म यहाँ बसेको एक वर्ष पूरा भएकै छैन । इष्टमित्र र साथी भाइ सँग त्यति हिमचिम हुन सकिरहेको छैन । निवृत्त जीवन जिउन पनि कठिन हुने रहेछ । जीवन निष्क्रिय जस्तै हुँदो रहेछ । तथापि निवृत्त राष्ट्रसेवक समाज कोशी प्रदेशको सचिवको जिम्मेवारी पाएपछि निवृत्त साथीहरूसँगको भेटघाट बाक्लिएर सुख दुःख साट्ने अवसर मिलेको छ ।

प्राय म नियमित मर्निङ्वाक जान्छु । सदाझैँ आज पनि मर्निङ्वाक सकेर दैनिक चिया खाने पसलतिर लागे । जतनपुरे पोखरेलको दुलारीमा रहेको चिया पसलमा बिहान ग्राहकहरूको बाक्लै उपस्थिति हुने गर्छ । कोही तातो पानी पिइरहेका हुन्छन् । कोही चिया पिइरहेका हुन्छन् । कोही चुरोट तानिरहेका हुन्छन् भने कोही खैनी माडिरहेका हुन्छन् ।

एकाध मानिससँग भलाकुसारी हुन्छ । कतिसँग औपचारिक त कतिसँग अनौपचारिक गफगाफ हुन्छ । प्रायः अनौपचारिक गफगाफ नै बढी हुने गर्छ । सधै भेट हुने अनुहारसँग हेल्लो हाइ पछि चिया सुरु हुन्छ । केही समसामयिक गतिविधिबारे छलफल हुन्छ । देश र राजनीति व्यवहार र जिन्दगी, दैनिक दिनचर्या बारे क्रिया प्रतिक्रिया र टिप्पणी हुने गर्छ । एकाध मानिससँग मात्रै आत्मीयता हुने र मनको कुरा साट्ने गरिन्छ ।

हाम्रो मत दैनिक पत्रिका हेर्दै चिया पिइरहेका थिए । उमेर त्यस्तै ६८–७० वर्ष होला, अलि भद्र नै देखिने एकजना बुवा आफ्ना कथा व्यथा सुनाइरहनु भएको थियो । राजनीति र सामाजिक कार्यबारे प्रस्ट्याइरहनु भएको थियो । अहिले राजनीतिबाट निराश भएको, राजनीतिभन्दा समाजसेवा गर्ने रुचि रहेको, ज्येष्ठ नागरिक मञ्चमा आबद्ध भएर बुढा बुढीको कुरा सुन्ने ,कोही कसैको मृत्यु भएमा समवेदना दिने, भजन कीर्तन गर्ने कार्य गर्दै दिनहरू बिताइरहेको कुरा व्यक्त गर्दै राजनीतिबाट कहिले र कतिखेर गौदान गर्नु जस्तो भइरहेको छ भनेर निराशा व्यक्त गर्दै हुनुहुन्थ्यो । जीवनका उर्वर समय, रगत र पसिना ३०–३२ वर्ष पार्टीको काममा व्यर्थै लगानी भएछ भनेर हीनताबोध प्रकट गरिरहनु भएको थियो । राजनीतिले सही मार्ग पछ्याउन सकेन । नेताहरूको लफडाबाजी, देशको स्थिति सम्हाली नसक्नु भइसक्यो भन्दै हुनुहुन्थ्यो ।

म पनि पहिले त बुढाबुढीका कुरा यस्तै हुन् भन्ने सोचिरहे । जीवनको भोगाइ सबैको उस्तै त हुने होला नि भनेर त्यति ध्यान दिइरहेको  थिइनँ । अचानक राजनीतिबाट गौदान गर्ने कुराले म गम्भीर बन्न बाध्य भएँ । तर मैले केही पनि  प्रतिक्रिया जनाइनँ । उहाँ को हुनुहुन्छ ? के नाम हो ? के थर हो ? घर कहाँ छ ? त्यो मलाई केही थाहा छैन । कुन र के राजनीति  गर्नुहुन्थ्यो त्यो पनि म अनभिज्ञ नै थिएँ । के गौदान नै उन्मुक्तिको बाटो हो त ? म सोचमग्न भएँ ।

गौदान गरेपछि मुक्ति पाइने, पाप काट्ने हिन्दु परम्परा र शास्त्रहरूमा उल्लेख भएको पाइन्छ । छोइ छिटो तलमाथि केही भए पहिला पहिला पतिया नै गर्ने चलन थियो । ब्राह्मणलाई पूजा गरेर गाई दान गर्नु हिन्दुहरूको परम्परा नै रहेको छ । हिन्दु धर्मावलम्बीहरूले गौदान गर्दा पाप काटेझैँ बुद्ध, किराँत क्रिश्चियन, मुस्लिम, सिख र जैन धर्मावलम्बीहरूले कसरी पाप काट्छन् कुन्नि ? कसै न कसैलाई केही न केही कुरामा पछुतो रहेकै हुन्छ होला । ग्लानि भएकै हुन्छ होला । यसबारेमा विज्ञसँग खोजीनिती गर्नु पर्ला । मुक्तिको बाटो के हुन सक्ला ?

मानिसहरूमा किन यति चरम असन्तुष्टि छ ? किन निराशा छ ? के असन्तुष्टि र निराशाबाट उम्कने बाटो छैन ?  के धर्म र परम्पराको सहारा लिनु उचित हो ? मनमनमा अनेक तर्क वितर्क गर्दै म त्यहाँबाट उठेर हिँडें ।

म पनि फ्रस्टेड छु । कहीँ कतै सकारात्मकता छैन । निराशा, अभाव, दुःख पिडा र कोलाहलले जताततै गाँजिरहेको छ । हार्दिकता र समवेदना हराइसकेको छ । मान्छेले मान्छेलाई नै तर्साइरहेको छ । ठगिरहेको छ । लुटिरहेको छ । एक थरी ऐस आराममा बाँचिरहेका छन् भने अर्को थरी खान नपाएर मरिरहेका छन् । के यही हो त प्राकृतिक नियम ? के यही हो त हाम्रो धर्म ?

धर्मले सत्य कुरा सिकाउनु पर्छ  । अन्यायमा परेकालाई न्याय दिन सक्नु पर्छ । गरिब, दीनदुःखीलाई सहयोग गर्न सक्नु पर्छ । खाली ढोंगी, कर्मकाण्डी र पाखण्डी कुरा मात्रै गरेर जगतको भलो हुँदैन भन्ने कुरा धर्मावलम्बीहरूले बताउन सक्नु पर्छ । धर्म कसैको आस्था र विश्वास  होला । तर संसार त्यसले चलिरहेको छैन । संसार त विज्ञान र विकासले चलिरहेको छ ।

संसारका एकाध मानिसलाई मात्रै आत्मा सन्तुष्टि होला । धेरै मानिसहरू बेचैन भइरहेका होलान् । अब सकारात्मक परिवर्तन खोजौँ । फ्रस्टेशनलाई ऊर्जामा बदल्ने कोशिस गरौं । निराशा र अभावका बीचबाट सही मार्ग खोजौँ । पश्चात्ताप र ग्लानिहरूलाई घृणा गरौँ । मानवतालाई उचित ठाउँमा प्रयोग गरौँ । ताकि गौदान गरेर उन्मुक्ति मिल्ने कुरा झुटो हुन सकोस् ।