जीवनको लामो बाटो पार गरेपछि छपन्न वर्षको सिँढीमा मैले चिसो र कटुपन अनुभव गरिरहेछु । कत्रो दुर्भाग्य मेरा लागि !

फूलबारीतिर फर्केको झ्यालनजिकै चकटीमा बसेर तमाखु खाइरहेछु जो भर्खरै बुहारीले भरेर ल्याइदिएकी थिइन् । डेढ वर्ष पहिले फूलबारीभरि सुन्तला, केरा, आरु र अम्बाका बोटहरू, गुलाफ, सयपत्री र अरू अनेकौं फूलहरू सजिसजाउ थिए । घरको अगाडि पछाडि हरिया पातहरू झाँगिएका थिए । सम्पूर्ण रूपमा मेरो घर वनकुञ्जको बीचमा हरियैहरिया पातहरूले ढाकिएको विशाल वृक्षझैं लाग्थ्यो । यी सुन्दर फूलहरूको बोट र फलफूलहरूको बोट उमार्न र हुर्काउन मेरो छोरा सुदीपले कति मेहनत गरेको थियो । बिहानै उठेर बगैंचामा जान्थ्यो, कहिले फलफूलको बोटछेउ उम्रेका झारहरू उखेलेर गोडगाड गर्थ्यो त कहिले फूलको बोटमा कलमी लाउँथ्यो । कति माया र सोख थियो यो फूलबारीको ? कति सम्भार र । हेरचाह गर्थ्यो यो फूलबारी ?

कठै ! आज कसले त्यसरी फूलबारीको स्याहारसम्भार गरोस् ? बुहारीलाई के भन्ने ? एक दिन सुन्तलाको बोटमुनि रोइरहेकी देखेको थिएँ, त्यो देख्दा मेरो मन आकुलव्याकुल भएको थियो । आज फूलबारी आमा मरेको टुहुरो बच्चाजस्तै देखिन्छ, बुहारीको उदास चेहरा, शोकमग्न जुलुसझैं देखिन्छ । मेरो कलिलो एक्लो छोराको अकाल मृत्युले बगैंचाको सुन्दरता, मेरो बुढयौलीको सपना, बुहारीको भरभराउँदो यौवन खोसेर विशाल दुःखको सागरमा डुबाइदिएको छ । एउटा सुन्दर सानो संसारको अस्तित्व विनष्ट गरिदिएको छ ।

बिहे भएको एक वर्षपछि सत्र वर्षको उमेरमा बुहारी विधवा भइन् । उफ् । कति सोचिनसक्नु र हेरिनसक्नु कुरा ? सौम्य, शान्त, शालीन मेरी बुहारीको उदासीनता, मौनता र गम्भीरताले मलाई सधैँ आगोको ज्वालामा फ्याँकिदिन्छ र जिउनुको अधिकारबाट वञ्चित गरिदिएझैं लाग्छ। हुन त छोराको मृत्युपछि मैले सूर्यको उज्यालो देखिनँ- सम्पूर्ण उज्यालाहरू मेरो क्षितिजबाट विलुप्त भएर गए ।

सम्झन्छु, मेरी चन्द्रमाजस्ती बुहारी निधारमा रातो टीका लगाउँदा कति झरझराउँदी देखिन्थिन् । गलामा मङ्गलसूत्र राखेको रातो पोतेको माला लरक्क लगाउँदा खेतको फाँटमा इन्द्रेनी लर्केको झैं लाग्थ्यो । उनले हातभरि लगाएका राता टल्कने चुरा छनन्न बज्दा मीठो सङ्गीत सुनिन्थ्यो । छोराबुहारी घुम्न जाँदा कति रहरलाग्दा देखिन्थे । कति सुख र मनमोहक दिनहरू थिए ती ? आज त्यो रूप बुहारीको कहाँ देख्न पाऊँ ? त्यो दिन कहाँ हेर्न पाऊँ ? कहिलेकाहीँ मनमा शङ्का लाग्छ, के साँच्चै मलाई सदाका लागि ती सुखहरूले त्यागेर गए त ? के अब कहिल्यै फर्कन्नन् ती रमाइला क्षणहरू ? वास्तवमा मृत्युले सोहरेर लगे सबै सुखानुभूतिहरू, हामीलाई काटिएको रूख पारेर हाम्रा खुसीका दिनहरू सदाका लागि हाम्रो सँघारबाट गइदिए । मृत्युले यतिसम्म पनि घनघोर अत्याचार गर्दो रहेछ । कति निष्ठुर मृत्यु ! महानिष्ठुर मृत्यु !!

बुहारीले चिया ल्याउँछिन् कोठामा । उनको अटुट सेवा ! राम्ररी बुहारीको मुख हेर्न नसकेको डेढ वर्ष जति भयो। जब उनको मुख देख्छु छोराको बीभत्स मृत्यु सलबलाएको देख्छु । चट्याङ परेर एक मात्रा औषधी खान नपाई मरेको सम्झँदा ऊ अझै मरेको छैन जस्तो लाग्छ । रोग लागेर औषधी गर्दागर्दै मरेको भए पनि चित्त बुझाउन सक्थें । यत्रो सम्पत्ति भएर पनि मेरो छोरालाई एक मात्रा औषधी खुवाउन पाइनँ, बुहारीलाई देख्छु, कलकल बग्ने नदी सुकेको बगर जस्ती, उराठउराठ सेता बादलको थुप्रो जस्ती, बाढीले सोतर पारेको धानबालीजस्ती, कतिपल्ट उनी मेरो अगाडि रुँदा स्वयम् उनलाई सम्झाउन नसकेर मुर्छा परेको छु । कतिपल्ट राति उनी कहालिएर रोएको सुन्दा म आफैँ रोएको छ ।

मेरी स्वास्नी छोरा पाउनासाथ साल नझरेर मरेकी थिइन् । यही छोराका लागि अर्को बिहे नगर्ने प्रण गरें, त्यो प्रण हाम्रो अत्यन्त गहिरो प्रेमको त्याग थियो । कति जनाले अर्को बिहे गर्न सम्झाए, बुझाए तर म आफ्नो प्रणमा अटल भएँ । छोराको सन्तान भएको भए पनि मन भुल्थ्यो होला । के अब यो घरमा म, बुहारी र नोकर मात्र ? के यसरी जीवन यापन गर्न सम्भव होला ? मनमा चिन्ता, चिन्तन अनि असम्भवको नदी बगिदिन्छन् । मनको एक छेउ बोल्छ, म त बूढो भइसकेँ । मेरो कोठाको अगरबत्ती सदाका लागि निभिसकेको छ । अब कहाँ बल्न सक्छ मेरो अगरबत्ती ? कहाँ छ अब मेरो मीठो अनुभूति ? कुन अनुभूतिलाई म रङ्गाऊँ ? के बुहारीको जिन्दगीलाई यसै गरेर रहन दिऊँ ? मान्छेका चाहनाहरूले नै मान्छेलाई धज्जी उडाउँदा रहेछन् ।

छोरा मरेपछि दिदीले भन्नुभएको कुरा सम्झन्छु । उहाँले भन्नुभएको थियो- “तिम्री बुहारी त अलच्छिना पोइ टोकुवी रहिछन् । एउटै छोरालाई पनि खाइदिइन् ।”

ओ… हो कत्रो अपवाद र लाञ्छना मेरी छोरीजस्ती बुहारीमाथि । कत्रो अविवेकी भर्त्सना ? मैले सपनामा पनि नचिताएको कुरा दिदीले भन्नुभयो । मेरी स्वास्नी मर्दा मलाई स्वास्नी टोकुवा भन्न नसक्नेले बुहारीलाई पोइ टोकुवी भन्न सक्नु । सहन सकिनँ मैले ।

“उसो भए म पनि स्वास्नी टोकुवा हुनुपर्ने हो ! खै । स्वास्नी मर्दा मलाई तपाईंले स्वास्नी टोकुवा भन्नुपर्ने तर तपाईंको मुखबाट सुनिनँ । यस्ता लाञ्छना मेरी बुहारीमाथि नलगाउनुस् । छोरा मर्नुमा उनको के दोष ?” भनेको थिएँ मैले । मेरो कुरा सुनेर दिदी जिल्ल परेर फर्किनु- भएको थियो ।

बिहानीको घामले निकै पाइला सारिसकेको रहेछ। “बुबा । भान्सा तयार भयो ।” बुहारीको मायालु स्वरले म झसङ्ग हुन्छ ।

लाग्छ, उनी मेरी छोरी हुन् । आफ्नै बाबुलाई बोलाएजस्तै लाग्छ । कति माया र सेवा गर्छिन् मेरो । बल्ल-बल्ल खाना खाएर आउँछु । बुहारी फेरि तमाखु भरेर ल्याउँछिन् । म तमाखु गुड-गुडाउन थाल्छु । ‘छोरी’ भनेर बोलाउन मन लाग्छ । ‘दुलही’ शब्द मेरा लागि पराई र बोझ बन्छ तर छोरी भनेर बोलाउन सक्तिनँ । आफूलाई धिक्कार्छु ।

एक जना मान्छे बिहेको निम्तो कार्ड लिएर आउँछ । कार्ड हेर्छु, ‘चुल्है निम्तो’ मेरो साथीको छोरीको बिहे रहेछ ।

केही दिनपछि म र बुहारी बिहेमा जान्छौं । बुहारीका रङ्गीचङ्गी साथीहरूको अगाडि मेरी बुहारीको उराठ र मायालाग्दो अनुहारले मलाई जोरदार हावाको झोक्काले पल्टाउला जस्तो गर्छ । म आफूलाई सकेसम्म थाम्छु । तर सक्तिनँ। मूर्दातुल्य फाँट मेरो अगाडि बढ्दै जान्छ । मरुभूमिको बालुवाभित्र पुरिएको अनुभव गर्छु । यस्तैमा उनका साथीहरू लाखापाखा लाग्छन् । एउटा नौजवान सुन्दर ठिटो मेरो बुहारीको बगलकै कुर्सीमा बसेर खाना खाइरहेछ, कुराकानी गरिरहेछ । गम्भीर मुद्रा देखिन्छ दुवैको । म उनीहरूको आँखा छलेर पाल पछाडि गएर कुरा सुन्न कान चनाखो गर्छु ।

“रजनी ! तिमीले समाज, धर्म र संस्कारसँग सङ्घर्ष गर्ने आँट मात्र गर, म तिमीलाई कुनै पनि बेला स्विकार्न तयार छु । यति अमूल्य जिन्दगीलाई बरबाद गर्ने तिमीलाई अधिकार छैन । तिमी आफैं विचार गर ।”

“म के गरूँ ?” त्यसपछि बुहारीको शब्द सुन्दिन । दुवै जनाको कुराले मलाई बिच्छीले टोकेको जस्तो हुन्छ । रिसले चारैतर्फ अन्धकार देख्छु । वेगले आउन लागेका आँसु बलले रोक्छु । मेरो छोरा बाँचेको भए उसले त्यस्तो कुरा गर्न हिम्मत गर्न सक्थ्यो ? मेरी बुहारी कमजोर नभएकी भए त्यस्तो कुरा गर्न सक्थी ? के मेरो यो अपमान होइन ? मलाई विश्वास लाग्छ, त्यो केटाले सरासर मेरो र मेरा छोराको अपमान गरेको हो । बदमास, हराम साले बरबराउन थाल्छु । मेरी बुहारीको जीवनसँग खेलबाड गर्न चाहनेको धज्जी उडाइदिन चाहन्छु । अझ स्विकार्ने रे ? कसरी स्विकार्न सक्छ हेरूँ ताकत ? ‘म के गरूँ ?’ भन्ने बुहारीको शब्दले म आफूलाई चिहानमा पुरिएको जस्तो ठान्छु । वास्तवमा उनलाई पनि विधवा भएर बस्ने मन छैन । मलाई विश्वास लाग्छ, नत्र भने किन त्यस्तो शब्द निकाल्थिन् ? सोच्छु, मेरो र छोराको इज्जतलाई पतित बनाउँदै छिन् । उनलाई छोरी जस्तो माया गरेको के सार भयो ? जताततै कालो रङ्ग पोतिएको देख्छु । त्यो केटालाई हपार्न उसको अगाडि जान खोज्छु । अचानक म अघि बढ्न सक्तिनँ, कताकता त्यो केटाको अनुहारमा मेरो छोरा मुस्कुराएको देख्छु ।

“बुबा ! अबेर भइसक्यो घर फर्कौं ।”

बुहारीको उही मायालु स्वरले उर्लेको नदी घाम लागेर साम्य भएझैं मेरो मनभरि उर्लेको रिस साम्य हुन्छ । उनको निर्दोष अनुहारले मेरो सम्पूर्ण रिस खोसिदिन्छ । हामी सँगै घर फर्कन्छौं । मलाई बुहारीसँग त्यो केटाको विषयमा सोध्न मन लाग्छ र सोध्छु ।

“दुलही ! आज भोजमा तिमीसँग कुरा गर्ने केटा को हो ?”

“मेरो साथीको दाजु जगदीश हुनुहुन्छ ।”

बुहारी राती भएर कोठामा पस्न खोज्छिन् ।

“कहाँ काम गर्छ उसले ?” मेरो दोस्रो प्रश्नले कोठाभित्र जान सक्तिनन् ।

“युनिभर्सिटीमा पढाउनुहुन्छ ।” छोटो उत्तर दिन्छिन् ।

“मलाई त मेरो छोराजस्तै लाग्यो ।” खुसी व्यक्त गर्छु । बुहारीले केही भनिनन् तर उनको अनुहारमा केही लालिमा छाएको थियो ।

कोठाको पलङमा सुत्दै सोच्छु, वास्तवमा त्यो केटाले मेरी बुहारीप्रति दर्साएको माया, सहानुभूति र स्विकार्ने कुरा उचित हो त ? मेरी झरझराउँदी झरनाजस्ती नवयौवना बुहारीको जीवनलाई सधैँ अँध्यारो द्वीप बनाइदिनु के मेरो कर्तव्य हो त ? के म बुहारीको सुकेको जीवनलाई हरियो बनाइदिन समाज, धर्म, परम्परा, पुराना कुरीतिहरूसँग सङ्घर्ष गर्न सक्तिन ? मेरो छोरा मरेर जान्छ त बुहारीलाई जीवनमा पहेँलो पात बनाएर राख्नु न्यायोचित हो त ? मेरो छोरा जस्तो लाग्यो भन्दा उनको मुख उज्यालो भएको पनि देखें । मेरो उमेर त ढलिसक्यो । मेरा इच्छाहरू मरिसके। तर बुहारीका सबै भिजेका आँखा र यौवनले केही खोजेझैं लाग्छ । यो सोच्दा मेरो हृदयका कलिला भागहरू छन् नरम हुँदै जान्छन् ।

के गर्ने के नगर्ने द्वन्द्वमा टुक्रिन थाल्छु । सम्पूर्ण सहारा बुहारीको म नै छु । उनका आमा, बा कोही छैनन् । फेरि सोच्छु, अरूले के भन्लान् ? कतिले थुक्लान् ? होइन, मैले विश्वास गुमाउनु हुँदैन । कति तरुनी विधवाहरू भित्रभित्र सर्छन्, पोइल जान्छन्, बदमास हुन्छन् । असल इमानदार लोग्ने, छोराछोरी छोडेर पोइल जानु अपराध हो भने विधवाहरू जीवनभर विधवा भएर बस्नु महाअपराध हो । मलाई लाग्छ, म आफैँले मेरी बुहारीका मीठा इच्छाहरूको हत्या गर्दै छु ।

मेरो झ्यालको कपचराबाट जूनको किरण सर्लक्क छरिन्छ मेरो बिछ्यौनामा । जून अँध्यारोसँग सङ्घर्ष गर्दै आएको छ । मेरी जूनजस्ती बुहारीले पनि अँध्यारोसँग सङ्घर्ष गर्न सक्नुपर्छ र मैले पनि सक्नुपर्छ । सोच्छु, मेरी बुहारीलाई त्यो केटासँग सुम्पिदिन पाए कस्तो हुन्थ्यो होला ? मन खुसीले भरिन्छ । अतीतका मेरा स्वप्निल आकाङ्क्षाहरू बीउ बनेर मेरो पोल्टाभरि छरिन थाल्छन् । म त्यो केटालाई मन पराउन थाल्छु । साँच्चै, ऊ अब मेरो छोरोजस्तै लाग्न थाल्छ । मेरी बुहारीको योग्य वर । हृदयको सानो ढोका उँघेर हर्षको नदी बगेर जान्छ ।

भोलिपल्ट बिहान मेरो एक जना साथी मकहाँ आउँछ । ऊसँग सबै कुरा पोख्न मन लाग्छ । सल्लाह माग्न मन लाग्छ ।

“तिमी आयौ ? बेसै गर्यौ । एउटा कुरामा सल्लाह गर्नु थियो ।” विस्तारै म भन्छु ।

“के कुरा हो र मसँग सल्लाह माग्ने ? तिमी त आफ्नै विचारमा बग्ने मान्छे, अर्काको सल्लाह कहाँ मान्छौ र ?” खिसी गरेझैं गरेर उसले भन्छ ।

“छोड यी कुराहरू, म मर्नुपर्ने बेलामा छोरा मरिदियो । के गरूँ ? तर भर्खरकी बुहारीको जिन्दगीलाई बरबाद गरिदिन चाहन्नँ । मैले आजसम्म छोरीजस्तै सम्झेको छु । एउटा योग्य केटासँग बिहे गरिदिने इच्छा छ । तिमी के भन्छौ ?”

“ओ… हो… के कुरा गरेको तिमीले ? कतै सिल्ली त भएको छैनौ ? कुन संसारको इतिहासमा ससुराले विधवा बुहारीको अरू केटासँग बिहे गरिदिएको कुरा पढेका छौ ? कहाँ सुनेका छौ ? तिमीलाई धर्म, संस्कार, समाजको डर छैन ? कति तरुनी विधवाहरू लोग्नेको सतमा बसेका देखेको छु ? के तिम्री बुहारी बस्न सक्तिनन् ? म त सल्लाह दिन सक्तिनँ ।”

साथीको जोसिलो विरोधको कुराले म विषयलाई विषयान्तर गर्छु ।

साथी घर फर्केपछि मेरो मनमा झन् विद्रोह मच्चिन्छ । मेरी कान्छीआमालाई सम्झन्छु जो सानैमा विधवा भएकी थिइन् । तरुनी भएपछि जेठाजुको पेट बोकिन् । समाजको डरले गर्भपतन गर्ने औषधी खाँदा मरेकी थिइन् । कतिले उनलाई थुके, बदनाम र अपमान गरे, मेरी बुहारी पनि कतै त्यस्तै भइन् भने… म सोच्न पनि सक्तिनँ । प्राकृतिक इच्छालाई सबैमा रोक्ने शक्ति कहाँ हुन्छ र ?

बारम्बार त्यो केटाले भनेका शब्दहरूले मनलाई आत्मीयता र हर्षको डोरीले बाँधिदिन्छ । सम्पूर्ण जलन र पीडाको लहरा मेरो जीवनबाट टुटेको अनुभव गर्छु । उदारताको सोपानमा चढ्दै बुहारीको सुन्दर भविष्यको रूपरेखा बनाउन थाल्छु मनमनै । मलाई लाग्छ, मेरो निर्णयलाई मेरो कोठाका झ्याल, ढोका, भित्ता र सम्पूर्ण निर्जीव वस्तुहरूले स्वागत गरेका छन् । रोकिदिने पहाड पनि समतल मैदान भएर पसारिएको छ । काँडाहरू गुलाफको फूल भएर बर्सिरहेछन् । बुहारीको जीवननौका त्यही केटालाई सुम्पने प्रण गर्छु ।

जुन नौका कुनै पनि बेला ढुङ्गामा ठक्कर खाएर डुब्ने सम्भावना थियो । मेरा हराएका इन्द्रेणीहरू फेरि चम्केका देख्छु । नयाँ सुनौला आकाश छ्याङ्ग भएको देख्छु । फूलबारीतिर आँखा लगाउँछु । गुलाफका बोटहरूमुनि झाङ उम्रेका रहेछन् । आज मलाई फूलबारीमा गएर गुलाफका बोटमुनिका झाङहरू गोड्न मन लाग्यो । सम्झन्छु, अतीतका कुरा रातो गुलाफ कपालमा सिउरेर बुहारी छोरासँग घुम्न जान्थिन् । बुहारीलाई रातो गुलाफ साह्रै मन पर्थ्यो । म दगुर्दै फूलबारी जान्छु, सानो हँसिया, कोदाली लिएर । रातो गुलाफका बोटमुनिका झाङहरू सबै फाल्छु ।

कल्पना गर्छु, एउटा रङ्गिन, महान् र सुखद दिनको- जुन दिनमा यो रातो गुलाफ फक्रिएपछि मेरी बुहारीको कालो कपालमा सिउरेर त्यो जवान केटाको हातमा मेरी बुहारीको हात थमाउन सकूँ। आ… हा… त्यो दिन कहिले आउला ? नाति-नातिनीहरू देख्ने मेरा सपनाहरू, जो मरिसकेका थिए, सलबलाएर मेरा आँखाअगाडि झुम्मिन्छन् ।

म प्रतीक्षाका क्षण आतुरीका साथ गनिरहन्छु, जसका लागि पहिलो कदम मैले नै चाल्नुपर्छ । म आजै गएर त्यो केटासँग कुरा गर्नेछु ।

पूर्वको लालिमा आकाशको विशाल फाँटमा फैलिँदै जान्छ । असीम हर्षोल्लासको क्षितिज मेरा आँखाअगाडि उद्घाटित हुन्छ । म विभोर भएर हेरिरहन्छु ।

(भागीरथी श्रेष्ठको कवितास‌ंग्रह ‘क्रमशः’बाट)