तपाईँहरू कसैले पत्याउनुहुन्न होला है !  ‘पाकु दिदीले लेकमा घाँस जाँदा बच्चा जन्माएर डोकोमा हालेर ल्याउँथिन्’ भन्ने कुरा  !

विश्वका करोडौं  गरिब मान्छेमध्ये पाकु दिदी पनि एक थिइन् ।

अस्पताल र ओखती केही था छैन पाकु दिदीलाई । सुत्केरी भनेको के हो ? सुतक भनेको के हो ? सुत्केरीले मीठो मसिनो ज्वानाको झोल घ्यू खानुपर्छ भन्ने पनि थाहा छैन । तिनको लोग्ने  ( लोकते दाइ) पाकु दिदीमाथि केवल उक्लिन्थे मात्रै ।

उक्लेपछि बच्चा भैहाल्ने कुन श्राप परेको हो  कुन्नि  यी दुई जोईपोइलाई – भन्थे गाउँलेहरूले ।

तर ! ती भने सधैं मुस्कुराएको देखिन्थे ।

अचम्म त त्यो थियो कि हरेक छाक पिठो वा चामल उनीहरू पैंचो लगेरै पकाउँथे । अनि जुन घरबाट खाने अन्न लिएर जान्थे त्यही घरको खेतबारीमा काम गर्न हाजिर हुन्थे । जुन श्रमलाई तिनले पूजा गर्थे त्यही श्रमलाई गाउँका ठुलाठाला पल्टनेहरू भन्ने  गर्थे “यिनीहरूलाई कसको श्राप परेको होला ?”

एउटा गज्जबको बानी थियो लोकते दाइमा ।

पाकु दिदी बर्सौटे थिइन् । मेरो मतलब बर्षपिछे बच्चा जन्माइरहने । दिनभर मजदुरी गर्थे बूढाबूढी  । बेलुकी अलिकति झुम्म लाग्ने तीनपाने लगाउँथे । गाउँमा बेलुकीको खाना ६ बजे तयार हुन्छ । खाना खाएपछि जाडो महिना छ भने अगेनामा आगो ताप्ने, गर्मी महिना छ भने लामखुट्टे धपाउने गुइँठा सल्काउने अनि सुत्ने । दिनभरको थकाइले निद्रा पनि कहाँ राम्रो आउँछ र अनि तीनपाने पियो एक्छिन मात्तियो, एक छिन तात्तियो सुत्यो ।

यसैगरी   पाकु दिदीले चार छोरी जन्माइसकेकी थिइन् । मेलापात घाँस दाउरा जाँदा अरू लोग्नेमान्छे सँग पनि जिस्किन्थिन् तिनी । उनले सोचेकी थिइन् –  पुरुष भनेका त्यही बच्चा जन्माउने गुलेली लिएर मात्रै जन्मेका बज्रस्वाँठ हुन् । उनी लोकते दाइलाई त्यस्तै व्यवहार गर्थिन् र भन्ने गर्थिन् “मेरा पोइलाई राम्रो, मीठो, सफासुग्घर केही चाहिन्न । नुहाउन पनि पर्दैन । रोपाइमा होस् कि कोदो रोप्दा वा मङ्सिरको धान भित्र्याउँदा होस , दिउँसो जे लायो राती पनि त्यही लायो सुत्यो “।

लोग्नेस्वास्नी भएर बेलुकी आधामाना कोदाको झोल पिए मस्त ! अँगालो मारे निदाए । सबैको ओछ्यान एउटै अगेना वरिपरि ।  चार छोरी र दुई जोईपोइ मझेरीमा सोत्रान । कहिलेकाहीँ म बिहानै पुग्थे लोकते दाइकोमा मेला डाक्न । पुग्दा लोकते मस्तले घुर्दै हुन्थे । पाकु दिदी चैं गाई बस्तुको भकारो सोहोर्दै हुन्थिन् बिचरी । भत्किएको पिँढी भएनि लिपपोत गर्थिन् । तिनको जाँगर देख्दा चैं अचम्म लाग्थ्यो ।

ठुली छोरी मालती १४ वर्षकी भैसकी । गाउँमा स्कुल त छ नि । तर पढ्न जान मान्दिन । अर्की माइली मुना १३ वर्षकी भै छ । ऊ पनि केही दिन स्कुल गएर छोडेकी । बरु साइली सुकु चैं जान्छे । तीन दिदीबैनी उल्का राम्रा छन् । मिजासका छन् । जेठी अगेनामा भात पकाउँछे । माइली बन गएर घाँस दाउरा गर्छे । साइली सुकु घर धन्दा गर्छे । पानी लिन सिम्लाको पखेरो धाउनुपर्छ । पाकु दिदी र लोकते अहोरात्र अरूको मेला नगए यिन्लाई खान पुग्दैन ।

गज्जब छ जिन्दगी ! जस्लाई हामी गरिब भन्छौं ती हामी भन्दा धेरै सुखी र खुसी छन् । इमान्दार छन् । प्रसन्न अनि प्रेमिल छन् । लोकते दाइ भन्थे,  “तीन बीस दुई भए भाइ । अहिलेसम्म टाउको समेत दुखेको छैन ।”  लोकते दाइ एउटा सोझा किसान । किसानहरू प्रायः सबै सोझा हुन्छन् । एउटा सानो पराले झुपडी । त्यही पनि बर्खामा चैँ अलि अलि पिँढीमा पानी चुहिन्थ्यो । पानीको धारले रातो माटाेले लिपपोत गरेको पिँढी खोपिल्टो पार्दा समेत छाउने जाँगर नचलाउने तिनै हुन लोकते दाइ । अरूका हराभरा पार्छन् तिनी तर आफ्नै भने चैँ छानो चुहिन्छ ।

पाचौं बच्चालाई पनि पाकु दिदीले पुड्कन्चीको छाँगामा पाइन् ।

त्यो छाँगा वरिपरि धेरै हरियो घाँस पाइन्छ । म सधैं देख्थे पाकु दिदीको ठुलो पेट । जुन दिन पेट घटेको देख्थें अनि सोच्थे ल यिनले  बच्चा जन्माइछन्  । ‘के पायौ पाकु दिदी यो पाली चैँ’ भन्थे  म । अनि उत्तर आउँथ्यो  “उही त हो नि ! पोहोर जे पाको यो पाली पनि  त्यै” ।

“छोरी छोरी मात्रै पाएर तिम्लाई अब बच्चा नपाऊ भन्ने लाग्दैन ?” म सोद्थे  तिनलाई । अनि उत्तर जहिले नि रेडिमेट आउँथ्यो “खै र तिम्रा लोकते दाइले मानेका ? तिन्पाने घिचेसी चल्न आउँछन् अनि बर्सेनि जन्मिन्छन् राडहरू । मैले चाहेर के हुन्छ र मनु भाइ ?”

कुरो सही हो पाकु दिदीको । आइमाईले चाहेर पनि के होस् बरा ।

निरीहता बोकेर बाचे पनि हाँस्छिन् तिनी । घाँसको भारीमाथि कति बोकेर ल्याइन् तिनले रगत र सालनाल सहितको शिशु । रगत मिसिएको घाँस कति खाए होलान् तिन्का गाईबस्तुले । खोइ कसरी पाउँछिन् होला तिनले एक्लै लेकमा बच्चा ? कसरी  सहन्छिन् होला सुत्केरी व्यथा । तिनी रगत लतपतिएको फाटेको फरिया लगाउँदै शिशुलाई भारी माथि पटुकीले बेरेर ल्याउँथिन् ।

ठाउँ ठाउँमा टालेको फरियाको रङ्ग पनि भिन्नभिन्न देखिन्थ्यो ।

घरमा आएपछि घ्याम्पोमा पिठो हेर्थिन् रे । अनि मलखाडिमा लहलह भएको साग मिसाएर खोले पकाउँथिन् र मज्जाले खान्थिन् । लोकते बेलुका मेलाबाट फर्केर आउँदा “फेरि पनि छोरी नै पाइछ ” बस यति मात्रै भन्थे रे उनी । जेठी, माइली, साइली सम्मको न्वारान गरे तिनले पछि त झन्झट लाग्न थालेछ न न्वारन न पास्नी न सुतक । बर्षपिछे बैनी थपिएको देखेर ठुली छोरी मालतीलाई पनि दिक्क लाग्न थालेछ ।

“हाम्रा बा आमा सुत्केरी भाको दुई महिना पुगेको हुँदैन तीनपाने पिएर चल्न थाल्छन् ।” ठुलीले मेला जाँदा कुरा काटेको लोकते दाइले था पाएछन् । एक दिन अगेनोमा झोक्राएर बसेको बेलामा भएन हैट अब त लाजै भो भनेर परिवार नियोजन पो गर्न परो भनेर पाके दिदीसँग सल्लाह मागेछन् ।

“होइन ओइ पाकु ? छोरीले त गाउँभरी हल्ला गरिछ नि ।”

“के भनी छ र ?”

“खै के के भनी रे हाम्रा बा आमालाई कति चाहिया हो बच्चा रे !”

“ठुलीले भनेकी रे ?”

“हो के। अब पुगो हौ । म भोलि बिहानै भद्रुटार हस्पिटल जान्छु ।”

“किन र ?”

“परिवार नियोजन गर्न नि अब किन हुनु ?”

“पैसा लाग्च होला नि फेरि कोसँग दारा ङिच्याउनु र ?”

“लाग्दैन होला ?”

“अँ तिम्लाई भनेर सित्तैमा गर्दिन्चन होलान् नि नियोजन । साँच्चै ए बुढा यो नियोजन भनेको क्या हो हँ ?”

“खसी पार्नी हो क्या ।”

“के भन्नुहुन्छ हौ अहिले चैँ तपाईं बोका हो र ! छि के भन्दा हुन् । ”

“लौ हेर थाहै रैन्च यल्लाई ?”

“अनि के हुन्छ त भन्नु न, खसी भएपछि बच्चा हुन्न र ?”

“हुन्न क्या हुन्न ।”

“पक्कै हो ? फेरि भयो भने त पैसा फिर्ता माग्न पर्च नि ?”

के त उसो भ जाम् त पर्सि ? कसैको नि मेला छैन त्यो दिन ।”

“अर्को पाली चैँ छोरा पो हुन्थ्यो कि के था ? कतै भगवान् दाहिना पो हुन्छन् कि बुढा । कि एक वर्ष रोक्ने हो ?”

“हैट के भन्छे राड, यहाँ बेजत भैसको आफ्नो ।”

“ल ल भो जाने पर्सि  । खसी भएपछि चैँ म भाटा चल्न नआउनु अहिले भन्देछु । तीनपाने पिएसि तिम्लै  सकसक लाग्छ । मलाई त के ! आफ्नो बिचार ।”

पर्सिपल्ट कसैको मेला थिएन । अलिकति पैसा सापट लिए गोकर्णसँग र चले बिहानै लोकते दाइ भद्रटार हस्पिटल ।

हस्पिटल पुगेसि तिनले डाक्टरलाई भने, “म खसी बन्न आएको । “डाक्टरले कुरा बुझे र भने श्रीमतीको अनुमति लिनुभाछ ?”

“लिएछु क्यारे ।” भनेछन् । नभन्दै आधा घन्टा अगाडि सम्म लोकते दाइ बोका थिए । आधा घन्ट पछाडि तिनी खसी भए । अघि फटाफट हिँडेर आएको त्यही बाटो अहिले गाह्रो पो लागेछ तिनलाई । घर पुगे । पाकु पनि बुढा कतिबेला आउने हुन् खसी भएर भन्दै पिँढीमा झोक्राएर बसिरहेकी थिइन् । लोकते दाइ पुगे । फ्यात्त भुइँमा बसे । १५ दिन अगाडि लेकमा जन्मेकी शिशु चिसो भुइँमा लडिरहेकी थिई ।
“खसी बन्नु भो ?”
“बने नि ।”

“कति पैसा लाग्यो त ?”

“एक पैसा नि लेनन् । अझै डाक्टरले गाउँमा अरू पनि धेरै बच्चा जन्माएर बसेका बोकाहरूलाई सम्झाएर खसी बन्न हस्पिटल जानू भन्दिनु न । भलो हुन्छ भन्दै  जुस पो ख्वाएर पठाए ।”

“आम्मै जुस पनि खौदा रैचन् । म नि जान्थे नि ।”

धाप्पिएर घर पुगेका थिए तिनी । अस्ति पारेको बासी मही थियो ठेकीमा सारेर ल्याई पाकुले । एक कचौरा मही पिएसि अमिलो डकार्दै लागे सिम्लाको पखेरामा एक डाेको घाँस ल्याउँछु भन्दै गए । सरल मान्छेको सरल जिन्दगी जस्तो त्यही घरमुनि बगिरहेको स्याल्पिङ्गे खोला झैँ बगिरहेको थियो । स्याल्पिङ्गे आफ्नै गतिमा बग्न थालेको सदियौँ भयो एकतमासले बगिरहेको छ मैले देखे देखि त्यो त्यस्तै छ । त्यो कहिले रोकिएन । मैले थापाए देखि ती लोकते दाइको जिन्दगी पनि त्यतिकै एकनासले बगिरहेछ । परिवार नियोजनलाई खसी पार्ने भन्थे गाउँमा । गाउँले  सबलाई थाहा छ को को खसी भएको छ भनेर । गाउँमा सबको हिसाबकिताब एकले अर्काको राखेको हुन्छ ।

लोकते खसी बनेर आएको पनि गाउँमा एकाएक हल्ला फैलियो ।

स्वारथोकको जगमान बुढा भन्दै थिए – “अलिक दिन लोकतेलाई काममा नलगाउनु खसी भएर आएपछि एक हप्ता सम्म आराम गर्न दिनुपर्छ ।”

बासकोटेको रामबहादुर भन्दै थिए, “बिचरो घरमा खाने अन्न त छैन के खाएर तङ्ग्रोस् ।”

पारथोकका पाठक कान्छा ले पनि था पाएछन् र बोल्दै थिए, “एक माना घ्यु खानुपर्छ लोकते अब पहिलाको जस्तै हुनलाई ।”

खोप्राबारी जेठा बा पनि बोल्दै थिए, “मैले पनि अप्रेसन गरेपछि दुई हप्ता आराम गरेको । मीठो चोखो नखति  कुरा खानुपर्छ अब अलिक दिन लोकतेले ।”

हरेक दिन मेलामा यही कुरा सुनिन्थ्यो ।

मलाई अचम्म चैं यसमा लागिरहेको थियो कि हरेक वर्ष पाकु दिदीले लेकमा घाँस जाँदा बच्चा पाएर ल्याउँथिन् कसैले भन्दैनथे । सुत्केरीमा यिनले आराम गर्नुपर्छ । यिनी कमजोरी छिन्, यिनले केही हप्ता तागतिलो कुरा खाएर घरमा बस्नुपर्छ । तर अहिले एउटा सामान्य परिवार नियोजन गरेर आएको लोकतेलाई चैं यत्रो ख्याल राख्छन् गाउँलेले । यो विभेद किन ? स्त्रीको चैँ ज्यान होइन र ?  किन नारी र पुरुषमा यो विभेद !

सालनाल र शिशु पटुकीमा पोको पारेर फेदिगाउँबाट झर्थिन् घाँस बोक्तै पाकु दिदी । कसैले सोद्दैनथे तिन्लाइ एक माना चामल लगेर पेटभरी भात पकाएर खाऊ भनेर । तर आज लोकते खसी भएर आउँदा चैँ यत्रो सोधिनिधी  !

गाउँलेको करकापले लोकते दाइ केही दिन मेला गएनन्  ।

छोरीहरू पनि  खुसी भए कि अब आमाले अर्को बैनी पाउँदिनन् भनेर । तिनले भाइको  आशा कहिले राखेनन् । जेठी मालतीले सोच्दै थिई कि मैले बाउको कुरा काटेर ठिक गरेछु ।  कमसे कम बुढाले परिवार नियोजन त गरेर आए । छोरीहरूले देखेका थिए हरेक रात आमाको सुत्केरी कन्तबिजोग । तिनीहरूले भोगेका थिए तीनपाने पिएपछि  बाउ र आमाको हर्कत । अब त अप्रेसन भो तीनपाने पिए पनि बाउले त्यस्तो हरकत नगर्लान् र फेरि फेरि आमा सुत्केरी नहोलिन् ।

एउटा सुखी परिवार दुखी परिवारमा परिवर्तन हुँदै गैरहेको ती छोरीहरूले महसुस गर्न थालिसकेका थिए । जेठी मालती पन्ध्र पूरा पुगेर सोह्र वर्ष लागिसकेकी थिई । गरिब नै भए पनि ज्याला गरेर लोकतेले छोरीहरूलाई भोकै चैँ कहिले राखेका थिएनन् । खोले नै खाए पनि पुष्ट थिए नानीहरू । भात खाने साहुका छोरीहरू भन्दा ज्याला गरेर खोले खाने लोकतेका छोरीहरू असाध्य रसिला भरिला थिए । यही भन्थे गाउँले पनि । मेला गाका ठाउँमा गाउँका अल्लारे ठिटाहरूले जिस्क्याउन सुरु गरिसकेका थिए मालतीलाई । लोकते र पाकुको जिम्मेवारी दिन प्रतिदिन थपिरहेको थियो ।

सबैभन्दा दुखको कुरो त भन्नै बाँकी छ मैले । पाकु दिदी फेरि दुई जिउकी भइन् । छोरीहरूमा निराशा  छाउन थाल्यो । गाउँलेले मेलापातमा हल्लीखल्ली मच्चाउन थाले,  “लोकतेले अप्रेसन गरेको छ पाकुले फेरि भुँडी बोकी ।” भुँडी त बोकी तर कसको भुँडी बोकी । भुँडी त यसै बोकिँदैन । बोकाइदिने अरू कोही बोका हुनुपर्छ । त्यो बोकाको खोजी हुनुपर्छ भन्ने मान्यता राख्यो गाउँलेले । पाकुको श्रम, मजदुरी, पसिना, ज्याला, भोक, रोग इमान्दार र अहिलेसम्मकै सोझोपनको कसैले मूल्याङ्कन गरेन । तर जब लोकतेले अप्रेसन गरिसकेपछि पाकुले पेट बोकी गाउँलेको निद हराम भो । छोरीहरूलाई छेड्ने काम हुन थाल्यो, “मालती तेरी आमाले कसको पाप बोकी थाहा होला भन्न ?”

मेलामा मालतीलाई यसरी गाउँले हरेक दिन केरकार गर्न थाले ।

मालती रुन मात्रै सकेकी छैन । ऊ घरमा आमासँग पनि बोल्दिन । बाउसँग पनि बोल्दिन । बैनीहरूसँग पनि बोल्दिन । आमाको मुख पनि हेर्न छोडेर गाई गोठमा गएर एक्लै सुत्न थाली ।

मङ्सिरको धान काट्ने बेला थ्यो । बाउ मेला गएको ठाउँमा मालती जान्न थी । ऊ अर्कैकोमा जान्थी । लोकतेलाई गाउँलेले कचकच पार्न थालेका थिए, “लोकु तेरी  बुढीले फेरि पेट बोकी रहस्य के हो  ?” गाउँलेले सिधै भन्न सकेका थिएनन् । घुमाउरो पाराले कुरा धुत्न खोज्थे । पाकु र लोकते अब सँगै मेला हिंड्न छोडे । दुवै अलग अलग । आलोचना सहनु भन्दा बरु बेग्लाबेग्लै मेला गयो भने कचकच त सुन्न पर्दैन भन्ने कुरो तिनका मनमा आयो कि खै के हो ।

पाँचौँ बच्चा जन्माइसकेकी पाकुसँग अझै हिम्मत छ । एउटा बच्चा नाफामा फेरि पेटमा आयो । ऊ चुपचाप छे । पुरुषले भन्दा नि महिलाले सोधपुछ गर्थे र उसलाई यो अनावश्यक तर्क बजानले गर्दा मेला पनि नजाऊ जस्तो लाग्न थालिसकेको थियो उसलाई । तर नगएर पनि के गर्नुर सात जना जहानको पेट त पाल्नै पर्यो नि फेरि  ।

एकदिन मालती निहुरेर धान काटिरहेको बेलामा सुनखानी गाउँको समर सिंहको नातिले जिस्क्यायो ।

“ओइ मालती मसँग बिहे गर्छेस् ?”

“के था त मलाई !”

मालती लजाई । हुन्छ पनि भनिन । हुन्न पनि भनिन । बिहे उसको बसको कुरो पनि थिएन । मालती जता जता मेला जान्थी  उतै उतै धाउन थाल्यो समर सिंहको नाति लालसिंह पनि । केटो खाइलाग्दो थ्यो । लरक्क परेको । जात चैँ नमिल्ने । मालतीलाई चार दिन पछ्यायो लालसिंहले । अन्ततः पगाल्यो ।

मेला सकिएपछि उनीहरू अधेरी दोभानको पाटीमा बसेर गफ गर्थे । जोडी चैँ मिल्थ्यो लालसिंह र मालतीको । सलक्क बढेको । घोर्ले बोको जस्तो थियो तामाङको छोरो  । हामी जिस्काउँदा चैँ लालसिंह भन्थ्यौ उसलाई । सुनखानी बछला प्राविमा सँगै पढेको । मालती पनि सानोमा बछला प्राविमा दुई चार महिना पढ्न गकी रैछ ।

केही दिनदेखि मालतीलाई निद्रा आएको छैन । घरमा था छैन कसैलाई पनि । एक दुई चोटि माइली बैनीले सोधेकी थिई उसको उदासीपन तर केही बोलेकी थिन मालती । ऊ बेग्लै सुत्छे गाई गोठमा । आमाप्रति नकारात्मक छे । बाउले परिवार नियोजन गर्नु अनि आमाले पेट बोक्नु, यो कुराले उसको मन खाइरहेको थियो । झन् मेलामा दिनदिनै दुनियाँलाई जवाफ दिँदैमा थाकेकी थिई ऊ । गज्जब छन् गाउँले पनि । कुरा काट्न नम्बर एक ।

अरूको दुखमा हाँस्ने । खिल्ली उडाउने र खुच्चिङ भन्ने । गाउँका हुर्केका चेलीबेटी जिस्काउने । धारोमा गाग्री राखेर घन्टाै बिताउने । तर्कारी पकाएको देखि जोईपोइ सुतेका, कोपरादेखि थालसम्मका गफ गर्छन् पधेर्नीहरू ।

लालसिंहले फकाएछ तर मालतीलाई भने एउटा चिन्ता थ्यो । आमाले इज्जत फालेकी नै भए पनि भाइबहिनीको भविष्य के होला भन्ने । लालसिंहसँग भागेर जाने निधो त गरी तर  यस्ती आमाकी छोरी पोइल नगए के गर्छे त ! भनेर फेरि तिनै गाउँलेले कुरा काट्न थाल्छन् भोलि मेलापातमा । के गर्नु के नगर्नु दोधारमा परि मालती । १६ वर्षको बैँसालु यो उमेरमा उसलाई पनि लाऊँलाऊँ खाऊँखाऊँ रमाइलो गरूँ भन्ने चाह हुन्छ नै । एउटा आफ्नो कोही केटा साथी होइदेओस् भन्न चाह हुन्छ । ऊ चाहन्थी आफ्नो परिवारको आर्थिक अवस्था सुधार होस् । ऊ चाहन्थी बुढो भैसकेका बाबु त्यहाँमाथि पनि अप्रेसन गरिसकेकालाई कति ज्याला मजदुरी गर्न पठाउनु ।

एकदिन पाकु अगेनामा सानी बैनीलाई तातो पार्दिंदै झोक्राएर बसिरहेकी थिई । यो दृश्यले आमा प्रतिको मालतीको  स्नेह उर्लियो । उसले मनमनै सोची –  ‘ह्या म पनि किन बेफ्वाँकमा आफ्नै आमाप्रति पाप चिताऊँ । बाबाले अप्रेसन गरेँ भनेर यतिकै ढाँटेका पो हुन् कि ! के था लोग्नेमान्छेको जात हो नि ? आमाप्रति  कतै घोर अन्याय पो भा’छ कि के था ?  म त अलिकति बुझेकी दुईचार अक्षर पढेकी छोरी पो त ।’
आमा नजिक गएर बसी भुइँमा थुचुक्क । छोरी नजिक आएर बसेकीले पाकुले पनि हेरि पुलुक्क । आमा छोरीको लामो गन्थन भो ।

अब भने आमा प्रतिको उसको विश्वास बढ्यो । भरे बेलुकी बाउ मेलाबाट आएपछि सोधपुछ गर्ने निधो गरी मालतीले ।

बेलुकी भो । बा मेलाबाट आए । थाकेर आएका लोकते दाइ परालको पुरानो चकटी ओछ्याएर अगेनो छेउमा बसे । सिल्बरको कसौँडीमा भात छड्किँदै थ्यो ।

“हैन बा तपाईंले अप्रेसन त गर्नुभएको हो ?”

“हो नि, किन सोधेकी ?”

“अनि आमाको यो हालत किन त फेरि ?”

“छोरी मान्छे भएर तँलाई यस्ता कुरा सोध्न लाज लागेन ?”

“यहाँ गरिबीको कारण प्रतिदिन अरूसँग मागी खान लाज भएन । अनि मैले आमाको यो हालबारे सोधपुछ गर्न केको लाज बा ?”

“सोध्न तेरी आमालाई मलाई मात्रै के सोध्छेस् ।”

“सोधे त मैले आमालाई पनि ।”

“के भन्छे त ?”

“बिचरी आमाको केही दोष छैन ।”

चुरो कुरो पत्ता लागेन । आमाको पनि गल्ती छैन । बाको पनि गल्ती छैन । आखिर दोष कसको थियो त ? मालती अवाक् भैरहेकी थिई । समस्या सुल्झाउन सकिएको थिएन । गरिबीका कारण काम छोडेर कतै हिंड्ने कुरा पनि भएन ।

एकदिन लालसिंह पाकुको घरमा आयो र मालतीको हात माग्यो । लोकतेलाई केही पैसा दिएर भए पनि फकाउने निर्णय गर्यो उसले । पाकु र लोकते एकै भए । जात मिल्दैन ।

“कसरी सरासर थापाकी छोरी तामाङलाई दिनु यो कुरा गर्न मिल्दैन” भनी पाकुले । लालसिंहले फकाउँदै भन्यो, “यो घरको समस्या मेरो समस्या हो । भन्नु न बरु म हजुरहरूलाई ऋण तिर्न मद्दत गर्छु र बिहे गर्दा खर्च पनि गर्न लगाउँदिन । मालती मलाई मन पर्यो अनि ऊ पनि मलाई मन पराउँछे ।”

पाकुलाई पनि आशा लाग्यो कि गजमाने साहुको ऋण तिर्न पाए त मुक्ति मिल्ने थ्यो भनेर । मालतीलाई एक दिन एकान्तमा बोलाएर सोधपुछ गरी पाकुले कि उसलाई लालसिंह मन परेको छ त ?

मालतीले भनी,  “आमा लालसिङ कस्तो मनकारी छ तपाईंहरूलाई के थाहा ? त्यतिको केटा भए मलाई हुन्छ  र अनि कुरो रह्यो जातको । माथि आघेटारको सरु पनि त पुडि गाउँको श्याम सुन्दर परियारसँग पोइल गएकी हो नि खै अहिले सरु घर–माइती गरिराकी छे त !” झन् लालसिंहले हाम्रो व्यवहार पनि मिलाइदिन्छु भनेका छन् नि ।

के कति लेनदेनको कुरा भो कुन्नि । अब लालसिंहसँग मालती बिहे गर्ने भै । पैसाकै कारण पाकु र लोकते मिले । बिहे त खास के हो र एकदिन आफ्नो लुगाफाटो बोकेर मालती लालसिंहको घर गै ।

बैनीहरूले धेरै दुख माने कि दिदी बिहे नै नगरी लालसिंहसँग गई भनेर । केही दिन घरमा शून्यता छायो । “टीकाटालो सम्म भने नि गर्नुपर्थ्यो नि बिचरीको । त्यतिकै पैसा लिएर लालसिङलाइ जिम्मा लाएछन् लोकतेका बूढाबूढीले आफ्नी छोरी ।”

आखिर फेरि गाउँलेले भन्ने कुरा पाए ।

सबैभन्दा ज्ञानी छोरी, आफूलाई सघाउने छोरी, हुर्केकी छोरी मालती अब पराइ घरमा गई । गच्छे अनुसारको बिहे त गर्नुपर्ने थ्यो तर त्यसो हुन नसके पनि नारायण पूजा मात्रै भए पनि पुजेर दिनुपर्ने थियो । यो कुराले पाकुको दिल बहुतै दुखित थियो । गरिबी भनेको मान्छेको विवशताको घाउ रहेछ यही कुराको बोध भो उसलाई ।

पठ्ठाे लालसि‌ंह दङ्ग पर्यो मालतीको जवानीमा । मालती पनि खुसी भै । माइती त्यही पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु र बैनीहरूले । यस्तै सोच्थी ऊ र ढुक्क पनि थिई । दिउँसो दुई लोग्ने स्वास्नी मेला जान्थे सँगै बेलुकी रमाएर आउँथे ।

गरिब परिवारमा जन्मी हुर्किए पनि मालतीमा एउटा संस्कार थियो । ठूलालाई आदर सम्मान र सानालाई स्नेह बाँड्थी ऊ । खेतमा मेला गएका बेला मालतीको जवानी र पारिवारिक कमजोरी पत्ता लगाएर प्रेमको जाल फ्याँकेको थियो लालसिंहले र त्यो जालमा यति सहजै मालती पर्ली भनेर उसले कल्पना पनि गरेको थिएन ।

तर मालती पग्लिनु उसको लागि खुसीको कुरा थियो । दुई हप्ता दुवैले जवानीको आगो बाले । त्यो रापिलो आगोमा होमिए दुवै ।

क्रमश…