प्रमिलाको कौसीबाट प्राय: काठमाडौं सहर जम्मै देखिन्छ- धरहरा, घण्टाघर, टुँडिखेल, रानीपोखरी…। एकनाससँग कौसीबाट हेरिरहँदा उसलाई कहिलेकाहीँ यस्तो पनि लाग्छ मानो ऊ एकदम अग्ली हुँदै गइरहेकी छ । धेरैबेरसम्म एकै ठाउँमा हेरिरहन नसक्दा ऊ दृष्टि फेर्छे । टाढा-टाढाको पहाड, त्यसको शिखर, त्यहाँबाट उसको आँखा थाकेर तल ओर्लिन्छ तल, टुँडिखेल, हरियो चउर । फेरि घण्टाघर, फेरि धरहरा ।

गमलाको बोटलाई हातले किचिकिची चलाउँदै प्रमिला सोचिरहेकी छ । सोच्दासोच्दै अचानक उसलाई थाहा हुन्छ- भर्खरका बोटबिरुवालाई हातले छोइरहँदा मरेर जाने सम्भावना हुन्छ । र ऊ गमलाबाट हात हटाउँछे । उसको चेहरा कतै अल्झेको देखिन्छ ।

केही दिनअघि सावित्रीले उसलाई जुन कुरा सुनाएकी थिई त्यो कीराजस्तै उसको मनभित्र पसेर चलिरहेछ, उसलाई खाइरहेछ ।

सावित्री र राधा उसका सहेलीहरू हुन् । एक दिन दुवै जना उसको घरमा आई धेरैबेरसम्म बसेर गफैगफ गरी गएका थिए । हाँसखेल, ठट्टा त्यस दिन खूब चलेको थियो । राधाले त्यो दिन प्रमिलालाई हैरान पारेकी थिई । छिन छिनमा खिल्ल हाँस्दै उसलाई काउकुती मात्र लगाउने गर्थी । सावित्रीचाहिँ एउटै कुरालाई दोहोऱ्याई दोहोऱ्याईकन भनिरहेकी थिई । उसलाई कसैले हाँसखेल, ठट्टामा भाग लिएको अहिलेसम्म देखेको छैन होला । मानो ऊ हाँस्नै जान्दिन कि जस्तो पनि लाग्छ । कुरागराइ पनि एकतमासको हुन्छ ।

कुरैकुरामा त्यो दिन उसले यौटा अचम्मको कुरा सुनाई । कुरा थियो, उसको दाजुले बाहिर स्वास्नी राखेको । आजकाल उसको घरमा यही चर्चा छ रे । उसका आमाबाबुले हार खाएर उसको दाजुलाई भनि पनि सके रे- त्यसो हो भने घरैमा ल्याए भैहाल्यो नि । कुरा गर्दा आवाज मसिनो र कहिलेकाहीँ त सुनिन पनि मुस्किल पर्थ्यो । तर सावित्रीलाई चाहिँ आफ्नो दाजुले बाहिर स्वास्नी राखेको छ भन्ने कुरामा पत्यार लागेको छैन । जहिले पनि बाहिर जानु र रातमा कहिलेकाहीँ धेरै नै अबेर आउनुबाट उसको दाजुलाई घरमा सबैले पक्का बाहिर स्वास्नी राखेको छ भन्ने कुरा अडकल मात्र लगाएका हुन् । तर के, जसले अडकल गर्यो, त्यो साँच्चै हुन्छ र ? उसलाई त पत्यार लाग्दैन । …त्यसैले आजकाल उसलाई दाजुमाथि साह्रै नै माया लागिरहेछ ।

सावित्रीको कुरा सुन्दा प्रमिलालाई छिन छिनमा झर्को पनि लागेको थियो । एउटै कुरोलाई ऊ कैयौं ढङ्गले भनिरहेकी थिई । प्रमिलालाई सुन्न मन नलागे पनि सुनिरहेकी थिई ।

तर यस कुराले प्रमिलाको मनभित्र एउटा गहिरो आकारप्रकार खिच्दै गइरहेको थियो । दाजुले बाहिर स्वास्नी राखेको छ भन्ने कुराबाट जसरी सावित्रीलाई चाहिँ दाजुमाथि माया उब्जेको थियो, ठीक त्यसको उल्टो प्रमिलालाई उसमाथि रिस उठ्न गएको थियो । अझ गहिरिएर भन्ने हो भने ‘सावित्रीको दाजुले बाहिर स्वास्नी राखेको छ’ भन्ने कुराभन्दा पनि ‘स्वास्नी राख्नु’ यो शब्दबाट उत्पन्न जुन प्रकारको चित्र हुन्छ र जो बलजफती उसको मस्तिष्कमा प्रवेश गर्न खोजिरहेछ, त्यससँग ऊ उसै दिनदेखि लड्न थालिसकेकी थिई । र आजसम्म पनि उसको यो लडाइँ चलि नै रहेको छ ।

ऊ जतिपल्ट त्यस चित्रलाई पछार्थी, उति नै पटक चित्र फेरि नवीन रूप लिएर उसको शिरमा चक्कर लगाउन आइपुग्छ । चित्रमा प्रायः यस प्रकारका प्लेटहरू देखा पर्छन् : कहीँ लोग्नेमान्छेले स्वास्नीमान्छेलाई थिची-थिची मारेको, कहीँ घोडाको काठी बनाएर उसमाथि चढ्दै दगुरेको…र कहीँ चाहिँ यसै पनि चिटिक्क-चिटिक्क चिमट्नको लागि औँला लुकाउँदै ल्याएको…।

प्रमिलाको सानो खाने मुख खुम्चिन्छ । ऊ बराबर आङ बटार्न थाल्छे ।

स्वास्नी राख्ने भन्ने कुरै उसको लागि गलत, एकदम गलतजस्तो लाग्छ । तर जुन दिन सावित्रीले उसको दाजुले बाहिर स्वास्नी राखेको कुरा सुनाएकी थिई, त्यसै दिनदेखि प्रमिलालाई उसको दाजुमाथि रिस मात्र उठिरहेछ । त्यसो त न उसले देखेकी होस् न त चिनेकी नै होस् उसलाई । सावित्रीको दाजुको केवल काल्पनिक अनुहार बनाएर ऊ एकान्तमा उसलाई कोपर्ने गर्छे ।

यसको सिलसिलामा आजकाल उसलाई सावित्री पनि मन पर्न छाडिसकेकी छ । दाजुमाथि माया गर्ने भएकी सावित्री ।

सहसा जाँचको सम्झनाले प्रमिला कस्किन्छे । उसको जाँच ख्याक बनेर नजिक नजिक आइरहेछ । हातभरी किताब लिएर ऊ फेरि माथि कौसीमा पुग्छे । तर कौसीमा पनि आजकाल उसलाई नरमाइलो लाग्छ । वाक्क-वाक्क आउन खोज्छ, हीरामायाको दृश्य देखेर ।

ऊ जब कौसीमा पढ्न बस्छे, त्यस बखत अगाडि घरको कौसीमा हीरामाया एक प्रकारले नाङ्गैजस्ती भएर घाममा तेल लगाइरहेकी हुन्छे । तेलले च्याटच्याटती परेको मैलो आङ घाममा फर्काएर ऊ टल्काइरहेकी हुन्छे । प्रमिलालाई मनमनै उसको आङमा गोबरले हिर्काइदिऊँ जस्तो लाग्छ । उसलाई पक्का थियो, एक दिन उसको हीरामायासँग नपरी छोड्दैन । नभन्दै परी पनि हाल्यो ।

हीरामाया साबिकबमोजिम तेल लगाइरहेकी थिई । प्रमिला किताबमा आँखा गढाएर कुराहरू सम्झिने कोसिस गरिरहेकी थिई । ऊ जति पढ्दै जान्थी, उति बिर्संदै पनि । त्यसैले ऊ बारबार पढेको कुरालाई दोहोऱ्याई मात्र रहेकी थिई । मध्याह्न भइसकेकोले घामको आँच पनि कडा हुँदै गइरहेको थियो । यस्तैमा अचानक हीरामाया जुरुक्क उठेर आधा आङ कौसीको डिलबाहिर पारी कराउन थाली- “बाबू, ए बाबू !” उसको बाबू कहीं खेलिरहेको हुँदो हो, किन सुन्थ्यो र । तर हीरामायाले बोलाउन छोडिन । अब ऊ एकसुरमा चिच्च्याहटलाग्दो आवाजले कराउन थाली, कराई नै रही । धोती उसको कम्मरबाट फुस्कन आँटिरहेछ । तर उसलाई यसको परवाह छैन । ऊ केवल कराई नै रहेकी छ । एकटङ्कारसित आइरहेको झिँजोलाग्दो आवाज सहन नसकेर प्रमिलाले प्वाक्क भनी- “छिः के कराइरा त्यो…।”

हीरामाया झस्की । किनकि ऊ एकसुरमा आफ्नो छोरालाई बोलाइरहेकी थिई । तेल र घामले टल्केको उसको अनुहारमा चिटचिट पसिना उम्र्यो, एकदम जबाफ दिन थाली-

“तिमीलाई के त… कान बन्द गर न… के तिम्रो घरबाट कराएको छ र ? आफ्नो घरबाट कराउन पनि नपाउनु बड… कराउँछु त इ :…” यति भन्दै फेरि उही आफ्नो सुरमा हीरामाया कराउन थाली- “बाबू, ए बाबू ।”

प्रमिलालाई वाक्क लाग्यो । जुरुक्क उठेर तल कोठामा गई ।

झ्यालनिर बसेर ऊ फेरि किताब पल्टाउन थाली । उसको जाँच नजिक-नजिक आइरहेछ । छिन छिनमा फेल हुँला कि भन्ने डरले उसलाई खान्छ । त्यसैले सम्पूर्ण ध्यान खिचेर ऊ पढ्नमा मन डोऱ्याउँछे । तर एकैछिनपछि उसको मन उसबाट फुत्केर कता-कता पुग्छ कता-कता-

सावित्रीको दाजुले बाहिर राखेको छ रे… स्वास्नी राख्नु ।

आजकाल किन उसलाई यी सब कुरोमा मन नपरीकन पनि लाग्नु परिरहेछ । के ऊ यसलाई बिर्सन सक्दिन ? यसलाई नसोची रहन सक्दिन ? फेरि एकैछिनमा उसको दिमाग थाक्छ । किताबबाट आँखा हटाएर अनायास ऊ झ्यालबाहिर हेर्न थाल्छे, हेर्दाहेर्दै उसलाई निद्रा लागेजस्तो हुन्छ । ऊ निदाउँछे ।

प्रमिलालाई भर्खरै दिउँसो देखेको सपना सम्झँदा यस्तो लाग्छ- मानौँ ऊ कुनै भयानक खतराबाट उम्केर आएकी छ । सपनामा उसले आफूलाई यौटा अँध्यारो ढुसी परेको छिँडीमा पाएकी थिई । ऊ भाग्न चाहन्थी, तर बाटो कतै पनि थिएन । यौटा सानो आँखीझ्याल-माकुराको जालोले बेरेको, त्यहाँबाट आउने धमिलो उज्यालोमा उसले यौटा तेजिलो छुराजस्तो आकारको कुनै चीज देखेकी थिई । डरले ऊ चारैतिर रङमङिई । अनि के भएर हो, बेलुनजस्तो, ऊ हप्प उडी । उड्दा उसको सास कसैले अँठ्याएको जस्तो भएको थियो । खस्दा ऊ ब्युँझी ।

बाहिर पानी परिरहेको हुन्छ । प्रमिला फेरि पढ्नको लागि किताब पल्टाउँछे ।

प्रमिलाकी आमालाई थाहा छ कि आजकाल प्रमिलाको जाँच आइरहेछ । ऊ हमेसा किताब लिएर पढ्न बसिरहन्छे । यस्तो बखत छोरीलाई कुनै काम लगाउनु प्रमिलाकी आमालाई ठीक लाग्दैन । तर आज उसलाई प्रमिला पढिरहेकी भए तापनि उसकहाँ नगई भएको छैन ।

हातमा चिठी लिएर प्रमिलाकी आमा कोठाभित्र आई । चिठी प्रमिलाको बाबुले पठाएको रहेछ जो धेरै दिनदेखि निजी कामले कलकत्ता बसिरहेको थियो । चिठीमा अरू कुराको अतिरिक्त एक ठाउँमा यस्तो लेखिएको थियो जसलाई पढेर प्रमिलाको मनमा के, किन भन्ने प्रश्न एकैसाथ उठ्न थाल्यो । चिठीमा लेखिएको थियो

“प्रमिलाको कानपासा, सारी र अन्य चाहिनेजति सामानहरू किनिसकें, केही छुट भएको छ भने लेखी पठाऊ; अब चाँडै नै त्यसतर्फ हिँड्नेछु…।” प्रमिलाले प्रश्नचिन्ह मुद्रामा आमाको मुखतिर हेरी । ऊ सायद सोधिरहेकी थिई- यो सब के हो ? ऊ फेरि सम्झिन खोज्छे- के उसले बाबुलाई यी सब कुराको लागि भनेकी थिई ? अथवा के उसको बाबुले जाँदा यी सब कुरा ल्याइदिन्छु भनेको थियो उसलाई ? फेरि किन त उसको लागि यी सब कुरा आइरहेछन् ? उसको कौतूहलमा शङ्का उब्जिन्छ । तर शङ्काको अर्थ उसलाई स्वयम् ठीक थाहा हुँदैन । त्यसैले ऊ चिठी फुत्त फ्याँकेर आमालाई भन्छे- “उः लिनुस् ।”

“अहिले नै सब कुरा तिमीलाई किन थाहा पाउनुपर्यो ? अहिले पढ पछि भनुंला ।”

एक्कासि “भन्नु पर्दैन” भन्ने शब्द प्रमिलाको मुखबाट करेन्टतुल्य निस्क्यो । मुस्कुराएको चेहरा देखेर त्यस बेला उसलाई उसकी आमा अत्यन्त कुटिल राक्षस्नीजस्ती लाग्यो ।

आमा बाहिर गइसकेपछि प्रमिलाले जुरुक्क उठेर जोडसित ढोका लगाई । अलि पर पुगेकी प्रमिला फर्केर फेरि ढोकामा आई । आग्लो लगाइसकेपछि उसले लामो सास फेरी । पढ्न बसी । किताबका पन्नाहरू छिटो-छिटो पल्टाउँदै गई ।

यता केही दिनदेखि प्रमिला राधाको घरमा पढ्न जाने गरेकी छ । आफ्नो घरमा बसेर उसलाई पढ्न सकुँला जस्तो लागेन । भात खाइसक्नासाथ हातभरी किताब बोकी ऊ राधाको घरतिर जान्थी । त्यहाँ उनीहरूको बीच पढाइ मात्र हैन, केही गफ पनि चल्थ्यो । जसको लागि रोज आखिरमा दुवै जना भोलिदेखि गफ नगर्ने भनी किरिया खान्थे । तर गफको सूत्र कता-कताबाट आई नै हाल्थ्यो ।

संयोगवश त्यो दिन राधाकहाँ सावित्री पनि आइपुगेकी थिई । प्रमिलालाई उसको चेहरा देख्नासाथै मनमा लागिसकेको थियो, अब कुनै न कुनै नौलो कुरा उसले सुनाउँछे । त्यस दिन प्रायः धेरैबेर गफ नै चल्यो । कुरैकुरामा सावित्रीले फेरि उही कुरो ल्याई, उसको दाजुले बाहिर स्वास्नी राखेको । तर यस सिलसिलामा अरू दिनको अपेक्षा उसले यौटा साँच्ची नै नयाँ कुरा सुनाई, जसले गर्दा प्रमिलालाई त्यस ठाउँमा धेरैबेर बस्न मन लागेन । र ऊ राधाको घरबाट निस्की ।

सावित्रीले नौलो कुरोमा भनेकी थिई : “उसको दाजुले बाहिर स्वास्नी राखेको नै रहेछ । उसलाई त पत्यार लागेको थिएन, तर उसको दाजुले अस्ति घरैमा ल्याइसक्यो । उसलाई भाउजू भन्न अलि गाह्रो परिरहेछ… तर उसकी भाउजू उसलाई माया गर्छ…।” सावित्रीलाई मायासिवाय केही चाहिँदैन । हमेसा बूढीमाउजस्ती भएर ऊ सबैबाट माया बटुल्न खोज्छे ।

प्रमिला घर फर्किरहेकी छ । उसको हिँडाइबाट थाहा हुन्छ कि ऊ ज्यादै अधीर भइरहेकी छ । हातभरीको किताब उसलाई सधैँको भन्दा गह्रौं लागिरहेछ । घर आइपुग्नु केही वरै एक ठाउँमा उसको खुट्टा मर्किन्छ जसले गर्दा उसको शरीरको सन्तुलन बिग्रेर हातका जम्मै किताबहरू भुइँमा छरिन्छन् । ऊ एकछिनसम्म सरमले भुतुक्कै हुन्छे । चारैतिर एक पल्ट सर्र हेरेर ऊ धमाधम किताब टिप्न थाल्छे ।

‍====

यसको भोलिपल्ट प्रमिलालाई उसकी फुपूबाट थाहा हुन्छ कि भित्र-भित्र उसको बिहेको तयारी हुँदै छ । फुपू उसलाई ज्यादै माया गर्छे । प्रमिलालाई पनि आफ्नी आमाभन्दा फुपू मन पर्छ । तर जब उसलाई फुपूले उसको बिहेको कुरो सुनाएकी थिई, त्यस बखत उसलाई फुपूदेखि पनि रिस उठ्यो । उसलाई लाग्यो, चारैतिरबाट उसमाथि अप्रत्याशित रूपले षड्यन्त्र चल्दै छ । यस षड्यन्त्रमा उसलाई लाग्छ, उसकी फुपूको पनि जरुर हात छ ।

यही सिलसिलामा पछि-पछि जब घरछिमेकका आइमाईहरू उसलाई जिस्क्याउन आउँथे, प्रमिला उनीहरूलाई कहिले झर्केर गाली गर्थी, कहिले त अगाडि जे फेला पर्यो टप्प टिपेर हिर्काई नै दिन्थी । मानिसहरू बिनसित्ति उसलाई नचाहिँदो कुरा गरी सताइरहेछन् । एक बाजि यस्तै ख्यालख्यालैमा उसले एउटी आइमाईलाई लोहोरोले हिर्काइदिएकी छ । एउटा ठूलै काण्ड चलेको थियो । त्यसपछि पनि आइमाईहरूले उसलाई जिस्क्याउन छोडेका त छैनन्, तर अलि टाढै रहेर प्रमिलालाई जो पनि बौलाही बनाउन चाहन्छन् । उसलाई एकछिन पनि चैन र आराम भनेको छैन ।

हावा, पात, रूख, मानिस, यहाँसम्म कि उसका आमाबाबुपर्यन्त उसको विरुद्धमा छन् । उसलाई यस घरबाट निकाल्नको लागि हुनसम्मको कोशिस भइरहेछ । उसलाई यहाँबाट धकेल्न मानो पहाड ठाउँ सरेर आइरहेछ । सारा दुनियाँ मतलबी र घनघोरको जालो हो ।

यौटा लोग्नेमान्छेको स्वास्नी बनाउन उसको वरिपरि यत्रो जालोमालो फैलिरहेछ । ऊ के कसैकी स्वास्नी बन्न सक्छे ? ‘स्वास्नी राख्नु… सावित्रीको दाजुले स्वास्नी राखेको छ’ एकाएक प्रमिलालाई उक्त कुराको सम्झना हुन्छ । सम्पूर्ण पुरुषरूप सावित्रीको दाजु हो । के ऊ कसैकी स्वास्नी बन्न सक्छे ? यो प्रश्न उसको अन्तरमा ध्वनित हुन्छ । ठूलो अजङको खण्डहरबाट मानो ऊ एक्लै कराइरहेकी छ, चिच्च्याइरहेकी छ, के ऊ कसैको स्वास्नी बन्न सक्छे भन्या ? उही आवाज प्रतिध्वनित हुन्छ, उसको हृदय पूर्णरूपले ढाक्छ ।

किताब हेर्दाहेर्दै प्रमिलाको आँखा एक वाक्यमा अड्याअड्यै छ । उसको ध्यान लँगडो मानिसको चालझैं प्रतीत हुन्छ । वरिपरि छरिएका किताबहरू थपाथप खप्टिँदै ढ्याम्म टेबुलमाथि राख्छे ।

त्यस बेला रातको अनौठो सन्नाटा फैलिरहेको हुन्छ । प्रमिला एक फेरा झ्यालबाहिर हेर्छे । केही टाढा लट्ठामा बत्ती बलेको छ । त्यसको मुनि भुइँमा धमिलो प्रकाश छरिएको शून्य छ । बाटो सुतेको जस्तै देखिन्छ । यस्तैमा परबाट त्यस पखालिएको रातमा घण्टाघरको पौने बाह्र बजेको आवाज सङ्गीतमय लहरमा पिरोलिएर आउँछ । पानीको शेष थोपा घरको छाना, काप-कापबाट तप्किरहेछ । त्यसमा पनि एक ताल र सन्तुलन छ । दिनभर अशान्त क्षुब्ध रहेको प्रमिलाको मनलाई अहिले, यस बखत केही चैनजस्तो मिलिरहेछ । यद्यपि उसलाई पनि थाहा छैन रातको यस सुनसान प्रहरमा ऊ एक्लै झ्यालबाट के हेरिरहेकी छ, कसलाई हेरिरहेकी छ, किन हेरिरहेकी छ ?

प्रमिलाको हृदयमा उठेको अनेकौं खलबली अहिले एक सुर र लयमा आइरहेछ । उसलाई आफूप्रति मोह बढ्दै छ । ऊ ज्यालबाट हेरिरहेकी छ, एकनाससँग । दिनभर उसको वरिपरि साँपतुल्य फणा उठाइरहने षड्यन्त्रका लहराहरू अहिले निदाएका छन् । ऊ बच्न चाहन्छे । कसैकी ऊ स्वास्नी बन्न सक्दिन । के ऊ सक्छे ? असहाय भावनाले कहालिएको उसको अन्तरलाई रातको यस सुनसान चकमन्न वातावरणले अँगालो मार्छ । ऊ सक्दिन, कसैकी स्वास्नी बन्न ऊ सक्दिन । उसको मनमा सहसा यौटा अनौठो विचार उठ्छ, भागूँ कि…।

अनायास फर्केर ऊ कोठाभित्र हेर्छे । कोठामा ढोका लगाएको छ र आग्लो पनि । ऊ फेरि झ्यालबाहिर हेर्छे, पहिलेको जस्तै ।

यस्तैमा, घण्टाघरले ठीक बाह्र हानेको आवाज सुनिन्छ । आवाज सिद्धिएपछि एकछिनसम्म वातावरणमा कम्पन रहिरहन्छ । त्यो केही मधुर र साथै आशङ्कायुक्त प्रतीत हुन्छ । त्यसपछि रात हद सन्नाटामा पुग्छ । प्रमिलाको सोचाइमा झन् झन् तीव्रता र वेग आउन थाल्छ । उसलाई निद्राले पट्ट छोएको छैन । ज्यालबाट उसै गरी हेरिरहेकी छ ।

प्रमिला बिस्तारै ढोका खोलेर बाहिर निस्कन्छे । भर्याङ ओर्लँदै जान्छे। जब ऊ बाहिर सडकमा आइपुगी त्यहाँ अत्यन्त सन्नाटा छाएको थियो, लामो सास फेरी अनि खास्टोले आफ्नो पूरा आङ ढाकी । ऊ हिँड्न थाली, उसको हिँडाइको गति यति नरम छ कि वरिपरि सुतेका कुकुरहरूले पनि चाल पाएनन् । प्रमिला अब सडकको बीचबाट हिँड्न थालिरहेकी छ । रातको सन्नाटामा उसलाई डरको किञ्चित् अनुभव छैन । निर्भीक एवं सन्तुलित चालमा ऊ हिँडिरहेकी छ । कहाँ जान लागेकी छु भन्ने कुराको फिक्री उसलाई अलिकति पनि छैन । मानो उसको जाने ठाउँ ठीकठाक छ, पहिलेदेखि नै बन्दोबस्तसहित छ ।

बीच-बीचमा कता-कताबाट लाटोकोसेरोको आवाज ‘चिर्र-चिर्र’ आउँछ । प्रमिलाको आङ सिरिङ्गसम्म त गर्छ, तर हिँड्न छोडेकी छैन । त्यसै गरी जसरी रातको घडी, पला, प्रहर गइरहेछ । बाटोमा जहाँ-जहाँ बिजुलीको लट्ठा आइपुग्छ, त्यहाँ प्रमिला एकछिन टक्क अड्छे । अगाडि टाढा लट्ठामा बलेको बत्ती देखेर ऊ फेरि हिँड्छे । उसको चेहरा, शरीर र त्यसको चालमा कुनै विरोध छैन । तर मनमा खेलिरहेका मिहिन कुराहरू साना-साना कीटाणु बनेर उसको मनलाई कुटुकुटु खान थाल्छन् र जसको फलस्वरूप उसलाई छिन छिनमा टक्क रोकिनुपर्ने अवस्था आइपर्छ ।

को होला त्यो आइमाई…? तर जो होस्…त्यो मूर्ख हो… सावित्रीका दाजुको त कुरै भएन… एक नम्बरको बदमास… दुष्ट !

अहिले प्रमिलालाई सावित्रीको दाजुको कुरा सोच्न परिरहेछ । सावित्रीले भनेकी थिई उसको दाजुले बाहिर स्वास्नी राखेको रहेछ, अब त घरमा ल्याई पनि सक्यो ।

प्रमिला फेरि यो पनि सोच्छे कि उसलाई आखिर के मतलब यो सब कुरामा… बिनसित्ति किन ऊ यसबाट दुःख पाइरहेकी… के ऊ यी सब कुरालाई नसोची रहन सक्दिन ?

प्रमिलालाई केही रिँगटाजस्तो लाग्छ । तैपनि ऊ हिँडिरहेकी छ । यस्तैमा अचानक खुट्टाको औंलामा ठेस लागेर उसलाई नअडी हुँदैन । अड्छे, बिजुलीको लट्ठाबाट आएको प्रकाशमा ऊ आफ्नो गोडाको औँला हेर्छे, सुमसुम्याउँछे। साँच्चि नै, अब ऊ थाकिसकी । उसको शरीर, मन दुवै भागलाई विश्रामको आवश्यकता परिसक्यो । प्रमिला आफूमाथि सोच्छे, उसलाई यौटा गुँड चाहिएको छ, जहाँ ऊ सुरक्षित रहन सकोस्, चराको जस्तै, कसैले पनि नदेख्ने । यौटा यस्तो स्थान चाहिएको छ जहाँ ऊ कीला गाडिए रहन सकोस् । उसको संवेगशील हृदयमा अकस्मात् धक्का लाग्छ । उसको मन एकदम हच्किन खोज्छ । के ऊ यस सुनसान रातमा निरुद्देश्य हिँडिरहेकी छ ? के उसको जाने ठाउँ कतै छैन ? ऊ कहाँ गइरहेकी छ ?

सम्पूर्ण रातको खोक्रो अन्धकार प्रमिलालाई प्रतीत हुन्छ – ऊ ठूलो खोलोभित्र परिरहेकी छ । केही घबडाहट र भित्रभित्रैको बेचैनी चुँडालेर ऊ जुरुक्क उठ्छे । पछिल्तिर फर्केर हेर्छे, ऊ टाढा आइपुगी । के ऊ फर्कन सक्छे ? प्रमिलाको मनले न यसलाई स्वीकृति दियो न त पूर्ण रूपले इन्कार नै । ऊ एकछिनसम्म संज्ञाहीन भएर उभिरही । यत्ति नै खेर घण्टाघरको आवाज सङ्गीतमय रूपमा बोल्छ । दुई बज्छ ।

प्रमिला अगाडि नै बढ्छे, ऊ आफूलाई फर्काउन सक्दिन । छिन-छिनमा सिर्र-सिर्र हावाको तीव्र लहरले उसको शरीरलाई छुन्छ, तर कँपाउन सक्दैन । उसलाई न जाडो न गर्मी वा कुनै प्रकारको वेगले पनि हल्लाउन सकेको छैन । अब ऊ टुँडिखेलको चउरबाट हिँड्न थालेकी छ ।

प्रमिला दायाँ बायाँ, अगाडि कतै नहेरी केवल माथि आँखा लगाएर हिँडिरहेकी छ ! माथि आकाश छ । कुम्म उप्सेका ताराहरू फूलजस्ता देखिन्छन् । प्रमिलाको मनमा विचित्र खालको अनुभूति र कल्पना पाक्न थाल्छ । ऊ जति-जति हेर्दै जान्छे उति उति आकाश तल-तल आइरहेको उसलाई भान पर्छ । त्यस नीरव रातमा आत्मसात्को भावनाले धकेलिएर आकाश टुँडिखेलको मैदानमा ओर्लिरहेछ । चारैतिरको छेउबाट उसको आलिङ्गनबाहु फैलिरहेछ । प्रमिला किन त्यसरी तल्लीन भएर हेर्दै गएकी ? यसरी माथि-माथि हेर्दा अँध्यारोमा कहीं धक्का लाग्ला अथवा लडुँला भन्ने कुराको आशङ्का उसको चेहरामा कत्ति पनि छैन । माथि हेर्ने हो भने उसले हिँड्न छोडिदिनुपर्छ । या हिँड्ने हो भने माथि हेर्न छोड्नुपर्छ । तर प्रमिला, ऊ त उही पहिलेकै जस्तो माथि हेरिरहेकी छ र साथै हिँडि पनि रहेकी छ ।

बरु एक कुरा उसमा अहिले केही नौलोजस्तो देखिएको छ । त्यो हो पहिलो जुन रूपमा सीधा आङ फुकाएर ऊ हिँडेकी थिई, अहिले त्यस्तो छैन । ऊ केही खुम्चिएकी छ, उसको शरीर छिन छिनमा गुजुमुजुक्क पर्छ । माथिबाट झवाट्ट केही खसेर लाग्ला भन्ने आशङ्का उसको मनमा मूर्खतापूर्ण ढङ्गले आइरहेछ । यद्यपि उसलाई थाहा छ माथि आकाश छ, अरू केही छैन । र त्यसो त आकाश खस्न सक्दैन भन्ने कुरा पनि उसलाई थाहा नभएको हैन ।

टुँडिखेलको छेउ आइपुग्न शेष बाँकी छ । प्रमिला माथि हेर्दै गएकी छ । उसको हिँडाइको दिशा हेर्दा अब ऊ निश्चय नै झुलेको तारमा अल्झिने सम्भावना छ । उसको सम्पूर्ण स्थिति उही छ । केवल हिँडेर ठाउँ छोड्दै गएकी छ- यही यौटा नौलो छ । तर भयो अर्कै । उसको शरीरभर बिजुलीको गतितुल्य यौटा तीखो लहर उठ्यो, जब उसको जीउको अत्यन्त रोमाञ्चकारी अङ्गमा धक्का लाग्न पुग्यो । उसले उत्तिखेरै जमिनमा हेरी, अनि आफ्नो अगाडिको चिल्लो रूख जहाँ उसको छाती जुध्न पुगेथ्यो । त्यस एक क्षणको तिक्ततामा उसको मुटु ढक्क फुलेको थियो । भित्रको आशङ्का मेट्न बिस्तारै उसले रूखलाई छोई जसलाई एकछिनअघि मात्र उसले यौटा मान्छे भनी ठानेकी थिई ।

मान्छे…, लोग्नेमान्छे, जसभित्रबाट ठसठसी साँढे-साँढेको गन्ध आउँछ । अनि अचानक प्रमिलालाई याद आउँछ, उसको बिहेको कुरो । घरमा उसको बिहेको भित्रभित्रै तयारी हुँदै छ ।

उसको बिहाबारे घरमा उसलाई कसैले पनि भनेका छैनन् । उसका आमाबाबु सब चुप छन्, थाहा नपाजस्तै गरिरहेछन् । उसकी फुपू हो जसले उसलाई उसको बिहेको कुरो सुटुक्क सुनाएकी थिई । उसकी फुपू पनि गजबकी छिन् । उनलाई हरेक गोप्य कुरो थाहा छ । रहस्य कोतर्न उनी खूब जान्दछिन् । आफ्ना छिमेकी, इष्टमित्रकहाँ हुन लागेको सानोभन्दा सानो कुरो पनि उनलाई थाहा नभई छोड्दैन । उनको अरू कामै पनि त के छ र । एक्लो जीउ, पोइले छोडिगएको सम्पत्ति छँदै छ । खायो अनि यस्तै कुराहरू खोतल्न थाल्यो । मानिस भन्छन्- उनी बाह्र वर्षको उमेरमै विधवा भएकी थिइन् रे । अहिले उनी पचास वर्षकी भइसकिन् । तर उनलाई बढी नै भनेर कसैले ठम्याउन सक्दैन ।

जुन दिन प्रमिलालाई उसकी फुपूले बिहेको कुरो सुनाएकी थिइन् त्यस बेला फुपूको अनुहारमा अत्यन्त रहस्यपूर्ण मुस्कान फुटेको थियो । मानो उनलाई हुन लागेको यस बिहेमा अपार हर्ष र खुसी लागिरहेछ । किन उसलाई केको खुसी ? प्रमिलालाई त्यस बेला फुपूको मुखदेखि घिन लागेको थियो । उसकी फुपू आफ्नै बिहे हेर्न लागेकी जस्तो खुसी थिइन् । आखिर उनलाई उसको बिहेबाट खुसी उठ्ने किन ? के उनैले त जोड गरेकी छैनन् उसकी आमालाई ? के उसकी सोझी आमा फुपूको हाहामा लागेर नै उसको बिहेको तयारी गर्न लागेकी त होइन ? आमा आखिर आमै हुन्छन् ।

कमसेकम उसकी आमा उसमाथि यस्तो निष्ठुरी काम गर्न सक्छे ? के आमालाई छोरीको माया हुँदैन ? जे होस्, उसकी आमा निर्दोष छ, माया भएकी नै छ । सोफी छ, त्यसैले अरूको हाहामा लाग्छे… उसकी फुपू जसलाई आफ्नै बिहे गर्न मन छ, गर्दी हुन्, तर अरूको बिहेबाट आनन्द लिन उनलाई कसले सिकायो ? किन उनलाई यसबाट आनन्द मिल्छ ? के उनको हृदय पापी हैन ? के उनी आफ्नो पापी हृदयलाई कहिल्यै देख्न सक्दिनन् ? के प्रमिला देखाइदिन सक्छे ? तर अब त उसकी फुपूले परिस्थिति नै यस्तो ल्याइदिसकिन् जसमा या उसले खुसीराजी कुनै लोग्नेमान्छेको स्वास्नी बन्न मन्जुर गर्नुपयो या त झुन्डिएर अथवा हामफालेर मर्नुपयो….

कसैको स्वास्नी बन्नु – यो त प्रमिलाबाट हुनै सक्दैन । यस कारणले पनि हुन सक्दैन कि ऊ दुष्ट फुपूको मुराद पूरा हुन दिन चाहन्न ।

बरु ऊ…

प्रमिला बाग्मतीको पुलनिर आइपुग्छे र अहिले ऊ किनारैकिनारबाट हिँडिरहेकी छ । रातको सन्नाटा उत्तिकै छ, दुई-चार दिन उताको अघोर वर्षाले गर्दा बाग्मतीको पानीमा धाराहरू उठिरहेछन् । पानीको त्यस संवेगशील गतिले प्रमिलाको मन् हल्लाउन थाल्छ । ऊ किनाराको एक डिलमा बसेर हातले पानी खेलाउन थाल्छे ।

धेरैबेरसम्म व्यग्रतापूर्वक कुनै कुरालाई सोचिरहँदा प्रमिलाको चेहरा सोहोरिएर जान्छ । उसको अनुहारमा छाएको निस्तब्धता ज्यादै मौन छ, शान्त छ । केवल ऊ आफ्नो मनलाई खन्दै गइरहेकी छ । मानो आफूलाई कुनै खाल्टोभित्र पुर्न पाए पनि हुन्थ्यो भन्ने विचार उसमाथि अनौठो रूपले आइरहेछ ।

बाहिर हेर्दा ऊ ज्यादै मौन छ, शान्त छ, पानीमा औंला खेलाइरहेकी छ । एक्कासि उसको मुखबाट ‘नाइँ’ भन्ने शब्द कुँडिएर आउँछ । प्रमिला फेरि सोच्न थाल्छे ।

आखिर उसकी फुपूलाई उसको बिहे गराएर फाइदा के छ ? यसबाट उनले के पाउँछिन् ? के उनले धर्म पाउँछु भन्ठानेकी छिन् ?

प्रमिलाको मन फाट्न थाल्छ । नजानी-नजानीकन ऊ भित्रभित्रै फुपूलाई सराप दिइरहेकी छ । छल र कपटले बुन्दै ल्याएको जालमा परेकी प्रमिला- ऊ जति-जति सोच्दै जान्छे उति उति उसको मन असहाय भएर कहालिन्छ । अब उसको मन प्रतिक्षण दुर्बल हुँदै गैरहेछ । आफूमाथि अनायास ऊ दया थुपारिरहेकी छ । उसलाई समस्त वस्तु खल्लो र निःसार प्रतीत हुन्छ । जीवनको निरर्थकता र ऊ आफ्नो बाँच्नुको व्यर्थतापर्यन्त थाहा पाउँछे । उसको हर सोचाइमा अब विरागले छुन थाल्छ । आफ्नो अस्तित्वको मोह र अनुरागमा बाँच्दै आएकी प्रमिला, अहिले ऊ आफ्नो अस्तित्वलाई नष्ट गर्ने विचारले कत्ति पनि हडबडाएकी छैन । उसमा आत्महत्या गर्ने भाव जागरूक हुन थालिरहेछ । पानीबाट उसको हात हटेर अघि नै गुजुमुज्जिसक्यो । धुम्म एकनासले ऊ बाग्मतीको वेगलाई हेरिरहेकी छ । चारैतिर शून्य, निस्तब्ध उत्तिकै सुनसान छ ।

त्यस रातको वातावरण जसमा केहीबेरअघिसम्म हावाको गति एउटै सन्तुलन र प्रकारमा थियो अब त्यसमा अहिले केही परिवर्तन आउन थालिरहेछ । के बिहान हुन लागिरहेछ ? बिहानको कल्पना प्रमिलाको लागि दु:खद लाग्छ । भोलि, पर्सि, निपर्सि जति हुन्छन्, ती सब उसलाई सताउने समयबाहेक केही हुनेछैनन् । के ऊ भोलि बिहानसम्म पर्खिन सक्छे ?

घण्टाघरबाट चार बजेको आवाज आउँछ । अब बिहान हुनलाई धेरैबेर बाँकी छैन । त्यसो त अहिले उज्यालो भइसकेको छैन । रातको अन्धकार नै बाँकी छ । सुनसान छ, उत्तिकै चकमन्न पनि । भोरको प्रहर खुल्ने तयारी मात्र भइरहेछ । प्रमिलाको मनबाट त्यस रातको अन्धकारप्रति रहेको मोह छुट्न खोज्छ । आउन लागेको बिहान, जसद्वारा चारैतिर उज्यालो छरिन्छ, त्यस बखत के ऊ सबै थोक हेरिरहन सक्छे ? उज्यालोमा हुने सम्पूर्ण मिथ्या, जालझेल, कपट, षड्यन्त्र… उफ् के ऊ सबै टुलुटुलु हेरिरहन सक्छे ? ऊ निसासिएर मर्दिन ? अबदेखि निःसार संसारलाई ऊ हेर्न सक्दिन… हेर्न पनि चाहन्न । प्रमिला यथावत् किनारमा गुजमुज्जिएर बसेकी छ । बाग्मतीको पानी अघिजस्तै वेगले बगिरहेछ । भोर हुन-हुन आँटेको छ । प्रमिलाको मन छिन छिनमा आफूबाट हुत्तिन्छ, यद्यपि उसको शरीर जहाँको तहीं नै छ । यस्तैमा ग्वाम्म प्रमिला हामफाल्छे, हामफालेको कल्पना गर्छे ।

त्यस बखत उसको दुवै हातको पन्जा ढुङ्गालाई मिचिरहेकै हुन्छ ।

ऊ झन् जमिनमा टाँस्सिएर बस्छे ।

“को हँ…?”

प्रमिला बस्याबस्यै झसङ्ग हुन्छे । यत्तिका बेरसम्मको सुनसानबाट उसलाई यो आवाज सुन्दा ज्यादै नौलो लाग्छ ।

प्रमिला फर्केर पछाडि हेर्छे । एउटी बूढी आइमाई ऊनजिकै आएर उसलाई नियालेर हेर्न थाल्छे ।

“किन नानी… यस्तो बेला किन यहाँ एक्लै बसेकी… के भो…?”

त्यस बूढी आइमाईको बोली-वचनमा अगाध माया उम्रेको देखिन्छ, मानो ऊ प्रमिलालाई धेरै दिनदेखि चिन्दछे, उसलाई राम्रै गरी जान्दछे ।

“केही होइन… यसै…” प्रमिलाले अनकनाउँदै केही शब्द बोली ।

त्यसपछि बूढी आइमाईले प्रमिलाको आङ, पाखुरा, शरीरको सबै अङ्ग राम्रो गरी सुमसुम्याउन थाली । मानो ऊ प्रमिलाको जाँच गरिरहेकी छ । “के भो… कसले के गर्यो नानीलाई…?” बूढी आइमाईले फेरि सोधी । आफूप्रति बारम्बार सोधिएको यस प्रकारको प्रश्नबाट प्रमिलाको मनमा त्यस बूढी आइमाईउपर सद्भावनाको अपेक्षा केही क्षोभ पैदा हुन थाल्छ । आङलाई यता र उति सारी, बूढीको हात हटाउने चेष्टा गर्दै उसले भनी- “केही होइन… तपाईंको … ”

“मेरो घर उ :… त्यै हो नानी…’

अलि पर हातले देखाउँदै बूढीले भनी- “नानीले मलाई नचिनेर के, मैले चाल पाइहालेँ… बेइमान छोडेर गएछ… यी आजकालका लफङ्गाहरू रसबस गर्न जान्दैनन्… यौटा काइदा-कद्दर पुऱ्याएर पो ।”

“छिः तपाईं त… के कुरा गऱ्या त्यो…छोड्नुस्” प्रमिलाले बीचैमा बूढीको हात आफ्नो पाखुराबाट हटाउँदै भनी ।

अन्धकार र उज्यालोको त्यस दोसाँधमा बूढी आइमाईको अनुहार खिस्स हाँसेको देखिन्छ । बूढीको त्यस प्रकारको हाँसोले प्रमिलाको मनको जम्मै कुरा खोलेर ट्वाल्ल हेरिरहेको झैं प्रतीत हुन्छ । प्रमिला आङको पछयौरा मिलाउन खोज्छे । भित्रभित्रै प्राणको बाजी लगाएर ऊ आफ्नो मनको पीँधलाई ढाक्न खोजिरहेकी छ । तर पनि छिन छिनमा उसलाई छ्वास्स नाङ्गो भएँ कि भन्ने आशङ्काले भुतुक्कै पारिरहेछ ।

प्रमिला बलपूर्वक त्यहाँबाट जुरुक्क उठ्छे ।

बूढी आइमाईले फेरि एक पल्ट पाखुरा समात्न खोजेजस्तो गरी भनी- नानी… उ :… त्यै हो मेरो घर… आज नभए भोलि… भोलि नभए पर्सि- जहिले आए पनि हुन्छ… नानीलाई दुःख हुने किसिमको म गर्दिनँ, के नि…।”

अब प्रमिलालाई त्यहाँ उभिरहन पनि मुस्किल परिरहेछ । त्यस बेला भोर भइरहेको हुन्छ । रातको रङ्ग अत्यन्त खल्लो चालले फिक्का हुँदै गइरहेछ । कता-कताबाट चराहरूको आवाज फाट्टफुट्ट सुनिन थाल्छ । हावा एकदम चिसो भएर बहिरहेछ । बिहानको प्रहरले छोइसक्यो भने पनि हुन्छ ।

‍‍‍====

प्रमिला पाइलो चाल्न थाल्छे । तर उसलाई कँपीकँपी हुन्छ । कुनै अपराधीको जस्तो ओर्लेको उसको चेहरामा आशङ्का र भय स्पष्ट छ । ऊ भित्तैभित्ताबाट हिँडिरहेकी छ । उसको खुट्टा छिन छिनमा मर्कला मर्कला जस्तो हुन्छ । बाटोमा देखिने मानिसको मुख ऊ हेर्न सक्दिन । कहिले माथि, कहिले तल भुइँमा हेर्दै ऊ लम्किरहेकी छ । मानो उसको आँखालाई उज्यालोले अलमल्याइरहेछ । तर ऊ लम्की नै रहेकी छ । किन लम्किरहेकी छ, कहाँ लम्किरहेकी छ ? किन हडबडाएकी ऊ चोर्नीजस्ती, कुनै अपराधिनीजस्ती । के उसले कुनै अपराध गरेकी छ ?

तर वास्तवमा अहिले ऊ केही पनि सोचिरहेकी छैन । उसको मन शून्य, एकदम शून्य छ । त्यहाँ यौटा कुरा पनि छैन । यत्ति हो कि अहिले ऊ बाँच्न चाहन्छे । अनि यस्तो लाग्छ, उसको बाँच्ने ठाउँ पनि ठीकठाक छ ।

गत रात जुन बाटो गरी प्रमिला आएकी थिई, अहिले उही बाटोबाट फर्किरहेकी छ । उसको मनमा घर चाँडो पुग्ने लालसा तीव्र रूपले बढिरहेछ । हिँड्दाहिँड्दै छिन छिनमा ऊ सपनाबाट ब्यूँझेसरि झस्किन्छे- रातभरि ऊ घरबाट बेपत्ता भएकी छ ।