यो एउटा चिसो सर्दी यामको साँझ थियो ।
कुनै सङ्गीतमय गल्लीमा हल्लीहल्ली हिँड्दै गरेको एकलकाँटे तन्नेरी होस् या युगीन जोडी । या, छुट्टी मनाउन झरेका पाका दम्पती ! या, टुर अथवा ट्रेकिङ हान्न बरालिएका एक झुण्ड अल्लारेहरू ! ती सवैका लागि एउटै परिवेशले जटा फिजाउँदै आफ्नो जवानी उसैगरी सुम्पिए जस्तै ! जसरी एउटी तरुनीले आफ्नो बैँसको जादु ओछ्याउने गर्दछे । कसका लागि ?
कुनै आगन्तुकको आनन्दका लागि !
अपरिचितहरूका मनोरञ्जनका खातिर !
तर केवल एउटा हृदयले त्यो संगीतमय गल्लीमा संगीतमय हावाको स्पर्शले रोमाञ्चित हुँदै फोक्सोभरि आश्चर्यजनक जादुहरू निलेको थियो । अनि आह्लादित भएको थियो उसको आत्माका प्रत्येक कणहरू !
उसले धेरै पछि यस्तै महसुस गरेको थियो ।
कहाँ ?
कुनै सङ्गीतमय युरोपका गल्लीहरूमा होइन । एउटा निर्जीव र मृत यौवन बिसाइरहेको रुखो गल्लीमा ! त्यहाँ केवल एउटा बतास काफी थियो ।
उसले उच्चारण गर्न चाहेन । तर दबाइराखेको ओठको कुनाबाट फुस्स फुस्कियो । रोमाञ्च र भय जस्तो मिसिएको जिङ्ग्रिङ्ग शरीर कप्कपाउँदै उसले भन्यो, ‘यो कस्तो म्युजिकल बतास चलेछ ?’
‘के भन्यौ रे ?’ उसको साथीले सोध्यो ।
‘कस्तो म्युजिकल हावा !’
सायद, उसको साथीले उसको कुरा फिटिक्कै बुझेन ।
‘आज अलि चिसो बढेको हो ?’ साथीले सोध्यो ।
ऊ म्युजिकल विण्डको आनन्दमा हराइरहेको थियो, ‘वाह ! कस्तो संगीतमय आनन्द !’
उसका लागि एउटा बेजोड अन्तर-आनन्दको सजीव दृश्य आज घट्न पुगेको थियो । हावा जस्तै संगीत पनि नाच्दो रै छ । कस्तो अचम्म ! सङ्गीतले आफ्नो ध्वनि बढाउँदै लाँदा हावाले आफ्नो रफ्तार बढाउँदै लाने ! उसको अन्तर-आनन्दलाई सिरिङ्ग बनाउने सिरेटो थियो त्यो । ऊ स्मृतिको गर्भमा टोलाउँदै गर्दा हावा र संगीत पनि टोलाउन पुगेको थियो । सुस्त सङ्गीतमा हावाको प्रस्तुति पनि कति धिमा धिमा थियो । जस्तो की कुनै बेहोस मान्छेको नाडी चलेको होस् ! आज त्यस्तै भयो । उसले आश्चर्यजनक तवरले महसुस गर्दा उसले घोषणा गर्यो – ‘यो त सांगीतिक हावा नै हो ।’
हावाको एउटा यस्तो रूप, जो बाहिर चलेको भन्दा कैयौँ गुणा, भित्र विस्फोट गराउने गरी कुद्दछ । त्यसको कण कणमा संगीत छ । त्यसले आनन्दको बहार सिवाय अरू केही बोक्दैन । त्यसको रफ्तार सामान्य हावा भन्दा बेजोड नै छ । यो त एक संगीतमय आँधी नै हो । उसको मनले त्यस्तै भन्छ ।
‘के तिमीलाई म घर पुर्याइदिऊँ ?’ साथीलाई सोध्यो ।
‘घरसम्म त पर्दैन । मलाई सुनधारासम्म छोड्देऊ न । हुन्छ ?’
साथीलाई हेर्यो । लाग्थ्यो, घरसम्म छोड्न चाहन्छ उसले ।
‘ओहो ! कस्तो चिसो बतास चलेको !’ मोटरसाइकलको पछाडि बसेको उसको साथीले काँप्दै भन्यो ।
‘अँ । तर मलाई त आनन्द आइरहेको छ । तिमी किन सधैँ जे कुरामा पनि गुनासो मात्र गर्छौ हँ ?’
उसले अलि ठूलो स्वर पार्दै दायाँ तर्फ हेलमेट लाएको टाउको कोल्ट्याउँदै भन्यो ।
‘मतलब ?’ साथीले प्रतिक्रिया जनायो ।
‘जाडो महिनामा जाडो, गर्मी महिनामा गर्मी अनि बर्खामा पानी ! स्वाभाविक नै छ नि ! हैन र ? गर्मी भो । जाडो भो । पानी पर्यो । घाम लाग्यो, भनेर किन गुनासो गर्नु ? गुनासो नगरी यसको आनन्द मात्र लिन सकिन्न र ?’ उसले भन्यो ।
भनेको सप्पै सुनेन साथीले । तर बुझ्यो।
‘ल ! ल !’ साथीलाई झर्को लाग्यो ।
उसले त्यसपछि अरू कुरा अगाडि बढाउन चाहेन ।
ऊ फेरि आफ्नै म्युजिकल विण्डको आनन्दमा मग्न हुन थाल्यो ।
० ० ० ०
धेरै वर्षअघि, एउटा उस्तै सङ्गीतमय बतास चलेको थियो । पुष-माघकै बिहानीको चिसो सिरेटोमाझ उसका गोडा लम्किरहेका थिए । पातलो कपडाका कलेज युनिफर्ममा उसले उस्तै पातलो स्वेटर भिरेको थियो । जाडो छल्न ती पोसाकहरू काफी नै थिए, उबेला । अझ तन्नेरी उमेर थियो । कानमा एयरफोनका ठेडी उसले ठोसेको थियो । बडो रवाफिलो ढङ्गले उसले त्यति बेला चलनचल्तीको कुनै हिन्दी सिनेमाको गीत सुनेको थियो । चिसोले उसका नाक र कान हिउँ जस्ता भएका थिए । उसका परेला र आँखीभौँहरू त खुइलिएका मुजुरका प्वाँख जस्ता देखिन्थे ।
तर, उसलाई प्रवाह थिएन । ऊ व्यग्र प्रतीक्षामा थियो । आफ्नो एक मात्र प्रेयसीसँगको मिलन ! उसका आँखाहरू सेकिन लालायित थिए । कुनै राजकुमार आफ्नी हृदयकी राजकुमारीलाई भेट्न आतुर भए जस्तै थियो ऊ । अन्य दिन जस्तै नै, लगभग – मानौं ऊ कुनै दुष्यन्त हो र ऊ आफ्नी शकुन्तलालाई झाडीका पोथ्रापोथ्री पन्छाएर हेरिरहन चाहन्छ । ऊ सधैं चिया पिउने पसलको अग्रभागमा बस्थ्यो, जहाँबाट उसको आत्मा, उसलाई सबैभन्दा प्रियवर तवरले दृष्टिगोचर होस् ! ऊ यस्तै चाहन्थ्यो, सधैंसधैं !
यी त सब सामान्य चिज नै भए । उसको हृदय कम्पित गराउने त्यहाँ पनि उही सङ्गीतमय हावा नै अर्थपूर्ण थियो । सङ्गीतको बिटसँगै त्यस हावाले पनि ताल मिलाएको थियो । त्यो म्युजिकल आँधीको सुर र ताल कस्तो ठेगानमा थियो । एकदम पर्फेक्ट ! एउटा खप्पिस कालिगढले बनाएको जबरजस्त मूर्ति जस्तै । आहा ! म्युजिकल विण्ड ! वर्षौंवर्ष कता हराउँछस् हँ, तँ ?
त्यही निर्जीव गल्लीमा उसको चेतना फर्कियो।
ऊ गुनगुनाउँदै थियो – कुनै प्रेमल गानाको अन्तरा ! उसका मोटरसाइकलका दुवै चक्का कुदिरहेका थिए । आआफ्नो मनोवृत्तिमा ! साथीलाई पत्तो थिएन ।
केही वर्ष यता उसको त्यो निर्जीव गल्लीलाई उसले सक्दो सजीव बनाएको थियो ।
कसरी ?
त्यो गल्लीमा ओहोरदोहोर गर्नेहरूलाई ऊ आफ्ना चक्षुले सप्रेम हेर्थ्यो । अनि हृदयले अंकमाल गर्थ्यो । बूढाबूढी र केटाकेटीहरूमा ऊ विशेष रुचि राख्थ्यो । जबजब ऊ आफ्नो मोटरसाइकललाई सधैँ पार्किङ गर्ने ठाउँमा स्थिर राख्थ्यो, देख्ने र भेट्नेहरूलाई लाग्दथ्यो – मानौँ की उसले आफ्ना अहङ्कारहरूलाई छेउकै डुङडुङती गन्हाउने खोलामा सेलाएर आएको छ । सृष्टिका हर एक सिर्जनालाई उसका ओठले चुम्न मात्र बाँकी छ । प्रेमले त उसले हरेक अन्तरकुन्तरलाई निथ्रुक्क बनाइसकेको थियो ।
ऊ पहिला यस्तो थिएन ।
‘एकदिन, यो गन्हाउने खोला लण्डनको थेम्स नदी हुनेछ, बुझिस् ? अनि गुलजार हुनेछ यो हामीले चिया पिउने गल्ली ! यो गल्लीमा कुनै दिन अप्सराहरूले परेड खेल्नेछन् । अनि तीनका आसिकहरूले पेटीपेटीमा बसेर गिटार बजाउनेछन् । सुसेल्नेछन् । अनि हावा उसै गरी रिदममा बग्नेछ । सङ्गीतमय बतास !’
हातले हावामा वेभ बनाएर देखायो ।
‘कस्तो अदभूत होला त्यो पल ? कहिलेकाहीँ मलाई म भोल्गा नदीको किनारमा हिँडिरहेको छु जस्तो लाग्छ, जब म यो पित्त जस्तो नदीको छेउछेउ हिँड्छु । सुनेको छु भोल्गा नदी पनि यस्तै यस्तै थियो रे ! त्यो भोल्गा नदीको गर्भमा अहिलेसम्मको सम्पूर्ण समाजको यथार्थ लुकेको छ । बुझिस् ! त्यसरी नै यो गल्लीको इतिहासहरू एकएक गरी यही गन्हाउने खोलामा लुक्नु पर्छ । लुक्नेछ । यसको सामर्थ्यको परीक्षा आज होइन, त्यस दिन मात्र हुनेछ ।’
कुनै समय उसले अर्कै प्रकारको विरूप जस्तो प्रतीत भएको परिवेशमा सगौरव घोषणा गरेको कुरा हो यो । कर्कश र झर्कोलाग्दो सङ्गीतमय हावा त्यो समय पनि चलेको थियो । उसको फोक्सो भरिने गरी । हावाको सुन्दरता नै यही हो की !
‘तँ कति वर्ष भयो, यतातिर आउन थालेको ?’ साथीले उसलाई सोधेको थियो ।
एकछिन सोच्यो अनि भन्यो, ‘लगभग १५ वर्ष !’ लगातार ठट्टा पनि गर्यो, ‘यदि यस ठाउँमा कसैको सालिक बन्नु पर्छ भने त्यो मेरै होला ।’
‘हेरुम् ! कुनै दिन बन्ला कि !’
उसको साथीले उसको अनुहारमा हेर्यो अनि हाँस्यो । ऊ पनि मज्जाले हाँस्यो।
‘म यहाँको हावा महसुस गर्न सक्छु बुझिस् ? यहाँ मात्र होइन । जहाँ जहाँ म गएको छु त्यहाँको हावा म फिल गर्न सक्छु ? नारायण गोपालको सालिकले चक्रपथमा सायद त्यस्तै सङ्गीतमय हावाको आनन्द महसुस गर्दो हो । नारायण गोपाल चोकको सालिकलाई जब म हेर्छु, म महसुस गर्न सक्छु जुन त्यो सालिकले महसुस गरिरहेको छ । नारायण गोपाल त्यहाँ बसेर म्युजिकल झरी सुन्न सक्छन् । म्युजिकल हावाले जब उनलाई स्पर्श गर्छ अनि नोस्टाल्जियाका एउटा सुगन्धित पाटोको मात्र उनलाई स्मरण हुन्छ । उनी उनको अतीतमा कुनै दुःख र पीडा देख्दैनन् । मलाई पनि त्यस्तै अनुभूत हुन्छ । किन होला ?’
उसको साथी उसलाई हेर्छ मात्र ।
‘नाद योगको विकास सायद यस्तै प्रयोजनको निम्ति भएको होला । सङ्गीतको माध्यमबाट ध्यान धर्न ! ध्यानबाट आनन्द प्राप्त गर्न ! म हावामा ध्वनि सुन्दछु ! अनि मलाई ध्यान लाग्दछ । मेरो व्यग्रता कतै एकाग्रतामा विलीन हुन्छ । म, हावा आज कति कर्कश छ, कति प्रेमिल छ । या, कति शान्त र स्थिर छ ! बताउन सक्छु । के नाद योग भनेकै यहीं हो ?’
‘थाहा छैन ।’ त्यति मात्र बोल्छ साथी ।
‘थाहा त मलाई पनि छैन, बुझिस् । तर मलाई त यस्तै लाग्छ ।’ अनि खितखित हाँस्छ ।
० ० ० ०
चिया पसल्नी आइमाई कहिले कर्कश त कहिले कर्ण प्रिय स्वरले कराउँछे । कर्कश पनि यति कर्कश की कहिले त्यहाँ घम्साघम्सी नै परोस् । कर्णप्रिय पनि यति कर्णप्रिय कि हृदय कुनै मोम झैं पग्लिओस् । एकपलमै कसैको पनि, कर्कश र कर्णप्रिय आवाजलाई एकअर्कामा परिवर्तन गराउन ऊ खप्पिस भएको छ । मुड चेन्ज गराउन सक्ने भएको छ ऊ ।
हिजोको त्यो तरुनी यौवना आज पनि भेटिन्छे कि भन्ने आशमा ती चार जोडी आँखाहरू त्यही चिया पसल बाहिरतिर तन्किए ।
त्यो होइन अर्कै केटी त्यो गल्लीमा देखिई ।
कुनै शान्त तलाउ जस्तै कञ्चन आभा भएकी त्यो सुकुमार केटी !
‘म त्यसको हृदयको स्पन्दन महसुस गर्न सक्छु नि !’ उसले आफ्नो सधैँको जुटीलाई भन्यो ।
‘के ?’ साथी आश्चर्य मुद्रामा सोध्यो ।
‘त्यो कसरी बताऊँ ? त्यो यस्तो स्पन्दन हो जुन हामीले वर्षौं पहिले महसुस गरेका थियौँ । मलाई त ताजै छ । तँलाई पनि भएकै हो । तर बिर्सेको हुन सक्छस् । त्यो कस्तो भने । धर्तीको गर्भमा पाइने धातु जस्तो होइन । कुनै प्रशोधन पश्चात् प्राप्त हुने ‘पियोरेष्ट फर्म अफ गोल्ड’ जस्तै । पवित्र धातु ! त्यहाँभित्र लाखौँ अटाउन सक्दैनन् । त्यो यति पवित्र र पृथक् छ कि त्यसभित्र एक जना उसको प्रेमिल राजकुमार मज्जाले पौडिन सक्छ । त्यस मेरोलाई डुबाउन त्यो पर्याप्त छ । त्यो स्पन्दन कैयौँको लागि धड्किँदैनन् । त्यो उमेरमा त्यस्तै हुन्छ । सायद पछि नरहला की ! त्यसलाई त्यति बेलै महसुस गर्नुपर्छ । कि कसो ?’ उसले आफ्नो साथीलाई बतायो।
उसको साथीले अगाडि बढेकी त्यस तरुनीलाई पछाडि फर्की फर्की हेर्यो । त्यो केटीले उसलाई हेरिन । ऊ अगाडि बढ्यो । साथीले उसलाई पछ्यायो ।
आज पनि ऊ, उसको त्यो साथी र उसको आज थपिएको एक जना अर्को साथी बसेर चिया पिउँदै थिए ।
उसको जुटी र ऊसँग यस्ता प्रसङ्गहरू फालाफाल छन् । प्रत्येक प्रसङ्गहरूका आआफ्नै भावनाका पाटाहरू छन् । ऊ बखान गर्न सक्छ । भावनात्मक पाण्डित्यको पनि आफ्नै छुट्टै महत्त्व छ नि ! शब्द कथेर मात्र कहाँ पुग्छ र ! ऊ यसमा पारङ्गत नै छ । भावना एक प्रकारको संगीत नै हो । त्यो संगीत सुनाउन ऊ आजकाल खग्गू भएको छ । उसको जुटी यो सब जान्दैन । ऊ शब्दको ढाँचा मात्र बोल्न सक्छ । तर आजकाल त्यो पनि, यी सब बुझ्दछ । फर्काउन भने सक्दैन ।
कुनैकुनै बेला उसलाई आफ्नै त्यही पारङ्गतता उपर शंका लागेर आउँछ । ऊ आफू हिँडेको पुराना गल्लीहरूमा फुर्सद हुनासाथ पुग्छ । त्यही नोस्टाल्जियालाई हतियार बनाउँदै ऊ त्यही सांगीतिक हावा सुनेर फर्किन्छ । त्यसपछि उसको शंका मेटिन्छ ।
कस्तो लोभलाग्दो !
० ० ० ०
‘तिमी मलाई यही छोड्देऊ ।’ साथीले उसलाई भन्यो।
‘कहाँ ? यहीँ अगाडि ?’
‘अँ !’
‘के रातरात भर हल्लिन्छौँ ? खुरुखुरु घर नगएर ! दिन आफ्नो, रात अर्काको भनेको थाहा छैन ?’ उसले आफ्नो साथीलाई सतर्क गराउन खोजे जस्तो गर्न चाह्यो ।
‘थाहा छ ।’ साथी मोटरसाइकलबाट झर्यो ।
‘म यता लाग्छु । अब तिमी यहीबाट फर्क । अनि घर जाऊ ।’ साथीले भन्यो ।
‘ओ……के !’ उसले लामो स्वर तान्दै भन्यो ।
‘आफ्नो ख्याल राख ।’
उसले मोटरसाइकल फर्कायो ।
० ० ० ०
‘एउटै साँझ अथवा एउटै रात ! एकै पटक ! फरक फरक हुन…, कसरी सक्छ ?’
‘रोमाञ्चले भरिएको म्युजिकल एयर अहिले एकैछिनमा खतरनाक हुन पुग्छ ?’
‘उसले आफ्नो साथीलाई रातरात भर हिँड्नुहुन्न भन्नुको के प्रयोजन ?’
‘किन उसले सतर्क गराउनु पर्यो र ?’
‘यस्तो किन भयो ?’ अन्तरमनले उसलाई प्रश्न गर्यो ।
‘सायद स्थान परिवर्तन भएर हो कि ? हावाको संगीत परिवर्तन भयो कि ?’
यो गल्ली त्यस्तो खतरनाक त होइन । तर सतर्क गराउने खालको चाहिँ पक्कै रैछ ।
उसले कल्पनामा गुनगुनायो । पटकपटक कथा कथ्यो । अनि फिस्स हाँसो ।
मुख्य चोकमा उसको मोटरसाइकल देखियो । त्यसपश्चात् उसले पुन आफ्नो रिदम समात्यो । फेरी उसै गरी गुनगुनायो । चिसो बतास उसै गरी चलेको थियो । म्युजिकल एयर जति बाहिर चलेको थियो त्यो भन्दा कैयौँ गुना बढी आँधीको रूपमा उसको हृदयमा चल्न थाल्यो । आनन्दको वर्षा फेरि हुन लाग्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।