जमाना

मध्यरातमा रतिक्रीडा सकेपछि कोल्टे फर्केर सुतेको पतिले पत्नीलाई अङ्गालो हालेको फोटो मोबाइल ग्यालरीमा खोजेर फेसबुकमा पोस्ट गर्दै लेख्यो “हेप्पी एनिभर्सरी बुढी ।”

अर्को दिशामा कोल्टे फर्केर मोबाइल चलाइरहेकी पत्नीले कमेन्ट लेखी “थ्यान्क्यु बुढा ।”

डर

एउटा संस्थाले संचालन गरेको आत्मरक्षा सम्बन्धी तीन महिने तालिममा उत्कृष्ट भएर सम्मान थाप्ने कार्यक्रम सकिंदा साँझ पर्ने जस्तो देखियो । त्यसपछि पल्लो चोकमा रहेको घरमा फोन गरेर उसले भनी, “मम्मी ! एक्लै आउन डर लाग्छ, भाइलाई लिन पठाइदिनुस् है ।”

भाषण

“यसपालि म भाषण कम, काम धेरै गर्छु ।” उनले प्रधानमन्त्री भएपछि घोषणा गरे ।

अनि आफ्नो यो कुरा जनतामाझ पुर्याउनको लागि ७७ जिल्ला र सातै प्रदेशमा विशाल आमसभा आयोजना गर्न पिएलाई आदेश दिए ।

सालिक

“म बाघ हुँ ।” बाघले बस्तीमा पसेर गर्जंदै भन्यो ।

कसैले पत्याएनन् । सबैले बाघको जस्तै रङ भएको ठुलो बिरालो भने ।

किनकि उनीहरूले वर्षौंदेखि पार्कमा अर्कै बाघका सालिकसँग फोटो खिचाउँदै आएका थिए ।

भूकम्प

तासको खालबाट उठेपछि उसले मोबाइल हेर्यो । पश्चिम नेपालमा भूकम्प गएका पोस्टहरू देखेपछि उसले पनि पोस्ट लेख्यो, “भूकम्पले सातो उडाउने गरी हल्लायो । थ्याङ्स गड ! धन्न केही भएन !”

समानता

नारी दिवसको कार्यक्रममा लैंगिक समानताका भाषण गरिरहेको बेलामा मोबाइलमा एसएमएस आयो ।

“छुट्टीमा साथीहरूले राखेको पार्टीमा रमाइलो गर्न जाने भएँ । कपडा आइरन लगाइदिन आइज त छिटो ।” एसएमएसमा लेखिएको थियो ।

उनले भाषण टुङ्ग्याइन् र मञ्चबाट उठेर हतारहतार घरतर्फ लागिन् ।

अर्ति

मध्यरात नहुँदै छोरा सुत्छ र भोलिको परीक्षामा कम नम्बर ल्याउँछ कि भनी छोरालाई निदाउन नदिन बुबा जागा रहन्छन् । बाउले फेसबुकमा पोस्ट लेख्यो, “एसईई भन्ने ठुलो कुरा हैन । यो सामान्य र नियमित परीक्षा जस्तै भएकोले कसैले पनि यो परीक्षालाई हाउगुजी बनाउनु हुँदैन ।”

श्रम शोषण

मजदुर दिवस मनाउनको लागि उसले बिहानैदेखि मञ्च तयार गर्ने, कार्यक्रममा चिया पानी खुवाउने, जुठो कपप्लेट उठाउने र अन्तिममा कार्यक्रम स्थलमा जम्मा भएको फोहर पनि उठायो । ऊ काममा लागिरहेको बेलामा मे दिवस मनाउने आयोजक भने उसको ज्याला समेत नदिई भागेछन् ।

प्रवचन

कानून दिवसको अवसरमा रिसोर्टमा चलिरहेको कार्यक्रममा उसले दमदार प्रवचन दिइरहेको थियो, श्रोताहरू मन्त्रमुग्ध भएर सुनिरहेका थिए । हलको ढोकामा बाहिर भने भारतीयलाई नेपाली नागरिकता दिलाएको भन्दै उसलाई पक्रन प्रहरी तैनाथ थिए ।

वातावरण दिवस

प्लास्टिकको ब्यानर–फ्लेक्स पढेर अनि प्लास्टिकको गमलामा बिरुवामा पानी हालेर उसले वातावरण दिवस कार्यक्रमको उद्घाटन गर्यो । प्लास्टिक प्रयोग प्रतिबन्ध लगाउने कुरामा उसले दमदार आवाज उठायो । कार्यक्रम सकिएपछि चिया नास्ता ल्याउने केटालाई भन्यो, “भाइ २ प्याक नास्ता नपोखिने गरी पोलिथिनमा राम्रोसँग प्याक गरिदेऊ है । अनि काँटा चम्चा र चटनी राख्न नभुल्नु नि ।”

दोष

चोकमा प्रेमिकासँग उभिएर उसले चिप्स खायो, अनि गुट्काको प्याकेट खोलेर मुखमा खन्यायो । चिप्स र गुट्काको खोल सडकमा फाल्यो । अनि, चोकमा नगरपालिकाले उपलब्ध गराएको फ्री वाईफाईलाई मोबाइलमा कनेक्ट गरेर फेसबुकमा लेख्यो, “जताततै फोहर मात्र छ, यो नगरपालिकाले के हेरेर बस्छ कुन्नि ? मेयरले काम गर्न नसके राजीनामा दिए हुन्छ ।”

रक्सी

“मेरा त बुढाले रक्सी खाँदैनन् ।” भन्दै बुढी टिकटक बनाउन व्यस्त रहेको मौका छोपेर लोग्नेले रक्सी खान पाउने कार्ड बनाउन पालिका कार्यालय पुगेछ । दिनभर बस्दा पनि कार्ड बनाउने कर्मचारी नआएपछि सोधखोज गर्दै जाँदा कर्मचारी त कार्यालय नजिकैको भट्टीमा रक्सी खाएर बिहानैदेखि अचेत भएर लडेको रहेछ ।

अछुत

छुवाछुत र ब्राह्मणवाद विरुद्धको आन्दोलनमा दिनभर खटिएपछि घर आएको ससुराले “दिनभर को को सँग छोइयो ।” भनेर सुनपानी मागेपछि बुहारीले अम्खोरामा सुनपानी बनाएर ल्याइन् । त्यो देखेर सासू चिच्याइन्, “बाहिर सरेको ४ दिनमा ससुरालाई पानी दिन लाज लाग्दैन, पापिनी !”

सन्तान सुख

बाको मुख हेर्ने दिनमा बालाई फोन गरेर छोराले भन्यो, “बा ! हामीले विदेशमा पैसा उठाएर गाउँको लागि डिप फ्रिज किनेर पठाएका छौँ । अब गाउँका कुनै पनि बाआमाले आफ्नै छोराछोरीको हातबाट दागबत्ती नहोला कि भनेर पिर मान्नु पर्दैन ।”

क्रोध

लोभ, लालच, क्रोध, मोह त्याग्नुपर्छ भन्दै प्रवचन दिएको हलमा टिकट नकाटी एक वृद्ध प्रवेश गरेको भन्ने थाहा पाएपछि महात्माले उक्त वृद्धलाई कठालोमा समातेर हलबाट बाहिर निकाले ।

जोगी

“म जोगी हो हजुर ।” हातमा कमण्डलु अनि पिठ्युँमा कपडाको सानो झोला बोकेको साधुसन्त जस्तो लाग्नेले भन्यो ।

चेकिङमा बसेका प्रहरी सतर्क बने, छेउछाउमा रहेका प्रहरीले वरिपरिबाट झ्याप्प घेरे ।

पोको र कमण्डलु हेरे, जिउ छामछुम गरे । पुराना कपडा, रामचरित्र पुस्तक र १–२ सय बाहेक अरू भेटिएन ।

प्रहरी नाइके रिसायो, “न सुन छ, न २–४ लाख बोकेको छ, न गाँजा चरेस छ । त्यत्तिकै जोगी हुँ भनेर झुक्काउने ? यसलाई २–४ स्वाँठ हान केटा ।”

तिलोत्तमा, रुपन्देही