‘ए, चोर… चोर … चोर… हेर… हेर….. हेर… उ चोरेर भाग्यो ? लौ न, ए केटा हो । कता मर्यौ र ? छैनौ कोही यताउति ? उसलाई छोपेर ल्याओ ए ।’ उमेरले तीन बीस काटेकी आइमाईले भागिरहेको केटोलाई देखाउँदै कटुवालेको स्वरमा बोलिन् ।
साँझको ४:१५ बजेको हुँदो हो । बिदा पछि सारा विद्यालय नै बाटोभरि हिंडिरहेको थियो ।
‘के भयो आमा ? कसले के चोर्यो ?’ फुटबल खेल्न हिंडेका चार जना केटा एक्कासि देखा परे ।
‘हेर्… हेर् …उ तेरो बा भागिहेरेको छ ’त्यहाँ भएका मध्ये सबै भन्दा ठूलो केटाको पाखुरीमा समाएर चोर औलाले देखाई चोर केटोलाई बुढीले ।
चोर केटो हावाको गतिमा भागिरहेको थियो । ती केटाहरू दौड प्रतियोगिताका भाग लिएझैँ तँछाडमछाड गर्दै छोप्न बिजुलीको गतिमा दौडिए ।
नजिककी छिमेकी एकैछिन सबै जम्मा भए । छिमेकी शोभा बोली, ‘के चोर्यो आमा ? गाउँमा कटुवालले हाँक हालेझैँ खुब जोडजोडले कराउनुभयो त ?’
सबै मानिसतिर हेर्दै बूढीले भनिन्, ‘धाराको चिसो पानीमा न्याएर आथे । सारै आग काठ्यको थ्यो । सुर्जेको घाम ताप्न एकछिन पसलको पछाडि के छिर्या छे । त्यै मैका पो छोपेछ डाकाले ।’
चोर केटो पछाडि हेर्दै दौडिरहेको थियो । केटाहरू उसको पछिपछि दौडिरहेका थिए । हेर्दा यस्तो लाग्थ्यो, स्वैरकल्पनाको सिनेमाको सुटिङ भइरहेको छ । भिलेनहरू केटा हुन् । चोर केटो नायिका हो । उसमाथि चीरहरण हुँदैछ ।
अगाडिबाट एउटा कार तीव्र गतिमा आयो । चोर केटोले शरीर सन्तुलनमा राख्न सकेन । कारमा एक्कासि ठोक्किन पुग्यो । ड्राइभर झ्याप्प ब्रेक हान्यो । कारको ठक्करले चोर केटो बाटोको देब्रे साइडतिर पल्टिन गयो । किचिनबाट बच्यो । उसले पुनः जीवन पायो ।
ड्राइभरले साइडको सिसा अलिअलि गरेर खोल्यो । ड्राइभर भने पनि, मालिक भने पनि । ऊ मात्र थियो कारमा । उसले सिसाबाट बाहिर टाउको झिक्यो । चपाउँदै गरेका मुखको पानबाट भुइँमा प्याच्च थुक्यो । रिसाएको राँगोका झैँ राताराता आँखाले पल्टिएको केटातिर हेर्दै भन्यो, ‘झन्नै सिल्टेनछ साले, राडीको छोरा । क्या र्याक भयो यार । साइतै बिगार्यो मुलाले ।’ उसले जसरी बाहिर टाउको झिकेको थियो । सोही गतिले भित्र छिरायो । पहिलेकै गतिमा अघि बढ्यो ।
चार जना केटा एकछिन त उसलाई देखेर आत्तिए । के गरूँ । कसो गरूँ भयो । जब ऊ जुरुक्क उठ्यो । चारैतिर हेर्यो । ऊ भाग्न खोज्यो । तर सकेन । केटाहरूले चारैतिरबाट घेरिहाले । ती मध्यको सबै भन्दा ठूलो केटाले उसको हातमा समाउँदै रिसाउँदै भन्यो, ‘ए खाते, सरासर त्यो अन्टीको पसलमा हिंड् । नत्र तँलाई घिसारेर भए पनि लगेरै छोड्छौं ।’
उसले उनीहरूका कुरा सुनेन । हात फुत्काएर भाग्न खोज्यो । तर पछाडिबाट अर्कोले छोपिहाल्यो । उसको भाग्ने प्रयास गरी नै रह्यो । एकछिन घम्साघम्सी चल्यो । उमेर पनि ऊ ती केटाहरू भन्दा कान्छो थियो । उसको केही लागेन । एकछिन चार जनाले फुटबल खेलाए । ऊ थिलथिलो पर्यो । चार जनाको अगाडि भाग्न विफल भयो ऊ ।
एउटाले उसलाई मर्न लागेको बिरामीलाई झैँ पाखुरीमा समायो र अगाडि अगाडि हिंड्यो । अरू तीन जना पछि पछि आए । उसलाई बुढीको पसलमा पुर्याए ।
उमेर बाह्र वर्ष जतिको हुँदो हो । कपाल भालुको टाउको झैँ थियो । एउटा टाँकले मात्र सटको दुई वटा पल्लालाई अडाएको थियो । घाँटी र शरीरभरि सात ताल मयल थियो । च्यातिएको पाइन्टलाई डोरीले कम्मरमा बाँधेर पेटीको काम गरेको थियो । शरीरबाट चुरोट सुर्ती र मयलको अमिलो गन्ध आउँथ्यो ।
एकछिनमा मान्छेको भीड लाग्यो । हाम्रा देशका ठूला नेताहरूलाई घेरे झैँ चारैतिरबाट मान्छेहरूले घेरे उसलाई । मान्छेहरूको भिडमा हरायो । मान्छेहरूको बिचमा एक आपसमा के चोर्यो ? कति चोर्यो ? कसको छोरो हो ? कहाँ पढ्छ ? भन्ने विषयमा खुब हल्लीखल्ली मच्चियो ।
दुई जनाले उसलाई खुब पिटिरहेका थिए । सबैले रमिते बनेर हेरिरहेका थिए । एउटा झोसिएर उत्तेजित हुँदै बन्यो, ‘नछोड सालेलाई । मारेर फाल्दे । अझ ठोक । नछोड ।’
त्यहाँ उभिएको अर्कोले झन् ठूलो स्वरमा मान्छेको हुललाई पछाडि हटाउँदै बोल्यो, ‘नहान तेरो बाउलाई । मर्छ अनि जान्छस् मामा घरमा ।’
‘के के चोरेको रहेछ ? यसको आग तलासी गरौं ।’ हुलमा रहेको मोटो र अग्लो अर्को मानिसले बोल्यो । सबैले हो मा हो थपे । उसले दुवै गोजीमा भएको सामानलाई बेसरी पकडिरहेको थियो । मानौं कि उसको गोजीमा करोडौं रुपैयाँ छ । कसैले उसको गोजीमा छुँदा मात्र पनि जोडले अरूको हात झट्कारेर फालिदिन्थ्यो । त्यहाँ आएका सबैले लागेको थियो । उसले चोरेको पैसाले गोजी भराएको छ ।
त्यसै हुलबाट एउटाले भन्यो, ‘यो चोर मात्र नभएर महाचोर हो । सायद अस्ति रामलालको दराज फोडेर गहना चोर्ने पनि यही होला ।’
हुलको पछाडिबाट अर्कोले भन्यो, ‘के ल्वाते हौ यार तिम्रु पनि । सबै मिलेर एउटा खाते केटोको शरीर तलास गर्न सक्दैन ? सबै पकडेर गर न ।’
त्यसपछि सबै उसको गोजी चेक गर्न लागे । दुई जना बलिया मान्छेले उसको दुईवटा हात बेसरी समाए । ऊ हलचल गर्न नसक्ने भयो । अरू दुई जनाले पुलिसले निर्धो यात्रुलाई झैँ एकएक गरेर शरीर चेक गर्ने थाले । उसको केही सिप लागेन । एउटाले पेन्टको बायाँ गोजीका हात हाल्यो । अर्कोले दायाँ गोजीमा हात हाल्यो । दायाँ गोजीबाट पुरानो आधा काटी भएको सलाई निकाल्यो र गोजी उल्टो पारेर देखाइदियो । बायाँ अर्को गोजीबाट एक प्याकेट चुरोटको डिब्बा र एउटा प्लास्टिकको पोको निकाल्यो र सबैको अगाडि राखिदियो ।
एउटाले भीडबाट फेरि बोल्यो, ‘यो हेर्दा मात्र सानो हो । यो चोरको पनि चोर हो । यति सानैमा यति नराम्रो कुलतमा लागिसकेको रहेछ ।’
अर्कोले आदेश दिँदै बोल्यो, ‘अझै राम्रोसँग चेक गर्न केही भेटिन्छ कि ?’
सबैले फेरि हो मा हो थपे । चेक गर्ने मान्छेले द्वन्द्व कालमा पुलिसले सर्वसाधारणलाई चेक गरेझैँ गर्न थाल्यो । उसले शरीरको कट्टु बाहेक सबै कपडा खोले । तर केही भेटिएन । उसले धरधरी रुँदै खोलेका सबै कपडा लगायो ।
सबका आँखा अब त्यस पोको माथि परे । सबैको खुल्दुली छ पोको माथि । बाहिरबाट कालो पलास्टिकले राम्रोसँग बाँधिएको छ । भित्रबाट पत्रिकाले मोडिएको छ । त्यसभित्र पुरानो कापीको पानाले बेरेको छ ।
एउटाले पोको खोल्दै छ । सबैलाई हतार छ पोकोभित्रको चिज हेर्न । पोका माथि सबैका फरक फरक दृष्टिकोण छन् । कोही ठूलो धनराशिको अनुमान गरेका छन् । कोही बहुमूल्य चिजको अनुमान गरेका छन् । सबैको उत्सुकता छ पोको माथि । आरामसँग मान्छेले पोको खोल्यो । पोकोभित्रका चीज देखेर सबै छक्क पर्छन् ।
त्यस पोकोमा पैसाको नाममा न त एक रुपैयाँ छ । न थियो कुनै बहुमूल्य चिज छ । छ त केवल तीन मुठी जति गाँजाको धुलो छ । केही थान चुरोटका ठुटा छन् । एउटा सलाईको बट्टा छ ।
चोरेको चुरोटको प्याकेट बुढीलाई एउटा मान्छेले फिर्ता दियो । बुढी किराले खाएका थोते दाँत देखाए ङिच्च हाँसिन् ।
त्यसै हुलबाट कसैले बोल्यो, ‘यसलाई लागुऔषध कारोबारको अभियोगमा पुलिसलाई जिम्मा लगाउनुपर्छ ।’
उसको कुरा नसकिँदै अर्को बोल्छ, ‘चोरीको अभियोगमा पुलिसलाई जिम्मा लगाए भै गो नि ।’ सयौँ मान्छेका त्यहाँ सयौँ कुरा आउँछन् । अन्त्यमा चोरीको अभियोगमा पुलिसमा बुझाइदिने सहमति भयो ।
पुलिसमा पुर्याउने कुराले केटो विगतमा पुलिसले आफूमाथि दिएको यातना सम्झिन्छ । ऊ दूध खान नपाएको बालक झैँ ह्वाँ ह्वाँ गर्दै रुन्छ । उसको आँखाको आँसुले केहीको मन पग्लिन्छ ।
त्यत्तिकैमा मान्छेहरूको हुलको बीचबाट ठूलो शरीर भएको मान्छे ठूलो स्वरमा बोल्छ, ‘के जाबो कुरा गर्नुहुन्छ तपाईंहरूले पनि । यसले कसको सम्पत्ति लुटेको छ र ? जाबो एउटा सलाई र चुरोटको बट्टा चोर्नेलाई पुलिसको जिम्मा लगाउने ? यो देशमा को माइकालालले चोरको छैन ? को छैन यहाँ चोर ? नेता चोर । कर्मचारी चोर । व्यापारी चोर । डाक्टर चोर । पुलिस चोर । प्रशासन चोर । शिक्षक चोर । इन्जिनियर चोर । कसको बाउको तागत छ । ती कारबाही गर्ने ?’
उसको अगाडि कोही बोल्दैन । सबै मौन छन् । उसले मान्छेको भीडबाट निकाल्दै फेरि बोल्छ, ‘जा फुच्चे अबदेखि यो चुरोट सुरोट चोर्ने काम बन्द गर । ठूलो चोर्नेलाई कसले देख्दैन यहाँ । सानो चिजलाई चोरेको सबैले देख्छ । हेर भाइ । सक्छस् र आँट आउँछ भने ठूलै चिज चोर । सक्दैन भने यो सानोतिनो चोर्ने छोड । परिश्रम गर । परिश्रम माथि विश्वास राख । एकदिन पसिनाको अवश्य मूल्य पाउनेछस् ।’
उसको अगाडि बोल्ने साहस कसैले गरेन । सबै रमितेहरू १२:०० देखि ३:०० को सिनेमा सो हेरेर हलबाट निस्किए झैँ हुलबाट आ–आफ्नो बाटो लागे । केटोलाई बचाएको मान्छेले ठूला आँखा गराएर चारैतिर हेर्छ ।
मलाई देखेर परैबाट नमस्कार गर्छ । म नमस्कार फर्काउँछु । ऊ मेरो नजिक आउँछ । हात मिलाउँछ । मेरो अनुहारमा हेर्दै मुसुक्क हाँस्छ । मैले पनि उसको हाँसोको जबाफ हाँसोले दिन्छु ।
उसले मेरो अनुहारमा हेरेर गम्भीर हुँदै बोल्छ, ‘सर, तपाईंले लेख्ने कथाको एउटा पात्रलाई मैले यो हुलबाट बल्लबल्ल बचाए । उसलाई यहाँ छोड्यो भने मार्न पनि सक्छन् । बजार जान लाग्नु भएको रहेछ । यसलाई सहिद गेटको नजिक कतै छाडिदिनुहोला ।’
मैले सहमति जनाउँछु । उसले केटालाई मेरो बाइकको पछि बसालिदिन्छ । म उसलाई लिएर बजारतिर जाँदै छु । मनमा मेरा उसप्रति नाना प्रकारका कुराहरू खेलिरहेका छन् ।
मैलै आजसम्म धेरै नेता, कलाकार, कवि, व्यापारी, विद्यालयका स्टाफ र आफ्नालाई बाइकमा बोके । मलाई कहिले पनि आजको झैँ नौलो अनुभूति र खुल्दुली भएन । खै किन हो कुन्नि ? समाजले चोर बनाएको केटोलाई बोक्दा एक प्रकारको नौलो आनन्द आइरहेको छ । ऊ सहिद गेटसम्म पनि पुगेन । ट्राफिक चोकमै झर्छु भन्छ । म बाइक रोक्छु । ऊ बाइकबाट झर्छ । ऊ केही नबोली सरासर निमारोडतिर लाग्छ । झगडा गरेर हिंडेकी प्रेमिकालाई प्रेमीले हेरेझैँ देखिंदासम्म बाइक रोकेर उसमाथि अनेकौं प्रश्नहरू बिच्छाएर हेरिरहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।