दक्षिण चुलीबाट मुख्य चुलीसम्म चढाइ गर्ने कुनै सोझो बाटो हुँदैन । त्यसका लागि पहिले केही तलतिर ओर्लनुपर्ने हुन्छ । ऊ खुर्खुरती होइन होसियारीपूर्वक डोरी प्रयोग गरी ओर्लिन्छ । अनि बायाँपट्टिको बाटो समात्छ । केही समयभित्रै ऊ एउटा सानो ओडारजस्तो ठाउँमा आइपुग्छ । त्यहाँ हावाको वेग केही कम हुन्छ, किनभने वरिपरिका विशाल चट्टानहरूले हावाको सोझो वेगलाई छेकिदिन्छन् । ऊ त्यहाँ शारीरिक रूपले केही विश्रान्ति महसुस गर्छ ।

त्यहाँ उसलाई पानी पिउने मन हुन्छ । त्यसैले ऊ पानीको भाँडो याने थर्मस निकाली मुख बाउँछ । तर थर्मसबाट एक थोपा पनि पानी खस्दैन । ‘ए के भयो ?’ ऊ आफैलाई सोध्छ मनमनै । अनि जबाफ दिन्छ मनमनै- ‘सायद थर्मस फुट्यो होला त्यसैले चिसो पसी पानी जम्यो होला । अब के गर्ने ? ऊ जमेको पानी पिउन सक्दैन र ऊ त्यहाँ जमेको पानी तताउन ठूला अभियान दलका मान्छेहरूले झैं पूरै भान्साघर बोकी आएको हुँदैन ।

ऊ दुवै हातले समाती थर्मस हल्लाउँछ । थर्मसभित्र केही हल्लिन्छ, तर पानी हल्लिंदैन । ऊ निराश हुन्छ । उसको तिर्खा झन् बढ्छ । अनायास उसलाई यो सत्य ज्ञान हुन्छ- यो पृथ्वीमा पानी जम्छ तर तिर्खा जम्दैन । त्यो नजम्ने तिर्खा मेट्न ऊ पानीको साटो फलफूलको रस पिउँछ । तर पानी भनेको पानी नै हुन्छ । पानीको तिर्खा फलफूलको रसले मेटिंदैन ।

अनायासै उसलाई अरू पनि सत्य ज्ञान हुन्छन् । ऊ बुझ्छ, अभाव बढी तिर्खालाग्दो हुन्छ । ऊ बुझ्छ, एउटा चीजको तिर्खा अर्को चीजको तिर्खाले मेटिंदैन र सबभन्दा महत्त्वपूर्ण कुरा ऊ बुझ्छ, सत्य ज्ञानले अज्ञानहरू त केही मेटिन्छन् तर आवश्यकताहरू भने सबै मेटिँदैनन् ।

ओडारजस्तो ठाउँमा तिर्खालाग्दो विश्रान्ति लिइसकेपछि ऊ फेरि हिँड्छ । त्यसरी हिँड्दा उसका क्रेम्पोन पाइलाहरू डगमगाउँदैनन् । ऊ पानी जमेको अनि तिर्खा लागेको परिस्थितिले निराश भएको भए तापनि लक्ष्यले निराश भएको हुँदैन । त्यहाँबाट ऊ केही समयसम्म ओरालो झर्छ, त्यसपछि केही चट्टानहरूमाथि चढ्छ । अनि एउटा धारिलो हिउँबाटो हुँदै हिलारी स्टेप (Hillary Step) मा आइपुग्छ ।

‘अब चुली अलिकति माथि छ ।’ ऊ उत्साहप्रेरित हुन्छ । त्यही उत्साहप्रेरित मनोदशामा ऊ शारीरिक तिर्खा बिर्सिदिन्छ । उसलाई थाहा हिलारी स्टेपको ४० फिट अग्लो खतरनाक चढाइ पार गरिसकेपछि कसैले उसलाई चुली पुग्नबाट रोक्न सक्दैन । चुली जम्मा २०० फिट माथि हुन्छ। ऊ मान्छेहरूले भनेको सम्झन्छ- ‘सगरमाथा चढ्दा खुम्बु आइसफल मृत्युको पहिलो ढोका हो भने चुलीधार (Summit Ridge) को हिलारी स्टेप  मृत्युको अन्तिम ढोका हो ।’ तर यी मृत्युका ढोकाहरू के जीवनका ढोका होइनन् ?…

ऊ हिलारी स्टेपमाथि आँखाहरू उचाली हेर्छ । टर्चबत्तीको उज्यालोमा त्यो साह्रै ठाडो देखिन्छ । त्यसमाथि भर्खरै उदाएको चिसो जूनमा त्यसको भयङ्कर स्वरूप अरू स्पष्ट देखिन्छ । प्रायः ठूला-साना नमिलेका चट्टानहरू र हिउँका विशाल राशियुक्त छङ्ग भीर जहाँबाट चिप्ली खस्यो भने हजारौं फिट तल कता हो कता पुगिन्छ । सगरमाथा चढ्न आउने धेरै मान्छे यो ठाउँमा आइपुगेपछि जीवनको मोहले फर्की भाग्छन् । तर ऊ सोच्छ, हिमाल जति अग्लो हुन्छ त्यति डरलाग्दो र रहरलाग्दो हुन्छ । त्यसैले ऊ भाग्न सक्दैन । ऊ त जीवनमा हिमाल खोज्दै आएको मान्छे, हिमालको अग्लाइ देखी उत्साहित मात्र हुन सक्छ । उसलाई त पहिले नै थाहा छ, जीवनमा हिमालहरू जति अग्ला हुन्छन्, त्यतिकै चुनौतीपूर्ण र भयानक पनि हुन्छन् ।

अन्तिम चढाइको अन्तिम चढाइ- हिलारी स्टेपमा क्रेम्पोन पाइलाहरू चाल्नुभन्दा पहिले, हिम-बन्चरो र खुंटी डोरीको सहायताले ऊ आफूलाई सम्पूर्ण रूपले तयार पार्ने काममा जुट्छ । उसको सम्पूर्णतामा उसको शरीर हुन्छ । उसको मन हुन्छ, उसको हृदय हुन्छ, उसको आत्मा हुन्छ । उसलाई लाग्छ, हिमाली उच्चतामा हिलारी स्टेपजस्तो खतरनाक तर आवश्यक चढाइ गर्दा सबै स्तरमा तयार हुनुपर्छ । पूरा तयारीले मान्छेलाई पूरा मान्छे बनाउँछ, आधा तयारीले मान्छेलाई आधा मान्छे बनाउँछ।  सगरमाथाको यो दक्षिण बागपट्टि हिलारी स्टेप छ भने अरू भागपट्टि अरू कठिन स्टेपहरू होलान् । यस्ता चुनौतीपूर्ण स्टेपहरू नभए चुली टेक्नुको औचित्य हुन्छ नै के ।

यद्यपि शरीरमा केही समस्याहरू हुन्छन्, ऊ आफूलाई पूरै तयार भएको अनुभूति गर्छ । त्यस महान् अनुभूतिमा उसलाई हिलारी स्टेपको खतरनाक भीर असाध्य राम्रो लाग्छ । उसलाई लाग्छ, यो खतरनाक भीरले उसलाई पहिलेदेखि नै बोलाइरहेको थियो । त्यसैले त्यसको महान् चुनौतीमाथि उसले विजय प्राप्त गर्नै पर्छ । यहाँ उसले जीवन सोच्ने होइन, लक्ष्य सोच्ने हो । यहाँ उसले मृत्यु सोच्ने होइन, लक्ष्य सोच्ने हो । जब लक्ष्य महान् हुन्छ, जीवन-मृत्युका प्रश्नहरू समस्या बन्दैनन् ।

ऊ भयानक पाराले खोक्दै त्यसभन्दा भयानक हावासित जुध्दै हिलारी स्टेपमा आफ्ना महान् सङ्घर्षका पाइलाहरू चाल्छ । त्यसरी पाइलाहरू चाल्दा ऊ त्यहाँ पहिले नै कसैले स्थायी डोरी बाँधिराखेको देख्छ । तर उसको चेतनाले त्यो डोरी समाती अघि बढ्ने अनुमति दिँदैन ।

चेतनाले भन्छ- ‘आफ्नो बाटो आफैँ बना । आफ्नो चुली आफैं बन ।’

ऊ उत्साहले मुस्कुराउँछ । त्यसरी मुस्कुराउँदा उसका सुन्निएका ओठहरू तन्किन्छन् । उसलाई लाग्छ, उसका ओठहरू उसका हैनन्, अरू कसैका हुन् । तर मुखभित्र दुखेको अनुभूति भएपछि ऊ फेरि मुस्कुराउँछ । जति आफ्नो नलागे पनि आफ्नो भन्ने कुरा आफ्नै हुन्छ । दुःख कहिले पनि अरूको हुँदैन ।

ऊ स्थायी डोरी नसमाती आफ्नै डोरी समात्छ अनि त्यसलाई बाँध्ने काममा लाग्छ । एक्लै डोरी बाँध्ने काम कहिले पनि सजिलो हुँदैन । त्यसमाथि हिलारी स्टेपको ठाडो भीर- हिउँ अनि ढुङ्गाका चट्टानहरूमा खुंटी अड्काउँदा त्यो बलियोसित नअड्किने र कतै अड्किहाले पनि चट्टानहरू खसेर दुर्घटना हुन सक्ने सम्भावना जतिखेर पनि भइरहन्छ । त्यसैले ऊ अतिरिक्त रूपले पनि सावधान हुँदै डोरी बाँध्छ, डोरी जाँच्छ अनि पूरै विश्वस्त भएपछि खुसीखुसी सोच्छ- ‘डोरीहरू पुराना हुन्छन् तर चुली जहिले पनि नयाँ हुन्छ ।’

हिलारी स्टेपमा सुरुका केही उत्साही पाइलाहरू चालेपछि उसलाई अति उच्चताको थकाइ, हावाको तीव्र चिसो गति र प्राणवायु अक्सिजनको कमी- तिनै कुराले सताउँछन् । उसलाई उच्चताको थकाइले झ्वाम्म छोप्छ । हावाको तीव्र चिसो वेगले उडाइदेला जस्तो गर्छ । उसलाई मुटु मात्र होइन जीउका सबै हड्डीहरू काम्न थालेजस्तो लाग्छ । लामोलामो सास फेर्दा सिटी बजाएझैं हुन्छ र ऊ केही हिकहिकाउन पनि थाल्छ ।

त्यसमाथि हिम-बन्चरोले हिउँ काटी पाइलाहरू अघि बढाउन खोज्दा उसका पाइलाहरू चिप्लिरहन्छन् । यहाँ ऊ बारम्बार क्रेम्पोनका अनुपयोगितादेखि निराशनिराश हुन्छ । तर निराशाहरूबीच ऊ निराशनिराश मात्र भई बस्दैन । एक अदम्य जिजीविषामा हिलारी स्टेपको चढाइ गर्दै ऊ एक नयाँ तरिकाको आविष्कार गर्न पुग्छ । ऊ डोरी समाती हिम-बन्चरोले हिउँ काट्दै त्यसमा क्रेम्पोन पाइला टिकाउँदै माथि जानुको साटो हिम-बन्चरोको मुठलाई भएभरको बलले हिउँमा गाड्छ- ध्वाप्पघ्वाप्प गरी, अनि त्यसैको सहायताले सुस्तसुस्त जीउलाई माथितिर घिसार्छ । यो तरिका निकै उपयोगी साबित हुन्छ ।

उसलाई अनुभूति हुन्छ- चुली चढ्नेहरूको आफ्नोआफ्नो तरिका हुन्छ, त्यसैले जीवनमा सबैलाई आफ्नोआफ्नो तरिकाले चुली चढ्ने अधिकार हुनुपर्छ । यो अधिकारको हनन भनेको अधिकारको मात्र हनन होइन, चुलीकै अपहरण हो ।

ऊ कति समयसम्म हिम-बन्चरोको मुठ हिउँमा गाड्दै, घुँडा टेक्दै र घिस्रँदै हिँड्छ, ऊ आफैलाई थाहा हुँदैन । ऊ चेतना हराउँदैन, तर चेतनाको एक यस्तो स्तरमा पुग्छ जहाँ समयको कुनै चेतना हुँदैन । पृथ्वीमा महान् क्रियाहरू समयमा हुन्छन् तर समयका आभासमा हुँदैनन् । यस्तै लाग्छ । तर पहिलेभन्दा केही सुरक्षित रूपले अघि बढ्दा पनि उसका समस्याहरू घट्दैनन् ।

सबभन्दा ठूलो समस्या उड्ने हिउँ हुन्छन् । अथवा हावाको प्रचण्ड वेगले उडेका हिउँ जसले उसको बाटो पूरै छेकिदिन्छन् । ऊ अगाडिपट्टि केही देख्दैन र पछाडिपट्टि फर्कने कुरै हुँदैन । यस्तो विकट स्थितिमा ऊ हिम-चस्मा र टाउकोको फ्लासलाइटमा जमेका हिउँ सफा गर्न पनि सक्दैन । उसलाई थाहा हुन्छ, यहाँ उडिआएका हिउँ तल्लो उचाइमा उड्ने हिमकणहरूभन्दा बाक्ला अनि झन् बढी टाँस्सिने खालका छन् । यहाँ हिउँ सफा गर्नु समय र श्रमको बरबादी मात्र हुन्छ । त्यसैले ऊसामु डोरी र हिम-बन्चरोलाई सकेसम्म कसेर समाती हिउँका थुप्राहरूमा अडिरहनु र सामान्यभन्दा ढिलो गतिमा अघि घस्रिनुभन्दा अर्को कुनै उपाय हुँदैन । यस्तो लाग्छ, ऊ हिमालको छापामार योद्धा हो जो प्रतिकूल परिस्थितिमा पनि मौका भेट्नासाथ सर्कंदै र घस्रँदै अघि बढ्छ र अरू बेला हिउँमा पूरै हिउँ भइरहन्छ ।

उसलाई थाहा हुँदैन यो पक्का छापामार चढाइको समाप्ति कहिले हुन्छ, तर जब अचानक हिमाच्छादित चढाइपछि केही सजिला उबडखाबड किसिमका चट्टानी, अर्धचट्टानी र हिमचट्टानी चढाइहरू आइपुग्छन् र ती पनि थाहै नपाई समाप्त हुँदै जान्छन् तब ऊ एक यस्तो ठाउँमा आइपुग्छ जसभन्दा अगाडि कुनै चढाइ हुँदैन, कुनै बाटो हुँदैन ।
चुली ! हो, ऊ सगरमाथा चुलीमा आइपुगेको हुन्छ । उसले थाहै नपाई ऊ सगरमाथाको चुली टेकिरहेको हुन्छ ।…

पृथ्वीको सर्वोच्च ठाउँ २९०२८ फिट बराबर ८८४८ मिटरको उचाइ । ऊ आफूलाई अत्यन्त ठूलो कष्टपूर्वक उठाउँछ । त्यसपछि धेरै बेरसम्म लडखडाउँदै हिकहिकाउँदै सास फेरिरहन्छ । अनि जब उसको लखतरान परेको जीउसहित सम्पूर्ण अस्तित्व र अस्तित्वको पनि अस्तित्व याने अहम्मा महान् विजय, महान् सफलताको लहर दौडन्छन्, तब उसलाई अपार खुसीको अनुभूति हुन्छ । उसलाई थाहा हुँदैन ऊ हाँसिरहेछ कि रोइरहेछ । यही मनस्थितिमा ऊ अतिशय चिसो र थकाइले कक्रिएका दुवै हात माथि उचाली चारैतिर घुम्छ- ‘प्रेयसी ! मेरी प्रेयसी ! हेर, म चुली टेक्दै छु ! म सगरमाथामा आएँ, मैले सगरमाथा देखेँ, मैले सगरमाथा टेकेँ ! यो तिमीलाई मेरो प्रेमको उपहार हो ।’

उसलाई लाग्छ, उसकी प्रेयसी जो पूरै उसकी प्रेयसी भइसकेकी छैन, उसको महान् विजय महान् सफलतामा मुस्कुराइरहेकी छिन् । उसलाई प्रेमको अँगालो मार्न आफ्ना हातहरू अघिल्तिर बढाइरहेकी छिन् । भावावेशमा उसका माथि उठेका हातहरू प्रेयसीतर्फ बढ्छन् । ऊ प्रेयसीको न्यानोन्यानो अँगालोमा बाँधिन्छ । अनि प्रेयसीलाई म्वाइँ खान्छ । यो महान् खुसीमा उसको थकाइ, उसको चोट अनि उसको पीडा सबै बेपत्ता हुन्छन् । उसलाई अनुभूति हुन्छ, उसकी प्रेयसी उसका सुन्निएका र चिसोले खाएका अङ्गहरूमाथि प्रेमको न्यानो खनाइरहेकी छे ।

‘प्रेयसी ! म तिमीलाई सगरमाथा जति माया गर्छु, सगरमाथाको चुली जति नै माया गर्छु । अब यो पृथ्वीको इतिहासमा हाम्रो पनि प्रेमको इतिहास हुनुपर्छ । पृथ्वीभित्र हाम्रो पनि सुन्दर पृथ्वी हुनुपर्छ । अब हामीले हाम्रो घर, हाम्रो परिवार, हाम्रो इतिहास, हाम्रो सभ्यता सबैसबै रच्नुपर्छ ।’ ऊ असाध्य भावविह्वल हुन्छ ।

त्यही बेला मौसममा केही सुधार हुन्छ । हावाको गति मत्थर हुन्छ । हिउँ उड्न छोड्छन् । आकाशमा जून हिँडेको देखिन्छ । सगरमाथा र पूरै हिमाली क्षेत्रवरपर कतै काला अनि बाक्ला बादलका दल देखा पर्दैनन् । ऊ सोच्छ, जीवनमा यति धेरै भावविह्वल हुनु राम्रो कुरा होइन । जीवनमा यति धेरै खुसी महसुस गर्नु राम्रो कुरा होइन । विजयमा खुसी हुनुपर्छ, सफलतामा खुसी हुनुपर्छ तर चाहिनेभन्दा धेरै होइन । चाहिनेभन्दा धेरै खुसी मूर्खहरू मात्र हुन्छन् र, जीवनको एक महान् सत्य के पनि हो भने जीवन एउटा मात्र चुलीका लागि होइन, धेरैधेरै चुलीहरूका लागि हो । जीवनका सगरमाथाहरू धेरै हुन्छन् । धेरैधेरै । धेरैधेरै ।

ऊ आफूलाई आफैँबाट सम्हाल्छ, अनि चिसो जुनेली आलोकमा हिमाली वातावरण हेर्छ । उत्तरतर्फ तिब्बती पठार र दक्षिणतर्फ ल्होत्से, मकालु, नुप्से, कञ्चनजङ्घा आदिका मनमोहक छटाहरू । चोमोलोङ्मा अर्थात् पृथ्वीकी देवी आमा भनिने प्रकृतिको पवित्र उच्चताबाट थ्याङ्बोचे गुम्बाको छत पनि देखिने रहेछ, जुन मान्छेको पवित्र उच्चता हो ।

ऊ त्यस गुम्बामा जाँदा त्यहाँ बजेका ॐ मेमेपेमेका पवित्र ध्वनिहरू र लामागुरुले दिएका आशीर्वादहरू सम्झन्छ । उसलाई लाग्छ, अब उसले चुलीबाट ओर्लने काम थाल्नुपर्छ । चुली टेक्ने ठाउँ हो, अलमलिई बस्ने ठाउँ होइन । जो चुलीमा अलमलिई बस्छन् उनीहरू चुली टेक्दैनन्, चुलीले उनीहरूलाई टेक्छन् ।

ऊ घडी हेर्छ । बिहानको ठीक चार बजे । ऊ आधारशिविरबाट हिँडेको पूरा २२ घण्टा बितिसकेछ । ऊ भरिया साथीहरूलाई सम्झन्छ । उनीहरू ऊ आधारशिविर पुगेपछि कति खुसी हुनेछन् । ऊ नयाँ साथी याने भोटे कुकुरलाई पनि सम्झन्छ । पक्कै पनि त्यो नयाँ साथी उसको स्वागतमा चुप लागी बस्ने छैन होला । तर पहिले उसलाई चुलीबाट तल ओर्लनु छ । हिलारी स्टेप पुग्नु छ । त्यहाँबाट ओर्लेपछि फेरि केहीबेरसम्म चढाइ गर्नु छ । दक्षिण चुली पुग्नु छ । त्यसपछि रेजर्स एज, बल्कोनी, दक्षिण घाँटी, जेनेभा स्पर, यलो ब्यान्ड, ल्होत्सेमुख हुँदै तल्ला शिविरक्षेत्रहरूमा पुग्नु छ । खुम्बु आइसफल पार गर्नु छ । उसलाई थाहा हुन्छ, हिमाल चढ्नु जति कठिन र चुनौतीपूर्ण हुन्छ, हिमाल ओर्लनु त्यति नै कठिन र चुनौतीपूर्ण हुन्छ । हिमाल चढ्नु भनेको ओर्लनु पनि हो । चुली टेक्नु भनेको आधा विजय पाउनु हो, आधा सफल हुनु हो ।

पृथ्वीको सर्वोच्च चुली अर्धचन्द्राकार बनोटको हुन्छ, जहाँ एकपल्टमा पाँच-सात जना मान्छे उभिन सक्छन् । उसलाई अनुभूति हुन्छ यो सानो कुरा होइन । एकपल्टमा पाँच-सात जना मान्छेले चुली टेक्नु भनेको धेरै ठूलो कुरा हो । पृथ्वीको इतिहासमा एक युगमा एक-दुई जनाले मात्र मानवताको चुली टेके भने मुक्तिका लागि मान्छेहरूले ईश्वर कल्पना गरिराख्नु पर्दैन ।

ऊ चुलीको बीचभागमा बसी केहीबेर सुस्ताउँछ अनि ताजा हिउँमा आफ्नै क्रेम्पोन पाइलाहरूका केरमेर चित्र हेर्दै फलफूलका रस पिउँछ । पूर्व बिहानीको समय, तापमान शून्यभन्दा ४० डिग्री सेल्सियससम्म झरेको हुन्छ । ऊ चिसोबाट बच्न जीउ चलाइरहन्छ, हातका पन्जाहरू एकअर्कोसित ठोक्किइरहन्छ । उसलाई थाहा हुन्छ, यस्तो बेला ऊ निदायो भने फेरि ब्युँझने छैन । केही समयको अन्तरालपछि ऊ आफ्नो जीउ केही तातिएको अनुभव गर्छ । ऊ चुलीबाट ओर्लने तयारीमा जुट्छ ।

चुलीको चढाइ गर्दा क्रेम्पोन पाइलाहरू अगाडि सारिन्छन् भने चुलीबाट ओर्लंदा क्रेम्पोन पाइलाहरू अधिकांश ठाउँमा पछाडि सारिन्छन् । हिमाली भीरहरूमा सोझै ओर्लन सकिँदैन । सुरक्षित ठाउँहरूमा विशेष गरी तेर्सा ढलानहरूमा डोरी समाई वा लट्ठी टेकी अगाडि पाइला सार्दै ओर्लनु भन्ने कुरा अर्कै हो । ऊ सोच्छ- ‘अधिकांश दुर्घटना ओर्लने क्रममा हुन्छन्, किनभने मान्छेहरूले जीवनको बाटो उक्लँदा ओर्लने क्षमता सुरक्षित पारी राख्दैनन् ।’ धेरैजसो मान्छेहरू असफलताहरूमा दुर्घटित हुँदैनन्, सफलताहरूमा दुर्घटित हुन्छन् । इतिहास साक्षी छ । सभ्यता साक्षी छ । सायद महान्महान् इतिहासहरू र सभ्यताहरू नष्ट हुनुको पछाडि मान्छेहरूको यही चरित्र जिम्मेवार छ ।

तर उसलाई खुसी लाग्छ, ऊ ती कुराहरूका लागि जिम्मेवार छैन । ऊ त अब नयाँ इतिहास र सभ्यताका लागि जिम्मेवार छ, जुन उसले र उसले मात्र होइन, ऊ जस्ताहरूले निर्माण गर्न बाँकी नै छ ।

ऊ पूरै तयार भई अनि पूरै सावधान भई चुलीबाट ओर्लन सुरु गर्छ । ऊ चुलीप्रति अनावश्यक रूपले भावुक बन्दैन । उसलाई थाहा हुन्छ, अनावश्यक भावुकताले बाटो छेक्छन् । मान्छेको भावुकता मान्छेको बाटो हुनुपर्छ, मान्छेको बाधा होइन । यही आदर्श भावले करिब ५०-६० फिटजति तल आइपुगेपछि उसलाई आभास हुन्छ, चिसो हावाको गति पूरै थामिएको छ । सगरमाथासहित छिमेकका अरू जम्मै हिमालमुन्तिर ग्लेसियर उपत्यकाहरू गाढा अन्धकारमा हराइरहे पनि टाढा पूर्व क्षितिजतिर आलोकका धर्साहरू कोरिएका छन् । यो परिवर्तित वातावरण निकै उत्साहप्रद हुन्छ, किनभने यस्तो अनुकूलतामा ओर्लने काम सजिलो भइदिन्छ । कम्तीमा पनि प्रचण्ड हावाको झोक्काले उडाइदेला भन्ने डर रहँदैन । तर ऊ कुनै हतार गर्दैन । उसलाई थाहा हुन्छ अति उत्साहले कुनै पनि घात गर्न सक्छ । ऊ हतार गरेर आफ्नै जीवनसित र आफ्नै सपनासित खेल्न चाहँदैन । कसैले भनेको थियो- ‘हिमाल जति दयालु हुन्छ, त्यति नै निर्दयी पनि हुन्छ ।’ ऊ सोच्छ- ‘यो हिमालको कुरा होइन मान्छेको मनको कुरा हो । हिमाल त एक शाश्वत प्रतीक हो मान्छेका महान् यात्राहरूको, मान्छेका महान् अहङ्कारहरूको ।’

ऊ सुस्तसुस्त ठोस, संयमित गतिमा क्रेम्पोन पाइलाहरू चाल्दै समुद्र- सतहबाट आफ्नो उचाइको दूरी घटाउँदै जान्छ । उसलाई थाहा हुन्छ, पृथ्वीको दुई-तिहाइ वायुमण्डल सगरमाथा चुलीमुन्तिरै पर्छ । यो सर्वोच्च चुलीसहित अरू पनि उच्च चुलीहरूबाट ओर्लंदा मान्छेसित चढाइ गर्दा देखिका समस्याहरू हुन्छन् । सायद चुली विजयको खुसी वा सफलताको प्रभावले गर्दा उसले आफ्ना समस्याहरू बिर्सिराखेको थियो, तर चुलीबाट ओर्लन थालेपछि उसका समस्याहरू ऊसँगसँगै ओर्लन थाल्छन् । ऊ जोडजोडले खोक्न थाल्छ । चिसो अनि तेजिलो हावाको हनाइले रातो त्यसपछि कालो बन्दै गएको अनुहार, असाध्य कठ्याङ्ग्रिएर संवेदनाहीन भएका हातखुट्टाका औंलाहरू र धेरै न्यानो पत्रे लुगाहरूभित्र कामिरहेको मुटु- सबै उसलाई दुःख दिने सहयात्री भइदिन्छन् ।

तर ऊ आफैंप्रति वा आफ्नै भाग्यप्रति असन्तुष्ट हुन इच्छुक हुँदैन । ऊसित फुर्सद पनि हुँदैन । ऊ शौर्यपूर्वक, धैर्यपूर्वक अनि बुद्धिमत्तापूर्वक क्रेम्पोन पाइलाहरू चालिरहन्छ । त्यसरी क्रेम्पोन पाइलाहरू चाल्दा उसलाई आफैँले चढाइ गर्दा छाडेका पदचिह्नहरूले ठूलो सहायता दिन्छन् । उसलाई बाटो खोज्दा बाटो हराउने डर हुँदैन । ऊ आफ्नै पदचिह्नहरू पछ्याउँदै हिलारी स्टेप पार गरी दक्षिण चुली पुग्छ । उसलाई आभास हुन्छ, मान्छेले जीवनमा गतिला पदचिह्नहरू छोडे भने ती आफ्नै लागि र अरूका लागि पनि मार्गदर्शक बन्न सक्छन् ।

दक्षिण चुलीबाट रेजर्स एजतर्फको ओराली झर्दा पूर्व बिहानीको अन्धकार बिहानीको आलोकमा हराउन पुग्छ । ऊ टाउकोको फ्लासलाइट निभाउँछ अनि महान् हिमाली उच्चतामा सुरम्य बिहानीको आनन्द अनुभव गर्दै रेजर्स एज आइपुग्छ । पूरै होसियारीपूर्वक रेजर्स एज पार गरी दक्षिणपूर्वधारतर्फ लाग्दा जसको ठीकमुन्तिर उसले एक जना मान्छेको शव देखेको थियो, हावा चल्न थाल्छ । ऊ हावालाई होइन मान्छेको शवलाई सम्झन्छ ।

ऊ मनमनै भन्छ- ‘बन्धु । तिमी सगरमाथा चुली टेकेर शवमा परिणत भयौ कि चढाइकै क्रममा कुनै दुर्घटना, थकाइ र चिसोले शवमा परिणत भयौ म जान्दिनं, तर हेर म सगरमाथाको चुली टेकेर फर्कंदै छु । मैले मेरो नाममा मात्रै होइन पूरै इतिहासको नाममा, पूरै सभ्यताहरूको नाममा, पूरै मानवताको नाममा चुली टेकेँ । यो मेरो मात्र होइन तिम्रो पनि विजय हो, सफलता हो । त्यसैले म तिमीलाई हार्दिक बधाई दिन्छु ।’

ऊ मुस्कुराउँछ- आफ्नो नाममा होइन, पूरै मानवताको नाममा । त्यसपछि मात्र उसले थाहा पाउँछ, बिहान सबेरै हावा चल्न थालेछ । सायद यो मौसम बिग्रने पूर्वसङ्केत हो । ऊ हिँड्दाहिँड्दै आकाशतर्फ आँखा उचाली हेर्छ । टाउकोमाथि आकाशमा कालाकाला, बाक्लाबाक्ला बादलका दलहरू मडारिइरहेका रहेछन् । ऊ आश्चर्य मानी अडिन्छ, अनि उत्सुक भई सगरमाथा चुलीतर्फ फर्की हेर्छ । सगरमाथा चुली र दक्षिण चुलीको आकाश काला बादलले डम्म ढाकिसकेका रहेछन् ।

“तुफान चल्ने हो कि के हो ?” ऊ आफैँलाई सोध्छ, अनि केही डराउँछ । तर मनको डरले जुन ठीक पनि हुन सक्छ बेठीक पनि ऊ लामो खतरनाक बाटोमा छिटोछिटो तल झरी दक्षिण घाँटी पुग्ने हतार गर्दैन । उसलाई थाहा हुन्छ, त्यस्तो हतार गरियो भने ऊ थाहै नपाई बाटो बिराएर कुङसुङमुखतर्फ लाग्न सक्छ वा कुनै दुर्घटनाको सिकार हुन सक्छ । ऊ आफ्नो क्षमतामा सुरक्षित पाइलाहरू चालिरहन्छ, जसको सम्बन्ध कुनै सम्भावित असम्भावित तुफानसित हुँदैन ।

ऊ सोच्छ – ‘हिमालमा तुफानहरू आइरहन्छन् । जीवनमा तुफानहरू आइरहन्छन् । तुफानहरू आए डटेर मुकाबिला गर्नुपर्छ । तुफानसित भागेर तुफानबाट बच्न सकिँदैन । सृष्टिको आदिकालदेखि तुफानहरूका अस्तित्व छन् भने तिनका अर्थहरू पनि छन् ।…’

चिसो हावाको वेग बढ्दै जान्छ । ऊ अनुभव गर्छ, राति चढाइ गर्दा पनि ठूलै हावा चलिराखेको थियो । अन्धकारमा त्यो झन् भयानक सुनिएको थियो । अहिले त बिहानी छ । निश्चय पनि रातको तुफानभन्दा दिनको तुफानसित मुकाबिला गर्नु सजिलो हुन्छ । ऊ डरका अवशिष्ट प्रभावहरूबाट आफ्नो मुक्ति खोज्न सफल हुन्छ । तर अकस्मात् हावाको प्रचण्ड वेग एकतर्फीबाट दुईतर्फी, दुईतर्फीबाट चौतर्फी भइदिन्छ । यो चौतर्फी हावा यति शक्तिशाली हुन्छ कि त्यसले हिउँका ढिक्काहरू उडाउन थाल्छन् । उसको अनुहार र जीउभरि हिउँका ढिक्काहरू बज्रन्छन् । ऊ आफूलाई सकेसम्म हावा र हिउँका प्रहारबाट बचाउन एउटा ठूलो हिमचट्टान समाई त्यसैमा घोप्टो पर्छ । हावाले उसलाई झ्वाट्टझ्वाट्ट उचाली कतै फाल्न खोज्छ ।

सायद हावाको गति २०० किलोमिटर प्रतिघण्टाभन्दा बढी छ, ऊ हतारहतार सोच्छ ।

समय कति बित्छ उसलाई थाहा हुँदैन । तर ऊ आशा गर्छ एकछिनपछि हावाको वेग निश्चय पनि घट्नेछ । पृथ्वीमा धेरै ठूलठूला तुफानहरू आउँछन् तर ती सधैँ रहिरहँदैनन् । शक्तिशाली र विध्वंसकारी तुफानहरू केही समयपछि कमजोर अनि शान्त हुन्छन् । जीवनमा तुफानहरू गुज्रनका लागि आउँछन्, रोकिई बस्नका लागि आउँदैनन् ।

तर उसको आशाविपरीत चौतर्फी हावाको गति रोकिँदैन । त्यसले झन् भयानक हिमतुफानको रूप धारणा गर्छ । ऊ हिमचट्टानबाट टाउको उचाली हेर्ने प्रयास गर्छ, तर सम्भव हुँदैन । उसलाई थाहा हुन्छ यो जीवनको महासङ्कट हो, जसबाट छुटकारा पाउन ऊ केही गर्न सक्दैन ।

‘हे भगवान् ।’ ऊ संस्कारवश भगवान् सम्झन्छ, तर तुरुन्त महसुस गर्छ यस्ता महासङ्कटका बेला भगवान् सधैं अनुपस्थित हुन्छ ।

हिमतुफान झन्झन् भयानक बन्दै जान्छ । पूरै सगरमाथा र त्यसवरपरका हिमालहरूमा सेतो अन्धकार छाउँछ । ऊ शरीर, मन, हृदय, आत्मा सबैका बलले हिमचट्टानलाई समातिरहन्छ । अकस्मात् उसका हातहरू हिमचट्टानबाट फुत्कन्छन् । कसैले उसलाई एकै चोटि माथितिरबाट धक्याइरहेजस्तो र तलतिरबाट बेस्सरी तानिरहेजस्तो हुन्छ।

ऊ पूरै बल मात्र होइन अतिरिक्त बल पनि लाएर हिमचट्टान समात्ने र क्रेम्पोनका काँटीहरू हिउँमा गाडी अडिने प्रयास गर्छ । तर हिमतुफानको गति यति प्रचण्ड र भयानक हुन्छ, त्यसले उसलाई हिमचट्टानबाट उचाली कतै फालिदिन्छ । ऊ नराम्ररी बजारिन्छ । उसको रुकस्याक, हिम-चस्मा, पन्जा, टोपी, गलबन्दी आदि कुराहरू ऊबाट छुट्छन् । जीउका हड्डीहरू चरमराउँछन् । ऊसित ‘ऐय्या…’ भन्ने कुनै फुर्सद हुँदैन र आँखा खोली हेर्दा आफैलाई देख्न सक्दैन । यस्तो भीषण परिस्थितिमा पनि ऊ हिम्मत नहारी आफूलाई उठाउने प्रयास गर्छ । तर हिमतुफानले उसलाई हुत्त्याउँदै अदृश्य दिशातर्फ लान्छ । ऊ आफूलाई कुनै तरिकाले पनि रोक्न सक्दैन ।

यो पूर्ण असहायता र निरीहतामा उसलाई आफैंप्रति दया लाग्छ । ऊ जोडले कराउँछ, तर हिमतुफानको गर्जनबीच ऊ आफू कराएको आफैँ सुन्न सक्दैन । उसलाई आभास हुन्छ, यो उसको जीवनको अन्तिम यात्रा हो… ।

हिमतुफान कतिन्जेल आउँछ, उसले थाहा पाउँदैन, किनभने त्यससित सङ्घर्ष गर्दागर्दै ऊ एउटा ठूलो हिमपहरोबाट खस्छ अनि टाउको बजारिएर ढाड भाँच्चिएर उठ्न नसक्ने हुन्छ । ऊ संवेदनाशून्य हुँदै जान्छ र संवेदनाशून्य नभइसकेका संवेदनाहरूमा अनुभूति ग्रहण गर्दै जान्छ- ‘प्रिय सगरमाथा । मलाई बिदा देऊ । तर मेरो बिदाइ सम्पूर्ण मानवताको बिदाइ होइन । विश्वास गर, मेरो जीवन समाप्त भएपछि पनि सबै कुरा समाप्त हुने छैनन् । मान्छेका अहङ्कारहरू समाप्त हुने छैनन् । मान्छेका अदम्य सङ्घर्षहरू समाप्त हुने छैनन् । मान्छेहरू हिमाल चढ्न आइरहनेछन्… आइरहनेछन्… आइरहनेछन्…।’

अनि ऊ अन्तिम संवेदनामा प्रेयसीलाई म्वाइँ खान्छ… ।