संसारमा सबैभन्दा गाह्रो र मिठासपूर्ण दुबै गुण भएको शब्द प्रतीक्षा नै हुनुपर्छ । घर आउने निश्चित भएको दिनदेखि घर आइपुग्दासम्मको करिव डेढ महिनाको अवधिमा मनमा लाखौं भावना र विचारहरूले झुत्ती खेलिरहे । नेपाल पुगेको दिन कस्तो होला ? अझ घरमा पाइला राखेको बेला बुबा आमासँग हुने जम्काभेट, चार वर्ष अघिदेखि प्रत्यक्ष भेट्न नपाएका दौंतरीसँग चोकको चौतारीमा बसेर स्मृतिका क्षणहरू सम्झँदै गरिने भलाकुसारी, ड्रिम्स क्याफेमा हुने शुक्रवारे संगीतमय साँझ अनि हाम्रा टेबलमा थपिने बियरका बोतल र साहूजीको बिलमा थपिने अङ्कको आपसी तालमेल मिल्यो कि मिलेन भनेर मदमस्त अवस्थामा पनि अडिट गर्ने बानी ।

अहो ! सम्झँदा पनि कहिले घर पुगौं जस्तो लाग्ने । अधैर्य बन्दै धैर्यताको पाठ आफैँलाई पढाउन झन कति सकसपूर्ण । तथापि कतिपय रोमाञ्चकता भने अतुलनीय र मिठासपूर्ण हुने रहेछ । जीवनमा भर्खर अनुभव गरें मैले ।

काठमाडौं आइपुगेको र घर पुगेको दिनलाई जोड्दा सात दिन भइसकेको थियो । उल्लेखित रोमाञ्चकताको हाई भोल्टेज पनि बिस्तारै डाउन हुँदै थियो । गाउँघरका साथीभाइ पनि कति त देशै छोडेर गइसकेका त कोही जागिरमा व्यस्त रहेछन् । काम नभएको र फुर्सदिलो त म मात्र भएँ । पहिलो दिन ड्रिम्स क्याफेमा कोरम पुर्याउन पनि गाह्रो भयो । विगत सम्झिएँ, कोही विदेशबाट आएर दिने पार्टीमा क्याफे पूरै खचाखच हुन्थ्यो । मध्यरातमा पार्टी सकिँदा किचनका सागपात समेत निमिट्यान्न हुन्थे । फ्रिज पनि भदौको भकारी जस्तो रित्तै भइसकेको हुन्थ्यो । अब त समयले सबैलाई आफ्नो गीतमा सुर मिलाई नाच्ने बनाइसकेछ । म मात्र नाचिरहेको रहेछु भन्ने त भ्रम मात्र रहेछ भनेर एक मनले सन्तोष पनि गरें ।

मान्छेको मन न हो, आफूसँग जे छैन । त्यसैप्रतिको लगाव र प्राप्तिको लालसा अझ बढी हुन्छ । डेढ महिनादेखिको घर आउँदाको रोमाञ्चकता घर आइपुगेपछि असिना बिलाएझैँ बिलाइसकेको थियो । अब त ती चार वर्षे अष्ट्रेलिया बसाइ र त्यहाँको दैनिकी मस्तिष्कमा घुम्न थालिसकेको थियो । मलाई लाग्यो ती दिनहरू मैले यहाँ मिस गरिरहेको छु । मेलबर्नको मेल्टन वेष्ट, बुल्मान्स रोडमा सूर्यका किरणको लालिमा पर्न नपाउँदै म पन्द्र किलोमिटर बसको यात्रा गरिसकेको हुन्थें । फर्कँदा प्राकृतिक सुन्दरता हराएर लालीपाउडर गरेर जबरजस्ती सुन्दर देखिन धृष्टता गरेझैँ लाग्ने सडक बत्तीको प्रकाशमा गजधुम्म परेको बुल्मान्स रोड पसारिएको हुन्थ्यो । त्यो बाटो दिउँसो कस्ता दृष्य देखिन्छन् भन्ने थाहा पाउन कलेजको असाइनमेण्टको दिन नै कुर्नु पथ्र्यो ।

पढाइ र कमाइ दुबै एकै रथमा गुडाउन तीस किलोमिटर टाढाको डिपार्टमेण्टल स्टोरसम्मको दूरी दैनिक नाप्नु मेरो दिनचर्या बनिसकेको थियो । सामाजिक सञ्जाल चलाउन लगभग छोडिसकोको थिएँ, शिवाय ह्वाट्सएप । त्यो पनि घरमा बुबाआमासँग सम्पर्क गर्नका लागि मात्र । बेलुका समयमा नसुते बिहान समयमा नै बस समात्न मुस्किल हुन्थ्यो । तसर्थ दैनिक गतिविधि एकदमै सरल र श्रृङ्खलाबद्ध थिए, खलियोमा दाउरा मिलाएजस्तो । त्यो अवधिमा नेपालमा हुने साथीभाइ, आफन्त, छरछिमेकमा के भइरहेछ, खासै अपडेट हुन पाइनँ या भनौं हुन पनि सकिनँ । हुन पनि चाहिनँ । हुन सक्छ, त्यही कारणले घर फर्केपछि घर फर्कँदाको त्यो उत्साह यति चाँडै स्खलित भएको । किनकि धेरै साथी र आफन्त यही बिचमा परदेशी भइसकेका रहेछन् । जोसँग भेट हुन्छ भन्ने आशा मेरो थियो । हाउ अनअपडेटेट पर्सन आई एम ?

“चिया लि त” आमाले चियाको कप दिँदै भन्नुभयो ।

आज्ञाकारी बालकझैँ कप लिएँ मैले ।

“यसो बाहिर घुम्न निस्कनू बेलाबेला, साँझको बेला पनि ओछ्यानमै बस्छ ।” आामाले गुनासो गर्नुभयो, “कि सञ्चो भएन ? दुई दिनदेखि यत्तिकै छस् त ।”

“छ्या… आमा अल्छी लागेर हो के । गाउँमा कोही रैनछन् केटाहरू । तैपनि आज चैं निस्कने नै विचार गर्दै थिएँ ।” आमालाई ठिक्क पारें ।

असोजको महिना । दिउँसो केही चर्को घाम लागेपनि बेलुका चिसो महशुस हुने खालको मौसम थियो । बिर्तामोड बजारको कोलाहलपूर्ण वातावरणबाट केही पर शान्त क्षेत्रतिर निस्कने विचार गरेर आमासँग बाबाको बाइकको साँचो लिएर सालवारीतिर हुइँकिएँ ।

सानो चोक, छेउमा चिया पसल । बाइक रोकें अनि चिया पसलतर्फ आँखा डोर्याएँ । बाइस पच्चिस वर्षका जस्ता देखिने युवाहरू वेफिक्री चुरोट उडाउँदै गफिइरहेको दृष्य देखियो । एउटा चुरोट लिएर फोक्सोमा केही धुवाँ भर्दै म पनि पुराना दिनहरूको स्मृतिमा टोलाउँदै थिएँ ।

“भाइ पसल बन्द गर्ने बेला भयो” घडी हेर्दै पसलेले बोलेपछि झसङ्ग भएँ । चुरोटको पैसा तिर्दै गर्दा एउटा करिब ६ वर्ष जतिको उमेरकी छोरी लिएर बाटोमा हिँड्दै गरेकी नमिता आन्टी देखिइन् ।

“नमिता आन्टी, नमस्कार” मलाई नदेखी हिँडिरहेकी आन्टीलाई मैले पछाडिबाट बोलाएँ । “अहो स्वप्निल ! नमस्कार । कहिले अष्ट्रेलियाबाट ? केही थाहा पत्तो छैन त । हिजो अस्ति जस्तो लाग्छ विदाइ गरेको, कति वर्षमा आयौ बाबु ?” आन्टीले एकै सासमा सोधिसकिन् ।

“एक हप्ता भयो आन्टी, चार वर्षपछि फर्कें । अनि के छ त खबर आन्टी ? अङ्कल कता हुनुहुन्छ ? नानी यत्री भइसकिन् ? म जाँदा त सानी थिइन् ।” नानीतिर औंल्याउँदै भनें ।

“अँ हो त, ६ वर्षकी भैसकी नि । अङ्कल घरमै हुनुहुन्छ । रियलस्टेटको बिजनेशको हालत छ । बिजनेश अलि बिग्रेर समस्यामा छौं बाबु । बिर्तामोडको घर बेचेर यतै गाउँतिर एउटा घर बनाएर बसेका छौं ।”, उनले भनिन् ।

“मैले पनि विदेशमा हुँदै सुनेको रियलस्टेटको बिजनेश डाउन भएको कुरा त। बुबाले भन्नुभएको थियो । हाम्रो पनि पैसा फँसेको छ जग्गामा भन्दै हुनुहुन्थ्यो ।” मैले थपें ।

“ल बाबु, आज त हाम्रो घर बस्ने गरी जानुपर्छ, यत्रो वर्षपछि आएको छोरो । यहीँ भेटेर पनि नलिई आएँ भन्दा अङ्कलले मलाई मार्नुहुन्छ । नजिकै छ यहाँबाट ५ मिनेटमा पुगिन्छ बाइकमा ।”

“होइन आन्टी” मैले विनम्रतापूर्वक इन्कार गर्दै भनें, “आज त घरमा केही नभनी आएँ, भोलि बरु बेलैमा आउँला, अहिले हजुरलाई घर छोडिदिन्छु । त्यसो हुँदा घर पनि देखिने, भोलिलाई आउँदा सजिलो ।”

“ल ठिकै छ नि त, आजलाई तिम्रो जीत भो” भन्दै आन्टी बाइकमा बसिन् नानीलाई बिचमा राखेर । ५ मिनेटको दूरी पार गरेपछि एउटा सुन्दर गेट बाटोको छेउमा देखा पर्यो । “यही भित्रको घर हाम्रो हो, भोलि जसरी नि आउनू है” आन्टीको आग्रहलाई “हुन्छ” भन्ने जवाफ फर्काएँ । हिंड्ने बेलामा “नानु कुन क्लासमा पढ्दैछौ ?” भनेर सोधें । नानीले सुनेजस्तै गरिनन्, आँखामा विश्मय र अनभिज्ञता जस्तो देखिन्थ्यो ।

“नयाँ नचिनेको मान्छेसँग यो यस्तै गर्छे, हत्तपत्त बोल्दिन । क्लास वानमा पढ्छे बाबु ।” आन्टीले छुट्ने बेलामा भनिन् ।

राति सुत्ने बेलामा दिउँसोको घटनालाई मनमा खेलाउन थालें । चार वर्ष अघि र पछिमा नमिता आन्टीमा मैले थुप्रै परिवर्तनको महशुस गरें । नहाँसी नबोल्ने त्यो अनुहारमा आजको भेटमा मुस्कानको कुनै पनि छनक देखिएन । जति दुःख भए पनि एक दिन राम्रो दिन अवश्य आउँछ भनेर सिकाउने आन्टी आफैँ बिजनेशको असफलताले हतोत्साहित भएकी जस्तो देखिन्थिन् । मलाई अष्ट्रेलिया यात्राको विदाइ गर्न आउँदा “बाबु, कहिल्यै घरमा दुःख नगरेको मान्छे, एक्लै बस्नु, काम गर्नु, कमाउनु, पढ्नु । काम गर्दा दिक्क लाग्छ होला, निराश हुन्छौ होला, तर घरमा बुबाआमा र उहाँहरूको दुःख सम्झनू, अनि मेहनत गर्नु, मेहनती मान्छेले संसार जित्छ । तिमी अवश्य सफल हुनेछौ ।” भनेर ढाडस दिने आन्टीको मनोदशा यस्तो देखेर मन अमिलो भएर आयो ।

भोलिपल्ट बिहान सधैँभन्दा ढिलो उठें । जिउ कट्कट् खाएर दुखेको र हल्का ज्वरो आएजस्तो महशुस भइरहेको थियो । तातोपानी खाएर फेरि ढल्किरहें ।

“सञ्चो भएन कि क्या हो ? के भो स्वप्निल ?” आमाले सोध्नुभयो ।

“ज्वरो आउला झैँ भएको छ, जिउ दुखिराको छ” मैले भनें ।

“डाक्टर देखाउनु पर्छ होला ।” आमाको आग्रहमिश्रित सुझावलाई “पर्दैन होला, ठिक भैहाल्छ नि आमा” भनेर नकारें ।

फेरि दुई दिन घरबाट निस्किन । ज्वरो एक दिनमा जाति भए पनि शरीरमा खासै ऊर्जा थिएन । तथापि सधैँ घरमा बसेर हुँदैन भनेर साँझपख पञ्चकन्या पार्कतिर निस्किएँ । केही फलामे सिट र बेञ्चहरू थिए । मान्छेहरूका लागि राखिएका बेञ्चहरू साँझ पर्दै जाँदा खालि भइरहेका थिए । तीन जना बस्दा अँट्ने एउटा खालि बेञ्चमा गएर थ्याच्च बसेर रमिता हेर्न थालें । केही बेरमा पछाडिबाट कसैले बोलाएझैँ लाग्यो । फर्केर हेरें, उनै नमिता आन्टी नानी लिएर उभिएकी थिइन् । “तिमी त ढाँट्नमा माहिर रहेछौ है, अस्ति भोलि आउँछु भन्यौ, हतारले फोन नम्बर पनि लिइनँ, आउँदै आएनौ । आखिर संयोगले भएपनि भेट त भयो नि, तिमीलाई त कारवाही गर्नुपर्ने हो ।” आन्टीले अलि रिस मिसिएको स्वरमा भनिन् ।

“होइन, भोलिपल्टदेखि ज्वरो आएर कतै निस्कनँ सकिन । आज बल्ल फ्रेस हुन बाहिर निस्केको, पूरै जाति भैसकेको छैन ।” मैले स्पष्टीकरण दिएँ ।

“ढाँटेको त होइन नि ?” आन्टीले संशय व्यक्त गरिन् ।

“धरोधर्म आन्टी, किन ढाँट्नु र ?” विश्वास दिलाउँदै भनें ।

“ल ठिक छ उसो भा ।” पार्कमा उपस्थिति लगभग शुन्य हुन लागेको थियो, हामी बाहेक । नानी प्लाष्टिकको हावा भरेको घोडासँग खेल्न व्यस्त थिइन् । मैले आन्टीलाई सोधेँ, “आन्टी, तपाईं जस्तो आँटिलो र सकारात्मक सोचको मान्छे, अहिले त धेरै निराशावादी हुनुभएको रहेछ । के कुराले यस्तो परिवर्तन गरायो ? के घटनाले यस्तो गरायो ?”

“बाबु, मान्छेको जीवनमा केही घटनाहरू हुन्छन्, जसले मानिसलाई ३६०० मा परिवर्तन गराउँछ । मेरो जीवनमा पनि केही घटनाहरू त्यस्तै भए जसलाई म चाहेर पनि भुल्न सक्दिन र त्यसको प्रभावबाट आफूलाई मुक्त राख्न पनि सकिएन ।”

“के घटना हो र आन्टी ? भन्न मिल्छ भने शेयर गर्नू न । भनिन्छ दुःख बाँड्दा दुःख घट्छ भन्छन् ।” मैले आग्रह गरें ।

“मैले शेयर गरेको हिसाबले त मेरो दुःख यतिञ्जेलमा शुन्य हुनुपर्ने हो, तिम्रो दुःख घट्ने सिद्धान्तलाई आधार मान्दा । तर दुगुना पो भयो । जजसलाई दुःख बिसाएँ, उनीहरूले त्यसलाई अझ बढाइदिए । मेरो दुर्गतिमा उनीहरूले खुच्चिङ मच्चाए, खुब रमाए ।”

“अनि शुभचिन्तक र शत्रु छुट्याउन सक्नु भएन त ?” मैले प्रश्न गरें ।

“दुःख र बज्र परेका बेला शुभचिन्तक नै सबैभन्दा पहिला शत्रुमा परिवर्तन हुँदा रहेछन् ।” आन्टीले सुँक्क गर्दै भनिन् ।

केही वर्ष अघिसम्म सबै राम्रै थियो । घरजग्गा व्यवसायबाट प्रगति भएको थियो । नयाँ नयाँ ठाउँमा प्लटिङ भइरहेका थिए । बिर्तामोडमा दुईवटा अनि सुरुङ्गा र दमकमा एक एकवटा स्तरीय होटल पनि खोलियो । ती व्यवसाय पनि रामै्र चलिरहेका थिए । तिमीलाई त थाहै छ व्यवसाय विस्तार गर्न चाहिने लगानी ऋणबाट प्राप्त गरिने हो । आर्थिक वृद्धिदर बढी भएका बेला लागत र सहजताको हिसाबले ऋणको माध्यमबाट लगानी प्राप्त गरिन्छ । हामीले पनि हाम्रो व्यवसायको उच्च प्रतिफल प्राप्तिका बेला व्यवसाय विस्तारका लागि बैङ्क बर्जा लियौं । कर्जाबाट नयाँ प्रोजेक्टका लागि जग्गा खरिद गरी प्रोजेक्टका कामहरू सुरु हुँदै थियो । अकस्मात् कोभिड–१९ को महामारी संसारभर डढेलो सल्केसरी फैलियो । यसबाट कतिको ज्यानै गयो, कति अनाथ भए । हामीजस्ता व्यवसायीहरूलाई यसरी घाइते बनायो, न त मर्न नै सकियो न त बाँच्न नै । महामारी पश्चात् अर्थतन्त्रको सुधार गर्ने भन्दै सरकारले रियलस्टेट व्यवसायलाई अनुत्पादक क्षेत्र मानेर लगानी तथा प्रबद्र्धनमा कडाइ गर्यो । कडा आर्थिक र मौद्रिक नीतिले बजार पूरै संकुचित भयो । व्यवसायीहरू बैङ्क ऋण तिर्न नसकी टाट पल्टिने अवस्था भयो । व्यापार व्यवसायबाट हातमुख जोर्न समेत कठिन हुने अवस्था आयो । हेर्दाहेर्दै शिखरबाट सिधै रोडमा आइपुग्ने अवस्थामा हामी पुग्यौं । सम्झिँदा पनि सपना जस्तो लाग्छ ।

बडो निराश मुद्रामा आन्टीले बेलिविस्तार लाइन् ।

त्यसपछि बैङ्कहरूले विस्तारै ऋण असुलीका लागि धरपकड सुरु गरे । चेतावनीयुक्त पत्रहरूका थाक घरमा लाग्न थाल्यो । समयमा किस्ता बुझाउन नसक्दा विभिन्न ठाउँका जग्गाहरू लिलाम हुन थाले । कति प्रयास गरे पनि बचाउन सकिएन । त्यसपछि बिर्तामोडमा आफू बस्दै आएको घर चलनचल्तीभन्दा आधा दाममै विक्री गरेर त्यसबाट आएको केही रकममा सस्तो जग्गामा अहिले बस्दै आएको घर बनाई बचेको पैसाले केही समयका लागि बैङ्कको मुख बुजो लगाउन किस्ता बुझाएका छौं ।

“हुन त यो विश्व अर्थतन्त्रलाई नै धक्का पुग्ने घटनाबाट कोही पनि अछुतो रहन सकेन । तथापि अब भने अर्थतन्त्रमा केही सुधार हुन सक्ने पनि सम्भावना छ भनेर अर्थविद्हरु भनिरहेका छन् । तसर्थ सधैँ यस्तै दिन त नरहला । फेरि अर्थतन्त्र चलायमान भएपछि आर्थिक सुधार पक्कै होला । आशा राख्नुपर्छ आन्टी । यसरी हरेश खाएर त भएन नि । तपाईंले मलाई अष्ट्रेलिया जानलाग्दा दिएको ज्ञान र आँट म कहिल्यै बिर्सिन्न । त्यहाँ बस्दा कहिलेकाहीँ फ्रस्टेट हुँदा पनि ती कुरा सम्झन्थें । त्यसले मलाई ऊर्जा दिन्थ्यो । तपाईं जत्तिको मान्छेले किन हरेश खानुभएको ?”
मेरो यस्तो तर्क सुनेपछि उनले भनिन्, “बाबु, यो केवल मेरो निराशाको सुक्ष्म कारणलाई सहयोग गर्ने सहायक कुरा मात्र हुन् । यति कुरामा मात्र त तिमीले भनेझैँ सकारात्मक सोच राखेर परिस्थितिको सामना गर्न सक्थें नि ।”

“भनेपछि मुख्य कारण चाहीँ अरु नै छ । त्यो के हो ?”

“व्यवहार बिग्रेपछि मानसिक रुपमा अङ्कल कमजोर हुनुभयो । सामाजिक प्रतिष्ठालाई बैङ्क लिलामीको घटनाले ग्रहण लगाइदियो । यसलाई उहाँले सहज रुपले लिन सक्नुभएन । पहिला पहिला सफलतालाई सेलिब्रेट गर्न पिउने मदिरा अब असफलता र दुःख सेलिब्रेट गर्ने दैनिक खुराक बन्न थालेको छ । मैले कति सम्झाएँ, उहाँमा ऊर्जा भर्न कोशिस गरें तर सबै बालुवामा पानी भयो । अब हुँदा हुँदा रक्सीको मातमा ममाथि शारीरिक हमला र सानी छोरीमाथि पनि हिंस्रक बन्न थाल्नुभयो । दैनिक घरेलु हिँसाबाट हामी आजित भइसकेको अवस्था थियो । माइततिर पनि सबै कुरा हल्ला भैसकेको थियो । त्यसपछि डिभोर्स गरी छुट्टै बस्ने सल्लाह पनि आउन थाल्यो । तर म जसरी पनि उहाँलाई सही बाटोमा ल्याएरै छोड्छु भन्ने दृढ विश्वासमा थिएँ । एकदिन एकजना साथीले बिराटनगरमा एकजना नशा छुटाउने प्रख्यात डाक्टर रहेको जानकारी गराइन् । डाक्टरलाई देखाएर जँचाई डाक्टरको निर्देशन र प्रिस्क्रिप्सन अनुसार औषधि लिएर फर्कंदै थियौं । त्यसपछि …….” आन्टी रोकिइन् ।

“त्यसपछि के भो आन्टी ?” कौतुहुलता मिश्रित स्वरमा मैले सोधें ।

“लक्ष्मीमार्गमा आइपुगेपछि हाम्रो गाडी दुर्घटनामा पर्यो । पूर्वबाट पश्चिम गइरहेको ट्रकले हाम्रो गाडीलाई ठक्कर दियो । छोरी, अङ्कल र म ३ जना नै गम्भीर घाइते भएछौं । दुई महिनाको अस्पताल बसाइपछि घर फर्किंदा हामीसँग कमजोर मन, घाइते शरीर र अस्पतालमा लागेको खर्चको थप ऋण बाहेक केही पनि थिएन । जिन्दगीको सबैभन्दा कालोरुपमा त्यो दिन आएको रहेछ । मान्छेको जिन्दगी कसरी राजाबाट रंकसम्म पुग्छ भन्ने कथा आफ्नै जीवनमा चरितार्थ भएको छ बाबु ।”

आन्टीले आफूलाई रोक्न सकिनन् । सानी छोरी “आमा किन रुनुभाको ?” भनी सोधिरहेकी थिइन् । मैले पनि त्यही बेलामा दाहिने हातको बुढी औंलाले पालैपालो दुबै आँखाको काप पुछें । मेरो पनि मन अडिएनछ ।

केही समय वातावरण निःशब्द बन्यो । मैले बोल्नलाई केही शब्द पाइरहेको थिइनँ । खालि अङ्कल कस्ता अवस्थामा होलान् भन्ने मात्र कौतुहलता थियो । किनकि घाइते मध्ये देख्न बाँकी उनी मात्र थिए ।

अचानक मोबाइलमा आएको म्यासेजले मौनता भंग गर्यो । घरबाट बुबाको म्यासेज रहेछ “कति बेला आउने घर ? खाना खाने बेला भयो ।”
“मलाई खाना राखिदिएर खानू, एकछिन लाग्छ ।” भनेर म्यासेज पठाएँ ।

गफ गर्दागर्दै ९ बजे छ ।

मैले भनें, “ अब घर जानुपर्छ । तपार्इँ र नानीलाई घर छोडेर घर फर्किन्छु ।”

बाइकमा आमाछोरीलाई राखेर उनको घरतर्फ रफ्तार बढाएँ । अस्ति देखेको गेट आइपुग्यो । गेट खुला नै थियो । दुईतिर बगैंचा र बिचमा बाटो रहेछ । बत्तीको उज्यालोमा बगैंचा र बाटो अझ आकर्षक देखिँदै थियो । भित्र पुगेपछि फराकिलो ठाउँ आयो, जहाँ एउटा सेतो रंगको क्रेटा कार पार्क गरिएको थियो । त्यसभन्दा अगाडि एउटा ठूलो बङ्गला देखियो ।

“ल बाबु, आज मैले गरेर ढिला भयो, जाउ…भोलि तिम्रो घरतिरै आउँछु, तिम्रो ममीबाबासँग नभेटेको पनि धेरै भयो ।” आन्टीले भनिन् ।

“होइन… आन्टी, यहाँसम्म आई नै हालें । ढिला भए पनि अङ्कललाई भेटेर जान्छु, चार वर्ष भयो भेटघाट नभएको ।” हेलमेट खोलेर लुकिङ ग्लासमा राख्दै मैले भनें ।

“होइन, अघि भनें नि पिउने बानी तेस्तै छ अझै अङ्कलको । अहिले तिमीलाई चिन्ने अवस्थामा उहाँ पक्कै हुनुहुन्न । बेकारमा अर्कै लफडा हुन्छ । अहिले होस्, बरु भोलि दिउँसो भेट्नू ।” आन्टीले ढिपी गरिन् ।

“ए, हुन्छ नि त उसोभा ।” उनलाई सहज हुने हिसाबले सानी नानीलाई बाई भनेर हात हल्लाएँ । नानीले अबोध दृष्टि मात्र फर्काइन् ।

बाइकलाई स्ट्याण्डको सहाराले आएकै दिशा गेटतर्फ फर्काएर सिटमा बसेर हेलमेटको फित्ता क्लिपमा लगाउँदै थिएँ । एक्कासी महिला चिच्याएको आवाज आयो । ध्यानपूर्वक सुनें, चिच्याएको आवाज नमिता आन्टीकै थियो । त्यसपछि त सानी नानी पनि चिच्याएको आवाज आउन थाल्यो ।

“बचाऊ, मारो–मारो, हामीलाई बचाउनू, बिन्ती ।” आमाछोरीको यो आवाज लगातार दोहोरिएर आएपछि मैले अनुमान लगाएँ, “पक्कै पनि अङ्कलले आमाछोरी माथि मदिराको नशामा लठ्ठिएर घरेलु हिँसाको कृत्य गरे ।”

एउटा मानवीय नाताले मात्र नभएर त्यहाँ पारिवारिक तथा भावनात्मक नाताले सहयोग गर्न म घरभित्र पसें । घरभित्र पस्नासाथ त्यो आवाज मधुरो भएर हरायो । म घर देखेर जिल्ल परें । घर कुनै दरवारभन्दा कम थिएनँ । भुइँतलाको सबै भाग ठूलो हलको रुपमा थियो, ठूला ठूला चारवटा झुमर झुण्ड्याइएका थिए । त्यसबाट प्रज्वलित प्रकाशबाट पूरै हल देदिप्यमान थियो । एकदम सफा र टलक्क टल्किने मार्बल भुइँमा ओछ्याइएका, बिचमा एउटा ठूलो टेबल र टेबलमाथि एउटा चाँदीको खड्कुँडा, त्यसको घाँटीसम्म पानी र पानीमा गुलावका फ्रेस फूल तैरिरहेका । टेबल वरिपरि सोफाहरू मिलाएर राखिएका । यत्तिको व्यवस्थापन गर्न जनशक्ति प्रयोग हुनुपर्ने तर अचम्म तेतिञ्जेल घरमा कोही पनि मान्छेको उपस्थिति देखिएको थिएन ।

विस्तारै अगाडि बढ्दै गएँ । टेबलभन्दा केही अगाडिबाट माथिल्लो तलामा जाने भर्याङ थियो । भर्याङ पनि घुमाउरो तर काठको आकर्षक रेलिङ र सिँडीहरूमा मनमोहक गमलाले सुसज्जित । मनमनै सोचें, यसरी विलासी जीवन बिताउने भएर त व्यवहार बिग्रेको होइन ? आ… जेसुकै होस् ।

माथिल्लो तलामा बिचमा सिटिङ रुम । देव्रेपट्टि र दाहिनेपट्टि चारवटा रुम थिए । तीनवटा रुमको ढोका पूरै बन्द थियो । देब्रेपट्टिको एउटा मात्र कोठाको ढोका अलिकति उघ्रेको जस्तो देखियो ।

पक्कै यहीँ होलान् सबै, तर अघि त्यत्रो ताण्डव, अहिले यति चाँडै किन शान्त ? प्रश्न मनमै राखेर ढोका विस्तारै ठेलें । भित्रको अवस्था देखेर आश्चर्यचकित भएँ । एउटा टेबल रुमको बिचमा थियो, जसमा आधा पानी भरिएको स्पष्ट देख्न सकिन्थ्यो । त्यसको छेउमा एउटा शिशाकै गिलास लडिरहेको थियो । दुईवटा कुर्सी टेबलसँगै राखिएका थिए । त्यसको विपरीत दिशामा एउटा ठूलो पलङमा एकजना तिलचामले दाह्री भएका व्यक्ति सुतिरहेका थिए, जसका आँखा खुला थिए तर भावविहीन ।

हाडमा छाला लेपन गरेको जस्तो देखिने ती व्यक्तिको छेवैमा जाँदा मात्र चिनेँ, ती व्यक्ति नमिता आन्टीका श्रीमान् थिए । मैले गएर हात समाएँ, उनले मलाई समाउन सकेनन् । मैले बोलाएँ, ‘अङ्कल, म स्वप्निल । यता हेर्नू त !’

हेरे पनि तर बोल्न सकेनन् । बोल्न खोजे तर अहँ, वाक्य आएन ।

“अङ्कल, म स्वप्निल, मलाई चिन्नुभो ? ।”

सिकिस्त बिरामी हेर्न जाँदा अत्याधिक प्रयोगमा आउने वाक्य मैले पनि प्रयोग गरें । तर कुनै प्रतिक्रिया आएन । प्यारालाइसिस्ले ग्रस्त रहेछन् भनेर ठम्याउन समय लागेन । म आश्चर्यचकित भएँ, “प्यारालाइसिसले यस्तो अवस्थाका श्रीमान्को बारेमा ती आन्टीले के भनेको होलिन् ? मान्छेलाई यो हदसम्म पुगेर झुट बोल्नुपर्ने अवस्था के हुँदा पर्छ ?”

फेरि अघि आमा मात्र होइन, छोरीको पनि चिच्याहटले के संकेत गरेको होला ? यो घरमा अरु कोही पक्कै छ, जसले ती आमाछोरीमाथि आक्रमण गर्यो । यति सोचेर अङ्कललाई त्यहीँ छोडेर आन्टी र नानीको खोजीमा बाहिर निस्किएँ । माथिल्लो तलामा कहीँ कतै नभेटेपछि तल्लो तलामा झरें । त्यो हलमा कोही नदेखेपछि पुलिसलाई खबर गर्ने जुक्ति सुझ्यो । खबर गर्न झटपट घरभित्रबाट बाहिर निस्किने बेलामा हठात मूलढोकामाथिको तस्वीरमा आँखा पुगे । तस्वीर तिनै नमिता आन्टी र सानी नानीको थियो । माल्यार्पण गरिएका ती दुई तस्वीरमा लेखिएको थियो, “हार्दिक श्रद्धाञ्जलि ………… स्वर्गारोहण २०७९ जेठ २८ गते” ।

अचानक मलाई उभिएको जमिन भासिएजस्तो अनुभव हुन थाल्यो । संसार अकस्मात कालो हुँदै आयो र एकछिनमा कालो बादलले क्षितिजसम्मै घेरावन्दी गर्यो ।

“स्वप्निलजी…, स्वप्निलजी…, कस्तो छ तपाईंलाई ?” नेपथ्यबाट मुधरो कुनै अपरिचित आवाजले मलाई निद्राबाट ब्यूँझाएझैँ लाग्यो । विस्तारै पलक उठाएर हेरें । सेतो कोट लगाएका डाक्टरको भेषमा सुसज्जित एक युवक रहेछन् । उनीबाट नजर हटाएर हेर्दा हस्पिटलको आईसियूमा हुने सबै भौतिक वस्तुहरूको उपस्थिति देखियो ।

“हजुर… म कसरी यहाँ ?” मैले प्रश्न गरें ।

“२८ दिनपछि विपनाको संसारमा स्वागत छ स्वप्निलजी…, वेलकम ब्याक ।”

सेतो कोटधारी युवक मुस्कुराए ।