तपाईँलाई कस्तो अनुभव हुन्छ ? तपाईँको हजुरबा त वास्तवमा अर्कै भएको पाउँदा ! त्यो पनि आफ्नै हजुरआमाको मुखबाट सुन्दा । हो, मेरी हजुरआमाले आफैले भन्नुभए थ्यो त्यसदिन, “के थाहा हाम्रो राज, हाम्रा छोरा-छोरी र नाति-नातिनीलाई ? वास्तवमा तिनका बाबा र हजुरबा तिमी चस्मे हौ भनेर !” हो, यही कुरा सुनेर मेरो दिमाग चक्कराएको थियो र
त्यसदिन मभित्र भूकम्प आएको थियो नराम्ररी !
तीन हप्ताअघिको कुरा हो, अर्थात् भदौको दोस्रो हप्ता । बेलाबेलामा परेको पानीले कृषकहरू खुसी भए पनि बाटो फोहोर भयो भनेर हामी सहरमा बस्नेहरू चाहिँ दिक्दारी प्रकट गरिरहेका थियौँ । मैले अस्पतालमा काम सुरु गरेको केही महिना मात्र भएको थियो । हाम्रो सर्जरी विभागका डाक्टरहरूले हामी नर्सहरूलाई तीजको पार्टी दिने योजना बनाएको दिन पनि ! मेरो त्यस दिन बिहानको ड्युटी थियो । ड्युटीमा जाँदा नै पार्टीमा लगाउने कपडा लिएर गएकी थिएँ । हुँदा त मेरो घर अस्पतालबाट त्यति टाढा नभए पनि अरू साथीहरूसँगको छलफलअनुसार नै त्यो सब गरेकी थिएँ ।
अझ अस्पतालमा अरू विभागहरूमा तीज एक हप्ताअघि नै सुरु भएको थियो । तीज आउन अझै दुई हप्ता बाँकी नै थियो । हाम्रा विभागका डाक्टरहरूले तीजको पार्टीबारे बिर्से भन्ने ठानेर हाम्री इन्चार्ज दिदीले बिहानको राउण्डमा केही दिनअघि सुनाउनुभएको थियो, “यसपालि त हाम्ले दिनुपर्ला तीजको पार्टी डाक्टर साबहरूलाई । बरु साडी लगाएर आउनचाहिँ नबिर्सनु नि !” हामी भने मरिमरि हाँसेर हाम्री इन्चार्ज दिदीलाई साथ दिएका थियौँ । मलाई मन पराउने डाक्टरलगायत इन्टर्न र रेजिडेन्ट डाक्टरहरूले पनि हाम्रो हाँसोमा खुलेर साथ दिएका थिए । वास्तवमा तीजको पार्टी व्यवस्थापनमा सिनियर डाक्टरहरूकै मुख्य हात थियो । सिनियर डाक्टरहरूले नै औषधी कम्पनीका एजेन्टमार्फत औषधीको प्रचार-प्रसार गरेबापत भनेर पार्टीको आयोजना गर्न अनुरोध गर्ने गर्थे । त्यो वास्तवमा एक किसिमको औषधीको विज्ञापन गर्ने राम्रो अवसर अनि परम्परा थियो ।
तीजको पार्टीमा मलगायत मेरा साथीहरू ब्युटी पार्लर गएर सिँगारिएर एकदम चिटिक्क परेका थियौँ । हामी महिलाहरू नै बढी राम्रा बन्न हर प्रकारका कोसिस गरेका थियौँ । विवाहित नर्स दिदीहरू थरीथरीका गहनाहरूमा सजिएका थिए । सबैको आँखा हामीपट्टि नै थियो । डाक्टरहरू भने त्यति सजिएका थिएनन्, उनीहरू त कारका सौखिन थिए । राम्रो कारमा आएपछि किन सजिनुपर्यो ! तर हामीहरूचाहिँ थियौँ फेसनप्रेमी अनि फोटोप्रेमी ! थरीथरीका टिकटक, सेल्फी र ग्रुप फोटाहरू लिएर हामी मस्ती गरिरहेका थियौँ । मेरो शृङ्गारले लोभिएर होला मलाई बेलाबेलामा आँखा झिम्क्याएर जिस्क्याउँदै थियो मेरो डाक्टर प्रेमीचाहिँ । हामी त्यस पार्टीमा थरीथरीका स्न्याक्स खाँदै, कोल्ड ड्रिङ्क्स तथा वाइन पिएर नाँच्दै मस्ती गरिरहेका थियौँ । त्यसदिन आफ्नो डाक्टर प्रेमीसँग खुलेरै कुरा गरियो अनि नाचियो पनि । त्यस्तै रङ्गिन र प्रेमिल पार्टी भयो मेरो लागि भने, त्यसदिन । त्यसैले एकदम खुसी भएकी थिएँ म दिलदेखि नै । यस्तो पो पार्टी, त्यो पनि फ्रीको !
राती नौ बजे तीजको पार्टी सकिएपछि मलगायत मेरा दुई साथीहरूलाई मेरा डाक्टर प्रेमीले आफ्नै निजी कारमा घरघरमा पुर्याइदिए । डाक्टरको कारमा अघिल्लो सिटमा बस्न पाएर म पनि आफूलाई ‘डाक्टर्नी साब’ नै सम्झिँदै थिएँ । साथीहरू “कस्तो मिलेको जोडी !” भनेर निक्कै जिस्क्याउन पुगेका थिए । मेरा डाक्टर प्रेमी हाँसिरहेका थिए भने मचाहिँ साथीहरूको अघि लाजले एकदम राती भएकी थिएँ । कताकता मन भने एकदम फुरुङ्ग परेको थियो ।
घर आउँदा गजब लाग्यो, त्यहाँ पनि तीजको गीत नै बजिरहेको थियो । त्यो दिन घरमा बाबा, मामु र भाइ भने थिएनन् । म सुस्तरी घरभित्र छिरेँ । यसो चियाउँदा देखेँ हजुरआमा र हजुरबाबाका साथमा बैठक कोठामा त्यही हजुरआमाका जागिरे साथी अर्थात् चस्मे हजुरबा ! ती चस्मे हजुरबा र हाम्री हजुरआमा दुवै जना मालपोत कार्यालयमा सँगै काम गर्थे कार्यालय सहयोगीका रूपमा । हुँदा त “तेरी हजुरआमा कस्ती न ठुलो जागिरे भनेकी
होलास्, जाबो पिउनको जागिर न हो” भनेर होच्याउने गर्थे केही छिमेकी आन्टी तथा हजुरआमाहरू मलाई बेलाबेलामा । मचाहिँ “श्रम गर्नु नराम्रो हो र ? म त इज्जत गर्छु श्रममा रम्ने आफ्नी हजुरआमालाई” भनेर जवाफ फर्काइदिने गर्थेँ छिमेकीका कुरा गर्दै लोग्नेको कमाइमा गर्व गर्ने ती छिमेकीहरूलाई । हाम्री हजुरआमा रिटायर भएको केही महिना भएको थियो अनि पेन्सन पनि पाउँदै हुनुहुन्थ्यो । उहाँ रिटायर भएसँगै दैनिक जसो आउँथे हाम्री हजुरआमालाई भेट्न ती चस्मे हजुरबा । त्यसअघि मैले कहिल्यै देखेकी थिइनँ ती हजुरबालाई । ती हजुरबा आउँदा मेरी हजुरआमा एकदम खुसी देखिनुहुन्थ्यो । हाम्रा हजुरबा पनि ती आउँदा खुसी नै देखिनुहुन्थ्यो । सबै खुसी हुनाले मैले पनि त्यति चासो राखेकी थिइनँ ।
उनीहरूले थाहा नपाउने गरी चिहाइरहँदा हाम्री हजुरआमाले ती चस्मे हजुरबालाई हेर्दै अनि हाँस्दै भन्नुभयो, “के थाहा हाम्रो राज हाम्रा छोरा-छोरी र नाति-नातिनीलाई ? वास्तवमा तिनका बाबा र हजुरबा तिमी चस्मे हौ भनेर ।” म हजुरआमाको कुराले थरथर काँपिरहेकी थिएँ तर मेरा हजुरबाबा भने हाँसिरहनु भएको थियो । हजुरआमाको चेहरामा पनि अझ मोहक हाँसो देख्नपुगेँ । म एकदम छक्क परेँ ।
“कसरी यस्तो हुन सक्छ । यो सब झुठ हो ।” मेरो मनले मलाई नै भन्दै थियो । तर हजुरआमाको आफ्नै मुखबाट भनिसकेका कुराहरू कसरी झुठ भए होलान् त्यो पनि हजुरबाको उपस्थितिमा भनिएको । मेरो दिमाग चक्कराइरहेको थियो । म त्यहाँ उभिन सकिनँ । बडो कठिनसँग सम्हाल्दै अनि उनीहरूले थाहा नपाउने गरी म आफ्नो कोठामा लागेँ । मनमा निकै कुराहरू खेले । म एकदम दिग्भ्रमित भएको अनुभव गरेँ । मलाई सारा संसार अर्कै लाग्यो । “म कता छु ? के सुन्न पुगेँ मैले ? के हुँदैछ मलाई ?” यस्तै प्रश्नहरू खेलिरहे निकै बेरसम्म अनि म गएँ एकदम सोचाइको दलदलमा भासिँदै गएँ । यस्तै कठिन स्थितिको सामना गरेँ मैले त्यस दिन ।
त्यस रातभर म निकै बेर सुत्न सकिनँ । मनमा धेरै कुराहरू खेलिरहे । मेरी हजुरआमाको माया सम्झेँ अनि हाम्रो घर चलाउने उहाँको जिम्मेवारी सम्झेँ । हाम्रो घरको खम्बा हजुरबाबा हैन, हजुरआमा हुनुहुन्थ्यो । उहाँ नै हाम्रो घरको वास्तविक मुली हुनुहुन्थ्यो । हजुरबाबाको जागिर थिएन अनि अंशमा पनि खासै केही पाउनुभएको थिएन । भन्दा त उहाँ पनि लाहुरे भन्थे तर व्यवहारमा चाउरे हुनुहुन्थ्यो । पछिल्लो समयमा हजुरआमा रिटायर भएसँगै कहिलेकाहीँ चिढ्चिढिनुहुन्थ्यो । ती चस्मे हजुरबा आएपछि भने हजुरआमा सधैँ खुसी भएको अनुभव हुन्थ्यो । खोइ, के भनेर हसाउँथे तिनले तर हजुरआमाको चेहरा खुसीले धपक्क बलेजस्तो देखिन्थ्यो । कहिलेकाहीँ हाम्रा हजुरबाबा, “तिम्रो यार आउँदैछ, अब त खुसी होऊ” भनेर जिस्क्याउनुहुन्थ्यो । हामी ती सबको अर्थ बुझिरहेका थिएनौँ । यस्तै थिएँ म आफ्नी हजुरआमाकी प्यारी नातिनी भएर पनि हजुरआमाको खुसीको रहस्य नचिन्ने ?
त्यसको भोलिपल्ट हजुरआमा र म एक्लै भएको मौका छोपेर मैले आफ्नो प्रेमबारे बताएँ । अघिल्लो दिनको कुरा सिधै सोध्न भने आँट गर्न सकिनँ । मेरो प्रेमबारे सुनेर हजुरआमा एकदम खुसी हुँदै भन्नुभयो, “नातिनीलाई पञ्चेबाजा बजाएर कहिले बिदाइ गर्ने हो त ?”
मैले थोरै लजाएर भनेँ, “हाम्रो जात मिल्दैन हजुरआमा । मेरो प्रेमी चुच्चे नाक भएका, अनि म परेँ तपाईँहरू थेप्चा नाक भएकाकी नातिनी ।”
मेरो कुराले मलाई हेर्दै अनि अँगाल्दै भन्नुभयो, “म तिमीलाई पनि आफूजस्तै जातको सती जान दिन्न नातिनी ।”
मैले मौकामा चौका हान्दै भनेँ, “माफ गर्नोस् हजुरआमा ! हिजो तपाईँले भनेको सबै कुरा मैले लुकेर सुनेँ । मलाई थाहा छ हाम्रा वास्तविक हजुरबा ती चस्मे हजुरबा हुन् भनेर ।”
मेरो कुराले उहाँ अलिकति झस्कनुभयो अनि भन्नुभयो, “प्यारी नातिनी ! त्यसरी लुकेर अरूको कुरा सुन्नुहुन्न तर मेरी बच्ची, तिमीले सुनेका कुरा सही हो ।” त्यसपछि मेरी हजुरआमाले आफ्नो प्रेमगाथा खुसी हुँदै सुनाउनुभयो मलाई एउटा मिठो कथाको रूपमा ।
० ० ० ०
ती दिन एकदम रमाइला थिए । वसन्त ऋतु भर्खरै सुरु भएको बेला पनि । म आफ्नो सोह्रौँ वसन्तको किशोरावस्थामा सयर गर्दै थिएँ अनि त्यही वसन्तको मादकतामा हराउँदै थिएँ एउटा पुतलीको रूपमा । हामी बस्ने क्वार्टर नजिकै अर्को एक परिवार आएका थिए हाम्रो छिमेकी हुन् । ती नयाँ आउने अंकल पनि मेरा बाबासँगै पियनका रूपमा जागिरे थिए । मेरा दाइ भारतीय सेनामा जागिरे हुनाले सपरिवार उतै बस्ने गर्थे भने दिदी पनि विवाहपछि आफ्नै घरमा हुनुहुन्थ्यो । म कान्छी हुनाले सबैले माया गर्थे र भन्ने गर्थे – ‘कान्छी मैया’ ।
ती छिमेकी आन्टीकी एक विवाहित छोरी आफ्नै घरमा बस्थिन् । छिमेकी आन्टी एकदम मिलनसार थिइन् र मलाई निकै माया गर्थिन् । तिनीहरूका एक अठार वर्षे छोरा थिए, जसको नाम विकास थियो र हेर्दा पनि निकै झिल्के देखिन्थ्यो । विकास बेलाबेलामा उटपट्याङ पनि गर्ने गर्थ्यो । उसको हँसाउने क्षमता एकदम राम्रो थियो । हेर्दा चलाख भए पनि पढाइमा भने ऊ पनि मजस्तै जिरो हुनाले घरमै त्यसै बस्ने गर्थ्यो । ऊ मसँग मिल्न निकै कोसिस गर्थ्यो । मसँगै कुरा गर्न अनेक बहाना झिकेर आउने गर्थ्यो । ऊ मलाई खुसी बनाउन सधैँ नै लागिपर्ने गर्थ्यो । हो, त्यस्तै रसिक थियो विकास !
मेरा बाबा साँझमा दैनिकजसो रक्सी सेवन गर्नुहुन्थ्यो । कहिलेकाहीँ बाबा र आमाबिच झगडासमेत हुन्थ्यो, त्यही रक्सीको निहुँमा । हाम्रो घर दिनभर शान्त भए पनि साँझमा एकदम असहज अनुभव गर्थें । मैले रक्सीको दुर्गन्ध कहिल्यै मन पराउन सकिनँ । उता छिमेकी आन्टी बिहान-बेलुका धूप बालेर घण्टी बजाउँदै पूजा गर्नुहुन्थ्यो । कहिलेकाहीँ उहाँको मिठो भजन सुन्ने मौका पनि पाउँथेँ । त्यसरी बिस्तारै बिहान र साँझमा म ती आन्टीसँग नजिकिन्थेँ भने दिउँसो त्यही विकाससँग गफ गर्दै बस्थेँ ।
विकासले चस्मा लगाउने गर्थ्यो, तैपनि मलाई पेट मिचिमिची हँसाउन सधैँ अघि सर्थ्यो । हामी उसलाई ‘चस्मे’ भनेर जिस्क्याउने गर्थ्यौं । मैले ‘चस्मे’ भन्दा त केही भन्थेन तर अरूले भन्दा रिसाउँथ्यो र मलाई बिस्तारै सुनाउँथ्यो, “तिन्का बाउ होलान् नि चस्मे !”
एकदिन म चिटिक्क परेर विकाससँग कुरा गरेको देखेर आमा रिसाउनुभयो अनि मलाई घरमा बोलाएर भन्नुभयो, “तेरो छाँट के हो कान्छी माया, चुच्चे नाक भएका बाहुनकी बुहारी बन्ने हो कि क्या हो ?”
मैले आमालाई हाँस्दै भनेँ, “आमा ! बाहुनभन्दा ठुलो जात छ र ? खुसी हुनुहोस्, हजुरको छोरी नपढे पनि प्रमोसन हुने भई बाहुनीमा !”
आमाले झन् रिसले मुरमुरिँदै भन्नुभयो, “यो कान्छीले बाहुनी भएर हाम्रो नाक अझ थेप्चो बनाउने भई ।”
म भने मनमनै, “चुच्चे नाकवालासँग बिहे गरेपछि सन्तानका नाक आफ्नोजस्तो बुच्चो हुँदैन” भन्ने सोचेर एकदम रोमाञ्चित हुन पुगेँ । त्यस्तै थिएँ म आफ्नै मर्जीमा अघि बढ्ने अनि खुसी हुने ।
त्यस्तैमा तीज आयो हाम्रो आँगनमा पनि । हाम्रो घरमा तीज मान्ने त्यति चलन थिएन तर विकासको घरमा उसकी दिदी र फुपू आएकाले एकदम चहलपहल भएको थियो । आन्टीले बोलाएकाले म पनि उनीहरूसँगै तीजमा सामेल हुन पुगेँ । तीजको दर पनि खाइयो । अरूको देखासिकी तीजको व्रत पहिलो पटक बसेँ । दिनभर तीजको गीत गाउँदै नाचेँ पनि ।
घ
साँच्चै एकदम रमाइलो अनुभव भयो । अचम्म ! राम्रो श्रीमान्को कामना गर्दै शिवजीसँग आँखा चिम्लेर वर माग्दा त उही चस्मे विकास देखा पर्यो मेरो ध्यानभरि । त्यस दिनदेखि मैले साँच्चै विकासलाई नै माया गर्न पुगेँ दिलदेखि । ऊ त मेरो दिलभरि छाउँदै गयो, अनि म हराउँदै गएँ उसको सामीप्यमा । त्यसरी म रम्दै गएँ उसैको प्रेममा !
मेरा कानहरूले नचाहिँदो होहल्ला हैन पूजा गर्दा बजाउने घण्टीको सुमधुर आवाज मन पराए । मेरा नाकले रक्सीको दुर्गन्ध होइन धूपको सुगन्ध मन पराए । मेरो मन पूजा गर्दै ध्यान गर्दा शान्त हुन मन पराए । म आफ्नो मनको खुसीको पछि लाग्दै गएँ । साँच्चै मैले आफ्नो जीवनमा प्यार देख्दै गएँ । म आफ्नो प्रेममा रमाउँदै अनि हराउँदै गएँ । समय क्रममा त्यस्तै प्रेमिल हुँदै गएँ म !
विकास त्यस वर्ष दसैँमा टीका लगाउन मामाघर गयो । ऊ गएपछि साँच्चै शून्यताले बास गर्यो ममा । शरद ऋतुको सौन्दर्यमा समेत रमाउन सकिनँ म । सयपत्री र मखमली फूलहरूले आमन्त्रण गर्दा पनि टोलाएर बसेँ घरकै आँगनमा । म त उसकै सम्झनामा हराइरहेँ । ममा दिक्दारीपन छाइरह्यो । सजिएर राम्री भएर बस्न पनि मन लागेन । “मेरो सौन्दर्यको प्रशंसक नै नभएपछि मेरो सुन्दरताको के काम ?” त्यस्तै सोच्न पुगेँ ।
उसका बाबाआमा दुई दिनमै फर्के पनि ऊ अझ एक हप्ता मामाघरमा बस्ने कुरा थाहा पाएँ । साँच्चै त्यो एक हप्ता मेरा लागि एक वर्षझैँ भयो । त्यसपछि भने ऊ सपनामा समेत देखा पर्न थाल्यो । मेरो विपनाको राजकुमार सपनामा त रोमान्स गर्न अघि सर्थ्यो अनि म पनि निसंकोच साथ दिन्थेँ । मिठो सपनाबाट ब्युँझिएपछि भने किन त्यो विपना भएन भनेर दिक्क हुन्थेँ म । त्यसरी मैले चारैतिर देख्न थालेँ त्यही चुच्चे विकासलाई । हो, म त्यही चस्मेकै प्यारमा हराउँदै गएँ ।
एक हप्तापछि विकास घर आउँदा किन हो मैले आफूलाई धान्नै सकिनँ । मैले उसलाई आँगनमै अँगाल्न पुगेँ अनायास । विकासका आमाबाबा र मेरा आमाबाबा आँगनमा भएको पनि मैले ख्याल नै गरिनँ । त्यसपछि भने मेरा बाबा कराउनुभयो, “के हो कान्छी मैया, बाहुन काठालाई अँगालेर जात फाल्ने विचार छ कि क्या हो ?”
मैले सुस्तरी भनेँ, “मलाई विकासको न्यास्रो लागेर हो ।”
तैपनि मेरा बाबाले मलाई तान्दै थप्पड लगाएर भन्नुभयो, “अब तेरो आफ्नै जातको केटासँग एक हप्ताभित्र बिहे हुन्छ । यो चस्मेसँग बिहे गरिस् भने म झुन्डिएर मर्छु ।”
त्यसपछि म रुँदै गएर आमालाई अँगाल्न पुगेँ । नभन्दै एक हप्ताभित्रै दिल्लीमा दरबानी काम गर्ने आफ्नै जातको लाहुरे नभए पनि चाउरेसँग मेरो बिहे भयो । त्यस्तै भयो मेरो नियति !
त्यसपछिका निरस दिनहरू बडो कष्टसँग बिते । ती समय मेरा आँखाहरूबाट कति कोशी र गण्डकी बगे भनेर साध्य छैन । मेरा लागि दिन र रात फरक रहेन । मैले आफूलाई एउटा कारागारमा कैद गरेको अनुभव गरेँ । मैले आफूलाई कोठीमा भएको महसुस गरेँ । मलाई एकदम घृणा लाग्यो आफै उपर । मेरो मन सधैँ अस्थिर हुन्थ्यो त्यसैले कहिलेकाहीँ आत्महत्या गर्ने सोचसम्म आउँथे ममा तर विकासलाई सम्झेर अनि उसैको मायाले नै मैले आत्महत्या गर्न सकिनँ । हो, म उसैको मायाले अनि भविष्यको आसमा नै जिएँ सायद !
दिल्लीको दुई वर्षे बसाइपछि बल्लतल्ल म फर्कें आफ्नै माइतीघर । मेरा बाबाआमाले हाकिमहरूलाई गुहारेर बल्लतल्ल मालपोत कार्यालयमा जागिर पाएँ । त्यसपछि भने मैले बिस्तारै आफूलाई सम्हालेँ । अचम्म ! विकास पनि त्यहीँ काम गर्दै थियो, मजस्तै पियनको रूपमा । ऊ विवाहित भए पनि उस्तै रसिलो थियो । मलाई खुसी पार्न सधैँ नै ऊ लाग्थ्यो । म बेलाबेलामा उसको घरमा गएर उसको छोरासँग खेलेर समय बिताउँथेँ । त्यसरी म बिस्तारै आमा बन्ने सपनामा हराउँदै गएँ । वास्तवमा आमा हुने महिलाको प्राकृतिक अधिकार पनि हो ।
समय क्रममा मेरा श्रीमान् पनि नेपालमै आए । उनले बिस्तारै मलाई बुझ्दै गए अनि नरम पनि भए । हाम्रो बिहे भए तापनि हाम्रा बच्चाबच्ची भएको थिएन । त्यसैले हामी एकदिन अस्पताल जँचाउन गयौँ । श्रीमान्को वीर्य जाँच गर्दा थाहा भयो, बच्चा-बच्ची हुने एउटा पनि शुक्रकीट नभएको ।
मैले निकै सोचेँ अनि श्रीमान्लाई आफ्नो आमा बन्ने चाहना बताएँ । विभिन्न सम्भावनाहरूबारे छलफल भए । मैले आफ्नो विकाससँगको प्रेमबारे पनि बताएँ । महाभारतका कुन्तीलगायतका कथा सुनाएँ । त्यसपछि मैले भनेँ, “म विकासबाट बच्चा जन्माउन चाहन्छु, तर तिमी बाबा हुनेछौ, हैन भने आ-आफ्नो सुर गरौँ ।” खै, के सोचेर हो मेरा पतिले द्वापर युगका पाण्डुले झैँ मलाई सहमति दिए । म एकदम खुसी भएँ । पहिलोपल्ट मैले त्यस दिन आफ्ना श्रीमान्लाई दिलैदेखि अँगालेकी थिएँ निकै बेरसम्म ।
मेरो आग्रह टार्न नसकेर मेरा प्रेमी विकास मसँग नियोग (सन्तान जन्माउन परपुरुषसँग गरिने सम्बन्ध) गर्न राजी भए । त्यसपछि मैले उसबाट एक छोरा र एक छोरी जन्माएँ । मैले सन्तान जन्माउने प्रयोजनबाहेक अन्य कुनै समय विकाससँग यौनसम्बन्ध राखिनँ, प्रेमी नै भए पनि । अचम्म के भयो भने मैले ‘नियोग’ गर्दा तृप्त भएर आँखा चिम्लँदा आफ्नै श्रीमान्लाई देखेँ । त्यसैले मेरा छोराछोरीमा हंस (!) मेरो श्रीमानको पनि छ, वंश अर्थात् ‘जिन’ विकासको भए तापनि । त्यसैले हो, तिम्रो बाबा र फुपूको नाक हाम्रोजस्तो थेप्चो नभएको अनि तिमीहरूको पनि । अझ विकासको कारणले नै सानैदेखि तिमीहरूले पनि चस्मा लगाउनुपर्ने भएको हो, उसैको आनुवंशिक कारणले ! यसरी मैले आमा बन्ने सौभाग्य पाएँ आफ्नो जीवनमा र म एकदमै खुसी छु ।
विकास मेरो प्रेमी हो, पहिलो प्रेमी ! विकास मेरो खुसी हो । ऊ विवाहित भए पनि मेरो साथी हो । ऊ सधैँ मेरो दिलभित्र हुन्छ तर ऊ तिमीहरूका लागि भने ‘चस्मे हजुरबा’ मात्र हो । तिमीहरूको हजुरबाबा त तिमीहरूलाई माया गर्ने अनि आफ्नो नाम दिएर पालनपोषण हर सहयोग गर्ने मेरो श्रीमान् नै हो । अहिले मेरो श्रीमान् मेरो साथी हो, प्रेमी हुन नसके पनि ।
मेरा पतिलाई म एकदम सम्मान गर्छु । त्यो चस्मे विकासलाई चाहिँ म माया पनि गर्छु अनि कहिलेकाहीँ गाली पनि गर्छु । अहिले त्यो चस्मे र तिम्रो हजुरबाबा एकदम मिल्ने साथी पनि भएका छन्, मेरै करकापले गर्दा । यस्तै भाग्यमानी छु म अहिले, श्रीमान् र आफ्ना प्रेमी दुवैसँग मिलेर बस्ने । अरूको नजरमा त म अराजक हुँला तर म सारा बन्धन तोडेर आमा बन्न पाउँदा खुसी हुने महिला मात्र हुँ । मेरो वास्तविकता भने गोप्य नै राख मेरी प्यारी नातिनी, फोस्रो इज्जत राख्नकै लागि भए पनि ।
० ० ० ०
हजुरआमाको कथा सुनेर मैले बिर्सिएँ, त्यो वास्तविक थियो या दन्त्यकथा ! त्यो कथा सुनेपछि पनि म आफ्नी हजुरआमालाई उस्तै माया र आदर गर्छु । कहिलेकाहीँ लाग्छ म चिच्याएर हजुरआमाको कथा सारा संसारलाई बताऊँ तर यो समाजले पचाउन सक्दैन, त्यसैले हजुरआमाले भनेबमोजिम त्यो जीवनभर गोप्य नै रहने छ । ती चस्मे हजुरबा बायोलोजिकल ग्य्राण्डफादर भए पनि मेरो हजुरआमाको पति नै मेरा हजुरबाबा हुन् । म दुवैलाई मान्छु तर माया र विश्वास भने चस्मे हजुरबालाई हैन आफ्नै हजुरबालाई गर्छु ।
यस वर्ष दसैँमा चस्मे हजुरबाको घरमा टीका लगाउन जाने विचार गरेकी छु, त्यो पनि आफ्ना डाक्टर प्रेमीका साथ ! हेरौँ, के गर्ने हुन् तिनले ! कान त समात्नै पर्छ ! लुकीलुकी मेरी हजुरआमालाई माया गरेर सताउने ती चस्मे हजुरबालाई !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।