असाध्य रमाइलो भो दुवैलाई । मालती लालसिंहसँग अनुग्रहित थिई  । उसले आर्थिक रूपमा सहयोग गरेको थियो आफ्ना बा आमालाई । गजमाने साहुको ऋणबाट मुक्त पारिदियो उसले ।

लालसिंहले जे भन्यो ऊ त्यही मान्थी । लालसिंह  उसका लागि प्राणेश्वर, पति, प्रेमी, माया सबथोक भयो । जवानीको भोकले कतिपय अवस्थामा मानिसहरू आँखा चिम्लिन्छन् र त्यसले भविष्यको बाटो अँध्यारो बनाइदिन्छ । परिबन्दले पनि कहिलेकाहीँ मान्छेलाई घेरा हाल्छ र उसले  त्यो घेराबाट उम्किन ठुलो मूल्य चुकाउनु पर्ने हुन्छ ।

प्रेम त भर्खर फक्रेर लहलहाउन थाल्यो । मालतीलाई पहिले पहिले उदास लाग्ने सिम्को डाँडो आजकल रमाइलो लाग्छ ।

सृष्टि अनुपम लागेको छ उसलाई । किनकिन घामको किरण धेरै प्यारो । कुन्नि  बास्कोटे, स्वारथोक, फेदिगाउँ, पारथोक आँखाले देखिने महरथोकदेखि भञ्ज्याङ्थोकसम्म सबै सबै यति सुरभि लागेको उसलाई ? पहिले पहिले खेतमा मेला जाँदा छक्काएर जीउमा लालसिंहले छोएको घरीघरी सम्झिन्थी र त्यो ससीम सम्झनाको ऐकान्तिक दैलो उघार्थी ऊ । अनुपम माया गर्थी लालसिंहलाई । बैँसको त्यो उत्फुल्ल अनुरागले मालतीलाई स्पर्श गरेर घायल बनाउँथ्यो ।

लालसिंहको छातीमा निर्धक्क निदाउँथी । ऊ यौनले तृप्त थी ।

मायाले उत्फुल्ल थी । उसले  पाइरहेकी थिई मायाको संसार ।

एक दिन मेलामा मालतीले लालसिंहको बारेमा नमिठो सुनी । त्यही नजाती कुराले उसलाई  त्यो दिन खिन्न लागिरह्यो । घरमा आइसकेपछि लालसिंहले बेलुकी मज्जाले अँगालोमा कस्यो र भुली   दिउँसोका यावत कुरा ।

एकदिन लालसिंहले मालतीलाई काठमाडौं सहर घुम्न लिएर जानी भन्यो । त्यस दिनदेखि मालतीको भुइँमा खुट्टा छैनन् । ऊ सपनामा रम्न थाली । मेरा पोइ त असाध्य जाती रैछन् बाफ्रे … प्रेमको जुनेली ह्वात्तै बढ्यो उसका छातीमा ।

निर्धक्क हुँदै ऊ सहर घुम्न आई । अनौठो लाग्यो सहर उसलाई ।

सहरमा एकजना आइमाई थिइन् । जसलाई उसले  फुपू भनेर चिनायो । उनीहरू केही दिन त्यही बसे । फुपूका श्रीमान् डाक्टर रे उतै भद्रुटार हस्पिटलमा कार्यरत । पछि सोधपुछ गर्दा त तिनै फुपाजुले मालतीका बाबुको परिवार नियोजन गरिदिएका रहेछन् ।

केही दिन रमाइलोसँग बित्यो । लालसिंहले  सब घुमाइदियो काठमाडौं । घण्टाघरदेखि धरहरासम्म । रानीपोखरीदेखि बुढानीलकण्ठसम्म । ऊ फुपूसँग खुबै मिल्न थाली । मालतीलाई फुपूकोमै छोडेर छिटो फर्किआउँछु भनी लालसिंह खोइ कता गयो ।  फुपूको माइती त सिन्धुपाल्चोक  थियो । खै के साइनोले उसले  ती आइमाईलाई फुपू बनायो । यो कुरो मालतीलाई खासै चासो पनि थिएन । फुपू असाध्य मिलनसार थिइन् । तिनका छोराछोरी सबै विदेश पढ्न गाका रे ! मालतीलाई केही दिनदेखि एउटा प्रश्न  सोधपुछ गर्न मन लागेको थियो ती फुपूसँग र उसले  साहस गरेर सोधी पनि  – ‘कि नियोजन गरिसके पछि पनि आइमाईले पेट बोक्न सक्छन् त फुपू ?’

फुपूले एउटै उत्तर दिई , “अह सक्तैनन्” ।  फुपू कहिलेकाहीँ मज्जाले रक्सी पिउँथिन् । फुपाजु नभएको फाइदा लिन्थिन् । रक्सी पिएसी फुपू मनको कुरा सबै खोल्थिन् । सिन्धुपाल्चोकका केटीहरू आउने जाने गर्थे फुपूकोमा । कतिलाई त जागिर लगाइदिएको छु भन्थिन् तिनले । कोसेलीपात आउँथ्यो गाउँबाट ।

मालतीका मनमा चिसो पस्यो कि आफ्नी आमाले सिङ्गो परिवारलाई धोका दिएको । त्यो कुरा मालतीले फुपूलाई सुनाई ।

फुपूको कुराले त मालतीमा निराशा छायो । फुपूले भनिन्, “तिम्री आमाको कोही अर्को पुरुषसँग माया पिरिम बसेको हुनुपर्छ नत्र अप्रेसनपछि कसरी बच्चा हुनु ?”

फुपूले यति भनिसकेपछि आमा प्रतिको विश्वास सबै खरानी भो मायाको ।

“फुपू अब म पहाड जान्न यतै तपाईंले केही काम खोज्दिनु” भनी मालतीले ।

लालसिंहले छोडेर गएको पनि एक हप्ता बित्यो । ऊ आएन सहर । म पहाडमै रमाइलो मानेर तिम्रो साथमै पो खुसी थिए त लालसिंह मलाई सहरमा किन छोडेर गएको …। मालतीलाई रातभर निद्रा परेन त्यो दिन । बिहे गरेको करिब तीन महिना बितिसकेको थियो ।

एकदिन फुपूले वीरगन्ज सम्मको गाडीको टिकट किनेर ल्याइन् र भनिन् “मालती अब तिमी र म भएर दिल्लीको व्यापार गर्ने ।”

“के व्यापार गर्ने फुपू” मालतीले सोधी ।

“तिम्रा फुपाजु औषधीको दोकान खोल्ने भन्नुहुन्छ । अब औषधिको व्यापार गर्ने हामी ।”

फुपूको कुरा सुनेपछि सहमति जनाई मालतीले ।

थानकोट काटेर बाहिर नगाकी मालतीलाई उल्का रमाइलो लाग्यो ।

थाकेर वीरगन्ज घण्टाघर नजिकैको एउटा होटेलमा बस्न पुगे उनीहरू । दिल्ली जाने त खासै केही कुरो भाथेन । मालतीलाई दिल्ली पनि जाने भनेपछि खुसी लाग्यो सब देश देख्न पाइने भो भनेर । तल काउन्टरमा दिल्ली एक्सप्रेसको दुइटा टिकट छोडेर लालसिंह निस्कियो । लालसिंह अघिल्लो डिब्बामा थियो । उनीहरू पछिल्लो डिब्बामा । पहिलो चोटि रेल देखेकी मालती दङ्ग परी । यो छुकछुके रेल भनेको यस्तो पो हुँदो रहेछ है फुपू भन्दै रमाउन थाली । रातभर मस्त निदाई । भोलिपल्ट बिहान नौ बजे उनीहरू न्यु दिल्ली रेलवे स्टेसनमा झरे । राती मस्त निदाएकीले मालतीलाई त्यस्तो केही असजिलो भएन ।

अघिल्लो डिब्बाबाट लालसिंह निस्कियो । मालतीले कतै चिन्ली कि भनेर गलबन्दीले मुख छोपेको थियो । स्टेसनबाट एउटा रिक्सा पक्रियो लालसिंहले र फुपू र मालतीले पनि अलिक पछि पछि अर्को रिक्सा पक्रिए ।

पहाडगन्ज पुग्यो रिक्सा । दुवै रिक्साको दूरीले एक अर्कालाई चिनिंदैन । हाम्रो यताको ठमेल जस्तै पहाडगन्ज टुरिस्ट एरिया हो । यहाँ बाह्रै महिना हिप्पीहरू घुम्न आउँछन् । यहाँ को आयो को आएन को कुन देशको हो कसैले कसैको चासो राख्दैनन् । यहाँ गाँजा–भाङ र अम्मलीहरूलाई सजिलो छ । टुरिस्ट एरिया भएर हो कि प्रहरीले हम्मेसि छापा पनि मार्दैन । अगाडि थियो लालसिंह चढेको रिक्सा । होटेल विनायकको काउन्टर अगाडि रोकियो । परैबाट लालसिंह त्यहाँ झरेको फुपूले हेरिरहेकी थिई । फेरि मालतीले देख्ली भनेर रिक्सा एक छिन परै रोकी । यता लालसिंहले होटेल बुक गर्यो । कुराकानी मिलायो र काउन्टरबाट अर्को होटेल “सेन्टर दिल्ली”  छिर्यो । अनि पछि  फुपू र मालती होटेल विनायक पुगे । काउन्टरबाट साँचो लिए र माथि रुममा गए ।

पाहाडगन्ज र जिबि रोड सँगै छ । होटेल पुगेर लालसिंह  फ्रेस भयो । एकजना नोयडा तिरको इन्डियन सँग दोस्ती थियो उसको ।

आजैको दिन आइपुग्छु माल लिएर भनी खबर पठाएको थियो उसले  । जिबि रोडलाई केटी  सप्लाइ गर्थ्यो त्यो इन्डियनले । लालसिंह र ऊ जिग्री । होटेल सेन्टर दिल्लीमा अघिल्लो दिन नै आएर बसेको थियो ।

“माल देख्ना चाहुँगा तो अभि” इन्डियनले भन्यो  ।

“अरे काइको चिन्ता करते हो तु माल अछा हे यार” लाले बोल्यो ।

“कोही तस्बिर हे तुमारे पास ।”

“तस्बिर क्यु माल देखो ना । रुममे जाके देखो ।”

“ओतो फुपि जी भि हे साथमे ?”

“हे तो । फुपि तो तुम्हाराही माल तो हे ! कोही चिन्ता नहि यार ।  तुतो यैसा सोच रहा है ए धन्दा पहिले बार कर रहा है । ज्यादा  नाटक मत करो यार । बुरा काम भि करते हो फिर डरते भि हो ।”

धन्दा पुरानै थियो तिनको । इन्डियन गयो होटेल विनायकमा । रुम नम्बर १०३ मा भित्र बाट चुकुल हालिएको थियो । उसले  ढोका ढकढक गर्यो । बाहिर ढोकामा सानो प्वाल थियो । उसले  एउटा आँखा सानो पारेर चिहायो भित्र । फुपू भित्र बाट आइन् र चुकुल खोलिन् । ढोका खुल्यो । इन्डियन भित्र गयो ।

फुपूले स्वागत गरिन इन्डियनलाई । उनीहरू दुवै चिरपरिचित । गफिन थाले । मालती नुहाएर आई । सफेद अनुहार र पानीले भिजेको कालो कपाल देखेर इन्डियन चकित पर्यो र खुसुक्क भन्यो फुपूलाई, “माल बहुत सुन्दर है यार क्या किमत लोगि बोलो देदुँगा  ?”

फुपू मुस्कुराई र भनी,  “दादा ! सबसे ज्यादा किमत लेलुँगी यिस्की । ए तो भर्जिन है । किसिने आजतक छुवा नह इस्को ।”

बिचरी मालतीले हिन्दी के बुझोस् । उसैको जिन्दगीको त्यहाँ मोलमोलाइ हुँदै थियो । इन्डियनले तीन लाख भारु फुपूको हातमा थमाइदियो । फुपू मक्ख परी । पैसा झोलामा हाली । अब उसको काम भनेको जिबि रोडसम्म मालतीलाई छोड्न जानू हो । नेपाली चेली जिबि रोडमा छोड्दा छोड्दा उसलाई बानी परिसकेको थियो । पर्यो भने ऊ आफै पनि  इन्डियनसँग सुतिदिन्छे ।

मालतीलाई “तिमी ढोकामा चुकुल हालेर बस । खाना ल्याइदिन्छ यहीँ खानू । हामी बाहिर बिजनेसको केही सामान किन्नु छ” भन्दै दुवै बाहिर निस्किए । थाकेर लखतरान भएकी मालती ओछ्यानमा ढल्नासाथ भुसुक्कै निदाई ।

दुवै पल्लो होटेल सेन्टर दिल्ली गए ।

लालसिंह फुपू र त्यो इन्डियन अब गफ गर्न थाले । भोलि जिबि रोडको ताज रेस्टुरेन्टमा मालतीलाई सुरुमा वेटरको काम लगाउने निर्णय भयो । एकै पटक धन्दा लगाउँदा ऊ आत्तिन सक्छे बिस्तारै टिप्सको लोभमा फस्छे र आफै वातावरण बुझ्दछे ।” लालसिंहको यो निर्णय फुपू र इन्डियनलाई पनि मन पर्यो । पहिला पनि दुइटा नेपाली केटीलाई यसरी नै बेचेको हो उसले  । एक हप्ता जति फुपू पनि बस्ने भइन् मालतीसँगै । अर्को पचास हजार भारु थपिदियो इन्डियनले उनीहरूलाई ।

त्यो इन्डियन आफै पनि स्त्री लम्पट थियो । फुपूसँग पनि सुतेको थियो पहिलापहिला आउँदा । यो पाली चाहिँ ऊ आफै चाख्नी रे मालतीको जवानीको स्वाद । फुपूले हुन्छ भनी । लालसिंहले भन्यो, “साब हमको थोडा भेटी देदो उस्के बात आपका मर्जी ।”

फुपूले थपिन्, “साढे तीन लाख भारु दिएको छ त कति दिउन् त्योभन्दा ।” डेढ लाख भारु लालसिंहको हातमा थमाइदिइन फुपूले ।

लालसिंह दङ्ग पर्यो । मध्यान्ह भयो । इन्डियनले तल काउन्टरमा खाना अर्डर गर्यो । खाना खानुभन्दा पहिले एक बोतल ह्विस्की र सेकुवा मगायो उसले । फुपूले पनि पिइन् मज्जाले त्यो दिन । उनलाई रक्सीको माद मज्जाले  लागेको थ्यो । खाना खाएर उनी पल्लो होटेलमा मालती भएको ठाउँमा गइन् । भोकै रहेकी मालतीलाई मीठो खाना खुवाएर कपाल मसारी दिई । नभएको माया देखाई ।

मालती पुलकित भई । आज निकै दिन पछि उसलाई आफ्नी आमा पाकुको याद आयो । यसै गरी मुसार्थिन सानोमा उसको कपाल पाकुले । उसले गाउँ सम्झी । गाउँसँगै परिवेश र मेलापात सम्झी ।

फुपू रक्सी पिएको कुरा मालतीलाई थाहा छ र यो पनि थाहा छ कि पिएपछि जे पनि बोल्छे फुपूले  । जे पनि कुरामा फोहोर पनि पर्छ । र केटा मान्छे पनि चाहिन्छ । आज चैं मालतीसँग गफिइरहेकी छे फुपू –

“मालती त्यो अघि आएको इन्डियन छ । त्योसँग म यो भन्दा अगाडि आउँदा दुई रात सुतेको छु बुझिस् । सत्य हो के नपत्याकी पत्या न ..तर ..तर अहिले म नसुत्ने बुझिस् । पैसावाल हो त्यो मोरो धोती । धेरै धनी छ । त सुत्छेस् ?… हँ …सुत्ने हो भने भन म भन्दिन्छु । पैसा त कति हो कति बेहिसाब छ बुझिस् । त्यस्ले तँलाई मन पराको छ । अघि मसँग कुरा गर्दै थ्यो । मैले भन्देछु त्यसलाई तँ भर्जिन केटी हो । भर्जिन भनेको बुझिनस् … हत्तेरी भर्जिन भनेको कोही पनि लोग्नेमान्छेसँग नसुतेको हो क्या । कस्तो नबुझेकी हो तैँले झुम्री । सुन त तलाईं नोकरी खोजिदिएका छन् तिनले ।

तैँले काम गरेर धेरै पैसा कमाउनु पर्छ बुझिस् । नत्र तेरो यो सुन्दरताको के काम मालती ? जसले जे भने पनि शरीरमा जवानी रहुन्जेलसम्म मात्रै हो रेछ यो दुनियाँ  । जब अनुहार चाउरी पर्न थाल्छ नि घाम अस्ताएको पहाड जस्तै हो हाम्रो गालाको छाला । कसैले हेर्दैन । पोइले पनि अन्तै आँखा लाउन थाल्छन् । हेर मलाई, जे भए नि म डाक्टरको श्रीमती हुँ तर बेकार । त्यसै खेर गो जवानी । धित नै मरेन कहिले । तेरा फुपाजु सधैं बिमारीसित । खोइ कुन्नि कान्छी पो ल्या छन् कि उतैतिर । नत्र किन त घरमा आऊ नै मान्दैनन् । तिनी पनि फुडो हुन् । खुब चाहिन्थ्यो रे केटी  म त सधैं एक्लो। सधैं तनावग्रस्त । बाँच्ने त आफ्नो जिन्दगी आफैले हो । कोही पनि दुखमा काँध दिन आउँदैन बाबै । काम ठुलो सानो हुँदैन । जे पनि गर्दा हुन्छ । यो विदेश हो । यहाँ कसैले देख्दैनन् । पैसा कमाएर उता नेपाल गएपछि सबले पुज्न थाल्छन् तँलाई बुझिस् । मन दरो बना  ।

तेरो गाउँमा बाबा आमाले धेरै दुख पाछन् । धेरै मिहनत गर्नुपर्छ बुझिस् । त्यो इन्डियनले तँलाई जागिर खान दुई महिनाको एडभान्स स्यालरी दिएका छन् । ला ली मालती ।”

फुपूले बीस हजार भारु पैसा मालतीको हातमा  राख्दी  ।

जिन्दगीमा पहिलो चोटि यति धेरै पैसा देखी मालतीले । फुपूको कुरा सुनिरही केही बोलिन  । गाउँमा बा–आमा र भाइ–बैनीको दुख सम्झिँदा जागिर खाऊँ जस्तो लाग्यो उसलाई । फुपूले दिएको पैसा हातमा समाई । उसलाई बिहे गरेर ल्याएको लोग्ने लालसिंहलाई सम्झी यति बेला । सहर ल्याएर छोडेर हिँड्नु भो कहाँ हुनुहुन्छ खै ? गाउँ गए पनि त कमसेकम मलाई भन्नुपर्थ्यो नि  । कति कठोर मन रैछ तिनको । आज पहिलो चोटि मालतीको मन कुँडियो लालसिंहको व्यवहारसँग ।

बेमानी हुनुभन्दा त वेश्या हुनु ठिक । भोकै बस्दा म मर्न सक्छु तर वेश्या बन्दा त मर्दिनँ । यो पनि त एउटा कर्म नै होला । के हो खराब के हो असल ? म वेश्या बन्दा कसैको लागि ठिक हुन्छु कसैका लागि खराब हुन्छु । समय स्थान र मान्छेको सोचअनुसार एउटै काम कसैलाई राम्रो कसैलाई नराम्रो हुन्छ भने सत्य चैं के हो त ? म सत्य हुँ । नभएका सुख र खुसी असत्य हुन् । यति बुझें ।

आमाबाबुको आँसु भन्दा मेरो अस्मिता ठुलो होइन । भाइबहिनीको भविष्य भन्दा मेरो शरीर महत्त्व होइन । साहुको बचनको करौँतीले ध्वस्त भएको बुढो बाउको छातीको जलन भन्दा मेरो जवानी महत्त्वपूर्ण होइन । म बाचुँला तर कसरी भोकले मरेको हेर्नू मेरो परिवार ? जेठी छोरी म, कलेजा तिनको । मुटुको छेवै भएर बहने धमनीको धकधक । देखे जगत देखें र भोगें पनि लोग्नेको तातो माया । अहिले थाहा भयो, त्यो छल थियो । अहिले वेश्यालयमा बेचिंदै छु । मलाई फकाउँदै छिन् यी फुपू ।

मैले यिनीहरूको आग्रह नमानेर विद्रोह गरे भने यिनका पनि दिन सकिन्छन् । म हेर्छु यिनले कति पाप गर्दी रैछिन् । म सुतिदिन्छु त्यो ईन्डियनसँग । के फरक छ र त्यो इन्डियन र मेरो लोग्ने लालसिंह ? उही रगत र मांसपिन्ड । उस्तै तातो जवानी । उस्तै अहन्कार । उस्तै अभिमान । उस्तै निर्जीवता । उहि घात, कोमलतालाइ घोच्ने सुइरो । म त हिजैदेखि मर्दै र ब्युझिंदै आएकी लज्जावती झार । कोही कुल्चिछन् । म मरे जस्तो गर्छु । एक छिन र आफै ब्युँझन्छु फेरि । किनकि म मरेको छैन । बुहारी झार जस्तै छु म । कसैलाई कुल्चिनुमा आनन्द आउँछ । फेरि फेरि लत्रिएर उठ्छे बुहारी झार ऊ मर्दिन । झुकेकी मात्रै पो हो । म मर्दिन यतिकै । केही गरेर मर्नु छ । आमाको सुत्केरी अझै वासना आउँदै होला तिनले घाँस बोक्ने डोकोमा । बालाई अझै हप्काउँदै होलान् मेलामा । कुरा काट्तै होलान् मेरो गरिब बाआमाको गाउँलेले । आमालाई काख दिएकी धरतीले मलाई पनि काख दिन सक्थिन् ।  छलिएँ । मलाई भोग्नुछ । मैले तिर्नु छ पूर्वजन्मको ऋण । पिठो पैँचो नपत्याउनेकी छोरी हुँ म । समाज यति बिघ्न निर्दयी छ । त्यो भोग्नेलाई थाहा हुन्छ । समयले लात मारेको छ जिन्दगीमा ।

विद्रोही छु । कहिलेकाहीँ आफैलाई भत्काउनु मन लाग्छ  । कहिलेकाहीँ आफैलाई केस्रा केस्रा केलाएर नङ्ग्याउन मन लाग्छ । सत्यको त्यो रहस्यमयी पर्दा उघार्न मन लाग्छ ।

खै आज के भयो मालतीलाई ऊ भित्रभित्र आज विद्रोह जागेको छ । उसको सोचाइको प्रकम्पन बढेको छ । फुपूले आफूबाट केही कुरा लुकाए जस्तो लागिरहेछ उसलाई ।

फुपूले रक्सी पिएको बेलामा सत्य कुरा बोल्छिन् । सतत सत्यलाई पनि बाहिर आउन आखिर रक्सीकै सहारा चाहिने रहेछ । फुपूले दिएको बीस हजार आफ्नो ब्यागमा राखी र दुई हजार भारु लिएर बाहिर रक्सी किन्न गै फुपूलाई पिलाउन । तल होटेल छेवैमा रक्सी दोकान थियो । हिजो देखेथी तर अहिले बन्द थ्यो । दोकान चहार्दै जाँदा उसले  अलिक पर लालसिंह र त्यो इन्डियन गफ गर्दै आइरहेको देखी ।

लालसिंह देखेपछि उसको मुटु फुटे जस्तो भो । भक्कानिएर रोई । उसलाई वरिपरिका सबै घरहरू हल्लिए जस्तो लाग्यो । सम्झी उसले  धान काट्न मेला जाँदा गाउँलेले उसको कुरा काटेको । उसले  आफ्नो लोग्ने विरुद्धको आवाज सुन्न नपरोस् भनी कान थुनेकी थिई । “लालसिंहले  केटीलाई बिहे गर्दै बम्बई बेचेर आउँछ” भन्ने कुरा । तर उसले  पत्याएकी थिइनँ । पहाडगन्जको एउटा गल्लीमा देखी आज । केही बोलिन । उनीहरूले मालतीलाई देखेनन् । मालती आफू बसेको होटेलको काउन्टरमा गै र दुई हजार भारु देखाउँदै भनी , “मलाई एक बोतल रक्सी देऊ न भाइ” होटेलको ब्वाइ एक्छिन बाहिर निस्कियो । र एक बोतल मिर्नोभ भोड्का लिएर आयो र दियो । सिर्फ ३०० भारु मात्रै लियो उसले । फुपू सुतिरहेकी थिइन । बोतल देखाइ उसले  । “फुपू रक्सी पिउने होइन” फुपू चकित परिन् । उसले  लालसिंह र त्यो इन्डियनलाई बाहिर सडकमा देखेको कुरा केही भनिन । चुपचापले बसी । मालती भित्र अधैर्यताको बाध भत्किएको छ तर सम्हालेकी छे । जे कुराको पनि समय आउँछ भन्थी ऊ ।

गिलासमा रक्सी हालिदिई । सितन खसीको मासु आफै तल गएर ल्याई । फुपूलाई मज्जाले लाग्यो । मालतीलाई थाहा छ रक्सी र केटा फुपूको कमजोरी हो । आधा बोतल रक्सी पिएपछि फुपू बोल्न थालिन्, “मालती तैँले मलाई पुरै जड्या बनाइस् होइ…तर तर जे भनेपनि तँ मेरी छोरी साथी । सबै सबै सबै तै हो क्या मलाई लाग्या छैन । लाग्यो भन्ठानेको … साला… त्यो ..धोती पैसाबाल छ क्या । तर… छोड त्यसको ‍… पैसाले हाम्लाई के गर्छ होइ…”

मालतीले यही मौकामा सोधी, “फुपू हामी यहाँ दिल्ली के कामले आएका ? कहिले फर्किने नेपाल भन्नु न ।”

“चिन्ता नगर । मसँगै लिएर जान्छु तँलाई । त्यो साले लालसिंहेले तँलाई बेच्न ल्याएको यहाँ । बेच्यो तँलाई, बेच्यो, बेचिसक्यो तीन लाख पचास हजार भारुमा बुझिस्, मालती ! अहिले मैले पिइरहेको यो रक्सी र मासु छ नि । तँलाई बेचेको पैसा हो मालती… म क्षति पापिनी है । साला त्यो डाक्टर नपुंसक छ त्यसले मलाई माया गर्न सक्तैन । यो लाले ठिक छ बरु भोटे भएर हुन्छ र बुद्धि हुनुपर्छ बुद्धि । बुद्धि बाहुनको जस्तै लालेको बुझिस् ।

म..म.. कस्तो अपराधीनी है आफ्नै छोरीचेली बेचेको पैसाले रक्सी र मासु खाने, थुक्क म ! सुँघुरनी म ! पातर्नी म ! वेश्या म ! कुलटा, अधर्मी, भोग्या, सीता जस्ती तँ सोझीलाई बहाना बाजि गरेर बेचेँ । म पनि त नारी नै हुँ नि । मैले बुझ्नुपर्थ्यो तेरो पीडा तर बेच्न ल्याएँ । चिन्ता नगर अलिक समय काम गर अनि फर्की नेपाल म छँ दै छु नि तेरो …. ।”

मालतीको हृदय धुजाधुजा भै फाट्न थाल्यो । आँखाबाट आँसु होइन रगतको थोपा चुहिन थाल्यो । आज बल्ल उसलाई थाहा भो

बेमानीहरूको जुठो र झुटो सपनाहरूले कसरी आक्रमण गरेको छ मेरो सुन्दर शान्त नेपाललाई ..। मालतीको मनमा विद्रोहको राँको सल्कियो । बल्न थाल्यो ह्वारह्वारती । यो ज्वालामा अब जति पानी खन्याए पनि ननिभ्ने भो । ऊ पल्लो होटेलमा गै । लालसिंहलाई घिसारेर ल्याइ  फुपूकोमा । लालसिंह पनि रक्सीको नसामा थियो । दुवैलाई एक ठाउँमा राखी र भनी, “भन कति पैसामा बेचेको मलाई त्यो पैसा सबै निकाल्छौ कि अहिले पुलिसकोमा जाऊँ म । दुवै आत्तिए । मालतीको अनुहारबाट विद्रोहको ज्वाला हुरहुरती दन्किरहेको थियो ।

“म इन्डियनलाई बोलाएर ल्याउँछु” भन्दै थियो लालसिंह । मालतीले जान रोकी ।

झिसमिसे नहुँदै आफूलाई बेचेको पैसा आफैले लिएर ती दुईलाई बाहिरबाट ताल्चा मार्दिएर मालती दिल्ली  सेन्टर रेलवे स्टेसन पुगी । दिल्लीबाट फर्किएको ४ औं दिनको दिन ऊ आफ्नो गाउँ फर्की ।

आउँदा प्रहरी चौकीमा फुपू र लालसिंह विरुद्धमा चेलीबेटी बेचबिखन विरुद्धमा जाहेरी दिई । घरमा आई । बाआमाको ऋण तिरी । बैनीहरूलाई स्कुलमा भर्ना गरी । र आफै पनि स्कुल भर्ना भै । एउटा सानो खेत किनी । त्यो परिवारलाई सुसभ्य सुरक्षित बनाई । गाउँले सँग आँखा जुधाएर कुरा गर्न सक्ने भै ऊ ।

मालती पार्थोक गाउँको दियालो भै । गाउँलेले केही नयाँ काम गर्दा अब उसैसँग सल्लाह लिने भए  ।