१. अहिंसावादीको कर्तुत
सीप
शान्ति र अहिंसाको पुजारी ऊ कहिल्यै हत्या हिंसा गर्दैन तर आत्मा मार्न सिपालु छ ।
व्यापार
अहिले ऊ अहिंसावादी संस्थाको प्रमुख छ । कसैमाथि भौतिक कारबाही गर्दैन तर हातहतियारको व्यापार गर्छ ।
भोज
आफ्नो व्यापार फस्टाओस् भन्ने हेतुले ऊ विभिन्न वर्ग, जाति, भाषा र सम्प्रदायका नाइकेहरूलाई बोलाएर ननभेज पार्टी दिन्छ र एकअर्काको विरुद्ध उचाल्छ ।
द्वन्द्व
विभिन्न पक्षबीच द्वन्द्व चल्छ, युद्ध हुन्छ र उसको व्यापार दिन दुई गुणा रात चौ गुणा बढिरहेको थियो । युद्धको समाप्तिसँगै फेरि पार्टी भोज आयोजना गर्छ र नयाँ द्वन्द्व /युद्धको सूत्रपात गर्छ ।
२. उपाय
“तिमी केही कामकी छैनौ, खै मेरो कपडा सफा गरिदिएकी ? जुत्ता पनि त्यस्तै फोहोर छ … !” श्रीमानको कचकच ।
“त्यो भन्दा पहिला म तपाईंको मन सफा गर्ने उपाय सोच्दै छु श्रीमान्,” श्रीमतीको जवाफ ।
३. अन्यायको स्रोत
– हो, ऊ साँच्चै अन्यायमा पर्यो ।
– एउटा कर्मवादी आयो र भन्यो “काम नगर्नेलाई भगवान्ले हेरेनन्” अनि कर्ममा लीन भयो ।
– भाग्यवादी आयो र भाग्यमा नभएको घोषणा गर्यो अनि पुर्पुरोमा हात राखेर बस्यो ।
– समर्पणवादी देखा पर्यो र सुखदुःख, न्याय अन्याय ईश्वरीय देन हुन् भन्यो र गयो ।
– अन्तमा दारीवाल चिन्तक आयो र “सम्पत्तिसँग आबद्ध मानव स्रोत नै अन्यायको प्रमुख कारण हो” भन्यो ।
४. ढुङ्गेधारा र युवती
– उसलाई सबैले बच्चै छ भनेर जिस्काउँथे ।
– एकदिन ढुङ्गेधारामा झुकेर स्नान गरिरहेकी युवतीलाई देख्यो ।
– अनि उसको मनमा मनोहर फूल फुलेर मगमगाउन थाल्यो ।
– तनमा हरियाली लतालहरा पलाउन र वसन्त छाउन थाल्यो ।
– कल्पनामा उड्दै सुसेली हालेर गीत गुनगुनाउन लाग्यो ।
– त्यसपछि उसले आफूलाई जवान भएछु भनेर चिन्यो ।
५. भेट
– पहिलो भेटमै दिल चोरी उसले ।
– दोस्रो पटक ऊ समतलमा थिई म माथि डाँडामा ।
– तेस्रो पटक हामी दुवै गाला मुसारिरहेका थियौं र ती गाला आआफ्नै थिए ।
६. टिकट जिन्दगीको
बसको टिकट काट्दा उसलाई लाग्छ जिन्दगीकै टिकट काट्दैछु ।
७. सुविधा
धरतीको एउटा सुन्दर खण्ड जहाँ विकासको नाममा विनाश गरिँदै थियो त्यहाँको सुन्दरता र ऐतिहासिकता । म्याद गुज्रिएका गाडीहरू दौडाइन्थ्यो सुविधाको नाममा र ज्यान लिइन्थ्यो निहत्था जनताको ।
८. हाँसो
आमाको चौबन्दी च्यातेर आफ्नो आङ ढाक्न खोज्ने सन्तानहरूको हाँसो लज्जास्पद देखिन्थ्यो ।
९. आमाको आँसु
छातीमा टेकेर विक्षिप्त बनाइसकेका सन्तानका पाइतालाहरू हातपाउ र शिरमा बज्रिंदा पनि आमा मुस्कुराउन खोज्थिन् तर उनीहरू तीन बल्ड्याङ खाँदा अनायासै आँसु झर्थे उनका ।
१०. सम्झना / बिर्सना
संसारमा अहिलेसम्म उनीहरूले आमाको खोजी गरे, ममताको बखान गरे । सन्तान र जीवनसाथीलाई माया गरे तर बाउलाई चटक्कै बिर्सिए ।
११. सपना विपना
– मीठा गफ गरेर सुन्दर सपना देखाउँथ्यो ।
– संसार घुमाउँछु भनेर सीमापारि पुर्याउँथ्यो ।
– उनी ठूलो शहरको महलमा सुखद कल्पनाकाशमा विचरण गर्दै गर्दा ऊ पैसा पोको पारेर फर्किसकेको हुन्थ्यो ।
१२. बिक्री
– कति किन्छ्यौ मात्रै अब बेच !
– मसँग के छ र बेच्नु ?
– यौवनले मत्त रूपवान् शरीर !!
– बरु भोकै मर्न र तँजस्तालाई मार्न तयार छु, शरीर बेच्दिनँ ।
१३. दैनिकी
– पहिलो हप्ता माया ममता र स्नेह दर्शाइयो ।
– दोस्रो हप्ता विशिष्ट अतिथिलाई सत्कार गर्न पठाइयो ।
– तेस्रो हप्ता ठूला व्यवसायी र उच्चपदस्थ कर्मचारीहरूसँग सहवास गराइयो ।
– त्यसपछि जो आउँछन् उसैलाई खुशी पार्न बाध्य बनाइयो ।
– परिणाम, शरीरमा रोग र मनमा पछुतो र विद्रोहको ज्वाला !
१४. अनुभव
– गाउँमा के छ र ? शहर जाम् हिँड पुतली, धेरैथोक देख्न पाइन्छ ।
– यो शहर त के हो र ! अझ ठूलो शहर जाम्, रेल चढ्न पाइन्छ ।
– अब यही महलमा बस्ने, धेरै अनुभव कमाइन्छ ।
– अनुभवको निष्कर्ष ! शत्रु पनि यो नर्कमा आउनु नपरोस् ।
१५. नर्क-स्वर्ग
– महलको नर्कबाट चाहेर पनि सजिलै फर्किन सकिनन् उनी ।
– एउटा दयालु यौनपिपासुको सहयोगमा भाग्न सफल भइन् ।
– सबभन्दा पहिला मौका पारेर कँचिया हँसियाले रेटेर दलालको हत्या गरिन् ।
– अनि कारावास गइन्; महलभन्दा कारागार उनलाई स्वर्गजस्तै लाग्यो ।
१६. धर्मसंकट
– सधैं आधा पेट भोको बस्नुपर्ने नियतिलाई उसले निराहार व्रत बसेर भगवान् भक्तिमा लगायो ।
– भगवान् खुशी भए र वरदान लेऊ भन्दा उसले ‘गरिबहरू केही नखाई बाँच्न सकुन् ! नभए जन्म नै नहोस्’ भनी वर माग्यो ।
– दुवैथोक गर्न नसक्ने भगवान् आफैं धर्मसंकटमा परे ।
१७. अँध्यारोको खोजी
– संसारमा अँध्यारो पनि छ भन्ने सुनेर ‘उज्यालो’ अँध्यारोको खोजीमा हिँडे पनि अहिलेसम्म भेट्न सकेको छैन ।
१८. साथ
साम, दाम, दण्ड, भेद सबै अपनाएर उसले शक्ति र सत्ता प्राप्त गर्यो । त्यसपछि इज्जत र इमानदारिताले साथ छोड्यो ।
१९. इज्जत
उसले गुमाएका सबथोक पुनः प्राप्ति गर्यो तथापि इज्जत कहिल्यै फर्केन । गएपछि गयो गयो आएन ।
२०. भाव
राष्ट्रवादको चर्को कुरा गर्ने ऊ डिभी परेर पाताल भासियो । अहिले उसको जन्मदेशसँग आत्मीयता छैन भने कर्मदेशप्रति अपनत्व छैन ।
२१. हालत
उसलाई स्वदेशी नेता, कर्मचारी, संरचनादेखि बोलीवचन र लवाइ-खवाइसम्म मन नपरेर देश छोड्यो । अहिले त्यहाँ पनि राष्ट्रवादको नाममा आप्रवासीहरूप्रति कडा नीति लिइएपछि उसको हालत हेर्न लायक भएको छ ।
२२. अप्ठ्यारो
राष्ट्रवादी नेताको उदयपछि त्यहाँ आप्रवासीहरूप्रति कठोर नीति अपनाइयो । राम्रो काम लत्याएर स्वदेश छोडेको उसलाई अहिले स्वदेश फिर्ती निल्नु न ओकल्नु भएको छ ।
२३.चरित्र
गाउँ फर्क अभियानको प्रमुख अभियन्ता ऊ कहिले राजधानी त कहिले देशका ठूला शहरमा अवस्थित निजी आवासको वातानुकूलित कोठामा उग्राइरहेको थियो ।
२४. पछुतो
अन्ततोगत्वा संसार डुलेपछि ऊ हिमाललाई स्पर्श गरेर बहने स्वच्छ पवन र झरनाको निर्मल जल सम्झेर पछुताउँदै हस्पिटल भर्ना भएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










