‘उफ् गरम पनि कति बढेको ? मलाई मात्र हो कि अरूलाई पनि यति बेसी गरम लागेको छ अहिले ? भर्खर त मेरो उमेर चालिसको हुँदै छ… किन तरुणी अवस्थाको जस्तो गर्मी लागेको छ । कि चालिस वर्षकी आइमाईमा पनि तरुणी जस्तै गर्मी लाग्ने गर्छ ?’
सम्झन्छु, बीस–बाइस वर्षको मेरो तरुणी उमेर…। कति रमाइला दिन थिए । संसारै रमाइलो लाग्थ्यो । मनमा कताकता कुतकुती लाग्थ्यो । साथीहरू आफ्ना केटासितका रमाइला किस्साहरू सुनाउँथे । राती ओछ्यानमा पसेका बेला म कल्पना गर्ने गर्थें । कुनै जोसिलो केटा आओस्, मलाई सुमसुम्याओस्, जिउभरि माया गरोस्…।
साथीहरू मलाई कति सुबानी, कति शान्त, कति राम्री भन्थे । मेरी आमाले पनि मलाई आफू अनुशासित बस्न, कति कुरामा जोगिन, पुरुषबाट सुरक्षित रहन आदि कुरामा के के भनिरहनु हुन्थ्यो । मेरो शारीरिक गठन पनि अरूले राम्रो मान्थे । म आफैलाई पनि राम्री छु भन्ने लाग्थ्यो । ऐनाअगाडि उभी आफ्नै सुन्दरतामा मक्ख हुन्थेँ ।
म बजार घुम्दा लोग्नेमान्छेहरू जानिँदो नजानिँदो गरी मलाई हेर्थे । केटाहरू मोहित हुन्थेँ । म पनि के कम । सोच्थेँ, मेरामा केही छ र त मलाई हेर्छन् । खै, मेरी साथी विनीतालाई कसैले हेर्दैनन् ।
गर्मी महिनामा म छोटो स्कर्ट र टाइट टिसर्ट लगाएर बजार निस्कँदा केटा खालको आकर्षणको केन्द्र हुन्थेँ । केटा मात्र कहाँ हो र.. बुढाहरू पनि फर्की फर्की, चोरी चोरी हेर्थे । मलाई मनमा भने मज्जा नै लाग्ने गर्थ्यो ।
एकदिन म बजारमा सिटी सेन्टरमा कपडा हेर्दै थिएँ । एउटा केटा मेरा अघि आयो । त्यो केटाले मलाई राम्ररी हेर्यो अनि ‘हेल्लो’ भन्यो । म एकछिन त अरकच्च परेँ । सोझै ‘म उपेन्द्र हुँ’ भन्यो । उसले घर बजारदेखि परको एउटा सानो बजार आफ्नो घर बतायो । अनि मेरो नाम सोध्यो । मैले मेरो नाम र घर बताइदिएँ ।
कस्तो केटो ? सोझै आएर बोल्यो । उसको नाम बतायो, मेरो नाम र घर सोध्यो । लबस्तरो हो कि, फर्साइलो भन्नु कि म असमञ्जसमा परें ।
त्यसपछि ऊ र म आफ्नो आफ्नो बाटो लाग्यौं । उसले मलाई ‘सँगै जाऊँ । घर पुर्याइदिन्छु’ भनेन ।
ऊसँग परिचित भए पनि याद गर्नु पर्ने कुरा केही नभएकोले छिटै नै बिर्सें ।
० ० ० ०
त्यसको एक महिना पछि बजारमा फेरि त्यही उपेन्द्र भन्ने केटो देखियो । उसैले आएर चिनेर बोल्यो । ‘हेल्लो रश्मी’ भन्यो । उसले आफू बजार आएको कारण बतायो अनि मलाई सोध्यो ।
त्यसको एक हप्ता पछि उपेन्द्रसित मेरो फेरि भेट भयो त्यही बजारछेउमा । यो भेट मलाई रमाइलो लाग्यो । परैबाट हाँस्दै मेरो छेउ आयो ।
‘रश्मी आज उ पर गएर एकछिन गफ गरौं न…’ उसले सोझै भन्यो ।
मैले ‘हुन्छ’ भनें । सोचेँ जाऊँ कि नजाऊँ ? एक मनले नजान भन्छ – को हो को हो राम्रोसँग नचिनेको केटासँग पर गएर गफ गर्नु पनि हुन्छ ?
तर अर्को मनले भन्यो, ‘कुरा के हो र एउटा केटा र केटी गफ गर्दैमा के बिरिन्छ ? के पो भइजाला र..’
उसले बाइक ल्याएको रहेछ । म पनि बाइकमा सरक्कै बसेँ । उसले केही अघि बजारदेखि पर एउटा पार्कको छेउको बाइक रोक्यो । उसले बाइकबाट उत्रिन मेरो हात समातेर सहायता गर्यो । एउटा क्याफेटेरियामा लगेर ‘के खाने, के मगाऊँ’ भनेर सोध्यो ।
मैले उसको मन चोर्नलाई ‘केही खान्नँ’ भनें ।
‘बियर खाने कि चिया खाने कि कफी खाने ?’
‘कस्तो बियर सोधेको, केटी मान्छेले बियर खान्छन् र ?’ मैले भनेँ ।
‘यदि केटामान्छेले बियर खान्छन् भने केटीमान्छे पनि खाँदा के हुन्छ ?’ उसले भन्यो ।
मलाई उसको कुरा ठिकै लाग्यो..
तर पनि ‘म बियरसियर पिउँदिनँ । कफी खाऊँ’ मैले भनेँ ।
उसले काउन्टरको केटालाई बोलाएर दुई कप चिया ल्याउन अरायो ।
‘रश्मी तिम्रो घर कहाँ पो भन्दै थियौ ?’ गफ झिक्न सुरु गर्यो । उसले आज त ‘तपाईँ’बाट मलाई ‘तिमी’ भन्यो ।
मेरो घर बताइदिएँ ।
मलाई आज ऊ स्मार्ट लाग्यो । केही गफ भए । उसले कलेज भर्खरै पढिसकेर जागिरको लागि परीक्षा तयारी गरिरहेको रहेछ । उसले पार्कतिर जाने कुरामा उति रुचि देखाएन ।
उसले केही काम छ, ‘अब जाऊँ’ भनेर मलाई बाइकमा राखेर फेरि मेरो घर छेउ चोकसम्म पुर्याइदियो । त्यो दिन राती सुत्दा मनमा अनेक कुरा खेल्न लागे । उसले मलाई कता कता पार्क लगेको भए हुन्थ्यो, म आफैंले ‘जाऊँ’ भन्न पर्थ्यो, आज कुर्ता लाएर गएकाले पो हो कि ? तर केटा त राम्रो नै लाग्यो । त्यतिको हेन्डसम नै छ, फर्साइलो नै छ, नराम्रो कुरा खाने खालको पनि लागेन । जागिरको चिन्ता गर्दो रहेछ, जीवनको लक्ष्य बुझेको रहेछ…. यस्तै के के सोच्दै निदाएछु ।
जेठको महिनामा एकदिन शनिवार फेरि बजारमा ऊसित भेट भयो । देख्ने बित्तिकै रश्मि बनेर बोलायो । उसलाई देख्दा त्यो दिन निकै खुसी लाग्यो । यताउताका कुरा भएपछि ‘जाऊँ आज पनि पर गएर गफ गरौं’ भन्यो ।
उसको बाइकमा म बसें । आज चैं मैले टाइट टिसर्ट र मिडी लाएको थिएँ । बाइकमा बस्ता उसको ढाडमा नै छाती अड्याएर राखें । उसले अलिक पर ठुलो पार्कनेर बाइक रोक्यो । पार्कभित्रको परिवेश केही रोमाञ्चक, उत्तेजक थियो । झोडी झोडीमा जोडी जोडी बसेका थिए । मैले त्यस्तो पहिले देखेको थिइनँ । लाज लाज लाग्यो, डर डर लाग्यो । बेसी आउँका घुमाएर हेर्न सकिनँ । शहरदेखि पर शायद माया गर्ने ठाउँ सरकारले नै मिलाइदिएको हो कि भन्ने खालको लाग्यो ।
अलिकति खुल्ला गफ गर्न एकान्त परेको ठाउँमा जान मैले नै आग्रह गरेँ । गएर बस्यौं । मैले मिडी लाएको हुँदा बस्ता अलिकति अप्ठ्यारो भयो । हाम्रो बिचमा प्रेमका कुरा भए । हाम्रा आँखा जुधे । उसका आँखा मेरो जिउभरि कुदे । एकछिनमा उसले मलाई पलेँटी कस्न लायो । मैले पलेँटी कसेँ । मेरो पलेटी मारेको काखमा उसले टाउको राख्यो । मलाई कस्तो कस्तो भयो । उसको हात लुगामुनि लगेर मेरो फिलानेर राख्यो ।.. उसको देब्रे हातको तातो हत्केला मेरो फिलामा राख्यो । म रोमाञ्चित हुँदै गएँ । मेरो वासनाले शिर उठाउन थाल्यो । कुनै पुरुष मसित यति टालिएको थिएन । उसले निकै बेर हात त्यहीँ राखिरह्यो । अलिक पर पर पनि हात लानु नि… मैले सोंचे ।
तर अहँ उसको तातो हत्केला अघि बढेन । उसलाई सजिलो होस् भनेर म आफैंले लुगा मिलाएँ । अहँ ऊ त्यतिकै शान्त रह्यो, सक्रिय रहेन, उत्तेजना देखाएन, मेरो भित्री इच्छा पूरा गरिदिएन ।
त्यसपछि मैले सोचें – नबोली आफैं अघि सर्नु पर्यो । मेरो पालो उसको हात अलिकति भित्र सारिदिएँ । अनि मेरो हात उसको पेन्टतिर राखिदिएँ । उसको हात मैले सुमसुम्याएँ । मेरो औंलाभित्र उसको औँला दलेँ । आफैंले उसको हात चुम्दै छातीमा लाएँ । मैले सोचें ऊभित्रको पुरुषत्व जाग्नेछ…। तर उसको हातका औँलाहरू भने उत्ताउला थिएनन्, शान्त थिए । मूलमा पुगेर पनि पानी पिएनन् । बरु उसको हात दाहिने डाँडाकाँडा, भर्याङ नाघ्दै ओरालो गयो । हिमाल चढेन, हिउँ पग्लेन, बादल गर्जेन, पानी परेन, धरती भिजाएन । त्यो दिन त्यतिकै भयो ।
म घर आएर सबैभन्दा पहिले कपडा नै नफेरी ओछ्यानमा पल्टेँ । सिरानी ठाडो पारेर मनमा कल्पना गरिरहेँ । आज भिन्नै अनुभूति उठेको हो । ममा नै आगो बलेको निभ्न निकै बेर लाग्यो । तर सोचें मेरो मात्र हो कि उसको पनि बलेको थियो ? ऊ त शान्त थियो । म प्यासी भएँ तर उसले प्यास मेटाइदिएन ।
ऊ अबुझ हो कि ? कि ऊ नपुंसक थियो ? तर नपुंसक त अवश्य थिएन किनभने उसको उत्तेजना महसुस गरेको थिएँ । प्रेमका अघि वासनालाई लत्त्याउने सिद्ध पुरुष हो ? बाँदरलाई फलको रूखमा लिस्नु लाइदिँदा पनि चढेर फल नटिप्ने कस्तो बाँदर थियो । आत्मा-संयम गर्ने महात्मा थियो कि ? शरीरलाई महत्त्व नदिने योगी थियो कि ?
त्यो बेला पनि उसलाई बुझ्न सकिनँ र अहिले पनि ऊ मेरो लागि पहेली जस्तै भएको छ ।
त्यसपछि म अर्कैसित मगनी बिहा गरी घरधन्दामा फसेकी छु । त्यो दिनको जस्तो तिर्खा त आफ्नै लोग्नेबाट कति कति पटक मेटिसकेको छु । अहिले म तृप्त छु, कुनै गुनासो छैन । तर कहिलेकाहीँ कल्पिन्छु – ‘ऊ कस्तो मानिस थियो ?’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।