाली साहित्य पढेकै थिइन र एक दिन उनले मलाई सभ्य झटारो हानिन्- “बम्बई जस्तो सहरमा बस्नुभयो भन्दैमा तपाईंको नेपाली मोहडा बम्बईया हुन सकेको छैन भने भाषा र संस्कृति चाहिँ किन नेपाली रहन सकेन ?” म मुसुक्क हाँसें मात्र लट्ठिएको मान्छे जस्तो, जवाफमा केही भन्न सकिनँ । अर्को दिन उनले मलाई निकै नेपाली पुस्तकहरू उपहार दिइन् । उनी मलाई आफ्नोपनमा फर्काउने चेष्टा गर्थिन्, म उनलाई आफ्नो बनाएर बम्बई लान चाहन्थेँ ।
यही क्रमले दिनहरू बिते र बम्बई फर्किन एक साता मात्र बाँकी छँदा मैले उनलाई विवाहको प्रस्ताव राखेँ । उनले बडो शिष्ट र मृदु स्वरमा भनिन्- “क्षमा गर्नुहोला म कसैलाई प्रेम गर्छु ।” कति उदार थिइन् यी पहाडकी छोरी । कुनै स्वाङ् नै नपारी उनले मेरो प्रस्तावलाई सत्यता र स्पष्टतासँग अस्विकार गरिन् । मैले उनलाई श्रद्धाको आँखाले हेरेँ । प्रेम र श्रद्धा दुई अनमोल मनुष्यनिधि मैले उनको चरणमा अपें भक्तले जस्तै ।
मैले आर्द्र भएर भनेँ- “तपाईं मेरो तरूण अवस्थाको पहिलो प्रेम हुनुहुन्छ, प्रथम मृदु अनुभूति । हामी बूढाबूढी भएपछि एकपल्ट फेरि भेटौँला र त्यो दिन तपाईंले थाहा पाउनुहुनेछ मेरो आजको यो याचना सहरिया मान्छेको उत्ताउलो उन्माद होइन, मेरो युवा स्पन्दन हो ।” त्यसपछि म आफ्नो घर बम्बई फर्के ।
पाँच वर्ष अघि मैले झन्डै झन्डै उनी जस्तै जिउडाल भएकी मराठी महिलासँग प्रेम विवाह गरेँ । हाम्रो दाम्पत्य जीवन सुखी छ । हाम्रो एउटा छोरो पनि छ तीन वर्षको । उनी यहाँ सामाजिक सेवाको अध्ययन गोष्ठीमा आएकी रहिछन् । उद्घाटनको दिन मेरी श्रीमती र म पनि गएका थियौँ, त्यहीँ हाम्रो भेट भयो ।
पन्ध्र वर्षको समयले उनमा विशेष केही परिवर्तन ल्याएको थिएन, मात्र अनुहार केही पोक्चो देखिन्थ्यो । जिउडाल, रूप रङ्ग त्यस्तै थियो । पर्सि उनी दार्जिलिङ फर्किने, आज हामीले उनलाई बेलुकीसँगै भोजन गर्ने निम्तो गरेका थियौँ । उनी बैठकमा आइन् । खयर रङ्गको सारी र त्यस्तै चोलोमा उनको रङ्ग अझ गुलाबी देखिन्थ्यो, सायद उनमा पनि आवेश उत्पन्न भएर त्यति गुलाबी देखिएकी हुन् कि ?
तर उनको हिँडाइ संयमित छ, उनी आवेशमा छैनन् क्यार । मैले उठेर उनलाई नमस्कार गरेँ । नमस्कार आदन-प्रदान भएपछि हामी गाडीमा गएर बस्यौं मैले गाडी हाँकेँ । गाडी घरतिर नलगेर मैले जुहु समुद्र किनारतिर लगें । जुहुमा गाडी थामेर मैले उनलाई भनें- “समुद्र किनार घुम्न जाऊँ है ?”
केही नबोली उनी मसँगसँगै हिँडिन् । हामी बालुवा माथि बस्यौँ ।
उनी बल्ल बोलिन् र सोधिन्- “केटाकेटी कति छन् ?”
मैले जवाफ दिएँ- “एउटा छोरा तीन वर्षको ।”
ठट्टा गर्न मन लाग्यो र सोधें- “तपाइँको नि ?”
उनले पनि हाँस्दै भनिन्- “दुई हजार ।”
हामी दुवै हास्यौं र फेरि गम्भीर भयौँ ।
मैले भनेँ- “बिहे गर्नु भएन ?”
उनले गम्भीर भएर भनिन्- “उहाँको मृत्य भयो ।” कुरा टुङ्गियो ।
मनमनै भनेँ- कति निश्छल छिन् मेरी आराध्या । हरएक कुरा स्पष्टसँग सत्य भनिदिन्छिन् । सुन्नेलाई हलुको हुन्छ तर उनलाई कस्तो हुँदो हो ।
मैले आर्द्र भएर भनें- “मेरो श्रीमती कताकता तपाईं जस्तै छन् ।”
उनी फेरि बोलिनन् । दाहिने हातको जेठी औँलाले बालुवामा रेखा कोरिरहिन् । त्यसैबेला फूल बेच्ने मान्छे सुगन्धित फूलका माला लिएर आयो र भन्यो- “साहब गजरा चमेलीका ।”
मैले चमेलीको चुल्ठोमा लाउने सानो माला किनेँ । फूल बेच्ने मान्छे गएपछि उनको चुल्ठोमा माला बाँधिदिने अनुमति माग्दै अङग्रेजीमा भनेँ- “मे आइ ?” (लाइ दिउँ ?)
उनले भनिन्- “मलाई चुल्ठोमा फूल लाउन मन लाग्दैन ?”
मैले आग्रह गर्दै भनें- “यति हक पनि दिनु हुन्न मलाई ?”
उनले हुन्छ भन्दै टाउको थापिदिइन् । मैले चुल्ठोमा माला बाँधिदिएँ । हामी फेरि चुपचाप समुद्रलाई हेरिरह्यौं । जून उदाएपछि त्यहाँ छालहरू तरङ्गित भइरहेका थिए । सागर अथाह, अभेद्य र विशाल भए पनि माथि उर्लिएका छालहरू मेरा मनका इच्छा र चाहनाका आवेश जस्तै उकालो-ओरालो गरिरहेका थिए ।
उनले भनिन्- “जाऊँ अब ।”
मैले आग्रह गर्दै भनेँ- “बसौँ न एकछिन, फेरि भेट हुन्छ हुन्न ।”
उनले भनिन्- “म भवितव्यमा विश्वास गर्छु । हामी त नाटकका पात्र मात्र रहेछौँ, खेलाउने अर्कै रहेछ ।”
मैले भनेँ- “त्यसो भए तपाईं भवितव्यलाई सबै कुरा सुम्पेर मेरो प्रेम स्वीकार गर्नुहोस्, किन यो भारी बोकी रहनु व्यर्थमा !”
उनले मुसुक्क हाँस्दै भनिन्- “प्रेम प्राप्तिमा पूर्ण हुँदैन, शेष होला बरू । तपाईंकी पत्नी र छोरा तपाईंको जीवनको आवश्यकता हो । मेरो स्मृति एउटा मीठो सपना दुवै तपाईंलाई चाहिन्छ । दुवै आफ्ना ठाउँमा रहन दिनुहोस् ।”
मैले उनको आँखामा हेर्दै सोधें- “तपाईं नि ?”
उनले भनिन्- “नियतिलाई सुम्पेको छु ।”
जबरजस्ती उनको हात समातेर भनें- “प्रतिज्ञा गर, गर प्रतिज्ञा ! जीवनमा कुनै दिन तिमीलाई मेरो खाँचो पर्यो भने तिमीले मलाई नै बोलाउने छौ, अरू कसैलाई होइन ।”
थाहा नै नपाई मैले उनलाई तपाईंबाट तिमी भनिसकेछु ।
उनले आर्द्र कण्ठमा भनिन्- “हे भगवान् !” अनि मेरो कुममा टाउको राखेर भनिन्- “हुन्छ, म प्रतिज्ञा गर्छु, तर हे भगवान् त्यो दिन कहिले न आओस् ।”
त्यसपछि उनको आँसुले मेरो कुम भिज्यो । त्यो भिजाइले मेरा सारा आवेशहरू शान्त भए । मेरो हृदय मृदु वेदनाले भिज्यो । प्रेमपछिको अर्को उत्कृष्ट अनुभूति सहानुभूति हो । उनले त्यही मलाई अर्पेकी थिइन् । यसरी केही क्षण बितेपछि उनले नै सपना भङ्ग गर्दै भनिन्- “जाऊँ अब, श्वेता पर्खिरहेकी होलिन् ।”
श्वेता मेरी श्रीमतीको नाउँ । उनले त्यो नाउँ त्यसरी आत्मीयताको जस्तो उच्चारण गरेको सुन्दा मेरो हृदय मोहको दुई थोपाले निथ्रुक्क भिज्यो । त्यो मोहको क्षण मेरो जीवनमा निधि भएर रहने छ सधैँ ।
उठेर मैले गाडी हाँकेँ । उनी अगिल्लो सिटमा मेरो छेउमा बसिन् ।
(देवकुमारी थापाको जन्म विसं १९८५ मा भारतको खरसाङमा माता रमादेवी र पिता हस्तबहादुर कटुवालकी सुपुत्रीका रूपमा भयो । उहाँ नेपाली कथा साहित्य क्षेत्रका सगरमाथा हुनुहुन्थ्यो । नेपालमा प्रवेश भएपछि उहाँ समाजसेवामा पनि आबद्ध हुन हुनुभयो । विभिन्न विधाका उत्कृष्ट कृतिहरू प्रकाशन गर्नुभएको थापाले आझेलमा परेका प्रतिभाको सम्मानमा मेजर बब्बरसिंह थापा स्मृति पुरस्कारको स्थापना गर्नुभयो ।
‘मोहको एउटा क्षण’ कथा उहाँको उत्कृष्ट कथाहरू मध्ये एक हो । प्रस्तुत कथामा प्रेमको परिभाषालाई विशेष किसिमले प्रस्तुत गरिएको पाइन्छ । अप्राप्तिमा पनि प्रेम पूर्ण रहन्छ भन्ने मीठो सन्देश बोकेको छ ।)
(देवकुमारी थापाका प्रतिनिधि कथासङ्ग्रहबाट )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।