एकाबिहानै शहरभरि यौटा हल्ला फैलियो – “शहरको यौटा चउरमा मानिसको लास भेटियो रे !” गाइँगुइँ चल्यो, कुरा कांग्रेसी नेताको कानमा पनि पुग्यो ।

“कम्युनिस्टे उग्र बादीहरूले हाम्रा कार्यकर्ताको हत्या गरेको हुनुपर्छ ।” उसले फोनबाट २–४ जना अन्य नेतालाई समेत यो कुरा सुनायो । अन्य कांग्रेसी नेताहरू उसको कुरामा सहमत भए । जुलुस लिएर लास हेर्न जाने र लास बोकेर शहर परिक्रमा गने कार्यक्रम नेताहरूले बनाए ।

“यो त ज्यादती नै हो । बीच सडकमा देखिएको लास हाम्रै पार्टीको सक्रिय कमरेडको हो । हामीले हत्याको विरोध गर्नैपर्छ । सरकारका विरुद्धमा कडा सङ्घर्ष गर्नुपर्छ ।” सहरमा लास देखिएको खबर सुनेपछि एमालेका शहरी नेताले भन्यो । २–४ जना निमित्त नेताहरूले उसको कुरामा सहमति जनाए । हत्याको विरुद्धमा आजैदेखि सङ्घर्ष शुरु गर्ने निर्णय भयो र नेताहरू कार्यकर्ता जुटाउनतर्फ लागे ।

“राजाका भरौटेहरूले हाम्रा क्रान्तिकारी योद्धाको पाशविक हत्या गरे । हत्यारालाई हामीहरूले ’सफाया’ गर्नुपर्छ । हाम्रा योद्धाको लासलाई हामीहरूले अन्तिम सलामी दिनुपर्छ ।” जनयुद्ध चर्काइरहेको माओवादीका स्थानीय कमान्डरले निकै आक्रोशित भएर भन्यो ।

कसैले बजारमा भेटिएको लास पूर्वपन्चको हुन सक्ने अड्कल गरे अनि कसैले सो लास ’मधिसे’ कै हुनुपर्छ भनेर ठोकुवा गरे । ’

सहरमा लास भेटिएको कुरा अर्को सहरमा पनि पुग्यो । त्यो लास बिदामा घर गएको आफ्नो सिपाहीको हुन सक्ने ठहर त्यो शहरमा रहेका सेना र प्रहरीले गरे । लास लिन जानको लागि आवश्यक व्यवस्था मिलाउनको लागि उनीहरूले केन्द्रमा जाहेरी गरे ।

दिउँसोपखसम्म कांग्रेस, एमाले, माओवादी, राप्रपा र सद्भावना पक्षधरहरू शहरका बेग्लाबेग्लै स्थानमा जम्मा भए । झन्डा हल्लाउँदै, नारा घन्काउँदै सबै राजनीतिक दलका कार्यकर्ताहरू लास रहेको स्थानतर्फ लागे ।

मृत प्रायः बनेको सहरमा एक्कासि चहलपहल बढ्यो । चारैतर्फदेखि राजनीतिक दलहरूको जुलुस आएको देखेर लासको वरिपरि झुम्मिएका केटाकेटीहरू भागे ।

“वीर शहिद – अमर रहुन् ।”

“हत्यारालाई–फाँसी दे !” निकै आक्रोशित जुलुस नारा घन्काउँदै चउरमा पुग्यो ।

लासलाई घाटमा पुर्याउने मलामी (सहयोगी) नपाएर लास नजिक बसेर लास कुरुवाको मनमा सहयोग पाउने आशा पलायो ।

“हजुर यसलाई घाटमा पुर्याउन सहयोग गरिदिनु पर्यो ।” लास कुरुवाले जुलुस टाढैबाट अन्तै लाग्छ कि भनेर ठूलै स्वरले पुकारा गर्यो ।

“तपाईंले चिन्ता लिनु पर्दैन । हाम्रो कार्यकर्ताको लागि हामीहरू ज्यान दिन तयार छौं ।” झन्डा बोकेर अगाडि आएको एमालेको नेताले जोस्सिँदै भन्यो ।

“यो लास हाम्रो कांग्रेसका सक्रिय कार्यकर्ताको हो ।” चारतारे झन्डा बोकेको कांग्रेसी चिच्यायो ।

“मधिसेको हत्याको विरुद्ध हामी एकजुट भएर आएका छौ ।” झट्ट हेर्दा भारतको जस्तै देखिने झन्डा बोकेको अर्को नेताको गर्जंदै भन्यो । त्यसैगरी राप्रपा पक्षधरहरूले चउरको लास आफ्नो पार्टीको पुराना कार्यकर्ताको भएको कुरा बताए ।

सबै पार्टीका कार्यकताहरूले त्यहाँ भएको लास आफ्नो मान्छेको हो भन्ने बताएपछि त्यहाँ झन्डै भिडन्तको स्थिति आयो ।

“खबरदार जनताका शत्रुहरू !” कसैले गोजीबाट पेस्तोल निकालेर आकाशतर्फ फायर गर्दै गर्जंदै भन्यो । बहस गरिरहेको सबै जना डरले चुपचाप भए ।

“यो लास हाम्रा महान् क्रान्तिकारी योद्धाको हो । जसले उहाँलाई कायरतापूर्वक हत्या गरे, उनीहरूलाई हामीहरूले सफाया गरेरै छोड्छौ ।” पेस्तोल समातेको ठिटो चिच्याएपछि ऊ माओवादी रहेछ भन्ने सबैले थाहा पाए ।

रक्तपात हुने भयले लास कुरुवा नराम्ररी काँप्यो । उसले हात जोडेर विनम्र हुँदै भन्यो, “ हजुर तपाईंहरू नलड्नोस् । यो मान्छे कांग्रेस, कम्युनिस्ट, पन्च र मोर्चा होइन । हजुर यो त….. ।” उसको कुरा पूरा नहुँदै हातमा पेस्तोल समातेको ठिटो चिच्यायो “सुन्यौ भरौटे हो ! यो लास तिमीहरू जस्ता लाछीहरूको साथी होइन । यो मान्छे त हाम्रो हो हाम्रो ।”

“हजुर या मान्छे माओवादी पनि होइन । ” डराई डराई लास कुरुवाले भन्यो ।

“को हो त यो ?” सबैले एकैपटक सोधे ।

“सेना वा पुलिस हुनुपर्छ ।” सिभिल ड्रेसमा आएको प्रहरीले बिस्तारै भन्यो ।

लासकुरुवा बिस्तारै लास नजिक बस्यो । लासको अनुहार झिंगाले ढाकेको थियो । उसले हातैले झिंगा धपायो अनि एकपटक सबैलाई हेरेर बिस्तारै बोल्यो “यो मान्छे कुनै पार्टीको मान्छे होइन । यसलाई त राजनीति भनेको कुरा पनि थाहा थिएन । यो त नेपाली जनता मात्र भएर बाँचेको थियो । मरीमरी काम गर्दा पनि उसले कहिल्यै अघाउन्जेल खान राम्रो लगाउन पाएन । ऊ भोकले बिरामी परेपछि पनि सम्पत्ति नभएकोले  ओखतीमूलो गर्न सकेन । अस्पतालले उसलाई भर्ना लिएनन् डाक्टरले उसलाई जाँचेनन् । रोग, शोक र भोकले भौंतारिंदै हिँड्दा ऊ यहाँ आएर मरेको हो, हजुर । ऊ नेपाली जनता मात्र हो अरू केही होइन ।”

लासकुरुवाको कुरा सुनेर भर्खरसम्म लासमा आफ्नो हकदाबी गरेका नेताहरू आफ्ना समर्थकहरूसँग मुखामुख गरे । झिंगा  भन्किएको लासलाई घोरिएर हेरे ।

“हाम्रो मान्छे रै’नछ, व्यथैमा दुःख पाइयो ।” यौटा नेताले भर्खरसम्म हल्लाइरहेको झन्डालाई बटार्दै बोल्यो अनि ऊ आफूहरू आए कै बाटोतर्फ फर्कियो । सबै दलका नेता अरू जोसिला कार्यकर्ताहरू पनि बिस्तारै लासदेखि टाढिंदै गए ।

“हजुर, त्यसै नजानोस् । दया गरी यो लासलाई घाटसम्म पुर्याउन सहयोग गर्नोस् ।” लासकुरुवाले सहयोगको पुकार गर्दै सबै नेता र कार्यकर्तालाई फर्काउनको लागि उनीहरूतर्फ दगुर्यो । तर उसको बिलौना कसैले सुनेनन् । लासमाथि हकदाबी गर्न आएकाहरू टाढिँदै गए, लासकुरुवा पनि उनीहरूको पछिपछि दगुरिरह्यो ।

साँझसम्म लास उठाउन कोही आएन । सहयोग माग्न गएको लास कुरुवा पनि फर्किएन । राति अबेर चउरमा स्याल कराएको सुनियो । जुनको उज्यालोमा स्यालहरु नाचेको पनि देखियो । भोली बिहान हेर्दा लास थिएन । लासको ठाउँमा मैलो धब्बा थियो अनि मासुका केही चोक्टा र हड्डीहरू चउरमा छरिएका थिए ।

तिलोत्तमा, रुपन्देही