नाति-नातिनी भएको घर, आँगन उज्यालो हुन्छ, रमाइलो हुन्छ । हुन पनि हजुर बा ! हजुर आमा ! भन्दै लुटपुटिंदै नाति-नातिनी काखमा घुस्रिन आउँदा कसलाई आनन्द नलागेको हो र । कलानाथ पतिपत्नीको अधिकांश समय नातिनी कै हेरचाहमा बित्ने गरेको थियो ।
“बुढापाकाका लागि नाति-नातिनी रहर मात्र हुन् । जिम्मेवारी होइनन् । सन्तानको पालनपोषण, देखरेख, हेरचाह र उनीहरूको शिक्षादीक्षा र करियरसम्मको पहिलो जिम्मेवारी आमाबुवाको हो । आफ्नो छोराछोरीलाई कतिसम्म अनुशासनमा राख्ने हो, कस्तो संस्कार दिने ? कस्तो शिक्षादीक्षा दिने ? यी सबै आमाबुवामाथि भर पर्ने कुरा हो ।” यो कलानाथको ठम्याइ थियो ।
उनी भन्थे, “वृद्ध अवस्थामा पुगिसकेका हजुरबाआमा त केवल उनीहरूको बालसुलभ हेरेर उनीहरूको चर्तिकला हेरेर रमाउने मात्र हुन् । बाबु नानी यसो नगर, उसो नगर भन्न र अर्ती उपदेश दिनुबाहेक हजुरबा हजुरआमाबाट बढी अपेक्षा राख्न पनि मिल्दैन ।”
कलानाथ सही थिए वा गलत तर उनी आफ्नो भनाइमा अडिग थिए ।
लकडाउनले लामो समयसम्म विद्यालय बन्द भएपछि सरकारले विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्ने बाटो खोलिदियो । त्यसपछि श्रोत साधन सम्पन्न विद्यालयहरूले कक्षा सञ्चालन गर्न थाले ।
दिनभरि हजुरबाआमासित खेलेर बस्ने नातिनीको मन्टेश्वरीले पनि अनलाइन कक्षा सुरु गयो । टिभीमा कार्टुन हेरेर, मोबाइलमा गेम खेलेर समय बिताउने बानी परेकी बच्चीलाई डेढ घण्टा कम्प्युटर अगाडि बसेर पढ्नु सजिलो विषय पक्कै थिएन ।
नातिनीसँगै हजुरबा पनि कक्षामा होमिनुपर्ने भयो । टिचरले उताबाट के के भन्छन् सबै सुनेर सोही बमोजिम गर्न गराउन कलानाथका लागि बुढेसकालमा सबैभन्दा कठिन कार्य बन्यो । कक्षा चलिरहेकै बेला कहिलेकाहीँ प्याट्ट हिर्काउनु पर्ने त कहिले ठूलो स्वरमा बोल्नु परिहाल्थ्यो । जुन कुरा उनकी हजुरआमालाई पटक्कै मन पर्दैन थियो । उनी नातिनीलाई मायाले, ललाई फकाई फुल्याई पढाओस् भन्थी ।
कहिलेकाहीँ त बच्चाको पढाइको विषयलाई लिएर कलानाथ पतिपत्नीबीच चर्के वादविवाद समेत हुने गर्दथ्यो । दश वर्षअगाडि नै अयोग्य घोषित भई जागिरबाट अवकाश पाइसकेका पैसठ्ठी वर्षीय कलानाथले ६ वर्षकी चञ्चली नातिनीको पढाइको जिम्मेवारी कसरी लिन सक्दथे र ?
पढाउनु मात्र हो र ? होमवर्कसमेत जस्ताको त्यस्तै सारेर लेखाउनु पर्ने । लेखेको काम सबै फोटो खिचेर पोष्ट्याउनुपर्ने । भनेको नमान्दा र नटेर्दा उच्च रक्तचापका रोगी बुढाको पारा चढ्नु स्वाभाविकै थियो । रिसको झोकमा अलिक ठूलो स्वर निस्किहाल्थ्यो ।
“ल, बच्चीलाई किन हप्काउनु भाको ? किन तर्साउनुभाको ?” भन्दै हजुरआमा बुढी काँचै खाउँलाझैँ गरी छोप्न आइपुग्थी । नातिनीकै पढाइको विषयलाई लिएर बुढाबुढीबीच दिनदिनै वादविवाद हुन थालेपछि चार दशक लामो वैवाहिक जीवनको जग बुढो दाँत हल्लेसरह हल्लन थालेको कलानाथले महसुस गरे ।
भनाभैरी, वादविवादको क्रममा विगतका तितो टर्रो सबै ओकल्न थालेका थिए बुढाबुढीले ।
स्थिति शान्त भएपछि कलानाथलाई आफ्नो व्यवहार सम्झेर साह्रै पछुतो हुन्थ्यो, लज्जाबोध हुन्थ्यो ।
बुढेसकालको सहारा बन्नुपर्ने पतिपत्नीको सम्बन्ध दिनदिनै टाढा हुँदै गएको कलानाथलाई लाग्न थाल्यो । पत्नीलाई आफ्नो कारण अशान्ति भएको, तनाव भएको, दुःख भएको र पतिपत्नीको सम्बन्ध बिग्रँदै गएको सबै दोष आफैले बेहोर्दै उनले केही समयका लागि घरबाट टाढा कतै जाने निर्णय गरे । अनि, एक दिन मौका हेरेर कलानाथ घरबाट हिँडे पनि ।
छोराबुहारी सधैँ झैँ साँझ अबेर घर छिरे । कोठामा बुवालाई नदेखेपछि छोरा सुवासले सोध्यो, “आमा ! बुवा कता हुनुहुन्छ ? ”
“खै, कता गए । यतिञ्जेलसम्म आएका छैनन् ।” व्यस्तताका कारण थकित वृद्धाले झर्को मान्दै जवाफ दिइन् ।
सुवासले बुवाको मोबाइलमा घण्टी हान्यो । घण्टी त गयो तर कोठाभित्र । कलानाथले मोबाइल घरैमा छाडेर गएका थिए । खोज तलास जारी रह्यो तर बुढालाई भेटेनन् ।
घर परिवार, आफन्त, नाता गोता, इष्टमित्र सबै बुढा बेपत्ता भएकोमा चिन्तित भए ।
महिना दिनसम्म खोज्दा पनि नभेटेपछि परिवार बाध्य भएर काजक्रिया गर्ने निर्णयमा पुगे ।
एक दिन पुरेत बोलाएर कुराकानी गरिरहेकै बेला छोरा चाहिँको मोबाइलमा परिचित मान्छेको भिडियो कल आयो ।
स्क्रिनमा पहिले त चिनजान मान्छे देख्यो सुवासले । भिडियोमा देखा परेका मानिसले भनिरहेका थिए, “सुवासजी ! आमालाई लिएर तीर्थाटनमा देवघाट पुगेको बेला हजुरको बुवा कलानाथजीसित भेट भएको छ । महिना दिनदेखि यिन यतै हुनुहुँदो रहेछ । ल कुरा गर्नोस् ।”
लगत्तै कलानाथ झुल्किए अनि भने, “सुवास ! मेरो चिन्ता बिलकुल नगर्नू, म जहाँ छु ठीक छु । आमाको ख्याल राख्नू, नातिनीको ख्याल राख्नू । म समय भएपछि आफै आउँछु आमालाई भनिदिनु ।”
यति भनी बुढा ओझेल पर्न के आँटेका थिए यताबाट सुवास बोल्यो, “एकक्षण बुवा, आमा आउनु भो ल कुरा गर्नोस् ।”
कलानाथकी पत्नीले भक्कानिएको आवाजमा सोधिन्, “हजुरलाई सञ्चो, आरामै छ नि सुवासको बुवा ? हजुर बेपत्ता भएदेखि न भोक लागेको छ न निद्रा । कहाँ जानु भाको भन्दै नभनी ? मलाई एक्लै छाडेर जाँदा हजुरलाई अलिकति पनि चिन्ता लागेन ? के लाग्छ, हजुर बिना म एक्लो जीवन बाँच्न सक्छु होला त ?”
कलानाथसित पत्नीको प्रश्नको जवाफ थिएन । प्रश्नहरूले उनलाई चस्चस् घोचे पनि पत्नीको एकतर्फी कुरा सुनिरहे, केही बोलेनन् ।
“किन नबोल्नु भाको ? कहाँ हुनुहुन्छ फर्कनोस्, सके आजै गाडी चढनोस् ।” कलानाथकी पत्नीले सबै कुरा एकै श्वासमा भनी सिध्याई र सुकसुकाउन थाली ।
अहिले भने कलानाथ बोले, “भो भो रुञन पर्दैन । मन बलियो गरेर बस् । म समय भएपछि आउँछु, अहिले राखें ।”
कलानाथले मोबाइल सुम्पियो ।
लोग्ने मेरै कारणले घर छोडेर गएको भन्ने लागेकोले होला कलानाथकी पत्नीको आँखाबाट बरर आँसु खस्यो ।
आमाबुवा बीचको फोनवार्ता सुनेपछि सुवासको मनमा अनेकन् प्रश्नहरू जन्मिए तर ऊसित तत्काल कुनै पनि प्रश्नको जवाफ थिएन ।
(समीर पाख्रिनकाे कथासंग्रह ‘अनुत्तरित प्रश्न’बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।