ऊ भोको छ  । भोक लाग्नु स्वाभाविक प्रक्रिया हो । निश्चित समयावधिमा भोक अनुभव हुन्छ । तर अत्यधिक भोक लाग्नु, भोक मात्रै लागिन अस्वाभाविक स्थिति हो । असजिलो अवस्था हो ।

लखतरान ऊ, हैरान ऊ, एक सुन्दर बगैँचामा आफूलाई डुलाइरहेको छ । बगैँचाको सुन्दरताले मोहित हुन् ऊ सकिरहेको छैन । उसको पेटको भोकले शारीरिक रूपमा, मानसिक रूपमा, भावनात्मक रूपमा , ऊर्जाको रूपमा उसलाई पिर, दुख, कष्ट, हैरानी, विचलन, अस्थिरता.. दिइरहेका छन् ।

उसलाई भोक लागेको हुन्न थियो भने ऊ शारीरिक रूपमा चञ्चल हुने थियो । पुतलीहरूलाई आफ्नो आङमा बस्न दिने थियो । चिप्ले किराहरूलाई आफ्नो पाउ सुमसुम्याउन दिने थियो । हरिया गन्ध, नानी झारका पोथ्राहरूलाई कुर्कुच्चा मिच्न र घुँडा दबाइरहन दिने थियो ।

यो पक्का थियो, ऊ भोको थिएन भने मानिसक रूपमा स्थिर हुने थियो । फूलको सुवास उसले नाकसम्म पुर्‍याउने थियो, फोक्सोसम्म ओराल्ने थियो । प्रकाशका ओजस्वी किरणहरूलाई आफ्नो तालु, काख र जाङ आसपास लगातार खस्न दिइरहने थियो । प्रकाशको सोही आद्रतामा दङ्ग परेर बसिरहने थियो । पारिपारिका बामपुड्के डाँडाहरूको फेदीमा गजधुम्म परेर चक्कर खाइरहेका हुस्सु, कुहिरो र तुवाँलोलाई आँखा मार्न ऊ त्यतै दगुर्ने थियो। हत्केला भरि कुहिरो बोकेर ऊ उफ्रने थियो। घाँटी भरि कुहिरोको गलबन्दी भिर्ने थियो । तुवाँलोकै बर्को ओढ्ने थियो । हुस्सुकै पटुका कम्मरमा बाँधेर पुरानो नेपाली गीत गुनगुनाउने थियो,..

‘बाह्र हाते पटुकीले कम्मर कसेर,
लगाऊ न चोखो माया सँगै बसेर,
हे..कम्मर कसेर…कम्मर कसेर ..।’

यो पक्का थियो, ऊ भोको थिएन भने भावनात्मक रूपमा ऊ हृष्टपुष्ट हुने थियो, तन्दुरुस्त हुने थियो । स्वस्थ हुने थियो । वरपर भुन्भुनाइरहेका मौरीसँग बात मार्ने थियो, “सोल्टी, तिमी धेरै नै मेहनती छौँ ।”

मौरी पनि मुस्कुराउँदै भन्ने थियो, ‘आफू खुसी हुनुलाई तिमी मेहनत भन्छौँ भने त्यही सही । तर म फूल फूल डुल्नु र भमराहरूसँग इत्रिनुलाई नै जीवनको उच्चतम उच्छाइलो क्षितिज सम्झन्छु । जहाँ हर प्रहर खुसी छ, सुख छ, सन्तोष छ । “

ऊ जुका एवं किरा फट्यांग्राहरूसँग गफ लडाउने थियो, “दोस्त, तिमीहरूको जिन्दगीको जङ्गी पहराहरू, जिन्दगीका बिगुलहरू कस्ता छन् ? मानिस लगायतका जीवका पैतालाबाट  हर प्रहर बच्नु, छेलो पर्नु गाह्रो पनि होला है ?’

किरा फट्याङ्ग्राहरू उच्छ्वास ओकल्दै भन्ने थिए, ‘हेर मित्र, आकाशमा उडेको चराले सरसर्ती जमिन हेर्दा देखेको दृश्य मात्रै हो त्यो । विहङ्गावलोकन मोटामोटी निरीक्षण मात्रै हो । यसरी तिमीले आफ्नो नजरले हाम्रो जीवन र हामीप्रति दृष्टि बनाउन सुहाउन्न । तिमी उभिएर हिँड्ने जाति, हामी घस्रिएर, उफ्रिएर हिँड्ने जाति । हामी एकै आकाशमुनि रहे पनि, हामी एकै धर्ती माथि रहे पनि तिम्रो आकाश र हाम्रो आकाशको उचाइ फरक छ । तिम्रो धर्ती र हाम्रो धर्तीमा उठ्ने ज्वालामुखी, भूकम्प र पहिराको वितण्डाका कथाव्यथा फरक-फरक छन्, अलग-अलग छन् ।”

जुकाहरूले लसकलसक घिस्रिँदै भन्ने थिए, “हामीलाई स्वाँगिलो नभन तर हामीले कहिल्यै पनि जीवनलाई गिलगिल्याएका छैनौँ । हामीले कहिल्यै पनि समयका गिंडुल्कागिंडुल्कीहरूलाई तिमीले झैँ समयका निन्दनीय हर्कत, कन्जुस्याइँ सम्झिएका छैनौँ । हामीसँग गल्ने स्वभाव पनि छ, पग्लने समझ पनि छ र लचक हुने ब्यहोरा पनि । यसै कारण तिमीझैँ गङ्गा दशहरा स्नान हामी गर्दैनौँ । पाप मोचन एकादशी हाम्रो पञ्चाङ्गमा छैन । बागमती, पाँच पोखरी, त्रिवेणी, देवघाट हामी जाँदैनौँ  । हो, म रगत खाएर बाच्छु । र, उनीहरू सिनो खाएर बाच्छन् । तर हामी दुवै हृदय खाँदैनौँ । बेमतलबको प्रलाप गर्दैनौँ ।  बिना कारण दुराग्रह राख्दैनौँ । अरूलाई हानि पुर्‍याउने इच्छासम्म व्यक्त गर्दैनौँ । असत्य बोल्दैनौँ ।  द्वेष राख्दैनौँ ।  दया, करुणा, प्रेम हामीसँग पनि छ । शरीर, मन र वचनले गरिने कुनै पनि प्रकारका पाप गर्दैनौँ ।  हामी तिम्रो बुद्धिमत्ताले ठानेको झैँ नीच, क्षुद्र, चुत्थो छैनौँ ।”

ऊ भोको थिएन भने ऊ बेनी चम्पाको निला-सेता फूलछेउ घण्टौँ रुङ्ने थियो, भुनभुन गर्ने थियो । नजिकैको खोल्सीमा पानी पिउन आएका बाहुनी चराका जोडीलाई हेरेर रमाउने थियो, प्रफुल्ल हुने थियो । पानीमा गोता खाइरहेकी पानी चरीलाई चालचुल केही नगरी चुपचाप हेरिरहने थियो । यति विघ्न मरमर्‍याउने थिएन ।

ऊ भोको थिएन भने समयले दिएको घाउ खटिराहरूमा पिप देखिरहने थिएन । ठेस, टुटुल्को, डन्डीफोर र मुसा सुमसुम्याइरहने  थिएन । उसको यो चापाचाप, उसको यो बेफुर्सदी, उसको यो व्यस्तता, उसको यो धरपकड, उसको यो जोरजुलुम्, उसको यो सिकिस्तिपन, उसको यो लटनपटन..। उसको यो पिचपिचाई, उसको यो पचपचाई, उसको यो गोलमोला..। उसको यो खल्लोपन, उसको यो बाझोपन, उसको यो एक छत्राइ अस्थिरता, उसको यो एक अचमत्कारिक चञ्चलता..। उसको यो तौलबिनाको लथरोपन, उसको यो निकासबिनाको हिलोपन, दलदलपन, गजगजी..। उसको यो लट्ठकपन, उसको यो लठ्यौरोपन, उसको चटपटाइ, उसको यो छटपट । उसको यो थिलथिलाई, उसको यो लथालिङ्गता, उसको यो अलपत्राई, ..थिलथिलाई..। ऊ अघाएको थियो भने यो सब केही हुने थिएन ।

ऊ भोको थिएन भने, सिँगानको लत्को, थुकको पित्को,..पिलो, पिप्सो, पिउसो, पुत्को, ठक्कर, चोट, उसको भागमा आइपरेको कोसेली सम्झने थियो । वर्षौँपछि प्रिय व्यक्तिको खबर बोकेर आएको  डाक थैली सम्झने थियो । तिर्खाले चुरचुर हुँदा सानो घैलीको पीँधमा भेटिएको पानी सम्झने थियो । रीति या चलन परको कुनै अद्भुत शैलीझैँ सम्झने थियो । असल शील स्वभावको जिन्दगीकै एक ढाँचा, परिपाटी या छाँट छन्द सम्झने थियो ।  उसको काँध हलुको हुने थियो । उसको आँत भिज्ने थियो । उसको अन्त:करण प्रसन्न हुने थियो । उसको आन्द्रोमा एक प्रकारको बिझाइरहने खाक्सी रहने थिएन ।  उसको जिउँबाट यो गह्रौँ भारी, यो उचाल्न नै नसकिने खुर्ची ओर्लिने थियो ।

ऊ भोको थिएन भने, खुसी राजी ऊ इन्द्रेणीसँग मितेरी ल्याउने थियो । ऊ आँधीबेहरीसँग कानेखुसी गर्ने थियो । ऊ मेघ माला सँगसँगै गर्जने थियो । खोल्सामा मुख जोतेर पानी पिउने थियो । वरपरका रुखहरूलाई उफ्री उफ्री छुने थियो । हाँगो लर्काउने थियो, शीतका  चाँदी कणहरू आफ्ना अनुहार भरि खसाउने थियो । दुबोमा नाङ्गो खुट्टा दगुर्ने थियो, शीत कणलाई पैतालाले कुल्चँदै शीतोष्ण वातावरणमा आफूलाई भूषित गर्ने थियो, पोषित गर्ने थियो । सुसज्जित हुने थियो ।  मनमाफिक हुने थियो । मस्तराम हुने थियो । दिल्लगी बाज हुने थियो । आफूखुसी हुने थियो । स्वार्थ सिद्धिका लागि कसैको प्रशंसा गर्दै हिँड्ने थिएन । कसैको चाकडी गर्ने थिएन । कसैलाई मस्कारा लगाउने थिएन ।  कसैको चाप्लुसी गर्ने थिएन । ऊ मगमगाउने थियो, ऊ सुगन्धित हुने थियो । स्निग्ध हुने थियो । मुलायम हुने थियो । श्रीखण्ड हुने थियो । कस्तूरी हुने थियो । कुमकुम हुने थियो ऊ । केसरी हुने थियो ऊ । मगमगाउँदो धूप हुने थियो ऊ । सुगन्धवाल फूलझैँ डाँठ समेत वासनादायी हुने थिए उसका । सुगन्धराज फूलको पत्र-पत्रझैँ सुगन्धित हुने थियो । उसमा गन्ध हुने नै थिएन । रजनीगन्धाझैँ, रक्त चन्दनझैँ , सालधूपझैँ , कपूरझैँ । हानिकारक वायुलाई समेत शुद्ध बनाउन सक्ने थियो ऊ । कन्चन बनाउन सक्ने थियो ऊ । दोषरहित हुने थियो ऊ ।

उसले वास्तासम्म गर्न सकेको छैन, ऊ उभिएको बगैँचाको माथिमाथि बादलहरू लहलह झुमिरहेका छन् । ढिकीच्याउँ खेलिरहेका छन् । उडकुसी मुड्कुसी खेलिरहेका छन् । ढ्याक खेलिरहेका छन् । लहरे खेलिरहेका छन् ।  छोइ डूम खेलिरहेका छन् । छ्याईमाने हुतुतु खेलिरहेका छन् ।  राता बादल, हरिया बादल, पहेँला बादलहरू । काला बादलहरू । सेता बादलहरू । बैजनी बादलहरू । खैरा, फुस्रा बादलहरू ।

बादलहरू उसलाई सुमसुम्याउन चाहन्छन् । मेघागमको समय छ, बादलहरू उसलाई रुझाउन चाहन्छन् । बादलहरू न्यानो बाफिलो हावासहित उसको छातीभित्र पस्न खोजिरहेका छन् । उसको नाक तान्न मन गरिरहेका छन् । उसको गाला चिमोट्न मन गरिरहेका छन् । बादलहरू उसलाई लात मार्न चाहन्छन् । ढाडमा धाप लगाउन चाहन्छन् । ऊ लड्यो भने उसलाई उठाउन इन्द्रेणी पठाउनेछन् । बादलहरू उसलाई डूम बनाउन तयार छन् । उसको नजरबाट बचेर लुकिलुकी पहाड/खोँचको काखबाट मुन्टो उठाउन तम्तयार छन् । बादलका केस्रा-केस्रा उसको पाउ तल ओछ्छिन तयार छन् । उसका पैतालामा काउकुती लगाएर उसको ओठभरि हाँसो भर्न चाहन्छन् ।

तर, अहँ..ऊ यस प्रकारको हर्षतिरेक समयमा समेत चिच्याहट सुनिरहेको छ । श्वास मास्तिर तान्ने, तल्तिर ओराल्ने गरिरहेको छ । स्वा स्वा गरिरहेको छ । उसको यो सीत्कृति, उसको यो चीत्कार, उसको यो चिच्च्याहट..। उफ्…यो निकै भयानक छ । क्रन्दन महसुस गरिरहेको छ । कष्ट भेटिरहेको छ । उसका आँखामा एक थोपो हर्षाश्रु छैन, एक बूँद प्रेमाश्रु छैन । उसको हृदयमा एक छिटो आनन्द वृष्टि भइरहेको छैन । उसको जीउमा आलोकको घनघोर मुसलधारे झरी ओइरिरहेको छैन । हृदयहारी यस झरीमा उसले आफूलाई  बलेँसीसम्म ओराल्न दिइरहेको छैन । ऊ खुला आकाशमुनि पनि झ्यालखाना निर्माण गरिरहेको छ ।

उसको कुनाकाप्चामा कनक चम्पाको मत्ताइलो गन्धझैँ बेहोशी गुम्सिरहेको छ । हाइड्रोना अफ्रिकाना झैँ सुन्दर देखिएता पनि गन्धिलो भएको छ । होसहवास गुमाएको एक नम्बरको होस्ल्याङ भएको छ । उसको चेतना साँघुरिएको छ । बुद्धिमत्ता कोप्चिएको छ । थेप्चिएको छ । निचोरिएको छ । दोक्चिएको छ । थच्चिएको छ । यसै कारण उसको कन्चटभर पसिनाका डल्लाहरू बुर्कुसी मारिरहेका छन् । मन, मस्तिष्क र शरीरभर बाफ मडारिएको छ, तातो बाफ… ।

ऊ पिन्चे हुनुमा उसकै दोष छ । ऊ पिलन्धरे हुनुमै ऊ नै जिम्मेवार छ । ऊ लोसो हुनुमा ऊ नै कारण हो । ऊ नै प्रक्रिया हो, ऊ नै नतिजा हो- ऊ बरबाद हुनुमा । उसले आफैलाई विश्वास दिलाउनुपर्ने, उसले आफूलाई नै सान्त्वना दिनुपर्ने, उसले आफ्नो नै भलो मनसुबा सोच्नुपर्ने, उसले आफूलाई नै आफ्नो ठान्नुपर्ने । तर ऊ भोक..भोक..भोक..गरेर अत्तालिइरहेको छ । उसको पेट मात्र होइन, मस्तिष्क मात्रै होइन, हृदय मात्र होइन, आन्द्रा मात्र होइन,..उसको आत्म सुरक्षा, चेतना, ज्ञान, जीवन निर्वाह सब थोक, हरेक कुरा भोको छन् । लालसी छन् । लालची छन् । लोभी छन् ।

उसले आफ्नो सेखी झारेकै छैन । उसले अभिमान खसाएकै छैन ।  उसले आफ्नो बुद्धि, बल र सामर्थ्यसँग घम्साघम्सी गरेकै छैन । ऊ आफूसँग झगडा गर्दैन । ऊ आफूसँग लडाई लड्दैन । ऊ आफूलाई टोक्दैन । ऊ आफूलाई चिमोट्दैन । ऊ आफूलाई कुट्दैन । ऊ आफूलाई आमाचकारी गाली दिँदैन । ऊ आफ्नो नाक पनि छाम्दैन । ऊ आफ्नो मुख पनि च्यात्दैन । ऊ आफ्नो खुट्टा पनि बजार्दैन ।- आफूलाई चिन्नको लागि । आफूलाई बुझ्नको लागि । आफूलाई आफ्नै नजिक बनाउनको लागि ।

ऊ ल्यासल्यास पिँधिरहेको छ- आफ्नै अहङ्कारको मैमत्ता जाँतो ।
ऊ ल्वासल्वास हिँडिरहेको छ- आफ्नै मूर्खताको निर्जन गोरेटोमा ।
ऊ क्वारक्वार गरिरहेको छ- आफ्नै लुब्ध मस्तिष्कको ओथारोमा ।

ऊ स्वा स्वा गरिरहेको छ- आफैँले एकलासे देउरालीमा, खोँचमा र भन्ज्याङहरूमा । यसै क्रममा अत्तालिँदै ऊ यो बगैँचामा आइपुगेको हो । बगैँचा उसले सोचेभन्दा सुन्दर छ । तर उसले त्यता ध्यान नै दिएको छैन । बगैँचामा फुलिरहेका गलैंची फूलको एक थुङ्गो चुँडालेर उसले आफ्नो कानमा सिउरिए पनि हुने नि, तर ऊ त्यसो गर्दैन । निली काँडाका रुख देखेर रिसाउँछ । बगैँचेलाई साफसाफ गाली बोल्छ । काँडपाते निगालो देखेर उसको भाउन्न छुट्छ । भोकले आकुल व्याकुल हुँदै काँस घारी-घारी दौडिन्छ ऊ, तर त्यही काँसको सेतो झुप्पे फूलतिर उसको नजर पर्दैन । काली ऐँसेलु देख्यो, तर त्यसमा राता राता टोप्राहरू थिएनन् ।

उसले निकै लामो समयपछि एउटा शीतल छहारी भेट्टायो । थकाइले चुरचुर भएको उसले त्यही छहारी मुनि थकाई मार्ने सोच्यो । लामो यात्रा पार गरेर आएको ऊ लामो समयसम्म गहिरो निन्द्रामा पर्‍यो । जब ब्युँझियो उसले चाल पायो- उसको पेटलाई भोक निकै लागेको छ । भोकमरीको अवस्था उसले आफ्नै आँखा अगाडी भेट्यो । ऊ खन्चरो स्वभावको थियो । र, यति लामो समयसम्म उसले केही खान पाएको थिएन । निन्द्रा त पुग्यो, आराम त मिल्यो तर भोक ? भोकले ऊ मरणासन्न भइसकेको थियो । उसले आफूले सुनेको, देखेको मिष्टान्न भोजनहरूको कल्पना गर्‍यो ।

उसले सोचेमुताबिक नै विभिन्न खाना, अचार, मिठाई, तरकारी आदिका विभिन्न प्रकार र किसिमहरू उसको सामुन्ने आइपुगे ।  उसले भात सोच्यो । भात पायो । भोको मान्छेले प्रश्न गर्दैन, उसले पनि गरेन । भात कहाँबाट आयो, उसले  पनि प्रश्न गरेन । उसलाई अलिकता तरकारी पाए हुन्थ्यो भन्ने लाग्यो । उसले सोचेबमोजिमै तरकारीका प्रकारहरू उसको सम्मुख आइपुगे । तरकारीभन्दा पनि मासु चाहियो उसलाई । मासु पायो । मासु खाएपछि उसलाई प्यास लाग्यो । उसले पानी माग्यो । पानी पायो । पानीले उसको प्यास बुझेन, जुस माग्यो । जुस पायो । जुसले पनि उसको तिर्खा मेटिएन । रक्सी माग्यो । रक्सी पायो । रक्सीले पनि पुगेन ।

रक्सीले अब एकछिन मेरो मिठो निन्द्रा माग्यो । मिठो निन्द्राले सजिलो ओछ्यान माग्यो । फूलको बिछ्यौना तयार भए । सजिलो ओछ्यानले चिसो हावा माग्यो । चिसो हावाले मिठो निन्द्रा माग्यो । मिठो निन्द्राले मिठो सपना माग्यो  । मिठो सपना पनि पायो ।

उसलाई आफूले सोचेबमोजिम सब थोक पाइरहँदा निकै मजा भयो, निकै आनन्द छायो । उसले घर जोड्यो । उसले सम्पत्ति जोर्‍यो । उसले सुनचाँदी, हिराजवारतको थुप्रो बनायो । मानौँ, उसले आफूलाई चक्रवर्ती सम्राट् बनायो । सयौँ श्याम कर्ण घोडा छोड्यो, कसैले समात्न सकेनन् । सयौँ अश्वमेध यज्ञ लगायो । इन्द्रको पनि कुनै जोर जुलुम चलेन । तीन लोक उसको मुठ्ठीमा आए । वैवस्वत मनु, मान्धाता, ययाति, प्रियव्रत, भरत, हरिसचन्द्र, सुदास, रावण, श्रीराम, राजा नहुष, युधिष्ठिर, महापद्म, विक्रमादित्य, सम्राट् अशोक सब उही बन्यो । एकछत्र उसको राज चल्यो ।

उसले सोही छहारीमा सुस्ताउँदै प्रश्न गर्‍यो, यो सब कहाँबाट आए ? यो सब थोक कसरी सुसम्पन्न भयो ? तर उसले उत्तर पाएन । केहीबेर अझ प्रतीक्षा गर्ने थियो भने उसले आफ्ना प्रश्नहरू उत्तर भेट्ने थियो । तर उसलाई प्रश्न गर्नु बेकार लाग्यो । उत्तर पाउने आशा गर्नु निरर्थक लाग्यो । अघाएको मानिसले, सम्पन्न मानिसले बौद्धिक विलासिता खोज्छ । उसले पनि त्यही गर्‍यो । वास्तविकता धेरे मिठो भए झैँ लाग्यो उसलाई, सोही कारण अलिकता तितो माग्यो । वर्तमानमै बिच्छीहरू देखिए । अझ अलिकता टर्रोपनको खाँचो औँल्यायो, सर्फहरू फँडा फुलाउँदै आए । अझ अलिकता अमिलो चाहियो उसलाई, बारुलो, अरिङ्गाल उसको वरपर जम्मा भए ।

अझ चाहियो,..अझ चाहियो..,ब्वाँसा आए, चितुवा आए । उसलाई लुछ्न थाले ।
अझ चाहियो,..अझ चाहियो..,बाघ आए, भालु आए । उसका हाड खोर चपाउन थाले ।
अझ चाहियो,..अझ चाहियो..,चील आए, गिद्ध आए । उसका बचेखुचेका मांस पिण्ड र हड्डी खोर लिएर उडे ।

उसले भूत सोच्यो । भूतहरू आए । उसले पिचास सोच्यो, पिचासहरू आए । उसले अझ डराउने जीवजन्तुको कल्पना गर्‍यो, उसले कल्पना गरे मुताबिक नै सब जीव आए, सब आकृति निम्तिए ।…र, अन्त्यसम्म पनि अझ ऊ भोको रह्यो । ऊ आफ्नो भोकले यस प्रकार छटपटाइरह्यो कि बाध्य भएर उसले अन्त्यमा आफ्नो मृत्यु माग्यो..। र, उसको शरीरबाट ईश्वर निस्कियो । ऊ आत्माविहीन लडिरह्यो । उसको नश्वर शरीर कुहिरह्यो, सडिरह्यो ।

र, त्यसैको मलबाट एउटा बोट उम्रियो ।
त्यही बोटमा फलेको फल अर्को कोहीले खायो । र, अनन्त : अर्को व्यक्ति पनि भोको रह्यो । रहिरह्यो ।..

र, अर्को व्यक्ति ?.. ऊ पनि भोको छ ।
अब ऊ पनि सड्नेछ । उसको शरीरबाट पनि अर्को बोट उम्रने छ । र, त्यसमा फल लाग्नेछ ।…