त्यहाँ मान्छेहरू एकत्रित हुन थाले । त्यो कुमारजीको घर थियो । उनी तरकारी व्यवसायी थिए । पतिपत्नी दुवैजना मिलेर तरकारी बेचेर आफ्नो दैनिकी चलाउँदथे । उनीहरूका दुई छोरा थिए । दुवै भद्र र सुशील थिए । कुमारजी बिहानै चारपाँच बजे उठेर तरकारी बजार जान्थे । फेरि मध्याह्नतिर सविता जान्थिन् र उनलाई केही क्षणका लागि अवकाश दिन्थिन् । घरमा भोजन गरेर केही बेर आराम गर्थे उनी अनि फेरि तरकारी बजार जान्थे र राति आठ नौ बजेतिर घर फर्किन्थे । उनीहरूको दैनिक जीवन यसरी नै बित्तै थियो । छरछिमेकी उनीहरूलाई मिहिनेती र कर्मठ दम्पती भन्थे । ठूलो छोरो जीवन कलेज पढ्न थालेको थियो भने सानो छोरो रमेश दस कक्षामा पढ्दै थियो ।

खै किन हो आज एकएक गर्दै मान्छेहरू उनको घरमा एकत्रित हुन थालेका थिए । केही छिनमा नै त्यहाँ मान्छेको भिड भयो । वरिपरिका र केही टाढाका मान्छेहरू तथा उहाँका आफन्तहरू पनि त्यहाँ एकत्रित हुन थाले । मेरो जिज्ञासा बढ्यो र म पनि त्यतैतिर लागेँ । पुग्नै लागेको थिएँ कि रोएको आवाज मेरा कानले सुने । म अलिक छिटोछिटो हिँड्दै गएँ । आँगनमा एउटा सेतो कपडाले ढाकेको लास थियो । त्यो लास देखेर मेरो शरीर सिरिङ्ग भयो । मेरो धड्कन तेजले चल्न थाल्यो । कुमारजीका आँखाबाट अविरल आँसु बगिरहेका थिए । उनकी श्रीमती बेहोस थिइन् र रमेश रुँदै ‘दाजु दाजु’ भन्दै घचघच्याइ रहेको थियो । तब मलाई अनुमान लाउन गाह्रो भएन । यो लास अरु कसैको नभएर उनका जेठा छोरा जीवनको हो । म किंकर्तव्यविमूढ एकै ठाउँमा उभिरहेँ । मलाई हिम्मतै भएन कि म कुमारजीलाई र रमेशलाई के भनूँ ? कसरी सान्त्वना दिऊँ र कुन शब्दबाट आरम्भ गरौं ? घरका आँगनमा जवान छोराको लास लडिरहेको छ । म पनि अन्य मान्छेहरू सरह चुपचाप उभिरहेँ । मेरो मन पनि पीडामा झुल्सिरहेको थियो ।

केही समय पछाडि मलाई थाहा भयो कि उसको कसरी मृत्यु भयो भनेर । त्यहाँ उपस्थित मान्छेहरू कानेखुसी गरिरहेका थिए कि ऊ आन्दोलनमा सामेल भएको थियो र पुलिस द्वारा निषेधित क्षेत्रमा हडताल गर्ने हुँदा पुलिससँग ढुङ्गामुढा हानाहान भएको थियो । पुलिसले अचानक ढुङ्गा, लाठी र अश्रु ग्यासबाट हमला गरे । दुर्भाग्यवश पुलिसको लाठी उसको टाउकामा बजारियो र ऊ त्यही ढल्यो । उसलाई तुरुन्तै उठाएर अस्पताल लगियो तर अस्पताल लाँदा लाँदै उसको बाटैमा मृत्यु भयो । मेरो मनमा असाध्यै पीडा भयो किनकि ऊ राम्रो केटो थियो, जानेको बुझेको केटो थियो, गाउँको थियो, मेहनती थियो, सहयोगी थियो, पढन्ते थियो, चरित्रवान् थियो, नम्र स्वभावको थियो अनि कुमार दम्पतीको भविष्य र सपना थियो । अस्तिका दिन मात्रै त मेरो र उसको भेट भएको थियो ।

“नमस्कार काका !”

“नमस्कार भाइ ! के छ खबर, घरमा सबै ठिकै त छ नि ? अनि पढाइ कस्तो चल्दैछ त ?”

“सबै ठिकै छ काका ! आजभोलि त पढाइ पनि भएकै छैन । कलेज बन्द छ । विद्यार्थीहरूले कलेजमा ताला लगाएका छन् । मेरा साथी भन्दै थिए कि वर्तमान सरकारले खुल्लमखुल्ला भ्रष्टाचार गरेको छ, अमर्यादित कार्य गरेको छ, केवल आफ्ना पार्टीका व्यक्तिको पदोन्नति गरेको छ, मर्यादाको उल्लङ्घन गरेको छ, मनमानी गरेको छ, मतभेद गरेको छ । त्यही भएर आन्दोलन गर्नका लागि पार्टीका अध्यक्षले सूचना जारी गरेका छन् र भोलिदेखि आन्दोलनलाई भव्य रूप दिनका लागि विद्यार्थीहरू भन्दै थिए ।”

“हेर भाइ ! तिमीहरूको काम हो पढ्ने । मन लगाएर पढ । यी पार्टीका नेताको विश्वास नगर । यिनीहरू केवल आफ्नो स्वार्थ सिद्धका लागि कराउँछन् , अरूलाई उचाल्छन् । कुनचाहिँ पार्टीका नेताले के गरे र के गरेनन् मैले सबै देखेको छु । सबैका आँखाको लक्ष्य भनेको एक मात्र कुर्सी हुन्छ ।”

“हो काका ! आन्दोलनमा जान र त्यहाँ गएर ढुङ्गा मुढा गर्न मलाई पटक्कै मन लाग्दैन । तर साथीहरूलाई वचन दिइसकेकोले भोलि चाहिँ जान्छु । त्यसपछि म कहिल्यै जान्न ।”

“हेर भाइ ! यी नेताहरूका कुरामा आएर आफ्नो भविष्य बरबाद नगर । यिनीहरू तिमी हामी जस्ता सिधासाधालाई बलिको बाख्रो बनाउँछन् । पछिल्लो धेरै वर्षसम्म उनीहरूकै त सरकार थियो । र त्यो बेलामा उनीहरूले मनमानी गरेको पनि त हामीले देखेकै हौँ । प्रत्येक पत्रपत्रिकामा अरबौंको भ्रष्टाचार, अनियमित कार्य, अमर्यादित कार्य, पार्टी कार्यकर्ताको नाममा भाइभतिजाको पदोन्नति, अर्थको दुरुपयोग, शक्तिको दुरुपयोग जस्ता समाचारबाट समाचारको मुख्य पृष्ठ भरिएको हुन्थ्यो र आज यिनीहरू नै यसो भन्दै छन् ।”

“हो काका ! तपाईंको कुरा सत्य हो । तर… ”

“हामी त प्रयोगशाला हौँ यिनीहरूका । यिनीहरूका पछिपछि लाग्ने सबै कार्यकर्ताहरूले पनि कहाँ फाइदा पाउँछन् र ? उनीहरूलाई रक्सी पिलाइन्छ, मासु ख्वाइन्छ, केही रुपैयाँ दिलाइन्छ, बस । एउटा भनाइ नै छ नि हात्तीका दुइटा दाँत हुन्छन्, एउटा देखाउने र अर्को चबाउने । यिनीहरू पनि यस्तै हुन् । हाम्रो देशमा अहिलेसम्म राष्ट्रवादी नेताको आगमन भएकै छैन । आफ्नो परिवारदेखि माथि उठेर, पार्टीदेखि माथि उठेर, राष्ट्र र समाजका लागि सोच्ने नेताको यस देशमा आगमन भएको छैन । यसको पछि नलाग । पढ्नमा मन लगाऊ ।”

बिचरा ऊ राजनीतिका नाममा केही जान्दैनथ्यो र रुचि पनि राख्दैनथ्यो । साथीसंगीका भनाइमा लागेर आन्दोलनमा सामेल भएको थियो । दुर्भाग्यवश मारियो । ऊ पार्टी कार्यकर्ता पनि थिएन ।

बिस्तारै उसको लासको छेउमा गएँ । मलाई देख्ने बित्तिकै कुमारजी मेरा छेउमा आएर मलाई अँगालो हालेर घुँकघुँकी रुन लागे । मैले पनि आफ्ना दुवै हातले उनलाई सहारा दिएँ र चुपचाप लागेर उनलाई समातिरहेँ ।

“दिलिपजी ! मेरो छोरो मारियो । हामीलाई छोडेर गयो । कति मन लगाएर पढ्थ्यो । ठूलो भएर वैज्ञानिक हुने कुरा गर्थ्यो । धेरै पैसा कमाउँछु तपाईँहरूलाई तरकारी बेच्नु पर्दैन भन्थ्यो । तर आज…।” उनका आँखाबाट बलिन्द्र आँसु झरिरहेका थिए ।

म केही बोल्न सकिरहेको थिइन । उनकी श्रीमतीको स्थिति पनि नाजुक थियो । उनी मुर्छित थिइन् । अचानक बीचबीचमा ‘मेरो छोरा’ भन्दै कराउँथिन् र फेरि मुर्छित भएर लडिहाल्थिन् ।

यत्तिकैमा त्यहाँ पन्ध्र बीस जना केटाहरू आफ्नो पार्टीको झण्डा लिएर आए र भन्न थाले, “भ्रष्टाचारी, देशद्रोही, अमर्यादित सरकारले हाम्रा कमरेडको हत्या गर्यो । हामी उसको खराब नियतको विरुद्धमा शान्तिपूर्वक विरोध स्वरूप आन्दोलन गरिरहेका थियौँ । अचानक हामीमाथि हमला भयो र हाम्रा सक्रिय कमरेडलाई कुटीकुटी बर्बरतापूर्वक मारियो । तर हामी कमरेडको सहादतलाई निरर्थक हुन दिँदैनौँ ।” उसको लासलाई हेरेर उनीप्रति नमस्कार गर्दै फेरि अगाडि भन्छन्, “तपाईँ हाम्रा मार्गदर्शक हुनुहुन्छ । तपाईँ हाम्रा प्रेरणाका स्रोत हुनुहुन्छ।”

“वर्तमान सरकार मुर्दाबाद”

“मुर्दाबाद मुर्दाबाद”

“देशद्रोही सरकार मुर्दाबाद”

“मुर्दाबाद मुर्दाबाद”

“कमरेड जीवन जिन्दाबाद”

“जिन्दाबाद जिन्दाबाद”

“सहिद जीवन जिन्दाबाद”

“जिन्दाबाद जिन्दाबाद”

केही बेरपछि त्यहाँ एउटा गाडी आयो । गाडीमा चार पाँच जना युवाहरू थिए । उनीहरूले फूलको माला बोकेका थिए । सायद त्यो माला जीवनको लासमा राख्नको लागि होला । उनीहरू मध्ये एकजना यस्तै चालिस पचास वर्षका मानिस थिए । उनी भन्न लागे, “कमरेड जीवनको लासलाई मुख्य पार्टी कार्यालयमा लगिनेछ । भोलि दिनभरि पार्टी कार्यालयको मैदानमा उनको आदर सत्कारका लागि राखिनेछ । र पर्सि उनको दाह संस्कार गरिनेछ । त्यसपछि अरू कडाइका साथ आन्दोलनलाई अघि बढाइने छ । यहाँ उपस्थित तपाईंहरू सबैलाई मेरो अनुरोध छ कि तपाईंहरू पनि यो भ्रष्टाचारी, देशद्रोही, अमर्यादित सरकारलाई उखालेर फेँक्नका लागि अगाडि आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।”

म आश्चर्यचकित भएँ किनकि जुन केटो कुनै पार्टीमा आबद्ध नै छैन, जुन कुनै पार्टीको बारेमा केही जान्दा पनि जान्दैन, जसको राजनीतिमा रुचि नै थिएन । त्यसैलाई यिनीहरू भन्छन्, यो हाम्रो कमरेड हो ।

कुमारजीलाई सान्त्वना दिँदै एकजना युवक भन्छ, “तपाईं निश्चिन्त रहनु अङ्कल ! अब हामी यसै चुपचाप बस्नेवाला छैनौँ । हामी जीवनका हत्यारालाई पानी मुनि गए पनि खोजेर निकाल्नेछौं र उसको पनि यस्तै हालत बनाउनेछौं । हामी आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउनेछौँ र सरकारसँग क्षतिपूर्तिको अपिल गर्नेछौँ ।”

बिचरा कुमारजीको जवान छोराको ज्यान गएको छ र उनीहरू भनिरहेका छन् कि चिन्ता नगर्नु हामी क्षतिपूर्ति उपलब्ध गराउनेछौँ । के अब क्षतिपूर्तिबाट प्राप्त पैसाले उनलाई ढाडस मिल्नेछ ? क्षतिपूर्तिबाट प्राप्त भएको पैसाले उनलाई र उनको परिवारलाई चैन मिल्नेछ ? आदि इत्यादि यस्तै प्रकारका प्रश्नहरू मेरा मानसपटलमा घुमिरहे ।

त्यहाँ उपस्थित सबै मानिसहरू मात्र सुनिरहे, हेरिरहे । उनीहरूले जीवनको लासमाथि पार्टीको झण्डा ओढाए अनि फूलका माला राखेर उनलाई लैजान लागे ।

“तर बाबु ! यसकी आमा त अहिलेसम्म मुर्छित नै छिन् ।” कुमारजीले रुँदै भने ।

“तपाईँहरू यही बस्नुहोला । आमाको हेर विचार गर्नुहोला । आमालाई होस आइसकेपछि उहाँलाई पनि पार्टी अफिसमा लिएर आउनुहोला ।”

जब म हाम्रो देशका राजनीतिक पार्टीहरूको बारेमा सोच्छु त म आश्चर्यमा पर्छु । किनभने कुनै पार्टी संस्कारवान् र अनुशासित छैनन् । यहाँ न कुनै कानुन छ न कुनै विधान । दुनियाँमा अगर कुनै देश भगवान् भरोसामा चलिरहेको छ भने सायद त्यो हाम्रै देश होला । कहिले यो पार्टीको आन्दोलन, कहिले त्यो पार्टीको आन्दोलन । कहिले यस पार्टीको सरकार, कहिले उस पार्टीको सरकार । कहिले पुलिस आन्दोलनकारीलाई मार्छ, कहिले आन्दोलनकारी पुलिसलाई मार्छन् । मर्छ त आफ्नै दाजुभाइ, नेपाल आमाकै छोरो । यहाँका जनता पनि उस्तै छन् । भेडासरि कहिले यसका पछि लाग्छन् त कहिले उसका पछि । यस देशमा नेताका छोराछोरी कहिल्यै मर्दैनन् । पार्टी प्रमुखका छोराछोरी कहिल्यै मर्दैनन्, सेना प्रमुखका छोराछोरी कहिल्यै मर्दैनन् । उनीहरूका छोराछोरी या त अमेरिकामा पढिरहेका हुन्छन् या त फेरि अस्ट्रेलिया, क्यानडा या फेरि लण्डनमा । पछि पढाइ सकेर आफ्ना आमाबुवाको पदलाई सम्भाल्छन् पार्टी अध्यक्ष भएर । यहाँ भेडा बाख्रा त जनताका छोराछोरी नै हुन् । कति मारिन्छ ति, कति अपाहिज बनाइन्छन्, कतिलाई गायब बनाइन्छ भने कति आफै पलायन हुन्छन् । जो कट्टर झोले भएर लागेका छन् । उनीहरूलाई नोकरी दिइन्छ या फेरि विभिन्न सरकारी, गैरसरकारी संस्थाहरूमा नियुक्ति दिइन्छ । नेताले या नेताका छोराछोरीले कुनै दण्डनीय काम गरे भने उनीहरूका लागि कुनै नियम कानुन हुँदैन । तर सामान्य जनताले सामान्य गल्ती गरे भने उनीहरूलाई विभिन्न प्रकारका धारा उपधाराको तहत अत्याचार गरिन्छ । यस देशको वास्तविकता यही नै हो ।

अचानक सवितालाई होस आउँछ ।

“जीवन तिमीलाई दानवहरूले मारे है । तिमी हामीलाई छोडेर कहाँ गयौ छोरा ! मैले बिहानै भनेकी थिएँ, कहिँ नजानु, मैले नराम्रो सपना देखेको छु भनेर । तर तिमीले मेरो कुरा कहाँ सुन्यौ र ? तिमी कहाँ गयौ छोरा ? कहाँ गयौ ?” उनी यताउति पल्याकपुलुक हेर्छिन् । त्यहाँ उनका आफन्त र गाउँका मान्छेहरू मात्रै हुन्छन् । तर उनका छोरा जीवनको लास त्यहाँ थिएन ।

“खोइ त ऊ ?”

“आमा ! उहाँलाई उनका साथीहरूले पार्टी कार्यालयमा सम्मानका लागि भनेर लिएर गए ।” रमेशले भने ।

“अनि तिमीहरू सबैले उल्लाई लान दियौ ? तिनीहरूकै कारणले मेरा छोराको ज्यान गयो । उसका साथी त्यो पार्टीमा आबद्ध थिए । र बारम्बार उसलाई आन्दोलनमा जानका लागि उक्साउँथे । ऊ भन्थ्यो, आमा मलाई जान इच्छा छैन । तर मेरा साथीहरू मलाई जानका लागि विवश गरिरहेका छन् । छोरा ! आन्दोलनमा जान कुनै फाइदा छैन । यी सबै खराब मान्छे हुन् । सिर्फ आफ्नो स्वार्थका लागि काम गर्छन् । देशका लागि, जनताका लागि काम गर्दैनन् । मैले उसलाई फकाउने प्रयास गरेकी थिएँ । तर बिहान उसका दुई चार जना साथी आएर उसलाई लिएर गए ।” छाती पिट्दै रुँदै भनिन् उनले ।

बिचारी उनी अनपढ अवश्य थिइन् तर राजनीतिक दलहरूको घिनलाग्दो क्रियाकलापबाट वाकिफ थिन् । राजनीतिक पार्टीहरू कसरी छेपाराले रङ बदले जस्तो बदल्छन् त्यो उनलाई थाहा थियो । ठूला ठूला सपना देखाएर निर्दोष जनतालाई आफ्नो स्वार्थ सिद्ध गर्नुको उप्रान्त अरू के नै काम छ र यिनीहरूको ?

“मेरा छोराको लासलाई पार्टी मुख्यालयमा लगेर फेरि कुन खेल खेल्न गइरहेका छन् यिनीहरू ? त्यहाँ मेरो छोरालाई सम्मानका लागि लगेका हैनन् नयाँ खेल खेल्नका लागि लगेका हुन् । यिनीहरू मेरा छोरालाई के सम्मान दिन्छन् ? यिनीहरूकै कारण मेरो छोरो मारिएको हो र यिनीहरू नै मेरा छोराका हत्यारा हुन् । म अहिले त्यहाँ गएर भन्छु कि तिमेरु नै मेरा छोराका हत्यारा हौ । र तिमीहरू यहाँ के नाटक गर्न गइरहेका छौं ?” उनी त्यहाँ जानलाई अगाडि बढ्छिन् तर आफ्नो शरीरको सन्तुलन बिग्रिन्छ र उनी लड्खडाउँदै पछारिन्छिन् । उनको टाउको चट्टानमा बजारिन्छ र टाउकाबाट खुन बग्न थाल्छ । अनि उनलाई अस्पताल लगिन्छ ।

अर्को दिन जीवनको हत्यालाई लिएर पूरा देश बन्द गरियो । धेरै गाडीहरू तोडफोड भए । धेरैलाई कष्ट यातना दिइयो । अन्ततः सरकारले क्षतिपूर्ति स्वरूप पच्चीस लाख रुपैयाँ दियो । विडम्बनाको कुरा के थियो भने त्यो सबै पैसा कुमारजीका हातमा राख्दिनुपर्ने । तर उनीहरूले केवल पाँच लाख रुपैयाँ कुमारजीलाई दिए । अरू रुपैयाँका बारेमा सोध्दाखेरि जवाफ पाइयो कि पार्टीको कामलाई अगाडि बढाउनका लागि पार्टीको नाममा राखिएको छ । यही हो यो देशका पार्टीहरूको वास्तविकता । अरू देशमा विरोध र आन्दोलन राम्रा कामका लागि गरिन्छ भने हाम्रा देशमा खराब परम्पराका लागि गरिन्छ । पैसा कमाउनका लागि गरिन्छ । पैसा लुट्नका लागि गरिन्छ । अनि सरकार पनि तबसम्म कानमा तेल हालेर बस्छ, जबसम्म तोडफोड हुँदैन ।

बिचरा कुमारजीका सबै सपनाहरू पानीमा बगेर जान्छन् । धेरै नै विकट गरिबीबाट उनले जीवनयात्रा आरम्भ गरेका थिए । बिस्तारै बिस्तारै जीवन सुध्रिरहेको पनि थियो । तर सबै बर्बाद भयो । एउटा होनहार जवान छोराको पूर्ण जवानीमा नै हत्या गरियो जुन धेरै नै कष्टप्रद थियो ।

उता अस्पतालमा सविताको हालत सुध्रिनुको बदलामा अरू बिग्रिंदै जान्छ । बीचबीचमा बेलाबेला होसमा आउँछिन् र आफ्नो छोरालाई बोलाउँछिन् अनि फेरि बेहोस हुन्छिन् । यसरी नै अस्पतालमा बाह्र दिन बित्छ र तेह्र दिनमा उनको पनि इहालिला समाप्त हुन्छ । सायद छोराको हत्या उनले सहन सकिनन् र उनी पनि छोरासँगै गइन् ।

मलाई झलझली याद आउँछ पार्टीका नेताको त्यो भाषण । उनी भन्दै थिए, “कमरेड जीवनको सहादत व्यर्थ जाँदैन । उनी एकजना सहिद हुन् र उनले देशका लागि आफ्नो शरीर समर्पण गरेका छन् । उनको यस सहादतबाट हाम्रा युवाहरूले प्रेरणा पाएका छन् । उनीबाट प्राप्त प्रेरणाले हाम्रा युवाहरुले देशको मुहार फेर्नेछन् ।” उनका कुरा सुनेर त्यहाँ उपस्थित सबैजना जोडजोडले ताली बजाइरहेका थिए ।

आखिर त्यो सामान्य व्यक्तिलाई यिनीहरूले जबरजस्ती मृत्युका मुखमा धकेल्दिए । जसको राजनीतिक पार्टीहरूसँग कुनै लिनुदिनु नै थिएन र जसलाई पार्टीगत कार्यक्रममा पनि कुनै रुचि नै थिएन। ऊ त मारियो । साँच्चै भन्नुपर्दा बिना काममा ऊ मारियो । तर उसको मृत्युलाई पार्टीका नेता एवं कार्यकर्ताहरू सहिदको नाम दिइरहेका छन् । नौजवानहरूका प्रेरणाको स्रोत मानिएका छन् । उनीबाट प्रेरणा लिएर देशको मुहार फेर्ने कुरा गरिरहेका छन् । तर के यो सम्भव छ त…?