मान्छेपिच्छे यस टोलको अलग अलग नाम छ । मुसहरहरूको सङ्ख्या धेरै भएकाले यो टोललाई मुसहर टोल भन्नेहरू पनि छन् । प्रधानपञ्च रामदेव मण्डलले यस टोलको नाम पञ्चायत टोल राखेको थियो । एक जना मन्त्रीले यसको उद्घाटन गरेका थिए । बहुदल आएपछि अनवर अख्तरले सबैलाई उछिन्यो । एक जना नयाँ नेतालाई बोलाएर उसले त्यहाँ भाषण गराएको थियो । विकासे भाषणपछि नेताले ताली पिटाउँदै घोषणा गरेका थिए- आजदेखि यो टोलको नाम राम लक्ष्मण टोल !
तर विलट बुढाले भन्यो,
धनेसरी पासवानले भनी-
“अयँ गे ने एतय राम लछुमनक मूर्ति छइ, ने हनुमानक, ने एतय राम मीना होइछइ, त अइ टोलक नाम राम लछुमन टोल कोना भेलइ !”
“हँ तो कोना भेलइ !”
बरु नयाँ टोल भएकाले मान्छेहरूले यसलाई लबका (नयाँ) टोल भने । मूल टोलभन्दा पश्चिमतिर भएकाले कतिले यसलाई पछबरिया टोल भन्न थाले । मान्छेहरूलाई यही नाम सजिलो लाग्यो, अहिले धेरैले यसलाई यसै भन्छन् । अहिले यो टोल बडो चर्चामा छ-
पुलिस थानामा चर्चा छ ।
चिया पसलमा चर्चा छ ।
गाविस कार्यालयमा चर्चा छ ।
पार्टी अफिसहरूमा चर्चा छ ।
एक, दुई, तिन, चार… जम्मा सत्तरी-असी घरहरू छन् त्यहाँ । केही घर पहाडियाका छन् र केही घर मधेसियाका । यादव पनि छन्, श्रेष्ठहरू पनि छन्, अन्सारी पनि छन्, ततमा पनि छन् । संयोगले कसैको नाम कुनै राष्ट्रिय वा क्षेत्रीय नेतासित मिल्न गयो भने भिन्नै कुरा हो अन्यथा अधिकांशलाई आफ्नो नाम पनि पूरा थाहा छैन ।
यो हरिकङ्गालहरूको बस्ती हो ।
यो तन्नमहरूको बस्ती हो ।
जगदीशवाको तिन कट्ठा जमिन छ- कागजमा । पानी जम्छ बाह्रै महिना । जगदीशवा त्यसलाई गड्ढा भन्छ, गड्ढा अर्थात् खाल्डो । पटुवा गाड्न काम दिन्छ । त्यो पनि पटुवा भए न हो ! किस्नबहादुर कुन काकताली परेर हो, सायद बहादुर भएकाले होला गोल्छाको मिलमा चौकीदारीको काम गर्छ ।
साँच्चै यो मरियलहरूको बस्ती हो
र पनि यो टोल बडो चर्चामा छ । यो टोलको पाँच सय एकाउन्न भोट कसको छापमा जान्छ ? अहिलेको गरमागरम विषय यही हो । साँच्चै यो टोलको भोट कसको छापमा जान्छ होला ?
छाप नं. १ ढुक्क छ- आखिर गरिबहरूको भोट उसकै छापमा ।
यसपल्ट फागुनमा पानी परेन, चैतमा पनि, वैशाखमा पनि; जेठमा पनि पानी परेन । यो तातो हावा । कामताम केही छैन । खेतबारी छैन । यो महँगी ! महँगी पनि चुनावपरस्त छ । एक सय कड्कडिया बराबर – एक ।
छाप नं. २ सित चुनावी अनुभव पूरा छ । ‘न बातको न जातको मोहर लगार्बे हाथको ।’
छाप नं. ३. पनि दङ्ग छ । ऊसित पछबरिया टोलको आफ्नै किसिमको तथ्याङ्क छ ।
अब माइक बज्न थाले । चुनावको चहलपहल देखिन थाल्यो । पर्चा, पोस्टर, झन्डा, जुलुस मेरीबास्सै ! मेला लाग्न थाल्यो, मेला । को जाओस् अब सुन्दरी मठको मेला । अनवर अख्तरले कटिहारबाट नाचपाटी मगाउने घोषणा सुनाएको छ गाउँमा । खाना फ्री, नाच फ्री ।
कोभन्दा को कम ।
“घर नहुनेलाई घर… जग्गा नहुनेलाई जग्गा, साथीहरू हो ! गरिबको भोट…” छाप नं. १ ले मुट्ठी कस्यो ।
छाप नम्बर ३ ले पाँच औँला ठड्यायो । कसैले यसलाई पाँच रुपियाँ भने कसैले पाँच सय ।
तर पानी, बिजुली, नाच, खाना, जग्गा जमिन, पहाडिया, मधेसिया; अहँ कतैबाट पनि जोड घटाउको समीकरण मिलेन ।
छाप नं. १ ले लामो श्वास फेर्यो ।
छाप नं. २ ले थाप्लोमा आफ्नै हातले ठोक्यो ।
छाप नं. ३ पनि खैनी मल्दै घोरियो- ‘फुलमतियालाई किस्नबहादुरले बहिनी मान्छ… त्यो पनि भएन ।’
सवाल छ हजुर । पाँच सय एकाउन्न भोटको सवाल छ । पछबरिया टोल फेरि चर्चामा छ, नयाँ नयाँ चर्चा । किस्नबहादुरले छाप नं. १ छोड्यो । जगदीशवाले छाप नं. २ छोड्यो ।
… … … … … … … … … … … … …
टोलमा छापैछापको होहल्ला छ ।
चिया पसलमा बाजी चलेको छ-
पछबरिया टोलको सारा भोट छाप नं. १ मा ।
पछबरिया टोलको सारा भोट छाप नं. २ मा ।
पछबरिया टोलको सारा भोट छाप नं. ३ मा ।
पछिल्लो हल्ला त झन् सनसनीपूर्ण थियो ।
“पछबरिया टोल केकरो भोट नहीं देतौ ” – गरमागरम छ चिया पसलमा ।
शुकदेव पनि यसै भन्थ्यो ।
शिवशरण पनि यसै भन्छ ।
“बाह्र वर्ष भयो यहाँ बसेको । हामी बसेको जग्गा दर्तामा छैन । चुनावको बेला सबै यसो भन्छन्, उसो भन्छन्, छैन भोट । केको भोट ?” किस्नबहादुरले घोषणा गरिदियो चिया पसलमा । धनपतले पनि कुरा मिलाए । “हे अब हम तब केकरो भोट नहीं देव” -कै लाशवाले पनि साथ दियो ।
“एकर मतलब भेलइ बहिष्कार” -विन्देश्वर मास्टरले अर्थ लगायो ।
“जे बुझ” -किस्नबहादुरले उत्तर दियो ।
“तब हि सब बहिष्कारवादी भेलइ” -चौधरी मास्टरले झन् आफ्नो चासो देखायो ।
“तब हाम्रो टोलमा पनि मसाल घुस्यो” – रातिको दारुले अहिलेसम्म छोडेको छैन झैं अनुहार पारेर अघिदेखि कुरा सुनिरहेको अनवर अख्तरले नाक फुलायो ।
“तुँ सब कथी मसाल कहै छौ रे सार् सब” उताबाट आउँदै गरेको छुट्टै अनवरले डाँट्यो अर्थात् हकार्यो ।
सबैले मुखामुख गरे ।
“मसाल जुलुसको कुरा गरेको” – कैलाशवाले आँखा झिम्क्याउँदै भन्यो ।
“चिया पसलमा मसाल जुलुसको कुरा ?” -हबलदारले लट्ठी बजायो ।
साँच्चै, हरिकङ्गालहरूको बस्तीले सबैलाई चिन्तित तुल्यायो ।
छाप नं. १, २, ३ सबैलाई । हबलदारलाई, थानालाई । निद्रा हराम, भोक हराम । पाँच सय एकाउन्न भोट कसको छापमा जान्छ ? सर्वत्र चिन्ता लागेको छ ।
“साथी हो ! राम लक्ष्मण टोल हाम्रो हो, हाम्रो भोट हाम्रो छापमा ।”
“हो, हाम्रो छापमा ।” योजनामाथि योजना; मिटिङमाथि मिटिङ, रातभरि मिटिङ ।
पछबरिया टोल त्यति सन्चोले किन निदाउन पाउँथ्यो । यो तातो हावामा पछबरिया टोल किन निदाउन पाउँथ्यो । रातको अन्धकारमा डुबेको पछबरिया टोलमा एक्कासि हल्लीखल्ली मच्चियो । पछबरिया टोल हावामा हुरहुर बल्न थाल्यो । केटाकेटीहरूको रुवाबासी, ठुलाहरूको गुहार ! गुहार ! “ए फुलमतिया !, ए जगदीशवा !” उफ् ! गाईवस्तु कराउँदै छन् । कुदा रे कुद ! रुवाबासी ! होहल्ला !
“मारो मारो पहाडिया को पहाडिया ने” एक हुल मान्छे लिएर छाप नं. ३ त्यतातिर कुद्यो ।
“आगो लगाउने छाप नं. १ मुर्दाबाद” -छाप नं. २ पनि लट्ठी, भाला र खुकुरीसहित लाग्यो त्यतातिर
“आगो लगाउने छाप नं. २ मुर्दाबाद ! साथी हो, हामी आगो झैं भएर…’ -छाप नं. १ पनि कुद्यो त्यतातिर ।
चल्यो । त्यहाँ पनि खुब चल्यो ।
आगो कसले लगायो ? टोलमा खुबै टीकाटिप्पणी चलेका छन् । “राम लछुमन टोला मे कत से हनुमान् घुस गइल रे” उडाउने पनि भए ।
आगो सर्प बनेर लठारिँदै छ, अकासिँदै छ, बतासिँदै छ । बुढाबुढीहरू कराइरहेका छन्, बिलौना गरिरहेका छन् । रातको बेला; कुकुरहरू भुकिरहेका छन् । “हमार बच्चा”, शिवशरणकी जहान छाती पिटी पिटी रोइरहेकी छ । कस्तो हृदयविदारक दृश्य ।
कसले लगायो आगो ? कसले ? कसले ? आँखाहरू छन् । प्रश्नहरू छन् । छाप नं. २ को अफिस रातभर खुला थियो- एउटा टिप्पणी ।
छाप नं. ३ को घरको ढोका खुलै थियो- अर्को टिप्पणी।
फेरि होहल्ला ! आरोप प्रत्यारोप जिन्दाबाद । मुर्दाबाद । “मारापिटी भेलइ रे मारापिटी” -मान्छेहरू होहो र हाहा ! गर्दै कुद्न थाले ।
उज्यालो हुन नपाउँदै सारा टोलमा चर्चा; टीकाटिप्पणी । चिया पसलमा चर्चा, थानामा चर्चा, पार्टी अफिसमा चर्चा ।
आगो कसले लगायो ?
त्यति नै बेर फेकुले कुद्दै खबर ल्यायो- “आगो लगाउनेलाई पुलिसले समात्यो ।” सबै मान्छेहरू चौकीतिर कुदे । नभन्दै जुँगे हबलदार रामधनलाई घोक्य्राउँदै सोधिरहेको थियो- “भन् रामधन, तँलाई कसले अरायो यसो गर्न ?”
“किन यसो गर्नुहुन्छ हबलदारसाब ! म मेरै टोलमा किन आगो लाउगथेँ, जुट मिलमा मेरो नाइट ड्युटी छ…।”
“अझ कराउँछस्” –हबलदारले लट्ठी उचाल्यो ।
“हो, हों नाइट ड्युटीबाट रामधन भर्खर आउँदै छ” -मान्छेहरूले पनि सही थापे ।
यतिकैमा पुलिसले अर्को मान्छेलाई घोक्य्राउँदै ल्यायो । “यही हो आगो लगाउने मान्छे” -उसले सइलाई सलाम ठोक्दै भन्यो । त्यो मान्छेको हातमा एउटा झोला थियो र छाता पनि । रङ लगाएको सेतो कमिज लगाएको थियो उसले । “मालिक ! म इन्डियाको मान्छी, बिरादरीमा…।”
“हो, हो, रामरतनको बिरादरी हो, पल्लो टोलको रामरतनको ज्वाइँ, देशमा छ घर ” – भिडबाट आवाज आयो ।
“उसो भए भन् आगो कसले लगायो ?” हबलदार गर्जियो ।
“अरे हबलदारसाब ! यो प्रजातन्त्र विरोधीको काम हो” -अनवर अख्तरले कैलाशवातिर आँखा सन्कायो ।
“कसलाई भनेको हो ?” -भिडबाट चर्को आवाज आयो ।
“हामीलाई पनि थाहा छ रातभरि कसको अफिस खुला थियो” -कैलाशवाले भिडलाई चिर्दै औँला ठड्यायो । अनवर अख्तर र हबलदारका आँखा जुधे ।
“मार्, तँलाई थाहा हुने भए हामी किन चाहियो ?” – हबलदारले कैलाशवाको टाउको ताक्तै लट्ठी उज्यायो ।
“हे, हे हे,” -भिडबाट सामूहिक आवाज आयो ।
“कसलाई प्रजातन्त्र विरोधी भन्या हो ?” -भिडबाट चर्को स्वर आयो ।
“आगो लगाउने को हो हामीलाई थाहा छ” -झन् चर्को स्वर आयो ।
होहल्लाका कारणले मान्छेहरूको भिड झन् बढ्यो । अनवर अख्तरले आफूवरिपरि हेर्यो । हबलदारले सइतिर । मान्छेको भिड चारैतिर देखेपछि उपरखुट्टी लगाएर कुर्सीमा बसेर तमासा हेरिरहेको सइले सिटी ओठमा राख्यो- “के यहाँ मेला लागेको छ र तिमीहरू यसरी घेरिएका..?”
पुलिसहरू सतर्कमा देखिए । मान्छेहरू पनि बिस्तारै पर पर हटे । कोही पछबरिया टोलतिर लागे, कोही मूल टोलतिर र कोही चिया पसलतिर ।
यतिखेर घाम अलि माथि आइसकेको थियो र मान्छेहरूको भिड अब चिया पसलमा ओइरिएको थियो । ‘आगो कसले लगायो ?’ प्रश्न पनि छ, उत्तर पनि छ । खासखुस, फासफुस पनि चल्दै छ । चिया पसले सरेश्वर कसैको नाम कानमा पर्छ कि भनेर कान ठाडा पार्दै छ । अनवर अख्तर पनि आइपुग्यो । मान्छेहरूका आँखा जुधे ।
“ए सरेश्वर ! तनिक रेडियो…”
“ठुलो पार्छु सर ठुलो पार्छु…” -सरेश्वरले चौधरी मास्टरतिर हेर्दै जबाफ दियो । समाचार सुन्न सबैका कान त्यतैतिर केन्द्रित भए । समाचारको क्रममा रेडियोले फुक्यो- “… पछबरिया टोलमा उग्रवादीद्वारा भीषण आगलागी… अपराधी फरार… मन्त्रीद्वारा राहत बाँडिने… ।” समाचार सुन्नेबित्तिकै अनवर अख्तर तिन हातमाथि उफ्रियो- “देख्यौ, देख्यौ हाम्रो रेडियोले पत्ता लगाइछाड्यो… अब मन्त्रीज्यूबाट राहत…।” अनवर अख्तरले नाचुला झैं गर्यो ।
मान्छेहरूले मुखामुख गरे । अलिकति व्यङ्ग्यात्मक हाँसो पनि । अनवर अख्तरले कैलाशवातिर हेरेर नाक फुलायो ।
“होइन, होइन, उहाँ नेताजीको रेडियोलाई पछबरिया टोलमा कति बेर कसले आगो लगाउँछ भन्ने कुरा पहिले नै थाहा थियो ।” कैलाशवाको कुरा सुनेर सबै गलल्ल हाँसे ।
त्यति नै बेर सुन्दरवा वेगले हानिएर स्वाँस्वाँ र फ्वाँक्वाँ गर्दै आइपुग्यो । सासकै भरमा उसले सुनायो- “अनर्थ भगेल हो ! धनेसरी माई…।” मान्छेहरू सबै एकैसासमा त्यतातिर कुदे । आफू मात्रै चिया पसलमा रहेको थाहा पाएपछि कुर्ताको खल्तीमा हात घुसार्दै अनवर अख्तर पनि चौकीतिर लाग्यो । हिजो रातिको मारापिटीमा घाइते भएको धनपतले घरभित्रबाटै थुक्यो- थुक्क ! अनवर अख्तरले पुलुक्क पछाडि फर्केर हेर्यो र छिटो छिटो पाइला चाल्यो ।
पछबरिया टोलमा आगो निभे पनि धुवाँ आइरहेको थियो । मान्छेहरूको होहल्ला परैबाट सुनिन्थ्यो । यही होहल्लाकै बिचबाट यसलाई चिर्दै एउटा नारी आवाज, फेरि सामूहिक आवाज सुनियो- “गे माई गे… माई गे ।” कठै धनेसरी ! फुलमतियाको घरमा धनेसरीसिवाय अरू को थियो र !
मूल टोलबाट मान्छेहरू त्यतातिर कुद्दै थिए । “आगो लगाउनेको भस्म खरानी होस्” -गाली पनि गर्दै थिए । त्यति नै बेर फेरि माइक बज्यो । नाचपाटी लिन पूर्णियातिर लागेको भोला चौधरी तिन वटा गोरुगाडासहित आइपुग्यो । आइपुग्नेबित्तिकै उसले घोषणा गन्यो- “आज राति … नाचपाटी, सब फ्री, टिकट फ्री… नामी पाटी… चोलीके पिछे…।” भोला चौधरी आफैं नाच्न थाल्यो- गीतसँगसँगै ।
“थुक्क कुकुर ! गाउँमा यस्तो छ तँलाई चोली के… ।” धनपत लट्ठी खोजेको अभिनय गर्दै कुटुँला झैं गरी मुट्ठी उज्याउँदै सकी नसकी उठे- “रे सार तँ आदमी छै कि जानवर ।” उनले भुइँमा थुके- थुक्क ! त्यतिले अझै चित्त नबुझेर भित्रबाटै खकारेर थुके- थुक्क !
“काका, म हिँडें” कैलाशवा हातमा रातो कपडा लिएर पछबरिया टोलतिर कुद्यो । आँसुले डम्म भरिएका आँखा दुई हत्केलाले सफा गर्दै धनपतले हातमा रातो कपडा लिएर कुद्दै गरेको कैलाशवालाई हेरिरहे, हेरिरहे !
[वनमान्छेको कथाबाट ]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










