यसपालीको अमेरिका बसाइ पनि हतारहतारमा बित्यो । रलित्सालाई प्रत्यक्ष भेट्न सकिएन । उनको अफिस अटलान्टामा पर्छ भन्ने सुनेको थिएँ । आफू अटलान्टामा दुई चार घण्टा मात्र भुल्न भ्याइयो । भान्दाइ वितेर भाउजु, भतिजाहरूलाई समवेदना दिन पसेको । अरू दिन अन्तै बितेका थिए ।

सी. एन. एन्को समाचार वाचिकाको रूपमा पन्ध्र सोह्र वर्षदेखि रलित्सालाई पर्दामा चिन्दै आएको थिएँ । लहड न हो – त्यतिबेरदेखि नै उनीसँग प्रत्यक्ष भेटेर एकछिन कुरा गर्ने मन थियो ।

स्पेनी या इटालियन मूलकी जस्ती लाग्ने रलित्सा यति टाढाको मेरो मनको आकाशभरि किन यस्तरी पालैपालो छताछुल्ल पोखिँदै र भरिँदै आएकी हुन् ? अनुत्तरित प्रश्नले बारम्बार हैरान बनाएको छ । दिनदिनैजसो किन सम्झना भैरहन्छ उनको ? मनमा हुँडलो चल्छ जतिबेर पनि । के साँच्चै आशक्ति अकारण हुन्छ, महाकवि भवभूतिले भनेजस्तै ? चिन्तन बढेको छ अविदितका रहस्यहरूप्रति !

तीन चार वर्षअघि युरोप भ्रमण गर्दा रोम हवाई अड्डामा उनलाई झलक्क देखेझैँ लागेथ्यो । नितान्त नौलो शहरको पहिलो यत्रा – त्यही पनि एक्लै थिएँ । पश्चिमी सभ्यता र सम्पदाको प्राचीन केन्द्र मानिने रोम शहर जति रमाइलो र उत्सुकताको विषय थियो त्यति नै मेरा लागि अन्योलपूर्ण र पट्यारलाग्दो पनि भयो । कतै हराइन्छ कि, कतै केही नीतिनियम बिराइन्छ कि, कतै केही घटना, दुर्घटना पो भइहाल्छ कि ! नानाथरी तर्कहरू चल्दै थिए । भय, असुरक्षा, अन्योल र एकाकीपनले औताएको बेला उनलाई देखेझैं लाग्छ । हुन् होइनन् खुट्याउन नसकेर त्यति बेर हेऱ्याहेरेइ भएछु । म आफैँभित्र हराएको बेला उनी कतै गायव भइसकेकी थिइन् ।

एक किसिमले निरर्थक भन्दा पनि भइदिने मनको त्यो लहड अहिलेसम्म आफ्नो मिसनको असफलतामा लाचार र कुण्ठित बन्दै आएको छ ।

० ० ० ०

यो चाहिँ थियो नयाँ बानेश्वर । पहिले चोकतिर फाट्टफुट्ट निस्किँदा त्यो पसलमा – त्यति कारोबार देखिँदैनथ्यो । दुई चार पत्रपत्रिका किनिन्थ्यो । कहिले नानीका कापी कलम किनेर अखबारका हेड लाइन हेर्दै फर्किने ग8रिन्थ्यो । आज त्यसो मात्र भएन । पहिलेको साहुले पसल बिक्री गरेछन् क्यारे – नयाँ मान्छे देखेर प्रारम्भिक अनुमान भएथ्यो ।

सोकेस-वारिबाट पारिपट्टि भव्य वस्तु देखिन्छ । चौबीस क्यारेट सुनको पहेँलो सुराहीमाथि मोटो सिक्री बेरिएको छ । सिक्रीजस्तै गर्धन, छाती र अनुहार पनि घामले डढेको सन्ध्याकालीन डेड सीमाथिको बादलझैँ धपक्क पहेँलो दन्किएको छ । कि टहटह जूनमा एलो सी टल्किएको हो ?

हैन कहाँबाट आइपुगिछन् रलित्सा यहाँ ? आफैँ प्रश्न गर्दै छक्क पर्छु । त्यही पसलमा बसेर रलित्सा कापी कलम बेच्दै रहिछन् । अनि छिनछिनमा पत्रिका पल्टाउँदै पनि थिइन् ।

मनमा थुप्रै प्रश्नहरू लैबरी खेल्न थाले । उत्सुकता उम्लिएर छताछुल्ल भयो । होइनन् कि त भन्न पनि दुरुस्त अनुहार प्रत्यक्ष देखिरहेछु । के भ्रममा छु म आज ? मतिभ्रम, दृष्टिभ्रम, प्यरानोइया केचाहिँले छोयो त मलाई ? सत्य भ्रम दुवै होइन भने केचाहिँ हो त यो ? मनमनै नानाथरी प्रश्न खेलाएर रनभुल्ल थिएँ म ।

चोकतिर फाट्टफुट्ट निस्किँदा पहिले त्यति याद हुँदैनथ्यो । अहिले अन्तै जान लाग्दा पनि पहिले त्यतै निस्किन मन लाग्छ । केही न केही किन्ने मन हुन्छ । नकिने पनि एकछिन पत्रिका हेरेर छड्के दृष्टिले उताको परिक्रमा गरिन्छ ।

रलित्साको रूप, आकृति, हाउभाउ सधैं नायाँनयाँ लाग्छ । आँखाको चमक, नानीको नृत्य, परेलाको गति र ओठको मुस्कान सँगै भावको मधुरीमा पनि उनको व्यक्तित्वभरि लदाबदी भरिएको छ । फक्लक्क चिरा पारेको माल्दह आँपको चानाजस्तै देख्तै मन रसाउने माधुर्य छताछुल्ल पोखिएको देखिन्छ अनुहारमा । उनको बोली, वाणी र बदनमा रहेको एकाकार लयबद्धताको आकर्षण र तरलता अद्वितीय लाग्छ । शेक्सपियरको पात्र सेवेस्टिएनलाई देख्तै मिराण्डाको मनमा पलाएको अनुरागको सिरसिरे मन्द समीर र अव्यक्त मुस्कान आफैँभित्र रूपान्तरित भएजस्तो लाग्छ । सम्झन्छु महाकवि भवभूतिलाई-

“क्षणेक्षणे यन्नवतामुपैति तदेव रूपं रमणीयताया :”

एक दिन प्रभाती पदयात्राको अवसरमा चौबाटाको मोडैमा भेट हुँदा झस्याङ्ग हुइन्छ । अप्रत्यासित भेटको आश्चर्यमा दुवैले दुवैतिरको अनुहारमा धेरैबेर हेर्ने फुर्सद हुँदैन । अलिक पर पुगेपछि फर्केर नहेर्नु पर्ने तर हेरिएछ ।

पूर्णिमा, जरिना, जुवेदा, दीपशिखा के नाम हुन सक्छ यिनको ? न रलित्सा नै पो हो कि ! नाम जे पनि हुन सक्छ । सबै थोकको संयोजन मिलेको सिङ्गो अनुहार अनि त्यस्तै शरीरको बनावट देख्ता यस्तै तर्कहरूको आवृत्ति चल्छ मनभरि । खुशी नअटाएर मनको बाँध भत्काउँदै वर्खामासको कोशी-कर्नालीमा रूपान्तरित हुनपुग्छ ।

व्यक्तिगत कामकाजले दुई चार दिन पोखरातिर जानुपर्दा नियाँस्रोमै हिँडिएथ्यो । सराङकोटबाट बिहानी कलिलो घाममा अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी, मनासुलुलगायत हिमचुचुरा र पोखरा उपत्यकाको विहङगम दृश्यावलोकन गरियो । झुल्के घाममा कतै चुचुरा टल्किएका, कतै छाया परेका खोच, चौडील्लाहरूमा ओझेल परेका, कतै धुँवा, कतै बाफ र कतै प्रकाशको सरोवर बनेर प्रत्यावर्तित भैरहेका । सप्तरङ्गी पछ्यौरी ओढेर भव्यताको वर्णविन्यासमा भास्वर देखियो हिमाली शृङ्खला । देशीविदेशी थुप्रै पर्यटकहरूको जमघटमा रलित्साकै ध्याउन्न भइरह्यो आफूलाई भने तर एकएक अनुहार केलाउँदै जाँदा पनि कसैगरे उनी त्यो भीडमा भेटिइनन् ।

फेवातालमा नौका विहार गर्दा थरीथरी पर्यटकहरूका अनेकथरी अनुहार देखिए तर त्यहाँ पनि रलित्साको उपस्थिति भेटिएन । डुङ्गा, बोटहरूमा जलविहार गर्ने रङ्गीचङ्गी जमातभित्र उनलाई खोज्दाखोज्दै आँखा टट्टाएथे । मन भरङ्ग भएथ्यो ।

“रलित्सा तिमी के गर्दै छौ यतिबेर ?” मध्यरातमा बिउँझिँदा उनकै झझल्कोले उब्जाएका प्रश्नहरू जागै रहे ।

काठमाडौं फिर्नेबित्तिकै पाइलाहरू त्यतै लम्किएका थिए । चोकमा निस्किंदा शरीरको गति फूलको थुङ्गा हल्का बनेथ्यो । एकै झुल्को मुखामुख भएपछि भेटको सामान्य शिष्टाचार पूरा भएथ्यो । आँखाहरू फर्किएर पत्रिकाको खबर केलाउँदै थिए । एरिच सेगलको लभस्टोरी उपन्यास पढेको थिएँ । यतिबेर पत्रिका पढ्दा पनि चोर आँखाहरू नजानिंदो गरी उतैतिर तन्किँदै थिए ।

“दाइ हिजोअस्ति देखिनु भएन नि ?”

उनले प्रश्न गर्दा मन अलमलिएर यताउति डुल्न थाल्यो । आफैलाई सोधेको पक्कै भएपछि छोटो जवाफ र लामो हेराइमा अलमलिएथ्यो ।

वरिपरि घेरा परेको कालो बादलको बीचबाट शारदी जूनका छिर्काहरू धर्तीतर्फ सोझिएका थिए । त्यो त्यतिबेर बाक्लो कपालमुनि देखिने उनको अनुहारको दृश्य थियो ।

बिहानी पैदल भ्रमणको सिलसिलामा ओल्लो पल्लो दिशाबाट चौबाटोमा आउँदै गर्दा परैदेखि गति सीमित भएथ्यो । रातो कुर्ता सुरुवालमाथि ओढेको हरियो छाताको रङ्गसंयोजन हुँदा वैजनी प्रभा मुखभरि छरिएछ । टाढैदेखि मन्द मुस्कान ओठमा भरिंदै र बाटैभरि छरिंदै गएथ्यो । भनौ नभनौं गर्दागर्दै झिनो बोली झरेथ्यो र दुईथरीबीचमा छोटो प्रश्नोत्तर चलेथ्यो ।

“दाई कताबाट हो ?”

“घुमघाम । यतै बस्नुहुन्छ ?”

“हजूर, यतै बस्छ ।”

“घरै यहीँ पर्यो ?”

“हैन डेरा हो । जाऊँ न चिया खान । मेरो कोठा पनि हेरौँ ।”

आमै नि त ! कति चाँडै यति नजिक भइसकिएछ । चिया खुवाउने भन्दा पनि कोठा देखाउने प्रस्तावले विस्मित बनाउँछ । एकछिनसम्म केही भन्ने सहास पलाउँदैन ।

“भोलि जाउँला ।”

नचाहेको जवाफ फुत्त निस्किएछ । जाने तीव्र इच्छा भएको मन किनकिन यसरी दोमन भइरहेछ ? सानोतिनो निर्णय गर्न पनि त्यत्तिकै हच्किएझैं लाग्छ ।

पाइला यता बढे । उनी उतै छुटिन् । मनभरि उनको कोठाको आकलन आकृतिमा रूपान्तरित हुँदै गयो । पछि लागेर डेरा हेर्न जानुपर्थ्यो । लास्टै ब्लन्डर गरियो ।

भोलिपल्ट जाने अठोट लिएर त्यही चोकमा वरपर गर्दै कुर्दा उनी भेट भइनन् । घर फर्किन मात्रै ढिला भएथ्यो । खल्लो समय बित्यो । अर्को दिन फेरि भेट भयो तर डेरा देखाउने प्रस्ताव गरिनन् । अलि डिप्रेसजस्ती थिइन् । रलित्साको कोठा नहेरी अनुमानकै भरमा देख्ने काम भएथ्यो ।

उनको बसोबास ससाना चार कोठे फ्ल्याटमा सीमित रहेछ । बैठक, भान्सा बेडरुम र बाथरुम । भान्साको एक छेउमा खाने पकाउने भाँडा सानो अल्मारीमा टिलिक्क टल्किएका । बस्ने कोठाको झ्यालबाहिर पेटी, किनार, भित्ता, छेउ सबैतिर विभिन्न खाले वनस्पति र अक्वेरियमले अचम्मसित सजिएका भित्तामा मोनालीसा, गुएर्निकासँगै भानुभक्त, लेखनाथ, पारिजातका तैलचित्रहरू लहरै सजिएका । सिर्जनाको हरितगृह भन्न सुहाउने त्यो कोठामा केहीबेर भुलेर चिया खाएको कल्पना भयो । त्यतै हराएको बेला यादै नभई आफ्नै घरको वरण्डामा पदचाप परेका थिए ।

“नानी तिम्रो ममी खै ?” एकदिन पसलमा बसेकी ब्राह्रतेह्रकी नानीलाई सोधिएथ्यो ।

“ममी होइन । दिदी हो ।” स्मित हास्यसँगै बोली झरेथ्यो ।

“अहिले कहाँ जानु भो त ?”

“बजार जानु भाछ । तीजको किनमेल गर्न ।”

नाटीकुटी उस्तै अनुहारकी नानीसँग संवाद चलेथ्यो ।

त्यस दिन अलि लामै समय पसलअगाडि बसेर पत्रिका पढियो । अर्को दिन फुर्सदको समय पारेर उनैसँग सोधी हेरेको- मेघालयबाट केही वर्षअघि धपाइएको प्रवासी नेपाली पारिवार सुनसरीको भन्टावारीमा खेतीपाती गरेर बस्दो रहेछ । कोहिमाको कन्भेन्ट स्कूलमा बाह्र कक्षा पढ्दै गरेकी ती किशोरीको नेपाल भित्रिएपछि विराटनगरमा बिहे भएछ । श्रीमान् रोजगारीका लागि विदेश गएर बाबुआमाको हेरचाह र छोराछोरीको पठनपाठनको लागि उनी माइतै बसेकी रहेछिन् ।

नेपालमा मधेश आन्दोलन चर्किएपछि भाइबहिनी र आफ्नै नानीको पठनपाठन, हेरचाहका लागि काठमाडौं बसेकी भन्थिन् । त्यही सिलसिलामा खाली समयको उपयोग गर्न सानो पसल पनि चलाएकी रहेछिन् ।

निकै दिनबाट दर्के झरी पऱ्यापर्यै थियो । एक दिन बेलुकीपख हतारहतारमा अर्को मानिसलाई पसलका सामान बुझाउँदै गरेको देखेर झस्याङ्ग भएँ । सोध्नै नपाई उनैले हत्तपत्त भनिथिन्-

“दाइ ! हिजोअस्तीको भीषण वर्षाले सप्तकोशीको बाँध फुटेर मधेशको बस्तीमा पस्यो रे । बाआमा देहातको खेतीमै हुनुहुन्थ्यो । गाउँमा भेल पसेर केके विध्वंस र विनाश भयो – खबर दिने मान्छे नै छैनजस्तो छ । फोन लाग्दैन । गाडी बन्द छ । राजमार्ग खुल्ने अत्तोपत्तो छैन । अविरल मुसलधारे वर्षाले गर्दा टीभी रेडियोले समेत पूरा खबर र विवरण दिन सकेका छैनन् । यसो अन्दाज गर्दा गाउँका गाउँ तबाह बनायो जस्तो छ । बाआमालाई पनि सद्दे भेट्ने हो कि होइन । लौन के गर्ने होला ? टिकट मिलाइदिनुस्न प्लिज । प्लेनबाट जानुपर्यो विराटनगरसम्म । त्यहाँबाट जसरी भए पनि सुन्सरी पुग्नुपर्ला ।” थरथर काम्दै बिन्तीको स्वरमा उनले अनुनय गरिन् ।

आशङ्का, त्रास र दुश्चिन्ताले खँगारिएकी थिइन् उनी । दैवी प्रकोपमा केके उत्पात भयो भन्ने भय र पीडाले अनुहार ओइलाएको थियो । आँखा डमाडम भरिँदै र छचल्किँदै थिए । धेरै कुरा गरेर चिन्ता थप्ने नकाम गरिएन । टिकटको लागि अधिकृत बिक्रेता खोज्दै दिनभर लामो यात्रा तय गरियो । बल्लतल्ल डबल पैसा तिरेर एउटा प्लेनटिकट मिल्यो । उनलाई विराटनगरतर्फ उडाएपछि मन अलि हलौँ भएथ्यो । अनि उनी नहुँदाको नियास्रोमा अबसादका पलहरू थामी नसक्नु गरी गह्रौँ भएथे । आजभोलि पर्सी पनि हुँदै रहे ।

हिसाब गर्दा आज तीन महिना नाघिसकेछ उनी तराई झरेको । यसै अवधिमा उर्लंदै गरेको बर्खेबाढी साम्सुम्म सुक्यो । बर्खे मन्सुन पनि बिदा भयो । दशैं तिहार छठ आए, बिते । तर, उनको भने न त फोन आयो, न त चिठीपत्र नै । उनी गएदेखि नै वाढीसम्बन्धी घटनाहरूको प्रसारणपिच्छे टीभी हेर्न छोडेको छैन । उद्धारमा जाने रेडक्रसका मान्छे, सुरक्षाकर्मी र खबर लिन गएका पत्रकार सञ्चारकर्मीहरूलाई सोधपुछ गर्न बिराएको छैन । कुनै एफएमका खबर छुटाएको छैन । तर हातलागी शून्य भएको छ । स्क्रिनमा कतै उनको अनुहार देखिने आस लाग्छ । तर, उनी गएदेखि कतै कहिल्यै देखिएन । जति नै खबर समाचार सुन्दा हेर्दा पनि केही खबर पाइएन । अत्तोपत्तो भएन ।

आजभोलि विदेश उड्ने रहर पनि त्यतिकै हराउन थालेको छ । यता म सी.एन.एन. हेर्छु त्यहाँ पनि निकै दिनदेखि रलित्सालाई देख्तिनँ । खै कता गइछन् कुन्नि ! जागिर छोडेरै अन्त लागेकी त होइनन् ? कि त्यता पनि समुद्री आँधी र हिमपातले उनको अटलान्टास्थित बसोबासै तबाह बनायो ! कतै जीउज्यान नै तलमथि त भएन ? तर्कवितर्क चलिरहन्छ मनभरि । उदासीले घेरिरहन्छ वरिपरि ।

(नरेन्द्रराजको कथास‌ंग्रह ‘रोबोटको आँखा’बाट)