“महाराज ! धर्तीलोक भन्दा पर अर्को लोक छ, परमात्माले सबै संसार चलाइरहेका छन् भन्ने कुरामा कसरी विश्वस्त हुने ? परमात्मा छन् भने उनीसँग कसरी साक्षात्कार हुने ? धर्तीलोकको हाम्रो आर्जन मृत्यु पश्चात् पुरै व्यर्थ हुने हो भने यत्रो मेहेनत-परिश्रम र दौडधुप किन गर्नु ?”

हे भक्त, साधारण सांसारिक गृहस्थको रूपमा तिमीले राखेको जिज्ञासा अत्यन्त सान्दर्भिक र उपयुक्त छ । हाम्रो सनातन हिन्दु धर्मसँग सम्बन्धित गौरवशाली पौराणिक ग्रन्थहरूको गहन अध्ययनबाट र स्वयंको चिन्तन, ध्यान, जप एवम् तपशक्तिबाट मात्र अनुभूत गर्न सकिने परमात्माको साक्षात्कारको विषयमा मैले यो अल्प समयमा तिमीलाई पुरै छर्लङ्ग बनाउन त नसकौंला, तर त्यो सत्मार्गमा एउटा पाइला अघि बढाउन तिमीलाई प्रेरित गर्ने कोशिश अवश्य गर्नेछु ।

पञ्चतत्त्वले बनेको हाम्रो शरीरमा आत्माको प्रविष्टि बिना जीवनको अस्तित्व नहुने र जीवनचक्रको समाप्ति पश्चात् आत्माले शरीर छोडेपछि शरीर पुनः पञ्चतत्त्वको पिण्डमा सीमित रहने कुरामा कुनै द्विविधा नहोला । जीवनकालभर हाम्रो मन र शरीर संचालन गर्ने आत्मा नै परमात्माको अंश हो । परमात्मासँग आत्मा निरन्तर सम्पर्कमा रही उचित मार्गदर्शन प्राप्त गरिरहने वातावरण बनाउन सकेमा शरीरका इन्द्रियहरू आत्माको वशीभूत भै  जीवन सत्मार्गतर्फ डोरिन्छ र सार्थक बन्छ, अन्यथा लगाम बिनाको घोडा झैँ मन इन्द्रियको वशमा परी जीवन दिशाहीन हुन पुग्छ र मूल्यहीन भै नासिन्छ ।

आत्माको परमात्मासँग सम्पर्क कसरी स्थापित गराउने भन्ने सन्दर्भमा यी दुवैलाई तरङ्गको रूपमा बुझ्दा सजिलो होला । दुई फरक लोकमा रहने हुँदा यिनीहरूको प्रकृति अथवा फ्रिक्वेन्सी फरक हुन्छ । रेडियो स्टेशनबाट प्रसारित तरङ्ग अनुरूपको सामाग्री आफ्नो रेडियोमा बजाउन रेडियोलाई ट्युनिङ् गरी रेडियो स्टेशनको फ्रिक्वेन्सीसँग मिलान गराउनु पर्दछ । त्यस्तै, आत्माको परमात्मासँग सम्पर्क स्थापित गराउन पनि आत्मालाई ट्युनिङ् गराउनु पर्ने हुन्छ जसका विभिन्न उपायहरू छन्, र यसको पहिलो खुड्किलो हो आत्मपरिष्कार ।

आत्मालाई विकारशून्य बनाउन परमात्मालाई एउटा तेजपुञ्जको रूपमा अथवा ओमकार स्वरूपमा  अथवा आफूले मानिआएको ईश्वरको कुनै पनि स्वरूपमा कल्पना गरी मनलाई त्यसैमा केन्द्रित गरेर पूर्ण विश्वास र समर्पणका साथ ध्यान गर्न सकिन्छ । शक्तिशाली मन्त्रहरूको नियमित र अनुशासित जप, मन्त्रानुष्ठान आदि कार्यले आत्मपरिष्कारलाइ गति प्रदान गर्दछ । त्यसभन्दा अझ माथि उठ्ने हो भने विभिन्न किसिमका तपहरूको माध्यमले परमात्मासँगको दूरी छोट्याउन सकिन्छ । सामान्य किसिमका व्रतहरूको अनुष्ठान गर्ने, धार्मिक, आध्यात्मिक, नैतिक जीवनशैली अनुशासित रूपमा अनुसरण गर्ने देखि लिएर अन्न जल त्याग गरी शरीरलाई सुषुप्त अवस्थामा प्राण वायुको शक्तिको भरमा संचालन गराई कठोर तपस्या गर्ने सम्मका विधि यसमा पर्दछन् ।

यसरी निरन्तरको जप तपले आत्मा परिष्कृत हुँदै जान्छ, परमात्मासँग ट्युनिङ् मिल्दै जान्छ र अथाह शक्ति आफूभित्र सञ्चय हुँदै जान्छ । एउटा अवस्थामा पुगेपछि परमात्मासँग आत्माको ट्युनिङ् अधिकतम मिल्न जान्छ र व्यक्ति सिद्ध पुरुष (अथवा महिला) बन्दछ । मन्त्रानुष्ठानबाट आर्जित शक्ति, तपोबल आदिले हनुमानजीको जस्तो अष्ट सिद्धि र नौ निधि समेत प्राप्त गर्न सकिने कुरामा विश्वास गर्न सकिन्छ ।

सिद्ध व्यक्ति यति शक्तिशाली हुन्छ कि उसले आफ्नो सञ्चित शक्तिको बलमा कसैलाई वरदान दिने अथवा श्राप दिने सामर्थ्य राख्दछ । जसरी बैंकमा जम्मा गरिएको पुँजीबाट हितभावले लोकोपयोगी कार्यमा खर्च गरे पनि, अथवा कसैको विनाश गर्ने उद्देश्यले अपराधिक क्रियाकलापमा खर्च गरे पनि आफ्नो बैंक ब्यालेन्स घट्ने गर्छ, त्यसै गरी स्वार्थ प्रेरित अथवा अहंकार जनित उद्देश्यले कसैलाई वरदान दिने वा श्राप दिने कार्य गर्दा आफ्नो सञ्चित तपशक्ति अवश्य क्षय हुन्छ । यसलाई कुनै कम्पनीको आर्जित मुनाफासँग पनि तुलना गर्न सकिन्छ । आर्जित मुनाफा कम्पनीले बोनस बाँडेर सिध्याउन पनि सक्छ र कम्पनीको थप विकासको लागि उपलब्धिमूलक कार्यमा खर्च गरेर आफ्नो नेट वर्थ बढाउँदै लैजान पनि सक्छ ।

यस लोकमा आर्जित धन सम्पत्ति अथवा तपशक्तिलाई परलोकमा कसरी उपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा यसलाई मुद्रा सटहीको अवधारणामा बुझ्न सकिन्छ । एउटा देशको मुद्रा अर्को देशमा साधरणतया चल्दैन, तर तोकिएको दरमा वैधानिक तवरले मुद्रा सटही गरी अर्को देशमा लगेर खर्च गर्न सकिन्छ । त्यस्तै, धर्ती लोकको आफ्नो आर्जन पनि धर्मानुकूल नैतिक आचरण, सात्त्विक आहार विहार, कुल, पितृ, ईश्वरको सेवा र दीनहीनका लागि गरिने दान-पुण्यादि कर्महरूबाट परलोकमा विप्रेषण गर्न र मृत्यु पश्चात् आफ्नो इच्छानुरूप उपयोग गर्न सकिन्छ ।

*****

यति भन्दा भन्दै भक्तले महाराज हजुरको घाँटी सुक्यो होला, पानी लिनुहोस् भनी गिलास थमाउन खोज्दै थियो । हातको तालमेल नमिल्दा गिलास भुइँमा झरेर चर्को आवाजमा ट्याङ्ग्रयाङ्ग गर्‍यो । म झसङ्ग भएर ब्युँझिएँ र सपनामा मैले दिएको आध्यात्मिक प्रवचनको किस्सा पनि गिलाससँगै झर्यामझुरुम भयो  ।