
उहिले जुन बखत मैले निर्णय गरेँ, जीवनभर बिहे गर्दिनँ भनेर; त्यस बेला सब जनाले मेरो खिसी उडाए, मलाई निन्दा गरे । र आज ३५ वर्ष पुगिसकेको म, फेरि मैले निर्णय गरेँ, अब म बिहे गर्छु: यस बेला पनि निन्दा गर्नेहरूका ताँती छन् । मेरा यी दुवै रोजाइहरू जरुरै परस्पर विरोधी छन्, असङ्गतिपूर्ण छन्, भ्रामक छन् । तर के यो रोजाइ मेरो आफ्नो निजी जीवनको निमित्त होइन ?
यसले न कुनै सामाजिक मान्यताहरूलाई खलबलाउँछ, न कुनै पक्षको नै विरोध गर्छ । खालि मेरो यथार्थ मानसिकतालाई यसले दर्शाउँछ । म पहिले बिहे गर्न चाहन्नथेँ, केही कारणहरूले गर्दा, अब बिहे गर्न चाहन्छु, केही कारणहरूले गर्दा । यसमा सबको निन्दापात्र हुनुपर्ने कुरा नै के थियो र ? तर मानिसहरू निन्दा गर्छन्, मेरा बाआमा निन्दा गर्नुहुन्छ । मेरा दाजुभाइ, कुटुम्ब सब जनाले मेरो यस निर्णयमा अचम्म मानेका छन् । किनभने चालीस वर्षको लगभगमा आएर मैले बिहे गर्ने निर्णय गरेँ भनेर ।
मैले जवानीमा नै किन बिहे गरिनँ रे जवान युवकहरूसँग; अब जवानी रित्तिसकेको बेला मैले, एउटा ६० वर्ष पुगेको बूढोसँग बिहे गर्न आटें जसका नातिनातिनासमेत थुप्रै छन् । यो उदेकलाग्दो कुरा होइन र ? मेरो बालाई अपमान र सरमजस्तो लागेको छ । अधिकांशलाई म बेकुफ र बुद्धिशून्य, मूर्खजस्तो भान परेको छ ।
जेसुकै होओस्, यो सत्य हो कि उहिले कैयन् युवकहरूलाई मैले बिहे गर्नुबाट इन्कार गरेकी थिएँ । म राम्री छु वा उनीहरू राम्रा छैनन् भन्ने यस्ता साधारण भावुकताको वशमा रहेर मैले अस्वीकार गरेकी पनि थिइनँ, न त अकुलीनता वा आर्थिक असम्पन्नताको आधार नै त्यसमा थियो । न त यसको पृष्ठभूमिमा धार्मिक वा अन्य कुनै कारण थिए, वा मेरा अन्य कुनै चाह, रुचि, वा प्रेम नै थियो । खालि, साँच्चि भनूँ भने एउटा व्यापक उदासीनता र नैराश्य थियो ममा, जसले गर्दा म स्वतः विवाहप्रति नै विमुख भएकी थिएँ वा भनूँ विवाहबन्धनमा बाँधिएर एक परम्परागत घरगृहस्थी सञ्चालित गरी सामाजिक सेवा गर्ने ममा प्रवृत्ति थिएन । एकपछि अर्को युवकलाई अस्वीकृत गर्दै जाँदाजाँदै ममा यही अस्वीकृति गर्ने अभ्यासले नै मेरो विवाहप्रतिको यस्तो धारणा ठोस हुँदै गयो र मैले एक दिन निश्चय गरेँ कि म आजीवन कुमारी नै बस्छु । साँच्चिकै यही मेरो निर्णय त्यस बेला मलाई अन्तिम जस्तो लाग्यो, र यसैलाई मैले आफ्नो जीवनप्रणालीजस्तो बनाएँ र पछ्याउन थालेँ ।
त्यस बेला मेरा बाआमाले मलाई हरतरहले विवाह गरिदिने यत्न गर्दै हुनुहुन्थ्यो; कैयन्का तस्बिर देखाई र यहाँसम्मन् कि कोहीकोहीलाई त घरैसम्म बोलाई, मलाई देखाउन लगाई परिचयसमेत गराई सिनेमा, पिकनिक जानसमेत प्रेरित गर्नुहुन्थ्यो । किनभने मेरो विवाहप्रतिको अरुचि स्वाभाविक हैन भन्ने उहाँहरूको आभ्यन्तरको भावना रहेछ । तर मलाई भने यसको विपरीत हुन्थ्यो, किनभने हरेक युवकप्रति अन्जानैमा ममा उदासीनता बढ्दै जान्थ्यो ।
युवकहरू या त ज्यादै फुर्तिलो देखिने सुरमा यस्तायस्ता क्रियाकलाप गर्न थाल्थे, मलाई आश्चर्यको साथै घृणा पैदा हुँदै जान्थ्यो; असभ्य, अभद्रको सीमासम्मन् उनीहरू पुग्थे, भाँतिभाँतिका चटक देखाए विभिन्न प्रकारका वीरता प्रदर्शन गर्न थाल्थे । आफू शक्तिशाली हुँ, बलवान् हुँ भन्ने कुराको सप्रमाण तथ्य पनि प्रस्तुत गर्थे र सगर्व मसँग वासनात्मक रूपले व्यवहार पनि गर्न थाल्थे । वास्तवमा यो युवकोचित् गुण पनि होला यो म मान्दछु । तर त्यसभित्र कहीं केही विकर्षण र गनाउँदोपन छ जस्तो मलाई लाग्थ्यो ।
यहाँसम्मन् कि सम्पूर्ण जवानीबाट नै केही कुत्सित घिनलाग्दो दुर्गन्ध निस्किरहेको मलाई भान हुन्थ्यो । उनीहरूका बलिया हृष्टपुष्ट शरीरबाट साँच्चिकै एक प्रकारको गन्ध निस्किरहन्थ्यो, उत्ताउलोपन र उच्छृङ्खलताको, शारीरिक भोक र वासनाको जसले गर्दा उनीहरूको मजबुत देहप्रति ममा उपेक्षाशीलताको कठोरभाव जागृत हुन्थ्यो र तत्क्षणै म पन्छि नै हाल्थेँ । या कुनैकुनै युवक यसको विपरीत माग्नेजस्तो टीठलाग्दो शरीर लिएर मसँग भीख माग्न आएजस्ता देखिन्थे । यसबाट म झन् विक्षुब्ध हुन्थेँ ।
यी दुवै बीचमा कैय्यन् प्रकारका युवकहरू नभएका होइनन्, तर जवान युवकका आँखामा रहने वासनात्मक उत्तेजक भावनाले मलाई पोल्थ्यो, नङ्ग्याएजस्तो लाग्थ्यो, आफ्नो मानसिक सन्तुलन यथार्थमा नै खजमजिएर मेरो आफ्नो शान्त अस्तित्वलाई नै हमला गर्याजस्तो हुन्थ्यो । यो म रुचाउन्नथेँ, घिन लाग्थ्यो ।
मेरो जवानीसमेत निख्रिएर रित्तियोस् र म एकदम प्रौढ, अर्कै बनूँ भन्ने मलाई लाग्थ्यो । यसैले मैले आफूलाई कहिल्यै सिँगारेर, ठाँटिएर अर्काका सामुन्ने उभ्याउने, प्रदर्शन गर्ने उत्साह देखाइनँ । जस्तो म छु, त्यहीबाहेक म केही हैन, म अरू हुन चाहन्नँ भन्ने भावनाले नै म आफूलाई आफैँसँग कठोर, निर्दयी, क्रूर बनाउँदै गइरहेकी थिएँ । कुनै पनि युवकको सामीप्य, संस्पर्श र आतिथ्यले मेरो सम्पूर्ण शरीरमा जडता ल्याइदिन्थ्यो- र म आफू नै अनुभव गर्दै जान्थेँ, म चिसिएर पत्थर हुँदै गइरहिछु । मलाई उनीहरूबाट माया, स्नेह, प्रेम प्राप्त हुन्छ त्यसका पनि महत्त्व छन् भन्ने कुरा निरर्थक लाग्थ्यो ।
यसै प्रकारले मैले सबको जवानी र आफ्नो जवानीसमेतलाई हेय दृष्टिले हेरेँ र म जवानीबाट नै विमुख भएँ । जवानीबाट टकटकिन मैले हरेक प्रयास गरेँ । घरैबाट निस्किनँ, कसैकहाँ भोज आदिमा भाग लिइनँ । मावलीसम्मन् गइनँ । सबै जिस्क्याउँथे ‘यिनी अब जोगिनी बन्न लागिन्’ भनेर ।
वास्तवमा ‘जोगिनीपन’ क्या हो मलाई राम्ररी थाहा थिएन । ममा ईश्वरभक्ति, धार्मिक चेष्टा पनि पटक्कै छैन । म पूजाआजा, मन्दिर आदि पनि धाउन्नँ । ‘म बिहे गर्दिनँ’ भनेर अडिएकी थिएँ । यसलाई सब जना मेरो ढिपी मात्र सम्झन्थे । खालि ढिपी । दुराग्रह ।
ढिपी त खालि ढिपी नै ठहरियो, केही वर्षहरू बितेपछि । तर त्यस प्रकारको ढिपीभित्रको मेरो मानसिकतालाई बुझिदिने कोही पनि पाइनँ । जवानीमा मीठा सपना, मधुर कल्पना हुन्छन् भन्छन्, तर मलाई भने त्यसप्रति उदासीनता र विकर्षणबाहेक केही भएन, घृणाबाहेक केही भएन । मैले जवानीबाट अनुभव गरेको नै यही हो । किन यसो भयो- म पनि बुझि्दनथें । साँच्चि बुझिनँ पनि ।
कैयन् वर्षहरू त्यसै काटिदिएँ। सन्चोसँगै बिताइदिएँ । अब बाआमाहरू पनि बूढाबूढी हुनुभयो, म पनि जवानीबाट ढल्कँदै गएँ । अब कुनै युवकको जल्दो आँखाले इसारा पनि गर्दैन, भोकाएको दृष्टिले मेरो शरीरलाई हेर्दा पनि हेर्दैन । मलाई नङ्ग्याएजस्तो लाग्दा पनि लाग्दैन । मलाई अब उनीहरूसँग पटक्कै डर छैन, अब उनीहरूलाई म केटाकेटीलाई झैं हेर्न सक्छु । नजिकै आए पनि उनीहरूबाट म विक्षुब्ध हुन्नँ, उद्विग्न हुन्नँ । मानो म कठ्याङ्ग्रिइसकें, चिसिइसकेँ ! चिसो भएर नै उनीहरूप्रति अचेल उदासीन पनि छैन, निरपेक्ष छु ।
अचानक मैले मेरो आफ्नै बाको साथीकी स्वास्नी मरेकी सुनें । मलाई उहाँप्रति अत्यन्त माया लाग्यो । एक दिन घरमा आउनुहुँदा उहाँलाई धेरैबेरसम्मन् हेरिरहेँ । उहाँको बुढेसकालमा स्वास्नी परलोक भएपछि भएको कष्टको वृत्तान्त सुनिरहेँ । उहाँले मलाई कुनै वासना र भोकले पनि हेर्नु भएन खालि उदास आँखाले हेर्नुभयो, सुमसुम्याउनुभयो । कुनै तातोपन त्यसमा थिएन, मै निर्लिप्त र उपेक्षाशील । त्यस चिसो व्यवहारले मलाई स्पर्श गर्यो । मानो धेरै वर्षदेखिन् हल्लँदै नहल्लेको मेरो मुटु बिस्तारै हल्लियो । त्यसमा मैले चाल पाएँ ममा मायाप्रेम टुसाउँदै थियो । मलाई अचानक उहाँको त्यस उदास दयनीय आँखामुन्तिर रहिरहने इच्छा पैदा भयो । उहाँलाई सुमसुम्याउने तृष्णा पैदा भयो । त्यसैले उहाँलाई मैले बिस्तारै भनें – म तपाईंसँग बिहे गर्छु ।
उहाँले पत्याउनु नै भएन । किनभने उहाँलाई थाहा थियो, म जीवनभर बिहे गर्दिनँ भनेर कुमारी बसेकी । कुरा त्यति मात्र होइन, उहाँले नै कति पटक मलाई बिहे गराउन दुलाहा खोजेर ल्याइदिनुभएको थियो । फेरि उहाँसँग मैले बिहे गर्ने कुरा उहाँले कसरी पत्याउने !
तर मेरो विश्वासिलो कुरालाई उहाँले पत्याउनुभयो, मेरो व्यवहारले पनि बुझ्नुभयो कि म साँच्चिकै उहाँसँग बिहे गर्न चाहन्छु । मेरो यो निर्णय मैले नै आमालाई व्यक्त गरेँ, उहाँहरू एकदम आश्चर्यचकित हुनुभयो । पत्याउन नै सक्नु भएन । तर मलाई भने किन हो किन एउटा अनौठो तृप्ति नै मिलेको छ जो मैले जीवनभर पाएकी छैन, जसलाई आत्मसुख भनौं किनभने मलाई थाहा छ, म त्यति राम्री देखिन्न, त्यति शारीरिक रूपले स्वस्थ पनि छैन । मलाई शरीरसँग केही मतलब पनि छैन । तर उहाँको आँखामा एक प्रकारको जुन उदासी छ त्यही नै मलाई अत्यन्त मीठो लाग्छ, त्यही नै मेरो आत्मसुखको कारण हो कि जस्तो लाग्छ ।
‘म बूढोसँग बिहे गर्छु’ भन्नेबित्तिकै मेरा सब परिवार र कुटुम्बहरू चकित भएका छन् । यसैले कसैले मलाई बेकुफ ठहऱ्याएका छन् । यो बिहे हुन नदिन उहाँको परिवारको तर्फबाट र मेरा तर्फबाट पनि सब जुटेका छन् । किनकि यस बिहेले मेरो परिवारलाई अत्यन्त हानि पुऱ्याउनेछ भनेर मेरा बाआमाका कानमा कुराहरू पुऱ्याएका रहेछन् ।
तर के यो निरर्थक कुरा होइन ? म जुन भावनाबाट आत्मसुख पाउँछु त्यही नै मेरो जीवनको प्राप्ति हैन र ? के यसमा शरीरको केही सम्बन्ध छ र ? मेरो बाजस्तै बूढो, त्यस्तै उमेरको र शरीरको भएर मलाई के, मेरो बाको साथी नै भएर पनि मलाई के र ? मैले जवानीमा केही गल्ती गरेर त्यसलाई छोप्नको खातिर जतन गरेको हैन क्यारे ? मैले जवानीमा बिहे गरिनँ, यो निश्चय हो । त्यस बेला मलाई आत्मसुख प्राप्त होलाजस्तो लागेन । के त्यस बेला अज्ञात शङ्का, अज्ञात छटपटी र त्रासले म युवकहरूसँग डराएकी थिएँ, तर्सेकी थिएँ ? अहिले म निश्चिन्तसँग भन्न सक्छु- ठोकेर- ‘म आत्मसुख पाउनेछु, यस उमेरमा – बूढासँग बिहे गरेर भए पनि ।’ त यो विरोध किन ?
मेरा बाआमालाई कसैले अहिले सम्झाइदिए हुन्थ्यो जस्तो लाग्छ । तर हैन, एक दिन म आफैं आफ्नो निर्णयलाई लागू गर्छु- किनकि आफ्नो जीवनको उद्देश्य पूर्ति गर्ने जबाफदेही मेरो मात्रै न हो। चाहे कसैले मलाई बौलाहा बेकुफ किन नभनुन् मेरो यो प्रेम विशुद्ध छ किनकि म बाजस्तै एक बूढोसँग कुनै वासनाको अपेक्षा नराखी बिहे गर्दै छु । प्रेममा शारीरिक सम्बन्धको के महत्त्व ? वासनाको के महत्त्व ?
(विजय मल्लको कथासंग्रह “परेवा र कैदी”बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

