“तिमी मेरो घरमा गा’थ्यौ ?”

कसैको दह्रो ढाप र आकस्मिक प्रश्नसँगै म झसङ्ङ भएर पछिल्तिर फर्किएँ । एउटा ११–१२ वर्षीय किशोर आफ्नो अनुहारलाई सकेसम्म ‘क्रान्तिकारी’ बनाउने असफल प्रयत्न गर्दै रहेछ ।

क्रान्तिकारी ढाप तर अपरिचित अनुहार ! परिस्थितिको साङ्गोपाङ्ग नमिलेपछि म अलमल्ल परेँ ।

‘बाउको उमेरको मान्छेलाई यसरी साथीजस्तो सम्बोधन गर्ने तिमी को हौ ?’ उस्तै कड्केर सोधूँ जस्तो नलागेको त होइन । कताकता देखे–देखेझैँ लागेकाले हच्किएँ ।

म अन्योलको अँध्यारोमै थिएँ, उसैले चर्को स्वरमा परिवेश गिजोल्यो, “गा’ थ्यौ कि थे’नौ ?”

अब चैँ  म मज्जैसित गोलमटोल भएँ । ‘गएको थिएँ’ भनूँ— ऊ को हो ? ठम्याउनै सकिरहेको छैन । ‘…थिइनँ’ भनूँ— चिनेचिनेझैँ लागिरहेछ ।

उसको कलिलो र मेरो पाको उमेर, साथीलाई गरिएजस्तो ढाप अनि प्रश्नहरू; तीन वटै विषयमाथि व्यङ्ग्य हुने गरी जबाफ फर्काएँ, “बाबूलाई मैले राम्रोसँग चिन्न सकिनँ नि !”

“चिन्न सकिनँ रे ?” अघिभन्दा अलिक हल्का ढाप मारेर ऊ फिस्स हाँस्यो, “रातिराति मेरै नाम लिएर मेरो घरमा जाने ! मेरी आमालाई भात पकाउन लगाएर खाने ! सुतेको बाउको बिछ्यौना तानेर सुत्ने अनि मलाई नै नचिन्ने !”

‘…कस–कसकहाँ रातिराति गएको थिएँ हँ ?’ म सोच्न थालेँ । साँझमा अनेकन् ठाउँमा पुगेको छु, बास बसेको छु तर सुतिसकेकालाई उठाउनै पर्ने गरी अन्त कतै गएको दृश्य सम्झनामा आएन ।

‘सिर्फ एक पटक पन्द्रुङ पुगेको थिएँ…’ सोच्दै के थिएँ, उसको रवाफिलो स्वर बर्सियो, “…हो ! पन्द्रुङ !”

गोरखाको एउटा जङ्गलछेउको गाउँ पन्द्रुङमा पुगेका थियौँ हामी एक रात । सबै सुतिसकेका रहेछन् । निकै बेर ढकढक्याएपछि ढोका खुल्यो । भित्रबाट आमाले टुकी बाहिर ल्याएपछि पो देख्यौँ— फलैँचामा सुतेका बा टुक्रुक्क बसेर हामीलाई नियाल्दै रहेछन् ।

छेवैको गाउँ घ्याम्पेसालको कविताको कार्यक्रम सकाएर हामी त्यता लहसिएका थियौँ— एक स्थानीयलाई साथी बनाएर । बाटोको चौतारी छेउको होटलमा चिसो चिया खाइरहेका तिनै बूढाबूढीका ज्वाइँसँग भेट भएको थियो । उनैलाई अघि लगाएर पन्द्रुङ पुगेका थियौँ ।

हामीले त्यसो गरेको पनि सोह्र वर्ष भइसकेको थियो । अर्थात्, जनयुद्ध स्थगन भएको दुई वर्षपछिको कुरो थियो त्यो ।

तर, त्यो गमनसित जोडिएका कुनै स्मृतिचिह्नले उसको अनुहारलाई सम्झनामा जोड्न सकेनन् ।

‘चिनेचिनेजस्तो लाग्ने यो केटो आखिर को हो ?’ दिमागमा आश्चर्यसूचक घण्टी पेण्डुलम बनेर घुमिरह्यो ।

जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको घर खोज्दै गएका थियौँ हामी त्यस रात । दिलबहादुर सेते र सरीमायाको अन्तिम सन्तान थियो; सन्तानोत्पादन हुन सक्ने उमेरको उत्तराद्र्धतिरका । हामी जाँदा बूढाबूढीका काखमा दुई नातिनातिना थिए— छ र आठ वर्षका । ती हुन् भने पनि अलिक ठूलै हुनुपर्थ्यो— एक्काइस–तेइसका ! दिलबहादुर जति उमेरमा शहीद भए थ्यो, ठ्याक्कै उसकै उमेरको देखिँदै थियो यो ठिटो त !

“अझै चिनेनौ ? म दिलबहादुर रम्तेल हुँ !” उसले फेरि मनकै कुरो पक्डेझैँ संवाद जोड्यो ।

मेरो अन्योलमाथि हस्तक्षेप गर्दै ऊ पुनः बोल्यो, “कविहरू इमानदार, निडर, प्रष्टवक्ता हुन्छन् भन्थे तर तिमी नेताजस्तो रहेछौ— भुलक्कड, अभिनयबाज, काँतर ! के खान गएका थियौ हँ त्यहाँ ?”

खानु त के थियो र ! एक छाक भातसमेत त्यहाँ खान नपाइन सक्छ भनेर एकाध किलो चामल बोकाइदिएका थिए साथीहरूले । त्यही चामल पकाउन लगाएर गुन्द्रुकको झोलसँग खाएका थियौँ । स्वाद भने बिर्सी नसक्नुको थियो त्यो ।

त्यति बेला ऊ ‘मारिएको’ भनूँ कि ‘शहीद भएको’, सत्र वर्ष भइसकेको थियो । नमारिएको भए अहिले मेरै उमेर–हाराहारीको हुँदो हो ।

मैले उसको वास्तविक अनुहार सम्झने प्रयास गरेँ । सिर्फ यौटा फोटो देखेको थिएँ । फोटोको अनुहारसँग यो ठिटो कताकता मिल्दोजुल्दो लाग्यो ।

मरिसकेको मान्छे कसरी जस्ताको तस्तै आउन सक्छ ? भूतप्रेत, आत्मा, पुनर्जन्म मान्ने खालको आफू भइदिएको भए ‘आत्मा’ भनेर पत्याइदिन्थेँ होला । तर, ऊ स्वयम् ‘क्रान्तिकारीहरूको शहीद’ थियो । कसरी आउन मिल्छ हँ उसले धार्मिक अन्धविश्वासको खोल ओढेर ?

मलाई ऊ ‘दिलबहादुर’ हो भन्नेमा पटक्कै विश्वास लागेन । ऊ ‘दिलबहादुर’जस्तो हुलियाको छ, त्यत्ति हो ।

“के तिमी मेरा बाउआमालाई ‘तिम्रो छोरो मरेको होइन, अमर भएको हो’ भनेर फोस्रो उक्साहट थोपर्न गएका थियौ ? ‘तिमीहरू महान् दम्पती हौ ! तिमीहरूले ठूलै बलिदानी दिएका छौ । महान् जनयुद्धको पहिलो रगत तिमीहरूकै थियो; गर्व गर’ भनेर उचाल्न हो कि ‘तिमीहरूको छोरोको रगत खेर गयो ! पार्टीले के दियो ? राज्यले केही गरेन ? बिचरा !’ भनेर खिस्याउन ? कि उनीहरूको रुग्ण अवस्थाप्रति खुच्चिङ मार्न गएका थियौ हँ ?”

म ‘ऊ दिलबहादुर होइन’ भन्नेमै छु, ऊ भने दिलबहादुर भएको पत्याएझैँ प्रश्नमाथि प्रश्न थोपरिरहेछ ।

दिलबहादुरै भए पनि उसका अन्ठासन्ठा प्रश्नको जबाफ दिन मलाई के खाँचो ! म कुन चैँ  महान् पार्टीको महान् नेता हुँ र ! यौटा नाथु कवि, जो अर्थोक–अर्थोक नगरी स्वास्नी–छोराछोरी पाल्नसमेत सक्दैन ! आफ्नै नाम बेचेर खान त दुर्लभ भएर प्रकाशकसित घरीघरी रातो मुख गर्नु परिरहेछ; उसको नाम बेच्नु त चारकोसे झाडीपारिकै कुरा भैहाल्यो नि !

मलाई उसको प्रश्नको उत्तर दिनु नै छैन भनेपछि ऊ दिलबहादुर हो कि होइन ? केको खोजीनिती ! केको चासो !

मनभित्र हुन्डरी भने चलिरह्यो— ऊ दिलबहादुर हो भने कसरी हो ? होइन भने हो चैँ को त ?

थपिँदै गए उसका एकपछि अर्का प्रश्नहरू । एउटा कलिलो किशोर, जो स्वयम् प्रश्नहरूको स्तम्भ बनेर मेरो अगाडि उभिएको छ । ऊ मेरै अगाडि उभिनुको अर्थसमेत मलाई थाहा छैन ।

ऊ दिलबहादुर नै हो भने पनि उसलाई आफ्नो जनयुद्धको पहिलो शहीद मानेर कोकोहोलो मच्चाउने पार्टीको ढोका ढकढक्याएको भए हुन्थ्यो । त्यसैबाट चोइटिएर अझै क्रान्तिकारी हुने यत्न गरिरहेका खिच्रीमिच्री सङ्गठनहरूको अघिल्तिर च्याँट्ठिएको भए हुन्थ्यो ।

आफू मारिँदा सत्तासीन पार्टीको कार्यालयअघि उभिएको भए हुन्थ्यो । ऊ जुन पार्टीको ‘शहीद’ घोषित भए थ्यो, उसैसँग घरी मिल्ने–घरी छुट्टिने, बारम्बार सत्तागमन गरिरहने अर्को ठूलै पार्टीको कार्यालयअघि चिच्याएको भए हुन्थ्यो । उसको हुँदै नभएको सपना बेचेर स्थानीयदेखि केन्द्रीय सत्तासम्म निःसङ्कोच शासन गरिरहेका नेतागण, तिनका आसेपासे वा आफन्तजनको निद्रा बिथोलेको भए हुन्थ्यो ।

उभिनै थियो त मुक्ति टावर, सुमार्गी भवन, ललिता निवास, भाटभटेनी सुपर स्टोर, फन भ्याली, पैसा खाँदेर दुवैतिरबाट पुरिएका रोल्पा, दाङ र बाँकेका कल्भर्ट, छोराछोरी, नातिनातिना, छिमेकी, आफन्तका नाममा किनिएका घरजग्गा, बिल्डिङ, बिजिनेस सेन्टर, दश लाखको पलङ…. आदि–इत्यादिको अघिल्तिर उभिएको भए बिचरोको क्यै न क्यै पक्कै हुन्थ्यो !

ऊ यौटा साधारण कविको अघि उभिएको छ । यो कविसँग उसको जीर्ण घर र जीर्ण बाउआमाको तस्बिर मात्रै छ ।

किशोरमाथि ट्वाल्ल परिराखेका आँखा थुतेर मैले वरिपरि फ्यालेँ । उसको घरपछाडिको जङ्गल र जङ्गलसँगै ढेपिएको उसको घरकै परिवेश अनुभूत भयो । पिँढीको मुढामा ऊ र म आमने–सामने रहेछौँ ।

मेरो ठीक अघिल्तिर एउटा शहीदको आत्मा, शहीदकै रूपरङ भएको किशोर उभिएको छ ।

यो आत्मा–सात्मा म मान्दिनँ । पुनर्जन्म–सुनर्जन्ममा मलाई विश्वास छैन । मरिसकेपछि मान्छे मर्‍यो; सिद्धियो । फेरि फर्केर आउँदैन । किन पत्याउनु छैन ? त्यसको यथेष्ट वैज्ञानिक कारण थाहा नहोला; तर मलाई यो पाखण्ड पत्याउनु छैन ।

स्वयम्–लाई ‘जनयुद्धको प्रथम शहीद’ दाबी गर्ने यो किशोर हो चैँ को त ? के म भ्रममा छु ? तन्द्रामा छु ? निद्रामा छु ? चिमोटेर हेरूँ— ब्युँझै छु कि छैन ?

जेजस्तो अवस्थामा छु, म एउटा महान् शहीदको धङधङीको अघिल्तिर छु । यो दुर्लभ क्षण हो । जबसम्म ऊ आफैँ यहाँबाट जाँदैन; म आफूलाई ब्युँझाउँदिनँ । उसकै छेउमा बसिराख्छु । बकवास नै सही; उसका कुरा सुनिराख्छु ।

हुन त म पनि कुन ड्याङको मूला हुँ र ! ‘सुत्, सुत्, सुतिनस् भने भूत आउँछ’ भनेर तर्साएर सुताएथे बच्चा छँदा ।

‘रातिराति हिँड्नुहुन्न; पिचासले समात्छ’ भनेर आतङ्कित बनाएथे बाल्यकालमा । ‘यसो गरिनस् भने देउता रिसाउँछन्, उसो गरिस् भने खुसाउँछन्’ भनेर डर भरिदिएका थिए मनको बुइगलमा । जब आफैँ पढ्न सक्ने भएँ, अलिअलि राजनीतिक–वैज्ञानिक चेत भरिँदै गयो । त्यसपछि कुनै अग्रजले थमाइदिएका थिए— भूतप्रेतका रहस्योद्घाटन गरिएका किताब ।

त्यसैबाट तानिँदै देउता हुँदैनन्, भूतप्रेत हुँदैनन्, अर्को जन्म, बोक्सी, डायन, किचकन्या सबैसबै भ्रम हुन्, अन्धविश्वास हुन् भन्ने खालका किताब खोज्दै–पढ्दै हुर्किएको थिएँ । अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, भुइँचालो, ज्वालामुखी आदि–इत्यादि कसरी हुन्छन् ? पत्तो लगाउन नसकेर मान्छेले ‘पक्कै एउटा अलौकिक र अदृश्य शक्ति छ’ भन्ठान्दै ‘भगवान्’को आविष्कार गर्‍यो भन्दै हिँड्न सक्ने लालबुझक्कड भइटोपलेको थिएँ ।

बच्चामै मनको अन्तरकुन्तर जरोकिलो गाडेर बसेको त्यो अदृश्य शक्तिको प्रभाव विज्ञानका जति नै ठेली पढे पनि निमिट्यान्न नभएर पो हो कि ! मलाई ऊ दिलबहादुर रम्तेलकै हंस हो झैँ लाग्न थाल्यो ।

आङ जिरिङ्ग भयो । डर भरियो मनको बार्दलीभरि ।

ज्युँदै त छु ? कि खुस्किसकेँ ?

हैन–हैन, ज्युँदै छु ! किन मर्नु बेफ्वाँकमा !

मर्नका लागि बहाना थुप्रै होलान् तर बाँच्नुपर्ने सम्भावना कता हो कता अधिक छन् !

मरेपछि त सिद्धिगो नि !

अहिले बेइज्जत भए फेरि इज्जत बटुल्न सकिन्छ । एकचोटि निराश बन्दैमा आशाको त्यान्द्रो तुरिँदैन । यस पटक हारेर पुनः जित्न सकिन्छ ।

हार्नु क्षणिक हो; मर्नु क्षणिक होइन ।

बाँचेर मर्न सकिएला, मरेर बाँच्न सकिन्न । म त्यत्तिकै कहाँ मर्छु र ! बाँच्नका लागि जे–जसो गर्न सकिन्छ, गरिराख्छु ।

लात–बात सहनुपरे सहन्छु ।

इज्जत–बेइज्जत सम्हाल्नुपरे सम्हाल्छु ।

घात–चोट खेप्नुपरे खेप्छु ।

प्रयास गर्दागर्दै मरेछु भने; यसो राजनीति घुसाएर परिवारजनले ‘शहीदको सूची’मा हुल्न भ्याए र धेरथोर आयआर्जनको बाटो बनाए भने बनाउन्; तथापि मलाई ‘हुलदङ्गामा परेर’ शहीद बन्नुको समेत रहर छैन ।

शहीदै बन्नुपरे विचारसहितको शहीद बन्न पाइयोस् न !

म मरेपछि प्रश्नहरू उब्जिउन् ! आक्रोशहरू उठुन् ! निदाएकाहरू ब्युँतिउन् ! अकालमा मर्नै परेपछि रक्तबीज बन्न पाइयोस् न !

त्यस्तो शहीद पो शहीद !

यो शहीदै–शहीदको देशमा बाँच्नै गाह्रो परिरहेको झोकमा मलाई काकताली परेर शहीद हुनु त छैन भने यो किशोर बेक्कारमा किन र्‍याखर्‍याख्ती पारिराखेको छ हँ !

“तिमी साँच्चैका शहीद हौ र ?” भित्रभित्रै आँधीहुन्डरी आउला झैँ हुन थालेको थियो; प्याच्चै सोध्दिएँ ।

केटो एक छिन अलमलिएजस्तो भयो । आफूलाई हत्त न पत्त सम्हाल्दै पड्कियो, “म दिलबहादुर रम्तेल हुँ ! दिलबहादुर रम्तेल शहीद हो कि होइन ? त्यस्तो पनि कुनै प्रश्न हो ? वाहियात !!”

‘सपना के थियो तिम्रो ?’ रिसाओस् कि खुसाओस्, यो चाहिँ सोध्छु नै भन्ने लागेको थियो, ऊ भडङ्ङ भाँडिएकाले हिम्मत कमजोर भयो ।

‘महान् शहीदको सपना’ शीर्षकका दस्ताबेजमा जे–जे लेखिएका छन्, ती सबै उसकै सपना होलान् ? ११–१२ वर्षे फुच्चेको के–के र कस्ता–कस्ता सपना हुन सक्लान् ?

शहीद…., उसको देहावसान…, शहीदका सपना… म को हुँ यस्ता प्रश्न उठाउने ?

भए–नभए समाजले सोध्ला !

आए–गए समयले खोतल्ला !

रहे–बसे इतिहासले निखन्ला !!

गणित शिक्षकले ‘अङ्कमै जबाफ आउने त हो’ भन्दैमा लक्ष्मीप्रसाद देवकोटाको जन्ममिति के सोध्नु हौ !

अब ऊ भाँडिन्छ; रिसाउँछ; फन्किएर हिँड्छ ! मन नपर्ने प्रश्न त गर्नै हुँदैन यो उमेरका ठिटा-ठिटीहरूलाई ! जबाफ दिन नसके ‘संसार यौटा गाउँ भइसक्यो ! तपाईं चैँ अझै गाउँको पाखामै बाख्रा चराइबस्नू !’ भनेरै भए पनि जितेरै छाड्छन् ।

त्यसो त म यिनै दिलबहादुरकै जमानाको मान्छे ! ‘देशका लागि…’ भनेर कसैले फुर्क्याइदिँदा मर्नै हिँड्दिन्थेँ । क्रान्तिकारी बन्ने कम्ता भूत चढेको थियो र !

संयोगले बाँचियो भनूँ न !

बाँचियो पनि के भन्नु ! बाँच्ने उद्यम गर्दागर्दै आज यो उमेरमा आइसकियो; अझै बाँच्नुकै धौ–धौ छ ।

हैन, यो मृत्यु भन्ने कुरा पनि टाउकोमाथि नै झुन्डिएको हुन्छ कि क्या हो ! जहिले पनि, जहाँ पनि छलिएरै हिँड्नुको त्रासदी ! गर्‍यो; गर्दागर्दै मरिने हो कि ! नगर्‍यो; भोकभोकै मरिन्छ, पक्कै हो ! बस्यो; थिचिएर मरिएला भन्ने त्रास ! हिँड्यो; दुर्घटना मुख बाएर बसिराखेको हुन्छ ।

“अब म कसैलाई ढुक्कले सुत्न दिन्नँ बुझ्यौ ! निद्रा हराम गर्दिन्छु ! अमनचयन हायलकायल पार्दिन्छु !!”

उसको अकस्मात्–को अराजक स्वरले मेरो शहादती तन्द्रा टुट्यो । ऊ बरबराइरहेको थियो, “म ढुङ्गो थिइनँ । कलकलाउँदो थिएँ तर मान्छे नै थिएँ । बाँचेको भए यति बेला आमा–बाको बुढेसकालको लौरो हुने थिएँ । तर, तिनीहरूले मलाई ढुङ्गो बनाए ।

…त्यो ढुङ्गो टिपेर कस–कसले कहाँ–कहाँ मात्र हानेनन् ! …होलेरी हाने, …सिँधुली हाने, …रोल्पा हाने, …खलङ्गा हाने, …खारा हाने, …गोर्खा हाने…., दोषीमाथि हाने…, निर्दोषमाथि हाने….. !

अन्ततः शक्तिखोर हाने, सिंहदरबार हाने, बालुवाटार हाने ! हानिरहेका छन्— नेपाल आमाका अङ्गभङ्ग हुने गरी ।

अहिले यो ढुङ्गो कहाँ छ, थाहा छ ? टुक्राटुक्रा पारेर ठाउँठाउँको टेबुलमा ‘पेपरवेट’ बनाएका छन् निर्दयीहरूले ! उनीहरूको क्रान्तिको दस्ताबेज उडाउला कि भनेर थिच्ने ढुङ्गो बनेको छु म अचेल !”

उसले टेबुलै फुट्ने गरी मुड्की बजार्‍यो । मानौँ, त्यो ढुङ्गा कुनै बालुवाटार, कुनै सिंहदरबार, कुनै महानगर, उपमहानगर, नगर, गाउँपालिका, वडा वा पार्टी कार्यालयको टेबुलमा होइन, मेरै टेबुलमा कविताको पाना थिचेर बसिराखेको होस् !

म झसङ्गै भएँ । अलिकति ब्युँझिएँ जस्तो पनि लाग्यो ।

‘निद्रामै थिएँ कि क्या हो !’ जिज्ञासाको त्यान्द्रो समातेर पूरा ब्युँझिन खोजेँ; अहँ सक्तै सकिनँ ।

तन्द्रामै त्यो ढुङ्गोतिर आँखा गयो ।

उसबेलै यौटा ढुङ्गो टिपेर ल्याएको थिएँ पन्द्रुङबाट । कुन्नि कुन कुनातिर थियो; हिजो बच्चाले भान्सातिर गुडाइदिएछन् ! श्रद्धापूर्वक टिपेर आफ्नै टेबलको छेउमा राखिदिएको थिएँ, त्यहीँ रहेछ ।

यो ढुङ्गो चुपो लागेर बस्नेवाला देखिएन । अब यसले धेरैको सपना बिथोल्नेछ, बिपना खोस्नेछ ! कैयौँको खाने गाँसमा पस्नेछ ! कतिपयको घाँटीमा अड्कनेछ !

यसले आफ्नो यात्रा थालिसकेछ ! कसकसको फोक्सोमा छिर्ने भयो ! आमाशयमा पुग्ने भयो ! किड्नी, पिसाबथैलीमा झुन्डिने भयो !

उसको यो यात्रा टुङ्गो नलागुन्जेल म ब्युँझनु हुन्न !

ब्युँझिएँ भने यो ढुङ्गो टेबलहरूमै मक्किनेछ ।

परिवेशभन्दा माथि उठेर बज्रिनुपर्ने ठाउँमा बर्सिन सकेन भने यो ढुङ्गो मजस्ता आममान्छेको मुटुमा पसेको पस्यै हुनेछ, गाँठो बनेर बसेको बस्यै हुनेछ ।

मुटुभित्र ढुङ्गा राखेर बाँच्न अब आममान्छेलाई गाह्रै भैसक्यो !!

०००