“हेर, अब छिट्टै यो बोटमा आरु फल्नेछ ।” रश्मिले बगैँचाको पश्चिमपट्टि झ्याँगिएको आरुको बोट औंल्याउँदै भनिन् ।

“कहिले हो कहिले ?” मुनाले भनिन् ।

“यसमा फल्ने आरु निश्चय नै मिठा हुनेछन्; ठुलठुला, खुब रसिला…”

“आरु नै नफली कसरी भन्न सकिन्छ र ?”

“अँ, थाहा पाइहालिन्छ नि…” रश्मि उत्निखेरै प्रतिवाद गर्छिन् तर मनमनै भने मुनाले भनेको कुरा ठिक्कै हो जस्तो पनि लाग्छ उनलाई

साँझपख बगैंचामा डुल्दाडुल्दै दुई अभिन्न सँगिनीहरूबिच यस्ता कुराकानी भइरहन्छन् ।

अघिल्तिर झ्यालबाट एक जोडी आँखा उनीहरूलाई नै चिहाइरहेका हुन्छन्, जसबाट ती दुई अनभिज्ञ तथा लापर्बाह देखिन्छन् ।

तरकारी केलाउँदाकेलाउँदै टक्क अडिएकी रश्मिकी बज्यैका अनुभवी आँखा उनलाई गहिरिएर नियाल्दै उनकी आमालाई भनेको कुरा रश्मिका कानमा पर्छ- “दुलही, अब रश्मि छिट्टै पर सर्छे है !”

रश्मिमाथि गहिरो दृष्टि फ्याँकेर बज्यैको कुरामा सहमति जनाए झैं आमा खिसिक्क हाँसेकी पनि उनी देख्छिन् । रश्मिलाई अप्ठ्यारो पनि होइन, नरमाइलो भनूँ भने, त्यस्तो झन् हुँदै होइन, यस आकस्मिक प्रसङ्गले भित्रभित्रै उनलाई कस्तो कस्तो काउकुतीको आभास हुन्छ ।

सुने नसुने झैं गरी उनी पल्लो कोठामा लुसुक्क पस्छिन् निरुद्देश्य ।

कोठाभरि साँझपखको रमाइलोपन छरिएको थियो । अन्यमनस्क भावमा उनले पूर्वपट्टिको बार्दलीबाट आकाशको पल्लो छेउसम्म आँखाले भ्याउन्जेल एकपल्ट हेरिन् । आकाशभरि छरपस्टिएका बादलका टुक्रा विभिन्न स्वरूप लिएर सललल बगे झैं देखिन्छन् । सूर्यास्तले पश्चिमपट्टि क्षितिजभरि सुन्तला रङ पोतेर वातावरणलाई झन् रमणीय र आकर्षक तुल्याएको थियो । रमणीय दृश्यहरूमा डुब्दै उत्रँदै उनको दृष्टि फट्ट आरुको बोटमा गई अल्झिन्छ ।

बोटभरि फूल हुन आँटेका कोपिला रहेछन् । हिजोसम्म उनको दृष्टि त्यहाँ नपरेकाले उनी छक्क पर्छिन् ।

त्यति नै खेर उनको कोठामा आमा प्रवेश गर्छिन् ।

“आमा, आरुको बोटमा त फूल फुल्न थालेछ” रश्मि प्रफुल्ल मुद्रामा भन्छिन् ।

“हो त नि, आरुको बोटमा बैंस चढ्यो । अब यसपालिदेखि आरु फल्नेछ ।”

“अँ त साँच्चि…?” शरीरभरि उन्माद छाए झैं हुन्छ रश्मिलाई । अघिल्तिर घरको झ्यालमा आँखा पर्नासाथ मुख कच्याककुचुक पारेर आमाले भनिन् ।

“आइज भित्र, के बार्दलीको डिलमा कुहिना टेकेर बिनसित्तिको फाल्तु कुरा गरेर बसेकी ?”

आमाले प्रफुल्ल अनुहारलाई एक्कासि अमिलो पारेर अर्कै प्रसङ्ग समातेको देख्दा रश्मि छक्क पर्छिन् ।

त्यसको कारण पत्ता लगाउन उनको दृष्टि स्वतः अघिल्तिर झ्यालमा पुग्यो ।

साँझको झिसमिसे अँध्यारोमा पनि झ्यालमा एउटा पुरुषको पिठ्यूँ स्पष्ट ठम्याउन सकिन्थ्यो ।

“आमालाई देख्ने बित्तिकै उसले पिठ्यूँ फर्काएको हुनुपर्छ ।” यस्तो अड्कल काट्ने बित्तिकै उनको अनुहार रातो भई घोप्टियो ।

“हिँड् भित्र, बज्यैको पूजाको सामान माथि लगिदे ।” आमाको स्वरमा आदेशभन्दा रिसको मात्रा बढी मुछिएको हुन्छ ।

रश्मि चुपचाप आमासित भित्र पसिन् । उनका अङ्गप्रत्यङ्गमा सरसरती आँखा दौडाउँदै आमा फेरि फतफताउँछिन्- “केटाकेटी भनूँ भने केटाकेटी रहिन । तरुनी भनूँ भने लुगा लगाउनेसमेत ढङ्ग छैन, न हाँसको चाल न कुखुराको चाल !”

अब भने आमाको आफूप्रतिको नौलो दृष्टि, नौलो व्यवहार र बेफ्वाँकको फतफत सुनेर रश्मिलाई झर्को लागेर आयो । उनी मनमनै फर्कंदै पूजा सामान लिएर फरक्क के फर्केकी थिइन्- “ए पख् त, पर सरिस् कि क्या हो ?”

आमाको उत्तेजित स्वर सुनी अगाडि बढेका उनका खुट्टा भुइँमै टाँसिन्छन् “खै त…” आमा हाम फालेर रश्मितिर आइपुगिन् ।

“लौन न नि… हो त रैछ । कस्तो चाल नपाएकी हरे शिव ।”

आमाको घोषणा सुन्नासाथ शरीर स्थिर पारेर उनले आमालाई हेरिन् अन्यमनस्क भावले । उनको मुटु ढुकढुक भइरहेको थियो ।

“के एकोहोरिएकी ? आइज कट्ट ।” आमाले उनलाई हात समातेर तान्दै अर्को कोठामा लगेर थुनिन् । अब बाह्र दिनसम्म सूर्यको प्रकाश र कुनै पुरुषको अनुहार हेर्न नहुने कुरा पनि उनले आमाबाटै जानकारी पाइन् ।

अचानक आफूलाई नौलो स्थितिमा पाएर रश्मिलाई आफूभित्र के के भत्के के के बने जस्तो लागेर त्यसै त्यसै रुन मन लाग्यो

एक घण्टा एक ठाउँमा बसेर बिताउन गाह्रो मान्ने रश्मि जस्ती चनमतेलाई एउटै कोठामा पूरा एघार दिन बिताउन कम गाह्रो पर्ला त ! सोच्दासोच्दै उनलाई विरक्त लागेर आयो । गुफा कोठामा धुमधुमती बसेर उनका दिनहरू मनमा नानाथरीका कुरा खेलाई बित्न थाले – ‘म अब तरुनी भएँ । अब म त्यो अवस्थामा छैन, जुन अवस्थामा पहिले थिएँ । ममा एकाएक यस्तो परिवर्तन कसरी, किन आयो ? आउने दिनहरू मेरा कस्ता होलान् ?’

उनीभित्रको जिज्ञासा क्षणभरमै आकाशको विशालता बोकेर फैलिन्थ्यो । ‘आकाशलाई अब छुनुपर्छ र समुद्रमा डुबुल्की मार्नुपर्छ’ उनको अन्तरात्माले साउती गरे झैं लाग्छ ।

जति जति गुफाभित्रका दिनहरू बित्दै जान्छन्, उनीभित्रका जिज्ञासाहरू बोझ बनेर उनको मनमस्तिष्कमा छाइरहन्छन्- नरम भुवा बनेर, उनको सर्वाङ्गलाई बिस्तारै सुमसुम्याएर ।

“संयोग पनि कहिलेकाहीँ कस्तो अद्भुत भइदिँदो रहेछ ! आरुको बोटमा फूल फुल्नु र ममा यौवनको फूल फुल्नु, त्यो पनि एउटै महिना र एउटै साल…।” विस्मय उनीभित्र अग्लिँदै जान्छ नापिनै नसकिने गरी, बडेमानको आकार भएर ।

जुन बेला बार्दलीमा बसेर आरुको बोटका हाँगाभरि कोपिला फक्रेको दृश्य मुग्ध भएर हेरिरहेकी थिइन्, त्यसै बेला अगाडिको घरको झ्यालबाट एक जोडी आँखाहरू लोलुप घुराइ बोकेर उनलाई हेरिरहेको उनले देखे पनि नदेखे झैं गरेकी थिइन् । अहिले तिनै आँखाहरू र त्यसभित्र छरिएका आकर्षणहरूबारे सोच्न उनले अवकाश पाएकीले सोच्न थाल्छिन् ।

सोच्दासोच्दै मानौं रहस्यैरहस्यका गुजुल्टाहरूबाट एउटा कुराको रहस्योद्घाटन भए झैं उनी एक्लै मुस्कुराउँछिन् ।

उनी जुरुक्क उठ्छिन्, एक्कासि केही सम्झे झैं गरी आफ्नो वरिपरि विभिन्न प्रसाधनका साधनहरू चारैतिर छरेर आफूलाई सिँगार्न तल्लीन हुन्छिन् ।

उनले पहिले दुई चुल्ठा सलक्क बाटिन् । त्यसपछि गाजल लगाइन् । दुई आँखीभौंको बिचमा टुपुक्क रातो टीका लगाइन् । ओठमा अनकनाउँदै लिपस्टिक लगाइन् । ऐना हातमा लिएर त्यसभित्र देखा परेको आफ्नो प्रतिबिम्बलाई टोलाएर हेरिरहिन् । धेरै बेरसम्म उनी आफ्नो रूप तथा सौन्दर्य देखी त्यसै मुग्ध भइरहिन् । पहिलोपल्ट आफ्नो सौन्दर्य तथा रूपको आभास पाई घमन्ड पनि बढ्यो उनीभित्र । त्यत्तिकैमा कसैले ढोका खोलेर भित्र प्रवेश गरेको पदचाप सुन्नेबित्तिकै हतपत ऐना लुकाइन् ।

आफ्नो अघिल्तिर आमालाई देख्नासाथ चोरी गर्दागर्दै समातिए झैं अनुहार बनाएर अकमकाउँदै उनले भनिन्, “कोही साथी आएनन् आज । मुना पनि आइनन् । नरमाइलो लागेकाले सिँगार गरेर बसेकी ।” स्पष्टीकरण दिँदै ङिच्च हाँसिन् रश्मि ।

तर आमाको अनुहारमा हाँसोको झिल्कोसमेत देखिएन । प्रतिक्रिया स्वरूप बरु उनको अनुहारमा पहिले विस्मय, त्यसपछि क्रमशः प्रशंसा, हर्ष तथा ईर्ष्या मिसिएका भावहरू ओइरिन थाले ।

“रश्मि, मलाई उत्ताउलो पाराले सिँगार गरेको पटक्कै मन पर्दैन ।” आमाको स्वर कठोर थियो ।

केही बेर कोठामा मौनता छाइरह्यो । दुवै मनमा कुरा खेलाउँदै चुप लागिरहे ।

विषयान्तर गर्दै आमाले सोधिन्, “चिया खान्छ्यौ ?”

चियाको तलतल लागेको भए तापनि रश्मिले भनिन्, “खान्न आमा !”

आमा केही नबोली फर्किन् । कोठाबाट आमा निस्कनासाथ रश्मिले जुरुक्क उठेर पहिले ढोकाको छिड्की लगाइन्, त्यसपछि उदास अनुहार पारेर एकपल्ट आफ्नो अनुहार ऐनामा हेरिन् । अब रिसैरिसमा उनले गाजल, टीका तथा लिपस्टिक रगडी रगडी पुछिन् । दुवै आँखाबाट केही थोपा आँसु चुहाउँदै मनमनै कल्पिन्, ‘अघिको शृङ्गार गरेको आफ्नो रूपलाई पर झ्यालसम्म एकपल्ट पुऱ्याउन पाए ऊ कति मुग्ध हुन्थ्यो होला…!”

सोच्दासोच्दै अनायास उनका आँखा घडीमा परे । ठिक पाँच बजेको रहेछ । यतिखेर सायद ऊ झ्यालमा उभिएर बार्दलीतिर र बारीको यताउति आँखा दौडाइरहेको होला ।

रश्मिलाई त्यसै त्यसै नरमाइलो लागेर आयो । मनभित्र कता कता के के छरे जस्तो, के के पोखिए जस्तो एकतमासको खल्लो भएर आयो ।

बाहिर एकनाससित कराइरहेको चराको आवाज उनको कानमा पर्यो । सायद त्यो आरुको बोटको हाँगामा बसेर कराइरहेको होला । फेरि उनले आरुको त्यही बोट सम्झिन्, जसमा अहिले ढकमक्क फूल फुलिसकेको होला ।

ढमक्क फुलेको आरुको बोट आफ्नो रूप तथा लावण्य प्रदर्शन गरी बाटोको पश्चिमतिर कुनामा उभिएको दृश्य फैलिन्छ उनका आँखासामु । हेर्दाहेर्दै त्यस बोटले एउटा सिङ्गो पुरुषको रूप लिन्छ । चौडा छाती, बलिष्ठ जिउडाल, आँखाभरि त्यही लोलुप हेराइ छरेर बिस्तारै उनीसित आँखा जुधाएर मुस्कुराउँछ ।

बिस्तार बिस्तार पाइला सार्दै ऊ आफूनजिक बढे झैं रश्मिलाई आभास हुन्छ । उनी श्वास रोकेर चुपचाप उसका अघि बढेका पाइलाहरू हेरिरहन्छिन् । उसको श्वासको स्पर्श आफ्नो अनुहारमा परेको आभास हुनासाथ उनको सर्वाङ्ग एकाएक सम्मोहित भए झैं लट्ठिएर आउँछ । लाजले हो कि केले हो कुन्नि ? उनका दुवै आँखा बिस्तारै बन्द हुन्छन् ।

निमेषमै उसले उनीलाई कसेर अँगालोमा बाँधिसक्छ । उनको प्रत्येक फुत्किने प्रयासमा उसको अँगालोको शक्ति बढ्दै जान्छ ।

“आहा ! तिमी कति राम्री छ्यौ – भर्खरै कोपिलाबाट फक्रेको फूल जस्ती । एकपल्ट मजासित तिमीलाई पिउन मन लागिरहेछ ।” उसले कानैमा मुख ल्याएर फुसफुसाए झैं लाग्छ ।

ढोकामा एकनासको हिर्काइले एकाएक उनी एउटा गहिरो सम्मोहनबाट ब्युँझिन् । उनको स्थिति पहाड चढ्दाचढ्दै एक्कासि हुत्तिएर भुइँमा बज्रे झैं निरीह भयो । निधारबाट बगेर परेली भिजाउन आइपुगेको पसिनाको थोपालाई पछ्यौरीले पुछेर उनले ढोका खोलिन् ।

“निदाइरहेकी थिइस् कि क्या हो ? अहिले हो र ढोका पिटिबसेको…?”

मुनाले भित्र पस्दै सोधिन् ।

उनी चुप लागिरहिन् मुनालाई एकोहोरो हेरेर ।

” किन त्यस्तो अनुहार लाएर हेरेको ? कुनै सपना त देखिनस् ?”

“सपना त हैन, बरु अर्कै एउटा…” बोल्दाबोल्दै रश्मिले बिचैमा कुरा चपाइन् । मात्र उनका ओठका कुनाहरू सगबगाइरहे ।

“आज तेरो छाँट निको छैन है ।” नभन्दै रश्मिले मुनालाई हठात् अँगालोमा हालेर एउटा गहिरो निःश्वास लिइन् ।

केही बेरपछि रश्मि सामान्य स्थितिमा आइन् ।

“के भो तँलाई ? सन्चो छैन कि क्या हो ?” मुनाले सोधिन् ।

ओठभरि कलिलो मुस्कान लिएर रश्मिले भनिन्, “मुना ! हाम्रो बारीको आरुको बोटमा फूल फुलिसक्यो, देख्यौ ?”

“देखें ।”

“अब त्यसमा चाँडै फल लाग्नेछ ।”

रश्मिका आँखा स्वप्निल हुँदै आए । कहिले गुफाबाट निस्कूँ र आरुको बोटलाई आँखाभरि हेरूँ जस्तो लाग्यो उनलाई- “यी बाँकी दुई दिन पहाड जस्तै भइसक्यो मलाई…।”

जसोतसो बाह्र दिन पनि बित्यो । अब रश्मिका साँझहरू आरुको बोटमुनि बित्न थाले । उनी किताब लिएर त्यही बोटमुनि बस्छिन् र पढ्ने बहाना गर्छिन् । त्यहाँ बस्ता उनलाई एउटा अलौकिक सुख प्राप्त हुन थाल्छ ।

अघिल्तिर झ्यालबाट चिहाउने आँखाहरू निर्धक्क उनीसम्म आइपुग्छन् । बिस्तार बिस्तार मौन मुस्कान तथा सङ्केत आदानप्रदानको क्रम सुरु हुन्छ ।

दिन प्रतिदिन नियाल्दानियाल्दै बोटमा फल लागेर आउँछ । जति जति फल आफ्नो स्वाभाविक आकारमा आउँछ, त्यति त्यति त्यसलाई खाने आतुरी पनि उनीभित्र बढ्दै जान्छ ।

केही समयको अन्तरालमा आरुले आफ्नो पूर्ण स्वरूप लिन्छ । पाकेको आरुको बास्ना बगैंचाभरि फैलिन्छ । रश्मिको मनमस्तिष्क चौबिसै घण्टा त्यही बास्नाले आकर्षित भई त्यसलाई खाने एक असीम रहर उत्पन्न भइदिन्छ ।

आरुको बोटमा फूल फुलेदेखि हजारपल्ट उनकी बज्यैले दिनहुँ झैं “देउतालाई नचढाई पहिलोपल्ट आफ्नो बारीमा फलेको फल टिपेर खानु हुँदैन है” भनिसकिन् । बज्यैको डरले उनले आरु टिप्ने साहस गरेकी छैनन् ।

एकपल्ट बज्यै र आमा कीर्तनमा जाँदा उनले झन्डै आरु टिपेर खाइसकेकी तर कुन्नि के मनमा आएर उनले टिप्न बढाइसकेको हात पनि रोकेकी थिइन् ।

सधैं झैं आरुको बोटमुनि उनी अल्झिरहेको बेला बतास चलेर एक दाना पाकेको आरु उनका खुट्टैमुनि खस्यो । खस्नासाथ आरु हातमा लिएर उनी एकछिन अन्यमनस्क भइरहिन् ।

एक मनले ‘देउतालाई चढाउन बज्यैलाई दिनुपर्छ’ भन्छ । अर्को मनले ‘यसलाई कसैले नदेखीकन खानुपर्छ’ भन्छ ।

त्यसै किङ्कर्तव्यविमूढ भइरहेका बेला परबाट मुनालाई आफूतिर आउन लागेको देखी उनले आरुको दानो पछ्यौरीभित्र लुकाइन् ।

बज्यैलाई पनि यतैतिर आउन लागेको देखेर उनको मन एकपल्ट ढक्क फुल्यो ।

उनले एक निरीह दृष्टि अघिल्तिर झ्यालमा फ्याँकिन् । झ्यालबाट आफ्ना गतिविधि नियालेर हेरिरहेका आँखाहरूतिर उनको दृष्टि पुग्नासाथ उनीभित्र हराइसकेको आत्मविश्वास फेरि ब्युँझिन्छ ।

उनी पछ्यौरीभित्र लुकाइराखेको आरुको दानो बेसरी समात्छिन्- उनलाई यो आरुको दानो आफू जस्तै आफन्त लागेर हो कि ?

[नेपाली साहित्यिक रचनाबाट]