गाउँ आजकल गाउँजस्तो लाग्दैन । गाउँको आफ्नोपन आधुनिक विकासबाट अपहरित छ । जल, जमिन र वायुमण्डलले विगतमा जस्तो सुगन्ध छर्दैनन् । अचेल माटो युरिया ओकल्छ । हावा नाइट्रोक्स डकार्छ । नदीनाला ढलको दुर्गन्ध छाद्छन् । रातो माटोको लालीपाउडरमा सज्जित घरका तरुनी भित्ताहरू केमिकलयुक्त रङले पोतिएका छन् । बाउबाजेको पालामा खरका छाना सुन्दर युवतीको ब्लन्ड केशजस्तै लाग्थे । हिजोआज त जस्तापाताका खैरा विगहरू ओढाइएका छन् । भनौँ, कुनै बेलाको बाबरीगाउँ अहिले पलाँसमा परिणत भएको छ ।

रैथाने बाली उमार्न छाडियो । ढेडु, सालक, भालु, हाब्रे वनपाखाबाट लुप्त भइसके । वर, पीपल, सिमल र चिउरीजस्ता परम्परागत रुखहरू पातलिँदै आए । यसो भनौं, गाउँको जैविक विविधता ह्रासोन्मुख छ ।

यद्यपि आफू जन्मेको ठाउँको माया कसलाई लाग्दैन र  ?

यस्तै सम्झनाका उकाली चढ्दै, ओराली झर्दै सञ्जुमाया धेरै वर्षपछि राक्सिराङ फर्की । राक्सिराङ मकवानपुरको सानो चेपाङ बस्ती हो । आफ्नो बाल्यकाल बिताएकी यो गाउँमा उसका अनेक स्मृतिहरू यता कतै छरिएर रहेका छन् । जसलाई सम्झँदा मात्र पनि ऊ त्यसै त्यसै खुसी हुन्छे । सबैको आआफ्नै कथा हुन्छ र उसको पनि आफ्नै कथा छ । छात्रवृत्ति पाएर पढ्न ऊ बालिकामै काठमाडौँ छिरेकी थिई । उसको हाउभाउमा अझै आफ्नै मौलिकता झल्किन्छ । सानैदेखि सहरमा बसे पनि चेपाङपन हटेको छैन । उसले देख्ने सुन्दर भविष्यको सपना वायु प्रदूषणको तुवाँलोभित्र छोपिएको जूनतारासरि घरी बल्न खोजे, घरी निभ्न । तर आशाको त्यान्द्रोमा झुन्डिएर भए पनि धिपधिप बालिरहने प्रयासमा थिई, जसरी अँध्यारोमा जुनकिरी बल्छ । कहिलेकाहीँ उसको मन आकाशमा उडिरहेको बादलभन्दा पनि छिटो छिटो दगुर्थ्यो ।

यो मन कति छिटो दगुरेको ? आफैँलाई प्रश्न गर्दै भारी मन बोकेर ऊ जिपबाट राक्सिराङ झरी । उसलाई छोडिराखेर जिप कर्ण छेदन हुने गरी हर्न बजाउँदै उकालो लाग्यो । फर्केर हेरी, धुलोको मुस्लो बुङ्बुङ्ती उडाउँदै घुम्तीबाट ओझेलियो ।

आङको धुलो टकटक्याउँदै गर्दा सञ्जुमायाको नजर छेवैमा लडिरहेको बडेमानको रुखमाथि पर्‍यो । वन विज्ञानमा आफूले प्राप्त गरेको स्नातकको सर्टिफिकेटलाई एक चोटि सम्झिई ।

घर पुगेपछि आमालाई ढोग्दै सोधी, ‘हाम्रो घरमाथिको चिउरीको रुख किन ढालेको आमा ?’‍

चिउरीको रुख ढल्यो या ढालियो । त्यो रुखसँगै सञ्जुमायाको बाल्यकाल जोडिएको छ । त्यसको पात टिपेर ऊ आमासँगै टपरी खुट्थी । डाले घाँस काटेर बाख्रालाई हाल्दिन्थी । हाँगामा फुल्ने मोतीका दानाजस्ता फूलका थुँगामा झुम्मिने मौरीले मोहनी लगाउँथे । भुनभुन आवाजसँगै तिनको नृत्य हेरेर घण्टौँ रमाउँथी । मिठो मान्दै मह चाट्थी । फूलको रस चुस्न मध्य रातमा चमेराका बथान ओइरिन्थे । तिनीहरूबाट गुञ्जने तिखो ध्वनिले गर्दा ऊ ब्युँझन्थी । तर उसलाई कुनै अत्यास लाग्दैनथ्यो । बरु ती चमेरा नसुतेर किन चिउरीको रुख चहार्न आएका होलान् भनी गम खान्थी । आफ्नो यस्ता अविस्मरणीय स्मृति गाँसिएको त्यही रुखलाई उसले बाटो किनारमा पल्टिएको देखी एक बेवारिस लाससरि । जे होस्, चिउरीका रुखप्रति अथाह प्रेम छ उसलाई । चिउरी मोहमा झाँगिएको उसको अनुराग कहिल्यै कम भएको छैन ।

तर जीवनको संयोग पनि कस्तो ! उच्च शिक्षा अध्ययन गर्ने क्रममा बल्ल चमेरा र चिउरीको अन्योन्याश्रित सम्बन्ध छ भन्ने बोध गरेकी थिई सञ्जुमायाले ।

धेरै वर्षपछि छोरीसँग भेट हुँदा खुसीका लहर आमाको अनुहारमा देखिए नै । तर गाउँमा चिउरीको वास्तविक अवस्था छोरीलाई सुनाउनुपर्दा आमाले एकाएक निधार खुम्च्याइन् । र भनिन्, ‘कसले ढाल्थ्यो र ? मोटरबाटो खन्ने ठेकेदारले ढालेको ! बाटो आएर राहत त भयो तर विकासले चिउरी वन मासियो ।’

‘चिउरीको त्यो रुख त तिम्ले पाएको दाइजो होइन र आमा ?’ छोरीले यस्तो सोधेपछि आमा स्मृतिका पानाहरूमा डुबिन् ।

विवाह भएको चार वर्षपछि आमालाई माइतीले चिउरीका एक जोर बेर्ना दिएका थिए । छोरी र ज्वाइँको वैवाहिक जीवन सुनिश्चित हुने भएपछि माइतीपक्षले छोरीलाई दाइजो स्वरूप चिउरीको बिरुवा दिएका हुन् । बाले पनि खुसी हुँदै एउटा घरदेखि मास्तिर, अर्को घरदेखि तल्तिर रोपिदिएका थिए । घर मास्तिरको रुख ढलेदेखि नै आमा उदास बनेकी थिइन्, जुन रुखले उनको पूरै जिन्दगीको कथा बोकेको छ । दुःख पर्दा होस् कि सुख पर्दा, यस्ता कैयौँ मधुर स्मृतिहरू छन्, त्यो रुखसित जोडिएका । त्यो रुखको छहारीमा सुस्ताएको, माइतीको याद मनभरि भरिँदा तिनै रुखहरू हेरेर चित्त बुझाएको, मन खिन्न हुँदा रुखका हाँगाहरूमा पलाउँदै गरेका पालुवाहरू हेरेर मन बलियो बनाएको ।

आमाका कैयौँ दशैँ यसै बितेर गए । चाडपर्वमा सधैँ आमा माइत जान कहाँ पाउँथिन् र ? माइत जान नपाउँदा चिउरीका तिनै बोटहरू बाआमा जस्तै सजीव बनेर आमासामुन्ने उभिन्थे । यस्ता संवेदना जोडिएकामध्ये घरमाथिको रुखलाई विस्तार हुँदै आएको बाटोले जरैदेखि ढालिदियो । त्यसरी मधुर सम्झनाको प्रतीक बनेको रुख एकाएक आफ्नै आँखाअगाडि ढालिँदा आमालाई माइतीघर ढलेझैँ लाग्यो होला । घर तलको रुखमा पनि पहिला जसरी चिउरी फल्थ्यो, समयको नागबेलीसँगै त्यसरी फल्न छाड्दै आयो ।

परार बा बित्दा आमा गहिरो शोकमा डुबेकी थिइन् । तापनि तिनै चिउरीका रुखहरू हेर्दै तङ्ग्रिन सकिन् । पछि चिउरी उत्पादनमा ह्रास आउँदा आमाको चिन्ता पहाडमा परिणत भयो । आमाको चिन्ताको त्यो पहाड अझै नचुलियोस् भन्ने कामना गरेकी थिई सञ्जुमायाले । बासँगका कति धेरै स्मृतिहरू त्यो रुखको छायाले मेटाइदिएको थियो । बाको तस्बिर मनमा कल्पिँदै उसले तल वनतिर एक नजर डुलाई । वनमा चिउरीका रुखहरू पातलिसकेका थिए । बाख्रा चरनले गर्दा नयाँ रुख उम्रन नपाएको आमाले बताइन् । पल्लो पाखाको चिउरीखर्कतिर देखाउँदै आमाले भनिन्, ‘उहिले, त्यो चिउरीको वन तेरो बाको नाममा सरकारले पास गरिदिएको थियो ।’

त्यसरी व्यक्तिको नाममा पास गरिदिएपछि वन नजोगिने कारण नै भएन । तर बिस्तारै राक्सिराङमा त्यो प्रचलन हराउँदै आयो । अब त वैज्ञानिक रूपले चिउरी संरक्षणतिर लाग्नुपर्छ भन्न चाहन्थी ऊ आमालाई । तर आमाले विज्ञान बुझ्ने कुरो भएन र त्यो कुरो मनमनमै राखी ।

झमक्क साँझ परेपछि बल्ल दाइ आइतेसिंह घर आयो ।

‘बैनी आउँदै छे भन्ने थाहा हुँदाहुँदै अलि छिटो आउनुपर्दैन ? काम छैन तेरो, दिनभरि क्यारेमबोर्ड खेलेर बसिस् होला नि,’ आमाले छोरालाई हप्काउँदै यस्तो भनिन् ।

आमाको गालीलाई बेवास्ता गर्‍यो आइतेसिंहले । र घरको पेटीमा थ्याच्च बस्दै वेनीसित बोल्यो, ‘उतैबाट भिसा लगाएर विदेश जान्छु भन्दै थिइस् त ?’

ब्याचलर सिद्धिएपछि वैदेशिक रोजगारीका लागि आवेदन दिएकी थिई सञ्जुमायाले । भिसा कुर्दै गर्दा केही अवधिका लागि गाउँ आएकी थिई । काठमाडौँबाट ल्याइदिएको पुष्टकारी दाइलाई दिँदै राक्सिराङमा चिउरी विनाशको कारण सोधी ।

चिउरी चुसेजस्तै पुष्टकारी चुस्दै आइतेसिंहले जवाफ फर्कायो, ‘तँ नै विज्ञानको विद्यार्थी, आफैँ पत्ता लगा न ।’

आइतेसिंह र उसका साथीहरू लुकिलुकी जालमा चमेरा पार्थे र बेच्ने गर्थे । उसका केही साथी मौरीपालन पनि गर्थे । चिउरी फुल्न छोडेपछि मौरी चराउन तराईतिर लग्नुपरेको दुखेसो बैनीलाई बतायो । सञ्जुमाया चिउरीमा फूल नफुल्नुको कारण पत्ता लगाउन सोचमग्न भई । फूल नै नफुलेपछि कसरी फल लागोस् त ? जलवायु परिवर्तनले हो या कुनै रोग लागेर ? वा परागसेचन गराउने किराफट्याङ्ग्रा, पुतली, मौरी, चरा, चमेराजस्ता प्राणी हराउँदै जानुले ? उसको मनमा अनेक तर्कवितर्क खेल्न छाडेनन् ।

रातभर अनेक प्रश्नहरू ओइरिए सञ्जुमायाको मस्तिष्कमा । ऊ सानै छँदा त्यो चिउरीको जङ्गल उसका निम्ति सबैभन्दा प्रिय थियो । कसरी एकाएक उजाड हुन थालेछ ? तत्कालै यस विषयको गहन अध्ययन गरेर समाधानका उपाय खोज्ने अठोट गर्दै ऊ बल्लबल्ल राति अबेरतिर निदाई । बिहानीपख भालेको ‘कुकुरी काँ…’ सँगै ऊ जागी । पहिलाजस्तो चमेराको चिँचिँले मध्यरातमा जाग्नुपरेन । नजिकैको झ्यालबाट बाहिर चिहाई, राक्सिराङलाई तुँवालोको जालोले छोपेको थियो मज्जैले । घामले आफ्नो प्रकाश छर्न अप्ठ्यारो मानेझैँ भान भयो । बिस्तराबाट उठी ऊ । हिजो जिपबाट झर्दै गर्दा चिउरीको रुख बाटोछेउ लडिराखेको दृष्य उसको आँखामा बल्झिन पुगे । त्यसै क्षण घरको दलानमा एउटा फलामे मेसिन ठिङ्ग उभिरहेको देखी ।

‘आमा, के गर्ने मेसिन हो यो ?’ सञ्जुमायाले आमालाई सोधी ।

भैँसीलाई कुँडो दिन गोठतिर जाँदै गरेकी आमाले भनिन्, ‘चिउरी पेल्ने मेसिन हो, सरकारले दिएको । तेरो बा हुँदासम्म त चिउरीका दाना प्रशस्तै हुन्थे र यसमा पेलेर घ्यू निकालिन्थ्यो । यसलाई गाउँलेले पनि खुबै चलाए । आजकल चिउरी नै फल्न छाड्यो, यसको कामै छैन ।’

आमाले त्यसो भन्दै गर्दा, सानो छँदा काठको कोलमा चिउरीको बिजुला पेलेको याद आयो । बिजुला पेलेपछि एकातिर घ्यू निस्किन्थ्यो अर्कोतिर छोक्रा । जाडोले फुटेका उसका खुट्टामा आमाले त्यही घ्यू दलिदिन्थिन् । छोक्राबाट पिना तयार पारिन्थ्यो । गोब्रे किरालाई मार्न बाले बारीमा पिना छर्केको र आफू बाको पछिपछि हिँडेको सम्झना सजीव भएर आयो ।  बिहानको खाजा खाएपछि सञ्जुमायाले राक्सिराङवरिपरि डुल्ने विचार गरी । दाइ आइतेसिंहसँगै निस्की घरबाट । मङ्सिरको सिरेटोले कानमा हल्का साउती मार्‍यो । छिमेकी गाउँ सिलिङे पुग्दै गर्दा एउटा चिउरीको छहारीमुनि रोकिए दुवै जना । ताम्यो प्रजातिको अगौटे चिउरीको बोट थियो त्यो । बैँसालु जोवनमा पनि सुन्दर देखिन नसकेकी युवतीसरी त्यो चिउरीको रुखलाई हेर्दै दाजुबैनीको वार्तालाप चल्यो ।

‘यी यही हो के बैनी, मैले भनेको । मङ्सिर लागिसक्यो, पूर्ण रूपमा फूल फुलेको छैन, मौरी पनि देखिँदैनन् ।’

‘दाइ, फूल नभएपछि रस हुने कुरा नै भएन नि । अनि रस नभएपछि चमेरा पनि किन आउँथे र !’

‘चमेरा त यो भेगबाटै लुप्त हुन लागे भन्दा पनि हुन्छ । गत न्वाइँ पर्वमा पर्याप्त मात्रामा चमेराको मासु खान पाइएन नि । तँ आउँदै छेस्, तँलाई मासु खुलाउने भनेर अस्ति राति म र मेरो साथी चमेरा समात्न गएका थियौँ । जालमा एउटा पनि परेन ।’

उहिले घरमा विशेष पाहुना आउँदा चमेराको मासु खुलाएर सत्कार गरेको सञ्जुमायालाई स्मरण भयो ।

‘चिउरी नफुल्नु र फल नलाग्नुका धेरै कारण हुन सक्छन् दाइ । एउटा कारण भनम् ?’

‘भन् न, के हो ?’

‘फूल फुलेपछि फल लाग्न चिउरीमा परागसेचन हुन जरुरी हुन्छ । यो काम मुख्य गरेर चमेराको सहायताले हुन्छ ।’

‘परागसेचन भनेको के हो ?’

‘जब चमेराहरू फूलको रस खाँदै रुख चहार्छन्, तब तिनीहरूको शरीरमा टाँसिएका परागका कणहरू पुङ्केशरबाट स्त्रीकेशरमा सर्छन् । अनि बल्ल चिउरीको प्रजनन प्रक्रिया पूरा हुन्छ । त्यसपछि चिउरीमा फल लाग्छ । तँलाई थाहा छ कि छैन ? चिउरीफूलमा रस प्रायः रातमा उत्पादन हुन्छ । रातमा चरा र मौरी आराम गर्ने तर चमेरा सक्रिय हुने हुनाले चमेरा परागसेचनको प्रमुख संवाहक हो ।’

‘त्यसो भए चमेरा लोप हुन लागेर पो चिउरीमा फल लाग्न छोडेको रहेछ है ?’

– हो त, चिउरी बचाउने हो भने चमेरा मार्नु नै हुँदैन ।’

गाउँ डुलेर फर्कंदै गर्दा उसले चमेरा लोपोन्मुख हुनुको अन्य कारण पनि दाइलाई भनी । आजकल गाउँमा बिजुली पुगेको छ । बिजुलीको प्रकाशले गर्दा रात पनि दिनजस्तै लाग्छ । रातको अँध्यारोमा आफ्नो आहारा खोज्न निस्कने चमेरा यस्तो अनावश्यक प्रकाश प्रदूषणले प्रभावित बनेका कुरा पनि दाइलाई बताउँदै सञ्जुमायाले भनी, ‘कृत्रिम उज्यालोको कारणले किराफट्याङ्ग्रा लुकेर बस्छन् । बाहिर निस्कँदैनन् । चमेराले किराफट्याङ्ग्रा जस्ता आफ्नो आहाराको शिकार गर्न नपाउँदा भोकभोकै मर्ने सम्भावना हुन्छ ।’

गाँउमा बाटो पुगेको छ । जताततै गाडी गुडेका छन् हिजोआज । थोत्रा गाडीका इन्जिन र लापर्वाही रूपमा हर्न बजाउनाले ध्वनि प्रदूषणको स्तर चरम छ । यस्ता मानव सिर्जित समस्या पनि चमेरा लोप हुनुका कारण बनेका छन् । बैनीबाट यस्ता ज्ञान प्राप्त गरेपछि चमेरा लोपोन्मुख हुनुका कारण चोरीशिकारी मात्रै रहेनछ भन्ने लागेर आइतेसिंहलाई केही राहत महसुस भयो । तर मनमनै मान्छेले प्रकृतिलाई गरेको अत्याचार साँच्चिकै कहालीलाग्दो रहेको अनुभूति पनि गर्‍यो उसले ।

राक्सिराङमा सञ्जुमायाका दिन बिते, हप्ता बिते, महिना बिते । यस अवधिभित्र उसले चेपाङ चिउरी र चमेराको अन्तरसम्बन्धबारे यति डुबेर अध्ययन गरी कि बाह्य संसार सबै बिर्सिन थाली । आमा र दाइले भने सञ्जुमायालाई छिट्टै वैदेशिक रोजगारीमा गएको देख्न चाहन्थे । घरको आर्थिक अवस्था चाँडै सुध्रेको हेर्न चाहन्थे । ‘भिसा कहिले आउँछ ? किन यति ढिलो गरेको ?’ भन्दै उसलाई सोधेर सताइरहन्थे ।

त्यसको केही महिनापछि राक्सिराङमा वन डिभिजन कार्यालयबाट कर्मचारीको एउटा टोली आयो, चिउरी संरक्षणको परियोजना लिएर । त्यो टोलीमा एक जुझारु युवा अधिकृत विष्णुप्रसाद थिए । सामुदायिक भवनमा विष्णुप्रसाद र सञ्जुमायाको भेट भयो । राक्सिराङ इलाकामा चिउरी संरक्षण परियोजनाको नेतृत्व उनैले गर्ने भए । यसको जानकारी भएपछि सञ्जुमाया अझै उत्साहित बनी । एउटै उद्देश्य र विचार बोकेकी सञ्जुमायाजस्ती स्थानीय युवती भेटेर विष्णुप्रसाद पनि निक्कै प्रभावित भए ।

यसरी नै समय बित्दै थियो । सञ्जुमायालाई भने चिउरीको समस्याले चेपाङ समुदायको अस्तित्व नै खतरामा पुग्ने देखेर आफ्नो भिसा नलागे पनि हुन्थ्यो भन्ने लाग्न थालेको थियो । तर एक दिन उसको फोनमा भिसा लागेको सन्देश आयो । यो कुरा उसले न आमा सुनाई, न दाइलाई । उसले एजेन्टलाई  पनि कुनै उत्तर नै दिइन । भिसाको लागि तिरेको पैसाको माया मारी ।

जहाँ चेपाङ त्यहाँ चिउरी, जहाँ चिउरी त्यहाँ मौरी । चेपाङको जीविकोपार्जनका लागि चिउरी प्रवर्धन । चिउरी समृद्धिका लागि चमेरा संरक्षण । चमेरा संरक्षणका लागि चेपाङ समुदाय परिचालन । सदियौँदेखि चेपाङ, चिउरी, मौरी र चमेराको जीवन्त सम्बन्ध छ । यस सम्बन्धलाई अटुट राख्न विष्णुप्रसाद र सञ्जुमायाको जोडी बनेको हो जस्तो लाग्न थाल्यो । तिनीहरूले हजारौँ चिउरी वृक्षारोपण गरे । भएका वृक्षलाई तारबार गरेर जोगाउनतिर लागे । चिउरी र चमेराको सम्बन्धबारे घरदैलो कार्यक्रम गरेर जनचेतना फैलाउने कार्यलाई व्यापक बनाए ।

पर्यावरण र चिउरीको अस्तित्वलाई जोगाइराख्ने उद्देश्यले विष्णुप्रसादले नेतृत्व गरेको परियोजनाबाट सञ्जुमाया वास्तवमै यति प्रभावित भई कि अब बाँकी जीवन चिउरी संरक्षणप्रति समर्पण गर्दै राक्सिराङमै बिताउने अठोट गरी । यसरी उजाडिँदै गरेका ती चिउरीका रुखहरूका निम्ति सञ्जुमाया एक भरपर्दो सहारा बनी ।

सञ्जुमाया राक्सिराङ फर्केको तेस्रो वर्ष लाग्यो । एकदिन राक्सिराङको जङ्गल नियाल्दै उसले कल्पना गरी, चिउरीका बिरुवाहरूमा हरिया पातहरू रहरलाग्दो गरी पलाउलान् । ठूला रुखमा फूल लहलहाउँदै फुल्लान् । भने जस्तै सङ्ख्यामा चमेरा फेरि रस चुस्न आउलान् र लटरम्म चिउरीका फल लाग्लान् । यसरी टुट्नै लागेको चेपाङ, चमेरा र चिउरीको सम्बन्ध पुनर्स्थापना होला ।

त्यति बेला सञ्जुमायाले आफ्नो मनमा विष्णुप्रसादप्रतिको आदरभाव पनि त्यति नै अमिट बनेर रहेको पाई ।

(बाह्रखरी कथा प्रतियोगितामा तेस्रो स्थान । पुरस्कार स्वरूप प्राप्त रु ४०,००० चमेरा र चिउरी संरक्षणका लागि चेपाङ समुदायलाई प्रदान गर्ने कथाकारको घोषणा । फागुन १५ २०८० का दिन चेपाङ वस्ति राक्सिराङ्मा इन्द्र चौधरीले यस कथालाई नाटकमा रूपान्तरण गरी उनैको निर्देशनमा नाटक मञ्चन । )