मलाई लाग्छ तिमी मेरो संसारमा देखिनु तिम्रै योजनाबद्ध घटना थियो । यसरी नै शुरु भयो हैन त हाम्रो प्रेम ? उही पुरानो सूत्र थियो तिम्रो – ‘जादुमय आँखा, लोभ लाग्दो ओठ’ । हामी केटीहरू पनि के खालका हौँ । यही मूला आँखा र ओठकै झुटो बयानमा लट्ठ परिहाल्छौँ ।
उसो त तिमी मलाई ह्याण्ड्सम लाग्नु समेत अचेल दैवी षड्यन्त्र लाग्न थालेको छ । तिम्रो आफ्नो बखानले मलाई आकर्षित गरेको हैन । मेरो बाउ यो, आमा यसकी छोरी, हाम्रो व्यापार, हाम्रो पारिवारिक स्तर यस्तो । सुन्दिन्थें – बस । तर तिम्रो अलिक विषालु नजर, चट्ट मिलाएको दारी जुँगा, बलिष्ठ शरीर, आत्मविश्वासयुक्त बोली । कोही होलान् तिम्रो सम्पत्ति तिमीभन्दा असल लाग्ने – तर म त्यो हुँदै होइन । मलाई तिमी खुद मन परेका हौ । थियौ । तिमी जे छौ मलाई एकदमै ठ्याक्कै त्यही मन परिगयो ।
तर तिमीले भने पहिलो डेटिङमै अलिकति कुरा फेर्यौ । मेरो सर्वाङ्ग वर्णन गर्थ्यौ – घुम्रेको कपाल, बाक्लो आँखीभौं, लामा परेला, अलिक बाक्लो ओठ, ओठमा न्युड कलरको लाली । त्यो दिन तिमीले खुबै महँगो रेस्टुरेन्टमा लग्यौ । ए गैण्ठु, मलाई भोक त थिएन रत्तीभर । रोमाञ्च थियो । तिमीलाई नजिकबाट खुद अगाडी हेर्न पाउने लालच थियो । तिमीलाई छुन पाउने र तिमीबाट छोइन पाउने विषालु भोक थियो – तर फाल्तु सिज्लर, महँगो मक्टेल, ब्ल्याक फरेस्ट केक – यो खाने भोक कहाँ थियो र ? खैर औपचारिकतावश केही खाएँ । तिम्रो कुरा सुनिरहें । उतिबेलै थाहा पाउनु पर्ने हो – यो भौतिक सम्पत्ति र शक्तिको असमानुपातिक वर्णन प्रेमको गणितमा त्यति मिल्दैन । उसै भनेका छैनन् प्रेम अन्धो हुन्छ । यो बहिरो पनि हुने रैछ । मलाई लाग्यो यो सबै प्रेमकै सिलसिला हो । तिमीले जे भने नि तिम्रो दारीमय चिउँडो, बेला-बेला मेरो मुहार भन्दा तल झर्ने उत्ताउलो नजर, अनि वजनदार बोली छँदै थियो मलाई मोहित गर्ने ।
जाने बेलामा तिमीले तिम्रो इलेक्ट्रिक कारमा छोडिदिन्छु भन्यौ । म झुटो बोल्दिनँ – मलाई अलिकति डर त लाग्यो – सबै कहानीहरू यस्तै त्रासदीमा सकिन्छन् । तर मैले खतरा मोलें र तिम्रो त्यो नयाँ बास आउने कारमा चढें । तिमीले अनुमति लिएरै मेरो ओठमा हल्का चुम्यौ – त्यो भन्दा अगाडी बढेनौ । मलाई खुब मन पर्यो त्यो पनि । मेरो घुम्रेको कपालमा हात सहलायौ – मैले आँखा चिम्लिएँ । मैले आफूलाई बिसाउने, समर्पण गर्ने चौतारी भेटे जस्तो लाग्यो । यो मेरो बाक्लो घुम्रेको कपाल मेरी आमाको चिन्ह हो । मेरो बाबाले मलाई र आमालाई गाली गर्दा भन्नु हुन्थ्यो कि म आमा गोता गाको छु । तर त्यो नक्कली रिस हुन्थ्यो । ‘अनि तिम्रो आँखीभौँ लिएर बाउ गोता गाकी चाहिं देख्दैनौ ?’ आमा पनि कराउनु हुन्थ्यो ।
मेरो डेरा नजिक गाडी रोक्यौ । अनि भन्यौ , “सुन न । एकदम राम्रो त छ पक्कै,” मैले सास रोकेर सुनें, “तिम्रो कर्ली कपाल छ । सायद एस्लाई सीधा बनायौ भने झन् राम्री देखिन्छौ । त्यो ‘केश जादु’ भन्ने भी आइ पी कपाल डिजाइनर छ – त्यहाँ लैजान्छु नि है ।“
म नराम्रोसँग विचलित भएँ । मेरो लगभग परिचय नै यही थियो । कहिले कसैले यस्तो सुझाव त के गाली पनि दिएका थिएनन् । मेरो आमाको चिन्हो थियो । उसलाई केही भनिन – हठात् आफ्नो घरमा आएँ र आमाको फोटो अँगालेर रोएँ । मामा माइजूसँग बस्थें । के भनूँ – मेरा बाबा आमा एउटै दुर्घटनामा स्वर्गवास भएका हुन् – म सायद १२, १३ को थिएँ होला । दाइ र म मामा माइजूसँग बस्न थाल्यौं । भर्खरै दाइ पनि विदेश जानुभयो । मामामाइजूले मेरो धेरै ख्याल राख्नुहुन्छ । त्यसमा केही कमी छैन । तर बाबा आमाको यादले रुवाउँछ धेरै । अरूको अगाडी रुन्न । रुन्न थेँ – तर तिम्रो अगाडी रोएँ पनि । अनि तस्बिर पनि देखाएँ नि हगि ? आमाको कपाल कस्तो घुम्रेको छ – सायद मेरो भन्दा पनि । अब तिमीले याद गर्यौ कि गरेनौ । मलाई कपाल सीधा नपारी धर दिएनौ । पैसा तिमीले तिर्यौ – घण्टौँ लगाएर ती केटीहरूले तातो चिम्टाले तानी तानी सीधा बनाए । हरेक केही महिनामा त्यसै गर्न बाध्य पार्थ्यौ ।
अर्को दिन फेरी नयाँ माग लिएर आयौ । “केटीहरूलाई बाक्लो आँखीभौँ सुहाउँदैन । त्यही पसलमा आइ ब्रो पनि गरिदिन्छ । क्या चट्ट देखिन्छौ ।” मैले बुझिसकेको थिएँ त्यसो नगराई तिमी छोड्दैनौ । गरिदिएँ । अब म न बाबा जस्तो न आमा जस्तो देखिएँ । तर राम्री छु भन्यौ – पत्याइदिएँ । प्रत्येक पल्ट यसो गर उसो गर भन्यौ । प्राय यी मागहरू शरीरसँग सम्बन्धित हुन्थे । मैले आशा गरेँ – प्रेम भनेकै यस्तै होला । मैले पनि त तिमीलाई दारी काट, यस्तो लगाऊ यावत भन्न सक्थें । तर म ठास्नीलाई तिमी जस्तो देखें त्यही नै मन परेको – हिसाब मिलेको जस्तो । तिमीलाई कतै पनि परिवर्तन गर्नु पर्ने देखिन – तिम्रा यी मेरो बारेका बेढङ्गी मागहरू समेत ।
मेरो कपाल सीधा भएपछि कसम मलाई ऐना हेर्न मन लाग्न छोड्यो । तर तिम्रो हल्का रंगको आँखाको नानीमा पनि मेरो सीधा कपाल, पातलो आँखीभौँ देखिहाल्थें । मैले आफ्नो फेसबुकमा समेत पोस्ट गरिनँ धेरै महिना । तर एकपटक कारणवश सीधा कपाल वाला फोटो हालें । कलेजको कोही केटाले रिसाएको ‘यांग्री’ रियाक्ट गरेछ । यही निहुँ लिएर तिमी पहिलो पल्ट मसँग झगडा गर्यौ । लाग्यो यो पनि प्यार नै त हो । मेरो फेसबुकको पासवर्ड चाहियो भन्यौ । मैले पनि ठिक छ साटौं न त पासवर्ड भनें अनि तिमी हच्कियौ ।
त्यसपछि यो निर्दयी भ्यालेन्टाइन आयो । गत वर्षको त हो नि । हे भगवान् । मलाई छुट्टै डर लागिरहेथ्यो । तिमीले यसअघि पनि घुमाउरो पाराले मलाई प्रेसर गर्थ्यौ – थाहा छ । तर भ्यालेन्टाइनको हप्ता शुरु भएसी तिम्रो आर्थिक उदारता अति बढ्यो – गिफ्टको बाढी लगायौ । मलाई त्यो दिन तिमीले त्यो पाँच तारे होटेलमा लगिछोड्यौ । उत्ताउलो गरी सजाउन लगाएका थियौ त्यो कोठा सुहागरातको भाव आउनेगरी । असली गुलाफका पत्ताहरूले सजिएको बिछ्यौना । कुनै महँगो अत्तरले बास चलाएको कोठा । मलाई भने तिम्रो पसिनाले बढी नशा दिइरहेथ्यो । म साली यो प्रेममा नराम्ररी जाकिएकी रहिछु । अरू जस्तोसुकै बास्ना होस्, अरू जे सुकै दृश्य होस्, तिम्रो सामिप्यलाई डिस्टर्ब गर्ने कुनै पनि चेतना शत्रुमय लाग्थ्यो । आफ्नै साथीहरू परको लाग्न थाले, बाबाआमाको प्रस्थान पछि मलाई हुर्काउने मामामाइजू समेत शुभचिन्तक हैनन् जस्तो लाग्ने बेलाबेला ।
तिमीले मलाई त्यो होटेलको कोठामा भोग्यौ पहिलो पल्ट । अब मैले पनि तिमीलाई भोगेको हो भन्न सकिन । तिमी सर्वेसर्वा थियौ । तिमीले दुखाएको पनि प्रेमको अर्को परिभाषामा हालिदिएँ । तर मैले अनुमान गरेँ कि त्यसपछि तिमी केही ओइलाएको जस्तो भयौ । वयस्क हुँ, थाहा छ केले केटाहरूलाई चस्काउँछ ।
“के म नै पहिलो हुँ त ?” तिमीले मुख फोरेरै सोध्यौ । तिमीहरूलाई पहिलो हुनुपर्छ । मानौँ यो अथक उपलब्धि हो, संसारलाई हराएर जितेको पारितोषिक हो ।
मेरो मुटुमा चिसो बरफ सेचन भएको जस्तो भयो । तिमीले दिएको शारीरिक कष्टबाट उत्रिन पाएको थिइन यस्तो शत्रुरत प्रश्नको सामना गर्नु पर्यो । मैले केही बोलिन । तिमीले गिजोलेका मेरा स्तनहरू चहराउन थाले, तिमीले उघारेका मेरा तिघ्राहरू गलेर फतक्कै भए । तिमीलाई भने तिमी पहिलो, दोस्रो, तेस्रो के मा पर्यौ त्यो पो बढी महत्त्वपूर्ण ! केटा, मलाई त तिमी पहिलो हैन अन्तिम भएर आउने चाहिएको थियो । तिमी पछि कोही हुनुपर्ने सोच्न पनि सकेको थिइन । मैले जवाफ दिइनँ । कुनै हालतमा केही भन्नेवाला थिइनँ । तिमीलाई ऐले पनि भन्दिन – कसैलाई पनि भन्दिनँ । तिमी पहिलो हौ कि वा कुनै श्यामबहादुर, जोन स्मिथ वा मुहम्मद खान । तिमीलाई भन्नुपर्ने कुरा छ अर्को त्यो चाहिँ पछि भन्छु अनि मुर्छा पर्नु ।
त्यो भ्यालेन्टाइनको बहानाले तिमीले मलाई भोगेपछि त त्यसपछि मैले नाइँ भन्ने आधार रहेन । हुन्थ्यो, यदि प्रेम गुम्ने डर नभएको भए । मलाई तिमीबिना संसार उस्तै रहन्छ जस्तो लाग्दैनथ्यो । तिमी बिना बाँचेकै सार हुँदैन जस्तो लाग्ने । यो जाबो सेक्स त के हो र तिमीलाई आफ्नै रहन म लगभग जे पनि गुमाउन तयार भएको थिएँ । नजानिदो गरी प्रेमले एकोहोर्याउने रहेछ, वास्तविकता बाट साँघुरो बनाउँदै कस्दै लाने रैछ । रेंचीले कसे जस्तो ।मलाई कता कता थाहा भएरै पनि जबर्जस्ति अर्को विश्वास लाद्ने गर्थें आफैमाथि । प्रत्येक भेट तिमीले भनेजस्तो रंगको लिपस्टिक लगाएर, भनेजस्तो कपाल बनाएर, तिमीले भनेजस्तो लुगा लगाएर, तिमीले भने जसरी फुकालेर, तिमीले भनेजस्तो पोजिसनमा, भनेजस्तो किसिमले म भोगिन्थें र यसैलाई प्रेम सोच्थेँ ।
एकाध यस्तो भेटमा तिमी मेरो निधार र गाला पनि चुम्थ्यौ । सरकार, त्यो चुम्बन मलाई ओठको भन्दा अलौकिक लाग्थ्यो । थाहा छ तिमीलाई ? मेरा बाबा आमा घरबाट त्यो दिन निस्कँदा बाबाले निधारमा अनि आमाले गालामा चुम्मा दिनुभयो । अनि वहाँहरू फर्किनु भएन । त्यही चुम्मा नै मेरा बाबाआमाको बिम्ब हुन्, प्रतीक हुन् । तिमीले अँगालोमा लिएर गालामा निधारमा हल्का चुम्दा मलाई कस्तो सुरक्षित अनुभव हुन्थ्यो ।
रंजन, तिम्रो नाम अहिले पनि त यही होला, प्रेममा यी कामुक आनन्दका भोगाइहरू पनि समावेश हुन्छन् – थाहा छ । तर स्वार्थी मान्छे, तिमीले यही लौकिक आनन्दमा पनि मेरो वास्ता गरेनौ । झिल्को जसरी सल्किन्थ्यौ निभ्थ्यौ । तिम्रो क्षणिक आगो निभ्दा बल्ल मेरो अगेनु तात्न सुरु गरेको हुन्थ्यो । कुनै दिन क्यै कथम मेरो मुखबाट सिस्कारी निस्किहाल्यो भने पनि तिम्रो आँखाको नानी तीतो आश्चर्यले फैलिन्थ्यो । मलाई आनन्द आयो भने मेरो बारेमा गलत सोच्थ्यौ । त्यो चरम आनन्दको त कुरै नगरम् । एकदिन मैले थोरै जिकिर गरेँ पनि । लगत्तै फेसबुकको पासवर्ड माग्यौ । यार तिम्रो मनोविज्ञान कति पातलो र पारदर्शी थियो ।
यसैगरी दिनहरू बितिरहे । यो प्रेमको लक्ष्य के हो सोच्न पनि डर लाग्थ्यो । तर हरेक मिनेट, सेकेण्ड यही अफाल्तु प्रेमभन्दा अन्त दिमाग गएन । तिमी भने भन्थ्यौ ‘जे भए पनि सधैँ प्रेम गर्छु ।‘ त्यो ‘जे भए पनि’ भन्ने फ्रेज कति दुर्दान्त सुनिन्थ्यो । एकपल्ट तिमीले मलाई तिम्रो घरमा पनि लग्यौ । मलाई लाग्यो वाह हाम्रो प्रेमले वैधानिकता पाउने भयो । पार्टी रहेछ कुनै । तिमीले नै भनेको जस्तो पोसाक, शृङ्गारमा म तिम्रो महल जस्तो घरमा गएँ एकदम नर्भस भएर । तिमीले साथी भएर चिनायौ तिम्रा बाबा आमासँग मलाई । खैर ।
सत्य भन्छु – तिम्रो धनी बाबाको नजर मलाई मन परेन । तर सोचें म आफू नै बढी शंकालु भए हुँला । अनि तिम्री आमाले केही सोध्नुभयो ।उही सामान्य कुरा – मेरा बाबा आमा के गर्छन् । कता छन् । मैले पनि भनें उही दर्दनाक सत्य कुरा । मलाई रुन आयो । मलाई तिम्री आमाको हातले मेरो आँसु पुछेको स्वैरकल्पना आयो । कस्तो हुन्थ्यो यी महिलाले मलाई गम्लङ्ग अँगालो हालेर ‘नरोऊ बा’ भनेको सुन्न । मलाई साला तिमीसँग बिहे गर्नु पनि पर्दैनथ्यो । आँखा छोपेर रोएको थिएँ – हेर्दा तिम्री आमा त्यताबाट अलप भएर अर्कै आन्टीसँग हाँस्दै थिइन् । म पनि त्यहाँबाट तुरुन्तै निस्केँ । तिमी पछि पछि आएका त रहेछौ, के भो भन्दै । सन्चो भएन भनेर बहाना बनाएर निस्केँ – तिमीले पठाओ बोलाइदियौ पनि । त्यसको लागि धन्यावाद ।
खुब रोएँ घरमा मामामाइजू नभएको मौका पारेर । यो प्रेमको बाटो अगम्य, भत्केको, पहिरो गएको रहेछ शुरु देखि नै सायद । केही निराशाजनक शब्दहरू पोस्ट गर्छु भनेर फेसबुक खोलें । यौटा मेसेज देखें कुनै छद्म नाम जस्तो लाग्ने केटीको ।
‘घर पनि लग्यो हैन त ? अब तिमीलाई ब्रेक अप दिन्छ । रंजनको यही व्यवहार छ सधैँ ।’ मेसेजवाला अझै अनलाइन देखिनँ वा देखियो । तुरुन्तै ब्लक गर्न पर्ने जस्तो लाग्यो । तर मेरो दर्दको केन्द्रमै प्रहार भएको यो रहस्य त्यतिकै किन जान दिनु जस्तो लाग्यो ।
‘तिमी को हौ ?’ मैले सोधेँ ।
‘उसको एक्स ।’ अप्सरा भन्ने नामबाट बोल्दै थिई । ‘तिमीलाई फलो गर्दै थिएँ कति महिनादेखि । अब यो चेतावनी दिनुपर्छ जस्तो लाग्यो ।‘
‘जेलस भएर होला ।‘ मैले भनें, ‘खुलेर आऊ न अगाडी सक्छौ भने ।‘ मलाई रिस उठ्दै थियो । उसको भुतपुर्ब प्रेमिका छन् भन्ने त मैले सजिलै अनुमान गरेको थिएँ – तर प्रत्यक्ष कुरा गर्दा मलाई नै बरु अलिक डाह्र भैरहेथ्यो ।
‘तिमीसँग जेलस हुनु छैन । अनि कस्तो हुँदैछ तिम्रो सीधा कपाल ?’ कस्तो अप्रत्याशित प्रश्न सोधी उसले, ‘पक्कै घुम्रेको हुनुपर्छ तिम्रो न्याचुरल हेयर ।‘
रंजनले मलाई कपाल सीधा बनाउन लगाएदेखि मैले फेसबुकबाट सबै पुराना फोटाहरू हटाइदिएको थिएँ । मैले सोधें, ‘कसरी अनुमान लगायौ ?’
‘हाम्रो प्रेमी यस्तै छ । सीधा भए घुम्राउन लाउँछ, घुम्रेको भए सीधा पार्न । कति सिधा सिल्की कपाल थियो मेरो । जबरजस्त पर्म गरेर कर्ली बनाउन लगायो । उसले अरूलाई नि यस्तै गरेको छ ।’
‘ …’ केही लेखिन मैले । तर अनगिन्ती संवेगहरू मडारिए भित्रभित्रै ।
‘म सधैँ आफै मेरो सुन्दर सिल्की कपालको फ्यान । अब आफूलाई भूत जस्तो देख्थें घुम्रेको कपाल भएको लाखे जस्तो । तै पनि यही प्रेम हो भनेर सहिरहें ।…’ उसको त धाराप्रवाह छुटिरहेथ्यो । मैले उसमै आफ्नो प्रतिबिम्ब भेट्न थालें तर पनि यो कुराकानी लम्ब्याउन मन लागेन । बन्द गरिदिएँ फोन ।
छटपटीमा केही दिन बिते । थाहा नपाएको पनि हैन । जानी जानी यो आगोमा म आफै सल्किन आएको हुँ । यो प्रेमले गर्दा मैले कति गलत निर्णय लिए थेँ । यो प्रेम जोगाउनु भन्दा अरू कुनै कुरा गौण लाग्थ्यो मलाई । माइजू बिरामी पर्नु हुँदा झुट बोलेर तिमीलाई भेट्न गएको थिएँ । कतिपय नैसर्गिक कर्तव्यबाट समेत यो प्रेमले बाटो भुलाइदिएको थियो ।
अझै मेरो आँखा खुलेको थिएन ।
केही दिनमा तिमीले फोन गर्यौ । सधैँ भन्दा नरम बोली बोल्यौ । त्यही होटेलमा भेट्न मन छ भन्यौ । त्यही होटेल जहाँ तिमीले मलाई प्रथम पल्ट भोगेको थियौ । एकतर्फी । एकतमास । एकान्तमा कुरा गर्न मन छ भन्यौ । मेरो सुक्दै गएको आशा फेरि पलायो । यस्तै असम्भव आशाहरूले बचाएको हुन्छ प्रेम ।
अलिक बढ्तै जङ्गली भएर पेश आयौ त्यो दिन मलाई भोग्ने क्रममा तर तिम्रो रेस छिटै टुङ्गियो उही जङ्गली अर्नाको जस्तै । तिमी त्यसपछि बेडमा ढल्केर बस्यौ अनि म सर्वाङ्ग नाङ्गै तिम्रो काखमा उत्तानो परेर तिम्रो मुहार हेरिरहें । के चाहिँ रहेछ मलाई यस्तो उल्कै पार्ने यो मुहारमा – जान्न खोज्दै थिएँ एक्कासि तिम्रा आँखा रसाए । छिनभरमै तप्प तप्प तिम्रा आँसु खस्न थालिहाले मेरो भर्खर तिम्रो भोगाइले रातिएको तातिएको अनुहारमा । यो अलिक असाधारण अवस्था थियो । तिमी रोएको हुन सक्ने कुरा । पहिलो पल्ट तिम्रो आँसु चाखें – हुन त अलिक नुन नपुगेको जस्तो थियो ।
‘जुनी जुनी तिम्रै हुन चाहन्थें !’ यसरी सुरु गर्यौ वियोगान्तको कहानी ।
सास रोकें मैले – तिमीले फेरेको सासको पनि अर्थ हुनेवाला थियो त्यो क्षण । ‘होऊ न त ।‘ मैले फुस्फुसाएँ । तिम्रो हात मैले मेरो नाङ्गो स्तनमा राखिदिएँ – मानौँ म टेबल मुनिबाट कोही खरदारलाई घूस दिंदैछु । तिमीले सहसा रिफ्लेक्स जसरी हात हटायौ । तिमी सेलाइसकेका थियौ – अफ कोर्स । तर एकछिन अगाडी सम्म न्वारानदेखिको बल लगाएर घाइते बनाएको स्तन त्यस लगत्तै किन छुन मानेनौ ?
‘विधाताले हामीलाई जीवनसँगै बिताउन नदिने भयो ।‘ तिमीले जिन्दगीको सबभन्दा डरलाग्दो वाक्य भनिदिहाल्यौ । सबै शरीरभरी एनेस्थेसियाको सुई लगाएको जस्तो संवेगहीन भयो । खाली मनमुटु मात्रै सबै चेतना ओगटेर मलाई बन्दी बनायो ।अब हामी दुई बीच विधाता भन्ने भिलेन आयो । यो भिलेन कसै गरी पनि नजाने टाइपको थियो किनभने यो देखिँदैनथ्यो ।
मैले एक शब्द बोलिन । अब प्रेम भन्ने कुरा बार्गेनिङ गरेर, तर्क गरेर, प्रमाण जुटाएर हुने हैन । कि यो हुन्छ कि हुँदैन । तिमी भने मेरो मौनतालाई प्रतिरोध सम्झेका थियौ । अनेक कुरा गर्यौ । फाल्तु कुरा रहेछ अहिले बुझ्दै छु । खतरनाक कुरा समेत रहेछ । ‘मिलन हुन नपाए पनि तिम्रो याद राख्ने छु । भेटिरहनेछु ।‘ के हो यो ? विधाता साला के हेरेर बस्छ ‘पछि भेट्दा ?’ लुगा लगाएर चुपचाप होटेलबाट फर्कें । मलाई याद छ मेरो ब्राको हुक पनि अडभङ्गे गरेर अड्काएँ । पेन्टी उल्टो लगाएको रहेछु – घर गएपछि थाहा भयो । डर त पहिलो दिनदेखि नै थियो यो त्रासदीको तर यसले शरीर पाएको दिन, औपचारिकता पाएको दिन छुट्टै पीडा भैरहेथ्यो ।
० ० ० ०
त्यो केटी अप्सरालाई मेसेज पठाएँ । कसैलाई थाहा नभएको दुखाइ झन् उग्र हुने रहेछ । दुखाइ व्यक्त गर्न पाउनु पनि ठुलै भाग्य रहेछ ।
‘हुने नै थियो यो ।‘ उसले भनी, ‘बहाना के थियो ? मेरो त जात नमिलेको थियो ।’
म फेरि सन्न भएँ । त्यस्तो बहाना त ल्याएका थिएनौ सिवाय विधाता ।
तिमीले फोन गर्थ्यौ अझै – अझ भेटम कतै समेत भन्यौ । तर अब म त्यो विषयमा सतर्क भैसकेको थिएँ । आइन तिमीलाई भेट्न । तिमी रुन्थ्यौ समेत बेला बेला । तिम्रो बोली सुन्न मात्रै मैले फोन उठाउँथें – तिम्रो सास, सिस्कारी सुन्थें राखिदिन्थें ।
हुन त मैले धेरै पछि मात्रै बुझें एउटा गहिरो रहस्य । कुनै घटना विशेषको रहस्य हैन । बिछोडकै पीडाको रहस्य । तिमी पनि पीडामा छौ भन्ने चिन्ताले पो रहेछ यता पनि घाउ चर्किने । तिमी रोएका थियौ – विधाताले गर्दा जोडी फुटेको भनेका थियौ । मैले सम्झिरहें कि तिमीले चाहेर हैन – तिमीले नै टार्न नसक्ने प्रारब्ध तिम्रो माथि बज्रेको रहेछ । सकेको भए त मलाई अपनाउने नै त रहेछौ । तिमी त मेरो खास मायालु नै रहेछौ । मेरो दुख त के हो र तिम्रो अगाडी । यस्तै यस्तै आगोले मलाई पोलिरहेको थियो । मलाई थाहा थिएन तिमीले तिम्रो नभएको दुखको भारी समेत मलाई बोकाइरहेको रहेछौ । बिछोडको दुइटै भारी मैले पो बोकिरहेको रहेछु – जुन मैले कसरी बिसाएँ तिमी जानेर मुर्छा पर्नेछौ ।
अप्सरासँग अलिक नजिकिएँ । उसलाई पनि त्यस्तै अनुभव रहेछ । सायद युनिभर्सल अनुभव होला । एकदिन चाहिँ उसले एकदमै अनपेक्षित कुरा गरी । भ्वाइसमा कुरा हुन थालेको थियो । उसको फोटो समेत हेरें एकदिन । साली म भन्दा राम्री लग्यो । एक मनले त लाग्यो कि यस्ती राम्रीलाई त त्याग्ने तिमी मलाई त सजिलै बिर्सन्छौ होला ।
‘सबभन्दा पैले सीधा गएर कपाल सीधा पारें ।‘ उसले भनी । मलाई भने यो सीधा कपाल उसको प्रतीक भएर बसेको फिल भैरहेथ्यो । गएर पर्म गर्ने जाँगर समेत थिएन ।
‘रंजनले छोडेपछि विक्षिप्त भएँ धेरै दिन । अनि एकदिन यौटा अनौठो काम गरें । तिमीलाई पनि दिऊँ एउटा कन्ट्याक्ट ?’ अप्सराले सोधी । मलाई लाग्यो कुनै साइकोलोजिस्ट या परामर्शदाताहरूको कुरा गर्दै छे ।अनि मेसेजमा नाम, फोन नम्बर र यौटा फोटो समेत पठाई – कुनै केटाको ।
‘के हो यो ? को हो यो ?’ तर्सेर सोधें ।
‘मेल एस्कोर्ट हो । अचेल पाइन्छन् यतै पनि । किन कसरी के नसोध । मलाई भने त्यो साला खाडलबाट निस्कन सजिलो भएथ्यो यो जिगोलोसँग केही सेसन बिताएपछि ।‘
मलाई भने षड्यन्त्रपूर्ण खतरा लाग्न थाल्यो । कतै यो केटी त्यो पुरुष वेश्याको दलाल त हैन ? कमजोर मनस्थितिको फाइदा उठाएकी होला जस्तो लाग्यो अनि मेसेन्जर अफ गरिदिएँ ।
अर्को पटकको फोनमा तिमिलाई यो सोध्न मन लाग्यो कि साँची नै के हो त कारण । जात त मिल्ने नै थियो । अफ कोर्स हाम्रो वर्ग अलग थियो – तिमी साँच्चै उपल्लो वर्गको – म बिचरी मध्यम वर्ग । सायद यही भन्छौ कि जस्तो लाग्यो । अचम्मै हुन्थ्यो यदि यो तिमीले हाम्रो प्रेम टुटाउने कारण भनेको भए ।
तर तिमीले भन्यौ –
‘प्यारी, मेरो बाबा-आमाले मान्नु भएन । बाबुआमा दुइटै नभएकी सँग नाता गाँस्न मिल्दैन रे । त्यस्तो जोग छ रे मेरो अनिष्ट हुन्छ रे !’
तिमीलाई थाहै छ त्यसपछि तिमीलाई मैले बोल्नै दिइनँ – फोन राखेँ र नम्बर, मेसेन्जर यावत सबैतिर ब्लक गरिदिएँ । अँध्यारो कोठामा झ्याल ढोका सबै एकैपटक हठात् खोले जस्तो कालो उज्यालो आयो । दिन नम्बर एक देखि तिमीले मलाई फेरिरह्यौ । कपाल, आँखा, नङ, ओठ, स्तन, योनी – अनि मन समेत तिमीले परिवर्तन गराइरह्यौ । आज आएर यस्तो कुरा गर्यौ जुन म चाहेर पनि फेर्न सक्दिनथें । मेरो अस्तित्व नै समस्या बनाएर मैमाथि प्रहार गर्यौ । त्यसपछि तिमीसँग कुनै सरोकार रहेन – सिवाय यो बदनाम विगत । अब त्यो विगतलाई फेर्न म चाहन्थें ।
यति हुँदा पनि तिम्रो त्यो प्रेम – अब भ्रम – को जालोबाट अहँ, फुत्किन सकिन । अझै पनि तिमीले चाहेर यो भनेका हैनौ जस्तो लाग्थ्यो । अझै पनि तिमी पनि दुखी छौ भन्ने लाग्थ्यो । तिमीले नसकेर नै यसो भनेका हौ जस्तो लाग्थ्यो । तिमीलाई पनि बिछोडको पिडा भयो होला भन्ने दुखाइ मेरो प्रमुख समस्या थियो । म साली त यो बिछोड कसै गरी सहुँला तर तिमीलाई सायद असैह्य भयो होला भन्ने झुटले चाहिँ झन्डै मलाई जीवनबाट राजीनामा गराएको थियो । बरु मलाई तिमीले सिधै जा अब सकियो, मलाई तँ पुग्यो जतासुकै ख्याम्सी भनेर मिल्काइदिएको भए कस्तो सजिलो हुन्थ्यो यो वियोग सहन । सायद एक हप्ताभित्रै म पनि कोही दोस्रो प्रेमीको खोजीमा हुन्थें । हेर त, प्रेमले मान्छेलाई कति मूर्ख बनाउन सक्ने रहेछ !
यो ऊहापोहबाट निस्कने केही उपाय देखिन । यस्तै दर्दिलो बेहोशीमै मैले त्यो जिगोलोलाई कल गरेँ । किन भन्छु र त्यसको नाम – तिम्रो त के भर । भाडाका गुण्डा लगाएर पिट्न खोज्ने होला । मानिलिऊँ त्यसको नाम रोमियो ।वा मजनु । काम्दो मन लिएर गएँ पनि – यसपालि होटेलको र त्यो भाडाको प्रेमी भनूँ – त्यसको पैसा म आफैले तिरे नि । केटोले ‘को मार्फत आउनु भएको’ भनेर सोध्यो । अप्सरा भनिदिएँ – चिनेको जस्तै गर्यो । जे होस् – मलाई राम्रै खातिरदारी गर्यो । दस मिनेट भित्रै मलाई कता कता सुरक्षित छु जस्तो भयो – जे कामको लागि आएको हुँ त्यो कामको लागि । तिमी जत्ति ह्याण्ड्सम त हैन – तर म त्यसको खोजीमा थिइन ।
तिमी जस्तो हुरी भएर त्यो आएन । तिमी जसरी पत्कर भएर निमेषभरमै सकिएन । साला मामुली पैसा तिरेर एकरातलाई ल्याएको आत्माले त यस्तो आनन्द दिने रहेछ । प्रेमको ढोंग भए पनि गर्न पर्ने तिमी कमजोर प्राणी रहेछौ – एक पल्ट पनि मलाई शिखरमा पुर्याएनौ । एक पल्ट पनि आफू सँगसँगै खसालेनौ । तिम्रो नाटक कति कमजोर रहेछ – खाली मै रहेछु नबुझ्ने ।
तिमिसँगको त्यो अन्तिम तिम्रो भोगाइपछि जस्तै गरेर रोमियोको नाङ्गो काखमा पल्टिएँ । अझै पनि त मलाई तिम्रो पो चिन्ता थियो । मलाई साँची नै कोही चाहिएको थियो – नाटकै लागि भए पनि । नाङ्गो स्तनमा हात राखिदिएँ । यो मोरोले त फेरि गिजोल्न थाल्यो । मलाई काउकुती लाग्यो र ‘भयो’ भनें । ‘ठिक छ त’ भनेर उसले हात कपालतिर लग्यो । कपाल मुसारिदियो । टाउको थिचिदियो ।अनि अजिब किसिमले कपालका रेशा-रेशा तानेर अध्ययन गरे झैं गर्न लाग्यो ।
‘एउटा सोधुम् ?’ रोमियो बोल्यो ।
मलाई भने नर्भस भएर आयो – सायद प्रेमको बारे सोध्ने हो कि – यो मूला पनि केटा नै हो अनेक क्युरियोसिटि जागेको होला । तै पनि ‘सोध’ भनें । डाह लग्यो अर्कोलाई तिमी भनेको ? भाडमा जाओस् तिम्रो डाह ।
‘किन सीधा बनाउनुभएको कपाल ? सायद हजुरलाई घुम्रेको कपाल नै सुहाउँछ कि ? हेर्नुस् त यो कन्चटमा केही रेशा अझै न्याचुरल बचेका रहेछन् ।‘
मैले सास बन्द गरेर एकटक उसलाई हेरेछु – ‘सरी अब भन्दिन’ भन्यो ।
उसलाई मैले मेरो प्रेम कहानी सब सुनाएँ । यो थोरै प्रेम कहानी कहाँ रह्यो र ।
रोमियो एकछिन अँध्यारो अनुहार लिएर सोच्न थाल्यो । मलाई भने ह्या फेरि के झन्झट – योसँग जे गर्न आएको त्यही गरेर जानुपर्ने थियो बेकार सेण्टि भएर भनें जस्तो भयो ।
‘त्यो कहिले पनि प्रेम थिएन ।’ रोमियो बोल्यो । ‘साँचो प्रेमलाई रोक्न सक्ने बाधाहरू ब्रह्माण्डमा धेरै छैनन् । यस्तो जाबो घटिया अवरोध पनि कहीँ प्रेमको बाधा हुन्छ ? सरी है – तर हजुर प्रेम हैन षड्यन्त्रमा फसेको हो ।‘
एकछिन सोचें – के यो सडकछाप जिगोलो कतै साँचो बोल्दै त छैन ?
‘सायद तिमी ठिक भन्दैछौ ।‘ मैले भनें, ‘जात समेत मिलेकै हो ।‘
‘जात ? हा हा ।‘ रोमियो हाँस्यो ।‘हुन त अर्काको कुरा गर्न नहुने हो । हजुरको साथी अप्सरालाई चाहिँ कोही बजियाले जातको कारणले छोडेको रे । त्यो भन्दा अर्को उदाहरण के दिनु ।‘
हे भगवान् – त्यो बजिया उही त हो नि भन्न मन लागेको थियो तर अति नाटकीय हुने जस्तो लाग्यो र चुप लागेँ ।
मलाई एक्कासि सबै बोझ हल्का भए जस्तो भयो । अब खाली एउटा मज्जाको चरम तृप्ति चाहिएको थियो जुन तिमी जस्तो घटिया कमजोर पुरुषले दिन सक्दैनथ्यो । रोमियो तिमीभन्दा धेरै गुणा सक्षम रहेछ ।
साँची नै भनें यार मैले उसलाई ‘गिभ मी अ गुड …’ भनेर । पहिलो पल्ट मैले पुरुषलाई भोगेँ । मनबाट सबै यो कथित प्रेमको अवशेष – प्रत्येक धक्कामा धुलोपिठो हुँदै थियो । धेरैपल्ट अनुभव गरेँ त्यो चरम आनन्द । बुझेको छु यही रोमियो पनि यौटा उसकै संसारमा सीमित केटा हो । लिनु न दिनु – यसपछि ।
रोमियोसँग छुटेर सीधा आउँदैछु तिम्रो आलिसान घरको कल्बेल थिच्न । आज जस्तो रमाइलो दिन तिमीसँग भेटेदेखि भएको थिएन । प्रिन्ट गरेर ल्याएको छु यो चिठी – अब यसको गलत उपयोग गर्ने सोच्न थाल्यौ भने त्यसको उपचार मसँग छ । भ्रममुक्त भए पछि थाहा पाएँ मसँग धेरै कुराको उपचार छ ।
‘हेलो रंजन, मेरो नाम प्रिया हो । यो पढ र आफ्नै नर्कमा जाऊ ।‘
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।