“बा ! ढोग गरेँ ।”
“भाग्यमानी भए ठूले ।”
“आमालाई सञ्चै छ नि बा ?”
“आमालाई सञ्चै छ , तेरो सञ्चो बिसञ्चो सोधेर हैरान पार्छे ।”
“आमाको स्वभाव नै त्यस्तै त हो नि बा ! हजुर आर्मीमा छँदा हजुरको सञ्चोबिसञ्चो सोधेर मलाई हैरान पार्नुहुन्थ्यो । कतिदिन त आफैँले हजुरको बनावटी सञ्चोबिसञ्चोको बेलीबिस्तार लगाउनुपथ्र्यो ।”
ए ! बाउछोरा मिलेर मेरै कुरा काटेका ता हौला नि ? होइन त ? नपढेकी भनेर मलाई हेप्नी ।
तिमी २० वर्षसम्म लाहुरे बन्दा तिम्रो घरघन्दा कसले समालिदियो ? मुठीभरिका तीन छोराछोरीलाई कसले हुर्काइदियो । केही वर्ष यसो के बन्दुक समातेका थे, आफूलाई गाउँभरिको जान्ने ठान्छन् । खोइ, फुन लेऊ ।
आमा साह्रै आत्तिएकी छ । यसो बेलुकी पख नातिहरूलाई पनि लिएर आइज । अनि दूध, मोही, तरकारी पनि लिएर जालास् ।
“ठूले , सञ्चै त छस् । अनि नातिहरूलाई कस्तो छ ? बुहारीको नोकरी त चलिराकै होला नि ? अनि हिजो दही मथेको मोही लिन आउँथिस् कि ? ठूलो नातिले मोही अति मन पराउँछ । तँ पनि नौनी घिउ भनेसी हुरुक्क हुन्थिस् । यसो अफिसाँ बि
दा मिलार आइजा है । उसले आमालाई ढोग भन्न नपाउँदै बाले फोन थुतेर भने, जेठा , आमा साह्रै आत्तिएकी छ । यसो बेलुकी पख नातिहरूलाई पनि लिएर आइज । अनि दूध, मोही, तरकारी पनि लिएर जालास् । ”
ऊ परिवारको जेठा छोरो । उसलाई उसका बाआमाले सधैँ ठूले भनेर बोलाउँछन् । बिहे गरेका धेरैपछि जन्मेको भएर बा–आमाले उसलाई साह्रै माया गर्छन् । उसको माहिलो र साँहिलो भाइले उसको रिस पनि गर्छन् । बाआमाले जेठो दाइलाई असाध्यै माया गरेको देखेर उनीहरू भित्रभित्र जल्छन् ।
सदरमुकामबाट ५० किलोमिटरको ग्रामीण बस्ती । बाटोमा यति खाडलहरू थिए कि खाल्डाहरूको मिटर नाप्ने हो भने १०० किलोमिटरभन्दा बढी हुने । बाआमाको इच्छाअनुसार एसएलसी पास गरेपछि ऊ बालकुमारी कलेज नारायणगढमा आइ.कम. मा भर्ना भयो । सदरमुकाममा डेरा लिएर पढ्न थाल्यो । ऊ हप्तामा घर जान्थ्यो । आफूलाई चाहिने जति सामान लिएर आउँथ्यो । यसै गरी उसले छ वर्ष बितायो । ६ वर्षभित्रमा उसले व्यवस्थापन विषयमा मास्टर्स पनि गर्यो । उसकी आमा दङ्ग पर्दै टोलटोलमा मेरो ठूलेले १६ कक्षा पढ्यो भन्दै हिँड्थिन् । ऊ गाउँ आउनुपूर्व नै उसको पढाइ गाउँ आइसकेको हुन्थ्यो ।
लाहुरे जीवनबाट अवकास लिएपछि उसका बाले तरकारी खेती र भैँसीपालन एकसाथ गरे । उनी भन्ने गर्थे, फौजीले कहिल्यै हात बाँधेर बस्दैन । उनी गाउँका चौतारामा मान्छे भेला पारेर जम्मु, कास्मिरमा आफूले बिताएका दिनहरू लोककथाको पारामा बताउँथे । कतिपय मानिसहरू उनको कुरा सास रोकेर सुन्थे । कतिपयले फौजीका कुरा के पत्याउनू भनेर उनको पछाडि कुरा पनि काट्थे । पढ्न नसकेर मुग्लान भासिनेको यत्रो फूर्ति भनेर उनको आलोचना पनि गर्थे । उनी आफ्नो परिचय दिँदा सुबेदार हर्कमान क्षेत्री भन्थे । उनको जोड सुबेदार शब्दमा बढी र हर्कमान शब्दमा कम पथ्र्याे । त्यसैले कतिपय मान्छेहरू उनको नाम नै सुबेदार कामै सुबेदार भनेर चिन्ने गर्थे ।
फौजीको छोरा भएर हो कि सानोमा सञ्जयको तुजुग पनि कम थिएन । गाविसस्तरीय भलिबल प्रतियोगिता होस् कि ठूली एकादशीको दिन छेलो हान्ने प्रतियोगिता होस्, ऊ र उसको टिम नै विजयी हुन्थ्यो । जहाँ सञ्जय त्यहाँ विजय भनेर अघोषित नारा नै लाग्ने गथ्र्याे । एकदिन उसले बाले भित्तामा झुन्ड्याएर राखेको खुकरी आमाले नदेख्ने गरी खुसुक्क निकालेर शिवबस्तीमा ताण्डव देखाएको थियो । कतिपय मानिसहरू उसको नजिक हुन उसलाई सञ्जय दादा भनेर सम्मान पनि गर्थे ।
एसएलसी दोस्रो श्रेणीमा पास गरेपछि ऊ सदरमुकामको बासिन्दा भयो । सहरको कहरले उसको दादागिरी नारायणीमा सेलाइदियो । स्ववियुको निर्वाचनमा स्थानीय युवाहरूको पिटाइले उसको जीवनमा कायापलट भयो । फौजीको छोरा सञ्जयको फौजीपन एकाएक गायब भयो । उसँग अब जीमात्र बाँकी रह्यो । अर्थात् अब ऊ फौजीको छोराबाट एकाएक साधुको छोराजस्तो पो बन्न पुग्यो । सुरुमा त छोरामा एक्कासि आएको परिवर्तनले उसका बा–आमा डराए पनि । तर उसका बाआमाले उसको पढाइ्प्रतिको उत्सुकता देखेर उसको बाल्यकाल बिर्सिदिए ।
तिमीले यिनीहरूलाई जन्म दियौ , कर्म दिन सकिनौ । तर पनि यिनीहरू तिमीलाई आमा नै भन्छन् । कहिलेकाहीँ त आमा पनि बनेर हेर न है प्लिज ।
उसको दैनन्दिनी अहिले छ चारको तालिकामा बितेको छ । ऊ बिहान कलेज पढाउँछ र दिउँसो त्यही कलेजमा कर्मचारीको रूपमा काम पनि गर्छ । उसकी श्रीमती पनि प्राथमिक तहको दरबन्दीमा सरकारी विद्यालयमा पढाउँछे । एकातिरको सरकारी जागिर अर्काेतिर सुन्दरी श्रीमती । सञ्जयलाई अरू के चाहियो र ? उसको बोलीमा मेरी श्रेयाले यसो भन्छिन् र उसो भन्छिन् , दोहिरिरहन्छन् । आजकल भेटमा सञ्जय कम श्रेया बढी भेटेजस्तो लाग्छ । कल्कलाउँदी श्रीमती र दुई जाज्वल्यमान सन्तानको पिता सञ्जय आफ्नो आगतसँग ढुक्क छ । दुई छोराहरू कसरी हुर्के श्रेयालाई पत्तै भएन ।
कहिलेकाहीँ रिसको झोकमा मसिनो स्वरमा सञ्जयले भनेको सुनिन्छ , श्रेया,‘ तिमीले यिनीहरूलाई जन्म दियौ , कर्म दिन सकिनौ । तर पनि यिनीहरू तिमीलाई आमा नै भन्छन् । कहिलेकाहीँ त आमा पनि बनेर हेर न है प्लिज । ’
‘के भन्यौ तिमीले ? ऊ बेलामा कसम खाएको बिर्सियौ ? मेरी प्यारी श्रेया म तिमीलाई मनको दैलोमा सधैँ प्रेमले सिगार्छु , भनेका होइनौ ? अनि आज मैले काम गरिन भन्न पाइन्छ ?’
श्रेयाको कुरा अकाट्य थियो । सञ्जय के गरोस् विचरा । ऊ बेलामा जवानीको रस थियो । राम्री श्रीमती बिहे गरेपछि आफू पनि राम्रो हुन्छु भन्ने सोच्थ्यो । अहिले आफ्नी श्रीमतीको फेसबुकका फोटामा केटाहरूले मन पर्यो, तिमी कति राम्री, कोपिलाजस्ती, मन छोयोजस्ता टिप्पणीले ऊ वाक्कदिक्क भएको छ । श्रेयालाई फोटो पोस्ट नगर भन्यो, नमान्ने , अनि छिमेकीहरू श्रीमतीका फोटोमा भए पनि सुन्दरता हेरी तिर्खा मेट्ने ।
‘साले जुकरबर्क , तँलाई भेटे भने म छाड्दिनँ । किन फेसबुक बनाइस् ? बल्लतल्ल जोरेकी श्रीमतीले पनि अरूलाई नै ताक्छे । उसकै फोटोमा आएका लाइक र कमेन्ट गनेर बाँकी जिन्दगी म कसरी बिताऊँ ?’ ऊ सपनामा बरबराँथ्यो । उसकी श्रीमती आफ्नो विजय उत्सवमा खुब रमाउँथी ।
‘मर्दकी दसवटी । खुट्टा भए जुत्ता जति भए पनि पाइन्छ । मर्द त कर्दजस्तो पो हुनुपर्छ । ’ भट्टीपसलमा उसका साथीहरूले उसलाई बारम्बार सिकाउँथे । आज त म त्यसको सुन्दरतालाई कच्याककुचुक पारिदिन्छु अनि राख्छे फेसबुकाँ फोटा ? कि आज म छैन कि ऊ छैन । ऊ बारम्बार भट्टीपसलबाट यही सोचेर निस्कन्थ्यो । तर घर पुग्दानपुग्दै उसको नशा उत्रिसकेको हुन्थ्यो । ऊ श्रीमतीलाई भन्थ्यो, ‘आज हेर न, साथीहरूले नचाखी धरै दिएनन् । यसो चाखेको मात्र । अब कहिल्यै खान्नँ ।’
शिवबस्ती उस्तै छ । कतिपय मानिसहरू चरा बनेर सहर आए तर गाउँ फर्केनन् । सहरतिरै गुँड बनाए ।
उसले पनि अढाइ तलाको गुँड सहरमा बनायो । एउटा गाडी पनि किन्यो ।
उसका बाबुआमा अब तिलचामले भइसके । तरकारी खेती सबै ठेक्कामा छ । हप्ताको एकचोटि ऊ गाउँ पुग्छ । आमा र बुवाले सकिनसकी डिकीभरि तरकारी राखिदिन्छन् । कोकाकोलाको आधा दर्जनजति बोतलमा दूध बोकेर ऊ सहर फर्कन्छ । बुहारी पनि सासूससुराको हप्ताको एकपटक मुख देख्न पाइएको छ भनेर सासूससुरासँग कुरा गर्छिन् । नातिहरू पनि हप्तामा एकपटक भए पनि हजुरबा र हजुरआमाको अङ्गालोमा बेरिन पाएका छन् । सञ्जय आफ्नो घरको परिपाटी देखेर दङ्ग छ । सहरमा बसेर भौतिकताको रहरसँगै ग्रामीण स्वादलाई बिउँझाइरहेको छ ।
‘ बुवाआमा बूढाबूढी हुनु भो , अब यतै सहरमा ल्याउनु पर्छ कि ’ सञ्जयले भन्यो ।
‘ गाउँको हावापानी कति राम्रो छ । खानेकुरा अर्गानिक छ । दूधघिउ खाएकै छन् । सहरमा के छ र ? किन ल्याउने ? बिरामी भएको बेला ल्याएर उपचार गराएकै छौँ । वर्षको एकदुई जोर लुगा किनिदिएका नै छौ । घरबारीको पनि रेखदेख भएको छ । चामल, तरकारी, दूध र फलफुलको पनि हामीलाई जोहो भइरहेको छ । किन बुवाआमालाई सहरमा बोलाउने ? उहाँहरू यहाँ बस्न सक्नुहुन्न । ’ श्रेयाले एक सासमा बोली बिसाई ।
एकदिन उसका बुवाले मुखै फोरेर भने, हेर ठूले, ‘तँ कुलको जेठो सन्तान । माहिलो र कान्छोको हामीलाई कहिल्यै भर लागेन । अब उमेरले पनि डाँडो काट्न लागिसक्यो । मेरो फौजीपन पनि सकिन आट्यो । आमालाई दमको व्यथा छ । घर पनि चुहिने भइसक्यो । एकतले घरमा गर्मी भएर बसीसाध्य पनि भएन । हामलाई पनि सहरमा लैजान्छस् कि ठूले ।’
छोराबुहारी र नातिहरू पनि हप्तामा एकपटक आइरहेका छन् । अब घरमा टिनको छानो र जिप्सन पनि हालिदिन्छु भनेकै छ त , अनि के चाहियो ?
बुवाको कुराले ठूले एक्कासि छानाबाट खसेजस्तो भयो । उसले झट्ट श्रेयाको महाकाली रूप सम्झ्यो । उसको मन अमिलिएर आयो । बुवा र आमाको बुढ्यौली अवस्थाले उसलाई गिज्यायो । अनि उसले मन बलियो बनाएर भन्यो , ‘बुवा, सहरको भन्दा गाउँको पानी राम्रो छ । हजुरका केही साथीहरू यहीँ छन् । यहाँ सबैले हजुरको फौजीपनको सलाम गर्छन् । म पनि बुहारी र नातिहरू लिएर हप्ताहप्तामा आइरहेकै छु । बिरामी पर्दा सदरमुकाममा गएर उपचार गराएकै छु । बरू एकतले घरमा टिन हालिदिन्छु । टिनमुनि जिप्सन हालेपछि घामले पनि पोल्दैन । हजुरहरू यहाँ भएपछि घरबारी पनि जोगिन्छ । बरू काम गर्ने मानिस खोजौला । ’
छोराको यो कुरा सुनेर हर्कमान किंकर्तव्यविमूढ भए । उनका आँखामा बादल लागेजस्तो भयो । उनले आँखाको डिलमा आइसकेको आँसुलाई कमिजको बाहुलाले पुछे । छोरालाई सहरमा राखेर पढाउँदा हड्डी घोटेर माटोसँग पौठेजोरी खेलेको सम्झेँ । जेठो , माहिलो र कान्छो छोरालाई देखाएको बाउपन सम्झेँ । आकाशतिर हेरेर लामो श्वास तानेँ ।
सबै दृश्यहरू हेरेकी र बाबुछोराको वार्तालाप सुनेकी उसकी आमा हस्याङफस्याङ गदैै आइन् र भनिन् , ‘ कति देखिसक्दैनौ यो ठूलेलाई ? कति ठुँगिरहन्छौ , हँ ? सहरमा बस्न कति गाह्रो छ । सबै कुरा किन्नुपर्छ । त्यही पनि ताजा पनि पाइने होइन । हामीलाई त यहीँ ठीक छ नि । छोराबुहारी र नातिहरू पनि हप्तामा एकपटक आइरहेका छन् । अब घरमा टिनको छानो र जिप्सन पनि हालिदिन्छु भनेकै छ त , अनि के चाहियो ? ’
त्यसको एकहप्तापछि एउटा ट्रयाकटरमा केही फलामका पाइप र टिनहरू शिवबस्तीको हर्कमानको घरमा खस्यो । एकतले घर हेर्दाहेर्दै दुई तले भयो । लुगा धुन वासिङमेसिन थपियो ।
एकदिन उसकी आमाले सत्सङमा आफ्ना सहेलीहरूलाई सुनाइन्, ‘छोरो हुनु त हाम्रो ठूलेजस्तो । बावुआमाको वचन काट्न नसक्ने । हामी बूढाबूढी धन्य छौँ । हामीलाई भेट्न सधैँ बुहारी र नातिहरूलाई लिएर हप्ताहप्तामा आइरहन्छ । बाआमाको हातले फलाएको तरकारी खानुको स्वादै भिन्दै भन्दै खुसी बाँडिरहन्छ । ’
हर्षमायाको कुरा सुनेर उनकी सहेलीले भनिन् , ‘ सहरतिर पुलिसहरू हप्ता उठाउनी भन्छन् रे । सहरका पुलिसहरू हप्ताहप्तामा होटलहोटलमा पुगेर होटल साहूहरूसँग मनग्य पैसा उठाउँछन् रे । पैसा दिएन भने कालो काम गरेको आरोपमा पक्राउ गर्न पनि पछि पर्दैनन् रे । मेरो छोरोले भनेको । तिम्रो छोरो सञ्जय पनि त्यस्तै हप्ता उठाउन पल्केको त छैन कतै ? ’
मेरो ठूले सञ्जय त्यस्तो छैन , बुझ्रयौ ? हर्षमायाले एक सासमा भनिन् ।
तर उनको मनमा भने यो कुराले नराम्ररी डेरा गर्यो । राति सुत्ने बेलामा हर्षमायाले हर्कमानलाई सहेलीले भनेको कुरो सुनाइन् । फौजी हर्कमानले छोरा र बुहारीको विचार पहिल्यै बुझिसकेका थिए ।
उनका आँखाबाट आँसु खस्यो । आँखाबाट खसेको आँसु नाकको टुप्पोमा खस्यो र तप्पतप्प भएर नाचिरह्यो । हर्षमायाले उनको आँसु पुछिदिइन् ।
एकछिनपछि मन बलियो बनाएर फौजी हर्कमानले भने, ‘ बूढी, अब मेरो फौजीपन सकिएछ । हाम्री बुहारीमा म त्यही फौजीपन देखिरहेछु । हाम्रो जमाना गयो, बूढी । धन्दा नमान, अब कम्तीमा पनि हामी मरेको हप्ता दिनपछि भए पनि हाम्रो छोरो अवश्य घर आउनेछ र हामीलाई बोकेर सहरै नजिकमा रहेको नारायणीमा पुर्याउनेछ । जिउँदै हुँदा सहरमा जान पाएनौँ, मरेपछि त अवश्य पनि पुगिएला । ’
हर्षमायाले हर्कमानलाई अङ्गालो हालेर रोइरहिन । उनले भनिन्, ‘मैले सहेलीको छोराले भनेको हप्ताको अर्थ बल्ल बुझेँ , बूढा ।’
बूढीको आँखाबाट आँसुका थोपा जमिनमा खसे । बूढाले गन्दै गए , एक, दुई, तीन, चार , पाँच , छ , सात अर्थात् एक हप्ता ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।