आज बिहानैदेखि मन बेचैन भइरहेको छ । मन्द कुहिरोका बिच रङ्ग बदल्दै गरेको मधुर सूर्यका किरणसँग मन पनि परिवर्तित भइरहेको छ । घरबाट केही समय हिंडेपछि पुगिने बस बिसौनीमा बसका यात्रुहरूको भिड लागेको छ । उराठलाग्दो मन बोकेर बसबिसौनी तर्फ हिंडें । केही समय बसेको थिएँ, एक जना अधबैंसे मानिस हतारमा दौडँदै आइपुगे ।

उसको दौडाइ अनुभव गर्दै सोधेँ, “धेरै हतारमा देखिनुहुन्छ । टाढै निस्कनुभएको ?”

“पोखरासम्म जाऊँ भनेर ।” स्याँस्याँको आवाजसँगै बोले, “त्यसपछि भोली काठमाडौं जान्छु, अनि एकदुई दिनमा जापान जाने हो ।”

यसरी एक सासमा आफ्नो कुरा सकाए । म फुर्सदमा भएकोले एक छिन गफिन खोजें । हामी बिच भलाकुसारी भए ।

म सेवा निवृत्तितर्फ लागेको निजामती कर्मचारी हुँ भन्ने के सुने “राष्ट्र सेवा गर्ने मेरो ठुलो धोको थियो, त्यो पुरा हुन सकेन । एक दुई पटक पोखरा पुगेर लोकसेवाको जाँच पनि दिएँ । खै ! किन हो पास हुन सकिएन । त्यसै बसिरहेको थिएँ साथीभाइको कुरा सुनेर विदेश जाने चक्करमा लागेँ । जापानमा अघिल्लो पटक ५ वर्ष बसेर ३ महिना जति अगाडी नेपाल आएको थिएँ । अब ३ महिना सकिए पछि मन अमिलो बनाएर भए पनि फेरी विदेश जानुपर्‍यो ।”
म उनको कुरा एकटकले सुनिरहेँ । आफूलाई मनमनै उनीसँग तुलना गर्दै थिएँ – आफू लहैलहैमा साथीभाइको सङ्गतले पढ्दा पढ्दै लोकसेवा दिएर नोकरीमा प्रवेश गरेको लामो समय सम्म पनि जीवनस्तर उकास्न नसकेको एक मनुवा ।

उसलाई एकटकले नियालेँ । उसका कुरा त्यति सुनिसकेपछि भान भयो – विदेशमा रोजगारी पाएर कमाएको धनमा फुर्ती गर्दै छ उसले । सोचें – मलाई आफू जागिरे नभन्नु पर्ने रहेछ भन्ने भान भयो । आखिर इमानदारीपूर्वक झण्डै २० वर्ष बिताउँदा पनि मेरो हालत उस्तै छ । न घर घडेरी जोडन सकिएको छ  न बचत छ । डेराको बास जीवनभर हरे ! म आफूलाई मनमनै धिक्कार्छु । ८-१० वर्ष अघिदेखि परिवारले “हेर फलानो अफिसमा काम गर्ने फलानाको यस्तो घर गाडी, उसको पारिवारिक स्थिति हेर” भनिरहन्थे । म पनि के कम परिवारलाई जवाफ फर्काएर कार टार्थेँ, “हो नि आज फलानालाई १ महिना कैद भयो २ हजार मा भन्ने समाचार सुनाएर ।”

न इज्जत रह्यो न खुराफाती गर्न जानियो न चाकडी गर्न जानियो सधैँ अरूले नरुचाउने घर पायक नपर्ने ठाउँमा पोष्टिड भयो  ।आखिर इमानदार भएर के पो पाएँ मैले । धन्न अब सरकारसँग पनि पैसा छैन भन्दै छन् । दियो भने अब २ वर्ष बिताएर जागिर छाडी म पनि विदेश जाऊँ कि के हो !

यति सोचेर ती मानिस तर्फ हेर्दै भनेँ, “खोइ अब म पनि विदेश पो जाऊँ कि के हो  ?”

उसले भन्यो, “छोराछोरी गएको ठाउँमा जाने त होला नि । बरु कहाँ छन् तपाईंका छोराछोरी, अमेरिका कि अस्ट्रेलिया ?”

उसको प्रश्नले मलाई भित्रभित्रै मर्माहत बनायो । हुन त देशमा चलिरहेको “विदेश जा” अभियानले मलाई त्यो प्रश्न सोध्नु स्वाभाविक हो । आवाजलाई सकेसम्म दबाएर उत्तर दिन्छु, “हरे मेरा छोरा त काम नपाएर कामको खोजीमा नेपालमा नै छन् । विदेश पठाउन सकिएन । निजामती कर्मचारीको परिवारलाई आउने छात्रवृत्तिमा पनि मन्त्रालयका हाकिमका छोराछोरीले गर्दा होला । हामीजस्ताले पालो नपाउने रहेछन् । १-२ पटक त सचिव ज्युलाई भेट्न खोजेको पनि हो । कोशिस पनि गरेकै हो । तर जुरेन । पाइउन । सिधा भएर जागिरमा धोका सिवाय केही पाइएन ।”

“ए उसो भए तपाईंलाई  विदेश जान कसरी मिल्ला र कि घुम्न जानुपर्‍यो ।”

उनको कुरा सुनिसके पछि वास्तवमा नै मलाई असहज महसुस भयो । तर कुरा बिट मार्न मनले मानेको थिएन र कुरा अगाडि बढाएँ केही उद्देश्यमा ।

“हजुर देश विदेश सबै थाहा भएको मान्छे । भेट भयो खुशी लाग्यो । फोन…”  भन्दै थिएँ उताबाट उनको बस आइपुग्यो ।

“ल है त ।” भन्दै उहाँ आफ्नो बसतर्फ लाग्नु भयो । म  अलमलिएँ । न त सम्पर्क नम्बर माग्न सकियो न त समयले साथ दियो ।

एकछिनको उनीसँगको गफमा पनि म आफ्नो विगतलाई कति नजिकबाट नियाल्न पुगेछु । गफमा नै सही आफ्नो समिक्षा गरें । आखिर गन्तव्यविहीन रूपमा टहलिन निस्किएको मेरा लागि आज फरक अनुभूति भयो । अझ पनि भविष्यको सोच र विगतको चिन्तनमा आफूलाई पाउँदै छु ।