अब ऊ बिस्तार-बिस्तार लयेडस् रोडको उकालोमा घस्रन थाल्यो । उसका दायाँ र बायाँ घडीका पसल र जुत्ताका पसलहरू थिए । मानिसहरू त्यतिकै हिंडिरहेका थिए । सबै आफ्ना आफ्ने विचारमा मस्त थिए । कसैलाई लङ्गडाको मानसिक अवस्थामाथि विचार गर्ने अवकाश थिएन… कसैलाई उसको अवस्थामाथि सहानुभूति प्रकट गर्ने समय थिएन ।

सडक मुनि माथि त्यस्तै घर, कोठी, पसल, होटल, रेस्तराँ थिए जहाँ लङ्गडाभन्दा धेरै असल र धनी मानिसहरू थिए- जहाँ ऐश्वर्यको निम्ति उनीहरूसित अनेक साधन थिए । ती मानिसहरूले लङ्गडा जस्तो घस्री घस्री माग्न पर्दैनथ्यो- पेट पाल्न पर्दैनथ्यो– जाडादेखि बाँच्न बोरा वा थांगनामा बेह्रिएर च्याथ्रा भइसकेका लुगा लाएर कसैको दलान दलान आश्रय लिएर रात काट्न पर्दैनथ्यो । पानी झरीदेखि बाँच्न कसैको कुना काप्चा, दलान र बिल्डिङ्हरू मनि गएर ओत लाग्न पर्दैनथ्यो । बाँच्नाको निम्ति तिनीहरूले लङ्गडा जस्तो हीन भएर दिनमा पनि रातमा पनि संघर्ष गर्न पर्दैनथ्यो ।

यसरी घस्रँदै ऊ फेरि माउन्ट प्लेजेन्ट रोडको मोडमा आइपुग्यो । ऊ बाटाका रेलिङको छेउमा बस्यो । उसलाई रिंगटा चल्ला जस्तो भइरहेथ्यो । लङ्गडाको सामुन्ने एउटा पानको पसल थियो । पसलको देब्रेतिर सिनेमाका ठूला ठूला दुई रंगीन पोस्टरहरू थिए उसले ती पोस्टरहरू हेरिरह्यो । दुनियाँले आफ्नो ऐश्वर्य र मनोरञ्जनका निम्ति कति धन कति परिश्रम व्यय गर्दा रहेछन् ! एउटा काल्पनिक छायाँको पछि पछि लागेर दुनियाँ नै आज कसरी बौलाहा भएर हिँड्दा रहेछन्…। लङ्गडाले विचार गर्यो । आज आफू रहेको त्यही दुनियाँमा, त्यही मानव संसारमा आफूचाहिँ एउटा हतभागी प्राणी भएर बाँचिरहेको छ ! धनी र दरिद्रको संसारमा कति भिन्नता रहेछ त्यो आज लङ्गडाले बुझ्यो ।

ऊ झोक्रिरहेको त थियो तर उसका दुवै आँखाले सडकमा हिँड्ने ती मानिसहरूलाई, जो लङ्गडाभन्दा धेरै सुखो थिए, हेरिरहेका थिए । उनीहरूको जीउमा हेरेर उसले आफ्नो फाटिसकेको लुगातिर पनि हेर्यो आज उसलाई आफ्नो संसार कस्तोकस्तो लाग्यो । आज उसलाई संसारमा बाँच्ने इच्छा नै भएन ।

आफू जन्म्यो, बढ्यो र दीर्घकालदेखि उसले यसरी आफ्नो जीवन बिताइरहेको थियो आफ्नो अवस्था सम्झँदा आज परमेश्वरले ऊमाथि अवहेलना र अन्याय गरे जस्तो लाग्यो…। उसका दुवै आँखा आँसुले डब्डब् भए । ऊ मूक भएर बसिरह्यो । तर सडकमा हिंड्ने मानिसहरू- आफ्ना आफ्ना विचारमा मग्न भएर हाँस्दै एकोहोरो हिंडिरहेका थिए ।

उसले मानिसहरूलाई यस्तो दृष्टिले हेर्दथ्यो मानो उसका आँखाले भाषाहीन विवाद गरिरहेथ्यो । उसको अन्तरमा शायद ठूलो हुरी चलिरहेथ्यो—उसको पीडित आत्माले शायद यसो भनिरहेको थियो आज एउटा माग्ने खोरन्डे भएर पृथ्वीमा घस्री–घस्री बाँचिरहेको छ । ईश्वर ! गरीब, अन्धा, लुला, लङ्गडा, खोरन्डेको निम्ति किन संसार बनायो ? उनीहरूलाई यो संसारमा किन बाँच्न दियौ ? उनीहरूलाई किन यसरी यन्त्रणा भोग्न दिइरहेछौ ?

मैले देख्दा देख्दै ती मानिसहरू हाँस्दै हिंडिरहेका छन्– उनीहरूले म जस्तो घस्रो-घस्री पेट पाल्न पर्दैन । मैले दिन प्रतिदिन अरूले दिएको भिक्षाले पेट भर्न पर्छ । ती असल-असल घर र अट्टालिकामा बस्ने धनी अलमस्तिहरू मोटरमा हावा खान्छन्; रेस, सिनेमा, होटेल, नाच गानमा भुलिरहन्छन् … …ओ म ? मेरा यी दुवै खुट्टा काम नलाग्ने छन्, मसित आफ्नो पेट पाल्ने धन पनि छैन म मानिसको घुइँचोभित्र रहेर पनि समाजहीन भएर आज कसरी एक्लो जीवन बिताइरहेको छु ! मेरो एउटा साथी थियो ऊ पनि अहिले छैन । अब म केका निम्ति बाँचूँ ? कस्को निम्ति जीऊँ ? अहिले समाज र पृथ्वीको पनि म भार भइरहेछु । मैले जन्म लिएर संसारमा जो देखें त्यति नै मेरा निम्ति पर्याप्त छ । अब अर्को जुनिमा फेरि माग्ने भएर नजन्मूँ ! म जस्ता माग्नेको निम्ति यो संसार होइन रहेछ । म अहिले संसारको भारले, मानव-अत्याचारले कसरी थिचिएको छु…अब यो संसारदेखि जति चाँडो विदा लिन सकुँला उति मेरो निम्ति राम्रो छ । जीवनको यो ठूलो यातना र कष्टबाट त म सधैँको निम्ति मुक्त हुन सक्नेछु ।

लङ्गडाका गालामा आँसु बगिरहेथ्यो । ऊ मौन थियो । आँसुले लतपत भइसकेका उसका आँखामा विषाद र यन्त्रणाको भाव झल्किरहेको थियो । फलामको रेलिङलाई उसले दुवै हातले समात्यो र धेरै बेर हातको बलले झुण्डिई अढेस लागेर ऊ घोप्टिरह्यो

आकाश बादलले ढाक्दै आइरहेको थियो ।

आज पनि सूर्यास्त हुँदा हिमालमा फेरि उस्तै रमाइलो गरी घामको पहेंलो आभा पर्यो । आधा बादल ढाकेको हिमालको छातीदेखि उँभो देखिने टाकुराहरूमा गुलाफी किरण साह्रै रमाइलो तर उदास लाग्दो गरी खेलिरहेको थियो ।

हेर्दा हेर्दै पातलो अन्धकार छाउँदै आयो । दिउँसोको भीड घटिसकेको थियो । पसलेहरू आफ्ना आफ्ना पसल थुन्दै थिए । हाट भर्न आउने मानिसहरू आफ्ना आफ्ना घर फर्किसकेका थिए । कोलाहल थोरै हुँदै गइरहेथ्यो । बिजुली चारैतिर बलिसकेको थियो । बिस्तारै चिसो हावा पनि बगिरहेको थियो ।

लङ्गडाले टाउको उठाएर चारैतिर हेर्यो । उसको कण्ठ सुकिसकेको थियो । भोकले ऊ कमजोर भइसकेको थियो । घस्रँदै हिँड्ने शक्ति पनि अब उसमा थिएन । उसलाई आफ्नै कुकुरको मात्र सम्झना भइरहेथ्यो । ऊ बिस्तार बिस्तार घस्रँदै तल चोकको सामुन्ने आयो । उसले चारैतिर हेर्यो । नजिकैको पानको पसल अघिल्तिर एउटा खैरे रङ्गको कुकुर गल्लीबाट फुत्त आयो र ओह्राले गयो लङ्गडा झस्क्यो । ऊ एक छिनसम्म एकोहोरो त्यतापट्टि नै हेरिरह्यो । तर कुकुरलाई भने उसले देखेन । एउटा युवक मुखमा चुरोट च्यापेर त्यहाँ फेरि पान खान आयो । एउटी तरुणी ठिटी पनि त्यहीं पान किन्न आई । लङ्गडा हेरिरहेको थियो । युवक र ठिटी दुवै हाँसिरहेका थिए, पानको पसले पनि आफ्नो लामो दाह्री मुसार्दै उनीहरूसित मुस्कुराइरहको थियो । लङ्गडा एक छिनसम्म त्यो हेरिरह्यो र फेरि ओह्राले घस्रँदै गयो ।

लङ्गडा तल मासु बेच्ने पसलको सामुन्ने आएर बस्यो । उसको अघिल्तिर मोटर स्टेन्ड थियो । ड्राइभरहरू कोही ओभरकोट लाएर गाडीभित्र कुरिरहेका थिए कोही सिनेमाको गीत गाउँदै यता उता पेसेन्जर खोजिरहेका थिए । एक जना बूढो ड्राइभर माथिबाट लरखरिंदै आयो, त्यो मातेर टन्न थियो । आएर लङ्गडाको छेउमा उभियो । त्यसले लङ्गडालाई देख्यो र एकछिन हेरिरह्यो । लटपटिएको बोलीमा त्यसले केही कुरा गुनगुनायो । फेरि त्यसले पाकेट छामेर पैसा निकाल्यो र लङ्गडाको अघिल्तिर फ्याँकिदियो । एउटा दुअन्नी लङ्गडाकै छेउमा खस्यो, अर्को एकन्नी अलि परतिर झर्यो र अर्को चारन्नी जस्तो थियो लड्दै नालोमा खस्यो । त्यो बूढा ड्राइभर लङ्गडालाई हेरेर हाँस्यो र फेरि नबुझिने गरी गुनगुनाउँदै तलतिर गयो ।

अर्को एक जना पुडको मान्छे परबाट आइरहेको थियो त्यो पनि रक्सीले मातेको थियो । ओभरकोटका दुवै पाकेटमा त्यसले हात घुसारेको थियो । सडक हिँड्ने एक दुई जना मानिसलाई धक्का दिँदै त्यो बेसुरमा हिंडिरहेको थियो । त्यो लरखरिंदै लङ्गडाको नजिकै आउन लागेको थियो । बिजुलीको प्रकाशमा लङ्गडाले राम्रै देख्यो- त्यो मान्छे त दिउँसो टाउनहलमा एउटी आइमाईसित सिनेमा हेर्न जाने मान्छे नै पो रहेछ ! लङ्गडा डराएर नालीको भित्तामा अडेस लाग्यो । त्यो मान्छे मास्तिर गयो ।

अन्धकार छाइसकेको थियो । अहिले हावा चलिरहेको थियो । लङ्गडालाई कहाँ जाऊँ, कहाँ जाऊँ भइरहेथ्यो । ऊ घस्रँदै चोकको ठूलो बिजुली खम्बामनि आएर बस्यो । चोकका पसलेहरूले आफ्ना आफ्ना पसल थुन्दै थिए । बिजुली चारैतिर बलिरहेका थिए । परबाट एउटा अग्लो मानिस आयो, त्यो मानिस सरासर आएर लङ्गडाको पछिल्तिर ठीङ्ग उभियो । त्यसले पाकेटबाट चुरोट झिक्यो र सल्कायो- तल भुइँबाट लङ्गडाले पछिल्तिर फर्केर मास्तिर त्यो अग्लो मानिसको मुख हेर्न खोजिरहेथ्यो । दियासलाईको उज्यालोमा उसले एउटा परिचित अनुहार देख्यो, त्यो त पुलिसको एउटा अफिसर पो रहेछ । त्यो मुखबाट बुङबुङ धुवाँ फालिरहेथ्यो । पुलिसको अफिसरलाई देख्नासाथ लङ्गडाको हृदय ढुक-ढुक गर्न थाल्यो । त्यहाँबाट घस्रँदै घस्रँदै ऊ परतिर गयो । अब चिसो हावा बगिरहेथ्यो । पानी पनि पर्ला पर्ला जस्तो भइसकेको थियो ।

हेर्दा हेर्दै आकाशबाट पानीका छिटाहरू खस्न थाले । आकाश मेघले ढाकेर केही नदेखिने जस्तो भइसकेको थियो । लङ्गडा घस्रँदै तलतिर आयो । एउटा पसले आफ्नो पसल थुन्न ६७ लागेको थियो । लङ्गडा त्यहीं गएर ओत लाग्न खोज्यो । तर पसलेले भित्रबाट लङ्गडालाई देखिहाल्यो ! पसलेले लङ्गडालाई त्यहाँ बस्न नदिँदा ऊ एक छिनसम्म यता र उता गरिरह्यो ।

हावा झन् बेगले चलिरहेको थियो । पानीले सडक भिज्न लागेको थियो । लङ्गडालाई कसो गरूँ भइरहेको थियो । ऊ घस्रँदै आएर बजारको मन्दिरको छेउमा एउटा सांगुरो छिँडी छ त्यहाँ गएर पानीदेखि बाँच्न ओत लाग्यो । उसको जीउ कामिरहेको थियो । मुटु अज्ञात भयले ढुक-ढुक गरिरहेथ्यो । उसको शरीरको बल हराइसकेको थियो । ऊ स्वाँ स्वाँ गरेर नाकबाट निःश्वास लिइरहेको थियो ।

हुरी बडो बेगले चल्न थाल्यो । ढिलो पसल थुन्ने एक दुई पसलेहरूको पसल पनि अब त थुनिइसकेका थिए । चोक र वरपर प्रायः सुनसान भइसकेको थियो कहिले हुरीको वेग आउँथ्यो— कहिले पानीको बाछिटा हुरीले उडाएर गोलीका पर्राहरू झैँ ल्याउँथ्यो ।

लङ्गडा चुपचाप भित्तामा अडेस लागेर बसिरहेको थियो । प्रकृतिका कर ताण्डव नृत्यले उसलाई विस्मित बनाइरहेको थियो । बौलाहा हुरी भने कहिले घरहरूतिर ठोकिएर कहिले बिजुलीको खाँबातिर ठोकिएर हुहु गर्दै एउटा गम्भीर स्वरले बगिरहेथ्यो । कहिले बिजुलीको तार र टेलिफोनका तारहरूमा बतास ठोकिएर सीं… सीं… गर्ने एक किसिमको, कस्तो कस्तो मनै रुवाउने उदासीन तर धीमा आवाज आउँथ्यो – रातको निस्तब्धतामा केवल हुरीको वेगका साथ यस्तो उदासीन आवाज गरी प्रकृतिले पनि संसारको एउटा हताभागी मानवको निम्ति गम्भीर सहानुभूति प्रकट गरिरहेको थियो ।

यसो हुँदा हुँदै पानी वेगले पर्न थाल्यो । लङ्गडा बसेको ठाउँ पहिले केही ओबानो थियो तर आकाशको पानीले मन्दिरको भित्ताबाट पानी धारा भएर बग्न थाल्यो । लङ्गडा अब एक छिन त्यहाँ बस्न नसक्ने भयो ।

लङ्गडा भिज्दै त्यहाँबाट मास्तिर आयो । पानीले ऊ भिजिरहेको थियो । ऊ पछिल्तिरको बजारको डाकघरमा ओत लाग्ने विचार लिएर सिडोमा हात खुट्टाले टेकेर उक्लन थाल्यो र थरथर काम्दै एउटा कुनामा बस्यो … ।

त्यहाँबाट सडक र चोक वर पर शून्य देखिन्थ्यो । आकाशबाट खसेको मुसलधारे पानीले सडक र चोकको फाँट पखालिरहेथ्यो । बिजुलीको प्रकाश पनि मधुरो देखिन्थ्यो ! ठाउँ ठाउँमा बिजुलीको छाया सडकमा परेको देखिन्थ्यो । आँधीले समुद्रका लहरहरूलाई उडाइरहे जस्तै हुरीको उत्ताल वेगले पानीका छिटाहरू पृथ्वीको तहमा लहरका लहर उडाइरहेको थियो । आकाशबाट यसरी मुसलधारे वृष्टि भइरहेथ्यो मानो धुरीबाट कसैले पानी खन्याइरहेको छ । रूख, पात, घर, पसल, सडक, पार्क सबै पानीले रुझाउँदै थियो । बिजुली बेला बेलामा चम्कँदा अघिल्तिरको अग्लो बिजुलीको खाँबा, वरपरका पसल घर र विल्डिङ्‌हरूको कालो छाया मात्र देखिन्थे । यो महा वृष्टिले उनीहरूलाई छोपिसकेको थियो । पृथ्वी अब एकै छिनमा जलमा भासिएला भने जस्तो गरी यसरी घनघोर वर्षा भइरहेथ्यो ।

सडकमा एक जना मानिस छाता ओढेर गइरहेथ्यो । सडक जनशून्य भइसकेको थियो । त्यो मानिसको लमतन्ने धमिलो छाया मात्र देखिन्थ्यो । त्यो मानिसलाई देख्ता लङ्गडालाई आफ्नो कुकुर त्यसका पछि पछि गइरहेको जस्तो लाग्यो । राम्ररी हेर्दा त्यसको छाया रहेछ । पर पुगेपछि त्यो मान्छे पानीमा नदेखिने भयो ।

लङ्गडा मुसा भिजे जस्तो भइसकेको थियो । थुरथुर काम्दै प्रकृतिको त्यो क्रूर नृत्य हेरिरहेको थियो । आकाशमा बिजुली चम्कन्थ्यो, मेघको भीम गर्जन हुन्थ्यो । लङ्गडाको आँखा तिरीमिरी हुन्थ्यो अनि फेरि अँध्यारो हुन्थ्यो । उसको जिउको लुगा भिजिसकेको थियो । यसरी धेरै बेर ऊ त्यहाँ बसिरह्यो । आधा रात भइसकेको थियो । अब पानी थामिएला जस्तो भयो । जाडाले लङ्गडाको मुटु उत्तिकै कामिरहेको थियो । त्यहाँबाट सरेर अब कसैको दलानमा आश्रय लिने उसले विचार गर्यो ।

बिस्तार बिस्तार घस्रँदै डाकघरको चिप्लो सिँडीबाट ओह्रालो झर्यो र बाँयापट्टि घुमेर नजीकको पसलनिर आयो ।  पानीले ऊ भिजिरहेकै थियो । लङ्गडा गल्लीतिर पस्यो । एउटा लामो काठको सिँडी उसले देख्यो । उसले यता र उता हेर्यो र बिस्तार बिस्तार सिँडी छाम्दै उक्लन थाल्यो । माथि आइपुगेपछि उसले काठको रेलिङ समात्यो र एकछिन थकाइ मार्यो । उसको दम बढिरहेथ्यो । हावा भने उत्तिकै चलिरहेथ्यो । उसलाई साह्रै जाडो लाग्न थाल्यो । झन् त्यो काठको सिंढीमा हावा ज्यादै आउने हुनाले उसलाई त्यहाँ बसिनसक्नु भयो । उसका हात खुट्टा कक्रिसकेका थिए । भिजेको आङको लुगामा हावाले फुक्दा जाडाले उसलाई साह्रै असहनीय बनाइरहेथ्यो । उसलाई कता जाऊँ कता जाऊँ भइरह्यो ।

त्यहाँबाट परतिर कसैको दलानमा गएर रात बिताउने विचारले अन्धकारमा घस्रँदै ऊ भित्ता छाम्न लाग्यो । एक दुई ढोका भेट्टायो । घरभित्रका मानिस निद्राबाट ब्युँझलान् भन्ने डरले चाल मारेर ऊ छामछाम छुमछुम गरिरहेथ्यो । परतिर काठको ठूलो रित्तो बाकस जस्तो उसले भेट्टायो – त्यो बाकसको आड लिएर हावादेखि बाँच्ने विचारले बाकसमा अढेस लाग्यो ।

लामो निःश्वास लियो र आफ्नो पिठ्यूँको पोको झिक्यो । पानीले भिजेर त्यो पनि अहिले गह्रुँ भइसकेको थियो । कुनापट्टि सरेर उसले बाकसको छेउमा भएको मट्टिको तेलको टिनमा आफ्नो पोको राख्न खोज्यो – दुर्भाग्यवश त्यो टिन पल्टिएर तल खस्यो ! रातको निस्तब्ध वातावरणमा एउटा ठूलो आवाज भयो अनि फेरि चकमन्न भयो !

लङ्गडा पनि तर्स्यो – उसको होश नै हरायो ।

घरभित्रको मानिसको निद्रा भंग भयो – त्यो आवाज सुनेर एक जना अग्लो दाह्री भएको मानिस हातमा लामो लौरो लिएर आयो । कोइला चोर्न आएको मानिस भन्ने सम्झेर त्यसले चारैतिर हेर्यो – तर लङ्गडा भने अन्धकारमा त्यही मानिसको गोडानिर डरले एक डल्लो परेर बसिरह्यो । त्यो मानिसलाई देखेर झन् डरले उसको मुटु ढुक ढुक गर्न लाग्यो । कसो कसो गर्दा त्यस मानिसको दृष्टि लङ्गडामाथि पर्न गयो – त्यसले हातको लौरो उचालेर के लङ्गडामाथि प्रहार गर्न आँटेको मात्र थियो तल अन्धकारबाट एउटा करुण उद्गार आयो- “हजुर ! म त एउटा माग्ने लङ्गडा पो हूँ…”

त्यो मानिसले मच्चाएको लौरो थामियो । त्यसले लङ्गडालाई हेर्न खोज्यो । पहिले त अँध्यारोमा कालो लुगाको थुप्रो जस्तो देख्ता मान्छे नै हो भनेर ठिम्याउन सकेन । लङ्गडा अलिकति चलमल गरेको थाहा पाएपछि त्यो मानिसले हातको लौरोले लङ्गडालाई घोच्ला जस्तै गरेर केही बेरसम्म गाली वर्षायो । त्यसले आफ्नो बलियो पाखुराले लङ्गडालाई हातबाट तानेर घसार्दै वर ल्यायो र सिंडी ओह्रालो मुन्टाइदियो ।

रातको निस्तब्ध अन्धकारमा वायुको वेगसित एउटा हृदय विदारक चित्कार सुनियो अनि फेरि केही सुनिएन । चारैतिर चकमन्न भयो ।

लङ्गडा सिँडीमा लड्दै तल खस्यो र बेहोश भएर लडिरह्यो ।

० ० ० ०

लङ्गडाको अतिकति होश आएपछि उसले आफूलाई हिलोमा लडिरहेको पायो । चारैतिर निस्तब्ध थियो । उसले हिलोमा गाडिएको आफ्नो टाउको उठाउने बल त गर्यो तर सकेन । जाडाले उसका हात खुट्टा सबै हिउं भइसकेका रहेछन् । हिलोमा सुतीसुती उसले पृथ्वीदेखि माथि स्वर्गमा आँखा उठाएर हेर्यो- मेघयुक्त आकाशमा बियाउँदो रातका ताराहरू साह्रै रमाइलो लाग्दो गरी चम्किरहेका रहेछन् ! हिजो रातीको डरलाग्दो आँधी र पानी पनि थामिएर अहिले चारैतिर प्रकृति मौन र स्थिर भइसकेको रहेछ । चारैतिर भर्खरै प्रातकालीन वातावरण आएर एक प्रकारको शान्ति विराजमान भइसकेको रहेछ ।

निकै बेर लङ्गडा त्यहीं लडिरह्यो । उसका चिसा हात खुट्टा निर्जीव जस्ता भइसकेका थिए । यसरी आफू भुइँमा लडिरहेको कारण उसले सम्झनै सकेन । सम्झँदा सम्झँदा हिजो रातीको दुखद घटनाको बल्ल उसलाई स्मरण भयो । उसलाई हिजोको एक एक कुरा सम्झना भयो । त्यो सम्झँदा उसलाई साह्रै नरमाइलो लाग्यो ! मानिसप्रति उसको हृदयमा असह्य घृणा भइरहेको थियो । लङ्गडा अब साह्रै कष्टले उठ्यो । उसले आफ्नो अनुहार छाम्यो, उसका निधार र कन्पटमा चोट लागेको रहेछ । उसको निधारदेखि उँधो च्युँडासम्म रगत बगेको थियो । उसले आफ्नै कोटको बाहुलाले रगत पुछ्यो र घस्रने बल गयो ।

केही बेरपछि लङ्गडा बिस्तार बिस्तार घस्रँदै सडकतिर आयो ।

० ० ० ०

बिहानको घाम मन्दिरको सेतो भित्तामा देखा पर्यो । दिन छ्याङ्ग उघ्रेको थियो । कस्तो रमाइलो ! सडकमा मानिसहरू हिंडिरहेका थिए । पसलेहरू आफ्ना आफ्ना पसलहरू खोल्दै थिए । मन्दिरको सामुन्नेको पसलको छेउमा एउटा बिजुलीको खाँबानिर एक जना माग्ने घोप्टो परेर लडिरहेको थियो । त्यो माग्नेको जीउभरि हिलै हिलो थियो । उसले आफ्ना दुवै बाहुलाले मुख पनि छोपेको थियो ।

सडकमा हिँड्ने मानिसहरूको मनमा शङ्का भयो । मानिसहरू जम्मा हुन थाले । हेर्दाहेर्दै मानिसको घुइँचो भयो । एक छिनमा एउटा पुलिस आयो र मन्दिरको अघिल्तिरको नेपालीको पुस्तक बेच्ने पसलमा गएर केही कुरा सोध्यो र उ घुइँचोतिर गयो । पुलिसलाई देखेर मानिसहरू अलिकति सरे । त्यहाँ अलिकति खलबल भयो । मानिसहरू परस्पर मुखामुख गरेर कुरा गरिरहेका थिए ।

त्यो हल्ला सुनेर लङ्गडाले टाउको उठाउन खोज्यो । उसको निधारभरि रगतका टाटा थिए । एकछिनपछि उसले आँखा उघार्यो र टाउको अलिकति उठाएर चारैतिर हेर्यो । चारैतिर हेर्नु भन्दा पहिले उसले आफ्नै साथी कुकुरलाई छेउमा बसिरहेको पायो ।

कुकुरलाई देख्नासाथ लङ्गडाको आँखा हर्षले एकदम उज्यालो भयो ।

अनि उसले धेरै बेरसम्म मलीन ज्योतिले आफ्नो हराएको साथीलाई हेरिरह्यो । कुकुरले पनि खुशीले पुच्छर हल्लायो ! लङ्गडाका आँखा आँसुले डब डब भए । उसले कुकुरलाई करुण दृष्टिले हेरिरहेको थियो । त्यो दृश्य जीवनको लामो यात्रामा जान लाग्दा कुनै आफ्नो आत्मीय बन्धुले रूँदै बिदा मागिरहेको जस्तो थियो ।

लङ्गडाले दुवै हातको बलले उढ्ने चेष्टा गर्यो तर सकेन । उसले चारैतिर आँखा घुमाएर हेर्यो । उसले आफूलाई चारैतिर मानिस र पुलिसले घेरेको पायो । उसको चेतना शक्ति बिस्तार बिस्तार हराउँदै थियो । उसले उँभो आकाशतिर आँखा उठाएर हेर्दा मन्दिरको सेतो भिता र गजुर देख्यो । जहाँ बिहानको रमाइलो घाम भर्खरै खेल्न पुगेको थियो । मन्दिरका वरिपरि धेरै परेवाहरू उडिरहेका थिए । धेरै परेवाहरू बिहानको घाममा मन्दिरका अग्लो डीलनिर गुडगुडाउँदै नाचिरहेका थिए ! त्यो देखेर लङ्गडाको अनुहार अलि उज्यालो भयो । साह्रै कष्टसित उसले हात पसार्यो र कुकुरलाई वर तानेर अँगालो हाल्यो । तर उसको निःश्वास क्षीण हुँदै गइरहेको थियो— उसले दुई चार पल्ट खोक्यो र बाहुलाले मुख छोपेर भुइँमा घोप्टियो ।

केही बेरपछि एक जना मानिसले लङ्गडाको टाउको उठाएर हेर्न खोज्यो- तर उसका दुवै आँखा सधैँका निम्ति चिम्म भइसकेका रहेछन् । उसले कुकुरलाई अंगालो हालेको हात पनि खुकुलो हुँदै गयो । उसको साथी कुकुरले भने धेरै बेरसम्म लङ्गडालाई छोड्दै छोडेन ।

० ० ० ०

साता दिनपछि–

एकछिन त्यो कुकुर फेरि बजारको एउटा गल्लीमा डुलिरहेको देखियो । मध्याह्नसम्म उद्देश्यहीन भएर त्यो एउटा पानको पसल अघिल्तिर यता र उता गरिरहेथ्यो । त्यो दिन पनि दिनभरि घामै लागेन । दिन अँध्यारै भइरह्यो । मेघले जम्मै आकाश छोपेर दिन साह्रै नरमाइलो भएको थियो । मध्याह्नपछि त मेघ पनि गर्जन थाल्यो । पानी पर्ने छाँट देखियो । हावा चल्न थाल्यो । पानी छिट्याउन लागेको देखेर पसलेहरू आत्तिए । हेर्दा हेर्दै केही बेरपछि राम्रै पानी पर्न थाल्यो ।

मुसलधारे पानीमा भिज्दै कुकुर यता उता गरिरहेथ्यो । मानिसहरू यत्रतत्र पसलमा ओत लागेका थिए । तर गाडीहरू भने सडकमा एकोहोरो हिंडिरहेका थिए । त्यो कुकुर पनि एउटा पसलको भित्तामा ओत लाग्न गयो तर पानीले त्यहाँ भिज्न थाल्यो । आखिर त्यो कुकुर के गरूँ के गरूँ जस्तो भएर एउटा अर्को पसलमा, मानिसकै छेउमा गएर ओत लाग्न खोज्यो । कुकुरलाई देखेर एउटा बुट लाउने मानिसले लाती उचालेर हान्न खोजेको थियो— कुकुर भागेर पर पुग्यो !

पर पुगेर कुकुरले पछिल्तिर फर्केर त्यो मानिसको अनुहारमा हेर्यो – कुकुरको कातर हेराइमा उत्तिकै घृणा र डर थियो । तर त्यो मानिस केही जस्तो नमानी मुखमा चुरोट च्यापेर बुंग बुंग एकोहोरो धुँवा फालिरहेको थियो…!

अर्को दिन फेरि-

रातभरि परेको पानी थामिसकेको थियो । प्रातःकालै त्यो कुकुर फेरि गड्डीखानाको ओह्रालो गल्लीमा, लङ्गडा सुत्ने झुप्रोतिर लुखुर लुखुर गइरहेको थियो । झुत्रो शून्य देखेर कुकुरले यता उता भुँइ सुँघ्यो । भित्र लङ्गडा सुत्ने गरेको  दुइवटा फल्याक थिए । त्यहीं गएर त्यो पनि गुँडुँलिएर सुत्न खोज्यो । कुकुर कामिरहेको थियो । त्यहाँ त्यो धेरै बेर सुत्न सकेन । कुकुर उठ्यो । त्यसले यता र उता चारैतिर हेर्यो । एउटा कुनामा लङ्गडाको फाटेर मकिसकेको पुरानो कोट लत्रेको रहेछ । वरिपरि घुमेर कुकुरले त्यस लुगालाई पल्टाएर सुँघ्यो । कुकुर एक्लै थियो । त्यो फेरि बाहिर निस्क्यो – फेरि भित्र पस्यो । यसरी धेरै पल्ट त्यो मूक पशु आफ्नो आत्मीयको खोजमा झुप्रोभित्र र बाहिर गरिरह्यो ।

तर झुप्रो शून्य र निर्जन थियो । त्यसैले त्यहाँ उच्चाट लाग्ने उदासीनता छाएको थियो ।

ज्यादै असजिलो मानेर त्यो कुकुर फेरि सडकमा निस्क्यो वरपर घर घरमा, छानु छानुमा बिहानको घाम परिसकेको थियो । कुकुर केही चीज घुइँ घुइँति खोज्न लागे जस्तो गरेर गल्लीगल्ली चाहारिरहेको थियो ।

दुइ दिनपछि फेरि-

बिहानको घाम परेको एउटा भित्तानिर त्यो कुकुर लग्लग् काम्दै उभिरहेको थियो । थोरै बेरपछि फेरि जितेन झोडाकोमाथि हावा घरमा त्यो कुकुर गइरहेको थियो । फेरि फर्केर आयो र हाइस्कूल जाने बाटोतिर रंगालिरह्यो । त्यसले कसैलाई खोजिरहेको जस्तो देखिन्थ्यो । त्यसको जीउभरि लुतै लुतो लागेर त्यो कामिरहेको थियो ।

फेरि दश महिनापछि –

हाइस्कूलदेखि धेरै तल मुर्दा पोल्ने ठाउँमा एक दिन मुर्दाहट्टी रूङ्ने मान्छेले एउटा कुकुर र एउटा मान्छेको हाड एकै ठाउँमा गाँसिएको पायो । वर्षाको पानी र बालुवाले केही छोपेको, एउटा मान्छे र अर्का पशुको अस्थिपञ्जर त्यसरी जोरिएर त्यसले यो पृथ्वीको तहभन्दा पनि माथि, पशु र मान्छेको आत्मीयताको परिचय दिइरहेथ्यो…!

[ समाप्त ]