लोक सेवामा नाम निस्किएन । बडो निराश भएँ । मनमा अनेक प्रश्नै प्रश्न तेर्सिए । के गर्ने ? कहाँ जाने ? कलेजको समाप्ति पश्चात् त समय बिताउन पनि समस्या हुने ! नियमित कार्य केही नहुने । रोजगारी कसरी प्राप्त गर्ने ? बिना पैसा जीवन यापन कसरी हुने ? सम्झिँदा पनि कहाली लाग्थ्यो ।

खेतबारी पनि खासै थिएन मेरो बाबुको । भए पनि को त्यो हलो जोतेर बस्छ र आजको जमानामा । फेरि म त एउटा स्नातकोत्तर गरिसकेको । आफू सुहाउँदो अन्य काम कहीँ कतै छैन । जहाँ गए पनि पाइने निराशा र उपहास मात्र । कहिलेकाहीं सोंच्थें ‘आज त बाबुको कमाइ छ भोलि त्यही बाबुलाई मैले नै पाल्नुपर्छ । अझ स्वास्नी र छोराछोरी समेतको जिम्मेदारी । के गर्ने भन्दै मनमनै अत्तालिने गर्थें ।

एक दिन मेरो साथी सुमन आयो । ऊ महत्त्वाकाङ्क्षा नै नभएको मान्छे । यसो लठ्याङलुठुङ गर्यो राहत कोटामा शिक्षकको नोकरी पायो । त्यसैमा सन्तुष्ट भयो । म र मेरा सबै साथीले उसलाई मास्टर साहेब भनेर गिज्याउन लाग्यौं । विडम्बना ऊ दुखी पनि हुँदैन थियो । बरु हाँसिरहन्थ्यो । मैले उसलाई बस्न भनेँ ।

केही बेर कुराकानी भएपछि उसले मलाई सान्त्वना दिंदै भन्यो, “दुख नमान साथी बरु शिक्षक सेवा आयोग खुलेको छ त्यसैमा फारम भर्नू । मैले पनि भरेको छु । मैले त प्रा वि, नि मा वि र मा वी गरेर तिन वटै तहमा भरें ।”

उसका कुरा सुनेर म हाँसें अनि मनमनै भनें, ‘कत्ति न ठुलो सल्लाह दिए जस्तो । जाबो मास्टरको नोकरी खा भन्छ । अझ तिन वटै तहमा फारम भर्ने रे । मोराको औकात हेर न । आफूले त भरे पनि सोझै माध्यमिक तहको भरिन्छ ।’ मुखले केही भन्न पनि सकिन भर्खरै लोक सेवा आयोगको लागि निकै ठुलो तयारी गरेको थिएँ । शिक्षा सेवामा त कसो ननिस्किएला भनेर शिक्षा सेवा आयोगको फारम भरें । परीक्षामा सहभागी भएँ तर मेरो भाग्यमा नोकरी लेखेको नै थिएन शायद । यो परीक्षामा त लोक सेवाको परीक्षाको भन्दा पनि कठिन प्रश्न आएको ।

नतिजा प्रकाशनपछि म सधैँ झैँ शिर नुहाएर घर पसें । सबै दिक्क थिए । म त झन् दिक्क थिएँ । कसैको पनि मुख हेर्ने साहस गर्न सकिनँ । सरासर कोठाभित्र छिरें । साँझ पख भात खाने बेलामा भान्सामा सबैजना बस्यौं । खै किन मलाई आज यो भात पनि गह्रुँगो भैरहेको थियो । ‘कति दिन मैले बाबुको कमाइमा पेट भर्ने अझ स्वास्नी समेतको’ भन्ने सोचले नै म आधा मरेको थिएँ । मेरा बुबा भर्खरी सेवा निवृत्त हुनुभएको थियो । उहाँले मलाई गम्भीर सहानुभूति दिंदै भन्नु भयो, “किन चिन्ता गर्छस्, बाबु ? अझै त तेरो बाबु जिउँदै छ ।”

मेरा बाबुका यी वाक्यले मलाई झन् कमजोर तुल्यायो । भात खान छोडेर बाल्यकालमा जस्तो म रुन लागें । आमाले मेरो टाउको सुमसुम्याउँदै बस्नुभयो अनि स्वयम् पनि रुन लाग्नुभयो र भन्नु भयो, “मर्दले गरेर देखाउँछ छोरा, हारेर बस्दैन । रुन त हुँदै हुन्न । दिन आउँछ । सबै कुरा भन्ने बित्तिकै कहाँ पाइन्छ र ? तँ पच्चिस वर्षको हुन पनि त पच्चिस वर्ष कुर्नुपर्यो ।”

सबैको सहानुभूतिले केही हलुका भयो । सोंचे ‘कम से कम मेरा आमाबाबुले त मलाई सहानुभूति दिए नत्र त सबैले मलाइ होच्याउने र बेइज्जती गर्ने ठेका लिएका छन् । विदेश नजाने निर्णय के गरें मेरो लागि त अभिशाप नै भयो । हामी आजकालका युवालाई न विदेशमा सुख न स्वदेशमा चैन ।’

बाबुले निकै भावुक हुँदै भन्नु भयो, “चिन्ता नगर छोरा । मेरो संचयकोषको केही पैसा आएको छ त्यसैले एउटा साइकलको पसल खोल न त ।”

उहाँको वाक्य मेरो कानमा पग्लिएको सिसा भयो । मेरो आत्मसम्मानमा निकै ठुलो चोट पुग्यो । ‘हुँदा हुँदा मलाई साइकल पसले बनाउने रे ? के साइकलवाला बन्नलाई यति दुख गरेर मैले एम बि ए गरें त ? जागिर पाइन भनेर कति सम्म हेपेका त हँ, आफ्नै बाबुले समेत ?’

मलाई झनक्क रिस उठ्यो । रिसले पागल जस्तो भएं । भर्खरै यतिका सहानुभूति दिएका बाबुलाई केही भन्न पनि भएन । रिसले रन्थनिंदै कोठामा गएँ । पत्नी थिइन् त्यहाँ बचेको मलाई घोचोपेचो सुनाउन तम्तयार भएकी ।

केही थाहा नपाए जस्तो गरेर सोधी, “के भयो, डियर ?”

मनमा लागेको पिडा पोखम् भने आफ्नो घरको बेइज्जती हुने । भोलिबाट झोँक चल्यो भने यसैले आफूलाई घोचोपेचो गर्ने हो । अहिले बडा डियर । अझ त्यो भन्दा बढी त यसलाई र आमालाई मिलाएर राख्ने कति कठिन छ । परिवार र स्वास्नीको बिचमा कति सन्तुलन कायम गर्न मलाइ केके गर्नुपर्छ । खोलाम्ला यसको अघि आफू बेइज्जत भएको कुरा ।’ मन मनै सोचें । केही बोलिनँ । रन्थनिंदै बाहिर निस्कें ।

केही पर के गएको थिएँ मेरी बहिनी त्यही बेलामा माइत बस्न आउन लागेकी रहिछ । मलाई देखेर निकै खुसी भै । मलाई केही हल्का महसुस भयो । तर छिटै त्यसले मेरो भाव अनुमान लगाई र सोधी, “के भयो दाइ तँलाई ?” उसले यति भन्नु के थियो मेरो धैर्यले बाँध तोड्यो ।

मैले भनें, “हेर न नानी, त्यो हाम्रा लडियाका जमानाका बाबुलाई कति सल्लाह दिनु परेको । उहाँको जमानाको कुरा हाम्रो इन्टरनेटको जमाना काम लाग्छ र भन्या ? जमाना कहाँदेखि कहाँ पुगिसक्यो । बुबा उही आफ्नै जमानामा बाँचिरहनु भएको छ । म विदेश नगएको परिणाम हो यो सब मलाई यसरी हेपेको ।… ”

उसले प्रश्न दोहोर्‍याई, “के भयो र ? पहिले कुरा त बुझा, दाइ ।”

आफूलाई सम्हाल्दै भनें, “हेर नानी, म वाणिज्यमा स्नातकोत्तर गरेको मान्छेलाई नाथे साइकलको पसल खोल्ने सल्लाह दिने ? हाम्रो जमानामा के आवश्यकता छ भन्ने कुरा बुबालाई के थाहा ? होइन यी म्याद नाघेका औषधिहरूसित कसले सल्लाह मागेको छ, हँ ? जतिखेर पनि निःशुल्क सल्लाह बाँडिरहने ? निःशुल्क सल्लाह बाँड्ने एजेन्सी खोलेर बसेका छन् । म पनि अब पच्चीस वर्षको भैसकें । उहाँको लागि त म सधैँ बुद्धि नभएको प्राणी । दुनियाँ देखेकै छैन, मलाई केही थाहा छैन जस्तो गर्नुहुन्छ । साइकलको दुकान खोल्ने भनेको सुन्ने र थाहा पाउनेले पनि के भन्लान् ? मास्टर बुढाको बुद्धि पनि त हुनुपर्यो । यो भन्दा बढी थाहा भए पो हुन्छ । होस पसेदेखि त्यो स्कुल भन्दा अर्को ठाउँ देख्या छैन । पहिले पढे अनि त्यहीं पढाए । यस्तालाई पितृ देवो भव रे ।”

मेरो रिसले सीमा नाघेको देखेर बहिनी केही चुप लागी । र पछि भनी, “चिन्ता नगर दाइ । के गर्ने जे भए पनि हामीलाई जन्मदिने बाबु आमा हुन् । न साट्न हुन्छ न फेर्न हुन्छ । म मौका हेरेर सम्झाउँला ।”

ऊ घरतिर बढी । मन केही हल्का भयो । बाबुलाई अलि बढी भनेकोमा केही पश्चात्ताप पनि भयो । आफूलाई भुलाउन बजारतिर हिंडे ।

साँझ पख घर फर्कें । बहिनी आएकी भएर यसो सबैको नजिक के बसेको थिएँ फेरि बुढाले त्यही कुरा भन्छन् । म रिसले पागल हुने जस्तो भएँ र कोठामा गएँ । हाम्रो कुरा सुनिरहेकी मेरी प्राणप्यारी हाँसिरहेकी थिई । मौका यही थियो ऊ पनि किन कम हुन्थी ? भनिहाली, “मलाई खुब सहन भन्छौ नि देख्यौ तिम्रा आफ्ना ? मैले कसरी सहेकी हुँला ?”

सबै रिस ऊ माथि पोख्दै भनें, “हाँस न हाँस । मौका पाएकी छस् मेरो बाध्यताको फाइदा उठाउने ।” उता फर्किएर सुतें । मेरी पत्नी एकै छिनमा घुर्न लागी । मलाइ भने निद्रा लागेन । ऊ सुतेको देखेर मलाइ झन् रिस उठ्यो । कति सुत्न सक्या ? चिन्ता भए पो । यी आइमाईहरूलाई क्या मजा छ । कमाउन पनि आवश्यक नहुने । हामी केटाहरूले नै पाल्नुपर्ने । उनीहरूले जे जे भन्छन् सब पुर्‍याइदिनु पर्ने । दुई छाक भात र राती एक छिनको लागि हामी केटाहरूले के के गर्नुपर्ने, के के सहनुपर्ने । एक जना लोग्नेमान्छेले कमाउने, घरमा पाँच जनाले बसेर खाने । केटा हुनु पनि अभिशाप हो ।’

अर्को दिन आफ्नो समयमा उठें । बहिनीले बुबालाई सम्झाएकी होली । अब त त्यस्तो म्याद नाघ्या कुरा नगर्लान् भनेर ढुक्क परेको थिएँ । दिउँसो त बुबाले आफ्नै सक्रियतामा साइकल पसल खोलिदिनु भयो । मैले टाउको ठोकें, ‘हे, ईश्वर ! म कहाँ मर्न जाऊँ ।’

अर्को दिन साथीहरूले एउटा रेस्टुरेन्टमा चिया पिउने कार्यक्रम राखे । म पनि बोलाइएँ । चिया पिउँदै थिएँ कि एउटाले भन्यो, “आजकाल के गर्दै छस् सतीश ?”

भनें, “एउटा साइकलको पसल खोलें साथी ।”

सबै गलल हाँसे ।

एउटाले भनी त हाल्यो, “बडो राम्रो व्यापार गर्न लागेछस्, भाइ । बधाई छ ।” फेरि सबै हाँसे ।

म लाजले रातोपिरो भएँ । ती मध्येमा एकजना साथी मन्त्रीको छोरो थियो । सबैजना हाँसेको देखेर उसलाई नमज्जा लागेछ ।

उसले भन्यो, “चिन्ता नगर् साथी, मैले पाँच वटा साइकल किनिदिन्छु ।”

आश्चर्य मान्दै सोधें, “के गर्छस् त्यतिका साइकलको, तँ बि एम डब्ल्यु कार चढ्नेले ?”

उसले भन्यो, “घरमा काम गर्नेहरूलाई बाँडिदिन्छु । त्यति भए तँलाई सहयोग होला ।”

बल्ल मलाई केही आश पल्हायो । खुसी पनि भएँ । अर्कोले एउटा किन्ने कुरा गर्यो । हामी सबै उसको बि एम डब्ल्यु कारमा चढेर मेरो घर अगाडी खोलेको साइकल पसलमा गयौं ।

६ वटा साइकल एकै पटक बिक्री भयो । झन्डै बाह्र हजार नाफा भयो । ‘हँ ?’ म त एक छिन आत्तिएँ पनि । व्यापारमा त यस्तो पो हुँदो रहेछ । फेरि कता कता डर जस्तो पनि लाग्यो । कहीँ मैले यतिका नाफा लिएँ भन्ने थाहा पाएर मसित रिसाउने त होइनन् ? मलाई ठग भने भने मेरो त विश्वास नै गुम्छ । तर अर्को उपाय पनि थिएन । कहिले पनि यतिका रकम एकाएक हातमा नआएको मान्छेलाई एकै पटक पैसा देख्दा चाहिनेभन्दा रमाएँ पनि । मलाई लाग्यो ठीकै छ राम्रो काम नपाउन्जेल यही थन्किनु पर्यो । समय बिताउन सजिलो हुन्छ । बाबुको संचयकोषको पैसा मर्न दिन भएन ।

सोच्न लागें ‘कसरी बेच्ने यो आउट डेटेड सवारी साधन साइकल, मोटरसाइकल र कारको जमानामा ? तर त्यो दिनको नाफाले भने केही उत्साहित बनाएको थियो । कुनै आइडिया आउँछ कि भनेर मान्छेको भीडहरूमा जान लागें । पसल पसलमा गएर केही समय बिताउन लागें तर कुनै उपाय निस्किएन ।

एक दिन चिया पसलमा चिया पिउँदै थियौं । एउटाले समाचार सुन्दै थियो । समाचार थियो – एउटा पालिकाले विद्यालयका विद्यार्थीहरूलाई साइकल बाँडेको । मलाई केही हौसला भयो । साथीलाई भनेर सहयोग माग्ने विचार गरेँ । चिया सकिने बित्तिकै त्यहीबाट साथीको घर गएँ र आफ्ना कुरा राखें । साथीले आफ्नो मन्त्री बाबुसित भेट गराइदियो र ‘बुढाले हुन्छ भने त आफ्नो काम भै गो नि’ भन्ने सोच्दै मात्र थिएँ । उनले बोलीमा चिनी घोलेर भने, “बाबु , आजकाल बजेट नै छैन । भएपछि हेरौंला । तिमी त मेरो छोराको साथी मेरै छोरा हौ नि ।” नेताको गुलियो कुराले वाक्य भएर फर्किएँ ।

राती खै के भयो आमा एकाएक बेहोस हुनुभयो । हामी सबै रुँदै उहाँलाई अस्पताल लिएर गयौं । सबै परीक्षण गरेपछि थाहा भयो – उहाँलाई त उच्च रक्तचाप भएको रहेछ । डाक्टरहरू सबै आत्तिए । नाकबाट रगत बग्यो । हामी झन् डरायौं । डाक्टरले भने, “अब न डराउनुस् । उहाँ सुरक्षित हुनुहुन्छ । के भन्ने ? मान्छेहरू शारीरिक व्यायाम गर्न मन गर्दैनन् । सबै सुविधा मात्र चाहन्छन् परिणाम स्वरूप यस्ता रोग लाग्छ ।”

डाक्टरको कुराले मलाई झस्कायो । लाग्यो उनले सफलताको साँचो दिए । आमाको पिडा समेत बिर्सिएँ । अर्को दिनबाट मैले आफ्नो ब्लग बनाएँ र शारीरिक आरामले हुने गरेका रोगहरूबारे गुगलमा पढेर ब्लगमा लेख्न सुरु गरें । साथै त्यसको उपाय पनि लेखें – दिनको एक घण्टा साइकल चलाएर आफूलाई स्वस्थ बनाउनुहोस् । यसको बडो राम्रो परिणाम आयो । सम्पन्न परिवारका महिला पुरुषहरू साइकल किन्न आउन लागे । मेरो व्यापार बढ्न लाग्यो । तर केही दिनपछि कसैले साइकल चलाएन । बरु सबैले थन्क्याएका । दिक्क लाग्यो – यो आधुनिक जमानामा बाबुको बुढो बिचारले काम गरिहाल्यो नि ।

‘यसरी व्यापार गरेर त केही दिन मात्र हुन्छ । यसलाई दीर्घकालीन कसरी बनाउने ?’ केही गर्दा पनि कुनै उपाय निस्किएन । राति मलाई चिन्तित देखेर आत्तिँदै मेरी पत्नीले सोधी, “किन छटपटाई रहनुभएको छ ? बिसन्चो त भएन ?” “केही होइन” भनी टारेँ । उसले मेरो मनको भाव बुझी । मान्दै नमानेर सोधिरही । हार भएर मैले उसलाई आफ्ना सबै चिन्ता भनें । उसले बडो सजिलोसित भनी, “ह्या । के यति सानो कुरामा चिन्ता लिनुभएको ? एउटा क्लब जस्तो खोल्नुस् अनि सबैजनालाई साइकल चलाउन लगाउनुस् । त्यति भए उनीहरूले चलाउँछन् । अनि हेर्नुस् न के हुन्छ ?” उसको कुराले मलाइ बाटो दियो ।

त्यसपछि डाक्टर साथीहरूलाई साइकल क्लबको अवधारणाबारे कुरा गरें । सबै जना खुसी भए । अर्को दिनबाटै काम सुरु गर्यौं । बिहान छ बजे नै झन्डै बिस जना जति जमा भयौं  र साइकल चलाउन लाग्यौं । करिब एक घण्टा चलायौं । सबैजना निकै प्रसन्न थियौं । साइक्लिङबाट हुने फाइदाकबारे सबैले आआफ्ना ज्ञान बाँड्दै गए । मलाई चाहिएको पनि त्यही थियो । भोलि पल्ट उठें तर यो के ? खुट्टा त टेक्न मान्दैन ।

श्रीमती मरी मरी हाँसी र भनी, “एक-दुई दिन यसै हुन्छ पछि बानी पर्छ । छोडेपछि फेरी यो काम गर्न सकिँदैन नि ।” उसको कुराले मलाई निकै भरोसा दियो । सकी नसकी बिछौनाबाट उठें । बाथरुम गएँ । चर्पीमा बस्न खोजें तर हे ईश्वर ! मैले मेरो बाबुको बिहे देखें । बडो मुस्किलले भित्ता समाई समाई बसें । अब उठ्ने कसरी त्यो छुट्टै चिन्ता । चार हात खुट्टाले टेकौं हातमा फोहर लाग्ने नटेकौं उठ्ने नसकिने । बडो मुस्किलले भित्ता समातेर उठें जस्तो कि जीवनमा पहिलो पटक उठ्न सिक्दै थिएँ । अलि अलि गर्दै भित्र बाहिर गरें । हल्का हिंडे जस्तो गरें अनि बिस्तारै सहज भयो । साइकल डोर्‍याउँदै बाटोसम्म बडो मुस्किलले निस्किएँ । साढे छ बजिसकेको थियो । चोकमा बल्ल बल्ल पुगें । त्यहाँ कोही थिएन ।

‘मलाई फोनै नगरी हिँडिसकेछन् । उनीहरू सबै डाक्टर र ठुला सम्पन्न व्यक्ति छन् । उनीहरूका खाना पनि त्यति कै स्वास्थ्यकर छन् आफ्नो जस्तो झोल र भातले पेट भर्ने त होइनन् । दिक्क लाग्यो । गरीब हुनु पनि केही रहेनछ । यसैले सबै कुरा निर्धारण गर्ने रहेछ ।’

अरू कोही आउलान् भन्ने सोचेर कुरेँ । सात बज्यो । एक पटक फोन गर्न मन लाग्यो कि उनीहरू कहाँसम्म पुगे भनेर । फोन गरें उठेन । पालैपालो सबैलाई फोन गरें । कसैको उठेन । ‘एक पटक फोन उठाए पनि त के जान्थ्यो । मान्छेहरू पैसाको नशामा कति घमण्ड गर्छन् । अलिकति कम पैसा भएको मान्छेलाई मान्छे नै गन्दैनन् । अहिले आफ्नो काम परेको भए बोली मिठो पारीपारी कुरा गर्ने थिए ।’

टोलाएँ – यो रकेटको जमानामा बाबुको बुढो विचारको के काम ? शारीरिक व्यायाम कै लागि अनेक उपाय छन् । मान्छेहरू जिम जान्छन्, योगा, एरोबिक अनि जुम्बा गर्छन् । कि यो सय वर्ष पुरानो साइकल चलाउँछन् ? सबै त आफ्नो स्वास्थाप्रति सचेत छन् नि । आजकाल कसलाई सिकाउनु पर्छ ।’

मलाई झन् झन् आफैसित चिढ हुन लाग्यो अनि आफ्नो सय वर्षे बुढो बाबुसित । साढे सात पनि बज्यो । मान्छे त के माखो पनि आएन । होस् घर फर्किन्छु भनेर ठिक्क मोडिन के लागेको थिएँ कि एकजना साइकल डोर्‍याउँदै आउन लागेको देखें । मधुमेहले गाजेको डाक्टर थिए । आउने बित्तिकै भने, “सतीशजी, म त थाकेर लखतरान भएँ । उठ्ने सकिन । साथीहरूले के भन्लान् भनेर बल्ल बल्ल जबर्जस्ति यहाँसम्म आएँ ।”

उनको हालत मेरो भन्दा पनि बिग्रिएको थियो । सोधें, “अरू साथी खै त, डाक्टर साहेब ?”

“सबै थाकिएका त होलान् नि” उनको जवाफ थियो ।

दुवै जना सकी नसकी हाँस्यौं । त्यसपछि एक एक गरेर आठ दशजना भेला भयौं अलि अलि साइकल चलाए जस्तो गरेर फर्कियौं । अर्को दिन बिहानैबाट सबैलाई फोन गरेर उठाएँ । लाज पचाएर पटक पटक फोन गरें । दिक्क पर्दै सबै आए । तेस्रो दिन केही सजिलो भयो । चौथो दिनबाट त हामी हिरो भै हाल्यौं । त्यसपछि हाम्रो क्लब निकै व्यवस्थित भएर चल्न लाग्यो । एक महिनापछि हामी सबैले आआफ्नो शरीरको तौल नाप्यौं । सबैको दुई किलो घटेको थियो । त्यसपछि हामीले आहार बिहार बारे पनि चर्चा गर्यौं । चिकित्सकहरूको सल्लाह अनुसार खानामा पनि नियन्त्रण गर्यौं । दुई महिनापछि धेरैको इन्सुलिन घटेको थियो । पेट घटेको थियो । शरीरमा स्फूर्ति बढेको थियो ।

एकदिन साथीहरूले भने, “सतीशजी, अब यो साइकलले भएन अलि मोटो पाङ्ग्राको अलि धरै बल लगाउने खालको साइकल मगाउनुस् ता कि धेरै क्यालोरी घटाउन सकौं ।”

मेरो दिमागमा एउटा अर्को विचार आयो । साइकलका सामान मगाएँ । एउटा मेकानिक्सलाई नियुक्त गरें । उसले ती साइकलका पुर्जाहरू (स्पेयर पार्टहरू) जोडेर साइकल बनायो । यसरी निकै कम लागतमा साइकल तयार भयो । करिब दश हजारमा तयार भएका साइकल पैँतिस हजारमा बिक्री हुन लागे । कारिगढहरूलाई कारखानामा साइकल तयार पार्ने हम्मे हम्मे हुन लाग्यो । क्लबमा सदस्य संख्या पनि निकै बढ्यो । म करोडपति भैसकेको थिएँ । मोटर साइकल मात्र होइन कार पनि किनें । एक दिन साइकल प्रतियोगिता राख्ने सल्लाह गर्यौं । सबैजना रमायौं ।

यसमा आफ्नो केही फाइदा लिने सोचले भनेँ, “साथीहरू ! साइकल चलाएपछि भोक लाग्छ । सबैले आआफ्नो गर्दा अलि बेमोज हुन्छ । बरु सबैले पैसा उठाएर एउटा होटेलमा अर्डर गरौँ पनि वनभोज जस्तो पनि हुन्छ ।” सबैले माने । करिब सय जना थियौं । दुईदुई हजार रुपियाँको दरले उठाएँ । होटेलमा मैले दुई छाकको ६ सयमा कुरा मिलाएँ । दश बाह्र वटा गाडी पनि व्यापारीहरूबाट विज्ञापन बापत व्यवस्था गरें ।

करिब सय जना सहभागी होलान् भन्ने अनुमान थियो । आवेदनको फारम भर्न मेरो पसलको ठेगाना दिएको थिएँ । प्रतियोगितामा भाग लिन एउटा दुइटा गर्दै मान्छेहरू आउँदै गए । छापेका फारम सकिए । फेरि छापेँ, फेरि सकिए । निकै मान्छे आए । मेरो उत्साह झन् बढ्यो । दिउँसो अझै थपिए प्रतियोगीहरू करिब तीन सय पुगे । कार्यक्रम निकै उत्साहजनक भयो । प्रतियोगिता सय किलोमिटर साइकल चलाउने प्रतिस्पर्धीमाझ थियो । स्थानीय सरकाले समेत सहयोग गर्यो । यो कार्यक्रम निकै उत्साहजनक भयो ।

अर्को वर्ष अझै भव्य तरीकाले कार्यक्रममा आयोजना गर्ने सल्लाह भयो । मन्त्रीले अर्को वर्ष साइकल प्रतियोगितालाई लक्षित गरेर बाटो निर्माण गर्ने प्रतिबद्धता गरे । केही होटेल एवं रेस्टुरेन्ट पनि सञ्चालनमा आए । सबैले मसित काम माग्न आउन लागे । अर्को वर्ष पनि आयो । हजारौं सहभागी थिए – बाँके, बर्दिया, दाङ, सुर्खेत, मित्र राष्ट्र भारत एवं मित्र राष्ट्र चीनबाट । प्रतियोगीहरूलाई शुभकामना दिन महत्त्वपूर्ण व्यक्तित्वहरूको पनि समुपस्थिति थियो । पत्रकारहरू पनि आए । सबैले मसित अन्तर्वार्ता लिने तयारी गरे । म माइक लिएर रोष्टममा उभिएँ । उनीहरूले प्रश्न गरे । मैले जवाफ दिएँ ।

अन्त्यमा उनीहरूले सोधे, “आजको यो अति महत्त्वपूर्ण अवसरका प्रमुख अतिथि को हुनुहुन्छ ?”

हाँस्दै प्रतिप्रश्न गरें, “तपाईंहरू अनुमान लगाउनुहोस् ।”

“प्रमुख जिल्ला अधिकारी ?”

टाउको हल्लाएँ ।

फेरि सोधे, “प्रदेशका मुख्य मन्त्री ?”

पुनः टाउको हल्लाएँ ।

केही बेरपछि प्रतियोगिता सुरु हुने बेला भयो । पत्रकारहरूलाई हतारो र चटारो थियो ।

फेरि सोधे, “के कोही विदेशी राजदूत हुनुहुन्छ ?”

केवल मुस्काएँ अनि उहाँहरूलाई देखाएँ – सबैको समुपस्थितिमा जीवनमा पहिलो पटक सुन्दर दौरा सुरुवालमा, बडो प्रसन्नतापूर्वक रिबन काट्दै हुनुहुन्थ्यो – मेरा बुबा ।