त्यो काठको पुल भत्किएछ ? सधैं झैं पुलका छेउमा चरिरहने च्याङ्ग्रा आज छैनन् पुल पनि भत्किएको थियो । काठकै भए पनि अख्राएका थिए । कम्तीमा दुई पुस्ताका लागि त चल्नु पर्ने त्यो पुल ।

गाउँमा च्याङ्ग्रा पाल्न छाडेछन् कि क्या हो ? अरूले नपाले पनि सन्तमानले त च्याङ्ग्रा पालन नछाड्नु पर्ने ।

अब खोला तर्ने पो कसो गरी ?

खोला तल बगर छेउमा फैलिएको थियो दस मिनेट बढी हिंड्नुपर्ने भयो । बाउछोरा फैलिएको बगरतर्फ लागे ।

बाटोमा बाउले छोरालाई लोठसल्ला चिनायो । लोठसल्ला र सामान्य सल्ला बिचको फरक बुझायो । छोरा पनि चाख लाग्दो भावमा सुन्दै थियो ।

बाटोमा गफको तालमा बाउ सुकेको सल्लाको पातमा चिप्लियो पुट्ठा बजारिने गरी । छोराले बाउलाई उठायो ।

‘आप्पालाई गाउँको भिर र सल्लाले लात्ती हान्यो ।’ छोरा हल्का व्यङ्ग्य भावमा बोल्यो । त्यसपछि एकआर्काको मुहारमा हेरेर गज्जबले हाँसे बाउछोरा ।

बगर पुग्नै आँट्दा एक बाउले एक बोतल पानी खोलाबाट भर्यो । छोरा चैं ले अँजुलीले उभाएर पानी पिउन खोज्दै थियो त्यो दृश्य बाउले आँखा नझिम्काई हेरिरह्यो । छोराको अँजुलीमा पानी अडिन सकेको थिएन । छोराले अँजुलीमा पानी खान जानेन लुगा भिजायो ।

खोलाको पानीले तँलाई चिनेन केटा । अब खिस्सी गर्ने पालो बाउ चैं को । छोरा यो पालि हाँसेन बाउ चैं मज्जाले हाँसे ।

जुत्ता मोजा हातमा लिएर पाइन्ट पिडौंला भन्दा माथि सारेर बाउछोरा खोला तरे । बाउको पैतालाले धेरै पछि खोलाको पानी चुम्यो । छोराको पैतालाले पहिलोपल्ट हिउँ पग्लेको पानी चुम्दै थियो ।

अर्को किनार पुगेर दुवैले बगरतिर हेरिरहे  ।

‘आप्पा यो खोलामा माछा हुन्छ ?’

‘हुँदैन । पानी ज्यादा चिसो छ यस्तो चिसो पानीमा माछा बाच्दैन केटा ।’

‘अनि यो चउरमा आप्पाले भेडा च्याङ्ग्रा चराउनु हुन्थ्यो सानोमा ?’

‘चौरि थियो २ वटा अनि भेडा १७, वटा च्याङ्ग्रा १० वटा । सबैको गोठालो मै हो उबेलामा ।’

छोरो आश्चर्य मानेर आप्पालाई सुनिरह्यो । बाउको स्मृतिमा पनि पुराना दिनका चित्रहरू चलचित्र झैं बगिरहेको जसरी खोला बगरमा बगेको छ । शान्त अनि चोट रहित ।

खोला बगरबाट फेरि बाटो समातेर माथि थुङ् पुग्न आधा घण्टा लाग्यो । थुङ्बाट उसको गाउँ प्रस्ट देखिन्थ्यो । पहिले थुङ्को बिच्चैमा  चौतारो थियो । सिरसिर हावा चल्थ्यो । अहिले चौतारो देखिएन । बरु थुङ्को किनारा पट्टी पसल खुलेको रैछ । बाउ छोरा खाजा खाने भए त्यही पसलमा ।

छोराले चाउमिन खाने भयो । बाउलाई गाउँको तोङ्वाको बास्नाले तानिहाल्यो । तोङ्वाको कोदोमा पानी थप्दै पसलेलाई सोध्यो, ‘गाउँमा आजकल च्याङ्ग्रा काट्दैन ?’

‘कहाँ पाउनु च्याङ्ग्रा ? सब बजारबाट आउँछ मासु । कुखुराको ।’

‘लोक्कल भाले त पाउँछ होला नि ?’

‘पाउँछ  पैँतालिस दिनको सेतो भाले जुरो नभाको ।’ पसले खित्का छाडेर हाँस्यो ।

बाउलाई तोङ्वा सक्न समय लाग्यो । छोरा थुङबाट आफ्नो गाउँ नियाल्दै थियो । स्मरण पनि मेटिन लागिसकेको गाउँ केही समय पछि टेक्नेवाला थियो । सानोमा आमा आप्पासँग आएको थियो आज बीस वर्ष पछि आएको थियो ।

० ० ० ०

दुई महिना पहिले ।

‘आप्पा नेपाल जाने । यहाँ नबस्ने । जे छ जस्तो छ आफ्नै देश बस्ने ।’

बाउ छोराको कुरामा दिक्क मानेर हेरिरह्यो । ‘यसको यो जिद्दी कसरी हट्छ ? कसले भनेको मान्छ ? केको लागि जाने ? त्यो तेरो देश हैन छोरा ।’

‘हैन मेरो आप्पा आमाको देश मेरो पनि हो ।आप्पा तपाईंको त देश हो नि ? तपाईं जन्मेको हुर्केका माटो हो नि ?’

‘त्यो देश हामीले त्यागिसकेको देश हो छोरा । हामी फेरि फर्कन मिल्दैन ।’

‘आप्पा हामीले पो देश त्यागेको हो । देशले हामीलाई बोलाइराखेको छ । त्यो पहाड सल्लाको जंगल हिमाल खोला थुङ् ले हजुरलाई बोलाइरहेको छ आप्पा । आमा जिउँदो हुँदाहुँदै फर्किनु पर्ने ढिला भै सक्यो । जाऊँ न आप्पा ।’ छोराले अनुनय गर्यो ।

‘तेरो आप्पालाई त त्यो थुङ् त्यो पहाड त्यो खोला त्यो सल्लाको बन त्यो हिमालले बिर्सिसकेको छ । मैले पनि बिर्सिसकेको छु । तँलाई बोलाउँदैनन् छोरा तिनीहरूले ।’

‘आमलाई बोलाएको थियो आप्पा । हामीले बुझेनौं । हामीले बिरायौं ।’

‘म र तेरो आमा तेरो लागि तेरो भविष्य बन्छ सुखको जिन्दगी पाउँछस् भनेर युके आएको हो । हामीले भोगेको दु:ख त फेरि नेपाल फर्केर भिर पाखामा जिन्दगी बिताउनलाई हो र छोरा ?’ बाउले एक युग एक दम्पतीले गरेको दुःख व्यक्त गरे।

छोरा अरू बोल्न सकेन तर मनको हठ यथावत् थियो । आप्पा आमाका दुःखका दिनप्रति सम्मान त थियो तर नेपाल फर्कने हुटहुटटी एक रत्ती पनि कम हुन सकेन ।

छोराको मौनता स्वीकारोक्ति होइन भन्ने बाउले पनि बुझेको थियो । छोराको आँखामा नेपाल फर्कने अभिलाषा प्रस्ट थियो त्यो बुझ्न बाउलाई गाह्रो भएन । कम्तीमा आजको विवाद शान्त भयो भन्ने कुराले बाउ एक मनले हर्षित भयो तर अर्को दिन नेपाल फर्कने कुरालाई कसरी नकार्ने भन्ने कुराले चित्त कोपरेकै थियो ।

छोरा आफ्नो कोठामा गयो । ढोकाको चुक्कुल लगायो खाटमा डङ्रङ्ग पल्टियो । आँखा बन्द गर्यो । आँखा बन्द हुनासाथ आमाको तस्बिर आँखाअघि आए । आमाका आँसु भरिएका नयन फेरि रोए उसका बन्द आँखाभित्र । उसको कानमा क्यान्सरले थलिएकी आमाको आवाज गुन्जिए ।

‘उतै आफ्नै पहाडको फेदमा मर्न पाए पो ।’

कानमा वाक्य गुन्जेको गुन्ज्यै भयो । आँखाभित्र आमाको तस्बिर बगेको बग्यै गर्यो बन्द परेलाले आँसुको भेल थाम्न सकेन । मनको अठोट झन् दह्रो बन्यो । संकल्प नै बन्यो । अब युके बस्दिनँ । नेपाल जाने हो । आप्पालाई मनाउने हो, पकाउने हो । हाम्रै पहाडको फेदमा जाने हो ।

बिहानै उठ्यो । आप्पालाई सेवारो गरेर भन्यो, ‘आप्पा नेपाल जाम्न । मलाई फेरि पहाडले बोलायो आप्पा । रातभरि बोलाएको बोलायै गर्यो । जाम्न हाम्रो पहाड । हाम्रो आमाको पहाड ।’

बाउलाई नयाँ बहाना रातभरि सोच्दा पनि फुरेको थिएन । क्यै जवाफ प्रतिक्रिया नदिई आफ्नो काममा हिँड्यो  ।

‘आप्पा हाम्रो गाउँको खोलाको जस्तो तापक्रमको पानीमा ट्राउट माछापालन गर्न मिल्दो रैछ । अनि अहिलेसम्म हाम्रो गाउँमा होम स्टे नै बनेको रैनछ । आप्पा हाम्रो गाउँको तोङ्वा ब्रान्डिङ् गरेर बेच्न मिल्दो रैछ नि । आप्पा हाम्रो गाउँ ट्रेकिङ ट्रेलमा पर्ने रैछ नि । आप्पा हाम्रो गाउँको खोलाबाट त सजिलै हाइड्रोपावर निस्किने रैछ । आप्पा हाम्रो गाउँ सुन्दर रैछ । आप्पा हाम्रो गाउँ सुन्दर रैछ । आप्पा हाम्रो नेपाल स्वर्ग रैछ । जाम न आप्पाछोरा उतै बस्ने । आमाको आत्मा पनि उतै छ । आमालाई नेपाल मन पर्छ । म पनि आमाको देश बस्ने । यहाँ युकेमा कोही छैन । केही छैन । यहाँको त मान्छे पनि पराय हुन् । उताको त माटो खोला पहाड हिमाल सल्ला जंगल सब्बै आफ्नो हो । आप्पा जाऊँ न नेपाल ।’

अब बाउलाई सम्झाउन बुझाउन बाँकी केही रहेन । बाउको मनमा एक्कासि गद्गदको अनुभूति भयो । खुसीको होला सायद आँखाबाट आँसु बग्यो ओठमा मुस्कान सहित । बाउछोरा अंकमाल गरिरहे । दुवैको आँखामा नेपालको चित्र घुमिरह्यो । दुवैको आँखामा आमाको चित्र घुमिरह्यो ।

बाउको तोङ्वा सकियो ।

‘अर्ग्यानिक भनेको अर्ग्यानिक हो केटा । चढ्यो मलाई त । म मातेर हिंड्न सकिन भने बोक्छस् नि आप्पालाई ? तेरै भरमा युकेको ग्रिनकार्ड छोडेर आको छु ।’ बाउले फेरि व्यङ्ग्य हानेर एक्लै हाँसे । हल्का मुस्कान छोराको मुहारमा पनि आयो ।

थुङमामा बाउछोरा एकछिन बसे । चिसो मौसममा चलेको बतासले पनि मीठो शीतलता दियो । जाडो कत्ति पनि भएन । दुवैले पहाडको फेद हेरे हिमालको चुचुरो देखे । आफ्नो आमाको श्वास छोराले हावामा महसुस गर्यो । आफ्नो पत्नीको महसुस आप्पाले गाउँको दृश्यमा गरे । अनि आफ्नो गाउँ तिर पाइला चाले ।

० ० ० ०

गाउँ पुगेको एक महिना पछि ।

उसले आमाको फूलबारी जस्तो गाउँमा एउटा स्वाभिमानको फूल रोप्यो । आप्पाले पनि सक्दो सघाए  । आमाको पहाडको फेदीमा सुन्दर फूलको कल्पनाले ऊ निदाउन सक्थेन । यो देश आमाको हैन आफ्नै हो उसकै हो जसरी सपना देखिरह्यो । मेहनत गरिरह्यो जानेको सबै सिप खन्यायो ।

उसको फेसबुक फलोअर्स विभिन्न देशका साथीहरू थिए । आप्पाको फेसबुक पनि उसैले चलाउँथ्यो दैनिक आफ्नो बिजनेसको पोस्ट गर्थ्यो । सबैलाई नेपालको सुन्दरता देखाउँथ्यो । नेपालको हिमाल देखाउँथ्यो। तोङ्वामा पानी फेरेको देख्दा विदेशी दङ्ग पर्थे । लालिगुराँसको रातो रङ्ग देखाउँथ्यो ।  ट्राउट माछा एकदम फस्टाएका थिए।

आप्पाको पुरानो घरबाहिर काठको बाकलमा पेन्ट गरेर फलामको स्ट्यान्डमा ठडाइएको बोर्डमा लेखिएको थियो ।

‘अप्सरा होम स्टे । वेलकम टु हेभन ।’