ठुलो वन आज शान्त छ । वन क्षेत्रलाई पूर्वबाट र उत्तरबाट सिञ्चित गरिरहेको साना खोला शान्त छ । वन क्षेत्रमा कुनै चरा कराएका छैनन् । लुइँचे, खरमजुर, तिलहरी, जुरे हुटिट्याउँ, तामे ढुकुर, कण्ठे ढुकुर, गुलाफी टाउके सुगा, जुरे कोइली, घाँसे लाटोकोसेरो, चाँदीढाडे गौँथली; कसैको पनि कुनै चिरबिर सुनिएको छैन । रातो बाँदर, पहरे बाँदरहरू समेत कुनै स्वर गरिरहेका छैनन् । भैँसे गोहोरो छेपारो, कालो धसुर सर्प, अण्डाखाने सर्पहरू समेत भुइँमा घिस्रिंदा आवाज आउँछ कि भनेर भुइँ समाएर बसिरहेका भेटिन्छन् ।

ठूलो वन सालका रुखका पातहरू हल्लिएका छैनन् । कटुसहरूले चिलाउनेहरूसँग साउती मारिरहेका छैनन् । उत्तिसले रूपवती गुराँसलाई आँखा झिम्काइरहेको छैन । कुटमिराले टाँकिलाई अँगालोमा कसिरहेको छैन । ठूलो ताप्रेले टटेलोको कुममा काउकुती लगाइदिई रहेको छैन । रानी खिर्रोको चोपको गन्धमा नारायणपाती अमिलिएर रिसाइरहेको छैन । सल्लोले कान कोट्याएर उदेकलाग्दो आवाज निकालिरहेको छैन ।

फलिरहेको अमलालाई चुच्चोमा च्याप्न सिसौको रुखमा मुन्टो झोक्राइरहेका सिम तित्राहरूलाई कुनै जाँगर छैन । ऐँसेलुका बुटामा झुम्मिएका पुतलीहरूले उड्न बिर्सिएका छन् । बकाइनोमा रुखमा गुँड लाइरहेका माकुराहरूले आफ्ना हातगोडा गुजुल्टाएर एकै पोका बनेका छन् । एउटै डल्लो बनेका छन् । भीमसेनपातिको हाँगामा बसेको जुरे दुम्सी धरि आफ्ना तिखा काँडाहरूमा डल्लो परिरहेको छ ।

ठूलो वनक्षेत्र वरपर सलबलाइरहेका गतिवान् मानव पैतालाका डोबहरू पनि उसै गरी बडो शान्त छन् । यी डोबहरूमा छटपटी भने मच्चिएको छ, यद्यपि त्यसमा पनि स्वर छैन । हतार छ ती पैतालाहरूलाई तापनि त्यस कार्यबाट कुनै ध्वनि उत्पन्न भएको छैन । बडो शान्ति छ त्यहाँ । एक सुनसान ! एक चकमन्न ! बस्, त्यत्ति । एक मुर्दा शान्ति !

ती मानव पैतालाहरू कहिले खुकुलो माटोको सतहलाई हातले खोतल्दै छन् । अनि शिकारी कुकुरले सुँघेको जस्तै गरी साना साना दुलोहरू खोतलिरहेका छन्, मानौँ त्यहाँ ठुलो खजाना गाडेको होस् l निकै व्यग्रता र छटपटी  देखिन्छ, ती पैतालाहरूमा । पैतालाले नपुगेर हत्केला प्रयोग गर्छन्, त्यतिले नपुगेको ठाउँमा साबेल, पिक, खन्तीको  प्रयोग गरिरहेका छन् l तर यसो गर्दा पनि कुनै स्वर निस्किएको छैन । यद्यपि, एउटा आतङ्कले ठुलो वनमा सानो स्वरमा साउती मारिरहेको भने महसुस गर्न सकिन्छ ।

अलिअलि गर्दै १०-१५ वटा दुलोलाई खोतलेर बिरूप बनाइन्छ । केही दुलोको मुखमा दाउरा, पात पतिङ्गर, झिजा राखेर आगो लगाई पुरै धुवाँ सिर्जना गरिन्छ l केही धमिरा गोलाहरू ब्वाङबुङ फुट्छन्, तहसनहस हुन्छन् । तर, आवाज निस्किँदैन ।

हरेक धमिराको गोलाबाट अनगिन्ती धमिरा र कमिला निस्किन्छन् र यत्रतत्र छरिएका पातपतिङ्गरमा सलबलाउँछन्, उनीहरूको बस्तीमा आतङ्क सिर्जना हुन्छ तर आवाज निस्किँदैन । क्रमसँगै  केही दुलोबाट केही थान ‘भकुन्डे भूतहरू’  निस्किन्छन् र, दायाँबायाँ गर्दै गुँडुल्किन्छन्, तर आवाज निस्किएको छैन ।

एउटा मानव हत्केलाले साउती मार्छ, “हिलेमाछो ।”

अर्को मानव हत्केलाले अघिल्लोको कानमा सुस्तरी फुक्छ, ‘सालमछरी।’

अझ अर्कोले अझै सुस्तरी ‘पाखेमाछो’ भन्न भ्याउँछ ।

एवम् रितले विरूप पारिएका दुलोबाट निस्किएका भकुन्डे भूतहरू नामकरण हुँदै जान्छ ।

र, रमाइलो के भने ती भकुन्डे भूतहरू तिनै मानवका खुट्टा वरपर लुटपुटिन्छन्, हत्केला वरपर झुम्मिन्छन् । लाम्चो शरीर भएका एवम् थुतुनो र पेटको भित्री भाग बाहेक सबैतिर एकापसमा खप्टिएका खपटाधारी भकुन्डे भूतहरू ती मानवसँग अझ लसपसिन्छन् ।

दाँत नभएका यी भकुन्डे भूत मध्ये एउटाले देब्रे हत्केलोधारी मान्छेलाई सुस्तरी सोध्छ, ‘अनि मेरो गुँडलाई किन लात मार्नुभएको नि ? किन तहसनहस पार्नुभएको नि ? मेरो बस्ती किन उजाड ? मैले के बिराए र ?’

भकुण्डे भूतलाई समाइरहेको देब्रे हत्केलाधारी मनुवाले सुस्त आवाजमा प्वाक्क भनी पनि दिन्छ, ‘तेरा साना आँखा र बाक्ला परेला मलाई मन परे ।’

अर्कोले अझ सुस्त आवाजमा फेरि थप्छ, ‘तिमारुका खपटामुनिका जगरजस्ता रौँहरू हामलाई मन परे ।’

‘तिमारुले आ-आफ्ना ६०-७० सेन्टिमिटर लामा जिब्रा देखाओ त, त्यो हेर्न मन छ मलाई ।’

‘ए, सुन त, तिमारु राती मात्रै निस्किन्छौँ । हामीलाई दिउँसै हेर्न मन लाग्यो ।’

‘ल सबै एकै ठाउँमा बस त ।’….

र, यस्तै यस्तै मानव स्वरहरू सुस्त आवाजमा सुनिन्छ । सुनिइरहन्छ ।

र, ती भकुन्डे भूतहरूले पनि त्यसै गर्छन् । यी मनुवाप्रति अझ आत्मीयता देखाउँछन् l

उनीहरू ती बाक्ला मोटा पैताला र हत्केलाधारी मनुवाहरूले अह्राएबमोजिम गर्छन् ।

‘कति अबोध छन् यार यिनीहरू, भो जाऊ’, एउटा मनुवाको आवाज आउँछ ।

‘नकरा मुला । चुप लाग ।’ अरू तीन मनुवाले अलि चर्को स्वरमा भन्छन् ।

‘कति दुःख गरेर, कति पाउने आशामा यत्रो काम गरेका छौं’, एउटा सन्तुष्ट भएर बोल्छ l

र, एक्कासि ठुलो वन क्षेत्रमा एउटा सामूहिक कोलाहल सुनिन्छ, ‘आत्था ! आइया ! दुख्यो ! मरे नि !…’

 

* * * *

साना खोला बग्न बिर्सेर शान्त हुन्छ, केवल खुइय गरेर सुसाइरहन्छन्- विरहको सुसेली ! तर, यसमा कोलाहलमय सुसेलीमा पनि एक दुर्लभ शान्ति देखिन्छ, जसरी ठुलो वन क्षेत्रभर बगिरहेका रगत र खपेटा निकालिएर मृत फ्याँकिएका शालकका लासहरू शान्त छन् ।

त्यसको केही दिनपछि,

राष्ट्रिय पत्रिका, टेलिभिजन, स्थानीय एफएममा प्रमुखताका साथ समाचार आयो- “आज सी.आइ.ब, प्रहरी र वन कार्यालयको संयुक्त टोलीले ठुलो वन क्षेत्रबाट मारिएका सालकका खपटा सहित केही मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि वन कार्यालयमा बुझाइएको छ । थप अनुसन्धानमा बाधा नहोस् भन्नको लागि निजहरूको परिचय गोप्य राखिएको छ ।”

र, पुनः ठूलो वनको शान्ति फिर्ता भएको छ, सुसेली चलेको छ । जीवन पुरानै लयमा फर्किएको छ । वन क्षेत्रलाई पूर्वबाट र उत्तरबाट सिञ्चित गरिरहेको साना खोलाले वेग समातेको, खहरे आवाज सहित ऊ थुनुवा नदी भेट्न हाम फ्यालेको छ ।  लुइँचे, खरमजुर, तिलहरी, जुरे हुटिट्याउँ, तामे ढुकुर, कण्ठे ढुकुर, गुलाफी टाउके सुगा, जुरे कोइली, घाँसे लाटोकोसेरो, चाँदीढाडे गौँथलीको चिरबिरले ठुलो वन गुञ्जायमान छ !..

(लोपोन्मुख स्तनधारी जनावर संरक्षणमा अहोरात्र खटिइरहेका डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यको ‘सालक संरक्षण अभियान’बाट प्रेरित भई यस कथा लेखिएको हो  । अन्तर्राष्ट्रिय सालक दिवस-२०८० अन्तर्गत धादिङवेशीमा विमोचित ‘हाम्रो सालक, प्यारो सालक’मा यस कथा संग्रहित छ – झल्लु  ।)